सतावटको बाबजुद यहोवाको सेवा गर्न पाएकोमा कृतज्ञ
सतावटको बाबजुद यहोवाको सेवा गर्न पाएकोमा कृतज्ञ
मार्चे डे योङ्ग भान डेन होभेलको वृत्तान्तमा आधारित
म ९८ वर्ष पुगें। त्यसमध्ये ७० वर्ष त यहोवाकै सेवामा बिताउन पाएँ तर त्यस दौडान मेरो विश्वासको जाँच नभएको भने होइन। दोस्रो विश्व युद्धको दौडान मलाई यातना शिविरमा हालियो र त्यतिबेला निरुत्साहको कारण एकचोटि यस्तो निर्णय गर्न पुगें जसले गर्दा पछि पछुताउनुपऱ्यो। त्यसको केही वर्षपछि मैले अर्को पीडादायी परीक्षा सामना गर्नुपऱ्यो। तैपनि, सतावटको बाबजुद यहोवाको सेवा गर्ने सुअवसर पाएकोमा म उहाँप्रति कृतज्ञ छु।
अक्टोबर १९४० मा मेरो जीवनले नयाँ मोड लियो। म नेदरल्याण्ड्सको आमस्ट्रडामबाट २४ किलोमिटर दक्षिणपूर्वमा पर्ने हिल्भरसममा बस्थें। त्यतिबेला नेदरल्याण्ड्समा नाजी शासन थियो। मैले याप डे योङ्गसँग विवाह गरेको पाँच वर्ष भएको थियो र उहाँ मायालु श्रीमान् हुनुहुन्थ्यो। अनि हाम्री प्यारी छोरी भिली तीन वर्षकी थिइन्। हाम्रो घरछेउमा आठ जना बालबच्चा भएको एउटा परिवार बस्थ्यो। तर उनीहरू गरिब भएकाले बालबच्चालाई खुवाउन धौधौ थियो। तैपनि, उनीहरूले एक जना जवान केटालाई आफ्नो घरमा सधैं खाने र बस्ने प्रबन्ध मिलाएका थिए। मलाई लाग्थ्यो, ‘बेकारमा किन थप भार बोक्नुपरेको होला?’ उनीहरूलाई केही खानेकुरा दिन गएको बेला मैले ती जवान केटा अग्रगामी रहेछन् भनेर थाह पाएँ। तिनले मलाई परमेश्वरको राज्य र त्यसले ल्याउने आशिष्बारे बताए। तिनले बताएको कुराले ममा गहिरो छाप पऱ्यो र तुरुन्तै सच्चाइ स्वीकारें। त्यही वर्ष मैले आफूलाई यहोवामा समर्पण गरें र मेरो बप्तिस्मा भयो। मैले बप्तिस्मा गरेको एक वर्षपछि मेरो श्रीमान्ले पनि सत्यको पक्षमा अडान लिनुभयो।
बाइबलको खासै ज्ञान नभए तापनि साक्षी हुनुको मतलब प्रतिबन्ध लगाइएको सङ्गठनको भाग हुनु हो भनेर मैले राम्ररी बुझेकी थिएँ। राज्यसन्देश प्रचार गरेकाले थुप्रै साक्षी झ्यालखानामा थुनिएका छन् भनेर पनि मलाई थाह थियो। तैपनि मैले तुरुन्तै घर-घरको प्रचारकार्य सुरु गरें अनि मेरो श्रीमान् र मैले अग्रगामी र परिभ्रमण निरीक्षकहरूका लागि हाम्रो घरमा बस्ने प्रबन्ध मिलायौं। आमस्ट्रडामका भाइबहिनीहरूले ल्याएका बाइबल साहित्यहरू भण्डार गर्न पनि हाम्रै घर प्रयोग गरियो। उनीहरू साइकलमा टन्न किताब राख्थे र त्यसलाई तिरपालले छोपेर ल्याउँथे। ती सन्देशवाहकहरूको कस्तो प्रेम र साहस! उनीहरू भाइहरूका लागि आफ्नो ज्यानको खतरा मोल्थे।—१ यूह. ३:१६.
“ममी, चाँडै फर्कनुहुने हो?”
मेरो बप्तिस्मा भएको लगभग छ महिनापछि तीन जना प्रहरी अधिकृत हाम्रो ढोकामा देखा परे। तिनीहरूले घरभित्र छिरेर खानतलास गरे। साहित्य राख्ने दराज त भेट्टाएनन् तर हाम्रो खाटमुनि लुकाइराखेको केही किताब भने भेट्टाए। अनि तुरुन्तै तिनीहरूको पछि लागेर मलाई हिल्भरसमको प्रहरी चौकी जाने आदेश दिए। छुट्टिने बेलामा भिलीलाई अँगालो हाल्दा उसले
मलाई सोधी, “ममी, चाँडै फर्कनुहुने हो?” “हो नानु, म चाँडै फर्कन्छु” भनी मैले जवाफ दिएँ। तर उसलाई फेरि अँगालो हाल्न १८ महिनासम्म पर्खनुपऱ्यो र त्यो समय असाध्यै कठिन थियो।एक जना प्रहरी अधिकृतले मलाई रेलमा राखेर सोधपुछको लागि आमस्ट्रडाम लगे। केरकार गर्ने अधिकारीहरूले हिल्भरसमका तीन जना साक्षी भाइहरू देखाउँदै यिनीहरूलाई चिन्छौ कि चिन्दैनौ भनी सोधे। मैले जवाफ दिएँ, “एक जना बाहेक म अरूलाई चिन्दिनँ। उहाँले हाम्रो घरमा दूध ल्याउनुहुन्छ।” हुन पनि हो ती भाइले हाम्रो घरमा दूध ल्याउनुहुन्थ्यो। मैले यसो पनि भनें, “उहाँ यहोवाको साक्षी हो कि होइन उहाँलाई नै सोध्नुस् न, मलाई किन सोध्नुहुन्छ?” मैले केही पनि नबताउँदा तिनीहरूले मेरो मुखमा हिर्काए र झ्यालखानाको सानो कोठामा दुई महिमासम्म थुने। मेरो श्रीमान्ले म त्यहाँ भएको थाह पाएपछि मलाई केही लुगा र खानेकुरा ल्याइदिनुभयो। त्यसपछि अगस्त १९४१ मा मलाई महिलाहरूको लागि कुख्यात यातना शिविर राभन्सब्रूक पठाइयो, जुन जर्मनीको बर्लिनबाट लगभग ८० किलोमिटर उत्तरतिर पर्छ।
“हरेस नखानुहोस् बहिनी”
विश्वास त्यागेको लिखित घोषणा पत्रमा हस्ताक्षर गरेमा हामीलाई घर जान दिने कुरा त्यहाँ पुगेपछि बताइयो। तर मैले हस्ताक्षर गर्ने त कुरै भएन। बरु मैले आफूसँग भएका सबै कुरा दिनुपऱ्यो र मलाई बाथरुममा लगेर नाङ्गै पारियो। त्यहाँ मैले नेदरल्याण्ड्सका केही ख्रीष्टियन बहिनीहरूलाई भेटें। हामीलाई बैजनी रङको त्रिकोण भएको शिविरको पहिरन, एउटा थाल, एउटा कप अनि एउटा चम्चा दिइएको थियो। पहिलो रात हामीलाई अस्थायी ब्यारेकमा राखियो। पक्राउ परेपछि पहिलो पटक धुरुधुरु रोएको यहीं थियो। “अब के हुने हो? यहाँ कतिन्जेल बस्नुपर्ने हो?” म सुँक्क-सुँक्क रुन थालें। स्पष्टै भन्नुपर्दा, त्यतिबेला यहोवासँगको मेरो सम्बन्ध त्यति बलियो भइसकेको थिएन किनकि सच्चाइबारे मैले थाह पाएको केही महिना मात्र भएको थियो। मैले अझ धेरै कुरा सिक्न बाँकी थियो। भोलिपल्ट हाजिरी लिने बेलामा एउटी डच बहिनीले म निराश भएको याद गर्नुभएछ। उहाँले भन्नुभयो, “हरेस नखानुहोस् बहिनी, हरेस नखानुहोस्! केले हाम्रो हानि गर्न सक्छ र?”
हाजिरी लिइसकेपछि हामीलाई अर्कै ब्यारेकमा लगियो। त्यहाँ हामीलाई जर्मनी र नेदरल्याण्ड्सका सयौं ख्रीष्टियन बहिनीहरूले स्वागत गर्नुभयो। केही जर्मन बहिनीहरू त्यस ब्यारेकमा बसेको एक वर्षभन्दा धेरै भइसकेको थियो। उहाँहरूको साथले मलाई बलियो बनायो—हो, हरेस नखान मदत गऱ्यो। हाम्रा बहिनीहरू बसेको ब्यारेक शिविरका अन्य ब्यारेकभन्दा सफा भएकोले म अत्यन्तै प्रभावित भएँ। सफा हुनुका साथै हाम्रो ब्यारेक चोरी नहुने, एक-अर्कालाई नसराप्ने वा झगडा नहुने ठाउँ भनेर पनि चिनिन्थ्यो। शिविरमा हामीले सामना गर्नुपरेको कठोर अवस्थाको विपरीत हाम्रो ब्यारेक फोहोर समुद्रको बीचमा भएको एउटा सफा टापुजस्तै थियो।
शिविरमा दैनिक जीवन
शिविरमा धेरै काम गर्नुपर्थ्यो र एकदमै थोरै मात्र खान पाइन्थ्यो। बिहान पाँचै बजे उठ्नुपर्थ्यो र त्यसको लगत्तै हाजिरी सुरु हुन्थ्यो। घाम लागोस् वा पानी परोस्, गार्डले हामीलाई लगभग एक घण्टा बाहिरै उभ्याउँथ्यो। दिनभरिको कडा मेहनतपछि साँझ पाँच बजे सदाझैं
हाजिरी लिन सुरु हुन्थ्यो। त्यसपछि अलिकति सुप र रोटी खाएपछि थकित शरीर लिएर सुत्न जान्थ्यौं।आइतबारबाहेक हरेक दिन मलाई खेतमा काम गर्न लगाइन्थ्यो जहाँ म हँसियाले गहुँ काट्थें, खाडल खन्थें अनि सुँगुरको खोर सफा गर्थें। फोहोर ठाउँमा पनि गर्नुपर्ने कठिन काम थियो तर म बलियो र जवान भएकीले दिनहुँ गर्न सक्थें। काम गर्दा बाइबल सन्देश भएका गीतहरू गाएर पनि मैले आफूलाई बलियो पारें। तर हरेक दिन म श्रीमान् र छोरीलाई भेट्न छटपटिन्थें।
हामीले एकदमै थोरै खानेकुरा पाउँथ्यौं तर सबै बहिनी मिलेर हरेक दिन एक-एक टुक्रा रोटी बचाउने कोसिस गर्थ्यौं। यसले गर्दा आइतबार बाइबल विषयमा छलफल गर्न भेला हुँदा हामीसँग थप खानेकुरा हुन्थ्यो। हामीसँग बाइबल साहित्यहरू त थिएन, तर वफादार वृद्ध जर्मन बहिनीहरूले बाइबलबारे छलफल गर्दा म ध्यान दिएर सुन्थें। हामीले ख्रीष्टको मृत्युको स्मरणार्थसमेत मनायौं।
पीडा, पछुतो र प्रोत्साहन
कहिलेकाहीं नाजीहरूको युद्धलाई प्रत्यक्ष समर्थन गर्ने काम पनि गर्न लगाइन्थ्यो। हाम्रो राजनैतिक तटस्थताले गर्दा सबै बहिनीले त्यो काम गर्न इन्कार गरे अनि मैले पनि उहाँहरूको साहसिक उदाहरण पछ्याएँ। यसको सजायस्वरूप हामीलाई केही दिनको लागि खान दिइएन र हाजिरीको लागि घण्टौं उभ्याइयो। एकचोटि जाडो मौसममा हामीलाई ४० दिनसम्म चिसो ब्यारेकमा थुनियो।
आफ्नो विश्वास त्यागेको लिखित घोषणा पत्रमा हस्ताक्षर गरेमा हामी मुक्त हुनेछौं र हामीलाई घर जान दिइनेछ भनेर हामी यहोवाका साक्षीहरूलाई पटक-पटक भनियो। राभन्सब्रूकमा एक वर्षभन्दा लामो समय बिताएपछि म असाध्यै निरुत्साहित भएँ। श्रीमान् र छोरीलाई भेट्ने इच्छा यत्ति तीव्र भयो कि म गार्डहरूकहाँ गएँ र अब उसो बाइबल स्टुडेन्ट हुँदिनँ भनी उल्लेख गरिएको फाराम मागें अनि त्यसमा हस्ताक्षर गरिदिएँ।
मैले त्यसो गरेको थाह पाएपछि केही बहिनीहरू मदेखि टाढिन थाल्नुभयो। तर हाट्भिक र गट्रुट नामका दुई वृद्ध जर्मन बहिनी मलाई भेट्न आउनुभयो र आफूहरूले नत्यागेको कुरामा ढुक्क बनाउनुभयो। यहोवाप्रति सत्यनिष्ठ हुनुपर्ने महत्त्व र कुनै सम्झौता नगरी कसरी उहाँप्रति प्रेम देखाउन सक्छौं भनेर सुँगुरको खोरमा सँगै काम गर्दा उहाँहरूले दयालु ढङ्गमा बुझाउनुभयो। उहाँहरूले मप्रति आमाले देखाउनेजस्तै चासो र कोमल स्नेह देखाउनुभयो, जसले मेरो मन एकदमै छोयो। a मैले जे गरें त्यो गलत थियो भनेर थाह थियो र आफूले हस्ताक्षर गरेको घोषणा पत्र खारेज गर्न चाहन्थें। घोषणा पत्र खारेज गर्न गरेको निर्णयबारे एक साँझ एउटी बहिनीलाई सुनाएँ। शिविरका एक अधिकृतले हाम्रो यो कुराकानी सुनेको हुनुपर्छ किनकि त्यही साँझ मलाई अकस्मात् शिविरबाट मुक्त गरियो र रेलमा राखेर नेदरल्याण्ड्स फिर्ता पठाइयो। एक जना सुपरिवेक्षक, जसको अनुहार मलाई अझै याद छ तिनले मलाई यसो भनिन्, “तिमी अझै बिबेलफोर्शर (बाइबल स्टुडेन्ट) छौ अनि सधैं रहनेछौ।” त्यसपछि मैले भनें, “यहोवाको इच्छा भए रहिरहनेछु।” तैपनि ‘त्यो घोषणा पत्र कसरी खारेज गर्ने होला’ भनेर मेरो दिमागमा खेलिरह्यो।
घोषणा पत्रमा उल्लिखित एउटा बुँदा थियो: “म अबदेखि कहिल्यै पनि इन्टरनेसनल बाइबल स्टुडेन्ट्स सोसाइटीको लागि सक्रिय हुनेछैन भनेर यसै पत्रमार्फत विश्वस्त पार्न चाहन्छु।” अब के गर्नुपर्छ, मलाई थाह थियो! जनवरी १९४३ मा घर पुग्नेबित्तिकै फेरि प्रचारकार्यमा भाग लिन थालें। परमेश्वरको राज्यबारे प्रचार गरिरहेको बेलामा नाजी अधिकृतहरूले दोस्रो पटक पनि पक्रेमा मैले निकै कठिन सजाय पाउनेथिएँ।
वफादार सेवक हुने मेरो भित्रैदेखिको तीव्र इच्छा यहोवालाई अझ देखाउन मेरो श्रीमान् र मैले हाम्रो घरमा फेरि सन्देशवाहक र परिभ्रमण निरीक्षकहरू बस्ने प्रबन्ध मिलायौं। यहोवा र उहाँको जनप्रति आफ्नो प्रेम प्रमाणित गर्ने अर्को मौका पाएकोमा म कत्ति कृतज्ञ थिएँ!
पीडादायी अनुभव
युद्ध अन्त हुनुभन्दा केही महिनाअघि मेरो श्रीमान् र मैले एउटा पीडादायी अनुभव सामना गर्नुपऱ्यो।
अक्टोबर १९४४ मा हाम्री छोरी अकस्मात् बिरामी परिन्। भिलीलाई भ्यागुते रोगले समात्यो। उनको अवस्था अचानक नाजुक भयो र तीन दिनपछि मृत्यु भयो। त्यसबेला उनी सात वर्षकी मात्र थिइन्।आफ्नो एक मात्र सन्तान गुमाउनुपर्दा हाम्रो मन छियाछिया भयो। साँच्चै, राभन्सब्रूकमा भोग्नु परेको परीक्षा छोरी गुमाउनुपर्दाको पीडाको तुलनामा केही थिएन। तर पीडा भोग्नुपर्दा हामीले भजन १६:८ मा पाइने यी शब्दहरूबाट सधैं सान्त्वना पायौं: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।” यहोवाले पुनर्जीवित गर्नुहुनेछ भन्ने प्रतिज्ञामा मेरो श्रीमान् र म पूर्ण विश्वस्त थियौं। हामी सत्यमा अडिग रहनुका साथै सधैं सुसमाचारको जोसिलो प्रचारक भइरह्यौं। सन् १९६९ मा मेरो श्रीमान्को मृत्यु नहोउन्जेलसम्म कृतज्ञ भई यहोवाको सेवा गरिरहन उहाँले मलाई मदत गर्नुभयो।
थुप्रै आशिष् र आनन्द
बितेका दशकहरूदेखि पूर्ण-समय सेवकहरूसितको घनिष्ठ सङ्गति सधैं ठूलो आनन्दको स्रोत भएको छ। युद्ध भइरहेको बेलामा जस्तै पछि पनि हाम्रो घर परिभ्रमण निरीक्षकहरू र उहाँहरूका पत्नीहरूका लागि सधैं खुला थियो। परिभ्रमण कार्य गरिरहेका एक दम्पती मार्टेन र नेल काप्टिन हाम्रो घरमा १३ वर्षसम्म बस्नुभयो। नेल सिकिस्त बिरामी पर्दा उहाँको मृत्यु नहोउन्जेलसम्म हाम्रै घरमा राखेर तीन महिनासम्म स्याहार-सुसार गर्ने मौका पाएँ। उहाँहरू अनि स्थानीय प्यारा भाइबहिनीसितको सङ्गतिले मलाई संसारको नराम्रो प्रभावबाट सुरक्षित रहन मदत गरेको छ।
मेरो जीवनको एउटा उल्लेखनीय क्षण सन् १९९५ मा राभन्सब्रूकमा आयोजित स्मृति समारोहमा उपस्थित हुने निमन्त्रणा थियो। त्यहाँ मैले शिविरमा सँगै भएका बहिनीहरूलाई भेटें जसलाई नभेटेको ५० वर्षभन्दा धेरै भइसकेको थियो! उहाँहरू सँगै हुन पाउनु अविस्मरणीय अनि हृदयस्पर्शी अनुभव थियो अनि मृत्यु भएका आफ्ना प्रिय जनहरू फेरि जीवित हुने समय पर्खन एक-अर्कालाई प्रोत्साहन दिने राम्रो मौका थियो।
रोमी १५:४ मा प्रेषित पावल यस्तो लेख्छन्: “हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्।” यस्तो आशा दिनुभएकोमा म यहोवालाई धन्यवाद दिन्छु किनभने यही आशाले गर्दा सतावटको बाबजुद कृतज्ञ भई उहाँको सेवा गर्न सकेकी छु।
[फुटनोट]
a त्यस समयको दौडान मुख्यालयसँग कुनै सम्पर्क नहुँदा भाइहरूले तटस्थतासित सम्बन्धित विषयहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सम्हाले। यसकारण शिविरमा रहेकाहरूको व्यवहार एकनासको थिएन।
[पृष्ठ १०-मा भएको चित्र]
सन् १९३० मा यापसँग
[पृष्ठ १०-मा भएको चित्र]
सात वर्षकी हाम्री छोरी भिली
[पृष्ठ १२-मा भएको चित्र]
सन् १९९५ मा एउटा हृदयस्पर्शी पुनर्मिलन समारोहमा उपस्थित भएँ। म पहिलो पङ्क्तिको बायाँबाट दोस्रोमा बसेकी छु