सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं कुकर्मलाई घृणा गर्नुहुन्छ?

के तपाईं कुकर्मलाई घृणा गर्नुहुन्छ?

के तपाईं कुकर्मलाई घृणा गर्नुहुन्छ?

‘तपाईं [ येशूले] कुकर्मलाई घृणा गर्नुभयो।’—हिब्रू १:९.

१. येशूले प्रेमबारे के सिकाउनुभयो?

 प्रेमको महत्त्वबारे जोड दिंदै येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिंदैछु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूह. १३:३४, ३५) येशूले आफ्ना अनुयायीहरूलाई आपसमा आत्मत्यागी प्रेम देखाउन आज्ञा दिनुभयो। त्यही प्रेम तिनीहरूको चिनारी हुने थियो। येशूले यस्तो सल्लाह पनि दिनुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।”—मत्ती ५:४४.

२. ख्रीष्टका अनुयायीहरूले केलाई घृणा गर्न सिक्नुपर्छ?

आफ्ना चेलाहरूलाई प्रेमबारे सिकाउनुका साथै तिनीहरूले घृणा गर्नुपर्ने कुराबारे पनि येशूले सिकाउनुभयो। येशूबारे यस्तो भनिएको थियो: “तिमीले सुकर्मलाई प्रेम अनि कुकर्मलाई [दुष्टतालाई] घृणा गऱ्‍यौ।” (हिब्रू १:९; भज. ४५:७) यसले के देखाउँछ भने हामीले सुकर्मलाई प्रेम गर्न मात्र होइन, पापलाई अर्थात्‌ कुकर्मलाई घृणा गर्न पनि सिक्नुपर्छ। प्रेषित यूहन्‍नाले तोकेरै यसो भन्‍नु उल्लेखनीय छ: “जसले पाप गरिरहन्छ, उसले कुकर्म पनि गरिरहेको हुन्छ। त्यसैले पाप कुकर्म हो।”—१ यूह. ३:४.

३. कुकर्मलाई घृणा गर्नुपर्ने सम्बन्धमा यस लेखमा जीवनका कुन-कुन क्षेत्रबारे छलफल गर्नेछौं?

त्यसैले ख्रीष्टियनहरूको हैसियतमा हामीले आफैलाई सोध्नुपर्छ, ‘के म कुकर्मलाई घृणा गर्छु?’ जीवनका निम्न चार क्षेत्रमा हामी खराबीलाई घृणा गरेको कसरी देखाउन सक्छौं, केलाएर हेरौं: (१) मद्यको दुर्व्यसनप्रति हाम्रो दृष्टिकोण, (२) तन्त्रमन्त्रप्रति हाम्रो धारणा, (३) अनैतिकताप्रति हाम्रो प्रतिक्रिया र (४) कुकर्मलाई प्रेम गर्नेहरूप्रति हाम्रो दृष्टिकोण।

मद्यलाई त्यसको उचित स्थानमा राख्नुहोस्‌

४. अत्यधिक मात्रामा मद्यपान नगर्न येशूले किन निर्धक्क भई साहसका साथ चेतावनी दिन सक्नुभयो?

येशू कहिलेकाहीं दाखमद्य पिउनुहुन्थ्यो र यो परमेश्‍वरले दिनुभएको उपहार हो भनी उहाँले बुझ्नुभएको थियो। (भज. १०४:१४, १५) तर अत्यधिक पिएर उहाँले कहिल्यै यो उपहारको दुरुपयोग गर्नुभएन। (हितो. २३:२९-३३) त्यसैले यस्तो बानीविरुद्ध येशूले निर्धक्क भई साहसका साथ सल्लाह दिन सक्नुभयो। ( लूका २१:३४ पढ्‌नुहोस्‌) मद्यको दुरुपयोगले अन्य गम्भीर पापतर्फ धकेल्न सक्छ। त्यसैले प्रेषित पावलले यस्तो लेखे: “मद्य पिएर नमात्तिओ, किनकि त्यसले दुराचारी बनाउँछ, बरु तिमीहरू पवित्र शक्‍तिले भरिओ।” (एफि. ५:१८) साथै तिनले मण्डलीका वृद्ध स्त्रीहरूलाई ‘धेरै मद्यपान नगर्न’ सल्लाह दिए।—ती. २:३.

५. मादक पेय पदार्थ पिउने छनौट गर्नेहरूले आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌?

यदि तपाईं मादक पेय पदार्थ पिउने छनौट गर्नुहुन्छ भने आफूलाई यी प्रश्‍नहरू सोध्नु बेस हो: ‘अत्यधिक मात्रामा पिउनेबारे के म येशूको जस्तै मनोवृत्ति राख्छु? यसबारे अरूलाई सल्लाह दिनुपऱ्‍यो भने के म निर्धक्क भई साहसका साथ सल्लाह दिन सक्छु? के म चिन्ता तथा तनावबाट मुक्‍त हुन पिउँछु? प्रत्येक हप्ता म कति मद्यपान गर्छु? तपाईंले धेरै पिउनुभयो है भनी कसैले भन्दा म कस्तो प्रतिक्रिया देखाउँछु? के म आफ्नो बचाउ गर्न खोज्ने वा रिसाइहाल्ने गर्छु?’ धेरै मद्यपान गर्दा सही तरिकाले तर्क गर्ने र बुद्धिमानी निर्णय गर्ने हाम्रो क्षमतालाई नै असर गर्न सक्छ। ख्रीष्टका अनुयायीहरू आफ्नो सोच्ने क्षमतालाई सुरक्षित राख्ने प्रयास गर्छन्‌।—हितो. ३:२१, २२.

तन्त्रमन्त्रसम्बन्धी गतिविधिबाट टाढै बस्नुहोस्‌

६, ७. (क) येशूले सैतान र दुष्ट स्वर्गदूतहरूको सामना कसरी गर्नुभयो? (ख) तन्त्रमन्त्रसम्बन्धी गतिविधि अहिले किन यत्ति धेरै फैलिएको छ?

पृथ्वीमा छँदा येशूले दृढ भई सैतान र त्यसका दूतहरूको विरोध गर्नुभयो। उहाँको वफादारीमाथि सैतानले गरेको प्रत्यक्ष आक्रमणलाई उहाँले तिरस्कार गर्नुभयो। (लूका ४:१-१३) चालै नपाउनेगरि आफ्नो सोचाइ र व्यवहारमा असर पुऱ्‍याउन गरिएको प्रयास पनि उहाँले थाह पाउनुभयो र त्यसको प्रतिरोध गर्नुभयो। (मत्ती १६:२१-२३) येशूले योग्य व्यक्‍तिहरूलाई दुष्ट स्वर्गदूतहरूको क्रूर पञ्जाबाट उम्कन मदत गर्नुभयो।—मर्कू. ५:२, ८, १२-१५; ९:२०, २५-२७.

सन्‌ १९१४ मा राजाको रूपमा सिंहासनमा बसेपछि येशूले सैतान र त्यसका दूतहरूको भ्रष्ट प्रभाव हटाएर स्वर्ग सफा गर्नुभयो। फलस्वरूप ‘सारा संसारलाई ठग्न’ सैतान पहिलेभन्दा झनै तल्लीन भएर लागिरहेको छ। (प्रका. १२:९, १०) त्यसैले तन्त्रमन्त्रप्रतिको आकर्षण जताततै फैलिएको र बढिरहेकोमा हामीले छक्क मान्‍नु पर्दैन। आफूलाई जोगाउन हामी कस्ता कदमहरू चाल्न सक्छौं?

८. मनोरञ्जन छनौट गर्ने सम्बन्धमा हामी प्रत्येकले कस्तो आत्म-परीक्षण गर्नुपर्छ?

बाइबलले दुष्ट स्वर्गदूतहरूबाट आउने खतराबारे स्पष्टसित चेतावनी दिएको छ। ( व्यवस्था १८:१०-१२ पढ्‌नुहोस्‌) आज सैतान र त्यसका दूतहरूले तन्त्रमन्त्रलाई बढावा दिने चलचित्र, किताब र इलेक्ट्रोनिक गेमहरूमार्फत मानिसहरूको सोचाइमाथि प्रभाव जमाउँछ। त्यसैले मनोरञ्जन छान्दा हामी प्रत्येकले आफूलाई यी प्रश्‍नहरू सोध्नुपर्छ: ‘चलचित्र, टिभी कार्यक्रम, इलेक्ट्रोनिक गेम, किताब वा कमिकहरू जुन रहस्यमय किसिमका छन्‌, के मैले त्यसबाट विगतका महिनाहरूमा मनोरञ्जन लिएँ? तन्त्रमन्त्रसम्बन्धी गतिविधिलाई इन्कार गर्नुपर्ने महत्त्वलाई के मैले बुझेको छु वा त्यसको खतरालाई हल्कासित लिन्छु? मैले छान्‍ने मनोरञ्जनबारे यहोवालाई कस्तो लाग्ला भनेर के म कहिल्यै विचार गर्छु? मैले यस्ता सैतानी प्रभावलाई ठाउँ दिएको रहेछु भने यहोवा र उहाँका सही सिद्धान्तहरूप्रतिको प्रेमले के मलाई दृढ कदम चाल्न र सैतानको प्रभावलाई तिरस्कार गर्न उत्प्रेरित गर्नेछ?’—प्रेषि. १९:१९, २०.

अनैतिकताबारे येशूको चेतावनी पालन गर्नुहोस्‌

९. कुनै मानिसले कसरी कुकर्मप्रतिको प्रेम बढ्‌न दिन सक्छ?

यौन नैतिकतासम्बन्धी यहोवाको स्तरको पक्षमा येशू खडा हुनुभयो। उहाँले भन्‍नुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्‌’? त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:४-६) हामी जे देख्छौं त्यसले हाम्रो मनलाई असर गर्न सक्छ भनी येशूलाई थाह थियो। त्यसैले डाँडाको उपदेशमा उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्नू।’ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” (मत्ती ५:२७, २८) येशूको चेतावनीलाई बेवास्ता गर्नेहरूले वास्तवमा कुकर्मप्रतिको प्रेम बढ्‌न दिइरहेका हुन्छन्‌।

१०. कुनै व्यक्‍ति अश्‍लील सामाग्री हेर्ने लतबाट मुक्‍त हुन सक्छ भनी देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१० सैतानले अश्‍लील सामाग्रीद्वारा यौन अनैतिकतालाई बढावा दिन्छ र वर्तमान युग यस्तै कुराले भरिभराउ छ। अश्‍लील सामाग्री हेर्नेहरूले अनैतिक दृश्‍यलाई आफ्नो दिमागबाट सजिलै हटाउन सक्दैनन्‌। तिनीहरूलाई अश्‍लील सामाग्री हेर्ने लतसमेत बस्न सक्छ। एक जना ख्रीष्टियनलाई के भयो, विचार गर्नुहोस्‌। तिनी भन्छन्‌: “म गुपचुपमा अश्‍लील सामाग्री हेर्थें। मैले आफ्नै काल्पनिक संसार सृजना गरें अनि मलाई लाग्थ्यो, मैले यहोवाको सेवा गर्ने संसार र यो काल्पनिक संसारबीच कुनै सम्बन्ध छैन। यस्तो बानी गलत हो भनेर मलाई थाह थियो तर परमेश्‍वरलाई चढाएको सेवा अझै पनि स्वीकार्य छ भनी आफैलाई भन्थें।” यी भाइको सोचाइलाई केले परिवर्तन गऱ्‍यो? तिनी भन्छन्‌: “हुनत यो मेरो लागि जीवनकै सबैभन्दा गाह्रो काम थियो, तैपनि मैले आफ्नो समस्याबारे एल्डरहरूलाई भन्‍ने निर्णय गरें।” अन्ततः यी भाइले यस भ्रष्ट बानी त्यागे। तिनी यसरी स्वीकार्छन्‌, “आफ्नो जीवनबाट यो पाप पखालेपछि मैले बल्ल अन्तस्करण सफा भएको महसुस गरें।” कुकर्मलाई घृणा गर्नेहरूले अश्‍लील सामाग्रीलाई घृणा गर्न सिक्नै पर्छ।

११, १२. सङ्‌गीत छान्‍ने विषयमा हामी कसरी कुकर्मलाई घृणा गरेको देखाउन सक्छौं?

११ सङ्‌गीत र त्यसका शब्दहरूले हाम्रो भावनालाई अर्थात्‌ हाम्रो मनलाई अत्यन्तै गहिरो प्रभाव पार्न सक्छ। सङ्‌गीत परमेश्‍वरले दिनुभएको उपहार हो र यसले लामो समयदेखि साँचो उपासनामा महत्त्व राख्दै आएको छ। (प्रस्थ. १५:२०, २१; एफि. ५:१९) तर सैतानको दुष्ट संसारले अनैतिकताको जयजयकार गर्ने सङ्‌गीतलाई बढावा दिन्छ। (१ यूह. ५:१९) आफूले सुन्‍ने सङ्‌गीतले भ्रष्ट बनाइरहेको छ कि छैन भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ?

१२ तपाईं आफूलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के मैले सुन्‍ने गीतले हत्या, अवैध यौनसम्बन्ध र ईश्‍वरनिन्दाको जयजयकार गर्छ? यदि मैले कुनै गीतको शब्दहरू कसैलाई सुनाउनुपऱ्‍यो भने के उक्‍त व्यक्‍तिले मलाई कुकर्म घृणा गर्ने व्यक्‍ति ठान्‍नेछ? वा ती शब्दहरूले मेरो मन भ्रष्ट भएको सङ्‌केत गर्नेछ?’ कुकर्मको जयजयकार गर्ने गीत सुन्छौं भने कुकर्मलाई घृणा गरिरहेका छौं भन्‍न सक्दैनौं। येशूले भन्‍नुभयो: “मनमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ। जस्तै: दुष्ट विचार, हत्या, हर किसिमका यौन दुराचार, चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा मनबाटै निस्कन्छ।”—मत्ती १५:१८, १९; याकू. ३:१०, ११ तुलना गर्नुहोस्‌।

कुकर्मलाई प्रेम गर्नेहरूप्रति येशूको जस्तै दृष्टिकोण राख्नुहोस्‌

१३. पापमै गडेर बसिरहेकाहरूप्रति येशूले कस्तो दृष्टिकोण राख्नुभयो?

१३ येशूले आफू पापीहरू अर्थात्‌ कुकर्मीहरूलाई पश्‍चात्ताप गर्न बोलाउन आएको कुरा बताउनुभयो। (लूका ५:३०-३२) तर पापी मार्गमै गडेर बसिरहेकाहरूप्रति उहाँले कस्तो दृष्टिकोण राख्नुभयो? यस्ता मानिसहरूको प्रभावमा पर्नदेखि जोगिनुपर्ने विषयमा येशूले कडा चेतावनी दिनुभयो। (मत्ती २३:१५, २३-२६) उहाँले स्पष्टसित यसो पनि भन्‍नुभयो: “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌। त्यस दिन [जब परमेश्‍वरले दण्ड दिनुहुनेछ तब] धेरैले मलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाममा भविष्यवाणी गरेनौं र? तपाईंको नाममा दुष्ट स्वर्गदूतहरूलाई धपाएनौं र? अनि के हामीले तपाईंको नाममा थुप्रै शक्‍तिशाली काम गरेनौं र?’ ” तर पश्‍चात्ताप नगरी कुकर्म गरिरहनेहरूलाई तिरस्कार गर्दै उहाँले यसो भन्‍नुहुनेछ: “मबाट पर हटिहाल।” (मत्ती ७:२१-२३) तिनीहरूलाई किन यसरी तिरस्कार गरिनेछ? किनभने यस्ता मानिसहरू आफ्नो कुकर्मले परमेश्‍वरको अनादर गर्छन्‌ र अरूलाई हानि पुऱ्‍याउँछन्‌।

१४. अपश्‍चात्तापी पापीहरूलाई किन मण्डलीबाट हटाइन्छ?

१४ अपश्‍चात्तापी पापीहरूलाई मण्डलीबाट हटाउनुपर्छ भनी परमेश्‍वरको वचन आज्ञा दिन्छ। ( १ कोरिन्थी ५:९-१३ पढ्‌नुहोस्‌) यसो गर्नु कम्तीमा पनि यी तीन कारणले आवश्‍यक छ: (१) यहोवाको नामलाई निष्कलङ्‌क राख्न, (२) मण्डलीलाई दुष्प्रभावबाट जोगाउन र (३) सम्भव भए पापी व्यक्‍तिलाई पश्‍चात्ताप गर्ने मदत दिन।

१५. हामी यहोवाप्रति वफादार भइरहन चाहन्छौं भने आफूलाई कस्ता गम्भीर प्रश्‍नहरू सोध्नुपर्छ?

१५ पापी मार्गमै लागिरहनेहरूप्रति के हामी येशूको जस्तै दृष्टिकोण राख्छौं? हामीले यी प्रश्‍नहरू विचार गर्नु आवश्‍यक छ: ‘मण्डलीबाट बहिष्कार गरिएको वा मण्डली परित्याग गरेको व्यक्‍तिसित के म नियमित रूपमा सरसङ्‌गत गर्न खोज्छु? यदि उक्‍त व्यक्‍ति आफूसित एउटै घरमा बस्दैन तर नजिकको नातेदार हो भने नि?’ यस्तो अवस्थाले सुकर्मप्रतिको हाम्रो प्रेम र परमेश्‍वरप्रतिको हाम्रो वफादारीको ठूलो जाँच गर्न सक्छ।  a

१६, १७. एउटी ख्रीष्टियन आमाले कस्तो गाह्रो परिस्थितिको सामना गरिन्‌ र अपश्‍चात्तापी पापीहरूलाई बहिष्कार गर्ने प्रबन्धलाई समर्थन गर्न उनलाई केले मदत गऱ्‍यो?

१६ एउटी बहिनीको उदाहरण विचार गर्नुहोस्‌, जसको वयस्क छोराले पहिला यहोवालाई प्रेम गर्थे। तर पछि गएर तिनले कुकर्म गरिरहने अनि पश्‍चात्ताप नगर्ने छनौट गरे। त्यसैले तिनी मण्डलीबाट बहिष्कृत भए। उक्‍त बहिनी यहोवालाई प्रेम गर्थिन्‌ तर उनी आफ्नो छोरालाई पनि माया गर्थिन्‌। त्यसैले छोरासित सङ्‌गत गर्नदेखि टाढै बस्नुपर्ने धर्मशास्त्रीय सल्लाह पालन गर्न उनलाई असाध्यै गाह्रो भयो।

१७ यी बहिनीलाई तपाईं कस्तो सल्लाह दिनुहुने थियो? उक्‍त बहिनीले महसुस गरिरहेको पीडा यहोवालाई थाह छ भनेर बुझ्न एक जना एल्डरले उनलाई मदत गरे। स्वर्गमा बस्ने आफ्ना केही छोराले विद्रोह गर्दा यहोवाले महसुस गर्नुभएको पीडाबारे सोच्न ती भाइले उनलाई आग्रह गरे। यस्तो परिस्थिति कत्ति पीडादायी हुन्छ भनेर यहोवालाई थाह भए तापनि अपश्‍चात्तापी पापीहरूलाई बहिष्कार गर्नु आवश्‍यक छ भनेर एल्डरले उनलाई राम्ररी बुझाए। एल्डरबाट पाएको सम्झौटालाई उनले मनमा लिइन्‌ र बहिष्कारको प्रबन्धलाई वफादार भई समर्थन गरिन्‌। b यस्तो वफादारीले यहोवाको हृदय आनन्दित तुल्याउँछ।—हितो. २७:११.

१८, १९. (क) कुकर्म गरिरहने व्यक्‍तिसितको सम्बन्ध टुटाउँदा हामी केलाई घृणा गरेको देखाउँछौं? (ख) परमेश्‍वर र उहाँको प्रबन्धप्रति वफादार हुँदा कस्तो नतिजा निस्कन सक्छ?

१८ तपाईं यस्तो अवस्थामा पर्दा कृपया नबिर्सनुहोस्‌, यहोवा तपाईंप्रति सहानुभूति राख्नुहुन्छ। बहिष्कार गरिएको वा मण्डली परित्याग गरेको व्यक्‍तिसितको सम्बन्धलाई टुटाउँदा त्यस व्यक्‍तिको मनोवृत्ति र व्यवहारलाई तपाईं घृणा गर्नुहुन्छ भनी देखाइरहनुभएको हुनेछ। तर अर्कोतर्फ, गल्ती गर्ने व्यक्‍तिप्रति तपाईंको प्रेमले गर्दा नै उसले आफ्नो लागि सबैभन्दा हित हुने काम गरेको चाहनुहुन्छ भनेर पनि देखाइरहनुभएको हुनेछ। यहोवाप्रति तपाईं वफादार हुनुभयो भने अनुशासन पाएको व्यक्‍तिले पश्‍चात्ताप गरेर यहोवातर्फ फर्कने सम्भावना बढ्‌न सक्छ।

१९ बहिष्कार भएकी तर पछि पुनःस्थापित एउटी बहिनीले यस्तो लेखिन्‌: “आफ्ना जनलाई प्रेम गर्नुहुने भएकोले नै यहोवा आफ्नो सङ्‌गठन स्वच्छ राख्नुहुन्छ भनी थाह पाएकोमा म खुसी छु। सङ्‌गठनबाहिरका मानिसहरूलाई कठोरजस्तो लाग्ने कदम आवश्‍यक मात्र नभई वास्तवमा मायालु प्रबन्ध हो।” बहिष्कार भएको दौडान उनको परिवारलगायत मण्डलीका सदस्यहरूले उनीसित नियमित सम्पर्क गरिरहेका भए के उक्‍त बहिनी यस्तो निष्कर्षमा पुग्न सक्थिन्‌ होला र? बहिष्कार गर्ने धर्मशास्त्रीय प्रबन्धलाई समर्थन गर्दा सुकर्मलाई प्रेम गरेको र आचरणसम्बन्धी स्तर निर्धारण गर्ने अधिकार यहोवाकै हो भनेर मानिलिएको कुरा देखाउँछौं।

“खराबीलाई घृणा गर”

२०, २१. कुकर्मलाई घृणा गर्न सिक्नु किन महत्त्वपूर्ण छ?

२० “सचेत रहो, जागा बस” भनी प्रेषित पत्रुस चेतावनी दिन्छन्‌। किन? किनकि “तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।” (१ पत्रु. ५:८) कतै त्यसले निल्ने व्यक्‍ति तपाईं पो हुने हो कि? कुकर्मलाई घृणा गर्न तपाईं कत्तिको सिक्नुहुन्छ, यो त्यसमै निर्भर हुन्छ।

२१ कुकर्मलाई घृणा गर्न सिक्नु सजिलो छैन। हामी पापमा जन्मियौं र शरीरको अभिलाषाको पछि लाग्न उक्साउने संसारमा बाँचिरहेका छौं। (१ यूह. २:१५-१७) तथापि, येशू ख्रीष्टको अनुकरण गरेर अनि यहोवा परमेश्‍वरप्रति गहिरो प्रेम विकास गरेर हामी कुकर्मलाई घृणा गर्न सिक्न सक्छौं। यहोवाले ‘आफ्ना पवित्र जनहरूलाई जोगाइराख्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ’ भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त हुँदै ‘खराबीलाई घृणा गर्न’ कटिबद्ध होऔं।—भज. ९७:१०.

[फुटनोट]

a यस विषयमा विस्तृत जानकारी पाउन सेप्टेम्बर १५, १९८१ को प्रहरीधरहरा (अङ्‌ग्रेजी), पृष्ठ २६-३१ हेर्नुहोस्‌।

b जनवरी १५, २००७ को प्रहरीधरहरा (अङ्‌ग्रेजी), पृष्ठ १७-२० पनि हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मादक पेय पदार्थप्रतिको आफ्नो दृष्टिकोण जाँच्न हामीलाई केले मदत गर्नेछ?

• तन्त्रमन्त्रसम्बन्धी गतिविधिबाट सुरक्षित रहन हामी कस्ता कदम चाल्न सक्छौं?

• अश्‍लील सामाग्री किन खतरनाक छ?

• आफूले प्रेम गरेको कोही व्यक्‍ति बहिष्कार हुँदा हामी कसरी कुकर्मलाई घृणा गरेको देखाउँछौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

मादक पेय पदार्थ पिउने छनौट गर्नुहुन्छ भने तपाईंले कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

[पृष्ठ ३०-मा भएको चित्र]

सैतानी प्रभाव भएको मनोरञ्जनदेखि होसियार हुनुहोस्‌

[पृष्ठ ३१-मा भएको चित्र]

अश्‍लील सामाग्री हेर्ने व्यक्‍तिले कुन कुराप्रति प्रेम बढ्‌न दिइरहेको हुन्छ?