सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌

धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌

धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌

“तपाईंलाई धार्मिकता मन पर्छ।”—भज. ४५:७.

१. “धार्मिकताका मार्गमा” हिंडिरहन हामीलाई केले मदत गर्नेछ?

 आफ्नो वचन र पवित्र शक्‍तिद्वारा यहोवाले आफ्ना जनलाई “धार्मिकताका मार्गमा” डोऱ्‍याइरहनुभएको छ। (भज. २३:३) तर हामी त्रुटिपूर्ण भएकोले हामीमा त्यस मार्गबाट अन्यत्र जाने झुकाव छ। सही कुरा गर्ने मार्गमा फर्कन हामीले दृढ भई प्रयास गर्नुपर्छ। सफल हुन हामीलाई केले मदत गर्नेछ? येशूले जस्तै हामीले सही कुरा गर्न मन पराउनै पर्छ।—भजन ४५:७ पढ्‌नुहोस्‌।

२. “धार्मिकताका मार्ग” के हुन्‌?

“धार्मिकताका मार्ग” के हुन्‌? हिब्रू र ग्रीकमा “धार्मिकता”-ले कडिकडाइका साथ लागू गर्नुपर्ने नैतिक सिद्धान्तहरूको “सही” स्तरलाई बुझाउँछ। प्रतीकात्मक अर्थमा “मार्ग”-ले यहोवाले तोक्नुभएको असल र खराबको स्तरअनुसारको आचरण र व्यवहारलाई सङ्‌केत गर्छ। यहोवा “साँचो बासस्थान” हुनुभएकोले उहाँका उपासकहरू आफूले पछ्याउनुपर्ने सोझो मार्ग उहाँले नै निर्धारण गर्नुहुनेछ भनी खुसीसाथ उहाँमा भर पर्छन्‌।—यर्मि. ५०:७.

३. परमेश्‍वरको स्तरबमोजिमको असल कामबारे हामी कसरी अझ धेरै सिक्न सक्छौं?

परमेश्‍वरको सही स्तरअनुसार हिंड्‌न सारा मनले प्रयास गऱ्‍यौं भने मात्र उहाँलाई पूर्णतया खुसी बनाउन सक्नेछौं। (व्यव. ३२:४) यसको लागि पहिले त यहोवाको वचन बाइबलबाट उहाँबारे यथासक्दो धेरै सिक्नुपर्छ। उहाँबारे जति धेरै सिकेर दिनपरदिन उहाँसित नजिक हुँदै जान्छौं, परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई अर्थात्‌ धार्मिकतालाई त्यति नै धेरै प्रेम गर्नेछौं। (याकू. ४:८) जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा पनि हामीले परमेश्‍वरद्वारा प्रेरित उहाँको वचनको डोऱ्‍याइ स्वीकार्नै पर्छ।

परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनुहोस्‌

४. परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनुमा के समावेश छ?

मत्ती ६:३३ पढ्‌नुहोस्‌। परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनु भनेको राज्यको सुसमाचार प्रचार गर्न समय बिताउनु मात्र होइन। हामीले चढाउने पवित्र सेवा यहोवालाई ग्रहणयोग्य हुन हाम्रो दिनहुँको आचरण उहाँको उच्च स्तरअनुरूप हुनै पर्छ। यहोवाको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिने सबैले के गर्नुपर्छ? तिनीहरूले “नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ, जुन परमेश्‍वरको असल तथा सही स्तर अनि वफादारीको मागबमोजिम उहाँको इच्छाअनुसार सृष्टि भएको थियो।”—एफि. ४:२४.

५. निरुत्साहसित डट्‌न हामीलाई केले मदत गर्नेछ?

परमेश्‍वरले तोक्नुभएको असल र खराबको स्तरअनुरूप जीवन बिताउने प्रयास गर्दा कहिलेकाहीं हामी आफ्ना कमीकमजोरीले गर्दा निरुत्साहित हुन सक्छौं। हामीलाई कमजोर बनाउँदै लैजाने निरुत्साहसित डट्‌न र परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्न अनि त्यहीअनुसार गर्न सिक्न हामीलाई केले मदत गर्न सक्छ? (हितो. २४:१०) हामीले “विश्‍वासका साथ अनि निर्धक्क भएर पूरा मनले” नियमित रूपमा यहोवालाई प्रार्थना गर्नै पर्छ। (हिब्रू १०:१९-२२) चाहे हामी अभिषिक्‍त ख्रीष्टियनहरू हौं वा पार्थिव आशा भएकाहरू, हामी येशू ख्रीष्टको फिरौतीको बलिदानमा र हाम्रो महान्‌ प्रधान पुजारीको रूपमा उहाँले गर्ने सेवामा विश्‍वास गर्छौं। (रोमी ५:८; हिब्रू ४:१४-१६) येशूले बगाउनुभएको रगतको महत्त्वपूर्ण भूमिकाबारे यसै पत्रिकाको पहिलो अङ्‌कमा प्रस्ट पारिएको थियो। (१ यूह. १:६, ७) उक्‍त लेखमा यस्तो भनिएको थियो: “यो सत्य हो, सिन्दुरे रङ्‌ग वा गाढा रातो रङ्‌ग भएको कुनै वस्तुलाई उज्यालोमा रातो सिसाबाट हेर्दा उक्‍त वस्तु सेतो देखिन्छ; त्यसैगरि हाम्रो पाप सिन्दुरे रङ्‌गको वा गाढा रातो रङ्‌गको भए तापनि ख्रीष्टको रगतमार्फत परमेश्‍वरले त्यसलाई हेर्नुहुँदा ती पाप सेतोसरह देखिन्छन्‌।” (जुलाई १८७९, पृ. ६) आफ्नो प्यारो छोराको फिरौतीको बलिदानमार्फत यहोवाले हाम्रो लागि कस्तो अद्‌भुत प्रबन्ध मिलाउनुभएको छ!—यशै. १:१८.

परमेश्‍वरले दिनुभएको हातहतियार ठीक अवस्थामा छ कि छैन, जाँच्नुहोस्‌

६. परमेश्‍वरले दिनुभएको हातहतियार ठीक अवस्थामा छ कि छैन भनेर जाँच्नु किन अत्यावश्‍यक छ?

हामीले “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच” सधैं लगाइरहनुपर्छ किनभने यो परमेश्‍वरले दिनुभएको हातहतियारको महत्त्वपूर्ण भाग हो। (एफि. ६:११, १४) चाहे हामीले भर्खरै मात्र आफूलाई यहोवामा समर्पण गरेका हौं वा दशकौंअघि, परमेश्‍वरले दिनुभएको हातहतियार ठीक अवस्थामा छ कि छैन भनेर प्रत्येक दिन जाँच्नु अत्यावश्‍यक छ। किन? किनभने दियाबल र त्यसका दूतहरू पृथ्वीमा फ्याँकिएका छन्‌। (प्रका. १२:७-१२) सैतान क्रुद्ध भएको छ र त्यसलाई आफ्नो समय थोरै मात्र छ भनेर थाह छ। त्यसकारण त्यसले परमेश्‍वरका जनमाथि अझ तीव्र आक्रमण गर्दैछ। “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच” लगाउनु कत्ति महत्त्वपूर्ण छ भनी के हामीले बुझेका छौं?

७. “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच” लगाउनुपर्ने महत्त्वलाई बुझेका छौं भने हामी के गर्नेछौं?

कवचले मुटुलाई जोगाएझैं परमेश्‍वरको स्तरबमोजिमको असल कामले हाम्रो हृदय अर्थात्‌ मनलाई जोगाउँछ। हामी परमेश्‍वरको स्तरबाट चुकेका हुनाले हाम्रो मन छली र भ्रष्ट हुन खोज्छ। (यर्मि. १७:९) हाम्रो मनको झुकाव नै गलत काम गर्ने भएकोले यसलाई प्रशिक्षण दिनु र अनुशासनमा राख्नु नितान्त आवश्‍यक छ। (उत्प. ८:२१) “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच” लगाउनु आवश्‍यक छ भनी मानिलिन्छौं भने परमेश्‍वरले घृणा गर्नुहुने मनोरञ्जन छानेर केही समयको लागि यस कवचलाई फुकाल्ने छैनौं; गलत काममा भाग लिने कल्पनामा पनि डुब्ने छैनौं। टेलिभिजन हेर्नमा धेरै समय खर्च गरेर आफ्नो बहुमूल्य समय खेर फाल्ने छैनौं। बरु, यहोवालाई मन पर्ने काम गर्न सङ्‌घर्ष गरिरहनेछौं। केही समयको लागि परमेश्‍वरको स्तरविपरीतको गलत सोचाइ राख्न पुग्यौं भने पनि यहोवाको मदत लिएर फेरि उठ्‌नेछौं।हितोपदेश २४:१६ पढ्‌नुहोस्‌।

८. हामीलाई “विश्‍वासको ठूलो ढाल” किन चाहिन्छ?

परमेश्‍वरले दिनुभएको हातहतियारमध्ये “विश्‍वासको ठूलो ढाल” एउटा हो। यसले हामीलाई “त्यस दुष्टका सबै अग्निबाणहरू निभाउन” मदत गर्छ। (एफि. ६:१६) फलस्वरूप विश्‍वास र यहोवाप्रतिको तनमनको प्रेमले हामीलाई परमेश्‍वरको स्तरबमोजिमको असल काम गरिरहन र अनन्त जीवनतर्फ पुऱ्‍याउने मार्गमा हिंडिरहन मदत गर्छ। यहोवालाई प्रेम गर्न हामी जति धेरै सिक्छौं, उहाँको स्तरबमोजिमको असल कामको उति नै मोल गर्नेछौं। तर हाम्रो अन्तस्करणबारे के भन्‍न सकिन्छ? परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्ने प्रयास गर्दा यसले हामीलाई कसरी मदत गर्छ?

सफा अन्तस्करण कायम राख्नुहोस्‌

९. सफा अन्तस्करण कायम राखेर हामी कसरी लाभ उठाउँछौं?

बप्तिस्माको बेला हामीले यहोवासित “सफा अन्तस्करणको” निम्ति बिन्ती गऱ्‍यौं। (१ पत्रु. ३:२१) फिरौतीको बलिदानमा विश्‍वास गरेकोले येशूको रगतले हाम्रो पाप ढाक्छ र हामी परमेश्‍वरको नजरमा शुद्ध हुन्छौं। तर परमेश्‍वरसामु शुद्ध रहिरहन हामीले सफा अन्तस्करण कायम राखिरहनुपर्छ। कहिलेकाहीं अन्तस्करणले हामीलाई दोष लगायो र चेतावनी दियो भने यसले सही तरिकाले काम गरिरहेकोमा कृतज्ञ हुनुपर्छ। यसरी झकझकाइरहनु भनेको यहोवाको स्तरबमोजिमको असल काम गर्ने सन्दर्भमा हाम्रो अन्तस्करण बोधो भएको छैन भन्‍ने सङ्‌केत हो। (१ तिमो. ४:२) तर यहोवाको स्तरबमोजिमको असल कामलाई प्रेम गर्न चाहनेहरूका लागि अन्तस्करणले थप अर्को भूमिका खेल्न सक्छ।

१०, ११. (क) हामीले आफ्नो बाइबलप्रशिक्षित अन्तस्करणको आवाज सुन्‍नुपर्ने कुनै एउटा अनुभव बताउनुहोस्‌। (ख) असल कामलाई प्रेम गर्दा हामी किन अपार आनन्द पाउन सक्छौं?

१० गलत काम गर्दा हाम्रो अन्तस्करणले हामीलाई धिक्कार्न वा सताउन सक्छ। एक जना युवक “धार्मिकताका मार्ग” अर्थात्‌ सही मार्गबाट बहकिए। तिनी अश्‍लील सामाग्री हेर्ने लतमा फसे र गाँजा तान्‍न थाले। सभाहरूमा उपस्थित हुँदा तिनले आफूलाई दोषी महसुस गरे र क्षेत्र सेवामा भाग लिंदा तिनलाई आफू ढोंगीजस्तो लाग्यो। त्यसैले तिनले यस्ता ख्रीष्टियन गतिविधिमा भाग लिनै छाडे। तिनले भने, “मेरो अन्तस्करणले मलाई आफूले गरेको कार्यका लागि जवाफदेही तुल्याउनेछ भनेर मैले सोचेकै थिइनँ।” तिनले यसो पनि भने, “मैले लगभग चार वर्षसम्म यस्तो मूर्ख जीवनशैली बिताएँ।” त्यसपछि तिनले सच्चाइमा फर्कनेबारे सोच्न थाले। यहोवाले आफ्नो प्रार्थना सुन्‍नुहुन्‍नजस्तो लागे तापनि तिनले प्रार्थना गरे र क्षमा मागे। त्यसको दस मिनेट नबित्दै तिनकी आमा तिनीकहाँ आइन्‌ र सभाहरूमा फेरि जान प्रोत्साहन दिइन्‌। तिनी राज्यभवन गए र अध्ययनको लागि एक जना एल्डरसित आग्रह गरे। समयको दौडान तिनले बप्तिस्मा गरे र आफ्नो जीवन जोगाइदिनुभएकोमा अहिले तिनी यहोवाप्रति कृतज्ञ छन्‌।

११ सही काम गर्दा अपार आनन्द प्राप्त गर्न सकिन्छ भनेर के हामी आफैले पनि बुझेका छैनौं र? असल कामलाई प्रेम गर्न र त्यसैअनुसार गर्न सिक्दा स्वर्गमा बस्ने हाम्रो बुबा खुसी हुने काम गर्न हामी अझ रमाउनेछौं। अनि यसबारे पनि सोच्नुहोस्‌! सम्पूर्ण मानिसलाई आफ्नो अन्तस्करणले आनन्द मात्र दिने समय आउँदैछ; तिनीहरूले पूर्ण रूपमा परमेश्‍वरको स्वरूप झल्काउनेछन्‌। त्यसैले आउनुहोस्‌, अहिले आफ्नो मनमा असल कामप्रतिको प्रेमलाई जरा गाड्‌न दिएर उहाँलाई आनन्दित बनाऔं।—हितो. २३:१५, १६.

१२, १३. हामी आफ्नो अन्तस्करणलाई कसरी प्रशिक्षण दिन सक्छौं?

१२ आफ्नो अन्तस्करणलाई प्रशिक्षण दिन हामी के गर्न सक्छौं? धर्मशास्त्र र बाइबलआधारित प्रकाशनहरू अध्ययन गर्दा “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌” भनी सम्झनु महत्त्वपूर्ण छ। (हितो. १५:२८) जागिरसम्बन्धी निर्णय गर्नुपर्दा यो कसरी लाभदायी साबित हुन्छ विचार गर्नुहोस्‌। कुनै काम शास्त्रविपरीत छ भन्‍ने कुरा स्पष्ट छ भने हामीमध्ये धेरैले विश्‍वासी र बुद्धिमान्‌ दासले दिएको निर्देशनलाई तुरुन्तै पछ्याइहाल्छौं। तर जागिरसम्बन्धी कुनै प्रश्‍नको जवाफ स्पष्ट छैन भने बाइबल सिद्धान्तहरूलाई ध्यान दिनुपर्छ र प्रार्थनापूर्वक विचार गर्नुपर्छ। a यो कुरा अरूको अन्तस्करणलाई चोट पुऱ्‍याउनबाट जोगिनुपर्ने सिद्धान्तहरूमा लागू हुन्छ। (१ कोरि. १०:३१-३३) परमेश्‍वरसितको आफ्नो सम्बन्ध मुछिएका सिद्धान्तहरूको सन्दर्भमा हामीले विशेष ध्यान दिनुपर्छ। यहोवा हाम्रो लागि वास्तविक हुनुहुन्छ भने हामी आफैलाई यो प्रश्‍न सोध्नेछौं, ‘मैले यो काम गर्दा यहोवालाई आघात पुगेर उहाँ दुःखी हुनुहुने हो कि?’—भज. ७८:४०, ४१.

१३ प्रहरीधरहरा अध्ययन वा मण्डली बाइबल अध्ययनको लागि तयारी गर्दा प्रस्तुत जानकारीमा मनन गर्नुपर्ने आवश्‍यकताबारे हामीले सोच्नै पर्छ। के हामी सधैं प्रश्‍नको जवाफमा सर्र धर्सो तान्‍ने अनि अर्को अनुच्छेदमा गइहाल्ने गर्छौं? यस्तो तयारीले सायद असल कामप्रति हाम्रो प्रेम बढाउन वा हामीमा सचेत अन्तस्करण विकास गराउन सक्दैन। असल कामलाई प्रेम गर्ने हो भने हामीले लगनशील भई अध्ययन गर्नै पर्छ र परमेश्‍वरको लिखित वचनबाट पढेका कुरामा मनन गर्नै पर्छ। असल कामलाई तनमनले प्रेम गर्न सिक्ने हो भने अर्को छोटो बाटो छैन!

परमेश्‍वरको इच्छाबमोजिम गर्न र उहाँका आज्ञा पालन गर्न भोकाउनुहोस्‌ अनि तिर्खाउनुहोस्‌

१४. पवित्र सेवा चढाउँदा हामीले कस्तो महसुस गरेको यहोवा परमेश्‍वर र येशू ख्रीष्ट चाहनुहुन्छ?

१४ पवित्र सेवा चढाउँदा हामी आनन्दित भएको यहोवा परमेश्‍वर र येशू ख्रीष्ट चाहनुहुन्छ। आनन्दित हुन हामीलाई केले मदत गर्नेछ? परमेश्‍वरको स्तरबमोजिमको असल कामप्रतिको प्रेमले! डाँडाको उपदेशमा येशूले भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायका लागि भोकाउँछन्‌ र तिर्खाउँछन्‌, किनकि तिनीहरू तृप्त हुनेछन्‌।” (मत्ती ५:६, फुटनोट) परमेश्‍वरको इच्छाअनुसार गर्न र उहाँका आज्ञाहरू पालन गर्न चाहनेहरूका लागि यी शब्दहरूले कस्तो अर्थ राख्छ?

१५, १६. परमेश्‍वरको स्तरबमोजिमको असल काम गर्ने हाम्रो भोक र तिर्खालाई कसरी तृप्त पारिनेछ?

१५ हामी बाँचिरहेको संसार दुष्टको अधीनमा परेको छ। (१ यूह. ५:१९) जुनसुकै देशको अखबार पढ्यौं भने हामी क्रूरता र हिंसाका घटनाहरू पहिला कहिल्यै नभएको अनुपातमा बढेको पाउँछौं। मानिसले मानिसमाथि देखाएको क्रूरताबारे सोच्दा मात्र पनि परमेश्‍वरको स्तरबमोजिमको असल काम गर्ने मानिसहरू दुःखी हुन्छन्‌। (उप. ८:९) यहोवालाई प्रेम गर्ने मानिसहरूको हैसियतमा हामीलाई यो कुरा थाह छ कि उहाँको स्तरबमोजिमको असल कामबारे सिक्ने भोक र तिर्खालाई उहाँले मात्र तृप्त पार्न सक्नुहुन्छ। अभक्‍त मानिस चाँडै हटाइनेछन्‌। अनि परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्नेहरूले उहाँको व्यवस्था उल्लङ्‌घन गर्ने मानिसहरू र तिनीहरूको कुकर्मको कारण हुने दुःख महसुस गर्नुपर्ने छैन। (२ पत्रु. २:७, ८) त्यो कत्ति ठूलो छुटकारा हुनेछ!

१६ हामी यहोवाका सेवक र येशू ख्रीष्टका अनुयायी हौं। त्यसैले परमेश्‍वरको इच्छाबमोजिम गर्न र उहाँका आज्ञा पालन गर्न भोकाएका र तिर्खाएका सबै जना “तृप्त हुनेछन्‌” भनेर हामीले बुझेका छौं। तिनीहरू परमेश्‍वरको प्रतिज्ञाबमोजिमको नयाँ आकाश र नयाँ पृथ्वीमार्फत पूर्ण रूपमा तृप्त हुनेछन्‌, जहाँ “न्यायले बास गर्छ।” (२ पत्रु. ३:१३) त्यसैले अत्याचार र हिंसाले गर्दा सैतानको यो संसारबाट न्याय हरण भएकोमा हामी निरुत्साहित नहोऔं वा अचम्म नमानौं। (उप. ५:८) के भइरहेको छ, सर्वोच्च यहोवालाई थाह छ र न्याय प्रेमीहरूलाई उहाँले चाँडै छुटकारा दिनुहुनेछ।

परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गरेर लाभ उठाउनुहोस्‌

१७. परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्दा पाइने केही लाभ के हुन्‌?

१७ भजन १४६:९ ले परमेश्‍वरको स्तरबमोजिमको असल मार्ग पछ्याउँदा हुने एउटा विशेष लाभलाई जोड दिन्छ। भजनरचयिताले गाए: “धर्मात्माहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्छ।” सोच्नुहोस्‌ त, परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गरेकोले ब्रह्‍माण्डको सार्वभौमले हामीलाई प्रेम गर्नुहुन्छ! राज्य गतिविधिलाई जीवनमा पहिलो स्थान दिंदा यहोवाले हामीप्रतिको प्रेमको कारण हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ भनी हामी विश्‍वस्त छौं। ( भजन ३७:२५; हितोपदेश १०:३ पढ्‌नुहोस्‌) अन्ततः सारा पृथ्वी परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्ने मानिसहरूले भरिनेछ। (हितो. १३:२२) परमेश्‍वरको स्तरबमोजिमको असल काम गर्ने उहाँका अधिकांश मानिसले इनामस्वरूप पार्थिव प्रमोदवनमा असीमित आनन्द र अनन्त जीवन पाउनेछन्‌। परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्नेहरूले अहिल्यै पनि मनोशान्ति पाएका छन्‌, जसले गर्दा तिनीहरूको परिवार र मण्डलीको शान्तिमा योगदान पुगेको छ।—फिलि. ४:६, ७.

१८. यहोवाको दिन पर्खंदै गर्दा हामीले कस्ता सकारात्मक काम गर्नुपर्छ?

१८ यहोवाको भयानक दिन पर्खंदै गर्दा हामीले उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहनै पर्छ। (सप. २:२, ३) त्यसैले आउनुहोस्‌, हामी यहोवा परमेश्‍वरको सही मार्गप्रति निष्कपट प्रेम देखाऔं। यसमा हाम्रो मनको सुरक्षा गर्न “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच” टमक्क लगाउनु समावेश छ। हामीले सफा अन्तस्करण पनि कायम राखिरहनुपर्छ, जसले गर्दा हामी आफै आनन्दित हुनेछौं अनि हाम्रो परमेश्‍वरको हृदय आनन्दित हुनेछ।—हितो. २७:११.

१९. हामी के गर्न कटिबद्ध हुनुपर्छ र अर्को लेखमा के छलफल गर्नेछौं?

१९ “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इति. १६:९) यी शब्दहरूबाट यस सङ्‌कटमय संसारमा दिनपरदिन बढिरहेको अस्थिरता, हिंसा र दुष्टताको बाबजुद सही काम गरिरहन हामीलाई कत्ति धेरै सान्त्वना मिल्छ! हुनत हामीले पछ्याएको असल मार्गले परमेश्‍वरबाट तर्किएका आम मानिसलाई अचम्ममा पार्न सक्छ। तर यहोवाको स्तरबमोजिमको असल काममा लागिरहँदा हामी ठूलो लाभ उठाउँछौं। (यशै. ४८:१७; १ पत्रु. ४:४) त्यसैले पूरा मनका साथ परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गरिरहन र त्यसलाई व्यवहारमा उतार्न कटिबद्ध होऔं। यसो गरेमा हामी आनन्दित हुन सक्नेछौं। तथापि, पूरा मन हुनुमा कुकर्मलाई घृणा गर्नु पनि समावेश छ। यसको अर्थबारे यसपछिको लेखमा छलफल गर्नेछौं।

[फुटनोट]

a जागिरसम्बन्धी बाइबल सिद्धान्तहरूबारे छलफलको लागि अप्रिल १५, १९९९ को प्रहरीधरहरा, पृष्ठ २८-३० हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको स्तरबमोजिमको असल कामलाई प्रेम गर्न फिरौतीको बलिदानको महत्त्व मानिलिनु किन आवश्‍यक छ?

• “परमेश्‍वरको स्तरबमोजिमको असल कामको कवच” लगाउनु किन महत्त्वपूर्ण छ?

• हामी आफ्नो अन्तस्करणलाई कसरी प्रशिक्षण दिन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

प्रशिक्षित अन्तस्करणले जागिरसम्बन्धी प्रश्‍नहरू सुल्झाउन मदत गर्छ