सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको निगाह प्राप्त गर्दा अनन्त जीवन पाउँछौं

परमेश्‍वरको निगाह प्राप्त गर्दा अनन्त जीवन पाउँछौं

परमेश्‍वरको निगाह प्राप्त गर्दा अनन्त जीवन पाउँछौं

“तपाईंले धर्मात्माहरूलाई आशिष दिनुहुनेछ। हे परमप्रभु, तपाईंले त्यसलाई ढालले झैं आफ्नो निगाहले घेर्नुहुनेछ।”—भज. ५:१२.

१, २. एलियाले सारपतकी विधवासित कस्तो आग्रह गरे अनि उनलाई कस्तो आश्‍वासन दिए?

 आमा-छोरा दुवै भोका थिए अनि परमेश्‍वरका भविष्यवक्‍तालाई पनि भोक लागिरहेको थियो। सारपतकी यी विधवाले दाउरा बटुल्दै गर्दा भविष्यवक्‍ता एलियाले उनीसित पानी र रोटी मागे। उनी एलियालाई पानी दिन इच्छुक थिइन्‌ तर उनीसित “भाँडामा एक मुठी पीठो र ढुंग्रोमा अलिकता तेलबाहेक” अरू खानेकुरा केही थिएन। भविष्यवक्‍ता एलियालाई केही खानेकुरा दिने स्थितिमा आफू नभएको उनलाई लाग्यो र उनले भविष्यवक्‍तालाई त्यही कुरा बताइन्‌।—१ राजा १७:८-१२.

एलियाले भने: “पहिले तिमीसित जे छ त्यसको एउटा सानो फुलौरा बनाएर यहाँ मकहाँ ल्याऊ, र त्यसपछि तिमी र तिम्रो छोराको निम्ति केही बनाऊ। किनभने परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘. . . पीठो सिद्धिनेछैन, नता गरीयोको तेल रित्तिनेछ।’ ”—१ राजा १७:१३, १४.

३. आज हामीले कुन महत्त्वपूर्ण निर्णय गर्नुपर्छ?

यस विधवाले आफूसँग भएको थोरै खानेकुरा भविष्यवक्‍तालाई दिने कि नदिने भनी निर्णय गर्दा यसमा त्योभन्दा पनि महत्त्वपूर्ण कुरा मुछिएको थियो। के उनी आफू र छोराको बचाउको लागि यहोवामा भर पर्ने थिइन्‌ अथवा परमेश्‍वरको निगाह र उहाँसितको मित्रतालाई भन्दा भौतिक कुरालाई पहिलो स्थान दिने थिइन्‌? आज हामी सबैले पनि यही प्रश्‍नको सामना गर्छौं। हामी कुन कुरामा बढी ध्यान दिन्छौं—भौतिक सुरक्षा खोज्न वा यहोवाको निगाह पाउन? हामीले परमेश्‍वरमा भरोसा राख्नुपर्ने र उहाँको सेवा गर्नुपर्ने हर कारण छ। अनि उहाँको निगाह खोज्न र प्राप्त गर्न हामीले चाल्न सक्ने कदमहरू छन्‌।

‘तपाईं उपासना ग्रहण गर्न योग्य हुनुहुन्छ’

४. यहोवा किन हाम्रो उपासना ग्रहण गर्न योग्य हुनुहुन्छ?

मानिसहरूले यहोवालाई ग्रहणयोग्य तरिकामा सेवा गरेको आशा गर्नु उहाँको अधिकार हो। यसलाई पुष्टि गर्दै स्वर्गमा भएका उहाँका सेवकहरूले एकै स्वरमा यसो भने: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” (प्रका. ४:११) यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हाम्रो उपासना ग्रहण गर्न योग्य हुनुहुन्छ।

५. परमेश्‍वरको प्रेमले हामीलाई किन उहाँको सेवा गर्न उत्प्रेरित गर्नुपर्छ?

हामीले यहोवाको सेवा गर्नुपर्ने अर्को कारण उहाँले हामीप्रति देखाउनुभएको अतुलनीय प्रेमले गर्दा हो। बाइबल भन्छ: “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” (उत्प. १:२७) मानिस एक स्वतन्त्र प्राणी हो, जसलाई परमेश्‍वरले सोच्ने र निर्णय गर्ने क्षमता दिनुभएको छ। हामीलाई जीवन दिएर यहोवा सबै मानिसको बुबा हुनुभयो। (लूका ३:३८) एक जना असल बुबाले जस्तै आफ्ना छोराछोरीलाई जीवनको आनन्द उठाउन जे चाहिन्छ, ती सबै उहाँले प्रबन्ध गरिदिनुभएको छ। परमेश्‍वरले हाम्रो लागि सुन्दर वातावरण भएको पृथ्वी दिनुभएको छ र यसले प्रशस्त खानेकुरा उब्जाओस्‌ भनेर ‘उहाँले घाम लगाइदिनुहुन्छ अनि पानी वर्षाउनुहुन्छ।’—मत्ती ५:४५.

६, ७. (क) आदमले आफ्ना सबै सन्तानमाथि कस्तो हानि ल्याए? (ख) परमेश्‍वरको निगाह खोज्नेहरूलाई ख्रीष्टको बलिदानले के गर्नेछ?

पापले गर्दा हुने दुःखदायी परिणामबाट पनि यहोवाले हामीलाई बचाउनुभएको छ। पाप गरेर आदम एक जना जुवाडेजस्तै भए, जसले परिवारको पालनपोषण गर्नुको सट्टा घरको सम्पत्ति चोरेर जुवामा उडाउँछ। यहोवाको विद्रोह गरेर आदमले आफ्ना सन्तानले पाउन सक्ने अनन्त खुसीको प्रत्याशा खोसे। उनको स्वार्थले मानिसजातिलाई त्रुटिपूर्ण अवस्थाको दास बनायो। त्यसैले सबै मानिस बिरामी पर्छन्‌, दुःख भोग्छन्‌ र अन्तमा मर्छन्‌। दासलाई छुटकारा दिन मोल तिर्नुपर्छ अनि पापको डरलाग्दो परिणामबाट हामीलाई बचाउन यहोवाले मोल तिर्नुभएको छ। ( रोमी ५:२१ पढ्‌नुहोस्‌) आफ्नो बुबाको इच्छाअनुसारै येशू ख्रीष्टले “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान” दिनुभयो। (मत्ती २०:२८) फिरौतीस्वरूप दिइएको मोलले गर्दा सम्भव हुने पूरापूर लाभ परमेश्‍वरको निगाह प्राप्त गर्नेहरूले चाँडै पाउनेछन्‌।

हामीलाई आनन्ददायी र उद्देश्‍यपूर्ण जीवन दिन सृष्टिकर्ता यहोवाले जे गर्नुभएको छ, त्यो अरू कसैले गरेको छैन। हामीले परमेश्‍वरको निगाह पाएको हुँदा मानवजातिले भोगिरहेका सबै हानिलाई उहाँले कसरी सच्याउनुहुनेछ भनी देख्नेछौं। “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई” यहोवाले “इनाम दिनुहुन्छ” भनी उहाँले हामी प्रत्येकलाई देखाउनुहुनेछ।—हिब्रू ११:६.

“तिम्रो प्रजाले राजीखुशीले आफैलाई अर्पण गर्नेछन्‌”

८. परमेश्‍वरको सेवा गर्ने सन्दर्भमा यशैयाको अनुभवले हामीलाई के सिकाउँछ?

परमेश्‍वरको निगाह पाउन हामीले आफ्नो स्वतन्त्र इच्छालाई सही तरिकामा प्रयोग गर्नुपर्छ किनभने यहोवा कसैलाई पनि उहाँको सेवा गर्न कर गर्नुहुन्‍न। यशैयाको समयमा उहाँले सोध्नुभयो: “म कसलाई पठाऊँ औ हाम्रा निम्ति को जाने?” ती भविष्यवक्‍ताको निर्णय गर्ने अधिकारलाई मानिलिंदै यहोवाले तिनको आदर गर्नुभयो। यशैयाले “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भन्‍ने जवाफ दिंदा तिनले कस्तो सन्तुष्टि महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त!—यशै. ६:८.

९, १०. (क) हामीले कस्तो मनसाय राखेर परमेश्‍वरको सेवा गर्नुपर्छ? (ख) यहोवालाई तनमनका साथ सेवा गर्नु किन उपयुक्‍त छ?

परमेश्‍वरको सेवा गर्ने कि नगर्ने भनी छनौट गर्न मानिसहरू स्वतन्त्र छन्‌। हामीले राजीखुसीले यहोवाको सेवा गरेको उहाँ चाहनुहुन्छ। ( यहोशू २४:१५ पढ्‌नुहोस्‌) मन नपरी-नपरी परमेश्‍वरको उपासना गर्नेहरूले उहाँलाई प्रसन्‍न पार्न सक्दैनन्‌; नत अरू मानिसलाई खुसी पार्ने उद्देश्‍यले मात्र सेवा गर्नेहरूको भक्‍ति उहाँ स्वीकार्नुहुन्छ। (कल. ३:२२) हाम्रो उपासनालाई बाधा पुऱ्‍याउने सांसारिक इच्छाहरूको पछि लागेर पवित्र सेवामा “विलम्ब” गरिरहेका छौं भने परमेश्‍वरको निगाह प्राप्त गर्न सक्दैनौं। (प्रस्थ. २२:२९) यहोवालाई तनमनका साथ उपासना गर्दा हाम्रै भलाइ हुन्छ भनेर उहाँलाई थाह छ। मोशाले इस्राएलीहरूलाई ‘तिनीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै’ जीवन नै रोज्न आग्रह गरे।—व्यव. ३०:१९, २०.

१० प्राचीन इस्राएलका राजा दाऊदले यहोवालाई यस्तो भजन गाए: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजीखुशीले आफैलाई अर्पण गर्नेछन्‌, पवित्र पोशाकमा बिहानको गर्भबाट, शीतजस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ।” (भज. ११०:३) आज धेरै मानिसको मुख्य चासो आर्थिक तवरमा सुरक्षित हुनु हो र तिनीहरू मोजमस्तीकै लागि जिउँछन्‌। तर यहोवालाई प्रेम गर्नेहरूका लागि भने अरू कुराभन्दा उहाँको पवित्र सेवा सबैभन्दा महत्त्वपूर्ण छ। तिनीहरूले सुसमाचार प्रचारकार्यमा देखाउने जोसबाट तिनीहरू कुन कुरालाई प्राथमिकता दिन्छन्‌ भनी प्रमाणित हुन्छ। यहोवाले दैनिक आवश्‍यकता पूरा गरिदिनुहुन्छ भनेर तिनीहरू पूर्णतया विश्‍वस्त छन्‌।—मत्ती ६:३३, ३४.

परमेश्‍वरको निगाह प्राप्त हुने बलिदानहरू

११. यहोवालाई बलिदान चढाउँदा इस्राएलीहरूले कस्तो लाभ पाउने आशा गरे?

११ व्यवस्थाको करारअन्तर्गत परमेश्‍वरका जनले उहाँको निगाह पाउन ग्रहणयोग्य बलिदानहरू चढाउँथे। लेवी १९:५ यसो भन्छ: “तिमीहरूले मेलबलि चढाउँदा आफू ग्रहणयोग्य हुने गरी चढाओ।” लेवीकै पुस्तकमा यस्तो लेखिएको पनि पाउँछौं: “तिमीहरूले परमप्रभुको निम्ति धन्यवाद बलि चढाउँदा तिमीहरू ग्रहणयोग्य हुने गरी त्यो बलि चढाओ।” (लेवी २२:२९) इस्राएलीहरूले यहोवाको वेदीमा उचित किसिमको पशुबलि चढाउँदा त्यसबाट निस्केको धुवाँ साँचो परमेश्‍वरको लागि “मीठो बास्ना”-जस्तै थियो। (लेवी १:९, १३) आफ्ना मानिसहरूले यसरी प्रेम देखाउँदा उहाँ खुसी हुनुभयो र त्यसलाई ग्रहण गर्नुभयो। (उत्प. ८:२१) व्यवस्थाका यी कुरामा अहिले पनि लागू हुने एउटा सिद्धान्त पाउँछौं। यहोवालाई ग्रहणयोग्य बलिदान चढाउनेहरूले उहाँको निगाह प्राप्त गर्छन्‌। उहाँ कस्तो बलिदान ग्रहण गर्नुहुन्छ? जीवनका दुई क्षेत्रलाई विचार गर्नुहोस्‌: हाम्रो आचरण र बोली।

१२. कस्ता कुराहरूले गर्दा ‘हामीले बलिदानको रूपमा अर्पण गर्ने शरीर’ परमेश्‍वरसामु घिनलाग्दो हुन्छ?

१२ प्रेषित पावलले रोमीहरूलाई पत्रमा लेखे: “तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाएका हुनेछौ।” (रोमी १२:१) परमेश्‍वरको निगाह पाउन मानिसले आफ्नो शरीर परमेश्‍वरसामु ग्रहणयोग्य बनाइराख्नुपर्छ। आफ्नो शरीरलाई सुर्ती, सुपारी, अवैध लागू औषधी वा मादक पेय पदार्थको दुर्व्यसनद्वारा दूषित पारेको खण्डमा तिनले चढाएको बलिदानरूपी शरीरको कुनै अर्थ रहँदैन। (२ कोरि. ७:१) साथै, ‘अवैध यौनसम्बन्ध राख्नेले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुने’ भएकोले कुनै पनि प्रकारको अनैतिक आचरणमा लाग्ने व्यक्‍तिको बलिदान यहोवासामु घिनलाग्दो हुन्छ। (१ कोरि. ६:१८) परमेश्‍वरलाई प्रसन्‍न पार्न “आफ्नो सारा चालचलनमा पवित्र” हुनै पर्छ।—१ पत्रु. १:१४-१६.

१३. हामीले यहोवाको प्रशंसा गर्न किन सुहाउँछ?

१३ यहोवा खुसी हुने अर्को बलिदान हाम्रो बोलीसित सम्बन्धित छ। यहोवालाई प्रेम गर्नेहरूले जनसमक्ष र घरमा एक्लै छँदा सधैं उहाँबारे असल कुरा बोलेका छन्‌। ( भजन ३४:१-३ पढ्‌नुहोस्‌) भजन १४८-१५० पढ्‌नुहोस्‌ र यी तीन वटा भजनमा यहोवाको प्रशंसा गर्न हामीलाई कत्ति धेरै चोटि प्रोत्साहन दिइएको छ, याद गर्नुहोस्‌। साँच्चै, “सोझा मनकाहरूले स्तुति गर्न सुहाउँछ।” (भज. ३३:१) अनि हाम्रो नमुना येशू ख्रीष्टले सुसमाचार प्रचार गरेर परमेश्‍वरको प्रशंसा गर्नुको महत्त्वबारे जोड दिनुभयो।—लूका ४:१८, ४३, ४४.

१४, १५. होशेले इस्राएलीहरूलाई कस्तो बलिदान चढाउन आग्रह गरे र यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?

१४ जोसिलो भई प्रचार गर्दा यहोवाप्रतिको हाम्रो प्रेम र उहाँको निगाह पाउने आफ्नो इच्छा प्रकट गर्छौं। उदाहरणको लागि, झूटो उपासना अँगालेका र परमेश्‍वरको निगाह गुमाएका इस्राएलीहरूलाई भविष्यवक्‍ता होशेले कस्तो आग्रह गरे, विचार गर्नुहोस्‌। (होशे १३:१-३) होशेले तिनीहरूलाई यस्तो बिन्ती गर्न भने: “[हे यहोवा] सबै अधर्म दूर गरेर जे असल छ त्यही ग्रहण गर्नुहोस्‌। यसरी हामी बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति चढाउनेछौं।”—होशे १४:१, २.

१५ इस्राएलीहरूले यहोवालाई चढाउने बलिदानमध्ये सबैभन्दा महँगो जनावर बाछा थियो। यसर्थ “बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति” भन्‍ने अभिव्यक्‍तिले साँचो परमेश्‍वरको प्रशंसा गर्न सोचविचार गरी बोलिएका निष्कपट शब्दलाई बुझाउँथ्यो। यस्तो बलिदान चढाउनेहरूप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले भन्‍नुभयो: “म तिनीहरूलाई अपार प्रेम देखाउनेछु।” (होशे १४:४) प्रशंसाका यस्ता बलिदान चढाउनेहरूलाई यहोवाले क्षमा दिनुभयो, निगाह प्रदान गर्नुभयो र आफ्नो मित्र बनाउनुभयो।

१६, १७. परमेश्‍वरमाथिको विश्‍वासले कुनै मानिसलाई सुसमाचार प्रचार गर्न उत्प्रेरित गर्दा उसले चढाएको प्रशंसालाई यहोवाले कसरी लिनुहुन्छ?

१६ जनसमक्ष यहोवाको प्रशंसा गर्नु सधैं साँचो उपासनाको महत्त्वपूर्ण भाग हुँदै आएको छ। भजनरचयिताको लागि साँचो परमेश्‍वरको महिमा गर्नु अत्यन्तै महत्त्वपूर्ण भएकोले उनले परमेश्‍वरलाई यस्तो अनुरोध गरे: “हे परमप्रभु, बिन्ती छ, मेरो मुखको स्वेच्छाबलि ग्रहण गर्नुहोस्‌।” (भज. ११९:१०८) आज नि? हाम्रो समयको ठूलो भीडबारे यशैयाले यस्तो भविष्यवाणी गरे: “तिनीहरूले . . . परमप्रभुको प्रशंसाको प्रचार गर्नेछन्‌। तिनीहरू [तिनीहरूको उपहार] मेरो [परमेश्‍वरको] वेदीमा ग्रहणयोग्य भएर आउनेछन्‌।” (यशै. ६०:६, ७) यस भविष्यवाणीको पूर्तिअनुरूप नै आज लाखौंले ‘प्रशंसाको बलिदान अर्थात्‌ ओठको फल चढाएर उहाँको नाम जनसमक्ष घोषणा गरिरहेका छन्‌।’—हिब्रू १३:१५.

१७ तपाईं नि? के तपाईंले परमेश्‍वरलाई ग्रहणयोग्य बलिदान चढाइरहनुभएको छ? छैन भने के तपाईं आवश्‍यक परिवर्तन गरेर जनसमक्ष यहोवाको प्रशंसा गर्न थाल्नुहुनेछ? विश्‍वासले उत्प्रेरित भएर सुसमाचार प्रचार गर्न थाल्दा बलिको ‘साँढेभन्दा’ यसले यहोवालाई ‘बढी प्रसन्‍न पार्नेछ।’ ( भजन ६९:३०, ३१ पढ्‌नुहोस्‌) तपाईंले चढाउने प्रशंसाको बलिदानको “सुगन्धित बासना” यहोवाकहाँ पुग्नेछ र उहाँले तपाईंलाई निगाह प्रदान गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (इज. २०:४१) तब तपाईंले अनुभव गर्नुहुने आनन्दको कुनै सीमा रहनेछैन।

‘परमप्रभुले धर्मात्माहरूलाई आशिष्‌ दिनुहुनेछ’

१८, १९. (क) आज मानिसहरू परमेश्‍वरको सेवा गर्नेबारे कस्तो धारणा राख्छन्‌? (ख) परमेश्‍वरको निगाह गुमाउँदा के हुन्छ?

१८ आज धेरै मानिस मलाकीको समयका केही मानिसजस्तै यस्तो निष्कर्षमा पुग्छन्‌: “परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ, औ उहाँको आज्ञा पालन गर्नमा . . . हामीलाई के नाफा छ र?” (मला. ३:१४) भौतिकवादी चाहनाहरूको पछि लागेकोले तिनीहरू परमेश्‍वरको उद्देश्‍य पूरा हुन असम्भव छ र उहाँका नियमहरू अहिले लागू हुँदैनन्‌ भन्‍ने सोचाइ राख्छन्‌। तिनीहरूको विचारमा सुसमाचार प्रचार गर्नु भनेको समय बर्बाद गर्नु र अरूलाई रिस उठाउनु हो।

१९ यस्तो मनोवृत्ति अदनको बगैंचामा सुरु भएको थियो। हव्वालाई यहोवाले दिनुभएको सुन्दर जीवनको कुनै मोल नगर्न र उहाँको निगाह तिरस्कार गर्न लगाउने व्यक्‍ति सैतान थियो। परमेश्‍वरको इच्छाअनुसार गर्दा केही फाइदा हुँदैन भनी मानिसहरूलाई विश्‍वास दिलाउन आज सैतान निरन्तर लागिरहन्छ। तर हव्वा र तिनको पतिले परमेश्‍वरको निगाह गुमाउनुको अर्थ आफ्नो जीवन गुमाउनु हो भनेर थाह पाए। अहिले तिनीहरूको खराब उदाहरण पछ्याउनेहरूले चाँडै त्यही तीतो सत्य अनुभव गर्नेछन्‌।—उत्प. ३:१-७, १७-१९.

२०, २१. (क) सारपतकी विधवाले के गरिन्‌ र परिणाम कस्तो भयो? (ख) हामीले किन र कसरी सारपतकी विधवाको अनुकरण गर्नुपर्छ?

२० आदम र हव्वाको दुःखदायी अन्त र सुरुमा उल्लिखित एलिया र सारपतकी विधवाले भोगेको परिणामबीचको भिन्‍नतालाई विचार गर्नुहोस्‌। एलियाको प्रोत्साहनदायी शब्दहरू सुनेपछि त्यस विधवाले रोटी पकाउन थालिन्‌ र पहिला भविष्यवक्‍तालाई दिइन्‌। त्यसपछि यहोवाले एलियामार्फत गरेको प्रतिज्ञा पूरा गर्नुभयो। विवरण यसो भन्छ: “तिनको निम्ति, त्यस विधवाको निम्ति र तिनको घरानाको निम्ति धेरै समयसम्म खानेकुरा भयो। एलियाद्वारा परमप्रभुले पहिलेनै भन्‍नुभएझैं भाँडाको पीठो सिद्धिएन, औ गरीयोको तेल पनि रित्तिएन।”—१ राजा १७:१५, १६.

२१ आज बाँचिरहेका अरबौं मानिसमध्ये थोरै मात्र सारपतकी विधवाले गरेझैं गर्न इच्छुक छन्‌। उद्धार दिने परमेश्‍वरमा तिनले पूर्ण भरोसा राखिन्‌ र उहाँले तिनलाई निस्सहाय छोड्‌नुभएन। यो र अन्य बाइबल विवरणले यहोवा हाम्रो भरोसाको योग्य हुनुहुन्छ भनी पुष्टि गर्छ। ( यहोशू २१:४३-४५; २३:१४ पढ्‌नुहोस्‌) यहोवाको निगाह पाएकाहरूलाई उहाँले कहिल्यै त्याग्नुहुनेछैन भनेर आधुनिक समयका यहोवाका साक्षीहरूको जीवनले थप प्रमाण दिन्छ।—भज. ३४:६, ७, १७-१९ a

२२. हामीले किन ढिलासुस्ती नगरी परमेश्‍वरको निगाह खोज्नु जरुरी छ?

२२ “पृथ्वीमा बास गर्ने सबैमाथि” परमेश्‍वरको न्यायको दिन आउनै लागेको छ। (लूका २१:३४, ३५) यो न्याय सबैले भोग्नुपर्नेछ। परमेश्‍वरको नियुक्‍त न्यायाधीशले भन्‍नुभएको यी कुरा सुन्‍नुको महत्त्वलाई कुनै धन वा भौतिक सुखसुविधासित तुलना गर्न सकिंदैन: “आओ, मेरो बुबाको आशिष्‌ पाएकाहरू हो, . . . तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।” (मत्ती २५:३४) हो, यहोवा स्वयम्‌ले ‘धर्मात्माहरूलाई आशिष्‌ दिनुहुनेछ। उहाँले तिनीहरूलाई ढालले झैं आफ्नो निगाहले घेर्नुहुनेछ।’ (भज. ५:१२) त्यसोभए के हामीले परमेश्‍वरको निगाह खोज्नुपर्दैन र?

[फुटनोट]

a प्रहरीधरहरा, मार्च १५, २००५, पृष्ठ १३, अनुच्छेद १५; अगस्त १, १९९७, पृष्ठ २०-२५ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• हाम्रो तनमनको उपासना पाउन यहोवा किन योग्य हुनुहुन्छ?

• आज यहोवा कस्ता बलिदान ग्रहण गर्नुहुन्छ?

• “बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति” भन्‍ने अभिव्यक्‍तिले केलाई सङ्‌केत गर्छ र हामीले यहोवालाई किन ती चढाउनुपर्छ?

• हामीले किन परमेश्‍वरको निगाह खोज्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

परमेश्‍वरको भविष्यवक्‍ताको कुराले गर्दा एउटी गरीब र भोकाएकी आमाले कस्तो निर्णय गर्नुपर्ने भयो?

[पृष्ठ १५-मा भएको चित्र]

यहोवालाई प्रशंसाको बलिदान चढाउँदा हामी कस्तो लाभ पाउँछौं?

[पृष्ठ १७-मा भएको चित्र]

यहोवामा साँचो भरोसा राख्दा तपाईं कहिल्यै निराश हुनुपर्ने छैन