सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टिमा पवित्र शक्‍तिको भूमिका

सृष्टिमा पवित्र शक्‍तिको भूमिका

सृष्टिमा पवित्र शक्‍तिको भूमिका

“परमप्रभुकै वचनले स्वर्ग र उहाँकै मुखको सासले त्यहाँका तारागण बनिएका हुन्‌।”—भज. ३३:६.

१, २. (क) समय बित्दै जाँदा मानिसले आकाश र पृथ्वीबारे कसरी अझ धेरै ज्ञान प्राप्त गरेका छन्‌? (ख) कुन प्रश्‍नको जवाफ पाउनु जरुरी छ?

 अल्बर्ट आइन्स्टाइनले सन्‌ १९०५ मा सापेक्षतावादको विशेष सिद्धान्त प्रकाशित गर्दा तिनीलगायत अरू थुप्रै वैज्ञानिकले ब्रह्‍माण्डको एक मात्र तारापुञ्ज आकाशगङ्‌गा हो भन्‍ने विश्‍वास गरेका थिए। तिनीहरूले त्यतिबेला ब्रह्‍माण्ड कत्ति सानो ठानेका रहेछन्‌! अहिलेको अनुमानअनुसार स्वर्ग अर्थात्‌ आकाशमा एक खरबभन्दा धेरै तारापुञ्ज छन्‌ र कुनै-कुनै तारापुञ्जमा खरबौं तारा छन्‌। झन्‌झन्‌ शक्‍तिशाली टेलिस्कोप पृथ्वीमा राखिंदा वा पृथ्वी वरिपरि परिक्रमा गर्न लगाइँदा अझ धेरै तारापुञ्ज पत्ता लाग्दैछन्‌।

सन्‌ १९०५ मा आकाशबारे वैज्ञानिकहरूको ज्ञान सीमित भएझैं पृथ्वीबारे पनि सीमित थियो। हुनत एक शताब्दीअघिका मानिसहरूलाई तिनीहरूका पुर्खालाई भन्दा धेरै कुरा थाह थियो। तर जीवनको सौन्दर्य र जटिलता अनि पृथ्वीमा जीवन धान्‍ने विभिन्‍न प्रणालीबारे त्यतिबेलाका मानिसहरूसित भन्दा अहिलेका मानिसहरूसित धेरै ज्ञान छ। अनि आगामी दिनहरूमा पृथ्वी र आकाशबारे अझ धेरै कुरा पक्कै थाह पाउनेछौं। तर यो प्रश्‍न सोध्नु मनासिब छ: यी सबै कुरा सबैभन्दा पहिले कसरी अस्तित्वमा आए? यस प्रश्‍नको जवाफ पवित्र धर्मशास्त्रमा सृष्टिकर्ताले प्रकट गर्नुभएको कुराको आधारमा मात्र थाह पाउन सक्छौं।

सृष्टिको चमत्कार

३, ४. परमेश्‍वरले ब्रह्‍माण्ड कसरी सृष्टि गर्नुभयो अनि उहाँको कामले कसरी उहाँको महिमा गर्छ?

ब्रह्‍माण्ड कसरी अस्तित्वमा आयो भनी बाइबलका सुरुका शब्दहरूले यसरी बताउँछ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्प. १:१) सुरुमा केही पनि थिएन तर यहोवाले आफ्नो सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति चलाएर आकाश, पृथ्वी र ब्रह्‍माण्डमा भएका सब थोक सृष्टि गर्नुभयो। कालिगडले सरसामान बनाउन आफ्नो हात र औजारहरू चलाउँछ तर परमेश्‍वरले ठूलठूला कार्यहरू गर्न आफ्नो पवित्र शक्‍ति प्रयोग गर्नुहुन्छ।

धर्मशास्त्रले पवित्र शक्‍तिलाई प्रतीकात्मक भाषामा परमेश्‍वरको “औंला” भनेको छ। (लूका ११:२०, फुटनोट; मत्ती १२:२८) अनि पवित्र शक्‍तिद्वारा यहोवाले सृष्टि गर्नुभएको “हातको सीप”-ले उहाँको महिमा गर्छ। भजनरचयिता दाऊदले यस्तो भजन गाए: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाशमण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” (भज. १९:१) सृष्टिले पक्कै पनि परमेश्‍वरको पवित्र शक्‍तिको अद्‌भुत सामर्थ्यको प्रमाण दिन्छ। (रोमी १:२०) कसरी?

परमेश्‍वरको असीमित शक्‍ति

५. सृष्टि गर्दा यहोवाको पवित्र शक्‍ति कत्तिको प्रबल थियो, उदाहरणसहित बताउनुहोस्‌।

हामीले कल्पनै गर्न नसक्ने विशाल ब्रह्‍माण्डले यहोवाको सामर्थ्य र शक्‍ति कहिल्यै सिद्धिंदैन भन्‍ने प्रमाण दिन्छ। ( यशैया ४०:२६ पढ्‌नुहोस्‌) पदार्थ शक्‍तिमा अनि शक्‍ति पदार्थमा परिणत हुन सक्छ भनी आधुनिक विज्ञानले बुझेको छ। पदार्थ शक्‍तिमा परिणत हुन्छ भन्‍ने कुराको उदाहरण सूर्य हो, जुन एउटा तारा हो। सूर्यले प्रति सेकेन्ड लगभग ४० लाख टन पदार्थलाई प्रकाश, ताप र अन्य प्रकारका शक्‍तिमा परिणत गर्छ। यस शक्‍तिको एकदमै सानो अंश मात्र पृथ्वीसम्म पुग्छ तर पृथ्वीमा जीवन धान्‍न त्यो यथेष्ट छ। स्पष्ट छ, सूर्य मात्र होइन तर अन्य खरबौं ताराहरू सृष्टि गर्न अत्यन्त धेरै शक्‍ति र सामर्थ्य चाहिएको थियो। यहोवासित यति मात्र होइन, कत्ति हो कत्ति शक्‍ति छ।

६, ७. (क) परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिलाई व्यवस्थित ढङ्‌गमा प्रयोग गर्नुभएको छ भनेर हामी किन भन्‍न सक्छौं? (ख) ब्रह्‍माण्ड संयोगवश अस्तित्वमा आएको होइन भनेर केले देखाउँछ?

परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति एकदमै व्यवस्थित ढङ्‌गमा प्रयोग गर्नुभयो भन्‍ने प्रमाण हामी वरपर प्रशस्त छन्‌। मानिलिनुहोस्‌, तपाईंसित एउटा बाकसमा विभिन्‍न रङ्‌गका बलहरू छन्‌। बाकसलाई बेसरी हल्लाएर बलहरू छ्यासमिस गर्नुहोस्‌। त्यसपछि सबै बललाई एकै चोटि भुइँमा गुडाउनुहोस्‌। ती बलहरूमध्ये नीलो बल एकातिर, पहेंलो बल अर्कोतिर अनि अरू बल पनि आ-आफ्नो रङ्‌गअनुसार समूह बनेर बसेको के तपाईं आशा गर्नुहुन्छ? कदापि गर्नुहुन्‍न! व्यवस्थित ढङ्‌गमा परिचालन गरिएन भने व्यवस्थित हुने होइन तर भद्रगोल हुने सम्भावना सधैं धेरै हुन्छ। यस तथ्यलाई प्रकृतिको आधारभूत नियम मानिन्छ। a

आकाशतिर नजर लगाउँदा अनि टेलिस्कोपबाट अवलोकन गर्दा हामी के देख्छौं? तारापुञ्ज, तारा अनि ग्रहहरूको विशाल अनि अत्यन्त व्यवस्थित प्रणाली देख्छौं, जुन एकदमै ठीक-ठीकसित आफ्नो गतिमा चलिरहेको छ। यो संयोगवश वा कुनै योजनाविना अकस्मात्‌ भएको हुन सक्दैन। त्यसैले हामीले आफूलाई यो प्रश्‍न सोध्नुपर्छ: यस व्यवस्थित ब्रह्‍माण्ड बनाउन सुरुमा कुन शक्‍ति प्रयोग गरिएको थियो? वैज्ञानिक अवलोकन वा परीक्षणको आधारमा मात्र हामी त्यो कुन शक्‍ति थियो भनी पत्ता लगाउन सक्दैनौं। तथापि, बाइबलले त्यस शक्‍तिलाई परमेश्‍वरको पवित्र शक्‍ति भनी चिनाएको छ र ब्रह्‍माण्डमा योभन्दा प्रबल शक्‍ति अर्को छैन। भजनरचयिताले यस्तो भजन गाए: “परमप्रभुकै वचनले स्वर्ग र उहाँकै मुखको सासले त्यहाँका तारागण बनिएका हुन्‌।” (भज. ३३:६) अनि राती आकाशमा हेर्दा हाम्रो आँखाले त्यस “तारागण”-को एकदमै सानो अंश मात्र देख्न सक्छ!

पवित्र शक्‍ति र पृथ्वी

८. यहोवाका कामबारे वास्तवमा हामीलाई कति मात्र थाह छ?

अहिले हामीलाई प्रकृतिबारे जे-जति थाह छ, त्यो हामीले सिक्न बाँकी कुरासित तुलना गर्दा केही पनि होइन। परमेश्‍वरले गर्नुभएको सृष्टिबारे हामीलाई थाह भएको कुराबारे उहाँको विश्‍वासी सेवक अय्यूबले यसो भने: “यी ता उहाँको शक्‍तिको एक छेउ मात्र हुन्‌, औ हामीले सुन्‍ने उहाँको मधुर-स्वर कति मधुरो छ।” (अय्यू. २६:१४) शताब्दीयौंपछि, यहोवाको सृष्टिलाई गहिरिएर विचार गर्ने राजा सुलेमानले घोषणा गरे: “सबै काम त्यसको समयानुकुल [परमेश्‍वरले] बनाउनुभएको छ। त्यसबाहेक उहाँले मानिसलाई बितेको समय र आउने समयको चेतना दिनुभएको छ, तर शुरुदेखि अन्तसम्म परमेश्‍वरको कार्य बुझ्ने शक्‍ति दिनुभएको छैन।”—उप. ३:११; ८:१७.

९, १०. पृथ्वी सृष्टि गर्न परमेश्‍वरले कुन शक्‍ति प्रयोग गर्नुभयो र सृष्टिको सुरुका तीन दिनमा के-कस्ता कुराहरू बनाइए?

तर यहोवाले हामीलाई उहाँका कामबारे अत्यावश्‍यक विवरणहरू भने प्रकट गर्नुभएको छ। उदाहरणको लागि, पृथ्वीमा परमेश्‍वरको शक्‍ति युगौंयुग अघिदेखि सक्रिय थियो भनी धर्मशास्त्र बताउँछ। ( उत्पत्ति १:२ पढ्‌नुहोस्‌) त्यतिबेला ओबानो भूमि, उज्यालो अनि पृथ्वीमा सास फेर्न चाहिने हावा पनि थिएन।

१० परमेश्‍वरले सृष्टिका दिनहरूमा गर्नुभएका कुराबारे बाइबल बताउँछ। ती २४ घण्टे दिन होइनन्‌ तर लामो समयावधि हुन्‌। सृष्टिको पहिलो दिनमा यहोवाले पृथ्वीको सतहमा उज्यालो देखा पार्न थाल्नुभयो। पछि पृथ्वीबाट सूर्य र चन्द्र स्पष्टसित देख्न सक्ने भएपछि त्यो प्रक्रिया पूरा हुनेथियो। (उत्प. १:३, १४) दोस्रो दिनमा वायुमण्डल बनाउन थालियो। (उत्प. १:६) त्यतिबेला पृथ्वीमा पानी, उज्यालो र हावा थियो तर ओबानो भूमि भने थिएन। सृष्टिको तेस्रो दिनको सुरुतिर यहोवाले सम्भवतः शक्‍तिशाली भौगर्भिक शक्‍ति चलाएर ओबानो भूमि देखा पार्नुभयो र यसको लागि उहाँले आफ्नो पवित्र शक्‍ति प्रयोग गर्नुभयो। (उत्प. १:९) सृष्टिको तेस्रो दिन र त्यसपछिका दिनहरूमा पनि अचम्म-अचम्मका थुप्रै कुरा बनाइनेथिए।

पवित्र शक्‍ति र जीवजीवात

११. जीवजीवातको जटिलता, समरूपता र सौन्दर्यले के प्रकट गर्छ?

११ परमेश्‍वरको शक्‍तिद्वारा अत्यन्त व्यवस्थित जीवजीवातहरू पनि सृष्टि गरिए। आफ्नो पवित्र शक्‍तिद्वारा परमेश्‍वरले सृष्टिको तेस्रो दिनदेखि छैटौं दिनसम्ममा किसिम-किसिमका आश्‍चर्यजनक बोटबिरुवा र जनावरहरू सृष्टि गर्नुभयो। (उत्प. १:११, २०-२५) यसर्थ जीवजीवातले उत्कृष्ट रचनाको जटिलता, समरूपता र सौन्दर्यको अनगिन्ती उदाहरण प्रकट गर्छ।

१२. (क) डि एन ए-को काम के हो? (ख) डि एन ए-ले निरन्तर निर्वाह गरिरहेको सफल भूमिकाबाट हामीले के सिक्नुपर्छ?

१२ डि एन ए-लाई (डिअक्सिराइबोन्युक्लेइक एसिड) विचार गर्नुहोस्‌, जुन जीवजीवातको एउटा पुस्ताको खास गुण अर्को पुस्तासम्म सार्ने रासायनिक तत्त्व हो। सूक्ष्म जीवाणु, घाँस, हात्ती, ह्वेल र मानिसलगायत पृथ्वीमा भएका सम्पूर्ण जीवित थोकले डि एन ए-द्वारा नै वंशवृद्धि गर्छन्‌। पृथ्वीका जीवजीवात फरक-फरक किसिमका भए तापनि जन्मजात सर्ने गुणहरूलाई नियन्त्रण गर्ने डि एन ए असाध्यै भरपर्दो छ; यसले गर्दा नै युगौंयुगदेखि विभिन्‍न आधारभूत जीवजीवातबीचको भिन्‍नता प्रस्ट भएको छ। यहोवा परमेश्‍वरको उद्देश्‍यअनुसार पृथ्वीको जटिल जीवन-चक्रमा विभिन्‍न जीवजीवातले आ-आफ्नो भूमिका निर्वाह गरिरहेका छन्‌। (भज. १३९:१६) यो अत्यन्तै प्रभावकारी तथा व्यवस्थित प्रबन्धले सृष्टि साँच्चै परमेश्‍वरको “औंला”-को अर्थात्‌ पवित्र शक्‍तिको उपज हो भन्‍ने थप प्रमाण दिन्छ।

पृथ्वीको सबैभन्दा उत्कृष्ट सृष्टि

१३. परमेश्‍वरले मानिसको सृष्टि कसरी गर्नुभयो?

१३ युगौंयुग बितिसकेपछि अनि परमेश्‍वरले अनगिन्ती जीवित तथा निर्जीव थोक बनाइसक्नुभएपछि पृथ्वी “आकारविनाको र शून्य” रहेन। यद्यपि आफ्नो पवित्र शक्‍ति चलाएर सृष्टि गर्ने यहोवाको काम भने अझै सिद्धिएको थिएन। उहाँले पृथ्वीको सबैभन्दा उत्कृष्ट सृष्टि बनाउनै लाग्नुभएको थियो। सृष्टिको छैटौं दिनको अन्ततिर परमेश्‍वरले मानिस सृष्टि गर्नुभयो। यहोवाले मानिसको सृष्टि कसरी गर्नुभयो? आफ्नो पवित्र शक्‍ति अनि पृथ्वीमा भएका तत्त्वहरू चलाएर।—उत्प. २:७.

१४. मानिस र जनावरबीचको मुख्य भिन्‍नता के हो?

१४ उत्पत्ति १:२७ भन्छ: “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” परमेश्‍वरकै स्वरूपमा सृष्टि गरिएका छौं भन्‍नुको अर्थ यहोवाले हामीलाई अरूप्रति प्रेम देखाउने, आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्ने अनि सृष्टिकर्तासित व्यक्‍तिगत सम्बन्धसमेत गाँस्न सक्ने क्षमतासहित बनाउनुभयो। यसर्थ हाम्रो दिमाग जनावरहरूको दिमागभन्दा एकदमै फरक छ। यहोवा र उहाँका कामहरूबारे आनन्दित भई सधैंभरि सिकिरहन सक्ने गरी उहाँले हाम्रो दिमाग बनाउनुभएको छ।

१५. आदम र हव्वासामु कस्तो प्रत्याशा थियो?

१५ पृथ्वी र यसमा भएका सम्पूर्ण अद्‌भुत थोकको खोज-अनुसन्धान गरून्‌ र त्यसबाट आनन्द उठाऊन्‌ भनेर परमेश्‍वरले मानिसजातिको सुरुवातमा आदम र हव्वालाई सबै थोक दिनुभयो। (उत्प. १:२८) यहोवाले तिनीहरूका लागि प्रशस्त भोजन र प्रमोदवनरूपी घर दिनुभयो। तिनीहरू सधैंभरि बाँच्न अनि त्रुटिरहित अरबौं सन्तानका प्यारा आमाबाबु बन्‍न सक्थे। तर त्यस्तो भएन।

पवित्र शक्‍तिको भूमिकालाई मानिलिने

१६. प्रथम मानव जोडीले विद्रोह गरे तापनि हामीसित कस्तो आशा छ?

१६ कृतज्ञ भई सृष्टिकर्ताको आज्ञा पालन गर्नुको साटो आदम र हव्वाले स्वार्थी हुँदै विद्रोह गरे। सम्पूर्ण त्रुटिपूर्ण सन्तान तिनीहरूबाटै जन्मे र यसको असर सबैले भोगेका छन्‌। तर हाम्रा प्रथम आमाबाबुको पापी मार्गले गर्दा भएको क्षतिलाई परमेश्‍वरले कसरी सच्याउनुहुनेछ भनी बाइबल बताउँछ। यहोवाले आफ्नो सुरुको उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर पनि धर्मशास्त्र बताउँछ। पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र त्यहाँ सुखी, स्वस्थ मानिसहरूले अनन्त जीवनको आशिष्‌ पाउनेछन्‌। (उत्प. ३:१५) त्यस हृदयस्पर्शी प्रत्याशामा विश्‍वास गरिरहन हामीलाई परमेश्‍वरको पवित्र शक्‍तिको मदत चाहिन्छ।

१७. हामी कस्तो सोचाइदेखि अलग रहनै पर्छ?

१७ हामीले पवित्र शक्‍तिको लागि यहोवासित प्रार्थना गर्नुपर्छ। (लूका ११:१३) यसो गऱ्‍यौं भने सृष्टि साँच्चै परमेश्‍वरको हातको सीप हो भनेर अझ विश्‍वस्त हुनेछौं। आज त्रुटिपूर्ण अनि निराधार तर्कमा आधारित नास्तिकवादी तथा क्रम-विकासवादी अफवाह बढ्‌दो छ। यस्तो त्रुटिपूर्ण सोचाइको लहड देखेर हामी अलमलमा पर्नु वा अत्तालिनु हुँदैन। यस्तो सोचाइको बिगबिगी र त्यससँगसँगै आउने साथीहरूको दबाबको प्रतिरोध गर्न सबै ख्रीष्टियन तयार हुनै पर्छ।कलस्सी २:८ पढ्‌नुहोस्‌।

१८. ब्रह्‍माण्ड र मानिसजातिको सुरुवातबारे विचार गर्दा बुद्धिमान्‌ सृष्टिकर्ताको अस्तित्वलाई बेवास्ता गर्नु अदूरदर्शी कार्य हुनेछ, किन?

१८ सृष्टिलाई समर्थन गर्ने प्रमाणलाई निष्पक्ष ढङ्‌गमा केलायौं भने बाइबल र परमेश्‍वरमाथिको हाम्रो विश्‍वास अवश्‍य सुदृढ हुनेछ। ब्रह्‍माण्ड र मानिसजातिको सुरुवातबारे सोच्दा धेरै जना विज्ञानले प्रमाणित गर्नेबाहेक अर्को शक्‍तिलाई मानिलिन चाहँदैनन्‌। तर त्यस दृष्टिकोणबाट मात्र हेऱ्‍यौं भने हामीले सबै प्रमाणलाई निष्पक्ष भई केलाइरहेका हुनेछैनौं। त्यति मात्र होइन, व्यवस्थित तथा उद्देश्‍यपूर्ण “अनगन्ती” सृष्टिको स्पष्ट प्रमाणलाई बेवास्ता गरिरहेका हुनेछौं। (अय्यू. ९:१०; भज. १०४:२५) ख्रीष्टियन भएकोले हामी यो कुरामा पक्का छौं, सृष्टि गर्न प्रयोग गरिएको सक्रिय शक्‍ति यहोवाको बुद्धिमानी निर्देशनमा परिचालित पवित्र शक्‍ति नै थियो।

पवित्र शक्‍ति र परमेश्‍वरमाथि हाम्रो विश्‍वास

१९. परमेश्‍वरको अस्तित्व छ र उहाँको शक्‍ति परिचालन भइरहेको छ भन्‍ने प्रमाण हामी कसरी पाउन सक्छौं?

१९ परमेश्‍वरमाथि विश्‍वास राख्न, उहाँलाई प्रेम गर्न अनि उहाँप्रति गहिरो श्रद्धा राख्न हामीले सृष्टिबारे सबै कुरा थाह पाउनु आवश्‍यक छैन। मानिसबीचको मित्रताजस्तै यहोवामाथिको विश्‍वास पनि सत्यतथ्यमा मात्र आधारित छैन। जसरी एक-अर्कालाई राम्ररी चिन्दै गएपछि साथीहरूबीचको सम्बन्ध प्रगाढ हुँदै जान्छ, त्यसरी नै परमेश्‍वरबारे धेरै कुरा सिक्दै गएपछि उहाँमाथिको हाम्रो विश्‍वास बढ्‌दै जान्छ। हो, उहाँले हाम्रा प्रार्थनाको जवाफ दिंदा अनि उहाँका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गरेपछि हुने असल नतिजा देख्दा हामी उहाँको अस्तित्वबारे विश्‍वस्त हुन्छौं। उहाँले हाम्रा पाइलाहरू डोऱ्‍याइरहनुभएको, हामीलाई जोगाइरहनुभएको, उहाँको सेवामा हामीले गर्ने प्रयासलाई आशिष्‌ दिइरहनुभएको र आवश्‍यक कुराहरूको प्रबन्ध गरिरहनुभएको प्रमाण देख्दै जाँदा हामी यहोवासित झन्‌ नजिक हुन्छौं। यी सब कुराले परमेश्‍वरको अस्तित्वको अनि उहाँको पवित्र शक्‍ति परिचालन भइरहेको छ भन्‍ने कुराको जोडदार पुष्टि दिन्छ।

२०. (क) परमेश्‍वरले ब्रह्‍माण्ड र मानिसको सृष्टि किन गर्नुभयो? (ख) परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंडिरह्‍यौं भने परिणाम के हुनेछ?

२० यहोवाले आफ्नो सक्रिय शक्‍ति चलाउनुभएको उल्लेखनीय प्रमाण बाइबल हो किनभने यसका लेखकहरूले “पवित्र शक्‍ति पाएर . . . परमेश्‍वरको तर्फबाट बोल्थे।” (२ पत्रु. १:२१) धर्मशास्त्रलाई गहिरिएर अध्ययन गऱ्‍यौं भने सबै थोक सृष्टि गर्नुहुने परमेश्‍वरमाथिको हाम्रो विश्‍वास बलियो हुन सक्छ। (प्रका. ४:११) यहोवाको मनमोहक गुण प्रेमले गर्दा नै उहाँ सृष्टिकर्ता हुनुभयो। (१ यूह. ४:८) त्यसैले आउनुहोस्‌, स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा र साथीबारे सिक्न अरूलाई मदत गर्न यथाशक्य गरौं। हाम्रो आफ्नै सन्दर्भमा भन्‍नुपर्दा परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार हिंडिरह्‍यौं भने सधैंभरि उहाँबारे सिक्ने मौका पाउनेछौं। (गला. ५:१६, २५) हामी प्रत्येकले यहोवा र उहाँका महान्‌ कार्यहरूबारे सिकिरहौं अनि आकाश, पृथ्वी र मानिसजाति सृष्टि गर्न उहाँले आफ्नो पवित्र शक्‍ति चलाउँदा देखाउनुभएको अथाह प्रेम आफ्नो जीवनमा झल्काऔं।

[फुटनोट]

a के तपाईंको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी) पुस्तकको पृष्ठ २४ र २५ हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• आकाश र पृथ्वीको अस्तित्वले परमेश्‍वरको पवित्र शक्‍तिको परिचालनबारे के बताउँछ?

• परमेश्‍वरकै स्वरूपमा बनाइएकोले हामीसामु कस्तो मौका छ?

• हामीले सृष्टिको प्रमाण किन केलाउनुपर्छ?

• यहोवासितको हाम्रो सम्बन्ध कसरी प्रगाढ हुन सक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ७-मा भएको चित्र]

ब्रह्‍माण्डमा देखिने सुव्यवस्थाले सृष्टिबारे हामीलाई के सिकाउँछ?

[स्रोत]

Stars: Anglo-Australian Observatory/David Malin Images

[पृष्ठ ८-मा भएको चित्र]

यी सबैमा डि एन ए-ले कसरी एउटै काम गर्छ?

[पृष्ठ १०-मा भएको चित्र]

के तपाईं आफ्नो विश्‍वासको पक्षमा खडा हुन तयार हुनुहुन्छ?