पाठकहरूको प्रश्न
पाठकहरूको प्रश्न
बाह्र जना प्रेषितलाई प्रचार गर्न पठाउँदा के येशू ख्रीष्टले तिनीहरूलाई लौरो बोक्न र जुत्ता लगाउन भन्नुभएको थियो?
कसै-कसैले तर्क गरेअनुसार येशूले प्रेषितहरूलाई प्रचार गर्न पठाएको विषयमा सुसमाचारको तीन वटा विवरण आपसमा बाझिन्छन्। तर यी विवरणहरू तुलना गर्दा हामी एउटा रोचक निष्कर्षमा पुग्न सक्छौं। मर्कूस र लूकाले के लेखे, पहिला त्यसलाई तुलना गर्नुहोस्। मर्कूसको विवरण भन्छ: “[येशूले] तिनीहरूलाई यात्राको लागि एउटा लौरोबाहेक अरू केही नबोक्न आज्ञा दिनुभयो; न रोटी, न खाजाको पोको, न आफ्नो थैलीमा तामाको पैसा। अनि उहाँले जुत्ता लगाउनू तर दुईसरो लुगा भने नलगाउनू पनि भन्नुभयो।” (मर्कू. ६:७-९) लूकाले लेखे: “यात्राको लागि केही नबोक। न लौरो, न खाजाको पोको, न रोटी, न चाँदीको पैसा, न दुईसरो लुगा।” (लूका ९:१-३) कसै-कसैलाई कुरा बाझिएजस्तो लाग्ने विवरण यही हो। मर्कूसको विवरणअनुसार प्रेषितहरूलाई एउटा लौरो बोक्न र जुत्ता लगाउन भनियो तर लूकाको विवरणमा भने तिनीहरूलाई केही नबोक्न भनिएको थियो, तिनीहरूले एउटा लौरोसमेत बोक्नुपर्दैनथ्यो। मर्कूसले जुत्ताको विषयमा बताए तर लूकाले भने केही बताएनन्।
यस अवसरमा येशू के भन्न खोज्दै हुनुहुन्थ्यो भनी बुझ्न सुसमाचारका यी तीनै वटा विवरणमा पाइने समान अभिव्यक्तिलाई याद गर्नुहोस्। भर्खरै उद्धरण गरिएका विवरणलगायत मत्ती १०:५-१० मा प्रेषितहरूलाई “अर्को एकसरो लुगा” नलगाउन वा नलैजान भनिएको थियो। सम्भवतः प्रेषितहरूले एकसरो लुगा त लगाएकै थिए। त्यसैले यात्राको लागि तिनीहरूलाई अर्को एकसरो लुगा नबोक्न भनिएको थियो। त्यसैगरि तिनीहरूले जुत्ता लगाएका थिए। मर्कूसले “जुत्ता लगाउनू” भने तर त्यो तिनीहरूले लगाइरहेकै जुत्ता थियो। लौरोबारे चाहिं के भन्न सकिन्छ? यहूदी विश्वकोश (अङ्ग्रेजी) यसो भन्छ: “प्राचीन हिब्रूहरूमाझ एउटा लौरो अर्थात् लाठो बोक्नु सामान्य प्रचलन थियो जस्तो देखिन्छ।” (उत्प. ३२:१०) येशूले प्रेषितहरूलाई यात्राको लागि तिनीहरूसित भएको एउटा लौरोबाहेक “अरू केही नबोक्न” भन्नुभएको थियो भनी मर्कूसले उल्लेख गरे। यसप्रकार सुसमाचारका लेखकहरूले यात्राको लागि थप सरसामान जोरजाम नगर्न येशूले दिनुभएको निर्देशनलाई जोड दिंदै थिए।
येशूले यतिबेला दिनुभएको आज्ञा सुनेर त्यसलाई रेकर्ड गर्ने मत्तीले यस बुँदालाई थप जोड दिएका छन्। येशूले भन्नुभयो: “तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ। यात्राको लागि खाजाको पोको, अर्को एकसरो लुगा, चप्पल अनि लौरो पनि नलैजाओ; किनकि कामदार भोजनको हकदार हुन्छ।” (मत्ती १०:९, १०) प्रेषितहरूले लगाइरहेको जुत्ता र तिनीहरूको हातमा भएको लौरो नि? येशूले तिनीहरूलाई आफूसित पहिल्यै भएका यी कुराहरू फ्याँक भन्नुभएन तर उहाँ तिनीहरूलाई यी कुराहरू नलैजाओ भन्दै हुनुहुन्थ्यो। उहाँले किन यस्तो आज्ञा दिनुभयो? किनभने “कामदार भोजनको हकदार हुन्छ।” येशूको आज्ञाको सार यही थियो। यो आज्ञा उहाँले डाँडाको उपदेशमा तिनीहरूलाई के खाने, के पिउने वा के लगाउने भनेर चिन्ता नगर्न दिनुभएको सल्लाहसित मेल खान्थ्यो।—मत्ती ६:२५-३२.
सुरुमा त सुसमाचारका विवरणहरू आपसमा बाझिएको जस्तो देखिएला तर तिनीहरू सबैले एउटै बुँदा प्रस्ट पारिरहेका थिए। प्रेषितहरू आफूसित जे छ, त्यही लिएर यात्रा गर्नुपर्थ्यो; थप कुरा जोरजाम गर्नतिर अलमलिनु हुँदैनथ्यो। किन? किनभने यहोवाले तिनीहरूका लागि प्रबन्ध गर्नुहुने थियो।