सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसारको मनोभाव होइन, परमेश्‍वरको शक्‍ति पाउनुहोस्‌

संसारको मनोभाव होइन, परमेश्‍वरको शक्‍ति पाउनुहोस्‌

संसारको मनोभाव होइन, परमेश्‍वरको शक्‍ति पाउनुहोस्‌

“हामीले संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति पाएका छौं, ताकि परमेश्‍वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौं।”—१ कोरि. २:१२.

१, २. (क) साँचो ख्रीष्टियनहरू कुन अर्थमा युद्ध लड्‌दैछन्‌? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

 साँचो ख्रीष्टयनहरू एउटा युद्ध लड्‌दैछन्‌! हाम्रो शत्रु शक्‍तिशाली, धूर्त र युद्धमा पोख्त छ। त्यससित भएको एउटा अत्यन्तै प्रभावशाली हतियारले अधिकांश मानिसजातिलाई आफ्नो नियन्त्रणमा राखेको छ। तर हामीले यस युद्धमा आफूलाई दुर्बल वा जित्नै नसक्ने जस्तो महसुस गर्नु पर्दैन। (यशै. ४१:१०) हामीसँग एउटा यस्तो सुरक्षा उपलब्ध छ, जसलाई केहीले पनि छेड्‌न र परास्त गर्न सक्दैन।

हामी साँच्चैको होइन, प्रतीकात्मक युद्ध लडिरहेका छौं। हाम्रो शत्रु सैतान अर्थात्‌ दियाबल हो। त्यसले प्रयोग गर्ने मुख्य हतियार “संसारको मनोभाव” हो। (१ कोरि. २:१२) त्यसको आक्रमणलाई प्रतिरोध गर्ने हाम्रो मुख्य हतियार परमेश्‍वरको शक्‍ति हो। यस युद्धबाट बच्न र परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध कायम राख्न हामीले उहाँको शक्‍ति माग्नुपर्छ र त्यसपछि यस शक्‍तिको फलका विभिन्‍न पक्षलाई आफ्नो जीवनमा देखाउनुपर्छ। (गला. ५:२२, २३) तर संसारको मनोभाव भनेको के हो र यो कसरी यत्तिको प्रभावशाली भयो? संसारको मनोभावले हामीलाई प्रभाव पारिरहेको छ कि छैन, हामी कसरी पत्ता लगाउन सक्छौं? अनि परमेश्‍वरको शक्‍ति पाउने र संसारको मनोभाव प्रतिरोध गर्नेबारे येशूबाट के सिक्न सक्छौं?

संसारको मनोभाव किन यत्ति व्यापक छ?

३. संसारको मनोभाव के हो?

संसारको मनोभावको स्रोत “यस संसारको शासक” सैतान हो र यो मनोभाव परमेश्‍वरको पवित्र शक्‍तिको ठीक विपरीत छ। (यूह. १२:३१; १४:३०; १ यूह. ५:१९) अनि यो, संसारको अत्यन्त प्रबल झुकाव हो, जसले मानिसहरूलाई कदम चाल्न उक्साउँछ। यस क्रियाशील शक्‍तिको नियन्त्रणमा परेको मानव समाज परमेश्‍वरको इच्छा र उद्देश्‍यको विरुद्धमा खडा हुन्छ।

४, ५. सैतानले बढवा दिने मनोभाव कसरी यत्तिको व्यापक भयो?

सैतानले बढवा दिने मनोभाव कसरी यत्तिको व्यापक भयो? पहिला, सैतानले अदनको बगैंचामा हव्वालाई बहकायो। त्यसले परमेश्‍वरबाट स्वतन्त्र भएमा तिनको जीवन अझै राम्रो हुनेछ भनेर विश्‍वस्त गरायो। (उत्प. ३:१३) त्यो कस्तो झूटा साबित भयो! (यूह. ८:४४) त्यसपछि त्यही स्त्रीलाई चलाएर त्यसले आदमलाई यहोवाप्रति अवफादार बन्‍न लगायो। आदमको छनौटले गर्दा मानिसजाति पापमा बेचियो। त्यसैले मानिसजातिमा सैतानको अनाज्ञाकारी मनोभाव पछ्याउने झुकाव जन्मजातै छ।एफिसी २:१-३ पढ्‌नुहोस्‌।

सैतानले थुप्रै स्वर्गदूतलाई पनि बहकायो र यिनीहरू पछि गएर दुष्ट स्वर्गदूत भए। (प्रका. १२:३, ४) यसरी परमेश्‍वरलाई विश्‍वासघात गर्ने काम नूहको समयको जलप्रलयभन्दा केही समयअगाडि भएको थियो। आफूले स्वर्गमा पाएको जिम्मेवारी त्यागेर पृथ्वीमा गई विनारोकटोक आफ्नो अस्वाभाविक इच्छा पूरा गर्नुमा नै आफ्नो भलो हुन्छ भनी ती स्वर्गदूतहरूले विश्‍वास गरे। (यहू. ६) अदृश्‍य जगत्‌मा फर्किसकेका ती दुष्ट स्वर्गदूतहरूको साथ पाएर सैतानले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रका. १२:९) दुःखको कुरा, अधिकांश मानिसलाई आफू दुष्ट स्वर्गदूतहरूको प्रभावमा परेको पत्तै छैन।—२ कोरि. ४:४.

के तपाईंलाई संसारको मनोभावले प्रभाव पारिरहेको छ?

६. संसारको मनोभावले हामीलाई कस्तो अवस्थामा मात्र प्रभाव पार्न सक्छ?

सैतानको प्रभावबारे धेरैलाई पत्तै छैन तर साँचो ख्रीष्टियनहरू त्यसका युक्‍तिहरूबारे अनजान रहनु आवश्‍यक छैन। (२ कोरि. २:११) वास्तवमा हामी आफूलाई संसारको मनोभावको वशमा पर्न दिंदैनौं भने त्यसले हामीलाई आफ्नो प्रभावमा पार्न सक्दैन। हामी परमेश्‍वरको शक्‍तिद्वारा प्रभावित भइरहेका छौं वा संसारको मनोभावद्वारा, यो बुझ्न मदत दिने चार वटा प्रश्‍न केलाऔं।

७. सैतानले हामीलाई यहोवाबाट अलग्याउन खोज्ने एउटा तरिका के हो?

मैले छनौट गरेको मनोरञ्जनले मबारे के कुरा प्रकट गर्छ? ( याकूब ३:१४-१८ पढ्‌नुहोस्‌) सैतानले हाम्रो मनमा हिंसाप्रति प्रेम जगाएर हामीलाई परमेश्‍वरबाट अलग्याउने प्रयास गर्छ। अत्याचार अर्थात्‌ हिंसा निको मान्‍नेलाई यहोवा घृणा गर्नुहुन्छ भनेर दियाबललाई थाह छ। (भज. ११:५) त्यसकारण सैतानले हाम्रो शरीरको कुइच्छा जगाउन पुस्तक-पुस्तिका, चलचित्र, सङ्‌गीत र इलेक्ट्रोनिक गेमहरू प्रयोग गर्न खोज्छ। कुनै-कुनै प्रकारका इलेक्ट्रोनिक गेम खेल्दा त्यसले घोर अनैतिकता र क्रूरताको नक्कल गर्न उक्साउँछ। हाम्रो मनले एकातिर सही कुरालाई प्रेम गरे तापनि अर्कोतिर सैतानले बढवा दिने खराब कुरालाई प्रेम गर्छ भने सैतान खुसी नै हुन्छ।—भज. ९७:१०.

८, ९. मनोरञ्जनबारे हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

अर्कोतर्फ, परमेश्‍वरको शक्‍ति पाउनेहरूलाई यसले पवित्र, शान्तिप्रिय र कृपाले भरिपूर्ण मानिस बन्‍न प्रेरित गर्छ। त्यसैले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के मैले छनौट गरेको मनोरञ्जनले ममा असल गुणहरू विकास गर्न मदत गर्छ?’ माथिबाट आउने बुद्धिले “ढोंग गर्दैन।” परमेश्‍वरको शक्‍तिको प्रभावमा परेकाहरू एकातिर पवित्रता र शान्तिबारे आफ्ना छिमेकीहरूलाई प्रचार गर्ने तर अर्कोतिर भने घरमा गोप्य रूपमा क्रूर हिंसा र अनैतिकता हेरेर आनन्द लिने गर्दैनन्‌।

यहोवा आफूलाई मात्र भक्‍ति चढाएको चाहनुहुन्छ। तर सैतान भने त्यसले येशूबाट चाहेझैं हामीले एक चोटि मात्र त्यसको उपासना गरे पनि खुसी हुन्छ। (लूका ४:७, ८) हामी आफैलाई सोध्न सक्छौं: ‘के मैले छनौट गर्ने मनोरञ्जनले परमेश्‍वरलाई मात्र भक्‍ति चढाउन सम्भव तुल्याउँछ? मेरो छनौटले संसारको मनोभावको प्रतिरोध गर्न मलाई सजिलो बनाउँछ कि गाह्रो? अबदेखि मनोरञ्जन छान्दा मैले छाँटकाँट पो गर्नुपर्छ कि?’

१०, ११. (क) संसारको मनोभावले भौतिक सर-सम्पत्तिप्रति कस्तो मनोवृत्ति राख्न उक्साउँछ? (ख) परमेश्‍वरको शक्‍तिद्वारा प्रेरित वचनले कस्तो मनोवृत्ति राख्न प्रोत्साहित गर्छ?

१० भौतिक सर-सम्पत्तिप्रति मेरो मनोवृत्ति कस्तो छ? ( लूका १८:२४-३० पढ्‌नुहोस्‌) संसारको मनोभावले लोभ अनि भौतिकवादलाई प्रोत्साहित गरेर “आँखाको अभिलाषा”-लाई बढवा दिन्छ। (१ यूह. २:१६) यसले धेरैलाई हरहालतमा धनी बन्‍न उक्साएको छ। (१ तिमो. ६:९, १०) यस्तो मनोभावले गर्दा भौतिक कुराहरू थुपारेमा सधैंका लागि सुरक्षित हुन सकिन्छ भनी विश्‍वास गर्न पुग्छौं। (हितो. १८:११) तर हामीले परमेश्‍वरलाई भन्दा पैसालाई प्रेम गर्न थाल्यौं भने सैतान विजयी भएको हुनेछ। हामीले आफैलाई सोध्नुपर्छ, ‘के मेरो जीवन भौतिक सुखसुविधा र मोजमस्ती खोज्नमै केन्द्रित भएको छ?’

११ यसको विपरीत परमेश्‍वरको शक्‍तिद्वारा प्रेरित वचनले हामीलाई पैसाप्रति सन्तुलित दृष्टिकोण राख्न र आफू तथा आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नको लागि मेहनती हुन प्रोत्साहित गर्छ। (१ तिमो. ५:८) यहोवाको शक्‍ति पाएकाहरूलाई यसले उहाँको उदार व्यक्‍तित्व अनुकरण गर्न मदत गर्छ। यस्ता व्यक्‍तिहरू अरूबाट लिनेहरू होइनन्‌ तर अरूलाई दिनेहरू भनेर चिनिन्छन्‌। तिनीहरू भौतिक कुराको भन्दा मानिसहरूको धेरै मोल गर्छन्‌ र औकात छ भने आफूसँग भएको कुरा खुसीसाथ अरूलाई बाँड्‌छन्‌। (हितो. ३:२७, २८) अनि तिनीहरू परमेश्‍वरको सेवा गर्नुलाई भन्दा पैसाको पछि लाग्नुलाई कहिल्यै बढी महत्त्व दिंदैनन्‌।

१२, १३. संसारको मनोभावको विपरीत परमेश्‍वरको शक्‍तिले हामीमा कस्तो राम्रो प्रभाव पार्न सक्छ?

१२ मेरो व्यक्‍तित्वले कुन मनोभाव प्रकट गर्छ? ( कलस्सी ३:८-१०, १३ पढ्‌नुहोस्‌) संसारको मनोभावले शरीरका कामहरू गर्न उक्साउँछ। (गला. ५:१९-२१) हामीलाई कुन मनोभावले प्रभाव पारेको छ भनेर सबै कुरा ठीकसित चलिरहेको बेला त होइन तर अप्ठ्यारो अवस्थामा प्रस्ट हुन्छ। जस्तै: कोही ख्रीष्टियन भाइ वा बहिनीले हामीलाई वास्ता नगरेमा, चित्त दुखाएमा वा हामीविरुद्ध पापसमेत गरेमा हामी के गर्छौं? हामीलाई कुन मनोभावले प्रभाव पारिरहेको छ, हामी घरमा छँदा पनि प्रस्ट हुन सक्छ। आत्म-परीक्षण गर्नुपर्ने हुन सक्छ। आफैलाई सोध्नुहोस्‌, ‘विगत छ महिनामा के मेरो व्यक्‍तित्व झन्‌झन्‌ ख्रीष्टको जस्तै भएको छ वा मेरो कुनै-कुनै बोलीवचन र आचरणमा खराब बानी देखा पर्न थालेको छ?’

१३ परमेश्‍वरको शक्‍तिले हामीलाई ‘पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदिन’ र “नयाँ व्यक्‍तित्व” धारण गर्न मदत गर्न सक्छ। यसले हामीलाई अझ मायालु र दयालु हुन मदत गर्नेछ। गुनासो गर्ने जायज कारण छ जस्तो देखिए तापनि हामी एक-अर्कालाई खुला मनले क्षमा दिन इच्छुक हुनेछौं। अन्याय भएजस्तो लाग्दासमेत “कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानी” देखाउनेछैनौं। बरु “कोमलताले भरिएको करुणा” देखाउन प्रयास गर्नेछौं।—एफि. ४:३१, ३२.

१४. संसारमा धेरैले परमेश्‍वरको वचनप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

१४ के म बाइबलका नैतिक स्तरलाई आदर र प्रेम गर्छु? ( हितोपदेश ३:५, ६ पढ्‌नुहोस्‌) संसारको मनोभावले परमेश्‍वरको वचनप्रति विद्रोह झल्काउँछ। यसको प्रभावमा परेकाहरूले आफूलाई असजिलो लाग्ने बाइबलका भागहरूलाई बेवास्ता गर्छन्‌ र त्यसको सट्टामा मानव दर्शन तथा परम्परालाई रुचाउँछन्‌। (२ तिमो. ४:३, ४) कतिले भने परमेश्‍वरको वचन बाइबललाई पूर्णतया अवहेलना गर्छन्‌। त्यस्ता व्यक्‍तिहरू आफ्नै नजरमा बुद्धिमान्‌ भई बाइबलको औचित्य र सत्यतामाथि प्रश्‍न खडा गर्छन्‌। तिनीहरू पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्ध, समलैङ्‌गिकता र सम्बन्धविच्छेदबारे बाइबलको शुद्ध स्तरलाई फितलो बनाउँछन्‌। तिनीहरू “खराबलाई असल र असललाई खराब” भनी सिकाउँछन्‌। (यशै. ५:२०, NRV) के हामी यस मनोभावबाट प्रभावित भएका छौं? कुनै समस्या सामना गर्नुपर्दा के हामी मानव बुद्धिमा अनि आफ्नै सोचाइमा भर पर्छौं? अथवा बाइबलको सल्लाह पालन गर्ने कोसिस गर्छौं?

१५. आफ्नै बुद्धिमा भर पर्नुको सट्टा हामीले के गर्नुपर्छ?

१५ परमेश्‍वरको शक्‍तिले हामीमा बाइबलप्रति आदर उत्पन्‍न गराउँछ। भजनरचयिताले जस्तै हामी परमेश्‍वरको वचनलाई आफ्नो खुट्टाको निम्ति बत्ती र आफ्नो बाटोको निम्ति उज्यालो ठान्छौं। (भज. ११९:१०५) आफ्नै बुद्धिमा भर पर्नुको सट्टा सही र गलत छुट्याउने मदतको लागि हामी परमेश्‍वरको लिखित वचनमा निर्धक्क भई भर पर्छौं। हामी बाइबलको आदर गर्न मात्र होइन, परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्न पनि सिक्छौं।—भज. ११९:९७.

येशूको उदाहरणबाट सिक्नुहोस्‌

१६. “ख्रीष्टको सोचाइ” राख्नुमा के समावेश छ?

१६ परमेश्‍वरको शक्‍ति पाउन हामीले आफूमा “ख्रीष्टको सोचाइ” विकास गर्नै पर्छ। (१ कोरि. २:१६) “ख्रीष्ट येशूको जस्तै मनोभाव” राख्नु भनेको उहाँको सोच्ने र व्यवहार गर्ने तरिका थाह पाउनु अनि त्यसपछि उहाँको अनुकरण गर्नु हो। (रोमी १५:५; १ पत्रु. २:२१) यसो गर्न सक्ने केही तरिका विचार गर्नुहोस्‌।

१७, १८. (क) प्रार्थनाबारे हामी येशूबाट के सिक्न सक्छौं? (ख) हामीले किन ‘मागिरहनुपर्छ’?

१७ परमेश्‍वरको शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। परीक्षा सामना गर्नुअघि येशूले प्रार्थना गरेर परमेश्‍वरको शक्‍तिको मदत माग्नुभयो। (लूका २२:४०, ४१) हामीले पनि परमेश्‍वरसित उहाँको पवित्र शक्‍ति माग्नुपर्छ। विश्‍वासका साथ माग्ने सबैलाई यहोवाले खुला मनले र उदार भई पवित्र शक्‍ति दिनुहुन्छ। (लूका ११:१३) येशूले भन्‍नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ। किनकि जसले मागिरहन्छ त्यसले पाउँछ; जसले खोजिरहन्छ त्यसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ त्यसको निम्ति उघारिनेछ।”—मत्ती ७:७, ८.

१८ यहोवाको शक्‍ति र मदत खोज्दा माग्न तुरुन्तै नछोड्‌नुहोस्‌। हामीले धेरै पटक अनि समय लगाएर प्रार्थना गर्नुपर्ने हुन सक्छ। कहिलेकाहीं यहोवाले बिन्ती गर्नेहरूलाई प्रार्थनाको जवाफ दिनुअघि उनीहरूको उत्कट चासो र निष्कपट विश्‍वासको प्रमाण देखाउन दिनुहुन्छ।  a

१९. येशूले सधैं के गर्नुभयो र हामीले किन उहाँको अनुकरण गर्नुपर्छ?

१९ यहोवाप्रति पूर्णतया आज्ञाकारी हुनुहोस्‌। येशूले सधैं आफ्नो बुबालाई मनपर्ने काम गर्नुभयो। एकचोटि येशूले जे गर्न चाहनुभएको थियो, त्यो कुरा आफ्नो बुबाले चाहनुभएको भन्दा फरक थियो। तर उहाँले विश्‍वस्त भई आफ्नो बुबालाई यसो भन्‍नुभयो: “मेरो होइन तर तपाईंको इच्छाबमोजिम होस्‌।” (लूका २२:४२) आफैलाई सोध्नुहोस्‌, ‘के म अप्ठ्यारो परिस्थितिमा पनि परमेश्‍वरको आज्ञा मान्छु?’ जीवन पाउन परमेश्‍वरप्रति आज्ञाकारी हुनु अत्यावश्‍यक छ। उहाँ हाम्रो सृष्टिकर्ता, हाम्रो जीवनको स्रोत र हाम्रो जीवन धान्‍ने व्यक्‍ति हुनुभएकोले हामी उहाँप्रति पूर्णतया आज्ञाकारी हुनै पर्छ। (भज. ९५:६, ७) आज्ञाकारी हुनुको अर्को विकल्प छैन। आज्ञाकारी भएनौं भने परमेश्‍वरको निगाह प्राप्त गर्न सक्दैनौं।

२०. येशूको जीवन कुन कुरामा केन्द्रित थियो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

२० बाइबलसित राम्ररी परिचित हुनुहोस्‌। सैतानले येशूको विश्‍वासमा प्रत्यक्ष आक्रमण गर्दा उहाँले धर्मशास्त्र उद्धरण गरेर त्यसको प्रतिरोध गर्नुभयो। (लूका ४:१-१३) धार्मिक कट्टरपन्थीहरूको सामना गर्नुपर्दा येशूले परमेश्‍वरको वचनलाई आधिकारिक स्रोतको रूपमा प्रयोग गर्नुभयो। (मत्ती १५:३-६) येशूको पूरै जीवन परमेश्‍वरको व्यवस्था जान्‍नु र पूरा गर्नुमै केन्द्रित थियो। (मत्ती ५:१७) हामीले पनि विश्‍वास बलियो बनाउने परमेश्‍वरको वचनद्वारा आफ्नो दिमाग भर्दै जानुपर्छ। (फिलि. ४:८, ९) व्यक्‍तिगत र पारिवारिक अध्ययनको लागि समय पाउनु हामीमध्ये कोही-कोहीको लागि चुनौती हुन सक्छ। त्यसैले समय पाउने होइन, बरु समय निकाल्नुपर्ने हुन सक्छ।—एफि. ५:१५-१७.

२१. परमेश्‍वरको वचनलाई अझ राम्ररी बुझ्न र लागू गर्न हामी कस्ता प्रबन्धको प्रयोग गर्न सक्छौं?

२१ “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले प्रत्येक हप्ता साँझको पारिवारिक उपासनाको प्रबन्ध मिलाएकोले हामीले व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्ने समय निकाल्न मदत पाएका छौं। (मत्ती २४:४५) के तपाईं यस प्रबन्धको सदुपयोग गर्दै हुनुहुन्छ? ख्रीष्टको सोचाइ पाउनको लागि, तपाईंले छानेका विषयहरूमा येशूले के सिकाउनुभयो भनी सिलसिलेवार ढङ्‌गमा बुझ्न त्यसलाई आफ्नो अध्ययनमा समावेश गर्न सक्नुहुन्छ कि? आफूले जान्‍न चाहेको विषयमा जानकारी पत्ता लगाउन तपाईं वाच टावर प्रकाशन अनुक्रमणिका (अङ्‌ग्रेजी) हेर्न सक्नुहुन्छ। उदाहरणको लागि, “परमेश्‍वरको नजिक हुनुहोस्‌” र “पाठकहरूको प्रश्‍न”-मा छापिएका लेखहरू आफ्नो अध्ययनमा प्रयोग गर्न सक्नुहुन्छ। तपाईंलाई परमेश्‍वरको वचनको अझ गहिरो अनि विस्तृत ज्ञान दिनको लागि यस्ता लेखहरू तयार पारिएका हुन्‌। आफ्नो पारिवारिक उपासनामा समय-समयमा यस्ता लेखहरू समावेश गर्नुभए कसो होला?

हामी संसारलाई जित्न सक्छौं

२२, २३. संसारलाई जित्न हामीले के गर्नै पर्छ?

२२ परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइमा चल्न हामीले संसारको मनोभावको प्रतिरोध गर्नै पर्छ। यसरी प्रतिरोध गर्न सजिलो छैन। यसको लागि सङ्‌घर्ष गर्नुपर्ने र अझ परिश्रम गरेर लड्‌नुपर्ने हुन सक्छ। (यहू. ३) तर हामी जित्न सक्छौं! येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “संसारमा तिमीहरूले सङ्‌कष्ट झेलिरहेका छौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।”—यूह. १६:३३.

२३ संसारको मनोभावको प्रतिरोध गऱ्‍यौं र परमेश्‍वरको शक्‍ति पाउन यथाशक्य गऱ्‍यौं भने हामी पनि संसारलाई जित्न सक्छौं। साँच्चै, “यदि परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुनसक्छ र?” (रोमी ८:३१) परमेश्‍वरको शक्‍ति पाउँदा र बाइबलमार्फत यसले दिने निर्देशन पालन गर्दा हामीले सन्तुष्टि, शान्ति, आनन्द र आउनै लागेको नयाँ संसारमा अनन्त जीवनको आश्‍वासन पाउनेछौं।

[फुटनोट]

के तपाईंले सम्झनुभएको छ?

• संसारको मनोभाव किन यत्ति व्यापक छ?

• हामीले आफैलाई कुन चार प्रश्‍न सोध्नुपर्छ?

• परमेश्‍वरको शक्‍ति पाउनेबारे हामीले येशूबाट सिक्न सक्ने तीन वटा कुरा के हुन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

केही स्वर्गदूतहरू कसरी दुष्ट स्वर्गदूत भए?

[पृष्ठ १०-मा भएको चित्र]

मानिसहरूलाई आफ्नो वशमा पार्न सैतानले संसारको मनोभाव प्रयोग गर्छ तर हामी त्यसको प्रभावलाई जित्न सक्छौं