सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ

“पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ

“पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ

“तिमीहरूले धेरै फल फलाइरह्‍यौ . . . भने मेरो बुबाको महिमा हुन्छ।”—यूह. १५:८.

१, २. (क) अरूलाई प्रोत्साहन दिन हामीसँग कस्ता मौकाहरू छन्‌? (ख) यहोवाले दिनुभएको कुन उपहारले उहाँको सेवा गर्ने हाम्रो क्षमतालाई अझ बढाउँछ?

 यी दुई वटा अवस्थालाई विचार गर्नुहोस्‌: एउटी ख्रीष्टियन स्त्रीले आफूभन्दा कम उमेरकी एउटी बहिनी अलि चिन्तित देखिएको याद गर्छिन्‌। उनले ती बहिनीसित प्रचारकार्यमा सँगै जाने प्रबन्ध मिलाउँछिन्‌। एउटा घरबाट अर्को घरमा जाँदा कम उमेरकी ती बहिनी आफूलाई चिन्ता लागिरहेको विषयबारे बताउन थाल्छिन्‌। परिपक्व बहिनीले देखाएको मायालु चासोको लागि ती बहिनीले पछि प्रार्थना गर्दा यहोवालाई धन्यवाद दिन्छिन्‌; तिनलाई चाहिएको कुरा यही थियो। अर्को ठाउँमा, विदेशी भूमिमा प्रचार गरिरहेका एक दम्पती भर्खरै आफ्नो देश फर्केका छन्‌। एउटा जमघटमा उनीहरूले उत्साहित हुँदै आफ्ना अनुभवहरू बताउँदै गर्दा एक जवान भाइले चुपचाप सुनिरहेका छन्‌। केही वर्षपछि यस भाइ पनि विदेशी भूमिमा सेवा गर्न तयारी गर्दै गर्दा उनी आफूलाई मिसनरी बन्‍न उत्प्रेरित गरेको ती दम्पती र तिनीहरूको कुराकानी सम्झन्छन्‌।

यस्ता अवस्था विचार गर्दा सायद तपाईंलाई आफूले प्रभाव पारेको वा तपाईंलाई प्रभाव पारेको कोही व्यक्‍ति याद आयो होला। हुनत एकचोटिको कुराकानीले मानिसको जीवनलाई नै परिवर्तन गर्ने त कमै मात्र हुन्छ तर अरूलाई प्रोत्साहन दिने र बलियो बनाउने मौका भने हामी दिनदिनै पाउँछौं। कल्पना गर्नुहोस्‌, तपाईंसँग आफ्नो क्षमता र गुणहरूलाई बढाउने एउटा यस्तो चिज छ, जसद्वारा तपाईं आफ्ना ख्रीष्टियन भाइबहिनीलाई अझ मदत गर्न अनि परमेश्‍वरका लागि उपयोगी हुन सक्नुहुन्छ। यस्तो भइदिए त एकदमै राम्रो हुनेथियो, होइन र? वास्तवमा यहोवाले हामीलाई यस्तै एउटा उपहार दिनुभएको छ र त्यो हो, उहाँको पवित्र शक्‍ति। (लूका ११:१३) हाम्रो जीवनमा परमेश्‍वरको शक्‍तिले काम गर्दा त्यसले हामीमा उहाँलाई चढाउने सेवाको हरेक पक्षलाई अझ राम्रो बनाउने मनमोहक गुणहरू पैदा गर्छ। कस्तो अद्‌भुत उपहार!गलाती ५:२२, २३ पढ्‌नुहोस्‌।

३. (क) हामीले “पवित्र शक्‍तिको फल” विकास गर्दा कसरी परमेश्‍वरको महिमा हुन्छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

पवित्र शक्‍तिले पैदा गर्ने गुणहरू यस शक्‍तिको स्रोत यहोवा परमेश्‍वरकै व्यक्‍तित्वको प्रतिविम्ब हुन्‌। (कल. ३:९, १०) ख्रीष्टियनहरूले परमेश्‍वरको अनुकरण गर्न प्रयास गर्नुपर्ने मुख्य कारणबारे सङ्‌केत गर्दै येशूले आफ्ना प्रेषितहरूलाई भन्‍नुभयो: “तिमीहरूले धेरै फल फलाइरह्‍यौ . . . भने मेरो बुबाको महिमा हुन्छ।” a (यूह. १५:८) हामीले “पवित्र शक्‍तिको फल” विकास गर्दै जाँदा त्यसको असर हाम्रो बोली र व्यवहारमा प्रस्टै देखिन्छ र त्यसले परमेश्‍वरको प्रशंसा गर्छ। (मत्ती ५:१६) पवित्र शक्‍तिको फल कुन-कुन तरिकामा सैतानको संसारका अवगुणभन्दा भिन्‍न छ? हामी कसरी पवित्र शक्‍तिको फल विकास गर्न सक्छौं? यसो गर्नु हाम्रो लागि किन चुनौतीपूर्ण हुन सक्छ? पवित्र शक्‍तिको फलका सुरुका तीन पक्ष—प्रेम, आनन्द र शान्तिबारे छलफल गर्दा हामी उक्‍त प्रश्‍नहरूबारे विचार गर्नेछौं।

उच्च सिद्धान्तमा आधारित प्रेम

४. येशूले आफ्ना चेलाहरूलाई कस्तो प्रकारको प्रेम गर्न सिकाउनुभयो?

पवित्र शक्‍तिले पैदा गर्ने प्रेम संसारले देखाउने प्रेमभन्दा एकदमै भिन्‍न छ। कसरी? यो प्रेम उच्च सिद्धान्तमा आधारित छ। यस भिन्‍नतालाई येशूले डाँडाको उपदेशमा जोड दिनुभयो। ( मत्ती ५:४३-४८ पढ्‌नुहोस्‌) पापीहरूमा समेत आफूलाई अरूले जस्तो व्यवहार गर्छन्‌, आफूले पनि उनीहरूलाई त्यस्तै व्यवहार गर्ने झुकाव हुन्छ भनेर येशूले बताउनुभयो। यस्तो “प्रेम” देखाउनु साँचो त्याग होइन, बरु अरूले आफूलाई केही गरिदिएको बदलामा उसलाई पनि केही गरिदिनु मात्र हो। यदि ‘हामी स्वर्गमा बस्नुहुने हाम्रा बुबाका छोराहरू बन्‍न’ चाहन्छौं भने हामी फरक हुनै पर्छ। अरूले हामीलाई जस्तो व्यवहार गर्छन्‌ हामीले उनीहरूलाई त्यस्तै गर्ने नभई यहोवाले उनीहरूलाई जस्तो दृष्टिकोणले हेर्नुहुन्छ र जस्तो व्यवहार गर्नुहुन्छ हामीले पनि त्यस्तै गर्नुपर्छ। त्यसोभए येशूले आज्ञा गर्नुभएझैं हामीले आफ्ना शत्रुलाई प्रेम गर्न कसरी सम्भव छ?

५. हाम्रो खेदो गर्नेहरूलाई हामी कसरी प्रेम देखाउन सक्छौं?

बाइबलको एउटा उदाहरण विचार गर्नुहोस्‌। फिलिप्पीमा प्रचार गर्दा पावल र सिलासलाई पक्राउ गरियो, पिट्‌नुसम्म पिटियो, झ्यालखानाको सबैभन्दा भित्रको खोरमा थुनियो अनि तिनीहरूको खुट्टा ठिंगुरोमा हालियो। यस दौडान त्यहाँका जेलरले पनि तिनीहरूलाई दुर्व्यवहार गरेको हुनुपर्छ। भूकम्पले गर्दा अचानक स्वतन्त्र हुँदा के तिनीहरूले जेलरसित बदला लिने मौका यही हो भन्ठाने? अहँ, भन्ठानेनन्‌। उनीप्रतिको साँचो चासो अर्थात्‌ आत्मत्यागी प्रेमले तिनीहरूलाई उनको खातिर तुरुन्तै कदम चाल्न उत्प्रेरित गऱ्‍यो। फलस्वरूप उनी र उनको सारा घरपरिवारका लागि परमेश्‍वरमाथि विश्‍वास गर्ने ढोका खुल्यो। (प्रेषि. १६:१९-३४) वर्तमान समयमा पनि हाम्रा थुप्रै भाइहरूले “खेदो गर्नेहरूलाई आशिष्‌” दिने बाटो पछ्याएका छन्‌।—रोमी १२:१४.

६. के-कस्ता तरिकामा हामी आफ्ना भाइहरूलाई आत्मत्यागी प्रेम देखाउन सक्छौं? (पृष्ठ २१ को पेटी हेर्नुहोस्‌।)

सँगी ख्रीष्टियनहरूप्रतिको हाम्रो प्रेम यतिमा मात्र सीमित छैन। “हाम्रा भाइहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्नु हाम्रो पनि कर्तव्य हो।” ( १ यूहन्‍ना ३:१६-१८ पढ्‌नुहोस्‌) तर धेरैजसो अवस्थामा भने हामी स-साना तरिकामा प्रेम देखाउन सक्छौं। उदाहरणको लागि, हामीले आफ्नो भाइको चित्त दुख्ने केही कुरा भन्यौं वा गऱ्‍यौं भने मिलाप गर्न अग्रसर भएर प्रेम देखाउन सक्छौं। (मत्ती ५:२३, २४) तर कसैले हाम्रो चित्त दुखाएमा नि? हामी “क्षमा” गर्न तयार हुन्छौं कि कहिलेकाहीं मनमा ईख पालेर बस्छौं? (भज. ८६:५) पवित्र शक्‍तिले पैदा गर्ने प्रगाढ प्रेमले हामीलाई सानातिना गल्तीहरू ढाक्न अनि ‘यहोवाले हामीलाई खुला मनले क्षमा गर्नुभएजस्तै’ अरूलाई पनि खुला मनले क्षमा गर्न मदत दिन सक्छ।—कल. ३:१३, १४; १ पत्रु. ४:८.

७, ८. (क) परमेश्‍वरप्रतिको प्रेम र मानिसजातिप्रतिको प्रेमबीच कस्तो सम्बन्ध छ? (ख) यहोवाप्रतिको हाम्रो प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौं? (तल देखाइएको चित्र हेर्नुहोस्‌।)

हामी आफ्ना भाइहरूप्रति कसरी आत्मत्यागी प्रेम विकास गर्न सक्छौं? परमेश्‍वरप्रतिको प्रेमलाई प्रगाढ बनाएर। (एफि. ५:१, २; १ यूह. ४:९-११, २०, २१) बाइबल पढाइ, मनन र प्रार्थनाद्वारा व्यक्‍तिगत तवरमा यहोवासित समय बिताउँदा हामी प्रोत्साहन पाउँछौं र स्वर्गमा बस्नुहुने बुबाप्रतिको हाम्रो प्रेम बढ्‌दै जान्छ। तर परमेश्‍वरसँग नजिक हुन हामीले समय निकाल्नै पर्छ।

उदाहरणको लागि, परमेश्‍वरको वचन पढ्‌न, मनन गर्न र उहाँलाई प्रार्थना गर्न हरेक दिन कुनै खास समय मात्र उपलब्ध छ। यहोवासँगको व्यक्‍तिगत समयलाई कुनै कुराले बाधा नपार्न के तपाईं त्यस समयलाई हरहालतमा सदुपयोग गर्न यथासक्य गर्नुहुनेछैन र? वास्तवमा परमेश्‍वरलाई प्रार्थना गर्नदेखि हामीलाई कसैले पनि रोक्न सक्दैन अनि हामीमध्ये धेरैजसो आफूले चाहेको जुनसुकै समयमा बाइबल पढ्‌न सक्छौं। तर दिनहुँ गर्नुपर्ने कामको चटारोले परमेश्‍वरसित बिताउने व्यक्‍तिगत समयलाई बाधा नपुऱ्‍याउन हामीले कदम चाल्नुपर्ने हुन सक्छ। के तपाईं यहोवासँग नजिक हुन प्रत्येक दिन सकेसम्म धेरै समय निकाल्नुहुन्छ?

“पवित्र शक्‍तिद्वारा पाइने आनन्द”

९. पवित्र शक्‍तिले पैदा गर्ने आनन्दको एउटा विशेषता के हो?

पवित्र शक्‍तिको फलको एउटा उल्लेखनीय विशेषता भनेको यसको स्थिरता हो। अब हामीले छलफल गर्ने दोस्रो पक्ष अर्थात्‌ आनन्दले यस स्थिरतालाई प्रस्ट पार्छ। आनन्द भनेको प्रतिकूल मौसममा पनि मौलाउन सक्ने एउटा जब्बर बिरुवाजस्तै हो। पृथ्वीभरि परमेश्‍वरका धेरै सेवकले ‘थुप्रै सङ्‌कष्ट सहँदै त्यस वचनलाई पवित्र शक्‍तिद्वारा पाइने आनन्दका साथ स्वीकारेका छन्‌।’ (१ थिस्स. १:६) कतिले भने कठिनाइ अनि अभाव भोगिरहेका छन्‌। तर यहोवाले तिनीहरूलाई ‘सबै कुरा सहन अनि धीरजी र आनन्दित हुन’ आफ्नो पवित्र शक्‍तिद्वारा बल दिनुहुन्छ। (कल. १:११) यस आनन्दको स्रोत के हो?

१०. हाम्रो आनन्दको स्रोत के हो?

१० सैतानको संसारको “अस्थिर धनसम्पत्ति”-जस्तो नभई यहोवाले दिनुभएको धनसम्पत्ति सधैंको लागि उपयोगी हुन्छ। (१ तिमो. ६:१७; मत्ती ६:१९, २०) उहाँले हाम्रो लागि अनन्त भविष्यको आनन्ददायी प्रत्याशा राखिदिनुभएको छ। हामीले विश्‍वव्यापी ख्रीष्टियन भाइचाराको आनन्द उठाइरहेका छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो आनन्द परमेश्‍वरसितको सम्बन्धमा निर्भर छ। भगुवा जीवन बिताउन बाध्य भए तापनि दाऊदले व्यक्‍त गरेका भावनाहरूसित हामी पनि सहमत छौं। तिनले यहोवाको स्तुति यसरी गाए: “किनकि तपाईंको करुणा जीवनभन्दा उत्तम छ, मेरा ओठले तपाईंको प्रशंसा गर्नेछ। यसैले म मेरो जीवनभरि तपाईंलाई धन्यको भन्‍नेछु।” (भज. ६३:३, ४) कठिनाइ भोग्नुपरे तापनि हामी मनैदेखि आनन्दित भएर परमेश्‍वरको प्रशंसा गर्न सक्छौं।

११. आनन्दित भई यहोवाको सेवा गर्नु किन महत्त्वपूर्ण छ?

११ प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो आग्रह गरे: “प्रभुमा सधैं रमाओ। म फेरि एक चोटि भन्छु, रमाओ!” (फिलि. ४:४) ख्रीष्टियनहरूले आनन्दित भई यहोवाको सेवा गर्नु किन महत्त्वपूर्ण छ? यहोवाको सार्वभौमिकतासम्बन्धी सैतानले उठाएको विवादले गर्दा। कसैले पनि राजीखुसीले परमेश्‍वरको सेवा गर्दैन भनेर त्यसले दाबी गर्छ। (अय्यू. १:९-११) हामी कर्तव्यबोधले मात्र यहोवाको सेवा गर्छौं तर आनन्दित छैनौं भने हाम्रो प्रशंसाको बलिदान अपूरो हुनेछ। त्यसैले हामी भजनरचयिताको यो आग्रह पालन गर्ने प्रयास गर्छौं: “आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ।” (भज. १००:२) आनन्दित र इच्छुक मनले परमेश्‍वरको सेवा गर्दा उहाँको महिमा हुन्छ।

१२, १३. नकारात्मक भावनालाई हामी कसरी जित्न सक्छौं?

१२ वास्तवमा यहोवाका समर्पित सेवकहरूसमेत कहिलेकाहीं निराश हुन्छन्‌ र सकारात्मक दृष्टिकोण कायम राख्न सङ्‌घर्ष गर्छन्‌। (फिलि. २:२५-३०) यस्तो समयमा हामीलाई कुन कुराले मदत गर्न सक्छ? एफिसी ५:१८, १९ यसो भन्छ: “तिमीहरू पवित्र शक्‍तिले भरिओ, तिमीहरू आपसमा भजन, परमेश्‍वरको स्तुतिगान र उपासनाका मन छुने गीतहरू गाओ अनि मनमनै यहोवाको भजन गुनगुनाओ।” हामी यो सल्लाह कसरी पालन गर्न सक्छौं?

१३ नकारात्मक भावनाले पिरोलिंदा हामी यहोवालाई प्रार्थनामा बिन्ती गर्न सक्छौं र प्रशंसायोग्य कुरामा मनन गर्ने प्रयास गर्न सक्छौं। ( फिलिप्पी ४:६-९ पढ्‌नुहोस्‌) कसै-कसैले राज्यगीतको रेकर्डिङ बजाएर त्यससँगसँगै गुनगुनाउँदा मनोबल बढेको महसुस गरेका छन्‌ र फेरि सकारात्मक सोचाइ राख्न मदत पाएका छन्‌। परीक्षा भोगेपछि अक्सर दिक्क र निरुत्साहित महसुस गरेका एक जना भाइ यसरी सम्झन्छन्‌: “नियमित रूपमा मनदेखि नै प्रार्थना गर्नुका साथै मैले केही राज्यगीत कण्ठ गरें। यहोवाको स्तुति गर्ने यी सुन्दर गीतहरू मनमनै वा ठूलो सोरले गाउँदा मैले मनोशान्ति पाएँ। अनि यही समयतिर यहोवाको नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) पुस्तक विमोचन भएको थियो। त्यसपछिको वर्षमा मैले यो पुस्तक दुई चोटि पूरै पढें। यो मेरो मनलाई निको पार्ने मलहमजस्तै भयो। हो, यहोवाले मेरो प्रयासमा आशिष्‌ दिनुभयो।”

“शान्तिको बन्धन”

१४. पवित्र शक्‍तिले पैदा गर्ने शान्तिको एउटा उल्लेखनीय पक्ष के हो?

१४ हाम्रा अन्तरराष्ट्रिय अधिवेशनहरूमा विभिन्‍न पृष्ठभूमिबाट आएका प्रतिनिधिहरू ख्रीष्टियन सङ्‌गतिको आनन्द उठाउँछन्‌। यस्ता दृश्‍यहरूले आज परमेश्‍वरका जनमाझ पाइने आनन्दको एउटा उल्लेखनीय पक्ष अर्थात्‌ हाम्रो विश्‍वव्यापी एकतालाई झल्काउँछ। सामान्यतया एक-अर्कासित एकतामा बाँधिएर नबस्ने मानिसहरूसमेत ‘शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहेको’ देख्दा प्रत्यक्षदर्शीहरू अक्सर दङ्‌ग पर्छन्‌। (एफि. ४:३) यस्तो एकता हासिल गर्न धेरैले अनेकन्‌ कठिन अवस्था पार लगाउनुपरेकोले यो एकता साँच्चै उल्लेखनीय छ।

१५, १६. (क) पत्रुसको पृष्ठभूमि कस्तो थियो र त्यो किन तिनको लागि चुनौतीपूर्ण भयो? (ख) यहोवाले पत्रुसलाई तिनको मनोवृत्ति छाँटकाँट गर्न कसरी मदत गर्नुभयो?

१५ विभिन्‍न पृष्ठभूमिका मानिसहरू एकताबद्ध हुनु चुनौतीपूर्ण कुरा हो। यस्तो एकता हासिल गर्न हामीले हटाउनै पर्ने कुराबारे बुझ्न प्रथम शताब्दीका प्रेषित पत्रुसको उदाहरण विचार गरौं। खतना नगरेका अन्यजातिहरूप्रति तिनको कस्तो मनोवृत्ति थियो, हामी तिनका यी शब्दहरूबाट थाह पाउन सक्छौं: “यहूदी भईकन अर्को जातिको मानिससित सङ्‌गत गर्नु वा भेट्‌नु कत्तिको अनुचित कुरा हो भनेर तपाईंहरूलाई राम्ररी थाहै छ। तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई प्रकट गर्नुभएको छ।” (प्रेषि. १०:२४-२९; ११:१-३) त्यतिबेला व्याप्त सामान्य दृष्टिकोणअनुरूपै पत्रुसले पनि व्यवस्थाअनुसार आफ्ना सँगी यहूदीहरूलाई मात्र प्रेम गर्नुपर्छ भन्‌ विश्‍वास राख्दै आएको हुनुपर्छ। त्यसैले अन्यजातिहरूलाई घृणा गर्नुपर्ने शत्रु ठान्‍नु पत्रुसलाई एकदमै सामान्य लागेको हुनुपर्छ।  b

१६ कर्निलियसको घरभित्र पस्दा पत्रुसले कस्तो अप्ठेरो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌। पहिला अन्यजातिहरूलाई नकारात्मक दृष्टिकोणले हेर्ने व्यक्‍ति पछि गएर “शान्तिको बन्धनमा” तिनीहरूसित ‘राम्ररी गाँसिन’ सक्थे र? (एफि. ४:३, १६) सक्थे, किनभने केही दिनअघि मात्र परमेश्‍वरको पवित्र शक्‍तिले पत्रुसलाई खुला मनले परिस्थितिलाई विचार गर्न मदत गरेको थियो, जसले गर्दा तिनले आफ्नो मनोवृत्तिमा छाँटकाँट गर्न र पूर्वाग्रह हटाउन कदम चाल्न सके। जात वा राष्ट्रको आधारमा यहोवाले मानिसहरूलाई हेर्नुहुन्‍न भनेर एउटा दर्शनद्वारा पत्रुसलाई उहाँले स्पष्ट पार्नुभयो। (प्रेषि. १०:१०-१५) त्यसैले पत्रुसले कर्निलियसलाई यसो भन्‍न सके: “अब मलाई पक्का भयो, कि परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषि. १०:३४, ३५) हो, पत्रुस परिवर्तन भए र उनी “सबै भाइहरू”-सित साँच्चै एकतामा बाँधिए।—१ पत्रु. २:१७.

१७. परमेश्‍वरका जनमाझ पाइने एकता किन उल्लेखनीय छ?

१७ पत्रुसको अनुभवले हामीलाई परमेश्‍वरको जनमाझ आज भइरहेको उल्लेखनीय परिवर्तनको कदर गर्न मदत गर्छ। ( यशैया २:३, ४ पढ्‌नुहोस्‌) “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” लाखौं मानिसहरूले “परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा”-बमोजिम चल्न आफ्नो सोचाइमा छाँटकाँट गरेका छन्‌। (प्रका. ७:९; रोमी १२:२) यी मानिसमध्ये धेरै जना कुनै समय सैतानको संसारको घृणा, शत्रुता र फूटको प्रभावमा परेका थिए। तर परमेश्‍वरको वचनको अध्ययन र पवित्र शक्‍तिको मदतद्वारा तिनीहरूले ‘शान्ति कायम हुने कुराहरूको पछि लाग्न’ सिकेका छन्‌। (रोमी १४:१९) यसद्वारा सम्भव भएको एकताले परमेश्‍वरको प्रशंसा गर्छ।

१८, १९. (क) मण्डलीको शान्ति र एकतामा हामी प्रत्येकले कसरी योगदान पुऱ्‍याउन सक्छौं? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१८ परमेश्‍वरका जनमाझ पाइने शान्ति र एकतामा हामी प्रत्येकले कसरी योगदान पुऱ्‍याउन सक्छौं? थुप्रै मण्डलीमा विदेशी भूमिबाट आएका भाइबहिनीहरू छन्‌। कति जनाको चलन हाम्रोभन्दा बेग्लै होला वा उनीहरू हाम्रो भाषा राम्ररी बोल्न सक्दैनन्‌ होला। के हामी उनीहरूसित चिनापर्ची गर्न अग्रसर हुन्छौं? परमेश्‍वरको वचनले यस्तै गर्न सल्लाह दिएको छ। यहूदी र अन्यजाति दुवै भएका रोमको मण्डलीलाई पावलले भने: “जसरी ख्रीष्टले हामीलाई स्वीकार्नुभयो, त्यसरी नै एक-अर्कालाई स्वीकार गर र यसरी परमेश्‍वरको प्रशंसा होस्‌।” (रोमी १५:७) तपाईंको मण्डलीमा तपाईंले अझ राम्ररी चिनजान गर्न सक्ने कोही छ कि?

१९ पवित्र शक्‍तिलाई हाम्रो जीवनमा काम गर्न दिन हामी अरू के गर्न सक्छौं? अर्को लेखमा पवित्र शक्‍तिका बाँकी पक्षहरू छलफल गर्दा यस प्रश्‍नको जवाफ पाउनेछौं।

[फुटनोटहरू]

a येशूले उल्लेख गर्नुभएको फलमा “पवित्र शक्‍तिको फल” र ख्रीष्टियनहरूले राज्य प्रचारकार्यद्वारा परमेश्‍वरलाई चढाउने “ओठको फल” दुवै समावेश छ।—हिब्रू १३:१५.

b लेवी १९:१८ यसो भन्छ: “आफ्ना आफन्तहरूसित इबी नराख, तर आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर।” यहूदी धर्मगुरुहरूको विचारमा “आफ्ना आफन्तहरू” र “आफ्नो छिमेकी” भनेको यहूदीहरू मात्रै थिए। व्यवस्थाअनुसार इस्राएलीहरू अरू राष्ट्रभन्दा बेग्लै हुनुपर्थ्यो। तर सबै गैर-यहूदी शत्रु हुन्‌ र तिनीहरू प्रत्येकलाई घृणा गर्नुपर्छ भन्‍ने प्रथम शताब्दीका धर्मगुरुहरूले बढवा दिएको धारणालाई व्यवस्थाले समर्थन गर्दैनथ्यो।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामी आफ्ना भाइहरूलाई कसरी आत्मत्यागी प्रेम देखाउन सक्छौं?

• आनन्दित भई परमेश्‍वरको सेवा गर्नु किन महत्त्वपूर्ण छ?

• मण्डलीको शान्ति र एकतामा हामी कसरी योगदान पुऱ्‍याउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको पेटी]

“साँचो ख्रीष्टियन यिनीहरू नै हुन्‌”

नोएनग्याम यातना शिविरमा आएपछि पहिलो पटक यहोवाका साक्षीहरूसित भएको भेटघाटबारे एक जवान यहूदी कैदीले गरेको टिप्पणीलाई एउटा पुस्तकले c यसरी बताउँछ:

“जब हामी डकाऊबाट यस शिविरमा आयौं, तब अरू यहूदीले आफूसँग भएका कुराहरू बाँड्‌न नपरोस्‌ भनेर सबै कुरा लुकाउन थाले। . . . यातना शिविरभित्र लगिनुअघि हामी एक-अर्कालाई मदत गर्थ्यौं। तर यहाँ जीवन र मृत्युको सवाल भएको हुँदा सबैको मुख्य चासो, अरूको वास्ता गर्न छोडेर आफ्नो ज्यान जोगाउनु थियो। तर बाइबल स्टुडेन्ट्‌सले भने के गरे, तपाईं कल्पनै गर्न सक्नुहुन्‍न! त्यतिबेला तिनीहरूले पानीका पाइपहरू मर्मत गर्ने असाध्यै गाह्रो काम गर्नुपर्थ्यो। कठाङ्‌ग्रिने जाडोमा तिनीहरू दिनभरि एकदमै चिसो पानीमा उभिरहेका थिए। तिनीहरूले कसरी सहन सकेका होलान्‌ भनेर कसैले बुझेनन्‌। तिनीहरू भन्थे, यहोवाले बल दिनुहुन्छ। हामीलाई जस्तै तिनीहरूलाई पनि रोटी नभई हुँदैनथ्यो किनभने तिनीहरू भोका थिए। तर तिनीहरूले के गरे? तिनीहरूले आफूसँग भएका सबै रोटी जम्मा गरे अनि आधा आफ्नो लागि राखे र बाँकी आधाचाहिं भर्खरै डकाऊबाट आएका सँगी भाइबहिनीलाई दिए। तिनीहरूले ती भाइबहिनीलाई स्वागत गरे र म्वाइँ खाए। खानुअघि प्रार्थना गरे। त्यसपछि तिनीहरू सबै सन्तुष्ट र आनन्दित भए। तिनीहरूले अब हामी भोका छैनौं भने। यतिबेला मलाई लाग्यो: साँचो ख्रीष्टियन यिनीहरू नै हुन्‌।”

[फुटनोट]

c Between Resistance and Martyrdom——Jehovah’s Witnesses in the Third Reich

[पृष्ठ १९-मा भएको चित्र]

के तपाईं यहोवासँग नजिक हुन अरू क्रियाकलापबाट प्रत्येक दिन समय निकाल्नुहुन्छ?