मैले थुप्रै असल थोक पाएको छु
मैले थुप्रै असल थोक पाएको छु
आर्थर बोनोको वृत्तान्तमा आधारित
कुरा सन् १९५१ को हो। मेरी पत्नी एडीथ र म उपस्थित भएको जिल्ला अधिवेशनमा मिसनरी सेवाको लागि इच्छुक व्यक्तिहरूका निम्ति एउटा सभा आयोजना हुँदैछ भन्ने घोषणा भएको थियो।
“हामी पनि गएर सुनौं!” मैले भनें।
“यो हाम्रो लागि होइन, आर्ट!” एडीथले जवाफ दिइन्।
“सुन्न मात्र भए पनि जाऔं न, एडी।”
सभापछि गिलियड स्कूलको लागि आवेदन फाराम वितरण गरियो।
“लौ अब भरौं,” मैले उत्साहित हुँदै भने।
“तर आर्ट, हाम्रो परिवार नि?”
त्यस अधिवेशन सिद्धिएको लगभग डेढ वर्षपछि हामी गिलियड स्कूलमा उपस्थित भयौं र हामीलाई दक्षिण अमेरिकाको इक्वेडरमा सेवा गर्न खटाइयो।
त्यस अधिवेशनमा मेरी पत्नी र मबीच भएको कुराकानीबाट सायद तपाईंहरूले थाह पाउनुभयो होला, म अलि जिद्दी स्वभावको थिएँ र जे पनि गर्न सक्छु भन्ने सोचाइ राख्थें। तर एडीथ भने शान्त र नरम स्वभावकी थिइन्। अमेरिकाको पेन्सिलभेनियास्थित एलिजाबेथ भन्ने सानो सहरमा हुर्केकीले तिनी कहिल्यै पनि घरबाट टाढा गएकी वा कुनै विदेशीलाई भेटेकी थिइनन्। परिवार छोडेर जानु तिनको लागि सजिलो थिएन। तैपनि विदेशमा गएर सेवा गर्ने असाइनमेन्ट तिनले पूरा मनले स्वीकारिन्। सन् १९५४ मा हामी इक्वेडर आइपुग्यौं र त्यसबेलादेखि अहिलेसम्म यसै मुलुकमा मिसनरीको रूपमा सेवा गर्दैछौं। वर्षौंको दौडान हामीले थुप्रै असल थोक पाएका छौं। हामीले पाएका थुप्रै असल थोकमध्ये केही सुन्न चाहनुहुन्छ कि?
मीठो सम्झना
हाम्रो पहिलो असाइनमेन्ट राजधानी सहर किटोमा थियो र यो ठाउँ एण्डीज पर्वतमा लगभग ९,००० फिटको (२,८५० मि) उचाइमा अवस्थित थियो। रेल र ट्रक चढेर गुयाक्युलको समुद्र तटीय सहरदेखि त्यहाँसम्म पुग्न हामीलाई दुई दिन लाग्थ्यो, जुन ठाउँमा अहिले हवाईजहाजमार्फत ३० मिनेटमा पुग्न सकिन्छ! हामीले किटोमा सेवा गरेको चार वर्ष अविस्मरणीय थियो। अनि सन् १९५८ मा अर्को असल थोक पायौं: क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो।
त्यसबेला उक्त देशमा जम्मा दुई वटा स-साना सर्किट अर्थात् क्षेत्र थिए। त्यसैले मण्डलीहरूको भ्रमण गर्नुको अलावा हामीले साक्षीहरू नभएका स-साना स्थानीय गाउँहरूमा प्रचार गरेर थुप्रै हप्ता बितायौं। ती समुदायमा बस्ने मानिसहरू साधारणतया सानो र झ्याल नभएको घरमा बस्थे र तिनीहरूको कोठामा खाटबाहेक अरू केही हुँदैनथ्यो। हामीले आफूसित काठको एउटा बाकस पनि बोक्यौं र त्यसमा मट्टितेल चुल्हो, कराही, ठूलो बाटा, तन्ना, झुल, लुगाफाटा, पुराना अखबारहरू र अन्य केही सर-सामान हाल्यौं। कोठाको भित्तामा प्वालहरू थिए। त्यसैले मुसाहरू कोठाभित्र सजिलैसँग नछिरून् भनेर ती अखबारहरूले हामीले प्वाल टाल्यौं।
कोठा अँध्यारो र फोहर भए तापनि मट्टितेल चुल्होमा पकाएको साधारण खाना खाँदै राती खाटमा बसेर गरेका कुराकानी हामी अहिलेसम्म पनि झलझलती सम्झन्छौं। मेरो हडबडे स्वभावले गर्दा अक्सर म सोचविचारै नगरी बोल्ने गर्थें। त्यसैले भाइबहिनीलाई भेट्न जाँदा मैले कसरी बोलेको भए बुद्धिमानी हुन्थ्यो भनी मेरी पत्नीले कहिलेकाहीं यस्तै शान्त समयमा मलाई बताउने गर्थिन्। मैले तिनको कुरा सुनें र मेरो भेटघाट अझ प्रोत्साहनदायी भयो। साथै, मैले विचारै नपुऱ्याई अरूबारे नराम्रो कुरा बोल्दा तिनी त्यस कुराकानीमा भाग लिन चाहन्नथिन्। यसप्रकार मैले आफ्ना भाइबहिनीप्रति सकारात्मक धारणा राख्नुपर्छ भनेर सिकें। तर धेरैजसो भने रातको हाम्रो कुराकानी प्रहरीधरहरा-का लेखहरूबाट हामीले सिकेका बुँदाहरू र त्यसै दिनको क्षेत्र सेवामा बटुलेका अनुभवहरूमा केन्द्रित हुन्थ्यो। अनि हामीसित साह्रै रोचक अनुभवहरू हुन्थे!
कार्लोसलाई हामीले यसरी भेट्यौं
पश्चिमी इक्वेडरको जिपीजापा भन्ने ठाउँमा हामीलाई एक जिज्ञासु व्यक्तिको नाम दिइयो तर हामीले तिनको ठेगाना भने पाएनौं। तिनको नाम कार्लोस मिहिया थियो। त्यसै बिहानी हामी आफ्नो डेराबाट निस्केर तिनको खोजीमा लाग्यौं। तर कहाँ खोज्ने हामीलाई थाह थिएन। त्यसैले कहिले यता त कहिले उता खोज्न थाल्यौं। अघिल्लो रात त्यहाँ भारी वर्षा भएकोले हिलोले भरिएका थुप्रै खाल्डाखुल्डी पार गर्नुपर्थ्यो। मेरी पत्नी मेरो पछि-पछि हिंडिरहेकी थिइन् तर पछाडिबाट अकस्मात् “आर्ट!” भनेर आत्तिंदै बोलाएको सुनें। पछाडि फर्केर हेर्दा त एडी हिलोमा जाकिएकी रहेछिन् र तिनी हिलोमा घुँडासम्म डुबेछिन्। त्यो दृश्य यति हाँसउठ्दो थियो कि यदि तिनको रुन्चे अनुहार नदेखेको भए म मरी-मरी हाँस्नेथिएँ।
मैले तिनलाई त त्यस हिलोबाट निकाल्न सकें तर तिनको जुत्ताहरू भने हिलोभित्रै अड्क्यो। एक जना सानो केटो र अर्की सानी केटीले हेरिरहेका थिए। त्यसैले मैले तिनीहरूलाई भनें, “हिलोबाट जुत्ता निकाल्न सक्यौ भने म तिमीहरूलाई पैसा दिन्छु।” एकैछिनमा तिनीहरूले जुत्ता निकालिदिए। तर एडीलाई खुट्टा धुने ठाउँ चाहिएको थियो। ती केटाकेटीका आमाले हेरिरहेकी थिइन् र हामीलाई घरमा बोलाइन्। त्यसपछि खुट्टा धुन तिनले मेरी पत्नीलाई सघाइन् अनि ती केटाकेटीले चाहिं फोहर जुत्ता सफा गरिदिए। हामी त्यहाँबाट निस्कनुअघि एउटा राम्रो कुरा भयो। मैले ती स्त्रीलाई ‘कार्लोस मिहिया भन्ने नाम गरेका मानिस कहाँ बस्छन् थाह छ कि’ भनेर सोधें। आश्चर्यचकित हुँदै तिनले भनिन्, “उहाँ त मेरै श्रीमान् हुनुहुन्छ।” समयको दौडान बाइबल अध्ययन सुरु भयो र पछि गएर त्यस परिवारका सबै सदस्यले बप्तिस्मा गरे। केही वर्षपछि कार्लोस, तिनकी पत्नी र तिनका छोराछोरीमध्ये दुई छोरीहरू विशेष अग्रगामी भए।
चुनौतीपूर्ण यात्रा तर न्यानो आतिथ्य
क्षेत्रीय निरीक्षकको रूपमा यात्रा गर्नु चुनौतीपूर्ण थियो। यात्राको लागि हामी बस, रेल, ट्रक, डुङ्गा र साना हवाईजहाज प्रयोग गर्थ्यौं। जिल्ला निरीक्षकको रूपमा सेवा गर्नुभएका जोन मक्लेनकन र उहाँकी पत्नी डोर्थी एकचोटि कोलम्बियाली सीमानजिकको मछुवा गाउँहरूमा प्रचार गर्न हामीसितै जानुभयो। हामीले मोटर जडान गरिएको डुङ्गामा यात्रा गऱ्यौं। हामी चढिरहेको डुङ्गाजत्तिकै लामा-लामा सार्कहरू हाम्रै डुङ्गा छेउमा पौडिरहेका थिए! हामीसितै भएका अनुभवी नाविकसमेत ती ठूला सार्कहरू देखेर तर्सिए र डुङ्गालाई छिटछिटो किनारातर्फ मोडे।
हामीले क्षेत्रीय निरीक्षकको रूपमा काम गर्दा भोगेका चुनौतीहरू त्यसै खेर गएनन्। हामीले रमाइला र अतिथि सत्कार देखाउने भाइबहिनीहरूलाई चिन्ने मौका पायौं। हामीलाई आफ्नो घरमा राखेका परिवारहरूले हामीलाई दिनमा तीन छाक खान थुप्रै पटक जिद्दी गर्थे तर तिनीहरू भने दिनमा एक छाक मात्र खान्थे। अथवा तिनीहरू हामीलाई आफ्नो घरमा भएको एउटै मात्र खाटमा सुताउँथे अनि आफूचाहिं भुइँमै सुत्थे। मेरी पत्नी अक्सर भन्ने गर्थिन्, “वास्तवमा जीवन धान्न धेरै कुरा चाहिंदैन भनी मैले यी प्रिय भाइबहिनीहरूबाट सिकें।”
“हामी पछि हट्न चाहँदैनौं”
सन् १९६० मा हामीले अर्को असल थोक पायौं। हामीलाई गुयाक्युलको शाखा कार्यालयमा सेवा गर्न बोलाइयो। म प्रशासनिक काम गर्थें भने एडीथचाहिं शाखानजिकै रहेको मण्डलीसँग प्रचारकार्यमा लाग्थिन्। मलाई आफू अफिसमा काम गर्न सक्छु जस्तो कहिल्यै लाग्दैनथ्यो र आफूलाई अलि अयोग्य महसुस गर्थें। तर हिब्रू १३:२१ ले बताएअनुसार परमेश्वर हामीलाई “उहाँको इच्छा पूरा गर्न . . . हर असल कुराले सुसज्जित” पार्नुहुन्छ। दुई वर्षपछि मैले न्यु योर्कको ब्रूक्लिनमा रहेको बेथेलमा हुने दस-महिने गिलियड कोर्समा उपस्थित हुने निम्तो पाएँ। त्यसबेला पत्नीहरूचाहिं आफ्नै असाइनमेन्टमा लागिरहेको आशा गरिन्थ्यो। ब्रूक्लिनबाट मेरी पत्नीको नाममा एउटा पत्र आयो। दस महिनाको लागि आफ्नो पतिसित बिछोड हुन तिनी तयार छिन् कि छैनन् भनेर होसियारीसाथ विचार गर्न तिनलाई भनिएको थियो।
जवाफमा एडीथले यस्तो लेखिन्: “यसो गर्नु असाध्यै गाह्रो हुनेछ भनेर मलाई पक्का छ। तर जस्तोसुकै गाह्रो अवस्थामा पनि यहोवाले निश्चय नै मदत गर्नुहुनेछ भनेर हामीलाई थाह छ। . . . हामीअघि भएको कुनै पनि सुअवसर वा आफ्नो जिम्मेवारी अझ राम्ररी पूरा गर्न हामीलाई मदत गर्ने कुनै पनि मौकादेखि हामी पछि हट्न चाहँदैनौं।” म ब्रूक्लिनमा हुँदा मैले हरेक हप्ता मेरी पत्नीबाट पत्र पाउँथे।
विश्वासी सँगी ख्रीष्टियनहरूसँगसँगै सेवा गर्दै
स्वास्थ्य समस्याले गर्दा सन् १९६६ मा एडीथ र म किटो फर्कियौं। त्यहाँ हामीले स्थानीय भाइबहिनीहरूसँगसँगै मिसनरीको रूपमा आफ्नो सेवा पुनः सुरु गऱ्यौं। आफ्नो सत्यनिष्ठामा अडिग हुने सम्बन्धमा तिनीहरू कत्ति असल उदाहरण थिए!
बेग्लै विश्वास भएका एक पतिले हाम्री एउटी वफादार बहिनीलाई अक्सर कुट्ने गर्थे। एक दिनको कुरा हो, बिहान छ बजे एक जना मानिस आएर ती बहिनीलाई फेरि कुटिएको कुरा बताए। म हत्तारिंदै त्यस बहिनीको घरमा गएँ। तिनलाई देख्दा मैले पत्याउनै सकिनँ। तिनी ओछ्यानमा लडिरहेकी थिइन् र तिनको शरीर सुन्निएको र शरीरभरि नीलडाम थियो। लामो बिंड भएको कुचो भाँच्चिएर दुई टुक्रा नहोउन्जेल तिनको पतिले कुटेका रहेछन्। पछि त्यही दिन मैले उक्त पतिलाई घरमै भेटें र उनले लाजमर्दो काम गरेको कुरा बताएँ। उनले मनैदेखि आफ्नो गल्ती स्वीकारे।
सन् १९७० दशकको सुरुतिर मेरो स्वास्थ्यमा सुधार आयो र हामीले क्षेत्रीय निरीक्षकको काम पुनः सुरु गऱ्यौं। इबारा सहर हाम्रो क्षेत्रअन्तर्गत पर्थ्यो। सन् १९५० दशकको अन्ततिर त्यस सहरको भ्रमण गर्दा त्यहाँ जम्मा दुई जना साक्षी थिए, एक जना मिसनरी र अर्को स्थानीय
भाइ। त्यसैले हामी मण्डलीमा थपिएका अरू थुप्रै नयाँ व्यक्तिलाई भेट्न आतुर थियौं।त्यहाँको हाम्रो पहिलो सभामा भाइ रोड्रिगो भाकाले मञ्चमा उभिएर श्रोतासितको छलफलको एउटा भाग सञ्चालन गर्नुभयो। उहाँले प्रश्न सोध्नेबित्तिकै उपस्थित व्यक्तिहरू हात उठाउनुको सट्टा “य, य!” (मलाई, मलाई) भनेर कराउँथे। एडीथ र मैले छक्क पर्दै एक-अर्कालाई हेऱ्यौं। मैले मनमनै सोचें,‘हैन, यहाँ के हुँदैछ?’ पछि हामीले थाह पायौं, भाइ भाका अन्धो हुनुहुँदो रहेछ तर मण्डलीका सदस्यहरूको आवाज भने उहाँ चिन्न सक्नुहुँदो रहेछ। उहाँ आफ्नो भेडालाई साँच्चै चिन्ने गोठालो हुनुहुन्छ! यसले यूहन्ना १०:३, ४, १४ मा येशूले असल गोठालो र भेडाहरूबारे गर्नुभएको टिप्पणी सम्झना गराउँछ। आज इबारामा छ वटा स्पेनिस भाषाको मण्डली, एउटा क्वीचा भाषाको मण्डली र एउटा साङ्केतिक भाषाको मण्डली छ। भाइ भाकाले अहिलेसम्म पनि विश्वासी हुँदै एल्डर र विशेष अग्रगामीको रूपमा सेवा गर्दै हुनुहुन्छ। a
यहोवाले देखाउनुभएको भलाइको लागि कृतज्ञ
सन् १९७४ मा बेथेल फर्कने निम्तो पाउँदा यहोवाले अर्को असल थोक दिनुभएको महसुस गऱ्यौं। त्यहाँ मलाई फेरि प्रशासनिक काम गर्ने अनि पछि गएर शाखा समितिमा नियुक्त गरियो। एडीथले पहिला भान्छामा काम गरिन् र पछि अफिसमा काम गर्न थालिन्। अहिलेसम्म पनि तिनी त्यहाँ चिठी-पत्रसम्बन्धी काम गर्छिन्।
वर्षौंको दौडान हामीले गिलियडबाट प्रशिक्षण पाएका सयौं मिसनरीलाई स्वागत गर्ने मौका पाएका छौं। यी मिसनरीहरू आफूले सेवा गर्ने मण्डलीका सदस्यहरूलाई परिपक्व र जोसिलो हुन मदत गर्छन्। तीस वटाभन्दा धेरै देशबाट यस मुलुकुमा सेवा गर्न आएका हजारौं भाइबहिनीबाट पनि हामीले प्रोत्साहन पाएका छौं। तिनीहरूको आत्मत्यागी मनोभावले हामीलाई ठूलो प्रभाव पारेको छ! राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको यस ठाउँमा आएर सेवा गर्न कतिले आफ्नो घर र व्यापार-व्यवसाय बेचे। विकट क्षेत्रहरूमा गएर प्रचार गर्न तिनीहरूले सवारी साधनहरू किने, नयाँ मण्डलीहरू स्थापना गरे र राज्यभवन निर्माणकार्यमा मदत गरे। थुप्रै अविवाहित बहिनी अग्रगामी सेवा गर्न विदेशबाट यहाँ आएका छन्। तिनीहरू साँच्चै जोसिला र सक्षम कामदारहरू हुन्!
हो, परमेश्वरको सेवा गर्दा वर्षौंको दौडान मैले थुप्रै असल थोक पाएको छु। यीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवासितको मेरो सम्बन्ध हो। साथै, यहोवाले मेरो लागि “एउटा सहयोगी” दिनुभएकोमा पनि म कृतज्ञ छु। (उत्प. २:१८) पति र पत्नीको रूपमा हामीले बिताएको ६९ वर्षलाई फर्केर हेर्दा म हितोपदेश १८:२२ मा लेखिएका यी शब्दहरू विचार गर्छु: “[“असल,” NW] पत्नी पाउनेले असल कुरा पाउँछ।” एडीथको साथ पाउनु मेरो लागि आनन्दको कुरा भएको छ। तिनले मलाई थुप्रै तरिकामा मदत गरेकी छिन्। तिनी आफ्नी आमाको लागि पनि मायालु छोरी साबित भइन्। हामी इक्वेडरमा आएदेखि नै एडीथले आफ्नी आमालाई हरेक हप्ता चिठी पठाउँथिन् र सन् १९९० मा ९७ वर्षको उमेरमा आमाको मृत्यु नहोउन्जेलसम्म तिनले त्यसै गरिन्।
अहिले म ९० वर्षको भएँ र एडीथ ८९ वर्षकी भइन्। यहोवालाई चिन्न लगभग ७० जनालाई मदत गर्न सकेकोमा हामी आनन्दित छौं। गिलियड स्कूलको लागि आजभन्दा ६० वर्षअघि आवेदन फाराम भरेकोमा हामी साँच्चै खुसी छौं। त्यस निर्णयले गर्दा हाम्रो जीवन थुप्रै असल थोकले भरिभराउ भएको छ।
[फुटनोट]
a भाइ भाकाको जीवनी सेप्टेम्बर ८, १९८५ अङ्कको ब्यूँझनुहोस्! (अङ्ग्रेजी) पत्रिकामा प्रकाशित भएको थियो।
[पृष्ठ २९-मा भएको चित्र]
न्यु योर्कको याङ्की रङ्गशालामा हाम्रो गिलियड कक्षाको सँगी मिसनरीहरूसित, सन् १९५८
[पृष्ठ ३१-मा भएको चित्र]
क्षेत्रीय निरीक्षकको सेवा गर्दा एक साक्षी परिवारलाई भेट्दै, सन् १९५९
[पृष्ठ ३२-मा भएको चित्र]
इक्वेडरको शाखा कार्यालयमा, सन् २००२