सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“असाध्यै राम्रो निरीक्षक र प्रिय साथी”

“असाध्यै राम्रो निरीक्षक र प्रिय साथी”

“असाध्यै राम्रो निरीक्षक र प्रिय साथी”

यहोवाका साक्षीहरूको परिचालक निकायको एक सदस्यको रूपमा सेवा गर्नुभएका जोन (ज्याक) बारले डिसेम्बर ४, २०१०, शनिबार बिहान आफ्नो पार्थिव जीवन सिध्याउनुभयो। उहाँ ९७ वर्षको हुनुहुन्थ्यो। उहाँ “असाध्यै राम्रो निरीक्षक र प्रिय साथी” भनी चिनिनुहुन्थ्यो।

भाइ जोन बार स्कटल्याण्डको आबरडिनमा तीन जना छोराछोरीमध्ये कान्छो छोराको रूपमा जन्मिनुभएको थियो। उहाँका आमाबाबु दुवै जना अभिषिक्‍त हुनुहुन्थ्यो। भाइ बार आफू केटाकेटी छँदाको जीवनबारे अक्सर रमाइ-रमाइ कुरा गर्नुहुन्थ्यो। आफ्ना मायालु आमाबाबुले बसाल्नुभएको उत्कृष्ट उदाहरणको लागि उहाँ कृतज्ञ हुनुहुन्थ्यो।

किशोरावस्थामा पुग्दा जोनलाई अपरिचित मानिसहरूसित कुराकानी गर्न असाध्यै गाह्रो लाग्थ्यो। तैपनि, यो समस्यासित डट्‌न उहाँले अत्यन्तै मेहनत गर्नुभयो अनि आफू चौध वर्षको हुँदा अर्थात्‌ सन्‌ १९२७ आइतबार दिउँसो उहाँले आफ्नो बुबालाई घर-घरको प्रचारकार्यमा जान आफू तयार भएको कुरा सुनाउनुभयो। यहोवाको सेवामा उहाँले बिताउनुभएको लामो समयको त्यो सुरुवात थियो। त्यस दिनदेखि आफ्नो मृत्यु नहोउन्जेल भाइ बार सुसमाचारको जोसिलो प्रचारकको रूपमा रहिरहनुभयो।

आफ्नी प्यारी आमालाई झन्डै मृत्युको सिकार बनाएको एउटा दुःखद दुर्घटनाले जवान जोनलाई जीवनको उद्देश्‍यबारे गम्भीर भई सोच्न बाध्य तुल्यायो। अनि सन्‌ १९२९ मा उहाँले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुभयो र मौका पाउनासाथै सन्‌ १९३४ मा त्यस समपर्णलाई जनसमक्ष प्रकट गर्नुभयो। त्यसपछि सन्‌ १९३९ मा उहाँ बेलायतको लन्डन बेथेल परिवारको सदस्य हुनुभयो। यसरी सुरु भएको पूर्ण-समय सेवा ७१ वर्षसम्म चलिरह्‍यो।

अक्टोबर २९, १९६० मा उहाँले बहिनी मिल्ड्रेड विलटसित विवाह गर्नुभयो जसले लामो समयदेखि जोसिलो भएर अग्रगामी र मिसनरी सेवा गरिरहनुभएको थियो। भाइ बारकै शब्दअनुसार यसरी उहाँ “एउटा विशेष बहुमूल्य सम्बन्धमा” गाँसिनुभयो। भाइ र बहिनी बार उदाहरणीय र एक-अर्काप्रति वफादार दम्पतीको रूपमा चिनिनुहुन्थ्यो अनि अक्टोबर २००४ मा मिल्ड्रेडको पार्थिव जीवन अन्त नभएसम्म उहाँहरू यस्तै रूपमा रहिरहनुभयो। भाइ र बहिनी बारले आफ्नो विवाहित जीवनभर हरेक दिन सँगै मिलेर बाइबलको केही अंश पढ्‌ने गर्नुहुन्थ्यो।

उहाँलाई चिन्‍नेहरूका लागि जोन बार भन्‍ने नामले सधैं सन्तुलित, दयालु र धर्मशास्त्रमा अडिग भएर मायालु सल्लाह दिने व्यक्‍तिको सम्झना गराउनेछ। उहाँ मेहनती व्यक्‍ति, विचारशील तथा मायालु निरीक्षक अनि वफादार साथी हुनुहुन्थ्यो। उहाँका टिप्पणी, भाषण र प्रार्थनाले सत्यप्रति उहाँको प्रेम अनि यहोवासितको घनिष्ठता कत्तिको प्रगाढ थियो भनेर देखाउँथ्यो।

भाइ बारको अभाव हामीलाई सधैं खट्‌किरहे तापनि उहाँले इनामस्वरूप पाउनुभएको अमर जीवनको लागि हामी उहाँसँगै खुसी छौं। उहाँ सधैं यस इनामको प्रतीक्षा गर्नुहुन्थ्यो र यसबारे अक्सर कुराकानी गर्नुहुन्थ्यो। यो नै उहाँको जीवनको सार थियो।—१ कोरि. १५:५३, ५४ a

[फुटनोट]

a जोन इ. बारको जीवनीको लागि जुलाई १, १९८७ को प्रहरीधरहरा (अङ्‌ग्रेजी) पृष्ठ २६ देखि ३१ हेर्नुहोस्‌।