सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं परमेश्‍वरको वचन पढेर साँच्चै रमाउनुहुन्छ?

के तपाईं परमेश्‍वरको वचन पढेर साँच्चै रमाउनुहुन्छ?

के तपाईं परमेश्‍वरको वचन पढेर साँच्चै रमाउनुहुन्छ?

“मैले नियमित रूपमा बाइबल पढ्‌न सुरु गर्दा मलाई रमाइलो लागेन, दिनहुँको कामधन्दाजस्तो मात्र लाग्यो। बुझ्न गाह्रो भएकोले ध्यानै दिन सकिनँ” भनी लरेन बताउँछिन्‌।

अरू पनि आफूले बाइबल पढ्‌न सुरु गर्दा रमाइलो नलागेको कुरा स्वीकार्छन्‌। तैपनि तिनीहरूले पढ्‌न छोडेनन्‌ किनभने पवित्र शास्त्र पढ्‌नु सही कुरा हो भनेर तिनीहरूलाई थाह थियो। मार्क भन्छन्‌, “बाइबल पढाइ र व्यक्‍तिगत अध्ययन गर्नदेखि बाधा पुऱ्‍याउने कुराहरू थुप्रै छन्‌। दिनहुँको बाइबल पढाइलाई मेरो तालिकाको एउटा भाग बनाउन मैले निकै प्रार्थना र प्रयास गर्नुपऱ्‍यो।”

परमेश्‍वरको लिखित वचन बाइबलप्रति अझ धेरै कदर देखाउन तपाईं के गर्न सक्नुहुन्छ? बाइबल पढाइलाई तपाईं कसरी रमाइलो बनाउन सक्नुहुन्छ? निम्न सुझावहरू विचार गर्नुहोस्‌।

लक्ष्य र तरिका

बाइबल पढ्‌नुअघि प्रार्थना गर्नुहोस्‌ र एकचित्तको हुनुहोस्‌। परमेश्‍वरको वचन पढ्‌ने उत्सुकता विकास गर्न यहोवासित मदत माग्नुहोस्‌। परमेश्‍वरको बुद्धिलाई अझ राम्ररी बुझ्न सक्न आफ्नो मनमस्तिष्क खोलिदिन उहाँसित बिन्ती गर्नुहोस्‌। (भज. ११९:३४) यसो नगरी बाइबल अध्ययन गर्दा यो सुगा रटाइजस्तो मात्र हुन पुग्छ अनि नियमित रूपमा पढ्‌ने तपाईंको जाँगर हराउन सक्छ। लीन भन्छिन्‌: “कहिलेकाहीं म असाध्यै हतारिएर पढ्‌छु जसले गर्दा कतिपय रोचक बुँदाहरू पूरै छुट्‌छन्‌। अक्सर मुख्य कुरालाई म राम्रोसँग बुझ्दिनँ। तर म आत्मसंयमको लागि प्रार्थना गर्छु अनि यसले गर्दा मेरो ध्यान यताउता जान पाउँदैन।”

आफूले सिकेको कुराको मोल गर्नुहोस्‌। नबिर्सनुहोस्‌, बाइबल सत्य बुझ्नु र त्यसलाई पालन गर्नुको अर्थ तपाईंको लागि जीवन हो। त्यसैले व्यावहारिक बुँदाहरू भेट्टाउन अथक प्रयास गर्नुहोस्‌ र ती लागू गर्नुहोस्‌। क्रिस भन्छन्‌: “म आफूमा भएको गलत मनोवृत्ति र झुकाव पत्ता लगाउन मदत गर्ने कुराहरू खोज्छु। बाइबललगायत हाम्रा थुप्रै प्रकाशनका लेखकहरूलाई मैले कहिल्यै भेटेको नभए तापनि त्यसमा व्यक्‍तिगत रूपमा मलाई फाइदा पुऱ्‍याउने जानकारीहरू देख्न पाउँदा स्फूर्ति पाउँछु।”

आफूले प्राप्त गर्न सक्ने लक्ष्यहरू राख्नुहोस्‌। बाइबल पात्रहरूबारे केही नयाँ कुरा सिक्ने कोसिस गर्नुहोस्‌। धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी) वा वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) हेरेर तपाईं तिनीहरूबारे थुप्रै रोचक तथ्य पाउन सक्नुहुन्छ। बाइबलमा उल्लिखित पुरुष तथा स्त्रीहरूलाई व्यक्‍तित्व तथा भावना भएका वास्तविक व्यक्‍तिको रूपमा चिनेपछि तिनीहरूको उदाहरणले तपाईंलाई अझ ठूलो प्रभाव पार्नेछ।

धर्मशास्त्रबाट तर्क गर्ने नयाँ तरिकाहरू खोज्नुहोस्‌। (प्रेषि. १७:२, ३) सोफिया यस्तै लक्ष्य राखेर अध्ययन गर्छिन्‌। तिनी भन्छिन्‌: “प्रचारकार्यमा र अन्य समयमा बाइबल सत्यलाई स्पष्टसित बताउन सक्नको लागि मानिसहरूसित तर्क गर्ने नयाँ-नयाँ तरिका सिक्न चाहन्छु। यसो गर्न सिकाउने असाध्यै राम्रो सामाग्री प्रहरीधरहरा हो।”—२ तिमो. २:१५.

बाइबल विवरणहरू कल्पना गर्नुहोस्‌। हिब्रू ४:१२ भन्छ: “परमेश्‍वरको वचन जीवित . . . छ।” बाइबल पात्रहरूले जुन दृश्‍य देखिरहेका थिए, धर्मशास्त्र पढ्‌दा ती दृश्‍यको कल्पना गर्दै पढेर परमेश्‍वरको सन्देशलाई आफ्नो दिमागमा ठप्प बस्न दिनुहोस्‌। तिनीहरूले सुनिरहेको कुरा सुन्‍न र महसुस गरिरहेको कुरा महसुस गर्न प्रयास गर्नुहोस्‌। तिनीहरूको अनुभवलाई आफ्नो जीवनको खास अवस्थासित मिलान गर्नुहोस्‌। तिनीहरूले परिस्थितिको सामना कसरी गरे, त्यसबाट सिक्नुहोस्‌। यसले तपाईंलाई बाइबल विवरण बुझ्न र सम्झन मदत गर्नेछ।

गाह्रा पदहरू र तिनीहरूको व्याख्या स्पष्टसित बुझ्न प्रशस्त समय लगाउनुहोस्‌। अध्ययनको लागि प्रत्येक चोटि प्रशस्त समय निकाल्नुहोस्‌। थप अनुसन्धान गर्नुपर्ने असाध्यै रोचक प्रश्‍नहरू पनि होलान्‌। नौलो शब्दहरूको अर्थ बुझ्नुहोस्‌, फुटनोट विचार गर्नुहोस्‌ र बाइबलका शब्दहरूको सूची हेर्नुहोस्‌। तपाईं आफूले पढेको कुरा जति राम्ररी बुझ्नुहुन्छ र लागू गर्नुहुन्छ, परमेश्‍वरको लिखित वचन पढेर त्यति नै धेरै रमाउन सक्नुहुन्छ। त्यसपछि तपाईं भजनरचयिताले जस्तै यसो भन्‍न सक्नुहुनेछ: “तपाईंका [यहोवाका] साक्षी-वचनहरू मैले सधैंभरि आफ्नो हक मानिलिएको छु। किनकि तिनीहरूनै मेरो हृदयको आनन्दका कारण हुन्‌।”—भज. ११९:१११.

हतार गरेर नपढ्‌नुहोस्‌। व्यक्‍तिगत अध्ययन गर्न र मण्डलीका सभाहरूको तयारी गर्न कति समय छुट्याउने हो त्यसमा व्यावहारिक र सन्तुलित हुनुहोस्‌। राकेल भन्छिन्‌: “थुप्रै पटक म यत्ति तनावग्रस्त हुन्छु कि ध्यान लगाउनै सक्दिनँ। त्यसैले छोटो समय अध्ययन गर्नु मैले लाभदायी पाएकी छु। यसले गर्दा मैले आफ्नो अध्ययनबाट धेरै लाभ उठाउन सकेकी छु।” क्रिस स्वीकार्छन्‌: “हतार-हतार पढ्‌दा मेरो अन्तस्करणले मलाई पिरोल्छ किनभने यसो गर्दा म थोरै मात्र सम्झन सक्छु। पढेको कुरा अक्सर मेरो मनसम्म पुग्दैन।” त्यसैले समय लगाएर पढ्‌नुहोस्‌।

परमेश्‍वरको वचनको लागि तीव्र तिर्सना गर्नुहोस्‌। प्रेषित पत्रुसले भने: “नवजात शिशुहरूले झैं परमेश्‍वरको वचनमा पाइने शुद्ध दूधको तिर्सना गर, जसद्वारा तिमीहरू उद्धार पाउनका लागि बढ्‌दै जान सक्नेछौ।” (१ पत्रु. २:२) शिशुले दूधको लागि तिर्सना गर्नु पर्दैन। यस्तो चाहना स्वतः आउँछ। तर धर्मशास्त्रले भनेअनुसार परमेश्‍वरको वचनको लागि भने हामीले तिर्सना गर्नुपर्छ। यदि तपाईं हरेक दिन बाइबलको एक पाना मात्र पढ्‌नुहुन्छ भने पनि यस्तो तिर्सना चाँडै जाग्नेछ। तपाईंलाई पहिला गाह्रोजस्तो लागेको कुरा पनि चाँडै रमाइलो लाग्नेछ।

धर्मशास्त्रीय अंशहरूमा मनन गर्नुहोस्‌। आफूले पढेको कुरामा मनन गर्दा पनि ठूलो लाभ पाउन सकिन्छ। यसले तपाईंलाई परमेश्‍वरसित सम्बन्धित विषयमा आफूले खोजी गरेका कुराहरूबीचको सम्बन्ध बुझ्न मदत गर्नेछ। चाँडै तपाईंले अनमोल सम्पत्ति अर्थात्‌ मोतीरूपी ईश्‍वरीय बुद्धि एकपछि अर्को गरी प्राप्त गर्नुहुनेछ।—भज. १९:१४; हितो. ३:३.

समयको सदुपयोग

अध्ययन गर्ने असल बानी बसाल्न प्रयास चाहिन्छ तर यसो गर्दा अपार आशिष्‌ पाइन्छ। यसो गर्दा तपाईंले धर्मशास्त्रलाई अझ राम्ररी बुझ्न सक्नुहुनेछ। (हिब्रू ५:१२-१४) प्रेरित धर्मशास्त्रबाट तपाईंले हासिल गर्ने विवेक र बुद्धिले खुसी, आनन्द र शान्ति ल्याउँछ। परमेश्‍वरको प्रेरित वचनमा पाइने बुद्धि यसलाई भेट्टाउने र लागू गर्नेहरूका लागि “जीवनको रूख” हो।—हितो. ३:१३-१८, NRV.

परमेश्‍वरको वचनको गहिरो अध्ययनले तपाईंको हृदय चतुर अर्थात्‌ विवेकशील बनाउन सक्छ। (हितो. १५:१४) यसले तपाईंलाई पूर्णतया बाइबलमा आधारित निष्कपट सल्लाह दिन मदत गर्नेछ। यदि तपाईंले धर्मशास्त्रमा पढेका तथा “विश्‍वासी र बुद्धिमान्‌ दास”-का प्रकाशनमा पढेका कुराको आधारमा निर्णय गर्नुभयो भने यहोवाको प्रेरित वचनबाट स्फूर्ति प्राप्त गर्नुहुनेछ र यसले तपाईंलाई स्थिर रहन मदत गर्नेछ। (मत्ती २४:४५) तपाईं अझ धेरै सकारात्मक, आशावादी र परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार चल्ने व्यक्‍ति बन्‍नुहुनेछ। अझ ठूलो कुरा त परमेश्‍वरसितको सम्बन्धको हरेक पक्षमा तपाईं सफल हुनुहुनेछ।—भज. १:२, ३.

परमेश्‍वरप्रतिको प्रेमले भरिएको मनले तपाईंलाई आफ्नो विश्‍वासबारे अरूलाई बताउन उत्प्रेरित गर्नेछ। यो पनि असाध्यै इनामदायी हुन सक्छ। घरधनीहरूको ध्यान खिच्न र ख्रीष्टियन प्रचारकार्यलाई प्रभावकारी र रमाइलो बनाउन सोफिया विभिन्‍न शास्त्रपदहरू सम्झने र प्रयोग गर्ने कोसिस गर्दैछिन्‌। तिनी भन्छिन्‌: “बाइबलका कुराहरूप्रति मानिसहरूले देखाउने प्रतिक्रिया सुन्दा मजा लाग्छ।”

तर परमेश्‍वरको वचन पढेर रमाउँदा प्राप्त हुने सबैभन्दा उल्लेखनीय फाइदा भनेको यहोवासितको घनिष्ठ सम्बन्ध हो। बाइबल अध्ययनले तपाईंलाई उहाँको स्तर थाह पाउन र उहाँको प्रेम, उदारता र न्यायको कदर गर्न मदत गर्छ। अरू कुनै पनि कुरा प्राप्त गर्न खोज्नु योभन्दा महत्त्वपूर्ण वा इनामदायी छैन। परमेश्‍वरको वचनको अध्ययन गर्न तल्लीन हुनुहोस्‌। यसो गर्नु साँच्चै समयको सदुपयोग हो।—भज. १९:७-११.

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

परमेश्‍वरको वचनको पढाइ: लक्ष्य र तरिका

▪ बाइबल पढ्‌नुअघि प्रार्थना गर्नुहोस्‌ र एकचित्तको हुनुहोस्‌।

▪ आफूले सिकेको कुराको मोल गर्नुहोस्‌।

▪ आफूले प्राप्त गर्न सक्ने लक्ष्यहरू राख्नुहोस्‌।

▪ धर्मशास्त्रबाट तर्क गर्ने नयाँ तरिकाहरू खोज्नुहोस्‌।

▪ बाइबल विवरणहरू कल्पना गर्नुहोस्‌।

▪ गाह्रा पदहरू र तिनीहरूको व्याख्या स्पष्टसित बुझ्न प्रशस्त समय लगाउनुहोस्‌।

▪ हतार गरेर नपढ्‌नुहोस्‌।

▪ परमेश्‍वरको वचनको लागि तीव्र तिर्सना गर्नुहोस्‌।

▪ धर्मशास्त्रीय अंशहरूमा मनन गर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

कुनै बाइबल विवरण पढ्‌दा आफू त्यस्तै अवस्थामा भएको कल्पना गर्नुहोस्‌