सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन परिवार हो—‘जागा बस्नुहोस्‌’

ख्रीष्टियन परिवार हो—‘जागा बस्नुहोस्‌’

ख्रीष्टियन परिवार हो—‘जागा बस्नुहोस्‌’

“जागा बसौं अनि सचेत रहौं।”—१ थिस्स. ५:६.

१, २. परमेश्‍वरसितको सम्बन्ध जोगाइराख्न जागा रहने हो भने परिवारले के गर्नुपर्छ?

 “परमप्रभुको त्यो महान्‌ र भयङ्‌कर दिन”-लाई सङ्‌केत गर्दै प्रेषित पावलले थिस्सलोनिकीका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “हे भाइहरू हो, तिमीहरू अन्धकारमा छैनौ; त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्‌, किनकि तिमीहरू सबै जना उज्यालोका सन्तान अनि दिनका सन्तान हौ। हामी न रातका न त अन्धकारका हौं।” पावलले यसो पनि भने: “त्यसैले आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं, बरु जागा बसौं अनि सचेत रहौं।”—योए. २:३१; १ थिस्स. ५:४-६.

विशेषगरि “अन्तको समय”-मा बाँचिरहेका ख्रीष्टियनहरूका लागि पावलको सल्लाह उपयुक्‍त छ। (दानि. १२:४) सैतानको यस दुष्ट युगको अन्त नजिकिंदै जाँदा परमेश्‍वरका धेरैभन्दा धेरै साँचो उपासकलाई उहाँको सेवाबाट तर्काउन त्यो लागिपरेको छ। त्यसैले परमेश्‍वरसितको सम्बन्ध जोगाइराख्नको लागि सजग रहन पावलले दिएको सल्लाह पालन गर्नु बुद्धिमानी हो। ख्रीष्टियन परिवार जागा रहने हो भने यहोवाले बाइबलमा दिनुभएको आ-आफ्नो जिम्मेवारीलाई परिवारका प्रत्येक सदस्यले पूरा गर्नु महत्त्वपूर्ण छ। त्यसोभए परिवारलाई ‘जागा बस्ने’ मदत दिन पति, पत्नी र छोराछोरीले कस्तो भूमिका खेल्छन्‌?

पति हो—“असल गोठालो”-को अनुकरण गर्नुहोस्‌

३. पहिलो तिमोथी ५:८ अनुसार परिवारको शिरको हैसियतमा पुरुषको एउटा जिम्मेवारी के हो?

“स्त्रीको शिर पुरुष” हो भनी बाइबल भन्छ। (१ कोरि. ११:३) परिवारको शिर भएकोले पुरुषको जिम्मेवारी के हो? धर्मशास्त्र यसो भन्छ: “यदि कसैले आफन्तको र अझ विशेष गरी आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्‍वासलाई त्यागेको हुन्छ र विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।” (१ तिमो. ५:८) हो, पुरुषले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नुपर्छ। तर तिनले आफ्नो परिवारलाई जागा रहन मदत गर्ने हो भने परिवारको भौतिक आवश्‍यकता पूरा गरेर मात्र पुग्दैन। तिनले सबै सदस्यलाई परमेश्‍वरसित बलियो सम्बन्ध गाँस्न मदत गर्दै आफ्नो परिवारलाई सुदृढ बनाउनुपर्छ। (हितो. २४:३, ४) तिनले कसरी यसो गर्न सक्छन्‌?

४. परमेश्‍वरसित आफ्नो परिवारको सम्बन्ध बलियो बनाउँदै लैजान पुरुषलाई केले मदत गर्न सक्छ?

‘ख्रीष्ट मण्डलीको शिर भएझैं, पत्नीको शिर पति’ भएकोले येशूले मण्डलीसित व्यवहार गर्दा कस्तो किसिमको शिरत्व देखाउनुभयो, विवाहित पुरुषले त्यसलाई केलाउनु र अनुकरण गर्नुपर्छ। (एफि. ५:२३) येशूले आफ्ना अनुयायीहरूसितको सम्बन्धलाई कसरी व्याख्या गर्नुभयो विचार गर्नुहोस्‌। ( यूहन्‍ना १०:१४, १५ पढ्‌नुहोस्‌) परमेश्‍वरसित आफ्नो परिवारको सम्बन्ध बलियो बनाउँदै लैजान चाहने पुरुषले के गर्नै पर्छ? “असल गोठालो”-को रूपमा येशूले भन्‍नुभएको र गर्नुभएको कुरा अध्ययन गर्नै पर्छ र “राम्ररी उहाँको पदचिन्ह” पछ्याउनै पर्छ।—१ पत्रु. २:२१.

५. असल गोठालोलाई मण्डलीबारे कस्तो ज्ञान छ?

गोठालो र भेडाबीचको सम्बन्ध ज्ञान र भरोसामा आधारित हुन्छ। गोठालोलाई आफ्नो भेडाबारे सबै थाह हुन्छ अनि भेडाले पनि गोठालोलाई चिन्छ र गोठालोमाथि भरोसा राख्छ। भेडाले गोठालोको सोर चिन्छ र आज्ञा मान्छ। येशूले भन्‍नुभयो: “म . . . आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्‌।” उहाँसित मण्डलीबारे सतही ज्ञान मात्र छैन। यहाँ “चिन्छु” भनी उल्लेख गरिएको ग्रीक शब्दले “व्यक्‍तिगत रूपमा राम्ररी चिन्‍नु” भन्‍ने अर्थ दिन्छ। हो, यी असल गोठालोले आफ्ना एक-एक भेडालाई चिन्‍नुहुन्छ। उहाँलाई तिनीहरू प्रत्येकको आवश्‍यकता, तिनीहरूको कमीकमजोरी र तिनीहरूको बलियो पक्ष थाह छ। हाम्रा उदाहरण येशूको नजरबाट आफ्नो भेडाको कुनै पनि कुरा लुक्न सक्दैन। अनि भेडाले गोठालोलाई राम्ररी चिन्छ र उहाँको नेतृत्वमाथि भरोसा गर्छ।

६. पतिहरूले असल गोठालोको अनुकरण कसरी गर्न सक्छन्‌?

ख्रीष्टको अनुकरण गर्दै शिरत्वको प्रयोग गर्न पतिले आफूलाई गोठालोको रूपमा र आफ्नो जिम्मामा भएकाहरूलाई भेडाको रूपमा हेर्न सिक्नै पर्छ। तिनले आफ्नो परिवारलाई राम्ररी चिन्‍न प्रयास गर्नुपर्छ। के पतिले परिवारलाई साँच्चै राम्ररी चिन्‍न सक्छन्‌? सक्छन्‌। तर त्यसको लागि तिनले परिवारका सबै सदस्यसित कुराकानी गर्नुपर्छ, तिनीहरूको चिन्ताको विषयलाई सुन्‍नुपर्छ, पारिवारिक क्रियाकलापमा नेतृत्व लिनुपर्छ अनि पारिवारिक उपासना, सभाको उपस्थिति, क्षेत्र सेवा, सोख र मनोरञ्जनजस्ता कुरामा असल निर्णय गर्न होसियार हुनुपर्छ। ख्रीष्टियन पतिले परमेश्‍वरको वचनको मात्र होइन तर आफूलाई सुम्पिइएकाहरूबारे पनि राम्रो ज्ञान हासिल गरेमा परिवारका सदस्यहरू तिनको अगुवाइमा ढुक्क हुन सक्ने र तिनले पनि आफ्ना परिवारका सदस्यहरू साँचो उपासनामा एकताबद्ध भएर लागेको देख्न पाउने सम्भावना प्रबल हुन्छ।

७, ८. आफ्नो जिम्मामा रहेकाहरूप्रति स्नेह देखाउने सन्दर्भमा पतिले कसरी असल गोठालोको अनुकरण गर्न सक्छन्‌?

असल गोठालोले आफ्नो भेडालाई स्नेह पनि देखाउँछ। येशूको जीवन र प्रचारकार्यबारे उल्लेख गरिएका सुसमाचारका विवरणहरू अध्ययन गर्दा येशूले आफ्ना चेलाहरूप्रति देखाउनुभएको स्नेह बुझेर हाम्रो मन कृतज्ञताले ओतप्रोत हुन्छ। उहाँले भेडाको खातिर ‘आफ्नो ज्यानसमेत अर्पण गर्नुभयो।’ आफ्नो जिम्मामा रहेकाहरूप्रति स्नेह देखाउने सन्दर्भमा पतिहरूले येशूको अनुकरण गर्नुपर्छ। कठोर हुँदै पत्नीलाई दबाउनुको सट्टा परमेश्‍वरको अनुमोदन पाउने इच्छा गर्ने पतिले आफ्नी पत्नीलाई प्रेम गरिरहनुपर्छ “जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो।” (एफि. ५:२५) पत्नी आदर पाउन योग्यकी भएकोले पतिको बोलीवचन दयालु र विचारशील हुनुपर्छ।—१ पत्रु. ३:७.

छोराछोरीलाई प्रशिक्षण दिने सन्दर्भमा परिवारको शिरले ईश्‍वरीय सिद्धान्तहरूलाई दृढ भई पक्रनुपर्छ। तथापि तिनी आफ्ना छोराछोरीलाई स्नेह देखाउनदेखि चुक्नु हुँदैन। आवश्‍यक अनुशासन मायालु ढङ्‌गमा दिनुपर्छ। केही छोराछोरीलाई उनीहरूबाट आशा गरिएको कुरा बुझ्न अलि समय लाग्न सक्छ। यस्तो अवस्थामा त्यस्ता छोराछोरीप्रति बुबाले अझ धेरै धैर्य देखाउनुपर्छ। पुरुषहरूले एकरूपले येशूको उदाहरण पछ्याउँदा घरको वातावरण सुरक्षित र खतरामुक्‍त रहन्छ। तिनीहरूको परिवारले भजनरचयिताले गाएझैं परमेश्‍वरबाट प्राप्त हुने सुरक्षा अनुभव गर्छन्‌।भजन २३:१-६ पढ्‌नुहोस्‌।

९. कुलपिता नूहसित जस्तै ख्रीष्टियन पतिहरूसित कस्तो जिम्मेवारी छ र यो जिम्मेवारी वहन गर्न तिनीहरूलाई केले मदत गर्नेछ?

कुलपिता नूह तिनको समयको संसारको अन्ततिर बाँचिरहेका थिए। तर यहोवाले “नूहलाई अनि अरू सात जनालाई भक्‍तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो।” (२ पत्रु. २:५) नूहसित जलप्रलयबाट बच्न आफ्नो परिवारलाई मदत गर्ने जिम्मेवारी थियो। यी आखिरी समयमा ख्रीष्टियन परिवारका शिरहरूसित पनि यस्तै जिम्मेवारी छ। (मत्ती २४:३७) त्यसोभए “असल गोठालो”-को उदाहरण अध्ययन गर्नु र उहाँको अनुकरण गर्ने प्रयास गर्नु कत्ति महत्त्वपूर्ण छ!

पत्नी हो—‘आफ्नो घरपरिवार निर्माण गर्नुहोस्‌’

१०. पतिको अधीनमा बस्नुको मतलब पत्नीको लागि के हो?

१० प्रेषित पावलले लेखे: “ख्रीष्टको अधीनमा बसेजस्तै पत्नीहरू आ-आफ्नो पतिको अधीनमा बसून्‌।” (एफि. ५:२२) यस भनाइले स्त्रीहरूको ओहदा अमर्यादित छ भनेर बुझाउन खोजेको पटक्कै होइन। पहिलो स्त्री हव्वा सृष्टि गर्नुअघि साँचो परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” (उत्प. २:१८) पतिले पारिवारिक जिम्मेवारीहरूको हेरविचार गर्दा पत्नीले निर्वाह गर्ने “सहयोगी” अर्थात्‌ सहायकको भूमिका निश्‍चय नै सम्मानजनक छ।

११. उदाहरणीय पत्नीले कसरी ‘आफ्नो घरपरिवार निर्माण गर्छिन्‌’?

११ उदाहरणीय पत्नीले आफ्नो घरपरिवारको भलाइ हुने काम गर्छिन्‌। ( हितोपदेश १४:१ पढ्‌नुहोस्‌) शिरत्वको प्रबन्धलाई अनादर गर्ने निर्बुद्धि स्त्रीको विपरीत बुद्धिमान्‌ स्त्रीले यस प्रबन्धको गहिरो आदर गर्छिन्‌। यस संसारलाई चिनाउने अनाज्ञाकारी र स्वतन्त्र मनोभाव देखाउनुको सट्टा तिनी आफ्नो पतिको अधीनमा बस्छिन्‌। (एफि. २:२) निर्बुद्धि पत्नी आफ्नो पतिको नराम्रो कुरा बोल्न हिचकिचाउँदिनन्‌। तर बुद्धिमान्‌ स्त्री भने आफ्नो पतिप्रति छोराछोरी र अरूको आदर बढाउने प्रयास गर्छिन्‌। यस्तो पत्नी आफ्नो पतिसित गनगन गरेर वा तर्कवितर्क गरेर पतिको शिरत्वप्रति अनादर नदेखाउन होसियार हुन्छिन्‌। तिनी मितव्ययी पनि हुन्छिन्‌। निर्बुद्धि स्त्रीले परिवारले कठिनसित आर्जन गरेको स्रोतसाधन खेर फाल्ने सम्भावना हुन्छ। तर सहयोगी पत्नी त्यस्तो हुँदिनन्‌। आर्थिक मामिलामा तिनी आफ्नो पतिलाई सहयोग गर्छिन्‌। तिनी सोचविचार गरेर अनि मितव्ययी भएर काम गर्छिन्‌। तिनी आफ्नो पतिलाई ओभरटाइम गर्ने दबाब दिंदिनन्‌।

१२. परिवारलाई ‘जागा बस्ने’ मदत गर्न पत्नीले के गर्न सक्छिन्‌?

१२ उदाहरणीय पत्नीले छोराछोरीलाई यहोवाबारे सिकाउन आफ्नो पतिलाई मदत गरेर परिवारलाई ‘जागा बस्न’ मदत गर्छिन्‌। (हितो. १:८) तिनी पारिवारिक उपासनाको कार्यक्रमलाई सक्रिय भई समर्थन गर्छिन्‌। साथै, पतिले छोराछोरीलाई सल्लाह र अनुशासन दिंदा तिनी पतिलाई साथ दिन्छिन्‌। तिनी पतिलाई सहयोग नगर्ने पत्नीभन्दा असाध्यै भिन्‍न हुन्छिन्‌ किनभने त्यस्तो स्त्रीका छोराछोरीले शारीरिक तवरमा र परमेश्‍वरसितको सम्बन्धमा क्षति भोग्छन्‌।

१३. पतिले ईश्‍वरतान्त्रिक क्रियाकलापमा सक्रिय भई भाग लिंदा पत्नीले आफ्नो पतिलाई साथ दिनु किन महत्त्वपूर्ण छ?

१३ पतिले ख्रीष्टियन मण्डलीमा सक्रिय भूमिका निर्वाह गरेको देख्दा सहयोगी पत्नीले कस्तो महसुस गर्छिन्‌? हो, तिनी आनन्दित हुन्छिन्‌! तिनका पति सहायक सेवक, एल्डर वा अस्पताल सम्पर्क समिति वा क्षेत्रीय निर्माण समितिका सदस्य जेसुकै भए पनि उनले पाएको सुअवसरप्रति तिनी खुसी हुन्छिन्‌। बोली र व्यवहार दुवैद्वारा पतिलाई सक्रिय साथ दिने पत्नीले निश्‍चय नै त्यागहरू गर्नुपर्ने हुन्छ। तर तिनलाई थाह छ, पति ईश्‍वरतान्त्रिक क्रियाकलापमा व्यस्त हुँदा सम्पूर्ण परिवारले जागा बस्ने मदत पाउँछन्‌।

१४. (क) कस्तो अवस्था सहयोगी पत्नीको लागि चुनौतीपूर्ण हुन सक्छ र तिनले यो चुनौतीको सामना कसरी गर्न सक्छिन्‌? (ख) सम्पूर्ण परिवारको हितको लागि पत्नीले कसरी योगदान पुऱ्‍याउँछिन्‌?

१४ पतिको निर्णयमा आफू सहमत हुन नसक्दा सहयोगीको भूमिका निर्वाह गर्ने सन्दर्भमा उदाहरणीय हुनु पत्नीको लागि चुनौतीपूर्ण हुन सक्छ। तैपनि तिनी “शान्त अनि नम्र मनोभाव” देखाउँछिन्‌ र पतिले गरेको निर्णयलाई साथ दिन्छिन्‌। (१ पत्रु. ३:४) असल पत्नीले सारा, रूथ, अबिगेल र येशूकी आमा मरियमजस्ता विगतका ईश्‍वरभीरु स्त्रीहरूको राम्रो उदाहरण पछ्याउन कोसिस गर्छिन्‌। (१ पत्रु. ३:५, ६) तिनी ‘भक्‍तहरूलाई सुहाउने आचरण’ भएका वर्तमान समयका वृद्ध स्त्रीहरूको पनि अनुकरण गर्छिन्‌। (ती. २:३, ४) पतिलाई प्रेम र आदर देखाएर उदाहरणीय पत्नीले आफ्नो वैवाहिक जीवन सफल बनाउन अनि सम्पूर्ण परिवारको हितको लागि ठूलो योगदान पुऱ्‍याउँछिन्‌। तिनको घरमा सान्त्वना र सुरक्षा छाउँछ। परमेश्‍वरसितको सम्बन्धलाई मोल गर्ने पुरुषको लागि सहयोगी पत्नी अमूल्य हुन्छिन्‌!—हितो. १८:२२.

युवा हो—‘आफ्नो नजर नदेखिने कुराहरूमा राख्नुहोस्‌’

१५. आफ्नो परिवारलाई ‘जागा बस्ने’ मदत दिन युवाहरूले आफ्ना आमाबाबुलाई कसरी सहयोग गर्न सक्छन्‌?

१५ आफ्नो परिवारलाई ‘जागा बस्ने’ मदत दिन तपाईं युवाहरूले आफ्ना आमाबाबुलाई कसरी सहयोग गर्न सक्नुहुन्छ? यहोवाले तपाईंको अगाडि राखिदिनुभएको इनामलाई विचार गर्नुहोस्‌। सायद तपाईं सानै छँदादेखि तपाईंका आमाबाबुले तपाईंलाई प्रमोदवनमा जीवन कस्तो हुनेछ भनी बुझाउने चित्रहरू देखाए होलान्‌। तपाईं हुर्कंदै जाँदा, नयाँ संसारमा पाइने अनन्त जीवन कस्तो हुनेछ भनी कल्पना गर्न तपाईंलाई मदत गर्न तिनीहरूले बाइबल र ख्रीष्टियन प्रकाशनहरू चलाए होलान्‌। यहोवाको सेवामा आफ्नो नजर केन्द्रित गर्दा र त्यसैअनुरूप जीवन बिताउने योजना बनाउँदा तपाईंले ‘जागा बस्ने’ मदत पाउनुहुनेछ।

१६, १७. सफलता साथ जीवनको दौड दौडन युवाहरूले के गर्न सक्छन्‌?

१६ पहिलो कोरिन्थी ९:२४ मा पाइने प्रेषित पावलका शब्दहरूलाई मनमा राख्नुहोस्‌। पढ्‌नुहोस्‌) जित्ने लक्ष्य राखेर जीवनको दौड दौडनुहोस्‌। अनन्त जीवनको इनाम पाउन सकिने मार्ग रोज्नुहोस्‌। थुप्रै युवा भौतिक कुराहरूको पछि लागेर इनाममा नजर राख्नदेखि अलमलिएका छन्‌। त्यो कस्तो मूर्ख कुरा हो! धन-दौलत प्राप्त गर्ने योजना बनाएर त्यसैअनुसार जीवन बिताउँदा साँचो आनन्द पाउन सकिंदैन। पैसाले किन्‍न सकिने कुराहरू क्षणिक हुन्‌। तर तपाईंचाहिं “नदेखिने कुराहरूमा” आफ्नो नजर लगाउनुहोस्‌। किन? किनभने “नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌।”—२ कोरि. ४:१८.

१७ “नदेखिने कुराहरू”-मा राज्य आशिष्‌हरू पनि पर्छन्‌। ती आशिष्‌ पाउने हिसाबले जीवन बिताउने योजना मिलाउनुहोस्‌। यहोवाको सेवामा आफ्नो जीवन प्रयोग गर्दा साँचो आनन्द प्राप्त हुन्छ। साँचो परमेश्‍वरको सेवा गर्दा छोटो समयमा हासिल हुने लक्ष्यका साथै लामो समयमा प्राप्त गर्न सकिने लक्ष्यतर्फ अघि बढ्‌ने मौका मिल्छ। a परमेश्‍वरको सेवासँग सम्बन्धित व्यावहारिक लक्ष्य राख्दा तपाईं अनन्त जीवनको इनाम पाउने आशा राख्दै उहाँको सेवामा केन्द्रित भइरहन सक्नुहुन्छ।—१ यूह. २:१७.

१८, १९. कुनै युवाले सत्यलाई आफ्नो बनाएको/नबनाएको कसरी पक्का गर्न सक्छ?

१८ युवाहरू हो, जीवनको मार्गमा हिंड्‌न चाल्नुपर्ने पहिलो कदम सत्यलाई आफ्नो बनाउनु हो। के तपाईंले यो कदम चालिसक्नुभयो? आफैलाई सोध्नुहोस्‌: ‘के म परमेश्‍वरसितको सम्बन्धलाई मोल गर्ने व्यक्‍ति हुँ वा आमाबाबुको कारण परमेश्‍वरको सेवासँग सम्बन्धित क्रियाकलापमा भाग लिन्छु? के म परमेश्‍वरले मन पराउने खालका गुणहरू खेती गर्छु? के म नियमित रूपमा प्रार्थना गर्ने, अध्ययन गर्ने, सभामा उपस्थित हुने र क्षेत्र सेवामा भाग लिने जस्ता साँचो उपासनासित सम्बन्धित क्रियाकलापहरूको लागि आफ्नो तालिकाअनुसारै चल्ने कोसिस गर्छु? के म परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँसेर उहाँसित नजिक भइरहेको छु?’—याकू. ४:८.

१९ मोशाको उदाहरण विचार गर्नुहोस्‌। विदेशी संस्कृतिमा भिज्नु परे तापनि मोशाले आफूलाई फारोकी छोरीको छोराको रूपमा चिनाउनुभन्दा यहोवाको उपासकको रूपमा चिनाउने छनौट गरे। ( हिब्रू ११:२४-२७ पढ्‌नुहोस्‌) ख्रीष्टियन युवा हो, विश्‍वासी भई यहोवाको सेवा गर्ने सङ्‌कल्प तपाईंसित पनि हुनुपर्छ। यसो गरेमा तपाईंले अहिले साँचो आनन्द अर्थात्‌ सर्वोत्तम जीवन पाउनुहुनेछ। साथै ‘साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्ने’ आशा पनि पाउनुहुनेछ।—१ तिमो. ६:१९.

२०. जीवनको दौडमा कसले इनाम पाउँछन्‌?

२० प्राचीन समयका खेलहरूमा एक जना धावकले मात्र दौड जित्थ्यो। तर जीवनको दौड भने त्यस्तो होइन। “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌” भनी परमेश्‍वर चाहनुहुन्छ। (१ तिमो. २:३, ४) थुप्रै मानिस तपाईंभन्दा अघि सफलता साथ दौडिसकेका छन्‌ अनि अरू थुप्रैचाहिं तपाईंसँगसँगै दौडिरहेका छन्‌। (हिब्रू १२:१, २) हरेस नखाने सबैले इनाम पाउनेछन्‌। त्यसैले जित्नको लागि कटिबद्ध हुनुहोस्‌!

२१. यसपछिको लेखमा के छलफल गरिनेछ?

२१ “परमप्रभुको त्यो महा र डरलाग्दो दिन” पक्कै आउनेछ। (मला. ४:५) ख्रीष्टियन परिवारहरू जागा नरहेको समयमा त्यस दिनले फेला नपारोस्‌! परिवारका सबैले आ-आफ्नो धर्मशास्त्रीय जिम्मेवारी वहन गर्नु अत्यावश्‍यक छ। चनाखो रहिरहन र परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई बलियो बनाउन तपाईं अरू के गर्न सक्नुहुन्छ? परिवारका प्रत्येक सदस्यको परमेश्‍वरसितको सम्बन्धलाई असर गर्ने तीन वटा तत्त्वबारे यसपछिको लेखमा छलफल गरिनेछ।

[फुटनोट]

तपाईंले के सिक्नुभयो?

• ख्रीष्टियन परिवारहरू ‘जागा बस्नु’ किन महत्त्वपूर्ण छ?

• पतिले कसरी असल गोठालोको अनुकरण गर्न सक्छन्‌?

• उदाहरणीय पत्नीले आफ्नो पतिलाई कसरी सहयोग गर्न सक्छिन्‌?

• आफ्नो परिवारलाई जागा बस्ने मदत दिन छोराछोरीले के गर्न सक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

परमेश्‍वरसितको सम्बन्धलाई मोल गर्ने पुरुषको लागि सहयोगी पत्नी अमूल्य हुन्छिन्‌