सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन परिवार हो—‘तयार रहनुहोस्‌’

ख्रीष्टियन परिवार हो—‘तयार रहनुहोस्‌’

ख्रीष्टियन परिवार हो—‘तयार रहनुहोस्‌’

“तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउँदैछ।”—लूका १२:४०.

१, २. ‘तयार रहन’ येशूले दिएको सल्लाह पालन गर्नु किन आवश्‍यक छ?

 “जब मानिसको छोरा आफ्नो गौरवसहित . . . आउँछ” र “मानिसहरूलाई छुट्ट्याउनेछ”, त्यसबेला तपाईं र तपाईंको परिवारलाई के हुनेछ? (मत्ती २५:३१, ३२) यो दिन हामीले सोचेको समयमा नआउने भएकोले ‘तयार रहन’ येशूले दिएको सल्लाह पालन गर्नु कत्ति आवश्‍यक छ!—लूका १२:४०.

परिवारका प्रत्येक सदस्यले आ-आफ्नो जिम्मेवारीलाई गम्भीरता साथ लिएर परिवारका सबैलाई जागा बस्न कसरी मदत गर्न सक्छन्‌ भनेर यसअघिको लेखमा छलफल गऱ्‍यौं। आउनुहोस्‌, आफ्नो परिवारको परमेश्‍वरसितको सम्बन्ध बढाउन हामीले चाल्न सक्ने थप कदमहरू विचार गरौं।

आफ्नो आँखा “निर्मल” राख्नुहोस्‌

३, ४. (क) ख्रीष्टियन परिवारहरूले आफूलाई केबाट जोगाउनुपर्छ? (ख) आँखा “निर्मल” राख्नुको अर्थ के हो?

ख्रीष्ट आउने दिनको लागि तयारी अवस्थामा रहन परिवारहरू साँचो उपासनासँग सम्बन्धित क्रियाकलापहरूबाट अलमलिएर अरू कुरामा लाग्नदेखि होसियार हुनै पर्छ। अलमल्याउने कुराहरूदेखि तिनीहरू जोगिनै पर्छ। थुप्रै परिवारलाई पासोमा पारेको एउटा धराप भौतिकवाद भएकोले आँखा “निर्मल” राख्ने विषयमा येशूले के भन्‍नुभयो विचार गर्नुहोस्‌। ( मत्ती ६:२२, २३ पढ्‌नुहोस्‌) जसरी बत्तीले बाटोलाई उज्यालो बनाउँछ र नलडिकन हिंड्‌न मदत गर्छ, त्यसरी नै प्रतीकात्मक ‘मनको आँखाद्वारा’ हामीले लिएको कुराले हामीलाई उज्यालो दिन सक्छ अर्थात्‌ ठेस नखाइकन अघि बढ्‌न मदत गर्न सक्छ।—एफि. १:१८.

साँच्चैको आँखाले स्पष्टसित देख्ने हो भने यसले राम्रोसित काम गर्न र हेरिरहेको कुरामा केन्द्रित गर्न सक्नै पर्छ। मनको आँखाबारे पनि त्यसै भन्‍न सकिन्छ। प्रतीकात्मक अर्थमा निर्मल आँखा हुनु भनेको एउटै कुरामा केन्द्रित हुनु हो। भौतिक चीजबीजको पछि लाग्नमा जीवन केन्द्रित गर्नु अनि परिवारको भौतिक आवश्‍यकता पूरा गर्न अचाक्ली चिन्ता गर्नुको सट्टा हामी परमेश्‍वरको सेवासँग सम्बन्धित गतिविधिमा आफ्नो नजर केन्द्रित गर्छौं। (मत्ती ६:३३) यसको मतलब आफूसित भएका भौतिक कुराहरूमा हामी सन्तुष्ट हुन्छौं र परमेश्‍वरको सेवालाई जीवनमा पहिलो स्थान दिन्छौं।—हिब्रू १३:५.

५. एउटी किशोरीले आफ्नो “आँखा” परमेश्‍वरको सेवामा केन्द्रित भएको कुरा कसरी देखाइन्‌?

छोराछोरीलाई आँखा निर्मल राख्न प्रशिक्षण दिंदा कस्तो असल नतिजा निस्कन सक्छ! इथियोपियाकी एक किशोरीको उदाहरण विचार गर्नुहोस्‌। तिनको पढाइ असाध्यै राम्रो भएकोले स्कूलको पढाइ सिद्धिसकेपछि तिनलाई थप शिक्षाको लागि छात्रवृत्तिको मौका दिइयो। यहोवाको सेवामा आफ्नो आँखा केन्द्रित गरेकीले तिनले छात्रवृत्ति अस्वीकार गरिन्‌। त्यसको लगत्तै तिनीकहाँ मासिक ३,००० युरो (लगभग ३,२५,००० रूपैयाँ) पाउने जागिरको प्रस्ताव आयो। यो रकम त्यस देशको औसत तलबको तुलनामा अत्यधिक थियो। तर यी किशोरीको “आँखा” अग्रगामी सेवामा केन्द्रित थियो। त्यस जागिरलाई अस्वीकार गर्न तिनले आमाबाबुसित सल्लाह नै गर्नुपरेन। छोरीले गरेको कुरा थाह पाएपछि तिनका आमाबाबुले कस्तो महसुस गरे? हो, तिनीहरू छोरीसँगसँगै आनन्दित भए र छोरी देखेर आफूहरूलाई गर्व लागेको कुरा बताए!

६, ७. कस्तो खतराप्रति हामीले ‘आफ्नो आँखा खुला राख्नुपर्छ’?

मत्ती ६:२२, २३ मा उल्लिखित येशूका शब्दहरूमा लुकेको कुरा लोभबारे चेतावनी हो। “निर्मल” भन्‍ने शब्दलाई येशूले यसको विपरीत अर्थ दिने शब्दसित दाँज्नु भएन तर “दुष्ट” भन्‍ने शब्द प्रयोग गर्नुभयो। ‘दुष्ट आँखा’ भनेको “खराब; ईर्ष्यालु” अर्थात्‌ लालची वा लोभी आँखा हो। लालच वा लोभप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ? बाइबल भन्छ: “तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌।”—एफि. ५:३.

अरू लोभी भएको याद गर्न सजिलो भए तापनि आफू लोभी भएको थाह पाउनचाहिं सजिलो हुँदैन। त्यसैले येशूको यो सल्लाह पालन गर्नु बुद्धिमानी हो: “तिमीहरूको आँखा खुला राख र हर प्रकारको लालचबाट आफूलाई जोगाओ।” (लूका १२:१५) यसको लागि हामीले आफ्नो मन कस्ता कुराले भरेका छौं भनेर आफैलाई जाँच्नु आवश्‍यक पर्छ। मनोरञ्जन, सोख र भौतिक चीजबीज थुपार्न खर्च गर्ने समय र पैसालाई ख्रीष्टियन परिवारले गम्भीरता साथ विचार गर्नुपर्छ।

८. किनमेल गर्ने सन्दर्भमा हामी कसरी ‘आफ्नो आँखा खुला राख्न’ सक्छौं?

किनमेल गर्नुमा कुनै सामान किन्‍न पैसा पुग्छ कि पुग्दैन भनेर विचार गर्नु मात्र समावेश छैन। यस्ता कुराहरूलाई पनि विचार गर्नुहोस्‌: ‘के मसित यस सामानलाई नियमित रूपमा चलाउन र यसलाई ठीक अवस्थामा राख्न चाहिने समय हुनेछ? यसलाई ठीक तरिकाले चलाउन सिक्न मलाई कति समय लाग्नेछ?’ युवा हो, उपभोग्य सर-सामानबारे संसारले प्रस्तुत गर्ने सबै विज्ञापनमा विश्‍वास गरेर महँगा ब्रान्डको लुगाफाटा वा अन्य सर-सामानको अव्यावहारिक माग नगर्नुहोस्‌। संयम खेती गर्न अभ्यास गर्नुहोस्‌। कुनै कुरा हासिल गर्दा त्यसले तपाईंको परिवारलाई मानिसको छोरा आउँदा तयार रहने सन्दर्भमा कस्तो असर पार्नेछ, त्यसबारे पनि सोच्नुहोस्‌। यहोवाको यस प्रतिज्ञामा विश्‍वास गर्नुहोस्‌: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।”—हिब्रू १३:५.

परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्यको पछि लाग्नुहोस्‌

९. परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्यको पछि लाग्दा परिवारलाई के हुन सक्छ?

परिवारका सदस्यहरूले आफ्नो विश्‍वास बलियो पार्न र प्रत्येक सदस्यको परमेश्‍वरसितको सम्बन्धलाई बढाउन तिनीहरूले परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्यहरू राख्नुपर्छ र तिनको पछि लाग्नुपर्छ। यसो गर्दा तिनीहरूले यहोवालाई खुसी पार्ने आफ्नो लक्ष्यमा कत्तिको उन्‍नति गर्दैछौं भनेर ठम्याउन अनि सबैभन्दा महत्त्वपूर्ण क्रियाकलाप कुन हो भनेर निर्णय गर्न सक्छन्‌।फिलिप्पी १:१० पढ्‌नुहोस्‌।

१०, ११. परिवारको रूपमा तपाईं परमेश्‍वरको सेवासित सम्बन्धित कस्ता लक्ष्यको पछि लाग्दै हुनुहुन्छ र भविष्यको लागि तपाईं कस्तो लक्ष्य राख्न चाहनुहुन्छ?

१० परिवारका प्रायः सबै सदस्यले हासिल गर्न सक्ने स-साना व्यावहारिक लक्ष्य राख्दासमेत ठूलो लाभ प्राप्त गर्न सकिन्छ। उदाहरणको लागि, प्रत्येक दिनको शास्त्रपद दिनहुँ छलफल गर्ने लक्ष्यलाई लिनुहोस्‌। परिवारका सदस्यहरूले गरेका टिप्पणीले परिवारको शिरलाई यहोवाप्रति तिनीहरूको प्रेम बुझ्न मदत गर्न सक्छ। स-परिवार मिलेर नियमित रूपमा बाइबल पढ्‌ने लक्ष्य राख्दा साना छोराछोरीले आफ्नो पढ्‌ने क्षमतामा उन्‍नति ल्याउन सक्छन्‌ भने बाइबल सन्देशको समझलाई पनि बढाउन सक्छन्‌। (भज. १:१, २) अनि के हामीले प्रार्थनाको स्तरमा उन्‍नति गर्ने लक्ष्य राख्नु पर्दैन र? पवित्र शक्‍तिको फलको पक्षहरूलाई अझ धेरै मात्रामा खेती गर्नु पनि हामीले राख्न सक्ने उत्तम लक्ष्य हो। (गला. ५:२२, २३) अथवा प्रचारकार्यमा भेट्‌ने मानिसहरूप्रति सँगी भाव देखाउने तरिकाहरू पनि खोज्न सक्छौं कि? परिवारकै रूपमा यसो गर्ने प्रयास गर्दा छोराछोरीले कोमल हुन सिक्नेछन्‌ र तिनीहरूमा नियमित अग्रगामी वा मिसनरीको रूपमा सेवा गर्ने इच्छा अझ प्रबल हुन सक्छ।

११ तपाईं र तपाईंको परिवारले पछ्याउन सक्ने केही लक्ष्यबारे विचार गर्नुभए कसो होला? के तपाईंको परिवारले प्रचारकार्यमा अझ धेरै समय बिताउने लक्ष्य राख्न सक्छ? टेलिफोन साक्षी दिंदा, सडकमा वा व्यापारिक स्थलहरूमा साक्षी दिंदा महसुस हुने डरलाई जित्ने लक्ष्य राख्न सक्नुहुन्छ कि? राज्य प्रकाशकहरूको धेरै आवश्‍यकता भएको ठाउँमा गएर प्रचार गर्ने कि? अरू देशका मानिसहरूलाई सुसमाचार सुनाउन परिवारको कुनै एक सदस्यले नयाँ भाषा सिक्न सक्छन्‌ कि?

१२. आफ्नो परिवारलाई उन्‍नति गर्ने मदत दिन परिवारका शिरहरूले के गर्न सक्छन्‌?

१२ तपाईं परिवारको शिर हुनुभएकोले आफ्नो परिवारले कुन-कुन क्षेत्रमा उन्‍नति गर्न सक्छ, सो पत्ता लगाउनुहोस्‌। त्यसपछि त्यो उद्देश्‍य हासिल गर्न खास लक्ष्यहरू राख्नुहोस्‌। परिवारको रूपमा राख्नुभएका लक्ष्यहरू व्यावहारिक अनि आफ्नो अवस्था र क्षमताले भ्याउने हुनुपर्छ। (हितो. १३:१२) अर्थपूर्ण लक्ष्य हासिल गर्न निश्‍चय नै समय चाहिन्छ। त्यसैले टेलिभिजन हेर्न बिताउने समयलाई परमेश्‍वरको सेवासित सम्बन्धित कुराको पछि लाग्नमा सदुपयोग गर्नुहोस्‌। (एफि. ५:१५, १६) तपाईंले आफ्नो परिवारको लागि राख्नुभएको लक्ष्य हासिल गर्न कडा परिश्रम गर्नुहोस्‌। (गला. ६:९) परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्यहरूको पछि लाग्ने परिवारले आफ्नो प्रगति “सबै मानिसहरूसामु प्रकट” गर्नेछ।—१ तिमो. ४:१५.

साँझको पारिवारिक उपासना कायम राख्नुहोस्‌

१३. मण्डलीका सभाहरूको साप्ताहिक तालिकामा कस्तो परिवर्तन भयो र हामीले कस्ता प्रश्‍नहरूलाई विचार गर्नुपर्छ?

१३ मानिसको छोरा आउँदा परिवारलाई ‘तयार रहन’ मदत गर्ने एउटा अत्यन्तै उपयोगी प्रबन्ध जनवरी १, २००९ देखि लागू भएको साप्ताहिक सभाहरूको तालिकामा भएको उल्लेखनीय परिवर्तन हो। पहिले मण्डली पुस्तक अध्ययन भनिने सभाको लागि छुट्टै एक दिन भेला हुनुपर्थ्यो। तर यो सभालाई अहिले ईश्‍वरतान्त्रिक सेवा स्कूल र सेवा सभासँगै गाभेर सञ्चालन गरिन्छ। ख्रीष्टियन परिवारहरूले पारिवारिक उपासनाको लागि प्रत्येक हप्ता कुनै एक साँझ छुट्याएर परमेश्‍वरसितको सम्बन्धमा उन्‍नति ल्याउन सकून्‌ भनेर यस्तो छाँटकाँट गरिएको थियो। त्यो परिवर्तन भएको केही समय बितिसकेकोले हामी आफैलाई सोध्न सक्छौं: ‘त्यस समयलाई के म साँझको पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययन गर्नको लागि प्रयोग गर्दैछु? के म त्यो प्रबन्ध जुन उद्देश्‍यले गरिएको थियो, त्यो हासिल गर्न सफल भएको छु?’

१४. (क) पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनको लागि कुनै एक साँझ छुट्याएर त्यसलाई कायम राख्नुको मुख्य उद्देश्‍य के हो? (ख) अध्ययन गर्न एक साँझ छुट्याउनु किन अत्यावश्‍यक छ?

१४ साँझको पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनलाई कायम राख्नुको मुख्य उद्देश्‍य परमेश्‍वरसित नजिक हुनु हो। (याकू. ४:८) नियमित रूपमा बाइबल अध्ययन गर्न समय बिताउँदा र सृष्टिकर्ताको ज्ञानमा बढ्‌दै जाँदा उहाँसितको हाम्रो सम्बन्ध बलियो हुन्छ। यहोवासित हामी जति धेरै नजिक हुन्छौं, उहाँलाई “आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम” गर्ने उत्प्रेरणा उत्ति नै बढ्‌छ। (मर्कू. १२:३०) हो, हामी परमेश्‍वरको आज्ञा मान्‍न र उहाँको देखासिकी गर्न उत्सुक छौं। (एफि. ५:१) त्यसैले भविष्यवाणी गरिएको “महासङ्‌कष्ट” कुर्दै गर्दा परिवारका सबैलाई ‘तयार रहने’ मदत दिनको लागि नियमित तवरमा साँझको पारिवारिक उपासना गर्नु अत्यावश्‍यक छ। (मत्ती २४:२१) बच्नको लागि यो अपरिहार्य छ।

१५. परिवारका सदस्यहरूको आपसी सम्बन्धमा साँझको पारिवारिक उपासनाले कस्तो असर पार्न सक्छ?

१५ पारिवारिक उपासनाको प्रबन्ध मिलाउनुको अर्को उद्देश्‍य पनि छ। त्यो हो, परिवारका सदस्यहरूलाई आपसमा नजिक हुन मदत गर्ने। परमेश्‍वरसित सम्बन्धित विषयबारे सँगै छलफल गर्न प्रत्येक हप्ता समय बिताउँदा परिवारका सदस्यहरूबीचको सम्बन्ध एकदमै राम्रो हुन्छ। बाइबलबाट सँगै सिक्दा पाएको आनन्द व्यक्‍त गरेको सुन्दा विवाहित जोडीहरू आपसमा झन्‌ नजिक हुन्छन्‌। ( उपदेशक ४:१२ पढ्‌नुहोस्‌) सँगै मिलेर उपासना गर्ने आमाबाबु र छोराछोरीहरू “मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन” अर्थात्‌ प्रेममा एकताबद्ध हुने सम्भावना धेरै हुन्छ।—कल. ३:१४.

१६. तीन जना ख्रीष्टियन बहिनीले बाइबल अध्ययन गर्नको लागि कुनै एक साँझ छुट्याउँदा कसरी लाभ उठाइरहेका छन्‌, बताउनुहोस्‌।

१६ बाइबल अध्ययनको लागि एउटा साँझ छुट्याउँदा तीन जना ख्रीष्टियन बहिनीले कसरी लाभ उठाएका छन्‌, विचार गर्नुहोस्‌। तिनीहरू आपसमा नाता त पर्दैनन्‌ तर यी तीनै जना पाका विधवा एउटै सहरमा बस्छन्‌ र तिनीहरू असल साथी बनेको वर्षौं भइसक्यो। एक-अर्कासँग अझ धेरै सङ्‌गत गर्न चाहे तापनि त्यो सामाजिक जमघट मात्र नहोस्‌ तर परमेश्‍वरसित नजिक हुन सकियोस्‌ भनेर तिनीहरूले बाइबल अध्ययन गर्नको लागि कुनै एक साँझ छुट्याउने निर्णय गरे। परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिने (अङ्‌ग्रेजी) पुस्तक चलाएर तिनीहरूले यसको सुरुवात गरे। तिनीहरूमध्ये एक जना यसो भन्छिन्‌, “अध्ययन गर्न बिताएको समय हामीलाई असाध्यै रमाइलो लाग्छ। त्यसैले साधारणतया हाम्रो अध्ययन एक घण्टाभन्दा लामो हुन्छ। प्रथम शताब्दीका हाम्रा भाइबहिनीहरू कस्तो अवस्थामा थिए होलान्‌ भनी कल्पना गर्ने प्रयास गर्छौं अनि त्यस्तो अवस्थामा आफू भएको भए के गर्थ्यौं होला भनेर छलफल गर्छौं। अनि छलफलबाट सिकेका कुराहरू प्रचारकार्यमा लागू गर्ने प्रयास गर्छौं। यसले राज्य-प्रचार गर्ने र चेला बनाउने हाम्रो कामलाई अझ धेरै आनन्ददायी र फलदायी बनाएको छ।” यस प्रबन्धले परमेश्‍वरसितको तिनीहरूको सम्बन्धमा उन्‍नति ल्याउनुको अलावा यी तीन जना असल साथीलाई अझ घनिष्ठ बनाएको छ। तिनीहरू भन्छन्‌, “हामी यस प्रबन्धको मोल गर्छौं।”

१७. साँझको पारिवारिक उपासनालाई सफल बनाउने कुराहरू के हुन्‌?

१७ तपाईं नि? पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनको लागि छुट्याइएको साँझबाट तपाईंले कस्तो लाभ उठाइरहनुभएको छ? आकलझुकल मात्र गरेमा यस प्रबन्धबाट तपाईंले पूरा लाभ उठाउन सक्नुहुन्‍न। तोकिएकै समयमा अध्ययन गर्न परिवारका प्रत्येक सदस्य तयार हुनुपर्छ। स-साना कुराले यस साँझलाई बाधा पार्न दिनु हुँदैन। अझ महत्त्वपूर्ण कुरा, परिवारको लागि व्यावहारिक विषयवस्तु छान्‍नुपर्छ। अध्ययनलाई रमाइलो बनाउन तपाईं के गर्न सक्नुहुन्छ? प्रभावकारी शिक्षण विधिहरू लागू गर्नुहोस्‌ र वातावरणलाई आदरपूर्ण र शान्तिपूर्ण बनाउनुहोस्‌।—याकू. ३:१८ a

‘जागा बस्नुहोस्‌’ र ‘तयार रहनुहोस्‌’

१८, १९. मानिसको छोरा आउने समय नजिकै छ भनी थाह पाउँदा तपाईं र तपाईंको परिवारलाई कस्तो असर पार्नुपर्ने हो?

१८ अहिले हामी बाँचिरहेको समयको चिनारी यस संसारको खस्कँदो अवस्था हो। यसले सन्‌ १९१४ देखि सैतानको दुष्ट संसार आखिरी दिनमा प्रवेश गरेको छ भन्‍ने स्पष्ट प्रमाण दिन्छ। आरमागेडोनको कालो बादल मडारिंदैछ। मानिसको छोराले दुष्ट मानिसहरूमाथि यहोवाको न्याय कार्यान्वयन गर्ने समय चाँडै आउँदैछ। (भज. ३७:१०; हितो. २:२१, २२) यो कुराको ज्ञानले तपाईं र तपाईंको परिवारलाई असर पार्नुपर्ने होइन र?

१९ के तपाईं आँखा “निर्मल” राख्न येशूले दिनुभएको सल्लाह पालन गर्दै हुनुहुन्छ? यस संसारका मानिसहरू धन-दौलत, प्रतिष्ठा वा शक्‍तिको दौडधूपमा लागे पनि के तपाईंको परिवार परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्यहरूको पछि लागिरहेको छ? साँझको पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनको प्रबन्धबाट के तपाईं लाभ उठाउँदै हुनुहुन्छ? जुन उद्देश्‍यले यो प्रबन्ध गरिएको थियो, के तपाईं त्यसलाई हासिल गर्दै हुनुहुन्छ? यसअघिको लेखमा छलफल गरिएझैं पति, पत्नी वा छोराछोरीको रूपमा के तपाईंले आफ्नो धर्मशास्त्रीय जिम्मेवारीलाई वहन गर्दै सम्पूर्ण परिवारलाई ‘जागा बस्न’ मदत गरिरहनुभएको छ? (१ थिस्स. ५:६) छ भने मानिसको छोरा आउने समयको लागि तपाईं ‘तयार रहनुहुनेछ।’

[फुटनोट]

a साँझको पारिवारिक उपासनामा के अध्ययन गर्ने अनि यसलाई कसरी व्यावहारिक र रमाइलो बनाउने भनी जान्‍न हाम्रो राज्य सेवा, जनवरी २०११, पृष्ठ ३-६ हेर्नुहोस्‌।

तपाईंले के सिक्नुभयो?

• ख्रीष्टियन परिवारहरू निम्न कुराहरू गरेर कसरी तयार रहन सक्छन्‌, बताउनुहोस्‌:

आँखा “निर्मल” राखेर।

परमेश्‍वरको सेवासित सम्बन्धित लक्ष्य राखेर अनि त्यसको पछि लागेर।

साँझको पारिवारिक उपासनालाई कायम राखेर।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

“निर्मल” आँखाले हामीलाई संसारका अलमल्याउने कुराहरूलाई तिरस्कार गर्न उत्प्रेरित गर्नेछ