तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हो?
तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हो?
“हे यहोवा हाम्रा परमेश्वर, तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ।”—प्रका. ४:११.
१, २. आफ्नो उद्धारको लागि यहोवाको नाम थाह पाएर मात्र किन पुग्दैन?
सायद कसैले प्रकाश ४:११ पल्टाएर देखाउँदा त्यहाँ तपाईंले पहिलो चोटि यहोवाको नाम देख्नुभयो। त्यहाँ लेखिएका शब्दहरू पढ्दा तपाईं छक्क पर्नुभयो होला। अनि हाम्रा मायालु परमेश्वर यहोवाबारे जान्न अरूलाई मदत गर्नको लागि तपाईंले त्यसबेलादेखि पक्कै पनि यही पद प्रयोग गर्नुभएको छ।—रोमी १०:१२, १३.
२ हुनत मानिसहरूले यहोवाको नाम थाह पाउनु महत्त्वपूर्ण छ तर त्यति मात्र थाह पाएर पुग्दैन। यहोवा सम्पूर्ण ब्रह्माण्डको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। उहाँ सबै थोकको सृष्टिकर्ता हुनुभएकोले आफूले सृष्टि गरेका सबै जीवजीवात आफूप्रति पूर्णतया आज्ञाकारी भएको आशा गर्ने अधिकार उहाँसित छ। हाम्रो उद्धारको लागि अत्यावश्यक सत्यबारे भजनरचयिताले पनि यसो भनेका छन्: “तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भज. ८३:१८) त्यसकारण आफूलाई यो प्रश्न सोध्नु उचित हो: ‘मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हो?’ हामीले ध्यान दिएर यो प्रश्नको जवाफ केलाउनु अत्यावश्यक छ!
अदनको बगैंचामा उठेको विवाद
३, ४. हव्वालाई बहकाउन सैतान कसरी सफल भयो अनि परिणाम के भयो?
३ यो प्रश्न कत्तिको गम्भीर छ भनेर अदनको बगैंचामा भएको घटनाक्रमबाट स्पष्टसित देख्न सकिन्छ। पछि गएर सैतान अर्थात् दियाबल भनेर चिनिएको एक विद्रोही स्वर्गदूतले पहिलो स्त्री हव्वालाई कुनै एउटा रूखको फल नखानू भन्ने परमेश्वरको आज्ञा मान्नुभन्दा आफ्नै इच्छालाई पहिलो स्थान दिन लोभ्यायो। (उत्प. २:१७; २ कोरि. ११:३) उनी त्यस प्रलोभनमा फसिन् र यहोवाको सार्वभौमिकताप्रति अनादर देखाइन्। हव्वाले यहोवालाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको रूपमा मानि लिइनन्। तर हव्वालाई बहकाउन सैतान कसरी सफल भयो?
४ हव्वासित कुराकानी गर्दा सैतानले विभिन्न धूर्त चाल अपनायो। ( उत्पत्ति ३:१-५ पढ्नुहोस्) पहिलो, सैतानले यहोवाको व्यक्तिगत नाम प्रयोग गरेन। त्यसले “परमेश्वर” मात्र भन्यो। तर उत्पत्तिका लेखकले भने त्यस अध्यायको पहिलो पदमै यहोवाको व्यक्तिगत नाम प्रयोग गरे। a दोस्रो, परमेश्वरको “आज्ञा” भन्ने शब्द चलाउनुको साटो सैतानले केवल परमेश्वरले “भन्नुभएको” भन्ने शब्द चलाएर हव्वालाई प्रश्न गऱ्यो। (उत्प. २:१६) यस्तो धूर्त तरिकामा सैतानले त्यस आज्ञाको महत्त्वलाई हल्का बनाउन खोजेको हुन सक्छ। तेस्रो, त्यसले हव्वासित मात्र कुरा गरिरहेको भए तापनि “तिमी” सर्वनामको बहुवचन रूप “तिमीहरू” प्रयोग गऱ्यो। यसो गरेर त्यसले हव्वामा घमन्ड जगाएर आफैलाई महत्त्वपूर्ण ठान्न लगाउने कोसिस गरेको हुन सक्छ, मानौं उनी आफू र आफ्नो पतिको प्रवक्ता थिइन्। परिणाम के भयो? हव्वाले सर्पलाई दिएको यस्तो जवाफमा उनी अहङ्कारी हुँदै दुवैको तर्फबाट बोल्न खोजेको देखिन्छ: “बगैंचाका रूखहरूका फल हामी खानसक्छौं।”
५. (क) सैतानले हव्वालाई कुन कुरामा ध्यान केन्द्रित गर्न लगायो? (ख) त्यस निषेधित फल खाएर हव्वाले के प्रकट गरिन्?
५ सैतानले तथ्यलाई पनि बङ्ग्यायो। परमेश्वरले आदम र हव्वालाई “बगैंचाको कुनै रूखको फल नखानू” भनी आज्ञा दिनु अन्याय थियो भनी त्यसले सङ्केत गऱ्यो। त्यसपछि सैतानले हव्वालाई आफ्नै विषयमा सोच्न लगायो। अनि “परमेश्वरजस्तै” भएर आफ्नो जीवनस्तर उकास्नेबारे भ्रामक सोचाइ राख्न लगायो। अन्ततः त्यसले हव्वालाई सबै थोक दिने व्यक्तिसितको सम्बन्धमा नभई त्यो रूख र त्यसको फलमा ध्यान केन्द्रित गर्न लगायो। ( उत्पत्ति ३:६ पढ्नुहोस्) दुःखको कुरा, त्यो फल खाएर हव्वाले यहोवा आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति नभएको प्रकट गरिन्।
अय्यूबको समयमा उठेको विवाद
६. अय्यूबको सत्यनिष्ठामाथि सैतानले कस्तो चुनौती खडा गऱ्यो अनि फलस्वरूप अय्यूबलाई कस्तो मौका दिइयो?
६ शताब्दीयौंपछि, विश्वासी पुरुष अय्यूबले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हो भनी देखाउने मौका पाएका थिए। यहोवाले सैतानलाई अय्यूबको सत्यनिष्ठाबारे बताउँदा त्यसले यस्तो जवाफ फर्कायो: “परमेश्वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” ( अय्यूब १:७-१० पढ्नुहोस्) अय्यूब परमेश्वरप्रति आज्ञाकारी छन् भन्ने कुरालाई सैतानले नकारेन। बरु त्यसले अय्यूबको मनसायमाथि प्रश्न गऱ्यो। अय्यूबले प्रेमको कारण होइन तर आफ्नै स्वार्थको लागि यहोवाको सेवा गरेको हो भनेर त्यसले धूर्ततासाथ आरोप लगायो। यस आरोपको जवाफ अय्यूबले मात्र दिन सक्थे अनि तिनलाई त्यसो गर्ने मौका दिइयो।
७, ८. अय्यूबले कस्ता परीक्षाहरूको सामना गर्नुपऱ्यो अनि विश्वासी भई धैर्य गरेर तिनले के देखाए?
७ यहोवाले सैतानलाई अय्यूबमाथि एकपछि अर्को विपत्ति ल्याउने अनुमति दिनुभयो। (अय्यू. १:१२-१९) परिस्थितिले कोल्टे फेर्दा अय्यूबले कस्तो प्रतिक्रिया देखाए? विवरणमा बताइएअनुसार तिनले “पाप गरेनन्। तिनले परमेश्वरलाई अन्यायको दोष पनि लगाएनन्।” (अय्यू. १:२२) तैपनि सैतान चुप लागेर बसेन। त्यसले अझ यस्तो असन्तुष्टि व्यक्त गऱ्यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” b (अय्यू. २:४) अय्यूब आफैले दुःख भोग्नुपऱ्यो भने तिनले यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठान्नेछैनन् भनेर सैतानले आरोप लगायो।
८ घिनलाग्दो रोगले गर्दा अय्यूब कुरूप भएका थिए अनि तिनकी पत्नीले पनि परमेश्वरलाई सरापेर मर्न दबाब दिइन्। पछि, तीन झूटा सान्त्वनादाताले तिनलाई खराब आचरणमा लागेको आरोप लगाए। (अय्यू. २:११-१३; ८:२-६; २२:२, ३) तर अनेकन् दुःखकष्ट भोग्नुपर्दा समेत अय्यूबले आफ्नो सत्यनिष्ठा त्यागेनन्। ( अय्यूब २:९, १० पढ्नुहोस्) विश्वासी भई धैर्य गरेर तिनले यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठानेको देखाए। त्रुटिपूर्ण मानिसले आफ्नो क्षमताले भ्याएसम्म दियाबलका झूटा आरोपहरूको खण्डन गर्न सक्छ भनेर पनि अय्यूबले देखाए।—हितोपदेश २७:११ तुलना गर्नुहोस्।
येशूले दिएको मुखभरिको जवाफ
९. (क) व्यक्तिगत इच्छाको सन्दर्भमा सैतानले येशूलाई कसरी प्रलोभनमा पार्न खोज्यो? (ख) यस प्रलोभनप्रति येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो?
९ येशूको बप्तिस्माको अलिक समयपछि सैतानले येशूलाई आफ्नो जीवनमा यहोवालाई सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठान्नुभन्दा आफ्नै स्वार्थी इच्छाहरूको पछि लाग्ने प्रलोभनमा पार्ने कोसिस गऱ्यो। दियाबलले येशूलाई तीन वटा प्रलोभन देखायो। पहिलो, त्यसले येशूको शारीरिक इच्छा जगाउन खोज्दै ढुङ्गालाई रोटीमा परिवर्तन गर्ने प्रलोभनमा पार्न खोज्यो। (मत्ती ४:२, ३) येशू ४० दिन उपवास बसिसक्नुभएकोले असाध्यै भोकाउनुभएको थियो। त्यसैले दियाबलले भोक मेटाउनको लागि चमत्कार गर्ने उहाँको शक्तिको दुरुपयोग गर्न आग्रह गऱ्यो। येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? हव्वाजस्तो नभई येशूले यहोवाको वचनमा ध्यान केन्द्रित गर्नुभयो र उत्तिखेरै त्यस प्रलोभनलाई इन्कार गर्नुभयो।—मत्ती ४:४ पढ्नुहोस्।
१०. सैतानले येशूलाई मन्दिरको पर्खालको टुप्पाबाट हाम फाल्ने हाँक किन गऱ्यो?
१० सैतानले येशूलाई स्वार्थी प्रतिक्रिया देखाउन पनि उक्साउन खोज्यो। त्यसले येशूलाई मन्दिरको पर्खालको टुप्पाबाट हाम फाल्नुहोस् भन्ने हाँक गऱ्यो। (मत्ती ४:५, ६) सैतानले कस्तो आशा गरेको थियो? यसरी हाम फाल्दा येशूलाई चोटपटक लागेन भने उहाँ “परमेश्वरको छोरा” हुनुहुन्छ भनेर प्रमाणित हुनेछ भनी सैतानले आरोप लगायो। स्पष्टतः येशू आफ्नो नामबारे बढ्तै चिन्तित भएर आफ्नो शक्तिको प्रदर्शनसमेत गरेको दियाबल चाहन्थ्यो। मानिसले घमन्डको कारण र अरूको अगाडि इज्जत नगुमाउन खतरनाक हाँकलाई स्वीकार्न सक्छ भनी सैतानलाई थाह थियो। सैतानले शास्त्रपदको गलत अर्थ लगायो तर येशूले यहोवाको वचन पूर्णतया बुझेको देखाउनुभयो। ( मत्ती ४:७ पढ्नुहोस्) त्यस हाँकलाई इन्कार गरेर येशूले यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठानेको कुरा फेरि प्रमाणित गर्नुभयो।
११. संसारका सबै राज्य दिने दियाबलको प्रस्तावलाई येशूले किन इन्कार गर्नुभयो?
११ जसरी हुन्छ येशूलाई प्रलोभनमा फसाउने अन्तिम प्रयासस्वरूप सैतानले उहाँलाई संसारका सबै राज्य देखायो। (मत्ती ४:८, ९) येशूले उत्तिखेरै त्यो प्रस्ताव इन्कार गर्नुभयो। त्यो प्रस्ताव स्वीकार्नु भनेको यहोवाको सार्वभौमिकता अर्थात् सर्वोच्च हुने परमेश्वरको अधिकारलाई तिरस्कार गर्नुसरह हुनेछ भनेर उहाँले बुझ्नुभयो। ( मत्ती ४:१० पढ्नुहोस्) प्रत्येक चोटि, येशूले यहोवाको व्यक्तिगत नाम भएको शास्त्रपद उद्धरण गरेर सैतानलाई जवाफ दिनुभयो।
१२. पृथ्वीमा आफ्नो जीवनको अन्ततिर येशूले कस्तो कठिन निर्णय गर्नुपर्नेथियो र उहाँले देखाउनुभएको प्रतिक्रियाबाट हामी के सिक्छौं?
१२ पृथ्वीमा आफ्नो जीवनको अन्ततिर येशूले एउटा अत्यन्तै कठिन निर्णय गर्नुपर्नेथियो। आफ्नो जीवन बलिदानको रूपमा दिन इच्छुक भएको कुरा उहाँले आफ्नो सेवाको अवधिभर व्यक्त गरिसक्नुभएको थियो। (मत्ती २०:१७-१९, २८; लूका १२:५०; यूह. १६:२८) तथापि, येशूलाई यहूदी कानुनी प्रणालीअनुसार झूटो आरोप लगाइनेछ र दोषी ठहराइनेछ अनि ईश्वरनिन्दकको रूपमा मारिनेछ भनेर थाह थियो। यसरी मृत्यु भोग्नुपर्ने कुराले उहाँलाई असाध्यै पिरोलेको थियो। उहाँले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्।” उहाँले यसो पनि भन्नुभयो: “तर मेरो इच्छाअनुसार त होइन, तपाईंकै इच्छाअनुसार होस्।” (मत्ती २६:३९) हो, मृत्युसम्मै विश्वासी भएर येशूले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हुनुहुन्थ्यो भनेर प्रस्टै देखाउनुभयो!
त्यस प्रश्नप्रति हाम्रो जवाफ
१३. हव्वा, अय्यूब र येशू ख्रीष्टको उदाहरणबाट हामीले यहाँसम्म कस्तो पाठ सिक्यौं?
१३ यहाँसम्म हामीले के सिक्यौं? हव्वाको सन्दर्भमा भन्नुपर्दा, स्वार्थी इच्छा वा आफूलाई महत्त्वपूर्ण ठान्ने भावनाको वशमा पर्नेहरूले यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति नठानेको देखाउँछन् भनेर सिक्यौं। यसको विपरीत, अय्यूबले देखाएको सत्यनिष्ठाबाट दुःखकष्ट आउनुको कारण राम्ररी नबुझे तापनि त्रुटिपूर्ण मानिसहरूले समेत ती कठिनाइहरू विश्वासी भई सहेर यहोवालाई पहिलो स्थान दिएको देखाउन सक्छन् भनेर सिक्यौं। (याकू. ५:११) अन्तमा, येशूको उदाहरणबाट बेइज्जती भोग्न इच्छुक हुनुपर्छ र आफ्नो व्यक्तिगत इज्जतलाई अचाक्ली महत्त्व दिनु हुँदैन भनेर सिक्यौं। (हिब्रू १२:२) तर हामी यी पाठ कसरी लागू गर्न सक्छौं?
१४, १५. येशूले प्रलोभनप्रति देखाउनुभएको प्रतिक्रिया हव्वाको भन्दा कसरी भिन्न थियो अनि हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? (पृष्ठ १८ को चित्रबारे टिप्पणी गर्नुहोस्।)
१४ प्रलोभनहरूले गर्दा यहोवालाई कहिल्यै नबिर्सनुहोस्। हव्वाले आफ्नो ध्यान त्यतिबेला आफूसामु आइपरेको प्रलोभनमा मात्र केन्द्रित गरिन्। तिनले “त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, औ कसैलाई बुद्धिमान बन्नलाई सो रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्।” (उत्प. ३:६) तीन चोटि प्रलोभनको सामना गर्नुपर्दा येशूले देखाउनुभएको प्रतिक्रियाभन्दा कत्ति भिन्न! प्रत्येक चोटि, उहाँले आफूसामु आइपरेको प्रलोभनमा लुकेको कुरा अनि आफूले चाल्ने कदमले ल्याउने परिणाममा ध्यान केन्द्रित गर्नुभयो। उहाँ परमेश्वरको वचनमा भर पर्नुभयो र उहाँले यहोवाको नाम पनि प्रयोग गर्नुभयो।
१५ यहोवालाई मन नपर्ने काम गर्ने प्रलोभनको सामना गर्नुपर्दा हामी कुन कुरामा आफ्नो ध्यान केन्द्रित गर्छौं? प्रलोभनमा जति धेरै ध्यान केन्द्रित गर्छौं, त्यो गलत इच्छा उत्ति नै प्रबल हुँदै जानेछ। (याकू. १:१४, १५) त्यो कुइच्छा उखेलेर फ्याँक्न हामीले तुरुन्तै कदम चालिहाल्नुपर्छ, चाहे आफ्नो शरीरको एउटा अङ्ग नै फालिदिनुपर्ने जत्तिको निर्णायक कदम नै किन नहोस्। (मत्ती ५:२९, ३०) येशूले जस्तै हामीले आफ्नो कार्यको परिणाममा अर्थात् त्यसले यहोवासितको सम्बन्धमा कस्तो असर पार्नेछ भनेर ध्यान केन्द्रित गर्नुपर्छ। उहाँको वचन बाइबलले के भन्छ भनेर हामीले सम्झनै पर्छ। यसो गरेको खण्डमा मात्र यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठानेको प्रमाणित गर्न सक्छौं।
१६-१८. (क) हाम्रो मन किन बोझले दबिन सक्छ? (ख) विचलित पार्ने परिस्थितिहरू सहन हामीलाई केले मदत गर्नेछ?
१६ आफूले विपत्ति भोग्नुपर्दा यहोवाविरुद्ध कहिल्यै रुष्ट नहुनुहोस्। (हितो. १९:३) यस दुष्ट संसारको अन्त नजिकिंदै जाँदा प्रकोप र विपत्तिको चपेटामा पर्ने यहोवाका जनको सङ्ख्या बढ्दो छ। अहिले हामी चमत्कारपूर्ण ढङ्गमा सुरक्षा पाउने आशा गर्न सक्दैनौं। तैपनि आफ्नो प्रिय जन गुमाउँदा वा आफूले दुःखकष्ट भोग्नुपर्दा अय्यूबले जस्तै मन बोझले दबिएको महसुस गर्न सक्छौं।
१७ यहोवाले कुनै-कुनै कुरा किन हुन दिनुभयो भनेर अय्यूबले बुझेनन् र कहिलेकाहीं हामी पनि खराब कुरा हुनुको कारण नबुझ्न सक्छौं। भूकम्प वा अन्य प्राकृतिक प्रकोपले गर्दा विश्वासी भाइहरूले ज्यान गुमाएको खबर हामीले सुनेका छौं होला, जस्तै हाइटीमा। अथवा हिंसाको सिकार हुनुपरेको वा गम्भीर दुर्घटनामा ज्यान गुमाउनुपरेको कुनै सत्यनिष्ठ व्यक्तिलाई हामीले चिनेका छौं होला। अथवा आफू स्वयम् नै कुनै पीडादायी परिस्थिति वा अन्यायपूर्णजस्तो लाग्ने अवस्थाले पिरोलिएका हुन सक्छौं। त्यस्तो अवस्थामा विचलित हुँदै हामी यस्तो पुकारा गरौंला: ‘हे यहोवा, मलाई नै किन? मैले के गल्ती गरेको थिएँ र?’ (हब. १:२, ३) यस्तो परिस्थितिमा सहन हामीलाई केले मदत गर्नेछ?
१८ यस्ता घटनाहरू यहोवाको अनुमोदन नभएको सङ्केत हो भन्ठान्नदेखि हामी होसियार हुनुपर्छ। येशूले आफ्नो समयमा घटेको दुइटा विपत्तिबारे उल्लेख गर्दा उक्त बुँदालाई प्रस्ट पार्नुभयो। ( लूका १३:१-५ पढ्नुहोस्) धेरैजसो विपत्ति “समय र अवसरले” गर्दा हुन्छन्। (उप. ९:११) तर हामीलाई विचलित पार्ने परिस्थितिको कारण जेसुकै भए तापनि “सबै सान्त्वनाका परमेश्वर”-मा ध्यान केन्द्रित गऱ्यौं भने हामी ती सहन सक्छौं। उहाँले हामीलाई विश्वासी भई अघि बढिरहन चाहिने बल दिनुहुनेछ।—२ कोरि. १:३-६.
१९, २०. अपमानजनक परिस्थिति सहन येशूलाई केले मदत गऱ्यो र हामीलाई पनि त्यसै गर्न केले मदत गर्न सक्छ?
१९ घमन्डलाई वा लाजमा परिएला भन्ने डरलाई कहिल्यै आफ्नो प्रमुख चासो नबनाउनुहोस्। नम्रताले गर्दा येशूले “आफूलाई रित्याउनुभयो अनि दासजस्तो” बन्नुभयो। (फिलि. २:५-८) यहोवामाथि भरोसा राखेकोले गर्दा उहाँले थुप्रै अपमानजनक परिस्थिति सहन सक्नुभयो। (१ पत्रु. २:२३, २४) यसो गरेर येशूले यहोवाको इच्छालाई पहिलो स्थान दिनुभयो र परिणामस्वरूप अझ उच्च पद पाउनुभयो। (फिलि. २:९) येशूले आफ्ना चेलाहरूलाई पनि यस्तै जीवनशैली अपनाउने सल्लाह दिनुभयो।—मत्ती २३:११, १२; लूका ९:२६.
२० कहिलेकाहीं, विश्वासको कारण भोग्नुपर्ने कुनै-कुनै परीक्षाले हामीलाई सरममा पार्न सक्छ। तैपनि हामी प्रेषित पावलजस्तै ढुक्क हुनुपर्छ जसले भने: “यही कारणले म पनि यी कष्टहरू भोग्दैछु तर मैले सरम मानेको छैन। किनकि मैले कसलाई विश्वास गरेको हुँ, त्यो मलाई थाह छ र मैले उहाँलाई सुम्पेको नासोलाई उहाँले न्यायको दिनसम्म हिफाजत गर्नुहुनेछ भनेर म ढुक्क छु।”—२ तिमो. १:१२.
२१. संसारमा व्याप्त स्वार्थी मनोवृत्तिको बाबजुद तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?
२१ हाम्रो समयका मानिसहरूले “आफैलाई मात्र प्रेम” गर्नेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (२ तिमो. ३:२) त्यसैले आफू वरपर मपाइँ मनोवृत्ति व्याप्त भएकोमा हामी छक्क मान्नु पर्दैन। त्यस्तो स्वार्थी मनोवृत्तिको दाग हामीमा कहिल्यै नलागोस्! बरु प्रलोभनको सामना गर्नुपर्दा, विपत्ति भोग्नुपर्दा वा हामीलाई सरममा पार्ने प्रयासको सामना गर्नुपर्दा यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठानेको प्रमाणित गर्न हामी प्रत्येक कटिबद्ध होऔं!
[फुटनोट]
a उत्पत्ति ३:१ मा परमप्रभु भनी अनुवाद गरिएको पदवीको ठाउँमा मौलिक हिब्रूमा परमेश्वरको नाम यहोवा प्रयोग गरिएको छ।
b केही बाइबलविद्अनुसार “चामको साटो चाम” भन्ने अभिव्यक्तिले अय्यूब आफ्नो चाम अर्थात् आफ्नो जीवन बचाउने स्वार्थ पूरा गर्न आफ्ना छोराछोरी वा गाईवस्तुको चाम (छाला) गुमाउन तयार हुनेछन् भन्ने सङ्केत गर्छ। अरू कतिलाई भने उक्त अभिव्यक्तिले आफ्नो जीवन बच्छ भने मानिस अलिकता चाम गुमाउन तयार हुन्छ भनेर जोड दिएजस्तो लाग्छ। उदाहरणको लागि, कसैले टाउकोमा हिर्काउन खोज्दा मानिसले आफ्नो हातले रोक्छ र यसो गर्दा आफ्नो चाम जोगाउन अलिकता चाम गुमाउनुपर्ने हुन्छ। यस अभिव्यक्तिको अर्थ जे सुकै भए तापनि आफ्नो जीवन बच्छ भने अय्यूब जुनसुकै कुरा त्याग्न पनि खुसी हुनेछन् भन्न खोजिएको प्रस्ट हुन्छ।
निम्न कुराबाट हामी के सिक्न सक्छौं?
• सैतानले हव्वालाई बहकाएको तरिकाबाट।
• आफूले विपत्ति भोग्नुपर्दा अय्यूबले देखाएको प्रतिक्रियाबाट।
• येशूले सबैभन्दा महत्त्वपूर्ण ठान्नुभएको कुराबाट।
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १७-मा भएको चित्र]
हव्वा यहोवासितको आफ्नो सम्बन्धमा ध्यान केन्द्रित गर्न चुकिन्
[पृष्ठ १८-मा भएको चित्र]
येशूले सैतानको प्रलोभन इन्कार गर्नुभयो र यहोवाको इच्छा गर्नुमा ध्यान केन्द्रित गर्नुभयो
[पृष्ठ २०-मा भएको चित्र]
हाइटीमा गएको भूकम्पपछि पाल-पालमा गएर साक्षी दिंदै
दुःखकष्टको समयमा “सबै सान्त्वनाका परमेश्वर”-मा ध्यान केन्द्रित गर्न सक्छौं