सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

“परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका न्यायहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌!”—रोमी ११:३३.

१. बप्तिस्माप्राप्त ख्रीष्टियनहरूको लागि सबैभन्दा ठूलो सुअवसर के हो?

 तपाईंलाई दिइएको अहिलेसम्मको सबैभन्दा ठूलो सुअवसर के हो? यो प्रश्‍न सुन्‍नेबित्तिकै तपाईं आफूले पाएको कुनै असाइनमेन्ट वा तपाईंलाई दिइएको कुनै सम्मानबारे सोच्नुहोला। तर बप्तिस्माप्राप्त ख्रीष्टियनहरूको लागि सबैभन्दा ठूलो सुअवसर भनेको एक मात्र साँचो परमेश्‍वर यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्नु हो। यसले गर्दा हामी उहाँबाट ‘चिनिएका’ छौं।—१ कोरि. ८:३; गला. ४:९.

२. यहोवालाई चिन्‍नु र उहाँबाट चिनिनु किन यत्तिको ठूलो सुअवसर हो?

यहोवालाई चिन्‍नु र उहाँबाट चिनिनु किन यत्तिको ठूलो सुअवसर हो? किनभने उहाँ सारा ब्रह्‍माण्डमा सबैभन्दा महान्‌ व्यक्‍ति मात्र होइन तर आफूले प्रेम गर्ने सबैका लागि उहाँ रक्षक पनि हुनुहुन्छ। भविष्यवक्‍ता नहूम यस्तो लेख्न प्रेरित भए: “परमप्रभु भला हुनुहुन्छ, संकष्टको दिनमा बलियो किल्ला उहाँनै हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूलाई उहाँले चिन्‍नुहुन्छ।” (नहू. १:७; भज. १:६) वास्तवमा, अनन्त जीवनको हाम्रो आशा साँचो परमेश्‍वर र उहाँको छोरा येशू ख्रीष्टलाई चिन्‍नुमा निर्भर छ।—यूह. १७:३.

३. परमेश्‍वरलाई चिन्‍नुमा के समावेश छ?

परमेश्‍वरलाई चिन्‍नु भनेको उहाँको नाम के हो भनेर थाह पाउनु मात्र होइन। हामीले उहाँलाई साथीको रूपमा चिन्‍नुपर्छ, उहाँलाई मन पर्ने र मन नपर्ने कुराहरू के हुन्‌ भनेर बुझ्नुपर्छ। यो ज्ञानअनुसार जीवन बिताउनुले परमेश्‍वरलाई हामीले घनिष्ठ रूपमा चिनेका छौं भनेर देखाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ। (१ यूह. २:४) तर हामी साँच्चै यहोवालाई चिन्‍न चाहन्छौं भने अर्को एउटा कुरा आवश्‍यक छ। उहाँले के गर्नुभएको छ भनेर थाह पाउनु मात्र होइन तर उहाँले त्यस्तो कदम कसरी र किन चाल्नुभयो भनेर पनि थाह पाउनुपर्छ। यहोवाका उद्देश्‍यहरूलाई राम्ररी बुझ्दै जाँदा ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ’ भनी दङ्‌ग नपरी बस्नै सक्दैनौं।—रोमी ११:३३.

उद्देश्‍यको परमेश्‍वर

४, ५. (क) बाइबलमा प्रयोग गरिएको “उद्देश्‍य” शब्दले केलाई बुझाउँछ? (ख) कुनै उद्देश्‍य हासिल गर्न विभिन्‍न तरिका अपनाउन सकिन्छ भनी उदाहरणसहित बताउनुहोस्‌।

यहोवा उद्देश्‍यको परमेश्‍वर हुनुहुन्छ र उहाँले “युगौंअघि रच्नुभएको उद्देश्‍य”-बारे बाइबल बताउँछ। (एफि. ३:१०, ११) यस अभिव्यक्‍तिको अर्थ खासमा के हो? बाइबलमा प्रयोग गरिएको “उद्देश्‍य” शब्दले विभिन्‍न तरिकाबाट हासिल गर्न सकिने कुनै खास लक्ष्य अर्थात्‌ निसानालाई बुझाउँछ।

यो उदाहरण विचार गर्नुहोस्‌: कुनै व्यक्‍ति एउटा खास गन्तव्यमा पुग्न चाहलान्‌। त्यस गन्तव्यमा पुग्नु तिनको लक्ष्य अर्थात्‌ उद्देश्‍य बन्छ। कुन प्रकारको सवारीसाधन प्रयोग गर्ने अनि कुन बाटो भएर जाने भनी तिनीसित विभिन्‍न विकल्प होलान्‌। आफूले छानेको बाटोमा यात्रा गर्दै जाँदा मौसम अचानक बिग्रने, अत्यधिक सवारी चाप हुने र बाटो बन्द हुनेजस्ता अवस्था आइपर्न सक्छन्‌। यस्तो अवस्थामा तिनले अर्कै बाटो रोज्नुपर्ने हुन सक्छ। जस्तोसुकै छाँटकाँट गर्नुपरे तापनि गन्तव्यमा पुगेमा तिनले आफ्नो लक्ष्य हासिल गरेका हुन्छन्‌।

६. आफ्नो उद्देश्‍य पूरा गर्ने सन्दर्भमा यहोवाले कसरी लचकता देखाउनुभएको छ?

युगौंअघि रचेको उद्देश्‍य पूरा गर्ने सन्दर्भमा यहोवाले पनि निकै लचकता देखाउनुभएको छ। आफूले सृष्टि गरेका बौद्धिक जीवजीवातको स्वतन्त्र इच्छालाई ध्यानमा राख्दै आफ्नो उद्देश्‍य हासिल गर्ने तरिकामा छाँटकाँट गर्न उहाँ तयार हुनुहुन्छ। उदाहरणको लागि, प्रतिज्ञा गरिएको सन्तानसम्बन्धी आफ्नो उद्देश्‍य यहोवा कसरी पूरा गर्नुहुन्छ, विचार गरौं। सुरुमा यहोवाले प्रथम मानव जोडीलाई भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्प. १:२८) उहाँले व्यक्‍त गर्नुभएको त्यो उद्देश्‍यलाई के अदनको बगैंचामा भएको विद्रोहले रद्द गऱ्‍यो? पटक्कै गरेन! त्यस नयाँ परिस्थितिको सामना गर्दै आफ्नो उद्देश्‍य हासिल गर्न यहोवाले तुरुन्तै वैकल्पिक “बाटो” प्रयोग गर्नुभयो। उहाँले एउटा “सन्तान” देखा पर्ने भविष्यवाणी गर्नुभयो जसले विद्रोहीहरूले गरेको क्षतिलाई सच्चाउनेथिए।—उत्प. ३:१५; हिब्रू २:१४-१७; १ यूह. ३:८.

७. प्रस्थान ३:१४ मा यहोवाले आफूबारे बताउनुभएको विवरणबाट हामी के सिक्छौं?

आफ्नो उद्देश्‍य पूरा गर्ने सिलसिलामा नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न सक्ने यहोवाको क्षमता उहाँले आफूबारे बताउनुभएको विवरणसित मेल खान्छ। आफूले पाएको जिम्मेवारी पूरा गर्दा खडा हुन सक्ने सम्भाव्य अवरोधहरूबारे मोशाले यहोवालाई बताउँदा उहाँले तिनलाई यस्तो आश्‍वासन दिनुभयो: “ ‘म हुँ जो म हुँ।’ फेरि उहाँले भन्‍नुभयो, ‘इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।” ’ ” (प्रस्थ. ३:१४) हो, यहोवा आफ्नो उद्देश्‍य पूर्णतया हासिल गर्न आवश्‍यक जे पनि बन्‍न सक्नुहुन्छ! यसलाई प्रेषित पावलले रोमीको पुस्तकको अध्याय ११ मा उदाहरणसहित सुन्दर ढङ्‌गमा बताएका छन्‌। त्यस विवरणमा तिनी एउटा प्रतीकात्मक जैतुनको रूखबारे बताउँछन्‌। यस उदाहरणलाई केलाउँदा यहोवाको बुद्धिको गहिराइप्रति हाम्रो कृतज्ञता अझ बढ्‌नेछ, चाहे हाम्रो आशा स्वर्गमा जाने होस्‌ या पृथ्वीमा अनन्त जीवन पाउने।

प्रतिज्ञा गरिएको सन्तानबारे यहोवाको उद्देश्‍य

८, ९. (क)जैतुनको रूखको उदाहरण बुझ्न हामीलाई कुन चार वटा आधारभूत तथ्यले मदत गर्नेछ? (ख) आफ्नो उद्देश्‍य पूरा गर्ने सन्दर्भमा यहोवाले देखाउनुभएको लचकतालाई कुन प्रश्‍नको जवाफले प्रकट गर्छ?

जैतुनको रूखको उदाहरण बुझ्नुअघि प्रतिज्ञा गरिएको सन्तानबारे यहोवाको उद्देश्‍य पूरा हुने सिलसिलामा भएको घटनाक्रमको चार वटा तथ्य हामीले थाह पाउनुपर्छ। पहिलो, यहोवाले अब्राहामलाई तिनको सन्तानद्वारा “पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌” भनी प्रतिज्ञा गर्नुभयो। (उत्प. २२:१७, १८) दोस्रो, अब्राहामबाट निस्केको इस्राएल राष्ट्रलाई “पूजाहारीहरूको एक राज्य” उत्पन्‍न गर्ने प्रत्याशा दिइयो। (प्रस्थ. १९:५, ६) तेस्रो, जन्मजात इस्राएलीहरूमध्ये अधिकांशले मसीहलाई अस्वीकार गर्दा यहोवाले “पूजाहारीहरूको एक राज्य” उत्पन्‍न गर्न अन्य कदम चाल्नुभयो। (मत्ती २१:४३; रोमी ९:२७-२९) चौथो, अब्राहामको सन्तानको प्रमुख भाग येशू भए तापनि अरूलाई पनि त्यस सन्तानको भाग बन्‍ने सुअवसर दिइएको छ।—गला. ३:१६, २९.

प्रकाशको पुस्तकले बताएझैं येशूसित स्वर्गमा राजा र पुजारीको रूपमा शासन गर्नेहरू जम्मा १,४४,००० हुनेछन्‌ भनेर माथि उल्लिखित चार आधारभूत तथ्यको आधारमा थाह पाउँछौं। (प्रका. १४:१-४) तिनीहरूलाई “इस्राएलको सन्तान” पनि भनिएको छ। (प्रका. ७:४-८) के त्यसोभए १,४४,००० सबै जन्मजात इस्राएली अर्थात्‌ यहूदीहरू हुन्‌ त? यस प्रश्‍नको जवाफले यहोवा आफ्नो उद्देश्‍य पूरा गर्न कत्तिको लचकदार हुनुहुन्छ भनी प्रकट गर्छ। प्रेषित पावलले रोमीहरूलाई लेखेको पत्रले उक्‍त प्रश्‍नको जवाफ पाउन कसरी मदत गर्छ, अब हामी हेरौं।

“पूजाहारीहरूको एक राज्य”

१०. इस्राएल राष्ट्रले मात्र पाएको प्रत्याशा के थियो?

१० अघिल्ला अनुच्छेदमा उल्लेख गरिएअनुसार इस्राएल राष्ट्रका मानिसहरूसित मात्र “पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति”-का सदस्य हुने प्रत्याशा थियो। ( रोमी ९:४, ५ पढ्‌नुहोस्‌) तर प्रतिज्ञा गरिएको सन्तान आएपछि के हुनेथियो? के जन्मजात इस्राएल राष्ट्रले पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएलीहरूको (अब्राहामको सन्तानको दोस्रो भाग बन्‍नेहरूको) पूर्ण सङ्‌ख्या अर्थात्‌ १,४४,००० उत्पन्‍न गर्नेथियो?

११, १२. (क) स्वर्गको राज्यको भाग हुनेहरूलाई कहिलेदेखि छान्‍न सुरु गरियो अनि त्यतिबेलाका अधिकांश यहूदीहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) अब्राहामको सन्तान बन्‍नेहरूको पूर्ण “सङ्‌ख्या” यहोवाले कसरी “पूरा” गर्नुभयो?

११ रोमी ११:७-१० पढ्‌नुहोस्‌। प्रथम शताब्दीका यहूदीहरूले राष्ट्रको रूपमा येशूलाई तिरस्कार गरे। त्यसैले अब्राहामको सन्तान उत्पन्‍न गर्ने मौका तिनीहरूसित मात्र रहेन। तथापि स्वर्गमा “पूजाहारीहरूको एक राज्य” बन्‍नेहरूलाई इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि छान्‍न सुरु गरिंदा त्यस निम्तो स्वीकार्ने सही मनसाय भएका केही यहूदी पनि थिए। यिनीहरू केही हजारको सङ्‌ख्यामा भए तापनि सिङ्‌गो यहूदी राष्ट्रको तुलनामा “बाँकी रहेका” अर्थात्‌ थोरैजस्तो मात्र थिए।—रोमी ११:५.

१२ तर अब्राहामको सन्तानको भाग बन्‍नेहरूको पूर्ण “सङ्‌ख्या” यहोवाले कसरी “पूरा” गर्नुहुने थियो? (रोमी ११:१२, २५) प्रेषित पावलले दिएका जवाफलाई ध्यान दिनुहोस्‌: “परमेश्‍वरको वचन असफल भयो भन्‍न खोजेको त होइन। किनकि [जन्मजात] इस्राएलबाट जन्मेकाहरू सबै जना साँच्चै इस्राएलीहरू होइनन्‌। न त अब्राहामको वंशबाट आए भन्दैमा तिनीहरू सबै तिनका सन्तान हुन्‌ . . . यसको मतलब के हो भने, रगतको नाताले सन्तान भएकाहरू वास्तवमा परमेश्‍वरका सन्तान होइनन्‌ तर प्रतिज्ञामार्फत जो उहाँका सन्तान भएका छन्‌, तिनीहरूलाई नै अब्राहामको वंश मानिन्छ।” (रोमी ९:६-८) त्यसैले सन्तानबारे यहोवाको उद्देश्‍य पूरा हुनको लागि वंशानुगत रूपमै अब्राहामको सन्तान भएर जन्मिनुपर्ने आवश्‍यकता थिएन।

प्रतीकात्मक जैतुनको रूख

१३. निम्न कुराहरूले कुन कुराको प्रतिनिधित्व गर्छन्‌: (क) जैतुनको रूख (ख) यसको जरा (ग) यसको मूल काण्ड र (घ) यसका हाँगाहरू?

१३ अब्राहामको सन्तानको भाग बन्‍नेहरूलाई प्रेषित पावल प्रतीकात्मक जैतुनको रूखका हाँगाहरूसित तुलना गर्छन्‌। a (रोमी ११:२१) बगैंचाको यस जैतुनको रूखले अब्राहामसित बाँधिएको करारको सन्दर्भमा परमेश्‍वरको उद्देश्‍यको पूर्तिलाई प्रतिनिधित्व गर्छ। यस रूखको जरा पवित्र छ अनि यसले पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएललाई जीवन दिने व्यक्‍तिको रूपमा यहोवाको प्रतिनिधित्व गर्छ। (यशै. १०:२०; रोमी ११:१६) मूल काण्डले अब्राहामको सन्तानको मुख्य भाग येशूको प्रतिनिधित्व गर्छ। यस रूखका हाँगाहरूले अब्राहामको सन्तानको दोस्रो भाग बन्‍ने ‘पूरा सङ्‌ख्याका’ सदस्यहरूको प्रतिनिधित्व गर्छ।

१४, १५. बगैंचाको जैतुनको रूखबाट को ‘भाँचिए’ अनि तिनीहरूको ठाउँमा कसलाई कलमी गरेर गाभियो?

१४ जैतुनको रूखको उदाहरणमा, येशूलाई तिरस्कार गर्ने जन्मजात यहूदीहरूलाई ‘भाँचिएका’ हाँगाहरूसित तुलना गरिएको छ। (रोमी ११:१७) यसरी तिनीहरूले अब्राहामको सन्तानको भाग बन्‍ने मौका गुमाए। तर तिनीहरूको ठाउँ कसले लिनेथियो? आफू वंशानुगत रूपमा अब्राहामको सन्तान भएकोमा घमन्ड गर्ने जन्मजात यहूदीहरूका लागि अन्यजातिका मानिसहरूले आफ्नो ठाउँ लिने कुरा असोचनीय हुनेथियो। तर यहोवाले त्यसो गर्न चाहनुभएमा उहाँले ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ भनेर बप्तिस्मा गराउने यूहन्‍नाले पहिल्यै चेतावनी दिइसकेका थिए।—लूका ३:८.

१५ त्यसोभए आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले के गर्नुभयो? भाँचिएका हाँगाहरूको ठाउँ लिन बगैंचाको जैतुनको रूखमा जङ्‌गली जैतुनका हाँगाहरू कलमी गरेर गाभियो भनी पावल बताउँछन्‌। ( रोमी ११:१७, १८ पढ्‌नुहोस्‌) यसरी पवित्र शक्‍तिद्वारा अभिषिक्‍त जाति-जातिका ख्रीष्टियनहरू जसमध्ये कोही रोमको मण्डलीका थिए, तिनीहरू यस प्रतीकात्मक जैतुनको रूखमा लाक्षणिक तवरमा कलमी गरेर गाभिए। यसप्रकार तिनीहरू अब्राहामको सन्तानको भाग बने। सुरुमा तिनीहरू जङ्‌गली जैतुनको रूखका हाँगाहरूजस्तै थिए जसले यस विशेष करारको भाग हुने कुनै मौका पाएका थिएनन्‌। तर यहोवाले तिनीहरूका निम्ति पवित्र शक्‍तिद्वारा अभिषिक्‍त यहूदी बन्‍ने बाटो खोलिदिनुभयो।—रोमी २:२८, २९.

१६. प्रेषित पत्रुसले पवित्र शक्‍तिद्वारा अभिषिक्‍त नयाँ राष्ट्रको गठनबारे कसरी वर्णन गरे?

१६ प्रेषित पत्रुस यस परिस्थितिलाई यसरी वर्णन गर्छन्‌: “त्यसैले तिमीहरूको [पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएलीहरूलगायत गैर-यहूदी ख्रीष्टियनहरूको] निम्ति उहाँ [येशू ख्रीष्ट] बहुमूल्य हुनुहुन्छ, किनकि तिमीहरूले उहाँमाथि विश्‍वास गऱ्‍यौ तर विश्‍वास नगर्नेहरूको निम्ति भने ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।’ अनि ‘ठेस लाग्ने ढुङ्‌गा र ठक्कर खाने चट्टान’ बनेको छ। . . . तर तिमीहरू त ‘चुनिएको जाति,’ शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ। त्यसकारण, जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो, उहाँका असल गुणहरूबारे तिमीहरूले चारैतिर घोषणा गर्नुपर्छ। किनकि कुनै बेला तिमीहरू परमेश्‍वरका जन थिएनौ तर अहिले परमेश्‍वरका जन हौ; तिमीहरू कृपा नपाएका मानिसहरू थियौ तर अहिले भने कृपा पाएका मानिसहरू भएका छौ।”—१ पत्रु. २:७-१०.

१७. यहोवाले गर्नुभएको कुरा कसरी “प्रकृतिको नियमविपरीत” भयो?

१७ धेरैले कुनै हालतमा आस नगर्ने कुरा यहोवाले गर्नुभयो। यहोवाले जे गर्नुभयो त्यसलाई पावल “प्रकृतिको नियमविपरीत” भनी बताउँछन्‌। (रोमी ११:२४) यो कसरी “प्रकृतिको नियमविपरीत” भयो? बगैंचाको रूखमा जङ्‌गली हाँगा कलमी गरेर गाभ्नु अनौठो मात्र होइन, अप्राकृतिक देखिनेथियो। तर प्रथम शताब्दीका केही किसानले यस्तै गर्थे। b त्यसरी नै यहोवाले पनि असाधारण कार्य गर्नुभयो। यहूदीहरूको दृष्टिकोणमा गैर-यहूदीहरू ग्रहणयोग्य फल फलाउन असक्षम थिए। तथापि यहोवाले यिनीहरूलाई नै एउटा यस्तो “जाति”-को सदस्य बनाउनुभयो जसले परमेश्‍वरको राज्यको लागि सुहाउँदो फल फलाए। (मत्ती २१:४३) गैर-यहूदीमध्येबाट ख्रीष्टियन बन्‍ने पहिलो व्यक्‍ति कर्नीलियसलाई इस्वी संवत्‌ ३६ मा अभिषेक गरियो। त्यसबेलादेखि, खतना नगरेका गैर-यहूदीहरूका निम्ति यस प्रतीकात्मक जैतुनको रूखमा कलमी गरेर गाभिने मौका खोलियो।—प्रेषि. १०:४४-४८ c

१८. इस्वी संवत्‌ ३६ पछि जन्मजात यहूदीहरूले कस्तो मौका पाए?

१८ के यसको मतलब इस्वी संवत्‌ ३६ पछि जन्मजात यहूदीहरूले अब्राहामको सन्तानको भाग बन्‍ने मौका पाएनन्‌? त्यसो होइन। पावल भन्छन्‌: “यदि तिनीहरूले [जन्मजात यहूदीहरूले] फेरि विश्‍वास गर्न थाले भने तिनीहरूलाई पनि कलमी गरिनेछ। किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ। यदि तिमीहरूलाई जङ्‌गली जैतुनको रूखबाट काटेर बगैंचामा उम्रिने जैतुनको रूखमा प्रकृतिको नियमविपरीत कलमी गरेर गाभियो भने तिनीहरू त त्यही जैतुनको रूखका हाँगाहरू हुन्‌, त्यसैले तिनीहरूलाई कलमी गरेर आफ्नै रूखमा गाभ्न झन्‌ कत्ति सजिलो होला!” dरोमी ११:२३, २४.

“सारा इस्राएलले उद्धार पाउनेछ”

१९, २०. प्रतीकात्मक जैतुनको रूखको उदाहरणले देखाएझैं यहोवा कुन कुरा पूरा गर्नुहुन्छ?

१९ हो, “परमेश्‍वरको इस्राएल”-को सन्दर्भमा यहोवाको उद्देश्‍य अद्‌भुत ढङ्‌गमा पूरा भइरहेको छ। (गला. ६:१६) पावलले भनेझैं “सारा इस्राएलले उद्धार पाउनेछ।” (रोमी ११:२६) यहोवाले तोकेको समयमा “सारा इस्राएल” अर्थात्‌ पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएलीहरूको पूरा सङ्‌ख्याले स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्नेछन्‌। यहोवाको उद्देश्‍यलाई कुनै कुराले असफल बनाउन सक्दैन!

२० भविष्यवाणी गरिएझैं अब्राहामको सन्तान अर्थात्‌ येशू ख्रीष्टलगायत १,४४,००० मार्फत “अन्यजातिका मानिसहरूले” आशिष्‌ पाउनेछन्‌। (रोमी ११:१२; उत्प. २२:१८) यसप्रकार यस प्रबन्धबाट परमेश्‍वरका सारा जनले लाभ उठाउँछन्‌। यहोवाले युगौंअघि रच्नुभएको उद्देश्‍य कसरी पूरा गर्नुभएको छ भनी विचार गर्दा “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ” भनी आश्‍चर्यचकित नभई बस्न सक्दैनौं!—रोमी ११:३३.

[फुटनोट]

a स्पष्टतः जैतुनको रूखले जन्मजात इस्राएललाई चित्रण गर्दैन। जन्मजात इस्राएलले राजा र पुजारीहरू उत्पन्‍न गरे तापनि त्यस राष्ट्र पुजारीहरूको राज्य भएन। व्यवस्थाले इस्राएलका राजाहरूलाई पुजारी बन्‍न निषेध गरेको थियो। त्यसैले जन्मजात इस्राएलले प्रतीकात्मक जैतुनको रूखको भूमिका खेलेन। पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएलको सन्दर्भमा “पूजाहारीहरूको एक राज्य” उत्पन्‍न गर्ने परमेश्‍वरको उद्देश्‍य कसरी पूरा हुन्छ भनी पावल उदाहरणसहित बताउँदैछन्‌। यो जानकारी अगस्त १५, १९८३ को प्रहरीधरहरा (अङ्‌ग्रेजी), पृष्ठ १४-१९ मा प्रकाशित लेखको भन्दा नवीनतम जानकारी हो।

b “जङ्‌गली जैतुनका हाँगाहरू कलमी गर्ने—किन?” भन्‍ने पेटी हेर्नुहोस्‌।

c जन्मजात यहूदीहरूलाई पवित्र शक्‍तिद्वारा अभिषिक्‍त नयाँ राष्ट्रको भाग हुने मौका दिइएको साढे तीन वर्षको अन्तमा यो घटना भयो। सत्तरी हप्ताबारे गरिएको भविष्यवाणीले यस घटनाक्रमबारे बताएको थियो।—दानि. ९:२७.

d रोमी ११:२४ मा “बगैंचा” भनी अनुवाद गरिएको ग्रीक उपसर्ग “राम्रो, उत्तम” वा “उद्देश्‍य पूरा गर्ने” भन्‍ने अर्थ बुझाउने शब्दबाट लिइएको हो। जुन उद्देश्‍यको लागि बनाइएको थियो, त्यो उद्देश्‍य पूरा गर्ने थोकको लागि विशेषगरि यो उपसर्ग प्रयोग गरिन्छ।

के तपाईंले सम्झनुभएको छ?

• आफ्नो उद्देश्‍य पूरा गर्ने यहोवाको तरिकाबाट हामी उहाँबारे के सिक्छौं?

रोमी अध्याय ११ मा बताइएका निम्न कुराहरूले कुन कुराको प्रतिनिधित्व गर्छन्‌?

जैतुनको रूख।

यसको जरा।

यसको मूल काण्ड।

यसका हाँगाहरू।

• कलमी गर्ने प्रक्रिया किन “प्रकृतिको नियमविपरीत” थियो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

जङ्‌गली जैतुनका हाँगाहरू कलमी गर्ने—किन?

▪ लुशियस जुन्यस माडेराटस काल्येमल इस्वी संवत्‌ प्रथम शताब्दीका रोमी सिपाही र किसान थिए। ग्रामीण जीवन र खेतीपातीबारे लेखेका १२ वटा पुस्तकको लागि तिनी चिरपरिचित छन्‌।

आफूले लेखेका पाँचौं पुस्तकमा तिनी यो पुरानो भनाइ उद्धरण गर्छन्‌: “जैतुनको बगैंचा जोत्नेले फलको माग गर्छ; यसमा मलजल हाल्नेले फलको लागि बिन्ती गर्छ; यसलाई छाँट्‌नेले फल फलाउन बाध्य पार्छ।”

हराभरा तर फल नफलाउने रूखहरूबारे बताइसकेपछि तिनी निम्न प्रक्रिया अपनाउन सुझाव दिन्छन्‌: “त्यस्ता रूखलाई एउटा धारिलो औजारले प्वाल पार्नु अनि त्यस प्वालमा जङ्‌गली जैतुनको रूखबाट लिइएको हरियो हाँगालाई बेसरी कस्नु राम्रो हो; परिणामस्वरूप, मानौं फल फलाउने रूखद्वारा सेचन गरिएकोले त्यस रूखले फल फलाउँछ।”

[पृष्ठ २३-मा भएको चित्र]

के तपाईंले प्रतीकात्मक जैतुनको रूखको उदाहरण बुझ्नुभयो?