सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवामाथिको पूर्ण भरोसाले निर्धक्क बनाउँछ

यहोवामाथिको पूर्ण भरोसाले निर्धक्क बनाउँछ

यहोवामाथिको पूर्ण भरोसाले निर्धक्क बनाउँछ

“मैले पुकारा गर्दा परमप्रभुले सुन्‍नुहुनेछ।”—भज. ४:३.

१, २. (क) दाऊदले कस्तो खतरनाक अवस्था सामना गरे? (ख) हामी कुन-कुन भजन छलफल गर्नेछौं?

 रा जा दाऊदले इस्राएलमा शासन गरेको केही समय भइसकेको छ। अब तिनले एउटा खतरनाक अवस्थाको सामना गर्छन्‌। तिनका षडयन्त्रकारी छोरा अब्शालोमले आफूलाई राजा घोषणा गराएका छन्‌ अनि दाऊद यरूशलेम छोड्‌न बाध्य भएका छन्‌। तिनको भरोसापात्रले पनि धोका दिएका छन्‌ र अहिले तिनी रूँदै नाङ्‌गो खुट्टाले हिंडेर आफ्ना केही वफादार जनसँगै जैतुन डाँडामा जान्छन्‌। साथै, राजा शाऊलको घरानाको एक जना मानिस, शिमीले दाऊदलाई सराप्दै तिनीमाथि ढुङ्‌गा र धूलो फ्याँक्दैछन्‌।—२ शमू. १५:३०, ३१; १६:५-१४.

के यस्तो कठिन अवस्थाले दाऊदलाई दुःख र अपमानले पिरोलेर मृत्युको मुखसम्म पुऱ्‍याउनेछ? अहँ पुऱ्‍याउनेछैन किनभने तिनी यहोवामाथि भरोसा राख्छन्‌। आफू भागेको विषयमा दाऊदले रचेको तेस्रो भजनबाट उक्‍त कुरा प्रस्ट हुन्छ। तिनले चौथो भजन पनि लेखे। यी दुवै रचनाबाट परमेश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ भनी तिनी विश्‍वस्त भएको प्रकट हुन्छ। (भज. ३:४; ४:३) यी भजनहरूले यहोवा आफ्ना विश्‍वासी सेवकहरूको साथमा दिनरात रहनुहुन्छ, तिनीहरूलाई सँभाल्नुका साथै शान्ति र सुरक्षा दिनुहुन्छ भनी हामीलाई ढुक्क बनाउँछ। (भज. ३:५; ४:८) त्यसैले आउनुहोस्‌, हामी यी भजनहरू विचार गरौं अनि त्यसले हामीलाई कसरी निर्धक्क बनाउँछ र परमेश्‍वरमाथि भरोसा राख्न लगाउँछ, हेरौं।

जब ‘हाम्रो विरुद्धमा धेरै खडा हुन्छन्‌’

३. भजन ३:१, २ ले बताएअनुसार दाऊदको अवस्था कस्तो थियो?

एक जना सन्देशवाहक आएर भन्छ: “इस्राएलका मानिसहरूको मन त अब्शालोमतिर छ।” (२ शमू. १५:१३, NRV) अब्शालोमले यत्तिका मानिसहरूको साथ कसरी पाउन सके भनी छक्क मान्दै दाऊद सोध्छन्‌: “हे परमप्रभु, मेरा विरोधीहरू कति धेरै भएर बढेका छन्‌। मेरो विरुद्धमा खडा हुनेहरू धेरै छन्‌। मेरो प्राणको विषयमा यसो भन्‍नेहरू धेरै छन्‌, ‘त्यसको निम्ति उद्धार परमेश्‍वरमा छैन।’ ” (भज. ३:१, २) थुप्रै इस्राएलीको सोचाइमा यहोवाले दाऊदलाई अब्शालोम र तिनका समर्थकहरूको हातबाट बचाउनुहुनेछैन।

४, ५. (क) दाऊद कुन कुरामा पक्का थिए? (ख) “मेरो शिर ठाडो गराउने” भन्‍ने शब्दहरूले कस्तो विशेष अर्थ राख्छ?

दाऊद भने निर्धक्क छन्‌ किनभने तिनी परमेश्‍वरमाथि पूर्ण भरोसा राख्छन्‌। तिनी गाउँछन्‌: “तर हे परमप्रभु, तपाईं मेरो वरिपरि ढाल हुनुहुन्छ, मेरो गौरव, र मेरो शिर ठाडो गराउने तपाईंनै हुनुहुन्छ।” (भज. ३:३) ढालले सिपाहीलाई जोगाएझैं यहोवाले तिनलाई जोगाउनुहुनेछ भनी दाऊद पक्का छन्‌। हो, यस वृद्ध राजा आफ्नो शिर ढाकेर अनि अपमानित महसुस गर्दै निहुरिएर भाग्दैछन्‌। तर सर्वोच्चले दाऊदको अवस्थालाई गौरवमय अवस्थामा बदल्नुहुनेछ। यहोवाले तिनलाई सोझो उभिन, शिर उठाउन र फेरि त्यसलाई ठाडो राख्न मदत गर्नुहुनेछ। परमेश्‍वरले जवाफ दिनुहुनेछ भनी विश्‍वस्त हुँदै दाऊद उहाँलाई पुकार्छन्‌। के तपाईं यहोवामाथि यस्तै भरोसा देखाउनुहुन्छ?

“मेरो शिर ठाडो गराउने” भन्‍ने शब्दहरूद्वारा दाऊद आफूले आशा गरेको मदतको श्रेय यहोवालाई दिन्छन्‌। टुडेज इंग्लिश भर्सन यसो भन्छ: “तर हे प्रभु, तपाईं सधैं मलाई खतराबाट जोगाउने ढाल हुनुहुन्छ; तपाईं मलाई विजयी तुल्याउनुहुन्छ र मेरो साहस फेरि बढाउनुहुन्छ।” “मेरो शिर ठाडो गराउने” भन्‍ने अभिव्यक्‍तिबारे एउटा पुस्तक भन्छ: “परमेश्‍वरले कसैको ‘शिर’ उठाउँदा उसलाई आशा दिनुहुन्छ र विश्‍वस्त बनाउनुहुन्छ।” इस्राएलको सिंहासनबाट धपाइएका दाऊदसित निराश हुने कारण थियो। तथापि ‘तिनको शिर ठाडो गराइँदा’ तिनी पुनः साहसी र निर्धक्क हुनेछन्‌ अनि परमेश्‍वरमाथि पूर्ण भरोसा राख्न सक्नेछन्‌।

‘परमप्रभुले जवाफ दिनुहुनेछ’

६. यहोवाको पवित्र डाँडाबाट आफ्नो प्रार्थनाको जवाफ पाएँ भनी दाऊदले किन भने?

यहोवामाथि भरोसा राख्दै र निर्धक्क हुँदै दाऊद अझ यसो भन्छन्‌: “म ठूलो स्वरले परमप्रभुमा पुकारा गर्छु, र उहाँले आफ्नो पवित्र डाँडाबाट मलाई जवाफ दिनुहुन्छ।” (भज. ३:४) परमेश्‍वरको उपस्थितिलाई प्रतिनिधित्व गर्ने करारको सन्दुक दाऊदको आदेशअनुसार सियोन डाँडामा लगिएको छ। ( २ शमूएल १५:२३-२५ पढ्‌नुहोस्‌) त्यसैले दाऊदले यहोवाको पवित्र डाँडाबाट आफ्नो प्रार्थनाको जवाफ पाएँ भन्‍नु उपयुक्‍त छ।

७. दाऊद किन डराएनन्‌?

परमेश्‍वरलाई गरेको प्रार्थना बेकार हुनेछैन भनी पक्का भएकोले दाऊद डराउँदैनन्‌। बरु तिनी यसरी गाउँछन्‌: “म पल्टें, र निदाएँ। म उठें, किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।” (भज. ३:५) अकस्मात्‌ आक्रमण हुन सक्ने खतरा रातको समयमा धेरै भए तापनि दाऊद सुत्न डराउँदैनन्‌। आफू उठ्‌नेछु भनी तिनलाई पक्का छ किनभने परमेश्‍वरले सधैं सँभाल्नुहुनेछ भनेर विगतका अनुभवले तिनलाई पूर्णतया निर्धक्क बनाएको छ। “परमप्रभुको मार्गमा” हिंड्यौं र उहाँबाट कहिल्यै तर्किएनौं भने हामी पनि निर्धक्क हुन सक्छौं।२ शमूएल २२:२१, २२ पढ्‌नुहोस्‌।

८. दाऊदले परमेश्‍वरमाथि भरोसा राखेको भजन २७:१-४ ले कसरी देखाउँछ?

दाऊद निर्धक्क भएको र परमेश्‍वरमाथि पूर्ण भरोसा राखेको कुरा तिनले लेखेको अर्को एउटा भजनबाट प्रस्ट हुन्छ। तिनले यी प्रेरित शब्दहरू लेखे: “परमप्रभु मेरो ज्योति र मलाई मुक्‍ति दिने हुनुहुन्छ, मैले कसको डर मान्‍नु? परमप्रभुनै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्‍नु? . . . सेनाले मेरो विरुद्धमा छाउनी बनाए, तापनि मेरो मन कातर हुनेछैन। . . . एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहनपाऊँ।” (भज. २७:१-४) तपाईंका भावना यस्तै छन्‌ र परिस्थितिले दिन्छ भने यहोवाको उपासना गर्ने सँगी भाइबहिनीसित तपाईं नियमित तवरमा एकसाथ भेला हुनुहुनेछ।—हिब्रू १०:२३-२५.

९, १०. भजन ३:६, ७ मा लेखिएका शब्दको बाबजुद दाऊदसित बदलाको मनोभाव थिएन भनी तपाईं किन भन्‍न सक्नुहुन्छ?

दाऊदले अब्शालोमको षड्यन्त्र र अरू थुप्रैबाट धोकाको सामना गर्नुपरे तापनि तिनी यसरी गाउँछन्‌: “मेरा चारैतिर मेरो विरुद्धमा मलाई घेरा हाल्ने, दश हजार मानिसहरूसँग पनि म डराउनेछैनँ। हे परमप्रभु, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌, किनकि तपाईंले मेरा सबै शत्रुहरूका गालामा चड्‌काउनुभएको छ। तपाईंले दुष्टहरूका दाँत भाँच्नुभएको छ।”भज. ३:६, ७.

१० दाऊद बदला लिने मनोभाव राख्दैनन्‌। तिनका शत्रुहरूलाई ‘गालामा चड्‌काउने’ हो भने परमेश्‍वरले नै त्यसो गरून्‌। राजा दाऊदले आफ्नो लागि व्यवस्थाको एक प्रति उतारेका छन्‌ र त्यसमा यहोवाले यस्तो घोषणा गर्नुभएको छ भनी तिनलाई थाह छ: “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु।” (व्यव. १७:१४, १५, १८; ३२:३५, NRV) ‘दुष्टहरूका दाँत भाँच्नुपऱ्‍यो’ भने पनि यहोवाले नै भाँच्नुहुन्छ। तिनीहरूको दाँत भाँच्नुको अर्थ हो, कुनै हानि गर्न नसक्नेगरि तिनीहरूलाई दुर्बल बनाउनु। दुष्टहरू को हुन्‌ भनेर यहोवालाई थाह छ किनकि उहाँ “हृदय हेरीकन विचार” गर्नुहुन्छ। (१ शमू. १६:७) त्यसैले परमेश्‍वरले हामीलाई मुख्य दुष्ट व्यक्‍ति सैतानविरुद्ध दृढ भई खडा हुन चाहिने विश्‍वास र बल दिनुभएकोमा हामी कत्ति कृतज्ञ छौं! यस सैतानलाई अब चाँडै विनाशको लागि मात्र योग्य—दाँत नभएको तर गर्जेर हिंड्‌ने सिंहलाई झैं अगाध खाडलमा हालिनेछ।—१ पत्रु. ५:८, ९; प्रका. २०:१, २, ७-१०.

“उद्धार परमप्रभुमा छ”

११. हामीले सँगी ख्रीष्टियनहरूका निम्ति किन प्रार्थना गर्नुपर्छ?

११ आफूलाई अत्यन्तै आवश्‍यक परिरहेको उद्धार यहोवाले मात्र दिन सक्नुहुन्छ भनी दाऊद मानिलिन्छन्‌। तर यी भजनरचयिताले आफूबारे मात्र सोचिरहेका छैनन्‌। यहोवाको अनुमोदनप्राप्त व्यक्‍तिहरूबारे समूहको रूपमा के भन्‍न सकिन्छ? प्रेरणा पाएर लेखिएको भजन दाऊद यी शब्दहरूद्वारा टुङ्‌ग्याउँछन्‌: उद्धार परमप्रभुमा छ। तपाईंको आशीर्वाद तपाईंको प्रजामाथि रहोस्‌।” (भज. ३:८) हो, दाऊद ठूलाठूला समस्या भोग्छन्‌ तर तिनी यहोवाका सम्पूर्ण प्रजालाई सम्झन्छन्‌ र परमेश्‍वरले तिनीहरूलाई आशीर्वाद दिनुहुनेछ भनी विश्‍वस्त छन्‌। के हामीले पनि सँगी ख्रीष्टियनहरूलाई सम्झनु पर्दैन र? निर्धक्क भई साहसका साथ सुसमाचार घोषणा गर्न सकून्‌ भनेर तिनीहरूका निम्ति यहोवासित पवित्र शक्‍ति माग्दै हामी पनि तिनीहरूलाई आफ्नो प्रार्थनामा सम्झौं।—एफि. ६:१७-२०.

१२, १३. अब्शालोमलाई के भयो र दाऊदले कस्तो प्रतिक्रिया देखाए?

१२ अब्शालोमको मृत्यु लज्जास्पद तरिकामा हुन्छ—अरूलाई, अझ विशेषगरि दाऊदलाई जस्तै यहोवाका अभिषिक्‍त जनलाई दुर्व्यवहार गर्ने सबैका लागि यो एउटा चेतावनी हो। ( हितोपदेश ३:३१-३५ पढ्‌नुहोस्‌) लडाइँ लडिन्छ र अब्शालोमको फौज पराजित हुन्छ। खच्चरमा चढेर गइरहेको बेला अब्शालोमको झाँगिएको कपाल एउटा ठूलो रूखको तलतिरको हाँगामा अल्झन्छ। योआबले तिनलाई तीन वटा घोचा लिएर छातीमा रोपेर नमारेसम्म तिनी जीवित तर लाचार अवस्थामा त्यहाँ झुन्डिरहन्छन्‌।—२ शमू. १८:६-१७.

१३ आफ्नो छोरामाथि आइपरेको यो घटना सुनेर के दाऊद खुसी हुन्छन्‌? अहँ हुँदैनन्‌। बरु तिनी छटपटिन थाल्छन्‌, रुन्छन्‌ र यसरी बिलौना गर्छन्‌: “हाय मेरो छोरो! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम! तेरो सट्टामा म मरेको भएता हुने थियो! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो!” (२ शमू. १८:२४-३३) योआबको शब्दले गर्दा मात्र दाऊदलाई त्यस्तो असह्‍य शोक सहन केही हदसम्म राहत मिल्छ। आफ्नो अन्धो महत्त्वाकाङ्‌क्षाको कारण यहोवाले अभिषेक गर्नुभएको व्यक्‍ति अर्थात्‌ आफ्नै बुबाविरुद्ध जोरी खोज्ने अब्शालोमको कत्ति दुःखद अन्त्य!—२ शमू. १९:१-८; हितो. १२:२१; २४:२१, २२.

दाऊदले फेरि पनि यहोवामा भरोसा गरेको देखाउँछन्‌

१४. चौथो भजनको रचनाबारे के भन्‍न सकिन्छ?

१४ तेस्रो भजनजस्तै चौथो भजन पनि दाऊदले गरेको व्यग्र प्रार्थना हो जसले दाऊद यहोवामा पूर्ण भरोसा राख्थे भन्‍ने कुराको प्रमाण दिन्छ। (भज. ३:४; ४:३) सायद दाऊदले यो भजन आफूलाई अपदस्थ गर्ने अब्शालोमको प्रयास असफल भएपछि आफूले महसुस गरेको छुटकारा र कृतज्ञता व्यक्‍त गर्न रचेको हुनुपर्छ। अथवा लेवी गायकहरूलाई मनमा राखेर यो लेखिएको हुन सक्छ। जेसुकै भए पनि, यसमा मनन गर्दा यहोवाप्रतिको हाम्रो भरोसा बलियो हुन सक्छ।

१५. हामी किन निर्धक्क भई यहोवाको छोरामार्फत यहोवालाई प्रार्थना गर्न सक्छौं?

१५ दाऊद फेरि पनि परमेश्‍वरमा पूर्ण भरोसा राखेको र परमेश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ भन्‍ने कुरामा निर्धक्क भएको देखाउँछन्‌। तिनी यसरी गाउँछन्‌: “हे मेरो धार्मिकताका परमेश्‍वर, मैले पुकारा गर्दा मलाई जवाफ दिनुहोस्‌। दुःखमा पर्दा तपाईंले मलाई ठाउँ दिनुभएको छ। ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌।” (भज. ४:१) धार्मिकता देखाउँछौं भने हामी पनि यसरी नै निर्धक्क हुन सक्छौं। “धार्मिकताका परमेश्‍वर” यहोवाले आफ्ना असल जनलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने कुराप्रति सजग हुँदै, येशूको फिरौतीको बलिदानमा विश्‍वास राखेर हामी उहाँमार्फत यहोवालाई निर्धक्क भई प्रार्थना गर्न सक्छौं। (यूह. ३:१६, ३६) यसले हामीलाई कस्तो अपार शान्ति दिन्छ!

१६. दाऊद किन निराश भएका हुन सक्छन्‌?

१६ कहिलेकाहीं हामी यस्तो निराशाजनक स्थितिको सामना गर्न सक्छौं, जसले गर्दा हामी निर्धक्क हुन सक्दैनौं। केही समयको लागि दाऊदलाई पनि यस्तै भएको हुन सक्छ किनभने तिनी यसरी गाउँछन्‌: “हे मानिसका सन्तान हो, मेरो गौरव कहिलेसम्म अनादरमा परिणत होइरहला, कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ, कहिलेसम्म झूटको पछि लाग्नेछौ?” (भज. ४:२) “मानिसका सन्तान” भन्‍ने अभिव्यक्‍तिले स्पष्टतया मानिसजातिलाई नकारात्मक अर्थमा बुझाउँछ। दाऊदका शत्रुहरूले ‘व्यर्थका कुराहरू रुचाए।’ नयाँ संशोधित संस्करण-ले यस अभिव्यक्‍तिलाई यसरी अनुवाद गरेको छ: “कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ?” अरूको कामकुराले गर्दा निराश भए तापनि व्यग्रता साथ प्रार्थना गरिरहौं र एक मात्र साँचो परमेश्‍वरमा पूर्ण भरोसा राखेको देखाऔं।

१७. भजन ४:३ अनुरूपै हामी कसरी व्यवहार गर्न सक्छौं, व्याख्या गर्नुहोस्‌।

१७ परमेश्‍वरमाथि दाऊदको भरोसा यी शब्दहरूद्वारा स्पष्ट हुन्छ: “तिमीहरूलाई थाह होस्‌, कि जो भक्‍त छ, तिनलाई परमप्रभुले आफ्नो निम्ति अलग्गै राख्नुभएको छ। मैले पुकारा गर्दा परमप्रभुले सुन्‍नुहुनेछ।” (भज. ४:३) यहोवाप्रति भक्‍त अर्थात्‌ वफादार रहिरहन साहस र उहाँमाथिको पूर्ण भरोसा चाहिन्छ। उदाहरणको लागि, पश्‍चात्ताप नगर्ने नातेदार बहिष्कृत हुँदा ख्रीष्टियन परिवारलाई यी गुणहरू चाहिन्छ। परमेश्‍वर र उहाँका मार्गहरूप्रति वफादार हुनेहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ। फलस्वरूप, वफादारी र यहोवामाथिको पूर्ण भरोसाले उहाँका जनहरूबीच शान्ति बढाउँछ।—भज. ८४:११, १२.

१८. कसैले हामीसित नराम्रो बोल्यो वा नराम्रो व्यवहार गऱ्‍यो भने भजन ४:४ अनुरूप हामीले के गर्नुपर्छ?

१८ कसैले हामीलाई निराश पार्ने कुरा भन्यो वा गऱ्‍यो भने नि? दाऊदले भनेझैं गऱ्‍यौं भने हामी आनन्दित भइरहन सक्छौं: “रीस ता गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।” (भज. ४:४) कसैले हामीसित नराम्रो बोल्यो वा नराम्रो व्यवहार गऱ्‍यो भने बदला लिएर पाप नगरौं। (रोमी १२:१७-१९) हामी ओछ्यानमै हुँदा आफ्नो व्यक्‍तिगत प्रार्थनामा आफ्नो भावना पोखाउन सक्छौं। यसरी प्रार्थना गऱ्‍यौं भने हाम्रो दृष्टिकोणमा परिवर्तन आउन सक्छ र प्रेमले गर्दा क्षमा दिन उत्प्रेरित हुन सक्छौं। (१ पत्रु. ४:८) यससम्बन्धमा प्रेषित पावलले दिएको सल्लाह पनि विचार गर्न योग्यको छ जुन सल्लाह भजन ४:४ मा आधारित छजस्तो देखिन्छ: “क्रोध गर तर पाप नगर; घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌, दियाबललाई मौका नदेओ।”—एफि. ४:२६, २७.

१९. उपासनाको सन्दर्भमा हामीले चढाउने बलिदानबारे भजन ४:५ ले हामीलाई कसरी मदत गर्न सक्छ?

१९ परमेश्‍वरमाथि भरोसा राख्नुपर्ने आवश्‍यकतालाई जोड दिंदै दाऊद यसरी गाउँछन्‌: “धार्मिकताको बलिदान चढाओ, र तिमीहरूको भरोसा परमप्रभुमा राख।” (भज. ४:५) इस्राएलीहरूसित सही मनसाय भएको खण्डमा मात्र तिनीहरूले चढाएको बलिदानको अर्थ रहन्थ्यो। (यशै.१:११-१७) हाम्रो उपासना परमेश्‍वरसामु स्वीकारयोग्य हुनको लागि हामीसित पनि सही मनसाय हुनै पर्छ अनि उहाँमाथि पूर्ण भरोसा राख्नै पर्छ।हितोपदेश ३:५, ६; हिब्रू १३:१५, १६ पढ्‌नुहोस्‌।

२०. ‘यहोवाको मुहारको ज्योतिले’ केलाई सङ्‌केत गर्छ?

२० दाऊद थप यसो भन्छन्‌: “यसो भन्‍ने धेरै छन्‌, ‘हामीलाई असल कुरा कसले देखाउला?’ हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमाथि प्रकाश गर्नुहोस्‌।” (भज. ४:६) ‘यहोवाको मुहारको ज्योतिले’ ईश्‍वरीय अनुमोदनलाई सङ्‌केत गर्छ। (भज. ८९:१५) त्यसैले “तपाईंको मुहारको ज्योति हामीमाथि प्रकाश गर्नुहोस्‌” भनी प्रार्थना गर्दा दाऊदले यसो भनिरहेका हुन्‌, ‘हामीमाथि अनुमोदन देखाउनुहोस्‌।’ हामी यहोवामाथि भरोसा गर्छौं, त्यसैले निर्धक्क भई उहाँको इच्छाअनुसार गर्दा हामीमाथि उहाँको अनुमोदन हुन्छ र हामी अपार आनन्द पाउँछौं।

२१. आज भइरहेको प्रचारकार्यमा पूरापूर भाग लियौं भने हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

२१ बाली काट्‌ने समयमा पाइने आनन्दलाई माथ गर्ने आनन्द पर्खंदै दाऊद यसरी यहोवाको गीत गाउँछन्‌: “तिनीहरूका अनाज र दाखमद्य प्रशस्त भएको बेलामा भन्दा, तपाईंले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनुभएको छ।” (भज. ४:७) आज भइरहेको प्रचारकार्यमा पूरापूर भाग लिन्छौं भने हामी पनि साँचो आनन्द महसुस गर्ने कुरामा ढुक्क हुन सक्छौं। (लूका १०:२) ‘बाली काट्‌ने खेतालाहरू’ बढ्‌दा नेतृत्व लिइरहेका अभिषिक्‍त जन अर्थात्‌ ‘वृद्धि भएको जातिसँगै’ हामी पनि रमाहट गर्छौं। (यशै. ९:३) के तपाईंले बाली काट्‌ने यस रमाइलो काममा पूरापूर भाग लिइरहनुभएको छ?

परमेश्‍वरमाथि पूर्ण भरोसा राख्दै निर्धक्क भई अघि बढिरहनुहोस्‌

२२. परमेश्‍वरको व्यवस्थाअनुरूप चल्दा भजन ४:८ अनुसारै इस्राएलीहरू कसरी सफल हुन सके?

२२ यी शब्दहरूद्वारा दाऊद यस भजनको समापन गर्छन्‌: “शान्तिमा म पल्टूँला र निदाऊँला; किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित रहनदिनुहुन्छ।” (भज. ४:८) इस्राएलीहरू यहोवाको व्यवस्थाअनुरूप चल्दा तिनीहरू उहाँसित शान्तिमा रहे र सुरक्षित महसुस गरे। उदाहरणको लागि, सुलेमानको शासनकालको सुरुमा “यहूदा र इस्राएलमा शान्ति थियो।” (१ राजा ४:२५) छिमेकी राष्ट्रहरूबाट विरोध सहनु परे तापनि परमेश्‍वरमाथि भरोसा राख्नेहरू शान्तिमा रहन सके। दाऊदजस्तै हामी पनि शान्तिमा पल्टन्छौं किनकि परमेश्‍वर हामीलाई सुरक्षित महसुस गराउनुहुन्छ।

२३. परमेश्‍वरमाथि पूर्ण भरोसा राख्यौं भने हामीले के अनुभव गर्नेछौं?

२३ आउनुहोस्‌, हामी पनि यहोवाको सेवामा निर्धक्क भई अघि बढिरहौं। हामी पनि विश्‍वाससहित प्रार्थना गरौं अनि ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्‍वरको शान्ति’ अनुभव गरौं। (फिलि. ४:६, ७) यसले हामीलाई कत्ति अपार आनन्द दिन्छ! यहोवामाथि पूर्ण भरोसा राख्यौं भने निश्‍चय नै हामी निर्धक्क भई भविष्यको सामना गर्न सक्छौं।

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

अब्शालोमको कारणले गर्दा भाग्नुपरे तापनि दाऊदले यहोवामाथि भरोसा राखे

[पृष्ठ ३२-मा भएको चित्र]

के तपाईं यहोवामाथि पूर्ण भरोसा राख्नुहुन्छ?

[पृष्ठ ३१-मा भएको चित्र]

तपाईं के भन्‍नुहुन्छ?

• अब्शालोमको कारणले गर्दा दाऊदले कस्ता समस्याहरू सामना गरे?

• तेस्रो भजनले कसरी निर्धक्क बनाउँछ?

• चौथो भजनले यहोवामाथिको हाम्रो भरोसालाई कसरी बलियो बनाउन सक्छ?

• परमेश्‍वरमाथि पूर्ण भरोसा राख्दा हामी कसरी लाभ उठाउन सक्छौं?