सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर”

“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर”

“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर”

“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर, करमा परेर होइन तर स्वेच्छाले।”—१ पत्रु. ५:२.

१. पत्रुसले आफ्नो पहिलो पत्र लेख्दा ख्रीष्टियनहरूले कस्तो अवस्थाको सामना गरिरहेका थिए?

 नेरोले रोमका ख्रीष्टियनहरूलाई सताउन सुरु गर्नुभन्दा केही समयअघि प्रेषित पत्रुसले आफ्नो पहिलो पत्र लेखे। तिनी आफ्ना सँगी ख्रीष्टियनहरूलाई बलियो पार्न चाहन्थे। ख्रीष्टियनहरूलाई निल्न दियाबल ‘घुमेर हिंडिरहेको’ थियो। त्यसविरुद्ध दृढ भई खडा हुन तिनीहरू “सचेत” रहनुपर्थ्यो र “परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र” बनाउनुपर्थ्यो। (१ पत्रु. ५:६, ८) तिनीहरू एकतामा पनि रहनुपर्थ्यो। तिनीहरूले “एक-अर्कालाई टोक्ने र निल्ने” गर्नु घातक हुने थियो किनभने त्यसो गर्दा तिनीहरू “एक-अर्काद्वारा नष्ट” हुन सक्थे।—गला. ५:१५.

२, ३. हाम्रो सङ्‌घर्ष कसको विरुद्धमा हो अनि हामी यो र यसपछिको लेखमा कस्ता कुराहरूबारे विचार गर्नेछौं?

आज हामी पनि यस्तै अवस्थाको सामना गर्छौं। दियाबल हामीलाई निल्ने मौका खोज्दैछ। (प्रका. १२:१२) अनि निकट भविष्यमा “यस्तो महासङ्‌कष्ट हुनेछ, जो संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।” (मत्ती २४:२१) प्रथम शताब्दीका ख्रीष्टियनहरू आपसमा झैझगडा नगर्न होसियार हुनुपरेझैं हामी पनि होसियार हुनै पर्छ। यसो गर्न कहिलेकाहीं हामीलाई एल्डरहरूको मदत चाहिन्छ।

‘आफ्नो जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्ने’ सुअवसरप्रति एल्डरहरूले कसरी कृतज्ञता बढाउन सक्छन्‌, आउनुहोस्‌ विचार गरौं। (१ पत्रु. ५:२) त्यसपछि, गोठालो गर्ने सही तरिकाबारे ध्यान दिनेछौं। बगालको लागि ‘कडा परिश्रम गरिरहेका अनि नेतृत्व लिइरहेकाहरूलाई’ मण्डलीले कसरी ‘आदर गर्न’ सक्छ भनी यसपछिको लेखमा केलाउनेछौं। (१ थिस्स. ५:१२) यी विषयमा विचार गर्दा हामी आफ्नो मुख्य शत्रुविरुद्ध दृढ भई खडा हुन मदत पाउनेछौं किनभने हामीले लडन्त गर्नुपर्ने त्यही शत्रुसित हो।—एफि. ६:१२.

परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्नुहोस्‌

४, ५. एल्डरहरूले बगालप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? उदाहरण दिनुहोस्‌।

पत्रुसले प्रथम शताब्दीका ख्रीष्टियनहरूमाझ भएका एल्डरहरूलाई आफ्नो जिम्मामा सुम्पिइएको बगालप्रति ईश्‍वरीय दृष्टिकोण राख्न प्रोत्साहन दिए। ( १ पत्रुस ५:१, २ पढ्‌नुहोस्‌) पत्रुसलाई मण्डलीको खम्बा ठानिन्थ्यो तर तिनले अरू एल्डरहरूलाई तुच्छ ठानेनन्‌। बरु तिनले उनीहरूलाई सँगी एल्डरको रूपमा सल्लाह दिए। (गला. २:९) पत्रुसले जस्तै आज परिचालक निकायले पनि मण्डलीका एल्डरहरूलाई परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्ने गहन जिम्मेवारी पूरा गर्ने कोसिस गर्न सल्लाह दिन्छ।

एल्डरहरूले ‘आफ्नो जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार’ गर्नुपर्छ भनी यी प्रेषितले लेखे। तिनीहरूले बगाल यहोवा र येशू ख्रीष्टको हो भनेर स्वीकार्नु महत्त्वपूर्ण थियो। परमेश्‍वरको भेडाको हेरविचार गर्ने सन्दर्भमा ती एल्डरहरू जबाफदेही थिए। मानिलिनुहोस्‌, तपाईंको एक जना घनिष्ठ साथीले तपाईंलाई ऊ कतै जाने भएकोले उसको छोराछोरीको हेरविचार गरिदिन आग्रह गऱ्‍यो। के तपाईं ती छोराछोरीको राम्रो हेरविचार गर्ने र तिनीहरूलाई राम्ररी खुवाउनुहुने छैन र? तिनीहरूमध्ये कोही बिरामी भएमा के तपाईं आवश्‍यक उपचार गर्नुहुने छैन र? त्यसैगरि मण्डलीका एल्डरहरूले ‘परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा किन्‍नुभएको मण्डलीलाई गोठालोले झैं डोऱ्‍याउनुपर्छ।’ (प्रेषि. २०:२८) प्रत्येक भेडा ख्रीष्ट येशूको बहुमूल्य रगतद्वारा किनिएका हुन्‌ भनेर तिनीहरू मनमा राख्छन्‌। जबाफदेही भएकोले एल्डरहरूले बगाललाई खुवाउँछन्‌, सुरक्षा गर्छन्‌ र हेरविचार गर्छन्‌।

६. प्राचीन समयका गोठालाहरूसित कस्तो जिम्मेवारी थियो?

बाइबल समयका गोठालोले कस्ता जिम्मेवारी पूरा गर्नुपर्थ्यो, विचार गर्नुहोस्‌। बगालको हेरविचार गर्न तिनीहरूले दिउँसोको गर्मी र रातको चिसो सहनुपर्थ्यो। (उत्प. ३१:४०) भेडाको लागि तिनीहरू आफ्नो ज्यानसमेत जोखिममा पार्थे। गोठालो केटो दाऊदले आफ्नो बगाललाई सिंह र भालुजस्ता जङ्‌गली जनावरबाट छुटाए। यससम्बन्धमा दाऊदले भने: “म त्यसको चिउँडो समातेर कुटीकुटी त्यसलाई मार्छु।” (१ शमू. १७:३४, ३५) कस्तो बहादुरी! त्यसबेला तिनलाई त्यस जनावरले आक्रमण गर्न सक्थ्यो। तैपनि आफ्नो भेडालाई जोगाउन तिनी पछि हटेनन्‌।

७. प्रतीकात्मक अर्थमा भन्‍नुपर्दा एल्डरहरूले भेडालाई सैतानको बङ्‌गाराबाट कसरी खोस्न सक्छन्‌?

आज एल्डरहरू दियाबलको सिंहरूपी आक्रमणबारे होसियार हुनुपर्छ। यसमा दियाबलको बङ्‌गाराबाट भेडालाई प्रतीकात्मक अर्थमा खोसेर ल्याउने साहसी काम पनि गर्नुपर्ने हुन सक्छ। मानौं, एल्डरहरूले जङ्‌गली जनावरलाई चिउँडोमा समातेर भेडालाई छुटाउन सक्छन्‌। सैतानको प्रलोभनको सामना गरेका असावधान भाइबहिनीहरूलाई तिनीहरूले सम्झाउन सक्छन्‌। ( यहूदा २२, २३ पढ्‌नुहोस्‌) हो, यहोवाको मदतविना एल्डरहरूले यसो गर्न सक्दैनन्‌। घाइते भेडालाई पट्टी बाँधिदिएर र परमेश्‍वरको वचनको सन्चो पार्ने मलहम लगाइदिएर एल्डरहरू कोमलता साथ हेरविचार गर्छन्‌।

८. एल्डरहरूले बगाललाई कतातिर डोऱ्‍याउँछन्‌ र कसरी?

गोठालोले बगाललाई उपयुक्‍त खर्क अनि पानी भएको ठाउँतिर पनि डोऱ्‍याउँथ्यो। त्यसैगरि, बगालले पोसिलो भोजन “ठीक समयमा” प्राप्त गर्न सकून्‌ भनेर एल्डरहरूले नियमित रूपमा सभामा उपस्थित हुन प्रोत्साहन दिंदै बगाललाई मण्डलीतिर डोऱ्‍याउँछन्‌। (मत्ती २४:४५) परमेश्‍वरसितको सम्बन्ध कमजोर भएकाहरूलाई उहाँको वचनमा पाइने पोसिलो भोजन खान जुर्मुऱ्‍याउन एल्डरहरूले थप समय खर्च गर्नुपर्ने हुन सक्छ। बरालिएको भेडा बगालमा फर्कन खोजिरहेको हुन सक्छ। आफ्नो भाइलाई तर्साउनुको सट्टा एल्डरहरूले कोमलता साथ धर्मशास्त्रीय सिद्धान्तहरू व्याख्या गर्छन्‌ र यी सिद्धान्तलाई तिनले जीवनमा कसरी लागू गर्न सक्छन्‌ भनी बताउँछन्‌।

९, १०. यहोवासितको सम्बन्ध कमजोर भएकाहरूलाई एल्डरहरूले कसरी हेरविचार गर्नुपर्छ?

बिरामी भएको बेला तपाईं कस्तो खालको डाक्टरलाई रुचाउनुहुन्छ? अर्को बिरामी हेर्न हतार गर्ने अनि तपाईंको कुरा राम्ररी नसुनिकन तुरुन्तै औषधी लेखिदिने डाक्टर? वा तपाईंको कुरा राम्ररी सुनिदिने, तपाईंमा कस्तो समस्या भएको हुन सक्छ भनेर बुझाइदिने र के-कस्तो उपचार उपलब्ध छ भनेर बताइदिने डाक्टर?

१० त्यसैगरि एल्डरहरूले परमेश्‍वरसितको सम्बन्ध कमजोर भएको व्यक्‍तिको कुरा सुनिदिएर तिनको घाउ निको पार्न मदत दिन सक्छन्‌। यसप्रकार प्रतीकात्मक अर्थमा ‘यहोवाको नाममा तेल घसिदिन’ सक्छन्‌। ( याकूब ५:१४, १५ पढ्‌नुहोस्‌) गिलादको मलहमले जस्तै परमेश्‍वरको वचनले रोगीलाई निको पार्न सक्छ। (यर्मि. ८:२२; इज. ३४:१६) बाइबल सिद्धान्तहरू लागू गरेमा दुर्बल व्यक्‍तिको यहोवासितको सम्बन्ध फेरि बलियो हुन सक्छ। हो, रोगी भेडाको चिन्ता सुनेर तिनीसँगै प्रार्थना गर्दा एल्डरहरूले ठूलो मदत पुऱ्‍याउन सक्छन्‌।

करमा परेर होइन तर स्वेच्छाले

११. परमेश्‍वरको बगाललाई स्वेच्छाले गोठालोले झैं हेरविचार गर्न एल्डरहरूलाई केले उत्प्रेरित गर्छ?

११ बगालको गोठालो कसरी गर्नुपर्छ र कसरी गर्नु हुँदैन भनेर पनि पत्रुसले एल्डरहरूलाई सम्झाए। एल्डरहरूले “करमा परेर होइन तर स्वेच्छाले” परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्नुपर्छ। स्वेच्छाले आफ्ना भाइहरूको सेवा गर्न एल्डरहरूलाई केले उत्प्रेरित गर्छ? येशूको भेडालाई गोठालोले झैं हेरविचार गर्न र खुवाउन पत्रुसलाई केले उत्प्रेरित गऱ्‍यो? एउटा महत्त्वपूर्ण कुरा, तिनी येशूलाई प्रेम अर्थात्‌ माया गर्थे। (यूह. २१:१५-१७) प्रेमले गर्दा एल्डरहरू ‘अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँच्छन्‌, जो तिनीहरूका लागि मर्नुभयो।’ (२ कोरि. ५:१४, १५) यस्तो प्रेमका साथै परमेश्‍वर र आफ्ना भाइहरूप्रतिको प्रेमले एल्डरहरूलाई आफ्नो प्रयास, स्रोत-साधन र समय खर्च गरेर बगालको सेवा गर्न जुर्मुऱ्‍याउँछ। (मत्ती २२:३७-३९) तिनीहरू झर्को मानेर होइन तर स्वेच्छाले आफूलाई अर्पण गर्छन्‌।

१२. प्रेषित पावलले आफूलाई कुन हदसम्म अर्पण गरे?

१२ एल्डरहरूले आफूलाई कुन हदसम्म अर्पण गर्नुपर्छ? भेडाको हेरविचार गर्दा तिनीहरू प्रेषित पावलको देखासिकी गर्छन्‌ जसले येशूको देखासिकी गरे। (१ कोरि. ११:१) थिस्सलोनिकीका भाइहरूप्रति कोमल स्नेह भएकोले पावल र तिनका साथीहरू “परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिनसमेत” असाध्यै खुसी थिए। यसरी तिनीहरूले ‘आफ्नो नवजात शिशुलाई दूध खुवाउने अनि स्याहार गर्ने’ आमाले जस्तै कोमल व्यवहार गरे। (१ थिस्स. २:७, ८) नवजात शिशुको आमाले आफ्नो छोराछोरीप्रति कस्तो महसुस गर्छिन्‌ भनेर पावलले बुझेका थिए। उनी आफ्नो बच्चालाई खुवाउन मध्यरातमा उठ्‌नदेखि लिएर जे गर्न पनि तयार हुन्छिन्‌।

१३. एल्डरहरूले कस्तो सन्तुलन कायम राख्नुपर्छ?

१३ एल्डरहरूले बगाललाई गोठालोले झैं हेरविचार गर्ने जिम्मेवारी र आफ्नो पारिवारिक दायित्वबीच सन्तुलन कायम राख्नुपर्छ। (१ तिमो. ५:८) एल्डरहरूले मण्डलीमा बिताउने समय भनेको उनीहरूले आफ्नो परिवारसित बिताउन सक्ने अनमोल समय हो। यी दुई जिम्मेवारीबीच सन्तुलन कायम राख्ने एउटा तरिका साँझको पारिवारिक उपासनामा कहिलेकाहीं अरूलाई निम्तो दिएर हो। जापानको एक जना एल्डर मासानाओले अविवाहित र सच्चाइमा एक्लो भएका व्यक्‍तिहरूलाई आफ्नो पारिवारिक अध्ययनमा बोलाउने गरेको वर्षौं भइसक्यो। यसरी मदत पाएकामध्ये कतिपय पछि गएर एल्डर भए र तिनीहरूले पनि मासानाओको असल उदाहरण अनुकरण गरे।

बेइमानीद्वारा केही हासिल गर्ने लोभले होइन तर तत्परता साथ गर्नुहोस्‌

१४, १५. “बेइमानीद्वारा केही हासिल गर्ने लोभ”-विरुद्ध एल्डरहरू किन होसियार हुनुपर्छ र यससम्बन्धमा तिनीहरूले पावलको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌?

१४ “बेइमानीद्वारा केही हासिल गर्ने लोभले होइन तर तत्परता साथ” बगाललाई गोठालोले झैं हेरविचार गर्न पनि पत्रुसले एल्डरहरूलाई प्रोत्साहन दिए। एल्डरहरूले धेरै समय खर्चिनुपर्छ तैपनि तिनीहरू आर्थिक लाभको आशा गर्दैनन्‌। “बेइमानीद्वारा केही हासिल गर्ने लोभले” बगाललाई हेरविचार गर्ने खतराप्रति सँगी एल्डरहरूलाई चेतावनी दिनुपर्ने आवश्‍यकता पत्रुसले देखे। “महान्‌ बेबिलोनको” धर्मगुरुहरूका विलासी जीवनमा यो खतरा स्पष्टसँग देखिन्छ जबकि थुप्रै मानिस गरिबीको जीवन जिउन बाध्य छन्‌। (प्रका. १८:२, ३) आजका एल्डरहरूसित पनि त्यस्तो झुकाव राख्नदेखि होसियार हुनुपर्ने ठोस कारण छ।

१५ पावलले ख्रीष्टियन एल्डरहरूका लागि राम्रो उदाहरण बसाले। तिनी एक जना प्रेषित भएकोले थिस्सलोनिकीका ख्रीष्टियनहरूका लागि “खर्चिलो बोझ” बन्‍न सक्थे तर तिनले ‘सित्तैंमा कसैको खानेकुरा खाएनन्‌।’ बरु तिनले ‘मेहनत र कडा परिश्रम गरेर दिनरात काम गरे।’ (२ थिस्स. ३:८) परिभ्रमण कार्यमा लाग्नेलगायत वर्तमान समयका थुप्रै एल्डर यससम्बन्धमा राम्रो उदाहरण बसाल्छन्‌। सँगी भाइबहिनीबाट अतिथि सत्कार स्वीकारे तापनि तिनीहरू ‘कसैको निम्ति खर्चिलो बोझ बन्दैनन्‌।’—१ थिस्स. २:९.

१६. बगाललाई गोठालोले झैं “तत्परता साथ” हेरविचार गर्नुको अर्थ के हो?

१६ एल्डरहरू बगाललाई गोठालोले झैं “तत्परता साथ” हेरविचार गर्छन्‌। तिनीहरूको तत्परता बगाललाई मदत गर्ने तिनीहरूको आत्मत्यागी मनोभावमा देखिन्छ। तर यसको मतलब तिनीहरू बगाललाई यहोवाको सेवा गर्न कर गर्छन्‌ भन्‍ने होइन; न त यी मायालु एल्डरहरू प्रतिस्पर्धाको मनोभाव राखेर परमेश्‍वरको सेवा गर्न अरूलाई प्रोत्साहन दिन्छन्‌। (गला. ५:२६) प्रत्येक भेडाको आ-आफ्नै विशेषता छ भनी एल्डरहरू मानिलिन्छन्‌। आफ्ना भाइहरूलाई आनन्दित भई यहोवाको सेवा गर्ने मदत दिन तिनीहरू तत्पर हुन्छन्‌।

बगालमाथि हैकम जमाएर होइन तर बगालको उदाहरण भएर

१७, १८. (क) येशूले नम्रताबारे सिकाउनुभएको शिक्षा बुझ्न प्रेषितहरूलाई कहिलेकाहीं किन गाह्रो भयो? (ख) हाम्रो अवस्था पनि कसरी मिल्दोजुल्दो छ?

१७ हामीले छलफल गरेअनुसारै गोठालोले झैं हेरविचार गरिरहेको बगाल आफ्नो होइन, परमेश्‍वरको हो भनी एल्डरहरूले सम्झनुपर्छ। “परमेश्‍वरको सम्पत्तिमाथि हैकम” नजमाउन तिनीहरू सजग छन्‌। ( १ पत्रुस ५:३ पढ्‌नुहोस्‌) कहिलेकाहीं येशूका प्रेषितहरूले गलत मनसाय राखे। संसारमाथि शासन गर्नेहरूले जस्तै तिनीहरूले ठूलो ओहदा खोजे।मर्कूस १०:४२-४५ पढ्‌नुहोस्‌।

१८ आज “निरीक्षक बन्‍न अघि बढिरहेको” भाइहरूले आफू अघि बढ्‌नुको कारण जाँच्नु राम्रो हो। (१ तिमो. ३:१) अहिलेका एल्डरहरूले पनि केही प्रेषितहरूले जस्तै अख्तियार वा ठूलो ओहदा पाउने चाहना राखेका छन्‌ कि भनेर आफूलाई इमानदार भई जाँच्न सक्छन्‌। यससम्बन्धमा प्रेषितहरूलाई पनि गाह्रो भएको थियो। त्यसैले अरूमाथि अख्तियार जमाउने सांसारिक झुकावलाई त्याग्न कडा परिश्रम गर्नुपर्छ भनेर एल्डरहरूले बुझ्न सक्छन्‌।

१९. बगाललाई जोगाउन कदम चाल्दा एल्डरहरूले कुन कुरा सम्झनुपर्छ?

१९ हुनत कहिलेकाहीं एल्डरहरू दृढ हुनुपर्ने अवस्था पनि आउँछ। जस्तै: बगाललाई “अत्याचारी ब्वाँसाहरू”-बाट जोगाउन। (प्रेषि. २०:२८-३०) पावलले “प्रोत्साहन दिइरहनू अनि पूर्ण अख्तियारसहित सुधारिरहनू” भनी तीतसलाई बताए। (ती. २:१५) तर यस्तो कदम चाल्दासमेत एल्डरहरूले सम्बन्धित व्यक्‍तिलाई मर्यादा देखाउने प्रयास गर्छन्‌। कठोर हुँदै आलोचना गर्नुभन्दा मायालु ढङ्‌गले सम्झाउँदा त्यस व्यक्‍तिको मनसम्म पुग्न र तिनलाई सही बाटो पछ्याउने उत्प्रेरणा दिन अक्सर प्रभावकारी हुन्छ भनी तिनीहरू स्वीकार्छन्‌।

२०. राम्रो उदाहरण बसाल्ने सम्बन्धमा एल्डरहरूले कसरी येशूको अनुकरण गर्न सक्छन्‌?

२० ख्रीष्टको असल उदाहरणले एल्डरहरूलाई बगाललाई प्रेम गर्न उत्प्रेरित गर्छ। (यूह. १३:१२-१५) प्रचार गर्ने र चेला बनाउने काममा उहाँले आफ्ना चेलाहरूलाई कसरी सिकाउनुभयो भन्‍ने विवरण पढ्‌दा हामी प्रभावित हुन्छौं। नम्रतासम्बन्धी उहाँको उदाहरणले चेलाहरूको मन छोयो र तिनीहरू ‘विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍ने’ उदाहरण पछ्याउन उत्प्रेरित भए। (फिलि. २:३) त्यसैगरि अहिलेका एल्डरहरू पनि येशूको उदाहरण अनुकरण गर्न उत्प्रेरित हुन्छन्‌ र यसप्रकार तिनीहरू “बगालको उदाहरण” हुन चाहन्छन्‌।

२१. एल्डरहरूले कस्तो इनामको प्रतीक्षा गर्न सक्छन्‌?

२१ एल्डरहरूलाई दिएको सल्लाहको अन्तमा पत्रुसले भविष्यको एउटा प्रतिज्ञाबारे उल्लेख गरे। ( १ पत्रुस ५:४ पढ्‌नुहोस्‌) अभिषिक्‍त निरीक्षकहरूले स्वर्गमा ख्रीष्टसित “कहिल्यै नओइलाउने महिमित मुकुट” पाउनेछन्‌। “अरू भेडा”-का उपगोठालाहरूले “मुख्य गोठालो”-को शासनअन्तर्गत पृथ्वीमा परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्ने सुअवसर पाउनेछन्‌। (यूह. १०:१६) अगुवाइ लिन नियुक्‍त गरिएकाहरूलाई मण्डलीका सदस्यहरूले कसरी साथ दिन सक्छन्‌, अर्को लेखमा छलफल गरिनेछ।

पुनरावलोकन गर्दा

• पत्रुसले सँगी एल्डरहरूलाई आफ्नो जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्न सल्लाह दिनु किन उपयुक्‍त थियो?

• परमेश्‍वरसितको सम्बन्ध कमजोर भएको व्यक्‍तिलाई एल्डरहरूले कसरी गोठालोले झैं हेरविचार गर्नुपर्छ?

• आफ्नो जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्न एल्डरहरूलाई केले उत्प्रेरित गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

प्राचीन समयका गोठालाहरूले जस्तै आजका एल्डरहरूले आफ्नो जिम्मामा सुम्पिइएको “भेडा”-लाई जोगाउनै पर्छ