सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘मुठाहरू, विशेष गरी चर्मपत्रहरू लिएर आऊ’

‘मुठाहरू, विशेष गरी चर्मपत्रहरू लिएर आऊ’

‘मुठाहरू, विशेष गरी चर्मपत्रहरू लिएर आऊ’

प्रेषित पावलले आफ्नो लागि केही लिखित सामाग्रीहरू ल्याइदिन सँगी मिसनरी तिमोथीलाई उक्‍त आग्रह गरे। कस्ता मुठा र चर्मपत्रबारे पावल कुरा गर्दै थिए? तिनले यसो भन्‍नुको कारण के थियो? अनि तिनको यो आग्रहबाट हामी के सिक्न सक्छौं?

इस्वी संवत्‌ प्रथम शताब्दीको बीचतिर पावलले यी शब्दहरू लेख्दा हिब्रू धर्मशास्त्रका ३९ वटा पुस्तकहरू २२ अथवा २४ पुस्तकमा विभाजित थिए। यीमध्ये प्रायजसो पुस्तक सम्भवतः भिन्‍नाभिन्‍नै मुठामा थिए। प्राध्यापक एलेन मिलार्डअनुसार ती मुठाहरू त्यतिबेला महँगा भए तापनि “अलि धनी मानिसहरूको पहुँचभन्दा बाहिरको थिएन।” कोही-कोहीसित एउटा मात्र भए पनि मुठा हुन्थ्यो। उदाहरणको लागि, इथियोपियाली नपुंसकको रथमा एउटा मुठा थियो र उनले “भविष्यवक्‍ता यशैयाको पुस्तक आवाज निकालेर पढिरहेका थिए।” उनी “इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा उनलाई सुम्पिएको थियो।” उनी धनी थिए होलान्‌ किनभने उनीसित धर्मशास्त्रको केही भाग थियो।—प्रेषि. ८:२७, २८.

पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “मैले त्रोआसमा कार्पसकहाँ छोडेको खास्टोका साथै मुठाहरू, विशेष गरी चर्मपत्रहरू पनि तिमी आउँदा आफूसितै लिएर आऊ।” (२ तिमो. ४:१३) यसले के देखाउँछ भने पावलसित थुप्रै पुस्तक थिए। पावलको लागि आफूसित भएका पुस्तकमध्ये परमेश्‍वरको वचनभन्दा महत्त्वपूर्ण पुस्तक अरू कुन हुन सक्थ्यो होला र? यस पदमा “चर्मपत्रहरू” भनी उल्लेख गरिएको शब्दबारे बाइबलविद्‌ ए. टी. रोबर्टसनले यस्तो टिप्पणी गरे: “यी सम्भवतः पुरानो नियमका पुस्तकहरूको प्रति हुनुपर्छ किनभने पपाइरसभन्दा चर्मपत्र महँगो [र टिकाउ] थियो।” मोशाको व्यवस्था सिकाउने र सबै मानिसले सम्मान गर्ने “गमलिएलको चरणमा” पावलले युवावस्थादेखि नै ‘शिक्षा पाएका’ थिए। त्यसैले पावलसित परमेश्‍वरको वचनको मुठा हुनु अचम्मलाग्दो कुरा होइन।—प्रेषि. ५:३४; २२:३.

मुठाको प्रयोग ख्रीष्टियनहरूले कसरी गरे?

हुनत धेरैजसो मानिससित धर्मशास्त्रको मुठा थिएन। त्यसोभए त्यसबेलाका प्रायजसो ख्रीष्टियनहरूले परमेश्‍वरको वचन कसरी सुन्‍न र पढ्‌न पाउँथे? पावलले तिमोथीलाई लेखेको पहिलो पत्रले यसबारे केही सङ्‌केत दिन्छ। तिनले लेखे: “म नआउन्जेल तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने . . . काममा लागिरह।” (१ तिमो. ४:१३) मानिसहरूसामु पढ्‌ने काम ख्रीष्टियन मण्डलीको सभाको एउटा भाग थियो। अनि मोशाको समयदेखि परमेश्‍वरका जनबीच यो एउटा प्रचलन नै थियो।—प्रेषि. १३:१५; १५:२१; २ कोरि. ३:१५.

तिमोथी एक जना एल्डर थिए। त्यसैले धर्मशास्त्रको आफ्नै प्रति नभएकाहरूको फाइदाको लागि तिनले आवाज निकालेर ‘पढ्‌नु’ पर्थ्यो। निश्‍चय नै, मानिसहरूसामु परमेश्‍वरको वचन पढिंदा एउटा शब्द पनि नछुटाउन सबैले ध्यान दिएर सुन्थे। अनि सभामा पढेका कुराहरू आमाबाबु तथा छोराछोरीले घरमा पक्कै पनि छलफल गर्थे।

यशैयाको पुस्तकको चिरपरिचित मृत सागर पाण्डुलिपि झन्डै २४ फिट (७.३ मि) लामो छ। दुवै छेउमा छडी भएको र सुरक्षित होओस्‌ भनेर अक्सर खोल राख्ने गरिएको मुठा असाध्यै गह्रौं हुन्थ्यो। सायद प्रायजसो ख्रीष्टियनले प्रचारकार्यमा धेरै मुठा बोक्न सक्दैनथे। आफ्नो व्यक्‍तिगत प्रयोगको लागि पावलसित केही मुठा भए तापनि सायद आफूसित भएका सबै मुठाहरू लिएर यात्रा गर्न सम्भव थिएन। त्यसैले तिनले केही मुठा त्रोआसमा आफ्नो साथी कार्पसकहाँ छोडे।

पावलको उदाहरणबाट हामी के सिक्न सक्छौं?

दोस्रो पटक रोमको कैदमा परेका पावलले मुठाहरू ल्याइदिन आग्रह गर्नुभन्दा केही समयअघि यसो लेखे: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड पूरा गरेको छु . . . परमेश्‍वरको स्तरबमोजिम असल काम गर्दा पाइने मुकुट मेरो लागि अहिलेदेखि साँचेर राखिएको छ।” (२ तिमो. ४:७, ८) तिनले यी शब्दहरू इस्वी संवत्‌ ६५ तिर सम्राट्‌ नेरोले सतावट दिएको समयमा लेखेका हुन सक्छन्‌। यस समयमा सतावट अत्यन्तै तीव्र थियो। वास्तवमा तिनले आफूलाई मृत्युदण्ड दिइने समय नजिकै छ भनेर बुझेका थिए। (२ तिमो. १:१६; ४:६) त्यसैले पावलले मुठाहरू प्राप्त गर्न तीव्र इच्छा गर्नुको कारण हामी बुझ्न सक्छौं। आफूले उत्तम लडन्त पूरा गरेकोमा विश्‍वस्त भए तापनि परमेश्‍वरको वचन अध्ययन गरेर तिनले आफूलाई बलियो बनाइरहन चाहे।

पावलले उक्‍त आग्रह गर्दा तिमोथी सायद एफिससमै थिए। (१ तिमो. १:३) एफिससदेखि त्रोआस हुँदै रोममा पुग्ने बाटो लगभग १,६०० किलोमिटर थियो। त्यही पत्रमा पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “हिउँदअघि नै मकहाँ आउन सक्दो कोसिस गर।” (२ तिमो. ४:२१) पावलले उक्‍त आग्रह गरेको समयभित्रै रोम पुग्न तिमोथीले डुङ्‌गा पाए कि पाएनन्‌ भनेर बाइबलले बताउँदैन।

“मुठाहरू, विशेष गरी चर्मपत्रहरू” लिएर आउन पावलले गरेको आग्रहबाट हामी के सिक्न सक्छौं? जीवनको अत्यन्तै कठिन समयमा तिनले परमेश्‍वरको वचनप्रतिको तिर्सना कायमै राखे। यसैले गर्दा तिनले यहोवासित घनिष्ठ सम्बन्ध कायम राख्न, उहाँको सेवामा सक्रिय हुन र थुप्रैलाई प्रोत्साहन दिन सकेका थिए, होइन र?

आज हामीसित पनि एउटा सिङ्‌गो बाइबल छ भने त्यसको लागि हामी खुसी हुन सक्छौं! हामीमध्ये कतिपयसित त थुप्रै प्रति तथा संस्करण छन्‌। पावलले जस्तै हामीले पनि धर्मशास्त्रको गहिरा समझ हासिल गर्न उत्सुकता जगाउनुपर्छ। आफूले लेख्न पाएका १४ वटा प्रेरित पत्रमध्ये तिमोथीलाई लेखेको दोस्रो पत्र तिनको अन्तिम पत्र थियो। यस पुस्तकको अन्ततिर तिनको व्यक्‍तिगत आग्रह पाउँछौं। वास्तवमा, ‘मुठाहरू, विशेष गरी चर्मपत्रहरू लिएर आऊ’ भनी तिमोथीलाई गरेको आग्रह पावलको अन्तिम इच्छामध्ये एक थियो।

के तपाईं पनि पावलले जस्तै विश्‍वासको उत्तम लडन्त पूरा गर्न व्यग्र इच्छा गर्नुहुन्छ? के तपाईं आफूलाई यहोवाको सेवामा सक्रिय राख्न र उहाँले चाहनुभएसम्म साक्षी दिने काममा भाग लिन तयार हुनुहुन्छ? त्यसोभए पावलले ख्रीष्टियनहरूलाई प्रोत्साहन दिएझैं किन नगर्ने? आजकलको बाइबललाई मुठाभन्दा सजिलो किसिमले पढ्‌न सकिन्छ अनि यो धेरैभन्दा धेरै मानिससित उपलब्ध छ। त्यसैले यसलाई उत्सुकता साथ र नियमित रूपमा अध्ययन गरेर ‘आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा सधैं होसियार’ रहौं।—१ तिमो. ४:१६.

[पृष्ठ १८, १९-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

एफिसस

त्रोआस

रोम