सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘सबै मार्गहरूमा सफलता पाउनुहोस्‌’ कसरी?

‘सबै मार्गहरूमा सफलता पाउनुहोस्‌’ कसरी?

सबै मार्गहरूमा सफलता पाउनुहोस्‌’ कसरी?

“सफलता”—यो एउटा एकदमै आकर्षक शब्द हो! केहीले व्यापारजगत्‌मा उन्‍नति हासिल गरेका छन्‌ र धनी बन्‍ने अनि नाम कमाउने सन्दर्भमा ठूलो सफलता प्राप्त गरेका छन्‌। अरू कतिपयले भने सफल हुने सपना देखेका छन्‌ तर पूरै असफल भएका छन्‌।

तपाईं आफ्नो जीवनमा जुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ, सफलता धेरै हदसम्म त्यसैमा निर्भर हुन्छ। अर्को दुइटा महत्त्वपूर्ण तत्त्व हुन्‌: आफ्नो समय तथा शक्‍तिको प्रयोग कसरी गर्नुहुन्छ र आफै अग्रसर हुनुभएको छ/छैन।

थुप्रै ख्रीष्टियनले प्रचारकार्यमा पूरापूर भाग लिंदा गहिरो सन्तुष्टि महसुस गरेका छन्‌। पूर्ण-समय सेवालाई आफ्नो पेसा बनाउँदा जवान तथा वृद्ध दुवैले सफलता प्राप्त गर्न सकेका छन्‌। तैपनि कतिपयले प्रचारकार्यलाई अलि झन्झटिलो महसुस गर्न सक्छन्‌ र अन्य लक्ष्यहरूको पछि लागेर यसलाई दोस्रो स्थानमा राख्छन्‌। यस्तो किन हुन सक्छ? साँच्चै मूल्यवान्‌ कुराबाट आफ्नो दृष्टि नगुमाउन तपाईं के गर्न सक्नुहुन्छ? अनि तपाईं कसरी ‘सबै मार्गहरूमा सफलता पाउन सक्नुहुन्छ’?—यहो. १:८.

अतिरिक्‍त क्रियाकलाप र सोख

ख्रीष्टियन युवाहरूले साँचो परमेश्‍वरको सेवा गर्ने र अतिरिक्‍त क्रियाकलापमा भाग लिनेबीच उचित सन्तुलन कायम गर्नु आवश्‍यक छ। यसो गर्नेहरू जीवनमा सफलताको मार्गतर्फ अघि बढिरहेका छन्‌ र तिनीहरू न्यानो प्रशंसा पाउन योग्यका छन्‌।

तथापि, केही जवान ख्रीष्टियनहरू अतिरिक्‍त क्रियाकलापहरूमा तथा आफ्नो सोख पूरा गर्नमा तल्लीन हुन्छन्‌। यस्ता क्रियाकलापहरू आफैमा त अस्वीकार्य नहोला। तर जवान ख्रीष्टियनहरूले आफैलाई सोध्नुपर्छ: ‘यस्ता क्रियाकलापहरूले मेरो कति समय खान्छ? सरसङ्‌गतबारे नि? यस्ता क्रियाकलापमा भाग लिंदा म कस्तो मनोभाव राख्न पुग्छु? अनि मेरो जीवनको प्रमुख चासो के हुनेछ?’ कुनै मानिस यस्तो क्रियाकलापमा तल्लीन हुँदा परमेश्‍वरसितको सम्बन्ध कायम राख्न ऊसित पर्याप्त समय र शक्‍ति नै हुँदैन भनेर सायद तपाईंले बुझ्नुभएकै छ। प्राथमिकताहरू निर्धारण गर्नु किन महत्त्वपूर्ण छ भनेर अब तपाईंले थाह पाउनुभयो होला।—एफि. ५:१५-१७.

भिक्टरको a अनुभवलाई विचार गर्नुहोस्‌। तिनी भन्छन्‌: “बाह्र वर्षको हुँदा म भलिबल क्लबमा सामेल भएँ। समयको दौडान मैले थुप्रै पुरस्कार जितें। मसित स्टार बन्‍ने मौका थियो।” तर पछि गएर, खेलकुदले यहोवासितको सम्बन्धमा पारिरहेको असरले भिक्टरलाई बेचैन पाऱ्‍यो। एक दिन, बाइबल पढ्‌ने कोसिस गर्दागर्दै तिनी भुसुक्कै निदाए। साथै प्रचारकार्यबाट पनि त्यति आनन्द प्राप्त गर्न नसकेको तिनले महसुस गरे। “खेलकुदले मेरो शक्‍ति त हरण गरिरहेकै थियो तर यसले गर्दा यहोवाको सेवासित सम्बन्धित क्रियाकलापप्रति मेरो जोस पनि सेलाइरहेको मैले चाँडै महसुस गरें। आफूले सक्नेजति गरिरहेको थिइनँ भनेर मलाई थाह थियो।”

उच्च शिक्षा

आफ्नो परिवारको हेरविचार गर्नु ख्रीष्टियनको धर्मशास्त्रीय जिम्मेवारी हो अनि यसमा उनीहरूको भौतिक आवश्‍यकता पूरा गर्नु पनि समावेश छ। (१ तिमो. ५:८) तर के यसको लागि कलेजको वा विश्‍वविद्यालयको डिग्री साँच्चै आवश्‍यक छ?

उच्च शिक्षाको पछि लाग्दा यहोवासितको सम्बन्धमा कस्तो असर पर्ला भनेर विचार गर्नु राम्रो हो। एउटा धर्मशास्त्रीय उदाहरणद्वारा यो कुरा बुझौं।

बारूक भविष्यवक्‍ता यर्मियाका सचिव थिए। एक चोटि बारूक यहोवाको सेवा गर्ने सुअवसरमा ध्यान केन्द्रित गर्नुको सट्टा महत्त्वाकाङ्‌क्षी भए। यहोवाले यो कुरा याद गर्नुभयो र यर्मियाद्वारा तिनलाई यस्तो चेतावनी दिनुभयो: “के तँचाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्‌? ती नखोज्‌।”—यर्मि. ४५:५.

बारूकले खोजिरहेका “ठूला कुराहरू” के थिए? तिनी यहूदी समाजमा आफ्नो नाम राख्ने प्रलोभनमा परेका हुन सक्छन्‌। अथवा भौतिक संवृद्धि पनि तिनको लागि ठूला कुराहरू भएको हुन सक्छ। परिस्थिति जेसुकै होस्‌, तिनले अझ महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवासित नजिक भइरहन मदत गर्ने कुरालाई बिर्सेका थिए। (फिलि. १:१०) तर बारूकले यर्मियामार्फत यहोवाले दिनुभएको चेतावनी सुने र युद्धको लुटको धनसरह तिनको ज्यान जोगियो।—यर्मि. ४३:६.

यस विवरणबाट हामी के सिक्न सक्छौं? बारूकले सल्लाह पाएको घटनाले के सङ्‌केत गर्छ भने केही न केही गडबडी थियो। तिनले आफ्नै लागि ठूला कुराहरू खोजिरहेका थिए। तपाईं जीवन धान्‍न सक्नुहुन्छ भने आफ्नो वा आफ्ना आमाबाबु वा अन्य नातागोताको आकाङ्‌क्षा पूरा गर्न मात्र थप शिक्षाको लागि समय, पैसा र प्रयास खर्च गर्नु के आवश्‍यक छ र?

घेजोस्‌ नाम गरेका एक जना कम्प्युटर प्रोग्रामरलाई विचार गर्नुहोस्‌। आफ्ना सहकर्मीहरूको लहलहैमा लागेर तिनले विशेष प्रकारको थप तालिम लिन एउटा विस्तृत कोर्स लिए। तर चाँडै यहोवाको सेवासित सम्बन्धित गतिविधिको लागि तिनीसित समय भएन। तिनी सम्झन्छन्‌: “म सधैं लखतरान हुन्थें। यहोवाको सेवासित सम्बन्धित आफ्नो लक्ष्यमा पुग्न नसकेकोले मेरो अन्तस्करणले मलाई घोच्थ्यो।”

रोजगारीमै चुर्लुम्म डुब्ने

परमेश्‍वरको वचनले साँचो ख्रीष्टियनहरूलाई चाहे तिनीहरू जागिरे होऊन्‌ वा जागिर दिने, कडा परिश्रम गर्न र जिम्मेवार मानिस बन्‍न प्रोत्साहन दिन्छ। प्रेषित पावलले लेखे: “चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तै गरी होइन तर यहोवाको लागि जस्तै गरी तनमनले गर।” (कल. ३:२२, २३) कडा परिश्रम गर्नु प्रशंसायोग्य हो तर अर्को कुरा पनि चाहिन्छ। त्यो हो, हाम्रो सृष्टिकर्तासितको असल सम्बन्ध। (उप. १२:१३) कुनै ख्रीष्टियन आफ्नो रोजगारीमै चुर्लुम्म डुब्छ भने परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिहरू सजिलै दोस्रो स्थानतर्फ धकेलिन सक्छ।

आफ्नो रोजगारीमै तल्लीन हुँदा कुनै ख्रीष्टियनले परमेश्‍वरसितको आफ्नो सम्बन्ध बलियो बनाइराख्न र आफ्नो परिवारलाई मदत गर्न चाहिने शक्‍ति नै नभएको महसुस गर्न सक्छन्‌। राजा सुलेमानले “दुवै मुठी भएर व्यर्थको परिश्रम” गर्नु बतासलाई खेदेझैं हो भने। कुनै ख्रीष्टियन आफ्नो रोजगारीमै लग्गु भएमा तिनलाई लामो समयसम्म गम्भीर तनाव हुन सक्छ। यस्तो व्यक्‍ति लत्तो छोड्‌ने हदसम्म पुग्नेगरि आफ्नो जागिरको दाससमेत बन्‍न सक्छ। यसो भएमा के तिनले साँच्चै ‘सुखी हुन र आफ्नो परिश्रमको आनन्द उपभोग गर्न’ सक्छन्‌ र? (उप. ३:१२, १३; ४:६) अझ महत्त्वपूर्ण, के तिनीसित आफ्नो परिवारप्रतिको जिम्मेवारी पूरा गर्न र परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिमा भाग लिन चाहिने शारीरिक र भावनात्मक बल बाँकी रहनेछ?

पूर्वी युरोपमा बस्ने यानुस बगैंचासम्बन्धी आफ्नो व्यापारमा तल्लीन भए। तिनी सम्झन्छन्‌: “म नयाँ तरिका अपनाएर काम गर्न अग्रसर भएकोले अनि आफूले पाएको काम पूरा गर्न सक्षम भएकोले मानिसहरूले मेरो प्रशंसा गरे। तर अर्कोतर्फ यसले परमेश्‍वरसितको मेरो सम्बन्धलाई भने असर गरिरहेको थियो र मैले प्रचारकार्यमा भाग लिन छोडें। चाँडै म सभाहरूमा उपस्थित हुन छोडें। म यत्ति घमन्डी भएँ कि एल्डरहरूले दिएको सल्लाहलाई मैले तिरस्कार गरें र मण्डलीबाटै तर्किएँ।”

तपाईं आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ

कुनै ख्रीष्टियनले परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई कमजोर बनाउन सक्ने तीन वटा क्षेत्र हामीले विचार गऱ्‍यौं। के तपाईं यीमध्ये कुनै अवस्थामा हुनुहुन्छ? हुनुहुन्छ भने निम्न प्रश्‍न, शास्त्रपद र टिप्पणीले तपाईं साँच्चै सफलताको मार्गतर्फ अघि बढिरहनुभएको छ कि छैन भनी पक्का गर्न मदत गर्छ।

अतिरिक्‍त क्रियाकलाप र सोख: यस्ता गतिविधिमा तपाईं कत्तिको तल्लीन हुनुहुन्छ? के यस्ता कुराहरूले परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिको लागि तपाईंले पहिला दिने गरेको समय खाँदैछ? के तपाईंलाई ख्रीष्टियन भाइबहिनीसितको सङ्‌गति रमाइलो लाग्न छोडेको छ? त्यसो हो भने यहोवालाई यस्तो बिन्ती गर्ने राजा दाऊदको अनुकरण गर्नुहोस्‌: “जुन मार्गमा मैले चल्नुपर्छ, त्यो मलाई जान्‍न दिनुहोस्‌।”—भज. १४३:८.

अगाडि उल्लेख गरिएका भिक्टरलाई एक जना परिभ्रमण निरीक्षकले मदत गरे। यी निरीक्षकले भिक्टरलाई यसो भने: “तपाईं भलिबलसम्बन्धी कुराकानी गर्दा खुबै जोस्सिएर गर्नुहुन्छ नि।” भिक्टर भन्छन्‌: “त्यो टिप्पणी सुनेर म झसङ्‌ग भएँ। आफू त्यसमै लग्गु भएको चाल पाएँ। तुरुन्तै मैले क्लबका साथीहरूसित सङ्‌गत गर्न छोडें र मण्डलीमा साथीहरू खोजें।” आज भिक्टर आफ्नो मण्डलीमा जोसका साथ यहोवाको सेवा गरिरहेका छन्‌। तिनी यस्तो सल्लाह दिन्छन्‌: “स्कूलको गतिविधिले तपाईंलाई यहोवासित नजिक बनाइरहेको छ या उहाँबाट टाढा बनाइरहेको छ, यसबारे तपाईंका साथीहरू, आमाबाबु वा मण्डलीका एल्डरहरूले तपाईंबारे के याद गरेका छन्‌, उनीहरूलाई सोध्नुहोस्‌।”

परमेश्‍वरको सेवा गर्न तपाईं अझ थप सुअवसर प्राप्त गर्न चाहनुहुन्छ भनेर आफ्ना मण्डलीका एल्डरहरूलाई प्रकट गर्नुभए कसो होला? के तपाईं सहयोगको आवश्‍यकता परेका वृद्ध-वृद्धालाई किनमेल गर्न मदत दिएर वा घरायसी काममा सघाएर साथ दिन सक्नुहुन्छ? तपाईंको उमेर जतिसुकै भए पनि पूर्ण-समय सेवामा भाग लिन सक्नुहुन्छ र आफू आनन्दित हुनुको कारण अरूलाई बताउन सक्नुहुन्छ।

उच्च शिक्षा: येशूले ‘आफ्नै महिमा खोज्ने’ कुराविरुद्ध चेतावनी दिनुभयो। (यूह. ७:१८) कतिसम्म शिक्षा लिने भन्‍ने सम्बन्धमा तपाईंले जेसुकै निर्णय गरे तापनि के तपाईंले ‘अझ महत्त्वपूर्ण कुराहरूलाई पक्का गर्नुभएको छ’?—फिलि. १:९, १०.

अगाडि उल्लेख गरिएका कम्प्युटर प्रोग्रामर घेजोस्‌ले जीवनमा केही परिवर्तन गरे। तिनले भने: “एल्डरहरूले दिएको सल्लाहलाई गम्भीरता साथ लिंदै मैले आफ्नो जीवन सरल बनाएँ। मैले थप शिक्षा लिनु आवश्‍यक छैन भनेर महसुस गरें। यसले मेरो समय र शक्‍ति मात्र खाने थियो।” घेजोस्‌ मण्डलीका क्रियाकलापमा अझ धेरै संलग्न भए। तिनी अहिले बाइबल स्कूल फर सिङ्‌गल ब्रदर्स भनिने स्कूलमा पनि सहभागी भए। हो, तिनले थप ईश्‍वरीय शिक्षा लिन “समयको पूर्ण सदुपयोग” गरे।—एफि. ५:१६.

रोजगारी: के तपाईं आफ्नो काममै तल्लीन भएकोले परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिहरू पछि परिरहेका छन्‌? के तपाईं आफ्नो परिवारसित कुराकानी गर्न प्रशस्त समय निकाल्नुहुन्छ? अनि मण्डलीमा के तपाईं आफ्ना भाषणहरूको गुणस्तरलाई निखार्दै हुनुहुन्छ? अरूसित प्रोत्साहनदायी कुराकानी गर्नेबारे नि? ‘परमेश्‍वरको भय राख्नुहोस्‌, र उहाँका आज्ञा पालन गर्नुहोस्‌’ अनि तपाईंले यहोवाबाट प्रशस्त आशिष्‌ पाउनुहुनेछ र “आफ्नो परिश्रमको” फल देख्नुहुनेछ।—उप. २:२४; १२:१३.

अगाडि उल्लेख गरिएका यानुस बगैंचासम्बन्धी आफ्नो व्यापारमा सफल भएनन्‌; बरु तिनको व्यापार डुब्यो। कमाइ नभएपछि र भारी ऋणमा डुबेपछि तिनी यहोवाकहाँ फर्के। यानुसले आफ्नो कामकुरालाई मिलाए र तिनी अहिले मण्डलीमा नियमित अग्रगामी र एल्डरको रूपमा सेवा गर्छन्‌। तिनी भन्छन्‌: “आफूसित भएको आधारभूत कुराहरूमा सन्तुष्ट हुँदा र आफ्नो शक्‍ति परमेश्‍वरको सेवासित सम्बन्धित क्रियाकलापको लागि लगाउँदा मनोशान्ति पाउनुका साथै ढुक्क महसुस गर्न सकेको छु।”—फिलि. ४:६, ७.

आफ्नो मनसाय र प्राथमिकतालाई इमानदार भई केलाउन समय निकाल्नुहोस्‌। यहोवाको सेवा गर्दा जीवनभर सफल भइन्छ। यसलाई आफ्नो जीवनको प्रमुख कुरा बनाउनुहोस्‌।

तपाईंले केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। “परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा” के रहेछ भनी राम्ररी थाह पाउन केही अनावश्‍यक कुरालाई हटाउनुसमेत पर्ला। (रोमी १२:२) तर पूरा मनले यहोवाको सेवा गरेर तपाईंले ‘सबै मार्गहरूमा सफलता पाउन सक्नुहुन्छ।’

[फुटनोट]

a केही नाम परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३१-मा भएको पेटी/चित्र]

तपाईं कसरी आफ्नो सबै मार्गमा सफलता पाउन सक्नुहुन्छ?

ध्यान विकर्षण गर्ने तीनथुप्रो कुरा भएकोले तपाईं साँच्चै मूल्यवान्‌ कुराबाट आफ्नो दृष्टि गुमाउनदेखि कसरी जोगिन सक्नुहुन्छ? तलका प्रश्‍नहरूमा मनन गर्न समय निकालेर आफ्नो मनसाय र प्राथमिकता केलाउनुहोस्‌:

अतिरिक्‍त क्रियाकलाप र सोख

▪ यस्तो क्रियाकलापमा भाग लिंदा तपाईं कस्तो मनोवृत्तिको वशमा पर्नुहुन्छ?

▪ यसले कति समय खान्छ?

▪ कतै यो तपाईंको जीवनको प्रमुख कुरा पो हुने हो कि?

▪ परमेश्‍वरको सेवासित सम्बन्धित क्रियाकलापको लागि तपाईंले पहिला बिताउने गरेको समयलाई यसले खाँदैछ कि?

▪ सङ्‌गतबारे नि?

▪ यी साथीहरू नै तपाईंलाई सँगी ख्रीष्टियनहरूभन्दा रमाइलो लाग्छन्‌ कि?

उच्च शिक्षा

▪ यदि आफ्नो जीवन धान्‍न सक्नुहुन्छ भने के तपाईंले थप शिक्षाको लागि आफ्नो समय, पैसा र शक्‍ति खर्च गर्नुपर्छ?

▪ आफ्नो जीवन धान्‍न के तपाईंले कलेजको वा विश्‍वविद्यालयको डिग्री हासिल गर्नु खाँचो छ?

▪ सभाको उपस्थितिलाई यसले कस्तो असर पार्ला?

▪ के तपाईंले ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुभएको छ’?

▪ यहोवाले तपाईंको हेरविचार गर्न सक्नुहुन्छ भन्‍ने विश्‍वस्ततालाई के तपाईंले बलियो पार्नु आवश्‍यक छ?

रोजगारी

▪ के तपाईंको छनौटले “आफ्नो परिश्रमको” फलमा रमाउन मदत गर्छ?

▪ के तपाईंसित पारिवारिक जिम्मेवारी पूरा गर्न र परमेश्‍वरको सेवासित सम्बन्धित क्रियाकलापमा भाग लिनको लागि चाहिने शारीरिक र भावनात्मक बल छ?

▪ के तपाईं आफ्नो परिवारसित कुराकानी गर्न यथेष्ट समय निकाल्नुहुन्छ?

▪ कतै तपाईं काममै तल्लीन भएर परमेश्‍वरको सेवासित सम्बन्धित क्रियाकलापलाई दोस्रो स्थानमा पो राख्दै हुनुहुन्छ कि?

▪ के यसले तपाईंको भाषणको गुणस्तरमा असर पारेको छ?

[पृष्ठ ३०-मा भएको चित्र]

यहोवाले बारूकलाई महत्त्वाकाङ्‌क्षी नहुन चेतावनी दिनुभयो