सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अङ्‌ग्रेजीमा प्रहरीधरहरा-को सरल संस्करण

अङ्‌ग्रेजीमा प्रहरीधरहरा-को सरल संस्करण

अङ्‌ग्रेजीमा प्रहरीधरहरा-को सरल संस्करण

सरल अङ्‌ग्रेजी प्रयोग गरिएको प्रहरीधरहरा-को पहिलो अङ्‌क प्रकाशन गर्न पाउँदा हामी खुसी छौं। यो नयाँ संस्करण एक वर्षसम्म परीक्षणको रूपमा प्रकाशन गरिनेछ। उपयोगी साबित भएमा यो नयाँ संस्करणलाई त्यसपछि पनि निरन्तरता दिइनेछ। यो संस्करण नियमित अध्ययन संस्करण सँगसँगै मण्डलीहरूमा पठाइनेछ। सरल संस्करणमा अध्ययन लेखहरूका साथै अटाएसम्म अरू लेखहरू पनि राखिनेछ। तर प्रहरीधरहरा-को सरल संस्करण किन आवश्‍यक पऱ्‍यो?

मण्डलीमा हरेक हप्ता हुने प्रहरीधरहरा अध्ययनमार्फत हामीले पाउने जानकारी सबैले बुझ्नु आवश्‍यक छ किनभने “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले हामीलाई सिकाउन प्रयोग गर्ने मुख्य माध्यम भनेकै प्रहरीधरहरा अध्ययन हो। (मत्ती २४:४५) संसारभरका हाम्रा थुप्रै भाइबहिनीहरू अङ्‌ग्रेजी भाषाका सभाहरूमा उपस्थित हुन्छन्‌। तर कहिलेकाहीं भने तिनीहरूलाई प्रहरीधरहरा-मा प्रयोग गरिने अङ्‌ग्रेजी बुझ्न हम्मेहम्मे पर्छ। यसका थुप्रै कारण छन्‌। उदाहरणको लागि अफ्रिका, एसिया र प्रशान्त महासागरका केही देशहरूमा बस्ने हाम्रा भाइहरूले सभामा र प्रचारमा अङ्‌ग्रेजी भाषा प्रयोग गर्छन्‌ तर घरमा भने अर्कै भाषा बोल्छन्‌। साथै, ती ठाउँमा बोलिने अङ्‌ग्रेजी भाषा प्रहरीधरहरा-को अध्ययन संस्करणमा चलाइने अङ्‌ग्रेजीभन्दा अलि फरक छ। हाम्रा केही भाइबहिनीहरू आफ्नो देश छाडेर अन्य मुलुकमा बसाइँ सरेका छन्‌ र त्यहाँ तिनीहरूको आफ्नै भाषामा सभाहरू नहुने भएकोले अङ्‌ग्रेजी भाषाका सभाहरूमा जानुपर्ने हुन्छ। तर तिनीहरूलाई प्रहरीधरहरा-मा छलफल गरिएको कुराहरू बुझ्न गाह्रो हुन्छ किनभने अङ्‌ग्रेजी तिनीहरूको मातृभाषा होइन। मातृभाषाको रूपमा अङ्‌ग्रेजी बोल्ने केही केटाकेटीहरूलाई समेत प्रहरीधरहरा-मा छलफल गरिएका कुराहरू बुझ्न गाह्रो छ। सरल अङ्‌ग्रेजी प्रयोग गरिएको यस पत्रिकाले अझ धेरै भाइबहिनीलाई मण्डलीमा गरिने प्रहरीधरहरा अध्ययनबाट लाभ उठाउन मदत गर्नेछ।

यस पत्रिकामा प्रयोग गरिएको भाषाशैली नियमित संस्करणको भन्दा सरल भए तापनि यी दुवै पत्रिकाले एउटै बाइबल सत्य सिकाउँछ। यो नयाँ संस्करणको आवरण नियमित संस्करणको भन्दा बेग्लै हुनेछ। दुवै संस्करणमा अनुच्छेदहरूको सङ्‌ख्या उति नै हुनेछ। दुवैमा प्रश्‍नहरू, चित्रहरू अनि पुनरावृत्तिका लागि प्रश्‍नहरू हुनेछ। त्यसकारण व्यक्‍तिगत अध्ययनमा वा प्रहरीधरहरा अध्ययनमा कुन संस्करण प्रयोग गर्ने भनेर प्रत्येकले आफ्नै रुचिअनुसार निर्णय गर्न सक्छन्‌। यी दुई संस्करणमा चलाइएको भाषा शैलीको भिन्‍नता तल देखाइएको छ। यो उदाहरण पहिलो अध्ययन लेखको अनुच्छेद २ बाट लिइएको हो। बायाँपट्टि नियमित संस्करण र दायाँपट्टि सरल संस्करणको अंश देखाइएको छ।

हामीलाई आशा छ, यो नयाँ प्रबन्धले थुप्रै भाइबहिनीको प्रार्थनाको जवाफ दिनेछ। तिनीहरूले यहोवालाई यसरी प्रार्थना गरेका थिए: “मलाई समझ दिनुहोस्‌, र म तपाईंका आज्ञाहरू सिकूँ।” (भज. ११९:७३) यो सरल संस्करणले गर्दा केटाकेटी लगायत हाम्रा थुप्रै भाइबहिनीलाई हरेक हप्ता हुने प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्न अझ सजिलो हुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौं। यहोवा “सबै भाइहरूलाई” प्रेम गर्नुहुन्छ। (१ पत्रु. २:१७) त्यसकारण हामीलाई चाहिने हरेक कुरा दिन उहाँले “विश्‍वासी र बुद्धिमान्‌ दास” प्रयोग गरिरहनुभएको छ र यसको लागि हामी उहाँप्रति कृतज्ञ छौं।

यहोवाका साक्षीहरूको परिचालक निकाय