म मृत्युसँग डराउँथें
म मृत्युसँग डराउँथें
पियरो गाट्टीको वृत्तान्तमा आधारित
मधुरो आवाज झन्-झन् चर्किंदै गयो। त्यसपछि मानिसहरूलाई लुक्न सङ्केत दिने साइरन ठूलो आवाजमा बज्यो। एकछिनपछि जताततै बम पड्केको आवाज सुनिन थाल्यो। कानको जाली नै फुट्लाजस्तो गरी विस्फोटनहरू भए।
सन् १९४३/४४ तिर इटालीको मिलान भन्ने ठाउँमा यस्तो घटना घटेको थियो। त्यतिबेला म जवान थिएँ र सिपाहीको रूपमा त्यहाँ खटिएको थिएँ। थुप्रै मानिसहरू आफ्नो ज्यान जोगाउन शरण लिन बनाइएका सुरक्षित ठाउँहरूमा लुक्थे। तर हवाइ-हमलाको कारण तिनीहरूले त्यहीं नै आफ्नो ज्यान गुमाउँथे। मेरो काम तिनीहरूको लास सङ्कलन गर्नु थियो। विचराहरूको शरीर चिन्नै नसकिने गरी टुक्रा-टुक्रा भएको हुन्थ्यो। अनि कैयौं पटक त म आफै पनि मृत्युको मुखमा परें। त्यतिबेला म परमेश्वरलाई यसरी पुकार्थें: ‘हे भगवान्, यो सङ्कष्टबाट जोगाउनुभयो भने म जीवनभर तपाईंकै इच्छाअनुसार गर्नेछु।’
मृत्युको डर हटाएँ
म इटालीको कोमो भन्ने सहरबाट झन्डै १० किलोमिटर टाढा रहेको एउटा गाउँमा हुर्कें-बढें। यो गाउँ स्वीस सिमाना नजिकै पर्छ। सानै उमेरदेखि मैले दुःख झेलें र मृत्युदेखि डराउन थालें। स्पेनिस फ्लू भन्ने महामारीले गर्दा मेरी दुई जना दिदीको मृत्यु भयो। म छ वर्षको छँदा अर्थात् सन् १९३० मा मेरी आमा लुजिया पनि बित्नुभयो। म क्याथोलिक परिवारमा हुर्केको थिएँ। त्यसैले विभिन्न धार्मिक रीतिथितिहरूमा भाग लिन्थें अनि हप्तैपिच्छे चर्च जान्थें। तर मृत्युको डर हटाउन मलाई चर्चमा सिकेको कुराले होइन, वर्षौंपछि हजामको पसलमा सुनेको कुराले मदत गऱ्यो।
सन् १९४४ मा दोस्रो विश्वयुद्धले डरलाग्दो रूप लिएको थियो। दोस्रो विश्वयुद्धमा स्वीजरल्याण्ड तटस्थ भएको कारण हजारौं इटालियन सिपाहीहरू भागेर त्यहाँ गए। त्यसमध्ये म पनि एक थिएँ। त्यहाँ पुगेपछि हामीलाई विभिन्न शरणार्थी शिविरहरूमा लगियो। मलाईचाहिं देशको उत्तरपूर्वी भागमा पर्ने सितिनाक भन्ने गाउँनजिकै भएको शिविरमा लगियो। त्यहाँ हामीले केही हदसम्म भए पनि स्वतन्त्रता पायौं। सितिनाकमा एक जना हजामलाई केही समयको लागि आफ्नो पसलमा काम गर्ने मान्छे चाहिएको रहेछ। म त्यहाँ गएँ र एक महिना तिनीसँग काम गरें। तर त्यो छोटो समयनै मेरो जीवनमा परिवर्तन ल्याउन पर्याप्त थियो।
त्यस पसलमा आउने नियमित ग्राहकहरूमध्ये एक जना अडल्फो टेलिनी पनि थिए। उनी स्वीजरल्याण्डमा बस्ने इटालीका नागरिक थिए। उनी एक जना यहोवाको साक्षी पनि थिए। त्यस समूहबारे मैले पहिला कहिल्यै सुनेको थिइनँ। त्यतिबेला इटालीभरिमा १५० जना जति मात्र साक्षीहरू भएकोले उनीहरूको विषयमा नसुन्नु कुनै नौलो कुरा थिएन। अडल्फोले मलाई बाइबलबाट एकदमै अचम्मलाग्दो कुरा देखाए। उनले मलाई पृथ्वीमा शान्ति छाउने र ‘दीर्घ जीवन’ पाउने कुरा बताए। (यूह. १०:१०; प्रका. २१:३, ४) भविष्यमा युद्ध र मृत्युरहित संसार आउनेछ भनेर सुन्दा म रोमाञ्चित भएँ। शरणार्थी शिविरमा फर्केर मैले यो बाइबल आशाबारे इटालीकै जुजेप्पा टुबिनी नाम गरेको केटोलाई बताएँ र तिनलाई पनि यो कुरा मनपऱ्यो। अडल्फो र अरू साक्षीहरू बेला-बेलामा हामीलाई भेट्न आइरहन्थे।
अडल्फोले मलाई सितिनाकदेखि लगभग १० किलोमिटर टाढा पर्ने आर्बोन भन्ने ठाउँमा लगे। त्यहाँ साक्षीहरूको सानो
समूहले इटालियन भाषामा सभाहरू गर्थ्यो। सभामा सुनेको कुराले म असाध्यै उत्साहित भएँ र अर्को हप्ता हिंडेरै त्यहाँ गएँ। यसको केही समयपछि, यहोवाका साक्षीहरूले ज्युरिचको एउटा सभागृहमा सम्मेलन गरेका थिए। म त्यहाँ पनि गएँ। त्यस सम्मेलनमा स्लाइडमार्फत देखाइएका दृश्यहरूले मलाई असाध्यै प्रभाव पाऱ्यो। त्यसमा यातना शिविरहरूमा भएको लासको डङ्गुर देखाइएको थियो। परमेश्वरप्रति वफादार रहेकाले थुप्रै जर्मन साक्षीहरू सहिद भएको कुरा मैले थाह पाएँ। त्यस सम्मेलनमा मैले मारिया पित्साटोलाई पनि भेटें। यहोवाको साक्षीको रूपमा सक्रिय भएकोले तिनले तानाशाही इटालियन सरकारबाट ११ वर्षको जेल सजाय पाएकी थिइन्।दोस्रो विश्वयुद्ध सिद्धिएपछि म इटाली फर्कें र कोमोमा भएको सानो मण्डलीसित सङ्गत गर्न थालें। कोही साक्षीसँग बाइबल अध्ययन नगरेको भए तापनि बाइबलका आधारभूत सत्यहरू भने मलाई राम्ररी थाह थियो। मारिया पित्साटो पनि त्यही मण्डलीमा थिइन्। तिनले मलाई ख्रीष्टियन बन्नको लागि बप्तिस्मा गर्नुपर्ने आवश्यकताबारे बताइन् र सोन्ड्रियो प्रान्तको कास्ट्योनो आन्ड्याभेनोमा बस्ने मार्सेलो मार्टिनिल्लीलाई भेट्ने सल्लाह दिइन्। मार्सेलो वफादार अभिषिक्त भाइ थिए र तिनले तानाशाही शासनको बेला ११ वर्षको जेल सजाय पाएका थिए। तिनी भएको ठाउँमा पुग्न मैले ८० किलोमिटर साइकल यात्रा गर्नुपऱ्यो।
बप्तिस्मा गर्नुको महत्त्वबारे मार्सेलोले मलाई बाइबलबाटै बुझाए। अनि सँगै प्रार्थना गरेपछि हामी आड्डा नदीमा गयौं र मैले त्यहाँ बप्तिस्मा गरें। यो सेप्टेम्बर १९४६ को कुरा हो। त्यो मेरो लागि विशेष दिन थियो! यहोवाको सेवा गर्ने निर्णय गरेकोमा र भविष्यको निश्चित आशा पाएकोमा खुसीले मेरो खुट्टा भुइँमा थिएन। त्यो दिन साइकल चलाएर १६० किलोमिटर यात्रा गरेको मलाई पत्तै भएन!
विश्वयुद्धपछि इटालीमा भएको पहिलो सम्मेलन मे १९४७ मा मिलान सहरमा आयोजना गरिएको थियो। त्यस सम्मेलनमा लगभग ७०० जना उपस्थित भए। तानाशाही फासिस्ट सरकारको पालामा कठोर सतावट भोग्नेहरूमध्ये धेरै जना त्यहाँ थिए। त्यस सम्मेलनमा एउटा अचम्मको कुरा भयो। मैले शरणार्थी शिविरमा साक्षी दिएको जुजेप्पा टुबिनीले बप्तिस्मा भाषण दिए र त्यसपछि तिनी आफैले पनि बप्तिस्मा गरे!
त्यस सम्मेलनमा मैले ब्रूक्लिनबाट आएका भाइ नेथन नोरलाई भेट्ने मौका पाएँ। उहाँले मलाई र जुजेप्पालाई आफ्नो सारा जीवन परमेश्वरको सेवामा लगाउन प्रोत्साहन दिनुभयो। मैले महिनादिनभित्रै पूर्ण-समय सेवा थाल्ने निर्णय गरें। घर फर्केपछि मैले परिवारलाई आफ्नो निर्णय सुनाएँ तर सबैले मलाई त्यसो नगर्न सल्लाह दिए। तर मैले पूर्ण-समय सेवा गर्ने अठोट गरिसकेको थिएँ। त्यसैले यसको एक महिनापछि मैले मिलानको बेथेलमा सेवा गर्न थालें। म बेथेल जानुअघि त्यहाँ पाँच जना मात्र थिए। तीमध्ये चार जना अर्थात् जुजेप्पा (जोसेफ) रोमानो र तिनकी पत्नी एन्जिलिना अनि कार्लो बेनान्टी र तिनकी पत्नी कोस्टान्जा मिसनरीहरू थिए। अर्को एक जना चाहिं भर्खरै बेथेल सेवा थालेका जुजेप्पा टुबिनी थिए।
बेथेलमा एक महिना सेवा गरेपछि मलाई क्षेत्रीय निरीक्षक नियुक्त गरियो। इटालीमा नै जन्मेको पहिलो क्षेत्रीय निरीक्षक मै थिएँ। मैले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न थाल्नुअघि नै भाइ जर्ज फ्रेड्यानिलीले परिभ्रमण निरीक्षकको रूपमा सेवा गरिरहनुभएको थियो। उहाँ सन् १९४६ मा मिसनरीको रूपमा अमेरिकाबाट इटाली आउनुभएको थियो। उहाँ इटाली आउने पहिलो अमेरिकी मिसनरी हुनुहुन्थ्यो। उहाँबाट केही हप्ता तालिम पाएपछि म एक्लै मण्डलीहरूको भ्रमणमा निस्कें। पहिलो चोटि भ्रमण गरेको फेन्जा मण्डली म अझै पनि सम्झन्छु। त्यसभन्दा अघि मैले एक पटक पनि भाषण दिएको थिइनँ। सोच्नुहोस् त, मलाई कस्तो भयो होला! तैपनि मैले त्यहाँ उपस्थित युवाहरू लगायत सबैलाई पूर्ण-समय सेवामा लाग्न प्रोत्साहन दिएँ। तीमध्ये केही युवाहरूले पछि गएर ठूलठूला जिम्मेवारीहरू सम्हाले।
परिभ्रमण निरीक्षकको रूपमा मेरो जीवन एकदमै रमाइलो थियो। मैले अचम्मलाग्दा कुराहरू अनुभव गरें, थुप्रै छाँटकाँट गरें, चुनौतीहरूको सामना गरें अनि अपार आनन्द महसुस गरें। साथै, मैले प्यारा भाइबहिनीहरूबाट धेरै माया पनि पाएँ।
विश्वयुद्धपछि इटालीको धार्मिक अवस्था
अब म तपाईंहरूलाई त्यतिबेला इटालीको धार्मिक अवस्था कस्तो थियो, त्यसबारे केही बताउँछु। त्यसबेला क्याथोलिक चर्चले एकलौटी राज गरिरहेको थियो। सन् १९४८ मा नयाँ संविधान लागू भए तापनि साक्षीहरूलाई स्वतन्त्रतापूर्वक प्रचारकार्यमा भाग लिन रोक लगाउने पुरानो फासिस्ट ऐन सन् १९५६ सम्म खारेज भएको थिएन। पादरीहरूको
दबाबको कारण अक्सर क्षेत्रीय सम्मेलनहरू बीचमै बिथोलिन्थ्यो। तर कहिलेकाहीं भने पादरीहरूको प्रयास बेकार हुन्थ्यो। सन् १९४८ को कुरा हो, इटालीको मध्य भागमा पर्ने एउटा सानो सहर सुल्मोनामा त्यस्तै भयो।एउटा नाटकघरमा सम्मेलन भइरहेको थियो। श्रोताहरूले हल खचाखच भरिएको थियो। त्यतिबेला इटालीमा ५०० प्रकाशक पनि थिएनन् तर उपस्थिति सङ्ख्या भने २,००० थियो। आइतबार बिहान म चेयरम्यान थिएँ र जुजेप्पा रोमानोले जनभाषण दिए। भाषणको अन्तमा एउटा केटो बुर्लुक्क उफ्रेर मञ्चमा चढ्यो र कार्यक्रम बिथोल्ने मनसायले भएभरको बल लगाएर चिच्याउन थाल्यो। श्रोता बनेर आएका दुई जना पादरीले उसलाई त्यसो गर्न सिकाएका थिए। मैले तुरुन्तै उसलाई भनें: “तपाईंलाई भाषण दिन मन लागेको हो भने आफै हल भाडामा लिनुस्। त्यसपछि मन लागेको कुरा भन्न पाउनुहुन्छ।” श्रोताहरूलाई त्यो केटोको उपद्रव मन परेन र सबै जना उसको आवाज नै दब्ने गरी चिच्याउन थाले। त्यसपछि, त्यो केटो मञ्चबाट तल हामफाल्यो र बेपत्ता भयो।
त्यो जमानामा यात्रा गर्नु त्यति सजिलो थिएन। एउटा मण्डलीबाट अर्को मण्डलीमा जाँदा म कहिलेकाहीं हिंडेरै जान्थें। अनि कुनै-कुनै बेला चाहिं आफ्नै साइकलमा वा टनाटन मान्छे कोचिएको थोत्रो बसमा जान्थें। कहिलेकाहीं रेलमा पनि यात्रा गर्थें। मेरो बास कहिलेकाहीं तबेलामा वा औजारहरू राखिने थोत्रो घरमा हुन्थ्यो। भर्खरै मात्र युद्ध समाप्त भएको थियो र अधिकांश इटालियनहरू गरिब थिए। भाइबहिनीहरूको सङ्ख्या एकदमै थोरै थियो अनि उनीहरूलाई पनि हातमुख जोर्न धौधौ थियो। समय त्यस्तो भए तापनि यहोवाको सेवा गर्न पाउँदा असाध्यै आनन्द लाग्थ्यो।
गिलियड स्कूलमा प्रशिक्षण
सन् १९५० मा मिसनरीहरूलाई प्रशिक्षण दिइने गिलियड स्कूलको १६ औं कक्षामा उपस्थित हुन जुजेप्पा टुबिनी र मलाई बोलाइयो। अङ्ग्रेजी भाषा सिक्न मलाई पक्कै गाह्रो हुन्छ भनेर निम्तो पाउने बित्तिकै मैले सोचिसकेको थिएँ। मैले सक्दो कोसिस गरें तैपनि मेरो लागि यो असाध्यै चुनौतीपूर्ण थियो। हामीले पूरै बाइबल अङ्ग्रेजीमा पढ्नुपर्थ्यो। त्यसको लागि कहिलेकाहीं त म दिउँसोको खाना खान पनि नगई आवाज निकालेर बाइबल पढ्ने अभ्यास गर्थें। जे होस्, मेरो पनि भाषण दिने पालो आयो। मेरो भाषण सुनिसकेपछि हाम्रो प्रशिक्षकले यसो भनेको हिजोजस्तो मात्र लाग्छ: “तपाईंको इशारा र जोस अत्यन्तै राम्रो छ। तर तपाईंको अङ्ग्रेजी भने फिटिक्कै बुझिएन।” यसको बाबजुद मैले गिलियड स्कूललाई निरन्तरता दिएँ। यो स्कूल सिद्धिएपछि जुजेप्पा र मलाई फेरि इटालीमै खटाइयो। गिलियड स्कूलमा पाएको थप प्रशिक्षणद्वारा हामी दुवै जना भाइबहिनीहरूको सेवा गर्न अझ सुसज्जित भएका थियौं।
सन् १९५५ मा मैले लिडियासित विवाह गरें। सात वर्षअघि उनको बप्तिस्मा भाषण मैले नै दिएको थिएँ। उनको बुबा डोमिनिकोले तानाशाही फासिस्ट सरकारको पालामा धेरै सतावट भोग्नुभएको थियो र तीन वर्ष निर्वासित
जीवन बिताउनुभएको थियो। यी सबका बाबजुद उहाँ आफ्ना सातै जना छोराछोरीलाई सच्चाइमा हुर्काउन सफल हुनुभएको थियो। लिडियाले पनि सच्चाइको लागि धेरै दुःख सहेकी थिइन्। हामीले घर-घरमा गएर प्रचार गर्ने कानुनी अधिकार पाउनुअघि उनले अदालतमा तीन वटा मुद्दा खेपेकी थिइन्। हाम्रो विवाह भएको छ वर्षपछि हाम्रो जेठो छोरा बेन्यामिनो जन्मियो। सन् १९७२ मा हाम्रो अर्को छोरा मार्कोको जन्म भयो। तिनीहरू दुवै जना आफ्नो परिवारसित जोसका साथ यहोवाको सेवा गरिरहेको देख्दा म खुसीले गद्गद् हुन्छु।अझै पनि यहोवाको सेवामा सक्रिय
अरूको सेवा गरेर मैले जीवनमा धेरै आनन्द पाएको छु। यस दौडान मैले थुप्रै बिर्सनै नसकिने अनुभवहरू पनि सँगालेको छु। उदाहरणका लागि, १९८० दशकको सुरुतिर मेरो ससुराले इटालीका तत्कालीन राष्ट्रपति सान्ड्रो पेर्टिनीलाई चिठी लेख्नुभयो। तानाशाही फासिस्ट शासनको बेला उहाँहरू दुवै जना भेन्टोटाना द्वीपमा निर्वासित हुनुभएको थियो। त्यतिखेर फासिस्ट सरकारको शत्रु ठानिएकाहरूलाई त्यहीं पठाइन्थ्यो। मेरो ससुराले राष्ट्रपतिलाई साक्षी दिने विचारले अन्तरवार्ताको लागि अनुरोध गर्नुभयो। अन्तरवार्ता लिने अनुमति प्राप्त भएपछि मेरो ससुरा र म राष्ट्रपतिलाई भेट्न गयौं। त्यहाँ हामीलाई न्यानो स्वागत गरियो। हामीसित ठूलाबडाहरूलाई भेटेको यस्तो अनुभव यसअघि कहिल्यै थिएन। राष्ट्रपतिले मेरो ससुरालाई अँगालो हालेर स्वागत गर्नुभयो। त्यसपछि हामीले आफ्नो विश्वासबारे उहाँलाई बतायौं र केही प्रकाशनहरू दियौं।
परिभ्रमण निरीक्षकको रूपमा ४४ वर्ष सेवा गरेपछि सन् १९९१ मा मैले क्षेत्रको काम छोडें। त्यस दौडान मैले इटालीको सबै भागका मण्डलीहरूको भ्रमण गरिसकेको थिएँ। त्यसपछि मैले चार वर्ष सम्मेलन भवनको निरीक्षकको रूपमा सेवा गरें। गम्भीर बिमारीको कारण काम गर्न गाह्रो भएकोले मैले यो जिम्मेवारी छोड्नुपऱ्यो। तर यहोवाको असीम अनुग्रहले गर्दा मैले अझ पनि पूर्ण-समय सेवा गरिरहन सकेको छु। प्रचार गर्न र राज्यको सुसमाचार अरूलाई बताउन म आफ्नो बुताले भ्याएसम्म सबै गर्छु। अहिले पनि म केही बाइबल अध्ययन सञ्चालन गर्दैछु। अझै पनि मेरो भाषण “दमदार” हुन्छ भनेर भाइबहिनीहरू बताउँछन्। उमेर चढ्दै गए पनि बल नघटेकोमा म यहोवालाई धन्यवाद दिन्छु।
म जवान छँदा मृत्युसँग साह्रै डराउँथें तर बाइबलमार्फत सिकेको सही ज्ञानले मलाई यस्तो डर हटाउन मदत गरेको छ। बाइबलमार्फत मैले अनन्त जीवनको पक्का आशा अर्थात् येशूले भन्नुभएको “दीर्घ जीवन”-को आशा पाएको छु। (यूह. १०:१०) अहिले म त्यो जीवनको प्रतीक्षामा छु जहाँ प्रशस्त शान्ति र सुरक्षा हुनेछ। त्यतिबेला यहोवाले प्रशस्त आशिष् दिनुहुनेछ र जीवन आनन्दित हुनेछ। सधैं हाम्रो मायालु सृष्टिकर्तालाई नै महिमा दिऔं जसको नाम बहन गर्ने सुअवसर हामीले पाएका छौं।—भज. ८३:१८.
[पृष्ठ २२-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
स्वीजरल्याण्ड
वर्न
ज्युरिच
आर्बोन
सितिनाक
इटाली
रोम
कोमो
मिलान
आड्डा नदी
कास्ट्योनो आन्ड्याभेनो
फेन्जा
सुल्मोना
भेन्टोटाना
[पृष्ठ २२-मा भएको चित्र]
गिलियड स्कूल जादैं
[पृष्ठ २२-मा भएको चित्र]
गिलियड स्कूलमा जुजेप्पासँगै
[पृष्ठ २३-मा भएको चित्र]
हाम्रो विवाहको दिन
[पृष्ठ २३-मा भएको चित्र]
मेरी प्यारी पत्नीले ५५ वर्षभन्दा लामो समयदेखि मलाई साथ दिंदै आएकी छिन्