वर्षौं लामो कानुनी लडाइँपछिको जित!
वर्षौं लामो कानुनी लडाइँपछिको जित!
सन् १९९५ मा सुरु भएको यो कानुनी लडाइँ १५ वर्षसम्म चल्यो। यस अवधिभर रूसका साँचो ख्रीष्टियनहरूलाई धार्मिक स्वतन्त्रताका विरोधीहरूले आक्रमण गर्ने क्रम पनि चलिरह्यो। मस्को सहरका साथै अन्यत्र पनि यहोवाका साक्षीहरूमाथि कानुनी प्रतिबन्ध लगाउन यी विरोधीहरू कम्मर कसेर लागेका थिए। तर तिनीहरूको केही सीप लागेन। हाम्रा रूसी भाइबहिनीहरूले यो कानुनी लडाइँ जिते। यसरी उनीहरूले यहोवाबाट सत्यनिष्ठाको इनाम पाए। तर यो कानुनी विवादको सुरुवात कसरी भयो?
वर्षौंपछिको स्वतन्त्रता
हाम्रा रूसी भाइबहिनीहरूले सन् १९१७ मा धार्मिक स्वतन्त्रता गुमाएका थिए। तर सन् १९९० को दशकको सुरुतिर उनीहरूले यो स्वतन्त्रता फेरि पाए। सन् १९९१ मा सोभियत सङ्घको सरकारले यहोवाका साक्षीहरूलाई आधिकारिक मान्यता दियो। सोभियत सङ्घ टुक्रिएपछि बनेको रूसी सरकारले पनि यहोवाका साक्षीहरूलाई आधिकारिक धर्मको रूपमा दर्ता गऱ्यो। साथै, दशकौंअघि धार्मिक कारणले गर्दा खेदो सहेका साक्षीहरूलाई सरकारले आधिकारिक रूपमै राजनैतिक दमनका पीडितहरू घोषणा गऱ्यो। सन् १९९३ मा मस्कोका साक्षीहरूले त्यहाँको न्याय विभागमा “यहोवाका साक्षीहरूको मस्को समाज” भन्ने कानुनी सङ्गठन दर्ता गरे। त्यही वर्ष रूसको नयाँ संविधान जारी गरियो र यसमा धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिइएको थियो। यी सबै कुरा विचार गर्दा, एक जना भाइले यसो भन्नु कुनै अचम्मको कुरा होइन: “यतिबिघ्न स्वतन्त्रता पाइएला भनेर हामीले त सपनामा पनि सोचेका थिएनौं!” तिनले यसो पनि भने: “हामीले यसको बाटो हेरेको ५० वर्ष भइसक्यो!”
प्रचारकार्यमा जोडतोडले भाग लिएर रूसका भाइबहिनीहरूले यो ‘अनुकूल अवस्थाको’ सदुपयोग गरे अनि धेरै जनाले सच्चाइ सिके। (२ तिमो. ४:२) एक जना बहिनी यसो भन्छिन्: “धर्मप्रति मानिसहरूको चासो ह्वात्तै बढेको थियो।” केही समय नबित्दै प्रकाशक, अग्रगामी र मण्डलीहरूको सङ्ख्या दिन दुगुना, रात चौगुना बढ्न थाल्यो। तोकेरै भन्ने हो भने, सन् १९९० देखि १९९५ बीच मस्कोमा साक्षीहरूको सङ्ख्याले ३०० बाट ५,००० को फड्को माऱ्यो! मस्कोमा यहोवाका साक्षीहरूको सङ्ख्या बढ्दै गएको देखेर धार्मिक स्वतन्त्रताका विरोधीहरू सलबलाउन थाले। तिनीहरूले सन् १९९० को दशकको बीचतिर साक्षीहरूविरुद्ध कानुनी लडाइँ सुरु गरे। अनि एकपछि अर्को गर्दै चार चरण पूरा गरेपछि मात्र यो लडाइँ टुङ्गियो।
फौजदारी अभियोगले अर्कै मोड लिन्छ
जून १९९५ मा यो लडाइँको पहिलो चरण सुरु भयो। रूसी अर्थोडक्स चर्चलाई समर्थन गर्ने मस्कोको एउटा समूहले हाम्रा भाइबहिनीहरू आपराधिक क्रियाकलापमा लागेको आरोप लगाउँदै फौजदारी अभियोग दर्ता गऱ्यो। आफ्नो श्रीमान्/श्रीमती वा बच्चाहरू यहोवाको साक्षी बनेको नरुचाउने परिवारको तर्फबाट यो अभियोग दर्ता गरेको दाबी यस समूहले गऱ्यो। जून १९९६ मा अनुसन्धानकर्ताहरूले उक्त आरोपलाई समर्थन गर्ने केही प्रमाण छ कि भनेर छानबिन गर्न थाले तर एउटै प्रमाण पनि भेटिएन। यसको बाबजुद उक्त समूहले फेरि पनि हाम्रा भाइबहिनीहरूमाथि आपराधिक क्रियाकलाप गरेको आरोप लगाउँदै अर्को अभियोग दर्ता गऱ्यो। अनुसन्धानकर्ताहरूले फेरि जाँचबुझ गरे। यसपालि पनि उक्त आरोपलाई समर्थन गर्ने कुनै प्रमाण भेटिएन। यति हुँदा हुँदै पनि विरोधीहरूले त्यही आरोप लगाएर तेस्रो चोटि अभियोग दर्ता गरे। मस्कोका यहोवाका साक्षीहरूमाथि फेरि पनि छानबिन गरियो र यसपालि पनि साक्षीहरू निर्दोष साबित भए—फौजदारी मुद्दा चलाउनुपर्ने कुनै आधार भेटिएन। फेरि चौथो पटक पनि विरोधीहरूले त्यही अभियोग दर्ता गरे। यस पटक पनि आरोपलाई समर्थन गर्ने कुनै प्रमाण भेटिएन। अचम्मको कुरा, त्यही समूहले फेरि पनि यहोवाका साक्षीहरूमाथि छानबिन गर्न अनुरोध गऱ्यो। अन्तमा,
अप्रिल १३, १९९८ मा अनुसन्धानकर्ताले उक्त निवेदन खारेज गरिदिए।त्यस मुद्दामा संलग्न एक जना वकिल बताउँछन्: “तर त्यसपछि एकदमै अनौठो कुरा भयो।” पाँचौं पटक अनुसन्धान गर्ने सरकारी टोलीका प्रतिनिधिले हाम्रा भाइहरूले आपराधिक क्रियाकलापमा भाग लिएको कुनै प्रमाण नभएको कुरा बताइन्। तैपनि उनीहरूविरुद्ध सार्वजनिक मुद्दा लगाउन सकिने राय तिनले दिइन्। यहोवाका साक्षीहरूको मस्को समाजले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप तिनले लगाइन्। यसमा सहमति जनाउँदै मस्कोको उत्तर प्रशासनिक क्षेत्रका अधिकारीले सार्वजनिक मुद्दा दर्ता गरे। a सेप्टेम्बर २९, १९९८ मा मस्कोको गोलोभिन्स्की जिल्ला अदालतमा उक्त मुद्दाको सुनुवाइ सुरु भयो। यसरी दोस्रो चरण प्रारम्भ भयो।
बाइबल—अदालतमा
यस मुद्दामा टाट्याना कोन्ड्राट्याभाले यहोवाका साक्षीहरूको विपक्षमा बहस गरेकी थिइन्। तिनले सन् १९९७ मा जारी गरिएको एउटा ऐनको आधारमा बहस गरिन्। यस ऐनमा अर्थोडक्स ख्रीष्टियन, इस्लाम, यहूदी र बौद्ध धर्मलाई मात्र परम्परागत धर्मको मान्यता दिएको छ। b यो ऐनले गर्दा यहोवाका साक्षीहरूलाई मात्र नभई अन्य धर्महरूलाई पनि कानुनी मान्यता प्राप्त गर्न गाह्रो भएको छ। यो ऐनले अदालतलाई समाजमा घृणा फैलाउने धर्ममाथि प्रतिबन्ध लगाउने अधिकार पनि दिएको छ। यहोवाका साक्षीहरूले समाजमा घृणा फैलाउँछन् र परिवार तहसनहस पार्छन् भन्ने झूटो आरोप लगाउँदै ती वकिलले यो ऐनअनुसार उनीहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ भनेर जिकिर गरिन्।
हाम्रो पक्षबाट मुद्दा लड्ने वकिलले प्रश्न गरिन्: “मस्को मण्डलीको क-कसले यो ऐन उल्लङ्घन गरेछन् त?” विपक्षी वकिलले एक जनाको पनि नाम दिन सकिनन्। यहोवाका साक्षीहरूको प्रकाशनले धार्मिक शत्रुता बढाउँछ भनेर तिनले जिकिर गरिन्। आफ्नो दाबी प्रमाणित गर्न तिनले प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका साथै अन्य प्रकाशनहरूबाट (माथि हेर्नुहोस्) केही अंश पढेर सुनाइन्। यी प्रकाशनहरूले कसरी शत्रुता बढाउँछ भनेर सोध्दा तिनले जवाफ दिइन्: “यहोवाका साक्षीहरूले आफ्नो धर्म मात्र साँचो हो भनेर सिकाउँछन्।”
अर्का वकिल, जो हाम्रा भाइ पनि हुन्, तिनले न्यायाधीश येलेना प्रोहोरेचेभालाई र विपक्षी वकिललाई एउटा-एउटा बाइबल दिए र एफिसी ४:५ पढेर सुनाए: “एकै जना प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा।” केही बेरमा नै न्यायाधीश, विपक्षी वकिल र हाम्रो वकिल आ-आफ्नो हातमा बाइबल लिएर यूहन्ना १७:१८ र याकूब १:२७ जस्ता पदहरूको विषयमा बहस गर्न थाले। न्यायाधीशले सोधिन्: “के यी पदहरूले धार्मिक शत्रुता बढाउँछ?” आफू बाइबलविद् नभएकोले यसबारे केही थाह नभएको कुरा विपक्षी वकिलले बताइन्। त्यसपछि हाम्रो वकिलले रूसी अर्थोडक्स चर्चले निकालेका केही प्रकाशनहरू देखाए। ती प्रकाशनहरूमा यहोवाका साक्षीहरूको कटु आलोचना गरिएको थियो। अनि तिनले प्रश्न गरे: “के यी प्रकाशनहरूमा बताइएको कुरा ऐनविपरीत छैन र?” विपक्षी वकिलले जवाफ दिइन्: “म धर्मको ज्ञाता होइन। त्यसैले म यसबारे केही भन्न चाहन्नँ।”
विनाप्रमाणको आरोप
यहोवाका साक्षीहरूले कसरी परिवार तहसनहस पार्छन् भन्ने एउटा प्रमाणको रूपमा ती वकिलले यहोवाका साक्षीहरूले क्रिसमसजस्ता चाडपर्वहरू नमनाउने कुरा उल्लेख
गरिन्। तथापि, रूसी कानुनले कुनै पनि नागरिकलाई क्रिसमस मनाउन बाध्य पारेको छैन भनेर पछि गएर तिनले स्वीकारिन्। क्रिसमस मनाउने वा नमनाउने भनेर यहोवाका साक्षीहरूलगायत सबै रूसी जनताले आफै छनोट गर्न सक्छन्। हाम्रो सङ्गठनले ‘बच्चाहरूलाई चाहिनेजति आराम गर्न र रमाइलो गर्न दिंदैन’ भनेर पनि तिनले आरोप लगाइन्। तर प्रतिप्रश्न गर्दा यहोवाका साक्षीहरूको परिवारमा हुर्केका बच्चाहरूसित आफूले कहिल्यै पनि कुराकानी नगरेको कुरा तिनले स्वीकारिन्। तिनी यहोवाका साक्षीहरूको सभामा गएकी छिन् कि छैनन् भनेर वकिलले सोध्दा तिनले जवाफ दिइन्: “त्यहाँ जाने कुनै आवश्यकतै परेन।”विपक्षी वकिलले आफ्नो तर्फबाट साक्षीको रूपमा मानसिक रोगको एक जना डाक्टरलाई बोलाइन्। हाम्रा प्रकाशनहरू पढ्यो भने त्यसले मानसिक समस्या पैदा गर्छ भनेर तिनले आरोप लगाए। ती डाक्टरले अदालतसामु प्रस्तुत गरेको लिखित बयान मस्कोको अर्थोडक्स चर्चले तयार पारेको एउटा कागजातसित मिल्दोजुल्दो भएको कुरा हाम्रो वकिलले याद गरिन्। यसबारे प्रश्न सोध्दा कुनै-कुनै भाग आफूले त्यसबाट हुबहु सारेको कुरा तिनले स्वीकारे। अझ थप प्रश्नहरू सोध्दा तिनले कहिल्यै यहोवाका साक्षीहरूको उपचार नगरेको कुरा पनि थाह लाग्यो। अर्को एक जना डाक्टरले आफूले मस्कोका १०० जनाभन्दा धेरै यहोवाका साक्षीहरूको मानसिक अवस्था अध्ययन गर्दा उनीहरूमा कुनै समस्या नपाएको बयान अदालतलाई दिए। यहोवाको साक्षी बनेपछि उनीहरू अरू धर्मप्रति पहिलेभन्दा अझ बढी सहिष्णु भएको कुरा पनि तिनले बताए।
जित तर केही समयका लागि मात्र
मार्च १२, १९९९ मा न्यायाधीशले हाम्रा प्रकाशनहरूको अध्ययन गर्न विशेषज्ञहरूको पाँच सदस्यीय जाँचबुझ टोली गठन गरिन् र मुद्दालाई केही समयका लागि स्थगित गरिन्। तर यसअघि नै रूसी सरकारको न्याय मन्त्रालयले पनि हाम्रा प्रकाशनहरूको अध्ययन गर्न विशेषज्ञहरूको अर्को टोली गठन गरिसकेको थियो। मन्त्रालयले खटाएको यो टोलीले अप्रिल १५, १९९९ मा आफ्नो प्रतिवेदन बुझायो। त्यस प्रतिवेदनमा हाम्रा प्रकाशनहरूले कुनै नकारात्मक असर नपार्ने कुरा उल्लेख गरिएको थियो। त्यसैले अप्रिल २९, १९९९ मा न्याय मन्त्रालयले यहोवाका
साक्षीहरूको दर्ता नवीकरण गरिदियो। यस्तो सकारात्मक घटनाक्रमको बाबजुद मस्को अदालतकी न्यायाधीशले आफूले गठन गरेको अनुसन्धान टोलीले पनि हाम्रा प्रकाशनहरूको अध्ययन गर्नुपर्ने निर्णय सुनाइन्। यसले गर्दा एकदमै अनौठो परिस्थिति सिर्जना भयो। एकातिर, रूसको न्याय मन्त्रालयले यहोवाका साक्षीहरूलाई कानुनबमोजिम चल्ने धर्मको रूपमा देशव्यापी मान्यता दिएको थियो भने अर्कोतिर मस्कोको न्याय विभागले चाहिं कानुन तोडेको आरोपमा उनीहरूमाथि छानबिन गर्दै थियो!लगभग दुई वर्षपछि मस्को अदालतमा फेरि उक्त मुद्दा सुरु भयो। फेब्रुअरी २३, २००१ मा न्यायाधीश प्रोहोरेचेभाले अदालतको फैसला सुनाइन्। आफूले गठन गरेको टोलीले पेस गरेको प्रतिवेदन विचार गरिसकेपछि तिनले यस्तो निर्णय सुनाइन्: “मस्कोका यहोवाका साक्षीहरूको धार्मिक समूह विघटन गर्नुपर्ने र उनीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै मनासिब कारण देखिंदैन।” अन्ततः हाम्रा भाइबहिनीहरू निर्दोष थिए भनेर कानुनी रूपमै प्रमाणित भयो! तथापि, विपक्षी वकिलले अदालतको फैसलामा चित्त बुझाइनन् र मस्को सहरको अदालतमा पुनरावेदन दिइन्। यसको तीन महिनापछि, मे ३०, २००१ मा अदालतले न्यायाधीश प्रोहोरेचेभाको फैसलालाई बदर गऱ्यो। अदालतले पहिलेकै विपक्षी वकिलले मुद्दा लड्ने तर न्यायाधीश भने अर्कै खटाउने आदेश दियो। अब मुद्दाको तेस्रो चरण सुरु हुनलागेको थियो।
हार तर केही समयका लागि मात्र
अक्टोबर ३०, २००१ मा उक्त मुद्दा फेरि सुरु भयो। c यसपालिको न्यायाधीश भेरा डुबिन्स्का थिइन्। यहोवाका साक्षीहरूले घृणालाई बढवा दिन्छन् भनेर विपक्षी वकिल कोन्ड्राट्याभाले पहिलेकै आरोप दोहोऱ्याइन्। साथै, यहोवाका साक्षीहरूको कानुनी सङ्गठनमाथि प्रतिबन्ध लगाउँदा साक्षीहरूकै सुरक्षा हुन्छ भनेर पनि तिनले बताइन्! यसको प्रतिक्रियास्वरूप, विपक्षी वकिलले दाबी गरेजस्तो “सुरक्षा” आफूलाई नचाहिने उल्लेख गर्दै मस्कोमा भएका सबै यहोवाका साक्षीहरूले तुरुन्तै १०,००० हस्ताक्षरसहितको निवेदन अदालतलाई बुझाए।
यहोवाका साक्षीहरू दोषी छन् भनेर साबित गर्न आफूले कुनै प्रमाण पेस गरिरहनु आवश्यक छैन भनेर विपक्षी वकिलले दाबी गरिन्। यो मुद्दा साक्षीहरूको क्रियाकलापको विषयमा नभई उनीहरूको प्रकाशन र विश्वासको विषयमा हो भनेर तिनले जिकिर गरिन्। तिनले साक्षीको रूपमा रूसी अर्थोडक्स चर्चको सदस्यलाई बोलाउन चाहेको कुरा बताइन्। रूसी अर्थोडक्स चर्चका पादरीहरू यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाउन लागिपरेका थिए भनेर यसबाट छर्लङ्गै भयो। मे २२, २००३ मा न्यायाधीशले विशेषज्ञहरूको एउटा टोलीलाई यहोवाका साक्षीहरूको प्रकाशन फेरि पनि छानबिन गर्न आदेश दिइन्।
छानबिन टोलीको निष्कर्षबारे विचार गर्न फेब्रुअरी १७, २००४ मा मुद्दाको सुनुवाइ फेरि सुरु भयो। हाम्रा प्रकाशनहरूले पारिवारिक र वैवाहिक जीवन अझ राम्रो बनाउन सिकाउँछ भन्ने निष्कर्ष तिनीहरूले निकाले। साथै, यी प्रकाशनहरूले घृणालाई बढवा दिन्छ भन्ने कुनै प्रमाण तिनीहरूले भेट्टाएनन्। यो कुरामा अरू विद्वान्हरू पनि सहमत भए। धार्मिक इतिहासका एक जना प्राध्यापकलाई न्यायाधीशले सोधिन्: “यहोवाका साक्षीहरू किन प्रचार गर्छन्?” तिनले अदालतलाई यस्तो जवाफ दिए: “प्रचार गर्नु ख्रीष्टियनहरूको कर्तव्य हो। सुसमाचारका पुस्तकहरूले यही बताउँछ अनि ख्रीष्टले पनि आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभएको थियो—‘गएर सबै देशमा प्रचार गर।’ ” यत्तिका प्रमाण हुँदा हुँदै पनि मार्च २६, २००४ मा न्यायाधीशले मस्कोका यहोवाका साक्षीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाइन्। जून १६, २००४ मा मस्को सहरको अदालतले यो फैसलाको समर्थन गऱ्यो। d यो फैसलाबारे टिप्पणी गर्दै एक जना पुराना साक्षीले यसो भने: “सोभियत सङ्घको पालामा सबै रूसीहरू नास्तिक हुनुपर्थ्यो। अहिले चाहिं सबै रूसीहरू अर्थोडक्स हुनुपर्ने भो!”
प्रतिबन्ध लगाइएपछि भाइबहिनीहरूले के गरे? पुरातन समयका नहेम्याहले जस्तै गरे। तिनको समयमा परमेश्वरका जनका शत्रुहरूले यरूशलेमको पर्खालको पुनर्निर्माणमा बाधा पुऱ्याउन खोजेका थिए। त्यतिबेला नहेम्याह र तिनका मानिसहरू कुनै पनि किसिमको विरोधको कारण नहे. ४:१-६) त्यसै गरी मस्कोका हाम्रा भाइबहिनीहरू पनि विरोधीहरूको कारण अलमलिएर बसेनन्। उनीहरू आफूले गर्नुपर्ने काम अर्थात् सुसमाचार सुनाउने काममा लागिरहे। (१ पत्रु. ४:१२, १६) यहोवाले मदत गर्नुहुनेछ भनेर उनीहरू ढुक्क थिए। अब उनीहरू यस कानुनी लडाइँको चौथो चरणमा प्रवेश गर्न तयार थिए।
अलमलिएर बसेनन्। बरु तिनीहरूले पर्खाल बनाइरहे अनि ‘मनतन दिएर काम गरिरहे।’ (आक्रमण चर्कन्छ
अगस्त २५, २००४ मा हाम्रा भाइबहिनीहरूले तत्कालीन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष एउटा ज्ञापन-पत्र प्रस्तुत गरे। छयहत्तर वटा मोटा-मोटा किताबको स्वरूप दिइएको उक्त ज्ञापन-पत्रमा साक्षीहरूमाथि लगाइएको प्रतिबन्धबारे उल्लेख गरिनुका साथै ३,१५,००० भन्दा बढी हस्ताक्षर पनि समावेश गरिएको थियो। उता रूसी अर्थोडक्स चर्चका पादरीहरूले पनि आफ्नो सक्कली रूप देखाउँदै थिए। उक्त चर्चका एक प्रवक्ताले यसो भने: “हामी यहोवाका साक्षीहरूको गतिविधिको घोर विरोध गर्छौं।” इस्लाम धर्मका एक नेताले प्रतिबन्धको आदेशलाई “कोसेढुङ्गा र सकारात्मक घटनाक्रम” भनेर बताए।
केही रूसी जनताले यहोवाका साक्षीहरूविरुद्ध लगाइएको झूटा आरोप पत्याए र उनीहरूमाथि आक्रमण गर्न थाले। मस्को सहरमा प्रचार गरिरहेका केही साक्षीहरूलाई विरोधीहरूले मुक्का र लात हाने। हाम्री एक जना बहिनी एउटा घरमा प्रचार गरिरहेकी थिइन्। यो देखेर एक जना मान्छे असाध्यै रिसायो र तिनलाई खेद्न थाल्यो। त्यसपछि उसले ती बहिनीलाई ढाडमा यत्ति जोडले लात हान्यो कि तिनी भुक्लुक्कै लडिन्। तिनको टाउको भुइँमा ठोकियो र तिनलाई अस्पताल लानुपर्ने भयो। तैपनि तिनीमाथि आक्रमण गर्नेलाई प्रहरीले कुनै कारबाही गरेन। प्रहरीले थुप्रै यहोवाका साक्षीहरूलाई गिरफ्तार गऱ्यो। उनीहरूको औंठाछाप लिइयो, फोटो खिचियो र उनीहरूलाई रातभर थुनामा राखियो। हाम्रा भाइहरूले भाडामा लिएर सभाहरू सञ्चालन गरिरहेका हलका प्रबन्धकहरूलाई जागिर खोस्ने धम्की आयो र तिनीहरूले साक्षीहरूलाई हल भाडामा दिन इन्कार गरे। रातारात थुप्रै मण्डलीले सभा गर्ने ठाउँ गुमाए। उदाहरणका लागि, चार वटा राज्यभवन भएको एउटा ठूलो भवनमा अब ४० वटा मण्डलीले
पालैपालो सभा सञ्चालन गर्नुपर्ने भयो। एउटा मण्डलीले त बिहान साढे सात बजे सभा सञ्चालन गर्नुपऱ्यो। एक जना परिभ्रमण निरीक्षकले यसो भने: “सभामा उपस्थित हुनको लागि भाइबहिनीहरू बिहान पाँच बजे नै उठ्नुपर्थ्यो। तैपनि उहाँहरू खुसी हुनुहुन्थ्यो। एक वर्षभन्दा धेरै समयसम्म उहाँहरूले त्यसो गर्नुभयो।”“मेरो विषयमा साक्षी दिनेछौ”
यहोवाका साक्षीहरूले मस्कोमा उनीहरूविरुद्ध लगाइएको प्रतिबन्ध कानुनविपरीत थियो भनेर प्रमाणित गर्न चाहे। त्यसैले डिसेम्बर २००४ मा हाम्रा वकिलहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा अपिल गरे। (पृष्ठ ६ मा भएको “रूसको फैसलालाई किन फ्रान्समा पुनरावलोकन गरियो” भन्ने पेटी हेर्नुहोस्।) उक्त अदालतले साक्षीहरूविरुद्ध लगाइएको अभियोगको जाँचबुझ गऱ्यो र उनीहरू निर्दोष साबित भए। त्यसैले अपिल गरेको छ वर्षपछि अर्थात् जुन १०, २०१० मा उक्त अदालतले साक्षीहरूको पक्षमा निर्णय सुनायो! e उनीहरूविरुद्ध लगाइएका सम्पूर्ण अभियोगबाट साक्षीहरूले सफाइ पाए। साथै रूसी सरकारले साक्षीहरूविरुद्ध लगाएको प्रतिबन्ध हटाउनुपर्छ र उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ भनेर पनि उक्त अदालतले निर्णय सुनायो।—पृष्ठ ८ मा भएको “अदालतको फैसला” भन्ने पेटी हेर्नुहोस्।
रूसले मानवअधिकारसम्बन्धी युरोपेली महासन्धिमा हस्ताक्षर गरेको कारण यहोवाका साक्षीहरूको गतिविधिमा रोक लगाउन मिल्दैन भनेर उक्त अदालतले फैसला गऱ्यो। यो फैसला रूसलाई मात्र नभई युरोपेली परिषद्का अरू ४६ सदस्य राष्ट्रलाई पनि लागू हुन्छ। यसभन्दा अघि यहोवाका साक्षीहरूको पक्षमा युरोपेली अदालतले गरेको आठ वटा फैसलाबारे यो मुद्दाको फैसलामा उल्लेख गरिएको छ। त्यति मात्र होइन, अर्जेन्टिना, क्यानाडा, जापान, रूस, दक्षिण अफ्रिका, स्पेन, बेलायत र अमेरिकाका सर्वोच्च अदालतहरूमा यहोवाका साक्षीहरूले हासिल गरेका जितहरूबारे पनि यसमा उल्लेख गरिएको छ। त्यसैले यो फैसलालाई कानुनका विद्यार्थी, न्यायाधीश, विधायक र मानवअधिकारकर्मीहरूले निकै चासोका साथ अध्ययन गर्नेछन्। त्यसका साथै यहोवाका साक्षीहरूले साँचो उपासनाको पक्षमा संसारको कुनै पनि अदातलमा मुद्दा लड्नुपर्दा यो फैसलालाई नजिरको रूपमा चलाउन सक्छन्।
येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको थियो: “मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ। अनि तिमीहरूले तिनीहरूलाई र जाति-जातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।” (मत्ती १०:१८) पन्ध्र वर्षसम्म चलेको यो कानुनी लडाइँको कारण हाम्रा भाइबहिनीहरूले मस्कोमा मात्र होइन तर अन्यत्र पनि पहिलेभन्दा अझ व्यापक रूपमा यहोवाको नाम फैलाउने मौका पाए। यो मुद्दाको दौडान जे-जति घटनाक्रम भए, ती सबैले ‘साक्षी दिन’ र “सुसमाचार फैलाउन” सहयोग पुऱ्याएको छ। (फिलि. १:१२) हिजोआज मस्कोका साक्षीहरू प्रचारमा जाँदा थुप्रै घरधनीले यस्तो प्रश्न सोध्छन्: “तपाईंहरूमाथि त प्रतिबन्ध लगाइएको होइन र?” यो प्रश्नले गर्दा हाम्रा भाइबहिनीहरूले आफ्नो विश्वासबारे घरधनीलाई थप जानकारी दिने मौका पाएका छन्। हो, कुनै पनि शक्तिले हामीलाई परमेश्वरको राज्यबारे प्रचार गर्नदेखि रोक्न सक्दैन। रूसमा भएका हाम्रा प्यारा भाइबहिनीहरूलाई यहोवाले सधैं आशिष् दिइरहून् भनेर हामी प्रार्थना गर्छौं। अनि उहाँको मदत पाएर यी भाइबहिनीहरू सधैं यसरी नै साहसी भइरहन सकून्!
[फुटनोटहरू]
a यो मुद्दा अप्रिल २०, १९९८ मा दर्ता गरिएको थियो। यसको दुई हप्तापछि मे ५ मा रूसले मानवअधिकारसम्बन्धी युरोपेली महासन्धिमा हस्ताक्षर गऱ्यो।
b “रूसी अर्थोडक्स चर्चले तीव्र दबाब दिएको कारण यो ऐन पारित गरिएको थियो। रूसमा अग्रस्थान ओगटिरहेको यो चर्च यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाउन लागिपरेको छ।”—एसोसिएटेड प्रेस (अङ्ग्रेजी), जून २५, १९९९.
c रोचक कुरा, ठीक दस वर्षअघि यही मितिमा रूसी सरकारले यहोवाका साक्षीहरूलाई सोभियत सङ्घको शासन छँदा धार्मिक आस्थाको कारण दमन भोगेकाहरूको रूपमा आधिकारिक मान्यता दिएको थियो।
d यो प्रतिबन्धको कारण मस्कोका मण्डलीहरू आबद्ध भएको कानुनी संस्थाको दर्ता खारेज गरियो। विरोधीहरूले यो खारेजीको कारण हाम्रा भाइबहिनीहरूको प्रचारकार्यमा असर पर्छ होला भन्ठानेका थिए।
e यो फैसलापछि रूसी सरकारले फेरि मुद्दाको सुनुवाइ होस् भन्ने चाह्यो। त्यसैले उसले मानवअधिकारसम्बन्धी युरोपेली अदालतको अझै माथिल्लो निकायमा आफ्नो निवेदन पेस गऱ्यो। तर नोभेम्बर २२, २०१० मा त्यस निकायका पाँच जना न्यायाधीशले त्यो मुद्दाको फेरि सुनुवाइ गर्न आवश्यक छैन भनेर निर्णय गरे। यसर्थ, जुन १०, २०१० को फैसला नै अन्तिम फैसला भयो। अनि यो फैसला रूसी सरकारले पालन गर्नै पर्ने भयो।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
रूसको फैसलालाई किन फ्रान्समा पुनरावलोकन गरियो
फेब्रुअरी २८, १९९६ मा रूसले मानवअधिकारसम्बन्धी युरोपेली महासन्धिमा हस्ताक्षर गऱ्यो। (मे ५, १९९८ मा रूसको संसद्ले उक्त महासन्धि अनुमोदन गऱ्यो।) यो सन्धिमा हस्ताक्षर गर्नुको अर्थ रूसी सरकारले आफ्ना नागरिकहरूको निम्न हक-अधिकार स्वीकार्नु थियो:
आफूले चाहेको धर्म मान्न पाउने, आफ्नो घरमा वा सार्वजनिक स्थलमा धार्मिक गतिविधि गर्न पाउने र आफ्नो इच्छाबमोजिम धर्म परिवर्तन गर्न पाउने अधिकार।—धारा ९
आफ्नो विचारधारा जिम्मेवार ढङ्गमा बताउन, लेख्न र प्रचार-प्रसार गर्न पाउने अधिकार।—धारा १०
शान्तिपूर्वक भेला हुन पाउने अधिकार।—धारा ११
यदि कुनै व्यक्ति वा सङ्गठनको यी अधिकारहरू हनन भएको छ र कसै गरे पनि देशभित्र न्याय पाइएन भने उक्त मामिला फ्रान्सको स्ट्रासबर्गमा भएको मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा (माथि चित्रमा देखाइएको) लैजान सकिन्छ। मानवअधिकारसम्बन्धी युरोपेली महासन्धिमा ४७ राष्ट्रले हस्ताक्षर गरेको कारण यस अदालतमा हरेक राष्ट्रको प्रतिनिधित्व गर्ने जम्मा ४७ जना न्यायाधीश छन्। महासन्धिमा हस्ताक्षर गर्ने सबै राष्ट्रले यो अदालतको फैसला पालन गर्नै पर्छ।
[पृष्ठ ८-मा भएको पेटी]
अदालतको फैसला
यहाँ अदालतको फैसलाको तीन वटा अंश दिइएको छ।
यहोवाका साक्षीहरूमाथि लगाइएको एउटा आरोप उनीहरूले परिवार टुक्य्राउँछन् भन्ने थियो। तर अदालतले भने यस्तो फैसला सुनायो:
“धर्ममा आस्था राख्ने परिवारका सदस्यहरूले आफ्नो धर्मको गतिविधिमा भाग लिंदा धर्ममा आस्था नराख्ने सदस्यहरूले विरोध गरेको कारण र उनीहरूको धार्मिक स्वतन्त्रताको कदर नगरेको कारण यस्तो द्वन्द्व सिर्जना हुन्छ।”—परिच्छेद १११
यहोवाका साक्षीहरूले ‘माइन्ड कन्ट्रोल’ गर्छन् अर्थात् मानिसहरूको दिमागलाई एकोहोरो बनाएर आफ्नो धर्ममा ल्याउँछन् भन्ने कुराको कुनै प्रमाण नभेटिएको कुरा अदालतले यसरी बतायो:
“यो कुरा उल्लेखनीय छ, यस्तो तरिका अपनाइएको कारण आफ्नो इच्छाअनुसार गर्न पाउने स्वतन्त्रताको हनन भएको एक जनाको पनि नाम रूसी अदालतहरूले उल्लेख गरेका छैनन्।”—परिच्छेद १२९
रगत नलिएर यहोवाका साक्षीहरू आफ्नो स्वास्थ्यमाथि खेलबाड गर्छन् भनेर अर्को आरोप लगाइएको थियो। यसबारे अदालतले यस्तो फैसला गऱ्यो:
“कुनै खास किसिमको उपचारविधि स्वीकार्ने कि नस्वीकार्ने भनी निर्णय गर्ने अनि कस्तो प्रकारको वैकल्पिक उपचार रोज्ने त्यो आत्मनिर्णय र व्यक्तिगत स्वतन्त्रताको महत्त्वपूर्ण पक्ष हो। उदाहरणका लागि, आफ्नो शल्यक्रिया वा कुनै उपचार गराउने कि नगराउने भनी एउटा सक्षम वयस्क बिरामीले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउँछ। रगत लिने वा नलिने भन्ने विषयमा पनि यही कुरा लागू हुन्छ।”—परिच्छेद १३६