सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ऐतिहासिक सभा

ऐतिहासिक सभा

ऐतिहासिक सभा

“यो सभा सिद्धिएपछि तपाईंहरूले ‘यो त साँच्चै परमेश्‍वरको संगठनमा इतिहास रच्ने वार्षिक सभा रहेछ’ भन्‍नुहुनेछ।” यस्तो अभिव्यक्‍तिद्वारा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य स्टिफन लेट्‌ले विशाल जनसमुदायको कौतूहलतालाई अझै तीव्र बनाएका थिए। त्यो समूह वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको १२६ औं वार्षिक सभाको लागि त्यहाँ उपस्थित भएको थियो। उक्‍त वार्षिक सभा अक्टोबर २, २०१० का दिन अमेरिकाको न्यु जर्सीमा रहेको यहोवाका साक्षीहरूको सम्मेलन भवनमा भएको थियो। त्यो ऐतिहासिक सभाका विशेष पक्षहरू के-के थिए?

त्यो वार्षिक सभामा सुरुको भाषण भाइ लेट्‌ले दिएका थिए। तिनले इजकिएलको पुस्तकमा वर्णन गरिएको यहोवाको दिव्य रथबारे जोडदार भाषण दिएका थिए। यो विशाल अनि महिमित रथले यहोवाको सङ्‌गठनलाई चित्रण गर्छ र यो सङ्‌गठनमा यहोवाको पूर्ण निगरानी छ। अदृश्‍य प्राणीहरू मिलेर बनेको यस सङ्‌गठनको स्वर्गीय भाग यहोवाको इच्छालाई पछ्याउँदै द्रुतगतिमा अघि बढिरहेको छ भनेर भाइ लेट्‌ले बताए। पार्थिव भाग पनि त्यसरी नै अघि बढिरहेको छ। भाइ लेट्‌ले हालसालैका वर्षहरूमा यहोवाको दृश्‍य सङ्‌गठनमा भएका केही उल्लेखनीय प्रगतिहरूबारे बताए।

उदाहरणका लागि, हालसालै केही शाखा कार्यालयहरूलाई अर्को शाखामा गाभिएको छ अनि अझै सुदृढ पारिएको छ। यसले गर्दा ती देशहरूमा पहिला बेथेलमा काम गर्ने थुप्रै भाइबहिनीले प्रचारकार्यमा अझ बढी ध्यान दिन सकेका छन्‌। दास वर्गको प्रतिनिधित्व गर्ने परिचालक निकाय विश्‍वासी मात्र होइन, बुद्धिमान्‌ पनि भइरहोस्‌ भनेर प्रार्थना गर्न भाइ लेट्‌ले श्रोताहरूलाई आग्रह गरे।—मत्ती २४:४५-४७.

प्रोत्साहनदायी रिपोर्टहरू अनि मन छुने अन्तरवार्ताहरू

हाइटीको शाखा समितिका भाइ ट्याब हान्सबरगरले जनवरी १२, २०१० मा आएको भूकम्पपछिका मन छुने रिपोर्टहरू सुनाए। उक्‍त भूकम्पले हाइटीका ३,००,००० मानिसहरूको ज्यान लिएको थियो। भाइ हान्सबरगरले यसो भने, ‘परमेश्‍वरले असल मानिसहरूलाई बचाउनुभयो तर अविश्‍वासी मानिसहरूलाई चाहिं नाश गर्नुभयो भनी त्यहाँका पादरीहरूले बताउँदैछन्‌। तर त्यतिबेला झ्यालखाना भत्केर हजारौं अपराधीहरू मुक्‍त भएका थिए। त्यसकारण, हाम्रो समयमा किन यतिबिघ्न समस्या छ भनेर साँचो कुरा सिक्न पाउँदा असल हृदय भएका थुप्रै हाइटीबासीहरूले सान्त्वना पाइरहेका छन्‌।’ भाइ हान्सबरगरले उक्‍त भूकम्पमा आफ्नी श्रीमती गुमाउने हाइटीका एक जना भाइको अनुभव पनि सुनाए। हाइटीका ती भाइले यसो भनेको कुरा भाइ हान्सबरगरले उल्लेख गरे: “अहिलेसम्म पनि म आफ्नो आँसु थाम्नै सक्दिनँ। खै! कतिन्जेल उनको सम्झनाले सताउने हो, थाह छैन। तर पनि यहोवाको सङ्‌गठनभित्र पाएको अपार प्रेमले गर्दा म औधी खुसी छु। मैले बाइबलबाट जुन आशा पाएको छु, त्यो अरूलाई पनि बताउँछु।”

त्यसपछि ब्रूक्लिन बेथेलका भाइ मार्क सान्डरसनले फिलिपिन्सको रिपोर्ट सुनाए। तिनी पहिले त्यहाँको शाखा समिति सदस्य थिए। फिलिपिन्समा प्रकाशकहरूको सङ्‌ख्याले लगातार ३२ पटकसम्म शिखर कायम गरेको र प्रकाशकहरूको सङ्‌ख्याभन्दा बाइबल अध्ययन गर्नेहरूको सङ्‌ख्या धेरै भएको कुरा बताउँदा भाइ सान्डरसनको अनुहारमा खुसीको चमक देखिन्थ्यो। तिनले मिगेल भन्‍ने एक जना भाइको अनुभव पनि सुनाए। मिगेलको नातिको हत्या गरिएको थियो। आफ्नो नातिको हत्यारालाई सजाय दिन अनि झ्यालखानामा हाल्न उनले निकै प्रयास गरेका थिए। तर पछि झ्यालखानामा प्रचार गर्दा मिगेलले आफ्नो नातिको हत्यारालाई पनि भेटे। अलि डर-डर लागे पनि उनले ती हत्यारासँग नरम अनि मिजासिलो तरिकामा कुरा गरे। पछि उनले ती हत्यारासित बाइबल अध्ययन थाले र ती हत्याराले पनि राम्रो प्रतिक्रिया देखाउँदै यहोवालाई प्रेम गर्न थाले। अहिले तिनी बप्तिस्माप्राप्त भाइ भइसकेका छन्‌ र मिगेलका घनिष्ठ साथी भएका छन्‌। तिनलाई झ्यालखानाबाट सकेसम्म चाँडो छुटाउन मिगेल भरमग्दुर कोसिस गरिरहेका छन्‌। a

यस कार्यक्रमको अर्को विशेष पक्ष ईश्‍वरतान्त्रिक स्कूल विभागका प्रशिक्षक भाइ मार्क न्युमारले सञ्चालन गरेको अन्तरवार्ता थियो। भाइ मार्कले तीन दम्पतीको अन्तरवार्ता लिएका थिए। ती दम्पती एलेक्स र सेरा रिन्म्युलेर, डेभिड र क्रिष्टा साफ्यर अनि रबर्ट र केट्रा सिरान्को थिए। प्रकाशन समितिका भाइ एलेक्स रिन्म्युलेरले क्यानाडामा अग्रगामी सेवा गर्दा आफू कसरी यहोवासित अझ घनिष्ठ हुन सके भनेर बताए। त्यतिबेला तिनी जम्मा १५ वर्षका थिए र आफैले काम पनि गर्दै अग्रगामी सेवा गरिरहेका थिए। बेथेलमा सेवा गर्दा आफूमा सबैभन्दा बढी प्रभाव पारेको व्यक्‍ति को हो भनेर सोध्दा तिनले तीन जना विश्‍वासी भाइहरूबारे बताए। ती भाइहरूले आफूलाई आध्यात्मिक रूपमा बलियो हुन कसरी मदत गरे भनेर पनि तिनले बताए। तिनकी श्रीमती सेराले विश्‍वासको खातिर चीनमा लामो समय जेल सजाय भोगेकी एउटी बहिनीसितको आफ्नो मित्रताबारे बताइन्‌। व्यक्‍तिगत प्रार्थनामार्फत आफूले यहोवामा भरोसा गर्न सकेको कुरा सेराले बताइन्‌।

शिक्षण समितिका सहयोगी भाइ डेभिड साफ्यरले आफ्नी आमाको बलियो विश्‍वासको प्रशंसा गरे। अनि रूख काट्‌ने काम गरेर तिनलाई जवान अवस्थामा सहायक अग्रगामी गर्न मदत गर्ने आध्यात्मिक भाइहरूबारे पनि तिनले बताए। तिनकी श्रीमती क्रिष्टाले येशूको आज्ञा पालन गर्दै ‘सानो कुरामा पनि विश्‍वासिलो रहेका’ बेथेलका वृद्ध भाइबहिनीहरूबाट आफू प्रभावित भएको कुरा खुसीसाथ बताइन्‌।—लूका १६:१०.

लेखन समितिका सहयोगी भाइ रबर्ट सिरान्कोले आफ्ना चारै जना हजुरबुबा अनि हजुरआमाबारे बताए। तिनीहरू हंगेरियन आप्रवासीहरू थिए र अभिषिक्‍त ख्रीष्टियनहरू थिए। सन्‌ १९५० को दशकतिर तिनले ठूलठूला अधिवेशनहरूमा उपस्थिति हुने मौका पाएका थिए। सानै भए तापनि तिनी ती अधिवेशनहरूबाट निकै प्रभावित भए। तिनले यहोवाको सङ्‌गठन भनेको आफू जाने मण्डली मात्र होइन तर आफूले सोचेकोभन्दा निकै ठूलो रहेछ भनेर बुझे। तिनकी श्रीमती केट्राले धर्मत्यागीहरूले सताएको अनि अरू समस्याहरू भएको मण्डलीमा अग्रगामी सेवा गर्दा वफादार रहने सन्दर्भमा पाठ सिकेको कुरा बताइन्‌। त्यस्तो अवस्थामा पनि तिनले धैर्य धारण गरिन्‌ र अन्तमा तिनलाई अर्कै मण्डलीमा सेवा गर्न विशेष अग्रगामीको रूपमा खटाइयो। त्यहाँको एकताले तिनको मनै छोयो।

त्यसपछि भाइ म्यानफ्रेट टोनकले इथियोपियाको रिपोर्ट बताए। यो ठाउँ बाइबलकालीन समयदेखि नै अस्तित्वमा थियो। तर अहिले त्यहाँ ९,००० भन्दा धेरै राज्य उद्‌घोषकहरू छन्‌। तिनीहरूमध्ये धेरैजसो राजधानी अदिस अबाबा र त्यसको वरिपरि बसोबास गर्छन्‌। ग्रामीण क्षेत्रमा अझ धेरै राज्य उद्‌घोषकहरूको आवश्‍यकता छ। त्यसैले अरू देशमा बस्ने इथियोपियाली साक्षीहरूलाई ती ग्रामीण क्षेत्रमा प्रचार गर्नको लागि निमन्त्रणा दिइयो। थुप्रैले यो निमन्त्रणा स्वीकारे। तिनीहरूले स्थानीय साक्षीहरूलाई प्रचार गर्न अझै हौसला दिए र चासो दिने व्यक्‍तिहरू पनि भेट्टाए।

यस कार्यक्रमको अर्को विशेष पक्ष भनेको रूसका यहोवाका साक्षीहरू अनि तिनीहरूको कानुनी लडाइँबारे दिइएको गोष्ठी थियो। रूसको शाखा समितिका भाइ ओलिस बर्गदालले रूसका साक्षीहरूले अझ विशेषगरि त्यहाँको राजधानी मस्कोका साक्षीहरूले भोगेका सतावटबारे बताए। अमेरिकाको बेथेलमा कानुनी विभागमा काम गर्ने भाइ फिलिप ब्रेमलीले यहोवाका साक्षीहरू विरुद्ध लगाइएका नौ वटा मुद्दाबारे मानवअधिकारसम्बन्धी युरोपेली अदालतले सुनुवाइ गरिसकेपछिको केही महिनायता निकै रोचक प्रगतिहरू भइरहेका छन्‌ भनेर बताए। ती नौवटै मुद्दा बित्थामा लगाइएको हो भनेर अदालतले सर्वसम्मत निर्णय गऱ्‍यो र त्यसमध्ये कतिपय मुद्दा के-के कारणले गर्दा आधारहीन छन्‌ भनेर समेत अदालतले व्याख्या गरेको थियो। अदालतको उक्‍त निर्णयले के-कस्तो असर पार्नेछ त्यो त हेर्न बाँकी नै छ। तैपनि भाइ ब्रेमलीले अदालतको उक्‍त निर्णयले अरू मुद्दाहरूलाई पनि निश्‍चय नै असर पार्नेछ भन्‍ने कुरा बताए।

यसपछि भाइ लेट्‌ले मानवअधिकारसम्बन्धी युरोपेली अदालतले फ्रान्स सरकार र यहोवाका साक्षीहरूबीच लामो समयदेखि चल्दैआएको करसम्बन्धी मुद्दा दर्ता गर्ने फैसला गरेको कुरा घोषणा गरे। अति नै सम्मानित यस अदालतले पेस हुनआएका मुद्दाहरूमध्ये एकदमै कम मुद्दाहरू मात्र हेर्छ। मानवअधिकारसम्बन्धी युरोपेली अदालतले यहोवाका साक्षीहरू मुछिएको ३९ वटा मुद्दा हेरिसकेको छ। अनि त्यसमध्ये ३७ वटा फैसला यहोवाका साक्षीको पक्षमा गरिएको छ। तैपनि अहिलेको यो विषयलाई आफ्नो प्रार्थनामा राख्न नछोड्‌नुहोस्‌ भनेर भाइ लेट्‌ले प्रोत्साहन दिए।

अन्तिम रिपोर्ट भाइ रिचार्ड मोरलानले दिए। तिनी मण्डलीका एल्डरहरूका निम्ति स्कूलमा प्रशिक्षण दिने भाइ हुन्‌। तिनले उक्‍त स्कूलको बारेमा जोसिलो भाषण दिए अनि उक्‍त स्कूलमा सहभागी हुने एल्डरहरूको प्रतिक्रियाबारे पनि बताए।

परिचालक निकायका सदस्यहरूले दिएको अरू भाषण

परिचालक निकायका सदस्य भाइ गाइ पियर्सले “यहोवाको नाममा शरण लिनुहोस्‌” भन्‍ने यस वर्षको वार्षिक पदमा आधारित मन छुने भाषण दिए। (सप. ३:१२, NW) अहिलेको समयमा यहोवाका साक्षीहरू खुसी हुनुपर्ने थुप्रै कारण छन्‌ तर यो उत्तिकै गम्भीर र विचारशील हुनुपर्ने समय पनि हो भनेर भाइ पियर्सले बताए। यहोवाको महान्‌ दिन नजिकै छ; तर मानिसहरू झूटो धर्म, राजनैतिक संघसंस्था, भौतिक चीजबीज, कल्पनाको दुनियाँ अनि अन्य यस्तै कुराहरूमा शरण लिंदैछन्‌। साँचो शरण पाउने हो भने हामीले यहोवाको नाम पुकार्नुपर्छ। यसको मतलब हामीले उहाँलाई राम्रोसँग चिन्‍नुपर्छ, उहाँको गहिरो आदर गर्नुपर्छ, उहाँमाथि भरोसा राख्नुपर्छ अनि आफूसित भएका सम्पूर्ण कुराले उहाँलाई प्रेम गर्नुपर्छ।

त्यसपछि परिचालक निकायका सदस्य भाइ डेभिड स्प्लेनले “के तपाईं परमेश्‍वरको विश्राममा प्रवेश गर्नुभएको छ?” भन्‍ने विषयमा एकदमै गम्भीर अनि सोचनीय भाषण दिए। मानवजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा र उहाँको पुत्रले प्रतीकात्मक विश्राम दिनमा समेत ‘काम गरिरहनुभएको’ कारण उहाँको विश्रामले कुनै निष्क्रिय समयावधिलाई बुझाउँदैन भनेर भाइ स्प्लेनले बताए। (यूह. ५:१७) त्यसोभए हामी परमेश्‍वरको विश्राममा कसरी प्रवेश गर्न सक्छौं? यसको लागि पापी कामहरूबाट अलग रहेर अनि येशू ख्रीष्ट र उहाँले तिरेको फिरौतीमा विश्‍वास गरेर मात्र पुग्दैन। हामीले विश्‍वास खेती गर्नुपर्छ र सधैं परमेश्‍वरको उद्देश्‍य आफ्नो मनमा राख्नुपर्छ। अनि उहाँको उद्देश्‍य पूरा गर्नको लागि हामीले आफ्नो तर्फबाट सक्दो गर्नुपर्छ। कहिलेकाहीं हामीलाई यहोवाको सङ्‌गठनबाट पाएको सल्लाह स्वीकार्न वा त्यसबाट पाउने निर्देशनअनुसार चल्न गाह्रो हुन सक्छ तर हामी सधैं यहोवाको सङ्‌गठनसँगसँगै चल्नुपर्छ। भाइ स्प्लेनले परमेश्‍वरको विश्राममा प्रवेश गर्नको लागि सक्दो प्रयास गर्न श्रोताहरूलाई आग्रह गरे।

अन्तिम भाषण परिचालक निकायका सदस्य भाइ एन्थोनी मोरिस्‌ले दिए। तिनले दिएको भाषणको विषय यस्तो थियो: “हामी केको लागि पर्खंदै छौं?” मायालु बुबाले जस्तै तिनले श्रोताहरूलाई अविलम्बी भाव खेती गर्न आग्रह गरे। भविष्यवाणीहरू पूरा हुन अझै बाँकी छ अनि सबै विश्‍वासी जनहरू त्यसको पर्खाइमा छन्‌ भनेर भाइ मोरिस्‌ले याद दिलाए। हो, मानिसहरू “शान्ति र सुरक्षा!” भनेर कराउन अनि झूटो धर्मको नाश हुन अझै बाँकी छ। (१ थिस्स. ५:२, ३; प्रका. १७:१५-१७) बाइबल भविष्यवाणीसित कुनै सम्बन्ध नभएको घटना घट्‌दा पनि “अब चाहिं पक्कै आरमागेडोन आयोजस्तो छ” भनिहाल्ने गर्नुहुँदैन भनी भाइ मोरिस्‌ले चेतावनी दिए। मीका ७:७ मा बताइएजस्तै आनन्दित, धीरजी अनि पर्खने मनोवृत्ति राख्न तिनले सल्लाह दिए। साथै तिनले सैनिकहरू लडाइँमा लामबद्ध भएर गएजस्तै सबै साक्षीहरूले परिचालक निकायसँगसँगै मिलेर काम गर्नुपर्छ भनेर पनि बताए। भजनहारका शब्दहरू उद्धरण गर्दै तिनले यस्तो प्रोत्साहन दिए: “हे परमप्रभुमा आशा राख्ने हो, बलियो होऊ, र तिमीहरूका हृदयमा साहस आओस्‌।”—भज. ३१:२४.

सभाको अन्तमा इतिहास रच्ने केही रोचक घोषणाहरू भए। परिचालक निकायका सदस्य भाइ जेफ्री ज्याकसनले अङ्‌ग्रेजी भाषाको सीमित ज्ञान भएका व्यक्‍तिहरूका लागि पढ्‌न सजिलो होस्‌ भन्‍नको लागि अङ्‌ग्रेजीमा प्रहरीधरहरा-को सरल संस्करण एक वर्षसम्म परीक्षणको रूपमा प्रकाशन गरिनेछ भनेर घोषणा गरे। त्यसपछि, अमेरिकामा जिल्ला निरीक्षकहरू र तिनका श्रीमतीहरूका लागि गोठालो भेट गर्ने प्रबन्ध परिचालक निकायले मिलाउँदै छ भनेर स्टिफन लेट्‌ले घोषणा गरे। मिनिस्टेरियल ट्रेनिङ स्कूललाई अबउप्रान्त बाइबल स्कूल फर सिङ्‌गल ब्रदर्स भनिनेछ भनेर पनि तिनले बताए। बाइबल स्कूल फर क्रिश्‍चियन कपल्स्‌ भनिने नयाँ स्कूलबारे पनि तिनले घोषणा गरे। यो स्कूलले ख्रीष्टियन दम्पतीहरूलाई यहोवाको सङ्‌गठनमा अझै उपयोगी हुन थप तालिम दिनेछ। स्कूल फर ट्राभलिङ ओभरसियर्स्‌ एण्ड दियर वाइब्ज अनि स्कूल फर ब्रान्च कमिटी मेम्बर्स्‌ एण्ड दियर वाइब्ज अबदेखि वर्षको दुईचोटि आयोजना गरिनेछ भनेर पनि तिनले घोषणा गरे। पहिले उपस्थित भइसकेकाहरू पनि फेरि उपस्थित हुन सकून्‌ भनेर यस्तो प्रबन्ध गरिएको हो भनी तिनले बताए।

यस कार्यक्रमको अन्तमा लामो समयदेखि परिचालक निकायको सदस्य रहेका भाइ जोन ई. बारले विनम्र अनि निष्कपट प्रार्थना गर्दा सबैको मन छोयो। b यो वार्षिक सभा साँच्चै नै ऐतिहासिक सभा भयो भन्‍ने महसुस गर्दै सबै जना बिदाबारी भए।

[फुटनोट]

a यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०११ (अङ्‌ग्रेजी), पृष्ठ ६२-६३ हेर्नुहोस्‌।

b भाइ बारले डिसेम्बर ४, २०१० का दिन आफ्नो पार्थिव जीवन पूरा गरे।

[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]

यी अन्तरवार्ताहरू सबै श्रोताले मन पराए

[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]

यहोवाले इथियोपियाको प्रचारकार्यमा आशिष्‌ दिनुभएको छ