सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले मसीह आउने आशा गरेका थिए

तिनीहरूले मसीह आउने आशा गरेका थिए

तिनीहरूले मसीह आउने आशा गरेका थिए

“जब सबै मानिसहरूले ख्रीष्ट आउने आशा गरिरहेका थिए अनि ‘कतै यिनी नै ख्रीष्ट हुन्‌ कि?’ भनेर यूहन्‍नाको विषयमा मनमनै सोचिरहेका थिए।”—लूका ३:१५.

१. स्वर्गदूतले गोठालाहरूलाई कस्तो रोचक कुरा सुनाए?

 रातको समय थियो। गोठालाहरू बाहिर चौरमा बसेर आफ्नो बगालको सुरक्षा गरिरहेका थिए। त्यति नै खेर अचानक यहोवाको स्वर्गदूत तिनीहरूकहाँ देखा परे अनि तिनीहरूको चारैतिर यहोवाको गौरव चम्कियो। कल्पना गर्नुहोस्‌ त, गोठालाहरूलाई त्यतिबेला कस्तो भयो होला! ती स्वर्गदूतले तिनीहरूलाई एउटा रोचक कुरा सुनाए। तिनले भने: “नडराओ, किनकि हेर म सबै मानिसहरूलाई असाध्यै आनन्दित बनाउने सुसमाचार तिमीहरूलाई सुनाउँदैछु। किनकि दाऊदको सहरमा आज तिमीहरूको उद्धारक, ख्रीष्ट प्रभुको जन्म भएको छ।” ती बालक नै पछि गएर मसीह साबित हुनेथिए। गोठालाहरूले ती बालकलाई नजिकैको सहरमा डुँडभित्र सुताइराखेको भेट्टाउन सक्थे। त्यसपछि अचानक स्वर्गदूतहरूको “एउटा ठूलो पल्टन” देखा पऱ्‍यो। तिनीहरूले यसो भन्दै यहोवाको प्रशंसा गर्न थाले: “स्वर्गमा परमेश्‍वरको महिमा होस्‌ अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”—लूका २:८-१४.

२. मसीहको अर्थ के हो? वास्तविक मसीह को हुन्‌ भनेर मानिसहरूले कसरी चिन्‍न सक्थे?

हुनत, ती यहूदी गोठालाहरूलाई “मसीह” अर्थात्‌ “ख्रीष्ट”-को अर्थ परमेश्‍वरले नियुक्‍त गर्नुभएको “अभिषिक्‍त जन” हो भनी थाह थियो। (प्रस्थ. २९:५-७) तर स्वर्गदूतले उल्लेख गरेका ती बालक नै यहोवाद्वारा नियुक्‍त मसीह हुन्‌ भनेर तिनीहरूले कसरी अझ राम्ररी थाह पाउन सक्थे अनि अरूलाई पनि विश्‍वस्त पार्न सक्थे? तिनीहरूले हिब्रू धर्मशास्त्रका भविष्यवाणीहरू केलाउनुपर्थ्यो अनि ती भविष्यवाणीहरू उक्‍त बालकको जीवनमा पूरा हुन्छ कि हुँदैन, हेर्नुपर्थ्यो।

मानिसहरू किन मसीह आउने आशामा थिए?

३, ४. दानियल ९:२४, २५ मा बताइएको कुरा कसरी पूरा भयो?

वर्षौंपछि बप्तिस्मा दिने यूहन्‍नाले प्रचारकार्य थाले। तिनको काम देखेर अनि कुरा सुनेर कोही-कोहीले तिनी नै मसीह हुन्‌ कि भनेर सोच्न थाले। ( लूका ३:१५ पढ्‌नुहोस्‌) तर बाइबलमा ७० हप्ताबारे भविष्यवाणी गरिएको थियो। यो भविष्यवाणीले मानिसहरूलाई मसीह कहिले देखापर्नेछ भनेर थाह पाउन मदत गर्थ्यो। उक्‍त भविष्यवाणी यस्तो थियो: “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन निस्केको समयदेखि एक अभिषेक जन, एक राजकुमार देखा परेको, समयसम्म सात हप्ता बित्नेछन्‌। त्यसपछि ब्यासट्ठी हप्ता।” (दानि. ९:२४, २५) प्रत्येक हप्ताले सात दिनलाई नभई सात वर्षलाई बुझाउँछ भन्‍ने कुरामा थुप्रै विद्वान्‌हरू सहमत छन्‌। उदाहरणको लागि, एउटा बाइबल a यसो भन्छ: “वर्षमा गणना गरिने सत्तरी हप्ता तोकिएका छन्‌।”

दानियल ९:२५ मा भविष्यवाणी गरिएको ६९ हप्ता अर्थात्‌ ४८३ वर्ष ईसापूर्व ४५५ मा सुरु भयो भन्‍ने कुरा यहोवाका सेवकहरूलाई थाह छ। त्यतिबेला फारसी राजा आर्टजारसेजले नहेम्याहलाई यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण गर्ने आदेश दिएका थिए। (नहे. २:१-८) यी हप्ताहरू ४८३ वर्षपछि अर्थात्‌ इस्वी संवत्‌ २९ मा समाप्त भयो। अनि यति नै बेला नासरतका येशूले बप्तिस्मा गर्नुभएको थियो र पवित्र आत्माद्वारा अभिषेक हुनुभएको थियो। यसरी उहाँ मसीह साबित हुनुभयो।—मत्ती ३:१३-१७ b

५. अब हामी कस्ता भविष्यवाणीहरू विचार गर्नेछौं?

अब हामी मसीहबारे गरिएका थुप्रै भविष्यवाणीमध्ये केही विचार गर्नेछौं। ती भविष्यवाणीहरू येशूको जन्म, बाल्यावस्था अनि सेवासित सम्बन्धित छन्‌। यसले पक्कै पनि परमेश्‍वरका भविष्यसूचक वचनहरूमाथिको हाम्रो विश्‍वासलाई अझै बलियो बनाउनेछ। साथै मानिसहरूले लामो समयदेखि आशा गरिरहेका मसीह येशू नै हुनुहुन्थ्यो भन्‍ने सुस्पष्ट प्रमाण पनि हामीले पाउनेछौं।

बाल्यावस्थाबारे गरिएका भविष्यवाणीहरू

६. उत्पत्ति ४९:१० मा गरिएको भविष्यवाणी कसरी पूरा भयो, व्याख्या गर्नुहोस्‌।

मसीहको जन्म इस्राएलको यहूदा कुलमा हुनेछ। आफू मृत्युशय्यामा छँदा कुलपिता याकूबले आफ्ना छोराहरूलाई आशीर्वाद दिंदै यस्तो भविष्यवाणी गरे: “यहूदाको हातबाट राजदण्ड हट्‌नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हट्‌नेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।” (उत्पत्ति ४९:१०) यो भविष्यवाणी मसीहमा पूरा हुनेछ भनेर थुप्रै यहूदी शिक्षकहरू विश्‍वास गर्थे। यहूदा कुलको राजा दाऊदले शासन गर्न थालेपछि त्यो राजदण्ड (शासन गर्ने अधिकार) अनि राज्य चलाउने लाठी (आज्ञा गर्ने शक्‍ति) यहूदाको कुलले पायो। यो शाही अख्तियार अन्तमा गएर सदाको लागि “शीलो”-ले पाउने थियो। “शीलो”-को अर्थ “यो जसको हो; जसको हक लाग्छ” भन्‍ने हो। यो शाही अख्तियारमा जसको हक लाग्छ उसैलाई दिइनेछ भनेर परमेश्‍वरले यहूदाको कुलका अन्तिम राजा सिदकियाहलाई बताउनुभएको थियो। (इज. २१:२६, २७) येशूको जन्म हुनुभन्दा अघि गब्रिएल स्वर्गदूतले मरियमलाई यसो भने: “उहाँको पुर्खा दाऊदको सिंहासन यहोवा परमेश्‍वरले उहाँलाई दिनुहुनेछ। उहाँले राजाको रूपमा याकूबको घरानामाथि सधैंभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” (लूका १:३२, ३३) येशू यहूदाको कुलको हुनुहुन्थ्यो अनि दाऊदकै वंशमा जन्मनुभएको थियो। अनि उहाँले शासन गर्नुहुनेछ भनेर पनि यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। त्यसैले येशू ख्रीष्ट नै शीलो हुनुहुन्छ।—मत्ती १:१-३, ६; लूका ३:२३, ३१-३४.

७. मसीहको जन्मबारे गरिएको भविष्यवाणी कसरी पूरा भयो?

मसीहको जन्म बेतलेहेममा हुनेछ। “ए बेतलेहेम एप्राता, तँ जो यहूदाका हजारौंका बीचमा सानो छस्‌, तँबाट मेरो निम्ति एक जना निस्कनेछ, जो इस्राएलका शासक हुनेछ, जसको सुरु अघिदेखि, अर्थात्‌ प्राचीनकालदेखिनै छ।” (मीका ५:२) मसीहको जन्म यहूदाको सानो सहर बेतलेहेममा हुनेथियो। यो सहरलाई कुनै समय एप्राता पनि भनिन्थ्यो। येशूकी आमा मरियम र धर्मपिता यूसुफ नासरतमा बस्थे। तर रोमी सरकारले आ-आफ्नो जन्मभूमिमा गएर नाम दर्ता गर्ने आदेश दिएकोले उनीहरू पनि आफ्नो जन्मभूमि बेतलेहेममा गएका थिए। अनि त्यहीं नै येशूको जन्म भयो। (मत्ती २:१, ५, ६) कस्तो अचम्मलाग्दो तरिकाले भविष्यवाणी पूरा भयो!

८, ९. मसीहको जन्म र त्यसपछि हुने घटनाहरूबारे कस्तो भविष्यवाणी गरिएको थियो?

मसीहको जन्म कन्याको गर्भबाट हुनेछ। ( यशैया ७:१४ पढ्‌नुहोस्‌) ‘कन्याले एउटा छोरो जन्माउनेछ’ भनेर यशैया ७:१४ मा भविष्यवाणी गरिएको थियो। यशैयाको पुस्तकमा भविष्यवाणी गरिएको यो कुरा येशूमा पूरा भयो भनेर मत्तीले लेखे। मरियम कन्या थिइन्‌ अनि तिनी परमेश्‍वरको पवित्र शक्‍तिले गर्दा गर्भवती भएकी थिइन्‌ भनेर मत्ती र लूका दुवैले पुष्टि दिएका छन्‌।—मत्ती १:१८-२५; लूका १:२६-३५.

मसीहको जन्मपछि बालकहरूको हत्या गरिनेछ। मसीहको जन्म हुनुभन्दा शताब्दियौं अघि पनि यस्तै घटना घटेको थियो। त्यतिबेला मिश्रका राजा फिरऊनले सबै हिब्रू बालकहरूलाई नील नदीमा फ्याँक्ने आदेश दिएका थिए। (प्रस्थ. १:२२) शत्रुहरूले “आफ्ना बालकहरू” खोसेर लगेको कारण ‘राहेल रून्छे’ भनी यर्मिया ३१:१५, १६ मा भविष्यवाणी गरिएको छ। उक्‍त विवरणले बताएअनुसार राहेलको विलाप रामासम्म सुनियो। यो ठाउँ यरूशलेमदेखि उत्तरतिर बिन्यामीनको इलाकामा पर्थ्यो। राजा हेरोदले बेतलेहेम र त्यस वरिपरिका सबै बालकहरूलाई मार्ने आदेश दिंदा यर्मियाको यो भविष्यवाणी पूरा भयो भनेर मत्तीको विवरणले देखाउँछ। ( मत्ती २:१६-१८ पढ्‌नुहोस्‌) त्यस इलाकामा कत्ति रुवाबासी भयो होला!

१०. होशे ११:१ येशूमा कसरी पूरा भयो, व्याख्या गर्नुहोस्‌।

१० इस्राएलीहरूलाई जस्तै मसीहलाई पनि मिश्रबाट बोलाइनेछ। (होशे ११:१) येशूलाई राजा हेरोदको हातबाट बचाउन स्वर्गदूतले यूसुफ र मरियमलाई इस्राएल छोडेर मिश्रमा जान भन्छन्‌। “हेरोदको मृत्यु नहोउन्जेल” उनीहरू त्यहीं बसे। “यसरी यहोवाले आफ्नो भविष्यवक्‍ताद्वारा भन्‍नुभएको यो वचन पूरा भयो: ‘मैले आफ्नो छोरोलाई मिश्र देशबाट बोलाएँ।’ ” (मत्ती २:१३-१५) मसीहको जन्म र बाल्यावस्थाबारे जे-जति भविष्यवाणी गरिएका थिए, ती आफ्नो जीवनमा पूरा गराउनु येशूको वशको कुरा थिएन।

मसीहले आफ्नो काम थाल्नुहुन्छ

११. मसीहको निम्ति कसले बाटो तयार पारे?

११ परमेश्‍वरको अभिषिक्‍त जनको निम्ति बाटो तयार पारिनेछ। यो काम “एलिया अगमवक्‍ता”-ले गर्नेछन्‌ भनेर मलाकीले भविष्यवाणी गरे। तिनले मसीह आउनअघि मानिसहरूको मन तयार पार्नेथिए। ( मलाकी ४:५, ६ पढ्‌नुहोस्‌) भविष्यवाणी गरिएका ती “एलिया” बप्तिस्मा गराउने यूहन्‍ना हुन्‌ भनेर येशू आफैले भन्‍नुभयो। (मत्ती ११:१२-१४) अनि यूहन्‍नाको कामले यशैयाको भविष्यवाणी पूरा गऱ्‍यो भनेर मर्कूसले उल्लेख गरे। (यशै. ४०:३; मर्कू. १:१-४) यूहन्‍नालाई एलियाको काम गर्न येशूले अह्राउनुभएको थिएन। एलियाको काम गर्न र मसीहको निम्ति बाटो तयार पार्न परमेश्‍वर आफैले यूहन्‍नालाई छान्‍नुभएको थियो किनकि मानिसहरूले मसीहलाई चिनेको उहाँ चाहनुहुन्थ्यो।

१२. परमेश्‍वरले मसीहलाई कस्तो विशेष काम दिनुभएको थियो?

१२ परमेश्‍वरले मसीहलाई एउटा विशेष काम दिनुहुनेछ। एकदिनको कुरा हो, येशू आफू हुर्केको सहर नासरतको सभाघरमा हुनुहुन्थ्यो। त्यसबेला येशूले यशैयाको पुस्तकको मुठा खोल्नुभयो र त्यसमा लेखिएको यो कुरा पढ्‌नुभयो: “यहोवाको पवित्र शक्‍ति ममाथि छ। किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ, कि मैले कैदीहरूले पाउने मुक्‍ति र अन्धाहरूले पाउने दृष्टिबारे प्रचार गरूँ, पिल्सिएकाहरूलाई छुटाऊँ, अनि यहोवाको निगाह पाउने समयबारे प्रचार गरूँ।” त्यसपछि, यो भविष्यवाणी आफ्नो विषयमा गरिएको हो भनेर उहाँले बताउनुभयो। येशू नै मसीह हुनुहुन्थ्यो। त्यसैले उहाँले यसो भन्‍नु एकदमै ठीक थियो: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”—लूका ४:१६-२१.

१३. येशूले गालीलमा प्रचार गर्ने सन्दर्भमा कस्तो भविष्यवाणी गरिएको थियो?

१३ मसीहले गालीलमा प्रचार गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो। यशैयाले “जबूलून र नप्ताली” अनि “गालील”-को इलाकाबारे यस्तो लेखे: “अन्धकारमा हिंड्‌ने मानिसहरूले एउटा ठूलो ज्योति देखे, मृत्युको छायाको देशमा बसोबासो गर्नेहरूमाथि ज्योतिको प्रकाश भयो।” (यशै. ९:१, २) येशूले गालीलको कफर्नहुम भन्‍ने सहरबाट आफ्नो जनसेवा सुरु गर्नुभयो। उहाँले जबूलून र नप्तालीको इलाकामा पनि प्रचार गर्नुभयो। यसरी उहाँले ती ठाउँका मानिसहरूलाई सत्य सिकाएर ज्योति छर्नुभयो। (मत्ती ४:१२-१६) गालीलमा येशूले डाँडाको उपदेश दिनुभयो, चेलाहरू रोज्नुभयो, पहिलो चमत्कार गर्नुभयो। अनि आफ्नो पुनरुत्थानपछि ५०० भन्दा बढी चेलाहरूकहाँ देखा परेको ठाउँ पनि गालील नै थियो। (मत्ती ५:१–७:२७; २८:१६-२०; मर्कू. ३:१३, १४; यूह. २:८-११; १ कोरि. १५:६) “जबूलून र नप्ताली”-को इलाकामा प्रचार गरेर येशूले यशैयाको भविष्यवाणी पूरा गर्नुभयो। निस्सन्देह, येशूले यी ठाउँहरू बाहेक इस्राएलको अन्य भूभागमा पनि परमेश्‍वरको राज्यबारे प्रचार गर्नुभयो।

मसीहको अरू गतिविधिबारे गरिएका भविष्यवाणीहरू

१४. भजन ७८:२ कसरी येशूमा पूरा भयो?

१४ मसीह उदाहरण र दृष्टान्त चलाएर बोल्नुहुनेछ। भजनहार आसापले यस्तो गीत गाए: “उखानमा म मेरो मुख खोल्नेछु।” (भज. ७८:२) यो भविष्यवाणी येशूमा पूरा भयो भनेर हामी कसरी भन्‍न सक्छौं? यसको जवाफ मत्तीले दिएका छन्‌। येशूले स्वर्गको राज्यलाई रायोको गेडा अनि खमिरसित तुलना गर्नुभयो भनी बताइसकेपछि मत्तीले यसो भने: “विनादृष्टान्त उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो। यसरी भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो: ‘दृष्टान्तहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि छिपेको कुरा म प्रकट गर्नेछु।’ ” (मत्ती १३:३१-३५) येशूले उदाहरण र दृष्टान्त चलाउनुभएकोले नै मानिसहरूलाई प्रभावकारी रूपमा सिकाउन सक्नुभयो।

१५. यशैया ५३:४ कसरी पूरा भयो?

१५ मसीहले रोगबिमार निको पार्नुहुनेछ। यशैयाले यस्तो भविष्यवाणी गरे: “निश्‍चय उसले हाम्रै कष्टहरू सह्‍यो, र हाम्रा दु:ख भोग्यो।” (यशै. ५३:४) पत्रुसको सासूलाई निको पारिसकेपछि येशूले अरूलाई पनि निको पार्नुभयो भनी मत्तीले बताए। यसरी “यशैया अगमवक्‍ताले बोलेका कुरा पूरा भयो, ‘उहाँ आफैले हामीहरूका कमजोरी लिनुभयो, र रोगहरू बोक्नुभयो।’ ” (मत्ती ८:१४-१७) यसबाहेक अरू थुप्रै चोटि पनि येशूले बिरामीहरूलाई निको पार्नुभयो भनी बाइबलमा उल्लेख गरिएको छ।

१६. यशैया ५३:१ येशूमा पूरा भयो भनेर हामी प्रेषित यूहन्‍नाका शब्दहरूबाट कसरी थाह पाउन सक्छौं?

१६ मसीहले थुप्रै असल काम गरे तापनि धेरै जनाले उहाँमाथि विश्‍वास गर्नेछैनन्‌। ( यशैया ५३:१ पढ्‌नुहोस्‌) यो भविष्यवाणी कसरी पूरा भयो भनेर बताउँदै प्रेषित यूहन्‍नाले लेखे: “[येशूले] तिनीहरूको अगाडि धेरै चमत्कार गरिसक्नुभएको भए तापनि तिनीहरूले उहाँमाथि विश्‍वास गरेनन्‌। यसैकारण भविष्यवक्‍ता यशैयाको यो वचन पूरा भयो: ‘हे यहोवा, हामीले सुनेको कुरामा कसले विश्‍वास गरेको छ? अनि यहोवाले आफ्नो बाहुबल कसलाई प्रकट गर्नुभएको छ?’ ” (यूह. १२:३७, ३८) वर्षौंपछि प्रेषित पावलले सुसमाचार प्रचार गर्दा पनि एकदमै थोरै मानिसहरूले मात्र येशू नै मसीह हुनुहुन्छ भनेर विश्‍वास गरे।—रोमी १०:१६, १७.

१७. भजन ६९:४ कसरी सही साबित भयो?

१७ मसीहलाई विनाकारण घृणा गरिनेछ। (भज. ६९:४) येशूले यसो भन्‍नुभयो: “अरू कसैले नगरेको काम मैले पनि [मानिसहरूमाझ] नगरेको भए तिनीहरूमा कुनै पाप हुनेथिएन; तर अब तिनीहरूले मेरो काम देख्नुका साथै मेरो बुबा र मलाई घृणा पनि गरेका छन्‌। तर तिनीहरूको व्यवस्थामा लेखिएको ‘तिनीहरूले विनाकारण मलाई घृणा गरे’ भन्‍ने वचन पूरा होस्‌ भनेर यसो भएको हो।” (यूह. १५:२४, २५) यहाँ उल्लेख गरिएको “व्यवस्था”-ले त्यतिबेला उपलब्ध धर्मशास्त्रको सम्पूर्ण अंशलाई बुझाउँछ। (यूह. १०:३४; १२:३४) सुसमाचारको विवरणले येशूलाई घृणा गरियो भनेर पुष्टि गर्छ। विशेषगरि यहूदी धर्मगुरुहरूले उहाँलाई घृणा गरे। साथै येशूले यसो पनि भन्‍नुभयो: “संसारले तिमीहरूलाई घृणा गर्ने कुनै कारण छैन तर मलाई भने घृणा गर्छ, किनकि त्यसका कामहरू दुष्ट छन्‌ भनी म साक्षी दिन्छु।”—यूह. ७:७.

१८. अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१८ प्रथम शताब्दीका ख्रीष्टियनहरू येशू नै मसीह हुनुहुन्छ भनेर पक्का थिए किनभने हिब्रू धर्मशास्त्रमा मसीहसम्बन्धी जे-जति भविष्यवाणी गरिएका थिए, ती सबै उहाँमा पूरा भए। (मत्ती १६:१६) मसीहको बाल्यावस्था अनि सेवाबारे गरिएका भविष्यवाणीहरू नासरतका येशूमा पूरा भयो भनी हामीले देख्यौं। उहाँबारे गरिएका थप भविष्यवाणीहरूबारे हामी अर्को लेखमा छलफल गर्नेछौं। यी भविष्यवाणीहरूमा गहिरिएर ध्यान दियौं भने येशू नै परमेश्‍वरले चुन्‍नुभएको मसीह हुनुहुन्छ भन्‍ने कुरामा हामी पक्का हुन सक्नेछौं।

[फुटनोट]

a Revised Standard Version

b “सत्तरी हप्ता”-बारे थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ १९७-१९९ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• येशूको जन्मसम्बन्धी के-कस्ता भविष्यवाणीहरू पूरा भए?

• मसीहको निम्ति कसले बाटो तयार पाऱ्‍यो?

यशैया अध्याय ५३ मा गरिएका भविष्यवाणीहरू कसरी येशूमा पूरा भए?

[अध्ययनका लागि प्रश्‍नहरू]