सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शान्ति कायम हुने कुराहरूको पछि लागौं

शान्ति कायम हुने कुराहरूको पछि लागौं

शान्ति कायम हुने कुराहरूको पछि लागौं

“आपसमा शान्ति कायम हुने . . . कुराहरूको पछि लागौं।”—रोमी १४:१९.

१, २. के-कस्तो कारणले गर्दा यहोवाका साक्षीहरू शान्तिमय अवस्थामा रहन सकेका हुन्‌?

 अहिलेको संसारमा शान्ति ‘आकाशको फल आँखा तरी मर्‌’ भनेजस्तै भएको छ। एउटै देशका अनि एउटै भाषा बोल्ने मानिसहरू पनि धार्मिक, राजनैतिक अनि सामाजिक कारणले गर्दा विभाजित छन्‌। तर अर्कोतर्फ “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” ७० लाखभन्दा धेरै यहोवाका उपासकहरू भने आपसमा शान्तिमा रहेका छन्‌।—प्रका. ७:९.

हामीमाझ यस्तो शान्तिमय अवस्था आफसेआफ आएको होइन। यसको प्रमुख कारण हो, हामीले “परमेश्‍वरसित शान्तिमय सम्बन्ध कायम” राखेका छौं। हाम्रो निम्ति जीवन अर्पण गर्नुहुने येशू ख्रीष्टमाथि विश्‍वास गरेकोले नै परमेश्‍वरसित यस्तो सम्बन्ध गाँस्न सकेका हौं। (रोमी ५:१; एफि. १:७) दोस्रो कारण, परमेश्‍वर हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ र पवित्र शक्‍तिको फलमा शान्ति पनि समावेश छ। (गला. ५:२२) हामीबीच शान्ति हुनुको अर्को कारण, हामी “यस संसारका होइनौं।” (यूह. १५:१९) हामी राजनैतिक विवादहरूमा तटस्थ छौं। यसको अर्थ, हामी युद्ध वा राजनीतिमा भाग लिंदैनौं किनभने हामीले ‘तरवार पिटेर हलोको फाली बनाएका छौं।’—यशै. २:४.

३. हामीमाझ छाएको शान्तिले गर्दा कस्तो कुरा सम्भव भएको छ र हामी यस लेखमा के छलफल गर्नेछौं?

हामीले सङ्‌गत गर्ने मण्डलीमा विभिन्‍न जाति अनि संस्कृतिका मानिसहरू छन्‌। हामीमाझ भएको शान्तिको कुरा गर्नुपर्दा, हामी आफ्ना भाइबहिनीहरूलाई हानि नपुऱ्‍याउने मात्र होइन बरु “आपसमा प्रेम” पनि गर्छौं। (यूह. १५:१७) त्यतिमात्र होइन शान्तिमा रहने भएकोले नै ‘हामी सबैको भलाइ गर्छौं र अझ विशेष गरी एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीहरूको।’ (गला. ६:१०) यहोवा अनि हाम्रा भाइबहिनीसितको हाम्रो शान्तिमय सम्बन्ध एकदमै बहुमूल्य छ र हामीले यसको जगेर्ना गर्नुपर्छ। त्यसोभए आउनुहोस्‌, हामी मण्डलीमा कसरी शान्ति हुने कुराको पछि लाग्न सक्छौं, जाँचेर हेरौं।

जब हामी चुक्छौं

४. कसैको चित्त दुखाएका छौं भने त्यतिबेला हामीले शान्ति कायम गर्न कुन सल्लाह लागू गर्नुपर्छ?

चेला याकूबले यस्तो लेखे: “हामी सबै जना धेरै चोटि चुक्छौं। यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ।” (याकू. ३:२) भाइबहिनीहरूबीच कहिलेकाहीं मतभेद हुनु वा असमझदारी पैदा हुनु स्वाभाविकै हो। (फिलि. ४:२, ३) तर त्यस्ता समस्याहरू सुल्झाउनै नसकिने खालका हुँदैनन्‌। त्यसैले त्यसलाई बेलैमा सुल्झाउनुपर्छ र मण्डलीको शान्ति भङ्‌ग गर्नुहुँदैन। उदाहरणको लागि, यदि हामीले कसैको चित्त दुखाएका छौं भने त्यतिबेला कस्तो सल्लाह लागू गर्नुपर्छ भन्‍ने विषयमा विचार गर्नुहोस्‌।—मत्ती ५:२३, २४ पढ्‌नुहोस्‌।

५. कसैले हाम्रो चित्त दुखाएको छ भने हामी कसरी शान्ति कायम हुने कुराको पछि लाग्न सक्छौं?

यदि कसैले हाम्रो चित्त दुखाएको छ भने नि? के हामी त्यतिबेला हाम्रो चित्त दुखाउने व्यक्‍ति आफै आएर क्षमा मागोस्‌ भन्‍ने सोचाइ राख्छौं? “[प्रेमले] खराबीको हिसाब राख्दैन” भनेर १ कोरिन्थी १३:५ बताउँछ। त्यसैले हाम्रो चित्त दुखाउने व्यक्‍तिलाई क्षमा गरेर अनि उसको गल्तीलाई चटक्कै बिर्सेर हामी शान्ति कायम हुने कुराको पछि लाग्छौं। ( कलस्सी ३:१३ पढ्‌नुहोस्‌) हामीमाझ सानोतिनो समस्या खडा हुँदा यसरी नै समस्या सुल्झाउनु राम्रो हुन्छ किनभने यसो गर्दा हामी भाइबहिनीसित सुमधुर सम्बन्ध कायम राख्न सक्छौं र हाम्रो मन पनि प्रफुल्ल हुनेछ। बुद्धिको सार लुकेको एउटा उपदेश यसो भन्छ: “दोषको वास्ता नगर्नु मानिसको गौरव हो।”—हितो. १९:११.

६. कसैले हामीविरुद्ध गरेको गल्ती बिर्सनै गाह्रो भयो भने के गर्नुपर्छ?

तर यदि कसैले हामीविरुद्ध गरेको गल्ती बिर्सनै गाह्रो भयो भने नि? कुरा फैलाउँदै हिंड्‌नु पक्कै बुद्धिमानी होइन। यसरी अरूको कुरा काट्‌दै हिंड्‌दा मण्डलीको शान्ति भङ्‌ग हुन्छ। त्यसोभए यस्तो समस्या कसरी सुल्झाउने त? यसको जवाफ मत्ती १८:१५ मा पाइन्छ: “यदि तिम्रो भाइले पाप गऱ्‍यो भने जाऊ र तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्यो भने तिमीले तिम्रो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।” मत्ती १८:१५-१७ मा दिइएको सल्लाह गम्भीर किसिमको पापको सन्दर्भमा लागू हुने भए तापनि यसमा पाइने सिद्धान्त अन्य अवस्थामा पनि लागू गर्न सकिन्छ। कसैले हामीविरुद्ध गल्ती गर्दा सबैभन्दा पहिले दुई जना मात्र बसेर त्यसबारे कुरा गर्नु बेस हुन्छ। हामीले दयालु हुँदै र तिनीसित फेरि मिलाप गर्ने उद्देश्‍यसहित कुरा गर्नुपर्छ।  a

७. समस्या सुल्झाउन हामीले किन तुरुन्तै कदम चाल्नुपर्छ?

प्रेषित पावलले लेखे: “क्रोध गर तर पाप नगर; घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌, दियाबललाई मौका नदेओ।” (एफि. ४:२६, २७) येशूले पनि यसो भन्‍नुभयो: “तिमीलाई मुद्दा लगाउने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल।” (मत्ती ५:२५) त्यसैले अरूसित शान्ति कायम गर्ने हो भने हामीले तुरुन्तै समस्या सुल्झाउनु आवश्‍यक छ। किन? किनभने तुरुन्तै समस्या सुल्झाउनु भनेको घाउलाई समयमै उपचार गर्नु जस्तै हो। समयमै घाउको हेरविचार गर्दा घाउ पाक्न पाउँदैन। त्यसैगरि तुरुन्तै समस्या सुल्झाउँदा तीलजत्रो समस्या पहाड हुन पाउँदैन। त्यसैले घमन्ड, डाह अनि पैसाको अचाक्ली मोहलाई शान्ति कायम गर्नको लागि बाधक हुन नदेऔं।—याकू. ४:१-६.

धेरै जना समावेश भएको विवाद खडा हुँदा

८, ९. (क) प्रथम शताब्दीमा रोमको मण्डलीभित्र कस्तो बेग्ला-बेग्लै धारणा थियो? (ख) पावलले रोमका ख्रीष्टियनहरूलाई कस्तो सल्लाह दिए?

कहिलेकाहीं मण्डलीका दुई जना मात्र नभई धेरै जना मुछिएको विवाद खडा हुन सक्छ। रोमका ख्रीष्टियनहरूमाझ पनि यस्तै भएको थियो। त्यस विवादमा यहूदी र अन्यजाति दुवै खाले ख्रीष्टियनहरू मुछिएका थिए। कसै-कसैको अन्तस्करण कमजोर थियो। धर्मशास्त्रले गलत हो भनेर नबताएका कुराहरूसमेत तिनीहरूको अन्तस्करणले गर्न दिंदैनथ्यो। अर्कोतर्फ, कसै-कसैको अन्तस्करणले भने तिनीहरूलाई यी काम गर्न दिन्थ्यो। ती दुवै समूहले आफ्नो व्यक्‍तिगत धारणाको आधारमा एकअर्काको निसाफ गरिरहेका थिए। पावलले त्यस मण्डलीलाई कस्तो सल्लाह दिए?—रोमी १४:१-६.

पावलले यस विवादमा मुछिएका दुवै पक्षलाई सल्लाह दिए। मोशाको व्यवस्था पालन गर्नु पर्दैन भन्‍नेहरूलाई तिनले आफ्ना भाइहरूलाई तुच्छ नठान्‍न सल्लाह दिए। (रोमी १४:२, १०) यसो गरेमा मोशाको व्यवस्थाले निषेध गरेका खानेकुराहरू खानु गलत हो भन्ठान्‍ने भाइहरूले ठक्कर खान सक्थे। पावलले तिनीहरूलाई यस्तो सल्लाह दिए: “खानेकुराको खातिर हामी परमेश्‍वरको कामलाई नबिगारौं। . . . तिमीले मासु खाँदा, मद्य पिउँदा वा अरू केही गर्दा तिम्रो भाइलाई ठक्कर पुग्छ भने त्यसो नगर्नु नै बेस हो।” (रोमी १४:१४, १५, २०, २१) अर्कोतर्फ, कमजोर अन्तस्करण भएकाहरूलाई पावलले खुला विचारधारा राख्नेहरूको निसाफ नगर्न सल्लाह दिए। (रोमी १४:१३) तिनले भने: “आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान।” (रोमी १२:३) दुवै पक्षलाई सल्लाह दिइसकेपछि पावलले यस्तो लेखे: “त्यसैले अब हामी आपसमा शान्ति कायम हुने अनि एक-अर्काको उत्थान हुने कुराहरूको पछि लागौं।”—रोमी १४:१९.

१०. विवाद सुल्झाउन रोमका ख्रीष्टियनहरूले जस्तै आज हामीले पनि के गर्नुपर्ने हुन सक्छ?

१० रोमका ख्रीष्टियनहरूले पावलको सल्लाह स्वीकारे अनि आवश्‍यक काँटछाँट गरे भनेर हामी पक्का हुन सक्छौं। आज पनि ख्रीष्टियन मण्डलीमा मतभेद हुँदा धर्मशास्त्रको सल्लाह पालन गरेमा मायालु तरिकामा समस्या सुल्झाउन सक्छौं। “आपसमा शान्ति कायम” राख्न आज पनि विवादमा मुछिएका दुवै पक्षले रोमका भाइबहिनीहरूले जस्तै आवश्‍यक काँटछाँट गर्नुपर्ने हुन सक्छ।—मर्कू. ९:५०.

एल्डरहरूको भूमिका

११. अर्को ख्रीष्टियनसित खटपट परेको भाइ वा बहिनीले आफूसित कुराकानी गर्न चाहेमा एल्डरले के गर्नुपर्छ?

११ आफ्नो नातेदार वा सँगी भाइबहिनीसित खटपट परेको भाइ वा बहिनीले त्यसबारे एल्डरसित कुराकानी गर्न चाहेमा नि? हितोपदेश २१:१३ यसो भन्छ: “कसैले असहायको बिन्ती सुनेन भने त्यसले पनि सहायताको निम्ति पुकारा गर्दा त्यसको बिन्ती सुनिनेछैन।” हो, एल्डरले उक्‍त व्यक्‍तिको ‘बिन्ती सुन्‍नुपर्छ।’ तर अर्को बाइबल पदमा यस्तो चेतावनी दिइएको छ: “मुद्दा-मामिलामा अगि आएर प्रश्‍न नगरुन्जेल पहिले बोल्ने नै ठीक देखा पर्छ।” (हितो. १८:१७) तसर्थ, एल्डरले उक्‍त व्यक्‍तिको कुरा दयालुपूर्वक सुन्‍नुपर्छ तर तिनकै पक्ष लिनदेखि चाहिं होसियार हुनै पर्छ। ध्यानपूर्वक कुरा सुनिसकेपछि त्यस समस्याबारे तिनले अर्को पक्षसित कुरा गरिसकेका छन्‌ कि छैनन्‌ भनेर एल्डरले सोध्न सक्छन्‌। शान्ति कायम हुने कुराको पछि लाग्न के-कस्तो धर्मशास्त्रीय कदम चाल्न सकिन्छ, त्यसबारे पनि एल्डरले उक्‍त व्यक्‍तिसित कुरा गर्न सक्छन्‌।

१२. एउटा मात्र पक्षको कुरा सुनेर तत्कालै निर्णय गर्नु खतरनाक हुन सक्छ भनेर कुन तीन उदाहरणले देखाउँछ?

१२ एउटा मात्र पक्षको कुरा सुनेर तत्कालै निर्णय गर्नु खतरनाक हुन सक्छ भनेर तीन वटा बाइबल उदाहरणले देखाउँछ। एउटा उदाहरण हो—पोतिफरको। तिनकी श्रीमतीले यूसुफले आफूमाथि बलात्कार गर्न खोजेको बताउँदा तिनले तुरुन्तै उनको कुरा पत्याए अनि रिसको सुरमा तिनले यूसुफलाई झ्यालखानामा जाकिदिए। (उत्प. ३९:१९, २०) अर्को उदाहरण हो, राजा दाऊदको। सीबाले आफ्नो मालिक मपीबोशेत दाऊदका शत्रुहरूको पक्षमा छन्‌ भनेर बताउँदा दाऊदले तिनको कुरा तुरुन्तै विश्‍वास गरे र यस्तो जवाफ दिए: “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” (२ शमू. १६:४; १९:२५-२७) तेस्रो उदाहरण हो, राजा आर्टजारसेजको। यहूदीहरूले यरूशलेमको पुनर्निर्माण गरेर राजाको विरुद्धमा उठ्‌ने मतो गरिरहेका छन्‌ भनेर तिनीहरूका शत्रुहरूले राजालाई बताइदिए। यो कुरा सुनेर राजाले तुरुन्तै यरूशलेमको काम रोक्न लगाए। फलतः यहूदीहरूले परमेश्‍वरको मन्दिरमा गरिरहेको कामलाई निरन्तरता दिन सकेनन्‌। (एज्रा ४:११-१३, २३, २४) कुरोको चुरोमा नपुगी झट्टै न्याय गर्नु राम्रो होइन भनेर पावलले तिमोथीलाई दिएको सल्लाह आजका एल्डरहरूले पनि मनमा राख्नु बुद्धिमानी हुन्छ।—१ तिमोथी ५:२१ पढ्‌नुहोस्‌।

१३, १४. (क) दुवै पक्षको कुरा सुनिसकेपछि पनि हामीले कुन कुरा याद राख्नु महत्त्वपूर्ण छ? (ख) सही न्याय गर्न एल्डरहरूलाई कुन कुराले मदत गर्न सक्छ?

१३ दुवै पक्षको कुरा सुनिसकेपछि हामीलाई ‘मैले त सबै कुरा थाह पाइसकें’ भन्‍ने लाग्न सक्छ। तर त्यतिबेला हामीले बाइबलको यो कुरा याद राख्नु महत्त्वपूर्ण छ: “यदि कसैले कुनै विषयमा ज्ञान हासिल गरिसकेको छु भनी सोच्छ भने उसले त्यसबारे जे थाह पाउनुपर्ने हो, त्यो थाह पाइसकेको हुँदैन।” (१ कोरि. ८:२) के-कस्तो कारणले गर्दा उक्‍त विवाद खडा भयो, त्यसबारे के हामीले साँच्चै बुझेका छौं र? के हामीले दुवै पक्षको पृष्ठभूमि राम्ररी बुझेका छौं र? त्यसैले झूटा कुरा, धुर्त्याइँ वा अफबाह जस्ता कुराले आफूले गर्ने न्यायमा असर नगरोस्‌ भनेर एल्डरहरू निकै चनाखो हुनुपर्छ! परमेश्‍वरले नियुक्‍त गर्नुभएका न्यायकर्ता येशू ख्रीष्टले सही तरिकामा न्याय गर्नुहुन्छ। उहाँले ‘मुख हेरेर इन्साफ गर्नुहुन्‍न र कानले सुनेर मात्र विचार गर्नुहुन्‍न।’ (यशै. ११:३, ४) यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइमा चलेर येशूले न्याय गर्नुहुन्छ। त्यसैले एल्डरहरूले पनि परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइमा चलेर न्याय गर्नु आवश्‍यक छ।

१४ समस्या सुल्झाउनअघि एल्डरहरूले पवित्र शक्‍तिको लागि यहोवासित प्रार्थना गर्नु आवश्‍यक छ। प्रार्थना गरिसकेपछि तिनीहरूले पवित्र शक्‍तिको डोऱ्‍याइ पाउन सक्छन्‌। भन्‍नुको मतलब, तिनीहरूले बाइबल अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले प्रकाशन गरिदिएका साहित्यहरूमार्फत डोऱ्‍याइ पाउन सक्छन्‌।—मत्ती २४:४५.

परमेश्‍वरसितको शान्ति सर्वमहत्त्वपूर्ण

१५. कसैले गम्भीर पाप गरेको थाह भएमा कुनै ख्रीष्टियनले कस्तो अवस्थामा एल्डरलाई बताउनुपर्छ?

१५ ख्रीष्टियन भएकोले हामीलाई शान्ति हुने कुराको पछि लाग्न अर्ती दिइएको छ। तर बाइबल यसो पनि भन्छ: “माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम पवित्र हुन्छ, त्यसपछि शान्तिप्रिय।” (याकू. ३:१७) यहाँ बताइएअनुसार सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पवित्र हुनु हो। पवित्र हुनु भनेको परमेश्‍वरको सही नैतिक स्तर स्वीकार्नु र त्यसैअनुसार जीवन बिताउनु हो। मण्डलीको कुनै भाइ वा बहिनीले गम्भीर पाप गरेको थाह भएमा त्यो थाह पाउने ख्रीष्टियनले के गर्नुपर्छ? तिनले पाप गर्ने व्यक्‍तिलाई एल्डरहरूसित कुरा गर्न प्रोत्साहन दिनुपर्छ। (१ कोरि. ६:९, १०; याकू. ५:१४-१६) यदि उसले त्यसो गर्न मानेन भने आफैले गएर त्यस विषयमा एल्डरलाई बताउनुपर्छ। तर शान्ति कायम गर्ने निहुँमा तिनले एल्डरलाई त्यो कुरा बताउँदैनन्‌ भने तिनले पनि पाप गर्ने व्यक्‍तिलाई साथ दिइरहेको ठहरिनेछ।—लेवी ५:१; हितोपदेश २९:२४ पढ्‌नुहोस्‌।

१६. राजा योरामविरुद्ध येहूले चालेको कदमबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१६ येहूसम्बन्धी एउटा बाइबल विवरणले यहोवाको स्तरबमोजिम चल्नु नै सर्वमहत्त्वपूर्ण कुरा हो भनेर स्पष्ट पार्छ। परमेश्‍वरले राजा आहाबको परिवारलाई सजाय दिन येहूलाई पठाउनुभयो। येहू आउँदै गरेको देखेर आहाब र ईजेबेलका छोरा, दुष्ट राजा योराम आफ्नो रथमा चढेर येहूलाई भेट्‌न गए र तिनलाई यसरी सोधे: “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले कस्तो जवाफ दिए? तिनले भने: “तिम्री आमा ईजेबेलले आफ्नो घिनलाग्दो मूर्ति-पूजा र तंत्रमंत्र गर्दछिन्‌ भने केको मित्रभाव?” (२ राजा ९:२२) त्यसपछि येहूले आफ्नो धनु पूरा खिचेर योरामको छातीमै ताकेर हाने। येहूले जस्तै एल्डरहरूले पनि ठोस कदम चाल्नै पर्छ। अपश्‍चात्तापी पापीसित शान्ति कायम गर्नुपर्छ भनेर उसलाई त्यत्तिकै छोड्‌न मिल्दैन। परमेश्‍वर र मण्डलीबीच शान्तिमय सम्बन्ध कायम राख्न तिनीहरूले त्यस्तो व्यक्‍तिलाई मण्डलीबाट बहिष्कार गर्नै पर्छ।—१ कोरि. ५:१, २, ११-१३.

१७. मण्डलीको शान्ति कायम गर्न हामी सबैले के गर्नुपर्छ?

१७ कहिलेकाहीं, कुनै व्यक्‍तिले गरेको गल्ती न्यायिक कदम चाल्नै पर्ने गम्भीर किसिमको नहुन सक्छ। त्यसकारण उनीहरूप्रति प्रेम देखाउँदै उनीहरूको गल्ती ढाकछोप गर्नु बेस हो। परमेश्‍वरको वचन यसो भन्छ: “अर्काको दोष ढाकछोप गर्नेले त्यसबाट प्रेमभावको आशा गर्छ, तर अर्काको कुरा घरिघरि दोहोऱ्‍याउनेले मित्रता तोड्‌छ।” (हितो. १७:९) यी प्रेरित शब्दहरूअनुरूपै गर्दा मण्डलीमा शान्ति कायम गर्न अनि यहोवासित सुमधुर सम्बन्ध गाँस्न मदत पाउँछौं।—मत्ती ६:१४, १५.

शान्ति हुने कुराको पछि लाग्दा आशिष्‌ पाइन्छ

१८, १९. आपसमा शान्ति कायम हुने कुराको पछि लाग्दा कस्तो फाइदा हुन्छ?

१८ “आपसमा शान्ति कायम हुने” कुराको पछि लाग्दा हामीले प्रशस्त आशिष्‌ पाउँछौं। यहोवाको मार्ग पछ्याउँदा हामीले उहाँसित व्यक्‍तिगत सम्बन्धको आनन्द उठाउन सक्छौं अनि मण्डलीको एकता कायम राख्न योगदान पुऱ्‍याउन सक्छौं। मण्डलीमा शान्ति कायम हुने कुराको पछि लाग्दा हामीले जसलाई ‘शान्तिको सुसमाचार’ सुनाउँछौं, तिनीहरूसित शान्ति कायम गर्न पनि सिकिरहेका हुन्छौं। (एफि. ६:१५) साथै हामी ‘सबैसित कोमल व्यवहार गर्न र अरूले दुर्व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्न’ तयार भइरहेका हुन्छौं।—२ तिमो. २:२४.

१९ यो पनि याद राख्नुहोस्‌, भविष्यमा यहोवाले ‘उहाँको स्तरबमोजिम असल काम गर्ने अनि नगर्ने’ दुवै खाले मानिसहरूलाई पुनर्जीवित गर्नुहुनेछ। (प्रेषि. २४:१५) त्यो दिन धेरै टाढा छैन। त्यतिबेला भिन्‍नाभिन्‍नै पृष्ठभूमि, स्वभाव अनि व्यक्‍तित्वका मानिसहरूले जीवन पाउनेछन्‌। “संसारको प्रारम्भदेखि”-का मानिसहरू त्यहाँ हुनेछन्‌। (लूका ११:५०, ५१) पुनर्जीवित भएकाहरूलाई शान्तिको मार्ग सिकाउन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! आपसमा शान्ति कायम हुने कुराको पछि लाग्न अहिले हामीले पाइरहेको तालिमले त्यतिबेला निकै मदत गर्नेछ।

[फुटनोट]

a कसैले अरूको निन्दाचर्चा गर्ने वा अरूलाई ठग्ने जस्तो गम्भीर पाप गरेमा के गर्ने, त्यस विषयमा धर्मशास्त्रीय सल्लाहका लागि प्रहरीधरहरा, अक्टोबर १५, १९९९, पृष्ठ १७-२२ हेर्नुहोस्‌।

तपाईंले के सिक्नुभयो?

• कसैको चित्त दुखाएका छौं भने हामी कसरी शान्ति कायम हुने कुराको पछि लाग्न सक्छौं?

• कसैले हाम्रो चित्त दुखाएको छ भने शान्ति कायम हुने कुराको पछि लाग्न के गर्नुपर्छ?

• दुई पक्षबीच विवाद खडा हुँदा हामीले कुन कुरा सम्झनु महत्त्वपूर्ण छ?

• अपश्‍चात्तापी पापीसित शान्ति कायम गर्न खोज्नुभन्दा पनि जे सही हो त्यही गर्नु किन महत्त्वपूर्ण छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

अरूलाई खुलेर क्षमा दिनेहरूलाई यहोवा प्रेम गर्नुहुन्छ