सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“धैर्य गरेर दौडौं”

“धैर्य गरेर दौडौं”

“धैर्य गरेर दौडौं”

“हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौं।”—हिब्रू १२:१.

१, २. ख्रीष्टियन जीवनलाई पावलले केसित तुलना गरे?

 हरेक वर्ष थुप्रै ठाउँमा म्याराथन दौडको आयोजना गरिन्छ। उत्कृष्ट कहलिएका धावकहरू जित्ने नै भनेर दौडमा भाग लिन्छन्‌। तर अरूहरूको भने खासै त्यस्तो उद्देश्‍य हुँदैन। उनीहरूको लागि दौड पूरा गर्नु मात्र पनि ठूलो कुरा हो।

बाइबलमा ख्रीष्टियन जीवनलाई दौडसित तुलना गरिएको छ। प्रेषित पावलले कोरिन्थमा बस्ने आफ्ना सँगी ख्रीष्टियनहरूलाई पहिलो पत्र कोर्दा यस कुरातर्फ तिनीहरूको ध्यान खिचे। तिनले यस्तो लेखे: “दौडमा भाग लिने सबै धावकहरू दौडन्छन्‌ तर पुरस्कार भने एक जनाले मात्र पाउँछ भनेर के तिमीहरूलाई थाह छैन? यसैले तिमीहरू पुरस्कार पाउन सक्ने गरी दौड।”—१ कोरि. ९:२४.

३. पावलले दौडमा एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍नुको अर्थ के थियो?

के पावलले ती ख्रीष्टियनहरूमध्ये एक जनाले मात्र जीवनको पुरस्कार पाउँछ तर अरूको परिश्रम भने बेकार जान्छ भन्‍न खोजेका हुन्‌? अहँ, त्यसो होइन। प्रतियोगितामा भाग लिनेजति सबैले दौड जित्ने उद्देश्‍यसहित तालिम लिएका हुन्छन्‌ अनि भएभरको शक्‍ति लगाएर दौडन्छन्‌। सँगी ख्रीष्टियनहरूले पनि अनन्त जीवन पाउनको लागि त्यस्तै प्रयास गरून्‌ भन्‍ने पावल चाहन्थे। त्यसो गरेमा तिनीहरूले जीवनको पुरस्कार पाउने आशा राख्न सक्थे। हो, ख्रीष्टियन जीवनको दौड पूरा गर्नेजति सबैले पुरस्कार पाउँछन्‌।

४. हाम्रो अगाडि राखिएको दौडको सन्दर्भमा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

यसले ख्रीष्टियन जीवनको दौडमा भाग लिने हामी सबैलाई प्रोत्साहन दिन्छ। साथै अहिले हामी कस्तो जीवन बिताउँदैछौं, त्यसबारे गहिरिएर सोच्न पनि झक्झक्याउँछ। किन? किनभने हामीले पाउने पुरस्कार—चाहे त्यो स्वर्गीय जीवन होस्‌ या पार्थिव प्रमोदवनमा पाइने अनन्त जीवन, यो अरू कुनै पनि कुरासित तुलना गर्न नसकिने उत्कृष्ट किसिमको छ। हो, हाम्रो दौड लामो अनि कठिन छ। विभिन्‍न बाधा-अवरोध अनि खतराहरूलाई छिचोल्दै हामीले यो दौड दौडिनुपर्ने हुन्छ। (मत्ती ७:१३, १४) दुःखको कुरा, थुप्रैले आफ्नो गति धिमा गरेका छन्‌, कतिले हार मानेका छन्‌ अनि अरू कतिपयचाहिं ठेस खाएर लडेका छन्‌। जीवन प्राप्त गर्नको लागि हामी सहभागी भएको दौडमा आइपर्ने पासो तथा खतराहरू के-के हुन्‌? हामी कसरी त्यसबाट बच्न सक्छौं? हामी कसरी आफ्नो दौड पूरा गरेर जीवनको पुरस्कार जित्न सक्छौं? आउनुहोस्‌ विचार गरौं।

जित्नको लागि धैर्य चाहिन्छ

५. हिब्रू १२:१ मा पावलले दौडबारे कुन कुरा बताए?

यरूशलेम र यहूदियामा भएका हिब्रू ख्रीष्टियनहरूलाई पत्र लेख्दा पावलले फेरि पनि ख्रीष्टियन जीवनलाई दौडसित तुलना गरे। ( हिब्रू १२:१ पढ्‌नुहोस्‌) तिनले दौडलाई निरन्तरता दिनुपर्ने कारण मात्र बताएनन्‌ तर दौड जित्नको लागि के-के गर्नुपर्छ, त्यसबारे पनि बताए। पावलले यहोवाको प्रेरणा पाएर हिब्रू ख्रीष्टियनहरूलाई दिएको सल्लाहबाट हामी कस्तो पाठ सिक्न सक्छौं, त्यसबारे छलफल गर्नुअघि आउनुहोस्‌, पावलले किन उनीहरूलाई यो पत्र लेखे र उनीहरूले के गरेको पावल चाहन्थे भन्‍ने विषयमा छलफल गरौं।

६. ख्रीष्टियनहरूले यहूदी धर्मगुरुहरूबाट कस्तो दबाबको सामना गरिरहेका थिए?

प्रथम शताब्दीका ख्रीष्टियनहरूले, अझ विशेषगरि यरूशलेम र यहूदियामा बस्ने ख्रीष्टियनहरूले थुप्रै परीक्षा अनि गाह्रो परिस्थितिको सामना गरिरहेका थिए। मानिसहरूमाथि अझै पनि प्रभाव जमाइरहेका यहूदी धर्मगुरुहरूबाट उनीहरूले कडा दबाबको सामना गरिरहेका थिए। वर्षौंअघि ती धर्मगुरुहरूले येशू ख्रीष्टलाई राजद्रोहको आरोप लगाउन र उहाँलाई अपराधीको रूपमा मार्न मानिसहरूलाई उक्साएका थिए। अनि अझै पनि तिनीहरूले ख्रीष्टियनहरूलाई विरोध गर्न छोडेका थिएनन्‌। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा भएको चमत्कारपूर्ण घटनालगत्तै यहूदी धर्मगुरुहरूले ख्रीष्टियनहरूलाई एकपछि अर्को गर्दै डर-धम्की दिएको अनि उनीहरूमाथि आक्रमण गरेको विवरण हामी प्रेषितको पुस्तकमा पाउँछौं। त्यतिबेलाका विश्‍वासी ख्रीष्टियनहरूको जीवन पक्कै पनि कष्टकर भएको हुनुपर्छ।—प्रेषि. ४:१-३; ५:१७, १८; ६:८-१२; ७:५९; ८:१, ३.

७. पावलले पत्र लेखेका ख्रीष्टियनहरू कस्तो नाजुक समयमा बाँचिरहेका थिए?

ती ख्रीष्टियनहरू यरूशलेमको विनाश हुनै लागेको समयमा बाँचिरहेका थिए। अविश्‍वासी यहूदी राष्ट्रमाथि विनाश आइपर्नेछ भनेर येशूले ती ख्रीष्टियनहरूलाई भन्‍नुभएको थियो। साथै यरूशलेमको विनाश हुनुअघि के-कस्तो घटना घट्‌नेछ र बच्नको लागि कस्तो कदम चाल्नुपर्छ भनेर पनि येशूले उनीहरूलाई बताउनुभएको थियो। ( लूका २१:२०-२२ पढ्‌नुहोस्‌) त्यसोभए उनीहरूले के गर्नुपर्थ्यो? येशूले यस्तो चेतावनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्‌, नत्रता त्यो दिन तिमीहरूमाथि अचानक पासोझैं आइपर्नेछ।”—लूका २१:३४, ३५.

८. के-कस्तो कारणले गर्दा कोही-कोहीले ख्रीष्टियन जीवनको दौडमा आफ्नो गति धिमा गरेका अनि हार मानेका हुन सक्छन्‌?

पावलले हिब्रूहरूलाई पत्र लेख्दा येशूले उक्‍त चेतावनी दिनुभएको लगभग ३० वर्ष बितिसकेको थियो। यो समयावधिमा ती ख्रीष्टियनहरूको जीवनले के-कस्तो मोड लियो? कसै-कसैले दैनिक जीवनमा आइपर्ने विभिन्‍न दबाब अनि बाधा-अवरोधको प्रतिरोध गर्न नसकेकोले आध्यात्मिक रूपमा बलियो रहिरहन सकेनन्‌। (हिब्रू ५:११-१४) अरू कतिपयले भने आफू वरपरका यहूदीहरूको जस्तै जीवनशैली अपनाएमा जीवन अझ सजिलो हुन्छ भनेर सोचेको हुनुपर्छ। हुन पनि ती यहूदीहरूले परमेश्‍वरलाई पूर्ण रूपमा तिरस्कार गरेका थिएनन्‌ अनि व्यवस्थाका नियमहरू केही हदसम्म पालन गरिरहेकै थिए। अरू कतिपय ख्रीष्टियनलाई भने मोशाको नीतिनियम पालन गर्नै पर्छ भनेर हठ गर्ने मण्डली भित्रैका कोही-कोही व्यक्‍तिले फकाइफुल्याइ गरेको वा डर-धम्की दिएको हुनुपर्छ। पावलले कसरी आफ्ना सँगी ख्रीष्टियनहरूलाई आध्यात्मिक रूपमा होसियार रहन र धैर्यसाथ दौडन मदत गर्न सक्थे?

९, १०. (क) हिब्रू अध्याय १० को अन्ततिर पावलले कस्तो प्रोत्साहन दिएको हामी पाउँछौं? (ख) पावलले पुरातन समयका साक्षीहरूको विश्‍वासी कार्यबारे किन उल्लेख गरे?

यहोवाको प्रेरणा पाएर पावलले हिब्रू ख्रीष्टियनहरूलाई कसरी बलियो बनाए भनेर बुझ्न पाउनु साँच्चै रोचक छ। आफ्नो पत्रको १० औं अध्यायमा पावलले व्यवस्था भनेको “आउन लागेका असल कुराहरूको छाया मात्र हो” अनि त्यसले ख्रीष्टले चढाउनुभएको फिरौतीको बलिदानको महत्त्वलाई स्पष्ट पार्छ भनेर बताए। सोही अध्यायको अन्ततिर पावलले आफ्नो पत्र पाउनेहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरू सहनशील हुनु आवश्‍यक छ किनकि परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि तब तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ। किनकि ‘थोरै समय मात्र’ बाँकी छ, अनि ‘जो आउँदै हुनुहुन्छ, उहाँ ढिलो नगरी आउनुहुनेछ।’ ”—हिब्रू १०:१, ३६, ३७.

१० हिब्रू अध्याय ११ मा पावलले परमेश्‍वरप्रतिको साँचो विश्‍वास भनेको के हो भनेर कौशलतापूवर्क वर्णन गरेका छन्‌। यो अध्यायमा तिनले पुरातन समयमा विश्‍वासको राम्रो उदाहरण बसालेका पुरुष तथा स्त्रीबारे उल्लेख गरेका छन्‌। के तिनले यी कुराहरू फोकटमा लेखेका थिए? अहँ, थिएनन्‌। परमेश्‍वरप्रति साँचो विश्‍वास राख्दा साहसिक कदम चाल्नुपर्ने अनि धैर्य धारण गर्नुपर्ने अवस्था आइपर्छ भन्‍ने कुरा आफ्ना सँगी उपासकहरूले बुझ्न आवश्‍यक छ भनेर यी प्रेषितलाई थाह थियो। पुरातन समयका ती विश्‍वासी सेवकहरूको उत्कृष्ट उदाहरणले हिब्रू ख्रीष्टियनहरूलाई आफूले सामना गरिरहेको परीक्षा अनि कठिनाइको सामना गर्न बल दिने थियो। त्यसैले बितेको समयमा ती वफादार जनहरूले गरेका एक-एक विश्‍वासी कार्यबारे बताइसकेपछि पावलले यसो भन्‍न सके: “हाम्रो वरपर साक्षीहरूको यति बाक्लो बादल भएकोले आओ, हामी पनि हर किसिमका बोझ र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छाएर हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौं।”—हिब्रू १२:१.

‘साक्षीहरूको बाक्लो बादल’

११. ‘साक्षीहरूको बाक्लो बादललाई’ विचार गर्दा त्यसले हामीमा कस्तो असर पार्छ?

११ ‘साक्षीहरूको बाक्लो बादल’ आफूलाई मनपर्ने खेलाडी वा टिमले जितेको हेर्न झुम्मिएका रमितेहरूजस्ता थिएनन्‌। बरु, उनीहरू पनि जीवनको दौडमा सहभागी भएका थिए। यसर्थ उनीहरू पनि एक अर्थमा धावक नै थिए अनि उनीहरूले सफलतासाथ आफ्नो दौड पूरा गरिसकेका थिए। हुनत उनीहरू त्यतिबेला अस्तित्वमा थिएनन्‌ तैपनि थुप्रै अनुभव बटुलेका ती व्यक्‍तिहरूलाई आदर्श मानेर उनीहरूको उदाहरणबाट प्रोत्साहन पाउन सकिन्थ्यो। आफ्ना दर्शकहरूको माझमा पहिल्यै दौड पूरा गरिसकेका अनुभवी धावकहरू पनि छन्‌ भनेर थाह पाउँदा एक जना धावकलाई कस्तो लाग्छ, सोच्नुहोस्‌ त! के तिनी आफ्नोतर्फबाट सक्दो कोसिस गर्न प्रोत्साहित हुँदैनन्‌ र? वा पहिलेभन्दा पनि राम्रो गर्न उत्प्रेरित हुँदैनन्‌ र? पुरातन समयका ती साक्षीहरूको उदाहरणबाट यो लाक्षणिक दौड जतिसुकै कठिन भए तापनि जित्न सकिन्छ भनेर प्रमाणित हुन्छ। त्यसैले ‘साक्षीहरूको बाक्लो बादलले’ बसालेको उदाहरणलाई मनमा राखेर प्रथम शताब्दीका हिब्रू ख्रीष्टियनहरूले साहस बटुल्न सक्थे र ‘धैर्य गरेर’ दौडन सक्थे—अनि अहिले हामी पनि त्यसै गर्न सक्छौं।

१२. पावलले उल्लेख गरेका वफादार व्यक्‍तिहरूको उदाहरण हामीसित कसरी मिल्दोजुल्दो छ?

१२ पावलले उल्लेख गरेका थुप्रै विश्‍वासी व्यक्‍तिहरूको अवस्था हामीसित मिल्दोजुल्दो थियो। उदाहरणका लागि, नूह जलप्रलयअघिको संसार अन्त हुनै लागेको समयमा बाँचिरहेका थिए। अहिले हामी पनि यस युगको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौं। अब्राहाम र सारालाई साँचो उपासनाको लागि आफ्नो घरबार सबै त्यागेर यहोवाको प्रतिज्ञा पूरा हुने दिनको बाटो हेर्दै बस्न अह्राइयो। हामीलाई पनि आफैलाई इन्कार गरेर यहोवाको अनुग्रह र उहाँले दिनुहुने आशिष्‌ प्राप्त गर्न आग्रह गरिएको छ। मोशाले प्रतिज्ञा गरिएको देशसम्म पुग्न डरलाग्दो उजाडस्थान पार गर्नुपऱ्‍यो। हामी पनि प्रतिज्ञा गरिएको नयाँ संसारसम्म पुग्न अहिलेको अन्तिम युग पार गर्ने कोसिस गर्दैछौं। ती वफादार व्यक्‍तिहरूले आफ्नो जीवनमा थुप्रै उकाली-ओराली पार गरे—कहिले सफलता त कहिले असफलता अनि उनीहरूमा बलियो अनि कमजोर दुवै पक्ष थियो। हो, उनीहरूको यस्तो उदाहरण हामीले केलाउन योग्य छ।—रोमी १५:४; १ कोरि. १०:११.

उनीहरू सफल भए—कसरी?

१३. नूहसामु कस्ता चुनौतीहरू थिए र तिनले त्यसको सामना कसरी गर्न सके?

१३ यहोवाका ती सेवकहरूलाई धैर्य धारण गर्न अनि दौड जित्न कुन कुराले मदत गऱ्‍यो? पावलले नूहबारे के लेखे, याद गर्नुहोस्‌। ( हिब्रू ११:७ पढ्‌नुहोस्‌) ‘जीवनको सास हुने सबै प्राणीलाई सर्वनाश पार्ने’ जलप्रलय नूहले ‘त्यस बेलासम्म देखेका’ थिएनन्‌। (उत्प. ६:१७) हो, यसअघि कहिल्यै त्यस्तो भएको थिएन। साँच्चै यो एउटा नयाँ कुरा थियो। तैपनि नूहले यसलाई अपत्यारिलो वा असम्भव ठानेनन्‌। किन? किनभने यहोवा जे भन्‍नुहुन्छ त्यही गर्नुहुन्छ भनेर तिनी विश्‍वास गर्थे। आफूलाई दिइएको आज्ञालाई नूहले बोझको रूपमा लिएनन्‌। बरु, परमेश्‍वरले जे-जे आज्ञा गर्नुभयो नूहले ती “सबै गरे।” (उत्प. ६:२२) नूहले गर्नुपरेको सबै काम विचार गर्दा त्यो कुनै चानचुने काम थिएन। तिनले जहाज बनाउने, पशुपक्षी जम्मा गर्ने, मानिस र पशुपक्षीलाई चाहिने आहार जहाजभित्र थुपार्ने, मानिसहरूलाई चेतावनी दिने अनि आफ्नो परिवारलाई आध्यात्मिक तवरमा बलियो राखिराख्ने काम गर्नुपर्थ्यो। त्यसैले यहोवाले जे-जे भन्‍नुभयो ती “सबै” गर्न नूहलाई पक्कै गाह्रो भयो। तैपनि नूहले विश्‍वास देखाएको र धैर्य धारण गरेको कारण तिनी र तिनको परिवारले जीवन र आशिष्‌ पाए।

१४. अब्राहाम र साराले कस्तो परीक्षा सहे र हामी तिनीहरूबाट कस्तो पाठ सिक्न सक्छौं?

१४ पावलले बताएका ‘हाम्रो वरपर भएको साक्षीहरूको बाक्लो बादलको’ सूचीमा त्यसपछि अब्राहाम र साराको नाम आउँछ। तिनीहरूले ऊरमा बिताइरहेको जीवन त्यागे। भोलि के हुने हो, तिनीहरूलाई केही थाह थिएन। कठिन परिस्थितिमा बलियो विश्‍वास देखाएर अनि आज्ञा पालन गरेर तिनीहरूले राम्रो उदाहरण बसाले। अब्राहामले साँचो उपासनाको लागि गरेको त्यागहरूलाई विचार गर्ने हो भने “विश्‍वासले गर्दा असल ठहरिएकाहरू सबैको तिनी बुबा बने” भन्‍नु एकदमै सुहाउँछ। (रोमी ४:११) पावलको पत्र पढ्‌ने व्यक्‍तिहरूलाई पहिल्यैदेखि अब्राहामको विषयमा राम्ररी थाह भएकोले तिनले उनको विषयमा मुख्य-मुख्य कुरा मात्र बताए। तैपनि पावलले सिकाउन खोजेको पाठ सशक्‍त थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तिनले यसो भने: “तिनीहरू सबैले [जसमा अब्राहाम र तिनको परिवार पनि समावेश छन्‌] आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्‍वास गरे। आफूलाई प्रतिज्ञा गरिएका कुराहरू तिनीहरूको जीवनकालमा पूरा नभए तापनि ती कुराहरूलाई टाढैबाट देखे र स्वागत गरे अनि आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा हौं भनी जनसमक्ष घोषणा गरे।” (हिब्रू ११:१३) कुरा स्पष्ट छ, परमेश्‍वरमाथिको विश्‍वास र उहाँसितको सम्बन्धले गर्दा तिनीहरू धीरजी भई दौडन सके।

१५. मोशाले जुन किसिमको जीवन रोजे त्यो छनौट गर्न तिनलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

१५ ‘साक्षीहरूको बाक्लो बादलको’ सूचीमा पर्ने यहोवाका अर्का उदाहरणीय सेवक मोशा हुन्‌। मोशाले प्रतिष्ठित अनि ऐसआरामको जिन्दगी त्यागेर “परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।” तिनलाई यसो गर्न कुन कुराले उत्प्रेरित गऱ्‍यो? यसबारे पावल यसो भन्छन्‌: “आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाएका थिए। . . . अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी तिनी अटल रहिरहे।” ( हिब्रू ११:२४-२७ पढ्‌नुहोस्‌) “पापको क्षणिक सुखभोग”-को कारण मोशा बहकिएनन्‌। तिनलाई परमेश्‍वर र उहाँको प्रतिज्ञा यत्ति वास्तविक लाग्थ्यो कि तिनी असाधारण साहस र धैर्य देखाउन पछि परेनन्‌। नथाकीकन इस्राएलीहरूलाई मिश्रदेखि प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउनमै तिनी समर्पित थिए।

१६. प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न नपाउँदा पनि मोशा किन हतोत्साहित भएनन्‌?

१६ अब्राहामले जस्तै मोशाले पनि आफ्नो जीवनकालमा यहोवाको प्रतिज्ञा पूरा भएको देख्न पाएनन्‌। इस्राएलीहरू प्रतिज्ञा गरिएको देश नजिकै पुग्दा परमेश्‍वरले मोशालाई यसो भन्‍नुभयो: “मैले इस्राएलीहरूलाई दिने त्यस देशलाई देख्‌नेछस्‌ तर त्यहाँ तँ जान पाउनेछैनस्‌।” किन? किनभने मोशा र हारूनले विद्रोही इस्राएलीहरूको कारण “सीनको उजाड-स्थानको मरीबाको कादेशमा इस्राएलीहरूका मध्यमा [परमेश्‍वरको] अनादर” गरेका थिए। (व्यव. ३२:५१, ५२) के मोशा हतोत्साहित भए वा रिसले मुरमुरिए? अहँ त्यस्तो भएन। बरु तिनले उनीहरूलाई आशिष्‌ दिए र आफ्नो भनाइ यसरी टुङ्‌ग्याए: “ए इस्राएल, तँ धन्यको होस्‌ तँ जस्तो को छ? परमप्रभुद्वारा मुक्‍ति पाएको जाति, उहाँ तेरो सहायताको ढाल, तेरो विजयको तरवार हो।”—व्यव. ३३:२९.

हाम्रो लागि पाठ

१७, १८. (क) जीवनको दौडबारे हामी ‘साक्षीहरूको बाक्लो बादलबाट’ के सिक्न सक्छौं? (ख) यस पछिको लेखमा हामी कुन कुराबारे चर्चा गर्नेछौं?

१७ ‘हाम्रो वरपर भएका साक्षीहरूको बाक्लो बादलमा’ समावेश भएका व्यक्‍तिहरूको जीवनी केलाएर हेर्दा यो कुरा स्पष्ट हुन्छ: हामीले आफ्नो दौड पूरा गर्ने हो भने परमेश्‍वर र उहाँको प्रतिज्ञामाथि बलियो विश्‍वास राख्नै पर्छ। (हिब्रू ११:६) हाम्रो विश्‍वास नाम मात्रको हुनुहुँदैन तर यसलाई आफ्नो जीवनको अभिन्‍न भाग नै बनाउनुपर्छ। बलियो विश्‍वास भएको कारण यहोवाका सेवकहरूले पछि हुने कुराहरू देख्न सक्छन्‌ तर विश्‍वास नगर्नेहरूले भने देख्न सक्दैनन्‌। हामी “अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी” धैर्यसाथ जीवनको दौड दौडिन्छौं।—२ कोरि. ५:७.

१८ ख्रीष्टियन जीवनको दौड सजिलो छैन। तैपनि सफलतासाथ दौड पूरा गर्न भने असम्भव छैन। यस पछिको लेखमा दौड पूरा गर्न मदत गर्ने थप कुराहरूबारे हामी चर्चा गर्नेछौं।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• पावलले किन पुरातन समयका साक्षीहरूको विश्‍वासी कार्यबारे उल्लेख गरे?

• ‘हाम्रो वरपर भएको साक्षीहरूको बाक्लो बादललाई’ विचार गर्दा त्यसले हामीलाई धैर्यसाथ दौडन कसरी प्रोत्साहन दिन्छ?

• नूह, अब्राहाम, सारा अनि मोशा जस्ता विश्‍वासी साक्षीहरूको उदाहरणबाट तपाईंले के सिक्नुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

अब्राहाम र सारा ऊरमा बिताइरहेको आरामदायी जीवन त्याग्न इच्छुक भए