सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पीनहासको अनुकरण गर्दै चुनौतीको सामना गर्नुहोस्‌

पीनहासको अनुकरण गर्दै चुनौतीको सामना गर्नुहोस्‌

पीनहासको अनुकरण गर्दै चुनौतीको सामना गर्नुहोस्‌

मण्डलीमा एल्डरको रूपमा सेवा गर्न पाउनु साँच्चै बहुमूल्य सुअवसर हो। तर एल्डरहरूले विभिन्‍न चुनौतीको पनि सामना गर्नुपर्छ भनेर परमेश्‍वरको वचन मानिलिन्छ। कहिलेकाहीं मण्डलीको कसैले गल्ती गर्दा एल्डरहरूले नै त्यस्ता मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ। त्यतिबेला तिनीहरू ‘परमेश्‍वरलाई खुसी तुल्याउने तरिकामा फैसला गर्छन्‌।’ (२ इति. १९:६) मोशालाई जस्तै कहिलेकाहीं मण्डलीको निरीक्षकलाई पनि आफूले पाएको असाइनमेन्ट पूरा गर्न सक्दिनँ जस्तो लाग्न सक्छ। मोशालाई एउटा जिम्मेवारी दिइँदा उनले यसो भनेका थिए: “फिरऊनकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउनसक्ने म को हुँ र?”—प्रस्थ. ३:११.

एल्डरहरू पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका हुन्छन्‌ र यही शक्‍तिले उत्प्रेरित भएर लेखिएको वचन बाइबलले चुनौतीहरूको सफलतासाथ सामना गरेका निरीक्षकहरूको उदाहरण प्रस्तुत गरेको छ। त्यस्तै एक जना व्यक्‍ति पीनहास थिए। उनी एलाजारका छोरा अनि हारूनका नाति थिए। त्यसैले पछि गएर उनी प्रधान पुजारी बन्‍ने थिए। चुनौतीहरूको सामना गर्न आजका एल्डरहरूलाई पनि साहस, अन्तरदृष्टि र यहोवामाथिको भरोसा आवश्‍यक पर्छ भन्‍ने कुरा पीनहासको जीवनमा घटेका तीन वटा घटनाले देखाउँछ।

उनले तुरुन्तै कदम चाले

इस्राएलीहरू मोआबको बेंसीमा छाउनी हालेर बसेको बेला पीनहास जवानै थिए। बाइबल यसो भन्छ: “मानिसहरूले मोआबका छोरीहरूसँग व्यभिचार गर्नलागे . . . यी मानिसहरूले खाएर तिनीहरूका देवतालाई दण्डवत गरे।” (गन्ती २५:१, २) यहोवाले गलत काम गर्नेहरूमाथि भयङ्‌कर विपत्ति ल्याएर सजाय दिनुभयो। यस्तो गलत काम र यसले गर्दा आएको विपत्तिबारे सुन्दा पीनहासलाई कस्तो लाग्यो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ?

विवरण अझै यसो भन्छ: “इस्राएलीहरू भेट हुने पालको ढोकामा रोइरहेका थिए। त्यस बेला एक जनाले मोशा र इस्राएली समुदायकै सामने आफ्नो परिवारमा एउटा मिद्यानी आइमाईलाई ल्यायो।” (गन्ती २५:६) पुजारी पीनहासले के गर्ने थिए? त्यतिबेला उनी जवानै थिए तर गलत काम गर्ने मानिसचाहिं इस्राएलीहरूको उपासनामा नेतृत्व लिने एक मुखिया थिए।—गन्ती २५:१४.

तर पीनहास यहोवासँग डराए, मानिसहरूसँग होइन। जब पीनहासले गलत काम गर्ने त्यस इस्राएली र त्यस आइमाईलाई देखे, तब उनी समुदायमाझबाट उठे र आफ्नो हातमा एउटा भाला लिएर त्यस इस्राएलीको पछि-पछि भित्री कोठामा गएर ती दुवैको भुँडी रोपिदिए। पीनहासको साहस र गाह्रो अवस्थामा झट्टै निर्णय गर्न सक्ने उनको क्षमता देखेर यहोवालाई कस्तो लाग्यो? यहोवाले तुरुन्तै त्यो विपत्ति हटाइदिनुभयो र पीनहासको वंशलाई “सधैंको लागि” पुजारीपदमा स्थिर गर्ने करार बाँध्नुभयो।—गन्ती २५:७-१३.

यसको मतलब अहिलेका ख्रीष्टियन एल्डरहरूले पनि समस्या सुल्झाउन हिंसात्मक कार्य गर्छन्‌ भन्‍न खोजको पक्कै होइन। तर तिनीहरू पीनहासजस्तै साहसी र झट्टै निर्णय गर्न सक्ने हुनुपर्छ। उदाहरणको लागि, गिल्यरमीलाई विचार गर्नुहोस्‌। मण्डलीको न्यायिक समितिमा सेवा गर्न रोजिंदा तिनी एल्डर नियुक्‍त भएको केही महिना मात्र भएको थियो। तिनले हेर्नुपर्ने यो मामिला भने पहिला तिनलाई नै मदत गरेका एक जना एल्डरसित सम्बन्धित थियो। तिनी भन्छन्‌: “त्यतिबेला मलाई साह्रै अप्ठ्यारो लाग्यो। रातभर सुत्नै सकिनँ। त्यस मामिलालाई भावनामा नबहकीकन यहोवाको स्तरअनुरूप कसरी सुल्झाउने होला भनेर सोच्न थालें। मैले धेरै दिनसम्म प्रार्थना गरें अनि बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गरें।” यसले तिनलाई त्यो मामिला सुल्झाउन र गल्ती गर्ने भाइलाई आध्यात्मिक मदत दिन चाहिने साहस दियो।—१ तिमो. ४:११, १२.

त्यस्तै गाह्रो अवस्थामा एल्डरहरूले साहस अनि झट्टै निर्णय गर्न सक्ने क्षमता देखाएर मामिला सम्हाल्दा तिनीहरूले विश्‍वास र वफादारिताको राम्रो नमुना बसालिरहेका हुनेछन्‌। अरू ख्रीष्टियनहरूले पनि कुनै भाइ वा बहिनीले गम्भीर गल्ती गरेको थाह पाएमा त्यसबारे एल्डरलाई रिपोर्ट गरेर साहस देखाउन सक्छन्‌। त्यसैगरि, बहिष्कार भएको आफ्नो साथी वा नातेदारसित सङ्‌गत टुटाउन पनि वफादारिता चाहिन्छ।—१ कोरि. ५:११-१३.

अन्तरदृष्टिले विवाद चर्कन दिंदैन

थुप्रै जवान जोसमा होस गुमाउँछन्‌ तर पीनहास त्यस्ता थिएनन्‌। बुद्धि र विवेकका साथ काम गरेर उनले अन्तरदृष्टि देखाए। यसलाई पुष्टि गर्ने अर्को एउटा घटना विचार गर्नुहोस्‌। रूबेन, गाद र मनश्‍शेको आधा कुलले यर्दन नदीनजिकै वेदी बनाए। त्यो वेदी तिनीहरूले झूटो उपासनाको लागि बनाएका हुन्‌ भनेर अरू इस्राएलीहरूले गलत अनुमान लगाए र तिनीहरूको विरुद्धमा लडाइँ गर्न सुरिए।—यहो. २२:११, १२.

त्यतिबेला पीनहासले कस्तो प्रतिक्रिया देखाए? इस्राएलका मुखियाहरूसँगै मिलेर उनले वेदी बनाउने कुलसित त्यस मामिलाबारे कौशलतासाथ कुरा गरे। आरोप लगाइएका कुलहरूले त्यसबारे स्पष्ट कुराकानी गरे। त्यो वेदी वास्तवमा तिनीहरूले “परमप्रभुको सेवा” गर्न बनाएको हो भनेर बताए। यसरी चर्किन लागेको विवाद सुल्झियो।—यहो. २२:१३-३४.

आज ख्रीष्टियनहरूले आफ्ना सँगी विश्‍वासीबारे कुनै आरोप सुन्दा वा तिनीबारे गरिएको नकारात्मक टीका-टिप्पणी सुन्दा, पीनहासको उदाहरण पछ्याउनु कत्ति बुद्धिमानी कुरा हो! अन्तरदृष्टिले हामीलाई त्यस्ता नकारात्मक टीका-टिप्पणी सुनेर आफ्नो भाइ वा बहिनीप्रति रिसराग राख्नदेखि अनि तिनीबारे अरूलाई बताउँदै हिंड्‌नदेखि जोगाउँछ।—हितो. १९:११.

अन्तरदृष्टिले एल्डरहरूलाई पीनहासले जस्तै व्यवहार गर्न कसरी मदत गर्छ? एल्डरको रूपमा सेवा गरेको दस वर्षभन्दा धेरै भइसकेका हाइमा यसो भन्छन्‌: “मण्डलीका कुनै प्रकाशकले अर्को व्यक्‍तिसँगको मतभिन्‍नताबारे कुरा गर्न खोज्दा एक जनाको मात्र पक्ष नलिन र उक्‍त व्यक्‍तिलाई धर्मशास्त्रीय डोऱ्‍याइ दिन सक्नको लागि झट्टै यहोवासँग मदत माग्छु। एक पटक एउटी बहिनीले अर्को मण्डलीको जिम्मेवार भाइले आफूसँग नराम्रो व्यवहार गरेको कुरा मलाई बताइन्‌। उक्‍त भाइ मेरो घनिष्ठ साथी भएकोले उनीसँग म सजिलै कुरा गर्न सक्थें तर मैले त्यसो गरिनँ। ती बहिनी र म सँगै बसेर थुप्रै बाइबल सिद्धान्तबारे छलफल गऱ्‍यौं। पहिला आफैले उक्‍त भाइसँग कुरा गर्न तिनी राजी भइन्‌। (मत्ती ५:२३, २४) तर समस्या तुरुन्तै सुल्झिएन। त्यसैले मैले उक्‍त बहिनीलाई अरू बाइबल सिद्धान्तहरू पनि विचार गर्न आग्रह गरें। तिनले आफ्नो समस्याबारे फेरि प्रार्थना गर्ने अनि क्षमा दिन सक्दो प्रयास गर्ने निर्णय गरिन्‌।”

परिणाम कस्तो भयो? हाइमा अझै यसो भन्छन्‌: “केही महिनापछि उक्‍त बहिनी मकहाँ आइन्‌। आफूले भनेको कुराको लागि ती भाइले पछुतो मानेको कुरा तिनले मलाई बताइन्‌। उक्‍त भाइले ती बहिनीसँग प्रचारमा जाने योजना बनाएछन्‌ र तिनको प्रशंसा गरेछन्‌। यसरी समस्याको समाधान भएछ। त्यस विवादमा अनावश्‍यक रूपमा मुछिएको भए म पक्षपाती कहलिने थिएँ होला। सायद त्यो विवाद यति राम्रो तरिकाले सुल्झिने पनि थिएन होला।” बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “तेरो आँखाले जे देखेको छ, त्यो कुरा हत्तपत्त अदालतमा नलैजा।” (हितो. २५:८) अन्तरदृष्टि चलाएर काम गर्ने एल्डरहरूले व्यक्‍तिगत मतभिन्‍नता भएका ख्रीष्टियनहरूलाई धर्मशास्त्रीय सल्लाह लागू गर्दै शान्ति स्थापना गर्न बुद्धिमानीपूर्वक प्रोत्साहन दिन्छन्‌।

उनले यहोवाको डोऱ्‍याइ खोजे

यहोवाले रोज्नुभएका मानिसहरूको लागि पुजारीको रूपमा सेवा गर्न पाउनु पीनहासको लागि ठूलो अवसर थियो। माथि उल्लेख गरिएझैं, जवान अवस्थामै पीनहाससँग असाधारण साहस र अन्तरदृष्टि थियो। तर उनी चुनौतीहरूको सामना गर्न सफल हुनुको मुख्य कारण त यहोवामाथिको भरोसा नै थियो।

गिबामा बस्ने बिन्यामीन कुलका केही मानिसहरूले एक जना लेवीकी उप-पत्नीलाई बलात्कार गरे र हत्या गरे। यो कुरा थाह पाएपछि इस्राएलका अरू कुल बिन्यामिनीहरू विरुद्ध युद्ध गर्न तम्तयार भए। (न्याय. २०:१-११) युद्ध गर्नुअघि तिनीहरूले यहोवालाई मदतको लागि प्रार्थना गरेका थिए तर तिनीहरूले दुई चोटिसम्म युद्ध हारे। (न्याय. २०:१४-२५) तिनीहरूलाई आफ्नो प्रार्थनाको सुनवाइ नै भएन जस्तो लाग्यो कि? अथवा, गलत कामविरुद्ध कदम चाल्दा पनि उहाँले कुनै वास्तै गर्नुभएन भन्‍ने लाग्यो कि?

यस घटनामा पनि पीनहासले महत्त्वपूर्ण भूमिका खेले। यतिबेला उनी इस्राएलका प्रधान पुजारी नियुक्‍त भइसकेका थिए अनि यहोवामाथिको उनको भरोसा रत्तीभर कम भएको थिएन। उनले यसरी प्रार्थना गरे: “के हामीहरू हाम्रा भाइ बिन्यामीनको विरुद्धमा लडाइँ गर्नलाई फेरि जाऔं कि थामौं?” प्रतिक्रियास्वरूप, यहोवाले बिन्यामिनीहरूलाई तिनीहरूको हातमा पर्न दिनुभयो अनि तिनीहरूले गिबा सहर जलाएर भस्म पारे।—न्याय. २०:२७-४८.

यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? कहिलेकाहीं मण्डलीमा उठेका केही समस्याहरू एल्डरहरूको कडा प्रयासको बाबजुद अनि यहोवाको मदतको लागि प्रार्थना गर्दा समेत हल नहुन सक्छ। यस्तो परिस्थितिमा एल्डरहरूले येशूको यो भनाइ मनमा राख्नुपर्छ: “मागिरहो [अर्थात्‌ प्रार्थना गरिरहो] अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ।” (लूका ११:९) यहोवाले प्रार्थनाको जवाफ तुरुन्तै नदिएको जस्तो लाग्दा समेत निरीक्षकहरू, उहाँले आफ्नो समयमा जवाफ दिनुहुन्छ भन्‍ने कुरामा पक्का हुन सक्छन्‌।

उदाहरणका लागि, आयरल्याण्डको एउटा मण्डलीलाई राज्यभवनको तड्‌कारो खाँचो परेको थियो तर त्यहाँको स्थानीय अधिकारीले भने राज्यभवन निर्माण गर्न अनुमति दिएका थिएनन्‌। राज्यभवन निर्माण गर्न हाम्रा भाइहरूले जतिचोटि निवेदन पेस गरे पनि तिनले इन्कार गर्दै आएका थिए। त्यो निवेदनलाई अनुमति दिनसक्ने अर्को व्यक्‍ति त्यस देशका प्रमुख योजना अधिकारी मात्रै थिए। के पीनहासको समयमा जस्तै प्रार्थनाले ती भाइहरूलाई मदत गऱ्‍यो?

एक जना स्थानीय एल्डर यसो भन्छन्‌: “यहोवालाई व्यग्र प्रार्थना र उत्कट बिन्ती चढाएर हामी केन्द्रीय कार्यालय गयौं। तर प्रमुख अधिकारीलाई भेट्‌न हप्तौं कुर्नुपर्ने जानकारी प्राप्त भयो। जसोतसो पाँच मिनेटको लागि मात्र भए पनि हामीले उक्‍त अधिकारीसँग भेट्‌ने प्रबन्ध मिलायौं। हामीले पटक-पटक हेरफेर गरेको नक्सा देखेपछि तिनले हामीलाई काम थाल्न तुरुन्तै अनुमति दिए अनि त्यसपछि त स्थानीय अधिकारीले पनि हामीलाई मदत गरे। त्यो अनुभवले हामीलाई प्रार्थनाको कत्ति धेरै शक्‍ति हुँदो रहेछ भनेर बुझ्ने मौका दियो।” हो, यहोवाले आफूमाथि भरोसा राख्ने एल्डरहरूको निष्कपट प्रार्थना सुन्‍नुहुन्छ।

पुरातन इस्राएलमा पीनहासले गहन जिम्मेवारी पाएका थिए तर साहस, अन्तरदृष्टि र यहोवामाथिको भरोसाले गर्दा उनले सफलतासाथ चुनौतीहरूको सामना गर्न सके। पीनहासले परमेश्‍वरका जनहरूको राम्ररी हेरविचार गरेको कारण उनले यहोवाको अनुमोदन पाए। परमेश्‍वरको प्रेरणाद्वारा लगभग १,००० वर्षपछि एज्राले यस्तो लेखे: “बितेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेरविचार गर्ने मुख्य कर्मचारी थिए—परमप्रभु तिनीसँग हुनुहुन्थ्यो।” (१ इति. ९:२०) आज यहोवाका मानिसहरूको बीचमा नेतृत्व लिनेहरूको सन्दर्भमा पनि यो कुरा सत्य साबित होस्‌, अझ भन्‍नुपर्दा वफादार भई यहोवाको सेवा गर्ने सम्पूर्ण ख्रीष्टियनहरूको सन्दर्भमा यो कुरा सत्य साबित होस्‌।