सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“पुरस्कार पाउन सक्ने गरी दौड”

“पुरस्कार पाउन सक्ने गरी दौड”

“पुरस्कार पाउन सक्ने गरी दौड”

“तिमीहरू पुरस्कार पाउन सक्ने गरी दौड।”—१ कोरि. ९:२४.

१, २. (क) पावलले हिब्रू ख्रीष्टियनहरूलाई कसरी प्रोत्साहन दिए? (ख) परमेश्‍वरका सेवकहरूलाई के गर्न सल्लाह दिइएको छ?

 प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा ती सँगी ख्रीष्टियनहरूलाई प्रोत्साहन दिन एकदमै सशक्‍त उदाहरण चलाए। जीवनको दौडमा उनीहरू एक्लो छैनन्‌ भनेर तिनले उनीहरूलाई सम्झाए। उनीहरूको वरपर सफलतासाथ दौड पूरा गरिसकेका ‘साक्षीहरूको बाक्लो बादल’ थियो। ती पूर्वजहरूको विश्‍वासी कार्य अनि कडा मेहनतलाई मनमा राखेर हिब्रू ख्रीष्टियनहरूले दौडनको लागि अझ कोसिस गर्न अनि बीचैमा दौड नछोड्‌न प्रोत्साहन पाउने थिए।

अघिल्लो लेखमा हामीले ‘साक्षीहरूको बादल’-मध्ये केही व्यक्‍तिहरूको जीवनशैली विचार गऱ्‍यौं। उनीहरू सबैले नै परमेश्‍वरप्रति अटुट भरोसा देखाएको कारण उहाँप्रति वफादार रहन सके र सफलतासाथ दौड पूरा गर्न सके। हामी उनीहरूको सफलताबाट पाठ सिक्न सक्छौं। त्यस लेखमा छलफल गरिएझैं पावलले आफ्ना सँगी सेवकहरूलाई, जसमा हामी पनि पर्छौं, यसो गर्न सल्लाह दिएका थिए: “हामी पनि हर किसिमका बोझ र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छ्याएर हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौं।”—हिब्रू १२:१.

३. ग्रीक धावकहरूलाई मनमा राख्दै सल्लाह दिंदा पावलले कुन कुरा भन्‍न खोजिरहेका थिए?

त्यतिबेलाको एकदमै लोकप्रिय खेलकुदअन्तर्गत पर्ने दौडबारे प्रारम्भिक ख्रीष्टियन धर्मको इतिहास (अङ्‌ग्रेजी) नामक एउटा किताब यसो भन्छ: “ग्रीकहरू खेलको लागि नाङ्‌गै अभ्यास गर्थे र प्रतियोगितामा पनि नाङ्‌गै भाग लिन्थे।” a ती धावकहरूले आफ्नो गति धिमा बनाउन सक्ने कुनै पनि किसिमको बोझ पन्छ्याउँथे। तिनीहरूको त्यस्तो बेसरमी अनि अशिष्टता हामीलाई पक्कै मन पर्दैन, तर तिनीहरू त्यसरी दौडिनुको एउटै मात्र उद्देश्‍य भनेको पुरस्कार जित्नु थियो। पावलले भन्‍न खोजेको कुरा के हो भने, जीवनको दौड जित्न चाहने धावकले कुनै पनि किसिमको बाधाअड्‌काउलाई पन्छ्याउनुपर्छ। पावलले हिब्रू ख्रीष्टियनहरूलाई दिएको सल्लाह अहिले हामीलाई पनि लागू हुन्छ। हामीलाई जीवनको दौडमा पुरस्कार जित्नदेखि कुन-कुन कुराले बाधा पुऱ्‍याउन सक्छ?

‘हर किसिमका बोझ पन्छ्याउनुहोस्‌’

४. नूहको समयका मानिसहरूलाई कुन कुराले अलमल्याएको थियो?

पावलले ‘हर किसिमका बोझ पन्छ्याउने’ सल्लाह दिएका थिए। हामीले दौडिरहेको दौडमा ध्यान केन्द्रित गर्नदेखि अनि आफ्नो पूरै बल लगाउनदेखि बाधा पुऱ्‍याउने हर किसिमको बोझ यसमा समावेश छ। त्यस्ता बोझ के-के हुन सक्छन्‌? पावलले उल्लेख गरेका एक जना व्यक्‍ति नूहलाई विचार गर्ने हो भने हामी येशूको यो कुरा सम्झन्छौं: “नूहको दिनमा जस्तो भएको थियो, मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ।” (लूका १७:२६) यसो भन्‍नुहुँदा येशूले आउनै लागेको विनाशबारे नभई मानिसहरूको जीवनशैलीबारे कुरा गरिरहनुभएको थियो। ( मत्ती २४:३७-३९ पढ्‌नुहोस्‌) नूहको समयका धेरैजसो मानिसहरूलाई परमेश्‍वरमा कुनै चासो थिएन, उहाँलाई खुसी तुल्याउने त कुरै छोडौं। तिनीहरूलाई कुन कुराले अलमल्याएको थियो? खासै ठूलो कुराले होइन। खाने, पिउने अनि विवाहवारी गर्ने जस्ता दैनिक जीवनका सामान्य कुराहरूले। त्योभन्दा पनि मुख्य समस्या येशूले भन्‍नुभएझैं तिनीहरूले आउँदै गरेको विपत्तिबारे “यादै गरेनन्‌।”

५. सफलतापूर्वक दौड पूरा गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?

नूह अनि तिनको परिवारले जस्तै हामीले पनि हरेक दिन थुप्रै काम गर्नुपर्ने हुन्छ: हातमुख जोर्न दस नङ्‌ग्रा खियाउनुपर्छ, आफ्नो अनि परिवारको ख्याल राख्नुपर्छ। अनि यस्ता कुराहरूले धेरै मात्रामा समय, शक्‍ति र स्रोत-साधन खाइदिन सक्छ। विशेषगरि, आर्थिक अवस्था कमजोर हुँदा कसरी गर्जो टार्ने भनेर अझ धेरै हामीलाई चिन्ता लाग्न सक्छ। अनि समर्पित ख्रीष्टियन भएको कारण हामीले गर्नुपर्ने अरू कामहरू पनि छन्‌: जस्तै, प्रचारकार्यमा भाग लिने, सभाको तयारी गर्ने, सभामा उपस्थित हुने र व्यक्‍तिगत अनि पारिवारिक उपासना गरेर आध्यात्मिक तवरमा बलियो रहने। नूहले पनि परमेश्‍वरको सेवामा थुप्रै काम गर्नुपर्थ्यो तैपनि तिनले ती “सबै गरे।” (उत्प. ६:२२) ख्रीष्टियन जीवनको दौड पूरा गर्ने हो भने आफूले बोक्नुपर्ने बोझलाई हामीले कम गर्नुपर्छ अनि अनावश्‍यक भार बोक्नु हुँदैन।

६, ७. हामीले येशूको कुन सल्लाह मनमा राख्नुपर्छ?

पावलले ‘हर किसिमका बोझ पन्छ्याउने’ सल्लाह दिंदा के भन्‍न खोजिरहेका थिए? हो, आफूले पाएको हरेक जिम्मेवारीबाट हामी पूर्णतया मुक्‍त हुन सक्दैनौं। यस सन्दर्भमा येशूका यी शब्दहरू मनमा राख्नुहोस्‌: “ ‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। किनकि अन्यजातिका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्‌। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।” (मत्ती ६:३१, ३२) यसबाट के बुझिन्छ भने यदि हामीले खाने, लगाउने जस्ता सामान्य कुरालाई त्यसको उचित स्थानमा राखेनौं भने त्यो नै हाम्रो लागि बोझ वा ठेस लाग्ने कारण बन्‍न सक्छ।

येशूका शब्दहरूमा ध्यान दिनुहोस्‌: “यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।” स्वर्गमा बस्नुहुने बुबा यहोवाले हाम्रो आवश्‍यकता पूरा गरिदिनुहुन्छ भनेर यी शब्दहरूले सङ्‌केत गर्छ। तर “सब कुरा” भन्‍नाले हामीले चाहेको-रोजेको सबै कुरा उहाँले पूरा गरिदिनुहुन्छ भन्‍न खोजेको चाहिं होइन। तैपनि ‘अन्यजातिका मानिसहरू दौडधूप गर्ने कुराहरूको’ विषयमा चिन्ता नगर भनेर हामीलाई बताइएको छ। किन? पछि येशूले आफ्ना श्रोताहरूलाई यस्तो सल्लाह दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्‌, नत्रता त्यो दिन तिमीहरूमाथि अचानक पासोझैं आइपर्नेछ।”—लूका २१:३४, ३५.

८. ‘हर किसिमका बोझ पन्छ्याउने’ समय अहिल्यै हो, किन?

दौडको अन्तिम बिन्दु हाम्रो आँखाकै सामने छ। अन्तिम बिन्दुमा पुग्नै लाग्दा अनावश्‍यक बोझ बोकेर आफ्नो गति धिमा पार्छौं भने त्यो जस्तो दुःखको कुरा अरू के नै होला र! त्यसकारण पावलले दिएको सल्लाह साँच्चै बुद्धिमानी छ। तिनले यसो भने: “धेरै लाभ पाउन सकिन्छ तर त्यसको लागि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति गर्नुपर्छ।” (१ तिमो. ६:६) पावलको सल्लाह मनमा राख्दा इनाम जित्ने हाम्रो आशा अझ पक्का हुनेछ।

‘सजिलै अल्झाउने पापलाई पन्छ्याउनुहोस्‌’

९, १०. (क) “हामीलाई सजिलै अल्झाउने पाप” के हो? (ख) हामीले कसरी आफ्नो विश्‍वास गुमाउन सक्छौं?

‘हर किसिमका बोझका’ साथै “हामीलाई सजिलै अल्झाउने पापलाई” पन्छ्याउन पनि पावलले सल्लाह दिए। हामीलाई अल्झाउने त्यो पाप के हो? त्यो विश्‍वासको कमी हो। ‘सजिलै अल्झाउने’ भनी अनुवाद गरिएको ग्रीक शब्द बाइबलमा जम्मा एक पटक, यही पदमा मात्र प्रयोग गरिएको छ। अल्बर्ट बार्न्स नाम गरेका एक जना विद्वान्‌ले यसो भने: “दौडँदाखेरि लुगा खुट्टामा नबेरियोस्‌ अनि नअल्झियोस्‌ भनेर धावकहरू त्यस्तो लुगा लगाउनदेखि होसियार हुनुपर्थ्यो। ख्रीष्टियनहरूले पनि बाधा पुऱ्‍याउने हर कुरालाई पन्छ्याउनुपर्छ।” प्रत्येक ख्रीष्टियनले आफूलाई कुनै पनि कुराले अल्झाउन दिनु हुँदैन। मतलब, विश्‍वास कमजोर बनाउने वा विश्‍वास नै गुमाउन सक्ने खतराहरूबाट तिनी जोगिनुपर्छ। कुनै ख्रीष्टियनले कसरी आफ्नो विश्‍वास गुमाउन सक्छन्‌?

१० कुनै पनि ख्रीष्टियनको विश्‍वास राता-रात गुम्दैन। यो बिस्तारै अनि चालै नपाई हुन सक्छ। यसभन्दा अघि पावलले आफ्नो पत्रमा ‘तर्केर जान’ सक्ने खतराबारे अनि ‘विश्‍वासरहित र दुष्ट मन’ विकास हुने खतराबारे चेतावनी दिएका थिए। (हिब्रू २:१; ३:१२) धावकको खुट्टा उसको लुगामा अल्झियो भने प्रायजसो ऊ लड्‌छ। कुनै खास किसिमको लुगा लगाउँदा अल्झिन सक्ने खतरालाई धावकले बेवास्ता गऱ्‍यो भने यस्तो सम्भावना झनै बढी हुन्छ। उसलाई कुन कुराले त्यस्तो खतराको बेवास्ता गर्न लगाउँछ? सायद हेलचेक्य्राइँ, अतिविश्‍वस्तता अनि अन्य केही अलमल्याउने कुराहरूले उसलाई त्यसो गर्न लगाउँछ। हामी पावलको सल्लाहबाट के पाठ सिक्न सक्छौं?

११. के-कस्ता कुराहरूले गर्दा हाम्रो विश्‍वास गुम्न सक्छ?

११ यदि कुनै व्यक्‍ति विश्‍वासबाट तर्केर गयो भने त्यो ऊ आफैले रोजेको मार्गले गर्दा हो भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ। ‘हामीलाई सजिलै अल्झाउने पापबारे’ अर्को एक जना विद्वान्‌ले यसो भनेका छन्‌: “यो यस्तो प्रकारको पाप हो जसले हाम्रो परिस्थिति, बनौट अनि समाजलाई चलाएर हामीबाट नाजायज फाइदा उठाउँछ।” यसको अर्थ, हाम्रो वरपरको वातावरण, हाम्रो आफ्नै कमीकमजोरी अनि सङ्‌गतले हामीमाथि कडा प्रभाव जमाउन सक्छ। यस्ता कुराहरूले हाम्रो विश्‍वास कमजोर बनाउन सक्छ र अन्तमा हाम्रो विश्‍वास गुम्न समेत सक्छ।—मत्ती १३:३-९.

१२. विश्‍वास नगुमाउने हो भने हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१२ वर्षौंदेखि विश्‍वासी अनि बुद्धिमान्‌ दास वर्गले हामीलाई हेर्ने अनि सुन्‍ने कुराप्रति अर्थात्‌ हाम्रो मनमस्तिष्कमा हामीले भर्ने कुराहरूप्रति सजग गराउँदै आएको छ। पैसा अनि पदको पछि लाग्दा अल्झिने खतरा हुन्छ भनेर पनि हामीलाई चेतावनी दिइएको छ। यस रङ्‌गीन अनि मनमोहक संसारका मनोरञ्जनात्मक कुराहरू वा नयाँ-नयाँ किसिमका साधनहरूले गर्दा हामीले बाटो बिराउन सक्छौं। ‘यस्ता सल्लाहहरू साह्रै नै कडा छन्‌’ अथवा ‘यी सल्लाहहरू अरूलाई लागू हुन्छन्‌ तर मलाई त यस्तो कुराले असर गर्न सक्दैन’ भनेर सोच्नु गम्भीर गल्ती हुनेछ। सैतानको संसारले हामीलाई अल्झाउनको लागि हाम्रो मार्गमा बिछ्याउने पासो हामीले चालै नपाउने र धूर्त किसिमका हुन्छन्‌। हेलचेक्य्राइँ, अतिविश्‍वस्तता अनि अलमलाउने कुराहरूले कसै-कसैमाथि प्रभाव जमाएको छ। यस्ता कुराहरूले अनन्त जीवनको पुरस्कार पाउने हाम्रो आशालाई असर गर्न सक्छ।—१ यूह. २:१५-१७.

१३. हानिकारक प्रभावहरूबाट हामी आफूलाई कसरी सुरक्षित राख्न सक्छौं?

१३ दिनरात हामीले यस्ता मानिसहरूसित उठबस गर्नुपर्छ जसले यस संसारको लक्ष्य, मूल्यमान्यता अनि धारणालाई नै बढवा दिन्छन्‌। ( एफिसी २:१, २ पढ्‌नुहोस्‌) निस्सन्देह यस्ता कुराहरूले कुन हदसम्म हामीलाई असर गर्छ त्यो हामीमा निर्भर हुन्छ। अर्को शब्दमा भन्‍नुपर्दा, यस्ता प्रभावहरूप्रति हामीले देखाउने प्रतिक्रियामा भर पर्छ। पावलले उल्लेख गरेको “हावा” एकदमै घातक छ। निसासिएर आफ्नो दौड पूरा गर्न नसक्ने हदसम्म नपुग्ने हो भने हामी सधैं होसियार हुनुपर्छ। दौडलाई निरन्तरता दिन हामीलाई कुन कुराले मदत दिन्छ? येशूको उदाहरणले। उहाँलाई त्रुटिरहित अनि उत्कृष्ट धावक भन्‍न सकिन्छ। (हिब्रू १२:२) हामीलाई पावलको उदाहरणले पनि मदत दिन्छ किनभने तिनले आफूलाई ख्रीष्टियन जीवनको दौडमा भाग लिने धावकको रूपमा गन्ती गरेका छन्‌ अनि सँगी विश्‍वासीहरूलाई आफ्नो अनुकरण गर्न आग्रह गरेका छन्‌।—१ कोरि. ११:१; फिलि. ३:१४.

तपाईं “पुरस्कार” जित्न सक्नुहुन्छ—कसरी?

१४. दौडमा भाग लिन आफूले पाएको अवसरप्रति पावलले कस्तो दृष्टिकोण राखे?

१४ दौडमा भाग लिन आफूले पाएको अवसरप्रति पावलले कस्तो दृष्टिकोण राखे? तिनले एफिससका एल्डरहरूसितको अन्तिम भेटमा यसो भने: “म आफ्नो जीवनलाई प्रिय ठान्दिनँ, बरु मेरो इच्छा यही छ, कि म आफ्नो दौड र प्रभु येशूबाट पाएको त्यो सेवा पूरा गर्न सकूँ।” (प्रेषि. २०:२४) आफ्नो दौड पूरा गर्न तिनी हरेक कुरा त्याग्न इच्छुक थिए, आफ्नो जीवनसमेत। कारणवश बीचैमा दौड छोड्‌नुपऱ्‍यो भने सुसमाचार प्रचार गर्न आफूले गरेको सबै प्रयास बेकार जानेछ भनेर पावललाई थाह थियो। तर तिनी ‘जसरी भए पनि दौड पूरा गरिहाल्छु नि’ भनेर अतिविश्‍वस्त भने थिएनन्‌। ( फिलिप्पी ३:१२, १३ पढ्‌नुहोस्‌) आफ्नो जीवनको अन्ततिर मात्रै तिनले विश्‍वस्त हुँदै यसो भने: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड पूरा गरेको छु, मैले विश्‍वासलाई जोगाइराखेको छु।”—२ तिमो. ४:७.

१५. दौडमा भाग लिएका सँगी धावकहरूलाई पावलले कस्तो प्रोत्साहन दिए?

१५ साथै तिनले आफ्ना सँगी विश्‍वासीहरूले पनि बीचैमा दौड नछोडी त्यसलाई पूरा गरेको हेर्ने उत्कट इच्छा राखेका थिए। उदाहरणको लागि, तिनले फिलिप्पीका ख्रीष्टियनहरूलाई आफ्नो उद्धारको लागि कडा परिश्रम गर्न आग्रह गरे। उनीहरूले ‘जीवनको वचनलाई बलियोसित पक्रिराख्नुपर्थ्यो।’ तिनले अझै यसो भने: “ताकि म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भनेर ख्रीष्टको दिनमा म रमाउन सकूँ।” (फिलि. २:१६) त्यसैगरि तिनले कोरिन्थका ख्रीष्टियनहरूलाई पनि यस्तो आग्रह गरे: “तिमीहरू पुरस्कार पाउन सक्ने गरी दौड।”—१ कोरि. ९:२४.

१६. हामीले किन पुरस्कारमा ध्यान केन्द्रित गर्नुपर्छ?

१६ म्याराथन जस्तो लामो दूरीको दौडमा सुरुमै अन्तिम बिन्दु देखिंदैन। तैपनि धावकहरू पूरै दौडभरि नै अन्तिम बिन्दुलाई मनमा राखेर दौडन्छन्‌। अन्तिम बिन्दु नजिकै छ भनेर थाह पाउँदा दौड पूरा गर्ने उनीहरूको संकल्प झनै बलियो हुन्छ। हाम्रो दौडको सन्दर्भमा पनि त्यस्तै हो। हाम्रो लागि पनि आफूले पाउने पुरस्कार आँखाकै सामने भएजस्तै वास्तविक हुनुपर्छ। यसो गर्दा हामीले पक्कै त्यो पुरस्कार जित्न सक्नेछौं।

१७. पुरस्कारमा ध्यान केन्द्रित गर्नुमा विश्‍वास कसरी मुछिएको छ?

१७ “विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु र अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो” भनी पावलले बताए। (हिब्रू ११:१) अब्राहाम र सारा आरामदायी जीवन त्यागेर “प्रतिज्ञा गरिएको भूमिमा विदेशमा झैं प्रवासी भएर” बसोबास गर्न राजी भए। त्यसो गर्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो? “तिनीहरूले [परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको] टाढैबाट देखे।” मोशाले “पापको क्षणिक सुखभोग” अनि “मिश्रका धनसम्पत्तिलाई” इन्कार गरे। उनले त्यसो गर्ने विश्‍वास अनि बल कसरी पाए? “आफूले पाउने इनाममा उनले नजर लगाएका थिए।” (हिब्रू ११:८-१३, २४-२६) पावलले यी प्रत्येक व्यक्‍तिको परिचय दिंदा “विश्‍वासैले गर्दा” भन्‍ने अभिव्यक्‍ति चलाए। हो, विश्‍वासले गर्दा नै उनीहरूले आफूले सामना गरिरहेको परीक्षा र गाह्रो परिस्थितिमा नभई यहोवाले उनीहरूको लागि गर्नुभएको र भविष्यमा गर्नुहुने काममा ध्यान केन्द्रित गर्न सके।

१८. “हामीलाई सजिलै अल्झाउने पापलाई” पन्छ्याउन के गर्नुपर्छ?

१८ हिब्रू अध्याय ११ मा उल्लेख गरिएका विश्‍वासी पुरुष तथा स्त्रीको उदाहरण मनन गरेर हामी विश्‍वास खेती गर्न अनि “हामीलाई सजिलै अल्झाउने पापलाई” पन्छ्याउन सक्छौं। (हिब्रू १२:१) साथै, त्यस्तै विश्‍वास खेती गरिरहेका मानिसहरूसँग एकै ठाउँमा भेला भएर हामी ‘आपसमा गहिरो चासो राख्दै एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाउन’ सक्छौं।—हिब्रू १०:२४.

१९. हामीले किन पुरस्कारमा ध्यान केन्द्रित गर्नुपर्छ?

१९ हाम्रो दौड सिद्धिनै लागेको छ। अन्तिम बिन्दु हाम्रो आँखाकै अगाडि छ। विश्‍वासद्वारा अनि यहोवाको मदत पाएर हामी पनि ‘हर किसिमका बोझ र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छ्याउन’ सक्छौं। हो, हामी हाम्रा बुबा यहोवा परमेश्‍वरले दिन्छु भनी प्रतिज्ञा गर्नुभएको पुरस्कार पाउन सक्ने गरी दौडन सक्छौं।

[फुटनोट]

a पुरातन समयका यहूदीहरूको लागि यो एकदमै घिनलाग्दो कुरा थियो। एउटा पुरातन किताबअनुसार मानिसहरूलाई ग्रीक संस्कृतिमा ढाल्ने प्रयास गर्दै धर्मत्यागी प्रधान पुजारी जेसनले यरूशलेममा व्यायामशाला खोल्ने प्रस्ताव राख्दा चर्को विवाद भएको थियो।—२ मक्काबी ४:७-१७.

के तपाईंलाई सम्झना छ?

• “हर किसिमका बोझ” पन्छ्याउनुमा के समावेश छ?

• के कारणले गर्दा ख्रीष्टियनहरूले आफ्नो विश्‍वास गुमाउन सक्छन्‌?

• हामीले किन पुरस्कारमा ध्यान केन्द्रित गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

“हामीलाई सजिलै अल्झाउने पाप” के हो र यसले हामीलाई कसरी अल्झाउन सक्छ?