बाइबल पढाइले मलाई जीवनभर बल दियो
बाइबल पढाइले मलाई जीवनभर बल दियो
मार्सो लर्वाको वृत्तान्तमा आधारित
“आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” यी शब्दहरूद्वारा मैले आफ्नो बाइबल पढाइ सुरु गरें, त्यो पनि लुकेर। मैले किन लुकेर बाइबल पढ्नु परेको? किनभने मैले बाइबल पढेको कुरा मेरो कट्टर नास्तिक बुबालाई पक्कै मनपर्ने छैन भनेर मलाई थाह थियो।
मैले योभन्दा अघि कहिल्यै बाइबल पढेको थिइनँ। अनि उत्पत्तिका यी सुरुका शब्दहरू पढ्दा मलाई एकदमै अचम्म लाग्यो। मलाई सधैं चकित पारेको भौतिकशास्त्र अनि उत्पत्तिको यो विवरण मेल खाएको मैले पाएँ। त्यसैले उत्सुक हुँदै मैले रातको आठ बजेदेखि बिहान चार बजेसम्म बाइबल पढें। यसरी परमेश्वरको वचन पढ्ने मेरो आजीवनको बानी सुरु भयो। मेरो जीवनमा बाइबल पढाइ कसरी बलको स्रोत साबित भएको छ, म तपाईंहरूलाई बताउन चाहन्छु।
“एकचोटि पढ्न थालेपछि जिन्दगीभर नपढी सुख पाउँदैनौ”
मेरो जन्म सन् १९२६ मा फ्रान्सको उत्तरी भागमा पर्ने भर्मेल गाउँमा भएको थियो। त्यहाँ कोइला खानी थियो र दोस्रो विश्वयुद्धको बेलामा देशको महत्त्वपूर्ण सामग्री भनेकै कोइला थियो। म पनि कोइला खानीमा काम गर्थें र यस्तो महत्त्वपूर्ण काममा संलग्न भएको कारण सैन्य सेवामा भर्ना हुनुपरेको थिएन। तैपनि आफ्नो जीवनस्तर उकास्नको लागि मैले रेडियो तरङ्ग र विद्युत्बारे अध्ययन-अनुसन्धान गर्न थालें। अनि यस्तो अध्ययनले गर्दा मैले प्राकृतिक नियमहरू एकआपसमा एकदमै मिलेर काम गर्दो रहेछ भन्ने कुरा थाह पाएँ। म २१ वर्षको छँदा स्कूलको एक जना साथीले हातमा बाइबल थमाइदिंदै यसो भन्यो, “यो हामीले पढ्नै पर्ने किताब हो।” आफूले पाएको त्यो पहिलो बाइबल पूरै पढिसिध्याएपछि मलाई लाग्यो, यो नै परमेश्वरको वचन अनि मानिसजातिको लागि उहाँको ज्योति हो।
छिमेकीहरूलाई पनि बाइबल पढ्न पक्कै मनपर्छ होला भन्ने सोचेर मैले उनीहरूलाई दिनको लागि आठ वटा बाइबल जुटाएँ। तर अचम्मको कुरा, उनीहरूले त मलाई उल्टै गिल्ला अनि विरोध पो गरे! अन्धविश्वासमा जकडिएका मेरा केही नातेदारले मलाई यस्तो चेतावनी दिए, “तिमीले एकचोटि पढ्न थालेपछि जिन्दगीभर नपढी सुख पाउँदैनौ।” हो, उनीहरूले भनेजस्तै भयो। बाइबल पढाइ मेरो जीवनको अभिन्न भाग नै भएको छ तर यसमा मलाई कुनै पछुतो छैन।
मलाई बाइबल पढ्न मनपर्छ भन्ने थाह पाएपछि मेरा छिमेकीहरूले आफूले यहोवाका साक्षीहरूबाट पाएका प्रकाशनहरू मलाई दिए। एउटा संसार, एउटै सरकार a (अङ्ग्रेजी) भन्ने जस्ता साना पुस्तिकाहरूमा बाइबलले परमेश्वरको राज्य नै मानिसहरूको लागि एउटै मात्र आशा हो भनेर किन बताउँछ, त्यसबारे चर्चा गरिएको थियो। (मत्ती ६:१०) यो पढेपछि मानिसहरूलाई उक्त आशाबारे बताउने मेरो अठोट झनै बलियो भयो।
भजन ११५:४-८ र मत्ती २३:९, १० जस्ता पदहरूमा परमेश्वरलाई मूर्तिपूजा गरेको अनि धर्मगुरुहरूलाई धार्मिक पद दिएको मनपर्दैन भनेर लेखिएको छ भन्ने कुरा मलाई थाह थियो। ती पदहरूले मलाई आफूले पाएको नयाँ विश्वासको पक्षमा बोल्न साहस दियो। परिणामस्वरूप, नोएलले सच्चाइ स्वीकारे अनि अहिलेसम्म पनि तिनी वफादार भएर यहोवाको सेवा गरिरहेका छन्।
मैले दिएको बाइबल स्वीकार्ने पहिलो व्यक्ति मेरो बाल्यावस्थाका साथी नोएल थिए। तिनी क्याथोलिक थिए। त्यसकारण तिनले पादरी बन्न तालिम लिइरहेका एक जना व्यक्तिसित भेट्ने प्रबन्ध मिलाए। सुरुमा त मलाई डर लाग्यो। तरम आफ्नी दिदीलाई पनि भेट्न गएँ। भिनाजुले तन्त्रमन्त्रसम्बन्धी किताबहरू राख्नुभएको थियो र उहाँलाई प्रेतहरूले खुब सताउँथ्यो। सुरुमा त मैले आफूलाई एकदमै कमजोर महसुस गरेको थिएँ तर हिब्रू १:१४ ले मलाई यहोवाका स्वर्गदूतहरू मेरो साथमा छन् भनेर ढुक्क महसुस गरायो। भिनाजुले बाइबलका सिद्धान्तहरू लागू गर्नुभएपछि अनि तन्त्रमन्त्रसम्बन्धी सम्पूर्ण कुराबाट अलग रहनुभएपछि उहाँ प्रेतहरूको प्रभावबाट छुट्नुभयो। पछि मेरो दिदी-भिनाजु दुवै जना जोसिलो साक्षी हुनुभयो।
सन् १९४७ मा एक जना अमेरिकन साक्षी, आर्थर एम्योट मलाई भेट्न घरमा आउनुभयो। मैले उत्सुक हुँदै साक्षीहरूलाई कहाँ भेट्न सकिन्छ भनेर उहाँलाई सोधें। लगभग १० किलोमिटर टाढा पर्ने लीभीन भन्ने ठाउँमा साक्षीहरूको एउटा समूह भएको कुरा उहाँले मलाई बताउनुभयो। त्यतिबेलाको समयमा साइकल किन्न पनि मुस्किल थियो। त्यसैले म हिंडेरै सभा आउने-जाने गर्थें। फ्रान्समा यहोवाका साक्षीहरूको क्रियाकलापमा आठ वर्षदेखि प्रतिबन्ध लगाइएको थियो। त्यतिबेला पूरै देशभरि जम्मा २,३८० जना यहोवाका साक्षीहरू थिए। अनि तिनीहरूमध्ये थुप्रै पोलिश आप्रवासी थिए। तर सेप्टेम्बर १, १९४७ मा फ्रान्समा हामीले फेरि कानुनी मान्यता पायौं। पेरिसको भिल्ला जेबेरमा यहोवाका साक्षीहरूको शाखा कार्यालय पुन:स्थापित गरियो। त्यतिबेला फ्रान्समा अग्रगामी सेवा गर्ने एक जना पनि थिएन। त्यसकारण सन् १९४७ डिसेम्बर अङ्कको इन्फर्मेन्ट-मा (अहिले हाम्रो राज्य सेवा भनिन्छ) भाइबहिनीहरूलाई नियमित अग्रगामी गर्न प्रोत्साहन दिइयो। त्यतिबेला नियमित अग्रगामीहरूले प्रचारकार्यमा १५० घण्टा बिताउनुपर्थ्यो। (सन् १९४९ देखि जम्मा १०० घण्टा मात्र गरे पुग्ने भयो।) ‘परमेश्वरको वचन सत्य हो’ भनी येशूले यूहन्ना १७:१७ मा भन्नुभएका शब्दहरूमा पूर्णतया विश्वस्त हुँदै सन् १९४८ मा मैले बप्तिस्मा गरें अनि सन् १९४९ को डिसेम्बर महिनादेखि अग्रगामी सेवा सुरु गरें।
जेलबाट छुटेपछि फेरि डनकर्कमा
फ्रान्सको दक्षिणी भागमा पर्ने एजेन सहरबाट मैले आफ्नो अग्रगामी सेवा सुरु गरें तर त्यहाँ मैले थोरै समय मात्र सेवा गर्न पाएँ। त्यतिबेला मैले कोइला खानीमा काम गर्न छोडिसकेकोले सैन्य सेवामा भर्ना हुनुपर्ने भयो। तर मैले त्यसो गर्न इन्कार गरें र मलाई जेलमा हालियो। मैले जेलमा बाइबल लैजाने अनुमति त पाएको थिइनँ तर भजनको पुस्तकको केही पाना भने पाउन सफल भएँ। ती पदहरू पढ्दा मैले निकै प्रोत्साहन पाएँ। जेलबाट छुटेपछि मैले एउटा गम्भीर निर्णय गर्नुपर्ने भयो: ‘अग्रगामी सेवा छोडेर घरजम गरौं कि अग्रगामी सेवालाई नै निरन्तरता दिऊँ?’ यतिबेला पनि मलाई बाइबलमा पढेको कुराले मदत दियो। मैले फिलिप्पी ४:११-१३ मा पावलले भनेको कुराहरू मनन गरें जहाँ यस्तो लेखिएको छ, “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” तसर्थ, मैले अग्रगामी सेवालाई निरन्तरता दिन आफ्नो मन तयार पारें। सन् १९५० मा मलाई डनकर्कमा खटाइयो। यो ठाउँमा मैले पहिला पनि प्रचार गरिसकेको थिएँ।
डनकर्कमा सेवा गर्न जाँदा मेरो साथमा केही पनि थिएन। दोस्रो विश्वयुद्धमा यो सहर तहसनहस भएको थियो र डेरा पाउन पनि गाह्रो थियो। पहिला साक्षी दिने गरेको एउटा परिवारलाई मैले भेट्ने निर्णय गरें। त्यो घरको धनी मलाई देखेर निकै खुसी भइन्: “ओहो! तपाईं जेलबाट छुट्नुभयो? अरू पनि तपाईंजस्तै भइदिएको भए यो संसारमा युद्ध नै हुने थिएन भनेर मेरो श्रीमान् भन्ने गर्नुहुन्छ।” तिनीहरूको गेष्टहाउस थियो त्यसैले पर्यटकहरू आउने समय सुरु नहोउन्जेल मलाई त्यहीं बस्न भने। त्यसै दिन आर्थर एम्योटका दाइ एभान्जले मेरो लागि कामको प्रबन्ध मिलाइदिनुभयो। b उहाँ बन्दरगाहमा दोभासेको काम गर्नुहुन्थ्यो अनि राती जहाजको सुरक्षा गर्न एक जना गार्ड खोजिरहनुभएको थियो। उहाँले जहाजका अफिसरहरूमध्ये एक जनासँग मेरो भेट गराइदिनुभयो। जेलबाट छुटेको समयताका म साह्रै पातलो थिएँ। एभान्जले म त्यस्तो हुनुको कारण अफिसरलाई बताइदिनुभयो र तिनले मलाई फ्रिजमा भएको खानेकुरा खान अनुमति दिए। मैले एकै दिनमा बस्ने ठाउँ, काम अनि खानेकुरा पाएँ! मत्ती ६:२५-३३ मा येशूले भन्नुभएका शब्दहरूमाथिको मेरो विश्वास अझ बलियो भयो।
पर्यटकहरू आउने महिना सुरु भएपछि मेरो अग्रगामी साथी सिमोन एपोलिनारस्की र मैले डेरा खोज्नुपर्ने भयो तर हामी आफूले पाएको असाइनमेन्ट पूरा गर्न दृढ थियौं। पछि हामीले एउटा पुरानो तबेलामा बास पायौं। त्यहाँ हामी परालको बिछ्यौनामा सुत्ने गर्थ्यौं। हामी दुवै जना दिनभर प्रचारमा हुन्थ्यौं। हामीले तबेलाको धनीलाई पनि प्रचार गऱ्यौं र अरू थुप्रैले जस्तै तिनले पनि सच्चाइ स्वीकारे। त्यसको केही समयपछि नै स्थानीय अखबारको एउटा लेखले डनकर्कमा “यहोवाका साक्षीहरूको गतिविधि व्यापक रूपमा फैलिएको” चेतावनी दिंदै त्यहाँका बासिन्दाहरूलाई सचेत गरायो। तर त्यतिबेला त्यस इलाकामा सिमोन, म अनि अरू मुठीभर साक्षीहरू मात्र थियौं! कठिनाइको समयमा पनि हामीले ख्रीष्टियन आशामा अनि यहोवाले हामीलाई हेरविचार गर्नुभएको तरिकाबारे मनन गरेर प्रोत्साहन पायौं। सन् १९५२ मा मेरो असाइनमेन्ट परिवर्तन हुने बेला डनकर्कमा ३० जना जति नियमित प्रकाशक थिए।
नयाँ जिम्मेवारीको लागि बल पाएँ
आमयान भन्ने ठाउँमा केही समय बसिसकेपछि मैले पेरिस सहरको छेउमा पर्ने बुलोन-बियाङ्कुर भन्ने ठाउँमा विशेष अग्रगामीको रूपमा सेवा गर्ने असाइनमेन्ट पाएँ। मेरा थुप्रै बाइबल विद्यार्थीहरू थिए, जसमध्ये केहीले पछि पूर्ण-समय सेवा अङ्गाले भने केहीले मिसनरी सेवामा भाग लिए। सच्चाइ स्वीकार्ने एक जना जवान भाइ गाइ माबिलाले क्षेत्रीय निरीक्षक र पछि जिल्ला निरीक्षकको रूपमा पनि सेवा गरे। पछि तिनले पेरिस नजिकैको इलाका लुभियर्समा अवस्थित बेथेलगृहमा छापाखाना निर्माणको निरीक्षण गर्ने जिम्मेवारी पाए। उक्त बेथेलगृह हाल पनि सोही स्थानमा अवस्थित छ। क्षेत्रमा भेटिने मानिसहरूसित थुप्रै चोटि बाइबल छलफल गर्ने भएको हुँदा परमेश्वरको वचन मेरो दिमागमा ठप्प बस्यो, जसले गर्दा मैले अपार आनन्द पाएँ र मेरो सिकाउने क्षमता पनि उन्नति भयो।
त्यसपछि अचानक सन् १९५३ मा म अल्सेक-लोरेनको क्षेत्रीय निरीक्षक नियुक्त भएँ। यस क्षेत्रलाई जर्मनीले सन् १८७१ र १९४५ को बीचतिर दुई चोटिसम्म आफ्नो कब्जामा लिएको थियो। त्यसकारण मैले जर्मन भाषा सिक्नुपर्ने भयो। मैले क्षेत्रीय निरीक्षकको काम गर्दा त्यस इलाकामा कार, टेलिभिजन अनि टाइपराइटर जस्ता कुराहरू कमै मात्र थिए, झन् रेडियो अनि कम्प्युटर त छँदै थिएनन्। तैपनि मेरो जीवन निराशाजनक अनि कठिनाइपूर्ण थिएन। झन् त्यो समय त मेरो लागि जीवनकै रमाइलो क्षण थियो। अहिलेको तुलनामा त्यतिबेला यहोवाको सेवामा बाधा पुऱ्याउनसक्ने चीजबीजहरू थोरै मात्र भएकोले मलाई ‘आँखा निर्मल’ राख्ने सन्दर्भमा बाइबलमा दिइएको सल्लाह पालन गर्न सजिलो भयो।—मत्ती ६:१९-२२.
सन् १९५५ मा पेरिसमा आयोजित “विजयी राज्य” नामक सम्मेलन मेरो लागि अविस्मरणीय क्षण भयो। त्यहाँ मैले मेरी हुनेवाला श्रीमती आइरिन कालान्स्कीलाई भेटें। मैले पूर्ण-समय सेवा थालेको एक वर्षअघि तिनले पूर्ण-समय सेवा थालेकी रहेछिन्। तिनका आमाबाबु पोल्याण्डका नागरिक हुनुहुन्थ्यो। उहाँहरूले लामो समयसम्म जोसिलो भएर यहोवाको सेवा गर्नुभएको थियो।
फ्रान्समा उहाँहरूले एडोल्फ वेबरमार्फत सच्चाइ सिक्नुभएको थियो। एडोल्फ वेबरले भाइ रसलको घरमा मालीको काम गर्नुहुन्थ्यो र पछि सुसमाचार सुनाउन युरोप आउनुभएको थियो। आइरिन र मैले सन् १९५६ मा विवाह गऱ्यौं र तिनले मलाई क्षेत्रीय भ्रमणमा साथ दिन थालिन्। तिनी सधैंभरि मेरो असल सहयोगी भएकी छिन्।दुई वर्षपछि मैले अर्को विशेष अवसर पाएँ। मलाई जिल्ला निरीक्षक नियुक्त गरियो। तैपनि जिम्मेवारी सम्हाल्ने योग्य भाइहरू थोरै मात्र भएकोले मैले क्षेत्रीय निरीक्षकको रूपमा पनि मण्डलीहरूमा भ्रमण गरिनै रहें। त्यतिबेला म कत्ति व्यस्त थिएँ! महिनाको १०० घण्टा प्रचार गर्नुका साथै हरेक हप्ता भाषण दिनुपर्थ्यो, तीन वटा मण्डली पुस्तक अध्ययनमा भ्रमण गर्नुपर्थ्यो, रेकर्ड जाँच गर्नुपर्थ्यो अनि भ्रमणको रिपोर्ट पनि तयार पार्नुपर्थ्यो। यस्तो व्यस्त समयमा मैले परमेश्वरको वचन पढ्न कसरी समय निकाल्न सक्थें? मैले देखेको एउटै मात्र उपाय भनेको पुरानो बाइबलका पानाहरू काटेर सधैं आफ्नो साथमा राख्नु थियो। कसैलाई कुर्नुपर्दा म त्यही कागजका टुक्राहरू झिक्थें र पढ्थें। थोरै नै भएपनि त्यसरी बाइबल पढ्ने समय निकालेको कारण मैले आध्यात्मिक स्फूर्ति पाएँ र आफ्नो असाइनमेन्टलाई निरन्तरता दिन सकें।
सन् १९६७ मा आइरिन र मलाई बुलोन-बियाङ्कुरमा रहेको बेथेलगृहमा स्थायी सदस्यको रूपमा काम गर्न आमन्त्रित गरियो। मैले सेवा विभागमा काम गर्न थालें र अहिले पनि यही विभागमा काम गरिरहेको छु। मैले सेवा विभागमा काम गरेको ४० वर्ष भइसक्यो। मेरो कामको एउटा रमाइलो पक्ष भनेको पत्रमार्फत सोधिएका बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ पठाउनु हो। परमेश्वरको वचनका गहिरा-गहिरा कुराहरू खोतल्न पाउँदा अनि ‘सुसमाचारको पक्षमा खडा हुन पाउँदा’ मलाई निकै रमाइलो लाग्छ। (फिलि. १:७) बिहानको उपासना सञ्चालन गर्न पनि मलाई रमाइलो लाग्छ। सन् १९७६ मा म फ्रान्सको शाखा समिति सदस्य नियुक्त भएँ।
जीवनको सर्वोत्तम मार्ग
मैले आफ्नो जीवनमा थुप्रै उकाली-ओराली पार गरिसकें तर मेरो जीवनमा सबैभन्दा ठूलो चुनौती भनेको अहिले भोगिरहेको वृद्धावस्था र स्वास्थ्य समस्या नै हो। यस्तो सीमितताले गर्दा आइरिन र मैले पहिला यहोवाको सेवामा जे-जति गरिरहेका थियौं त्यति गर्न सकेका छैनौं। तर अहिलेसम्म पनि परमेश्वरको वचनको पढाइ र अध्ययनले गर्दा हामीले आफ्नो आशालाई जीवितै राख्न सकेका छौं। बसमा चढेर आफ्नो मण्डलीको इलाकाका मानिसहरूलाई यस आशाबारे बताउन जाँदा हामीलाई निकै रमाइलो लाग्छ। हामी दुवैले मिलेर पूर्ण-समय सेवामा १२० वर्ष बिताइसकेका छौं। यहोवाको सेवामा हामीले थुप्रै अनुभव बटुलेका छौं र आफ्नो जीवनलाई आनन्ददायी, रमाइलो अनि उद्देश्यपूर्ण बनाउन चाहनेहरूलाई हामीले जस्तै पूर्ण-समय सेवा अङ्गाल्न प्रोत्साहन दिन चाहन्छौं। भजन ३७:२५ का शब्दहरू लेख्दा राजा दाऊद ‘बूढो भइसकेका’ थिए तर तिनले जस्तै मैले पनि ‘धर्मात्मा त्यागिएको’ कहिल्यै देखेको छैन।
परमेश्वरले आफ्नो वचन बाइबलमार्फत मलाई जीवनभर बल दिनुभएको छ। ‘तिमीले जिन्दगीभर बाइबल नपढी सुख पाउँदैनौ’ भनी मेरा नातेदारहरूले ६० वर्षअघि भनेका थिए। नभन्दै त्यस्तै भयो। बाइबल पढाइ मेरो जीवनको अभिन्न भाग नै बनेको छ र यसमा मलाई कुनै पछुतो छैन!
[फुटनोट]
a चित्रमा फ्रान्सेली भाषामा देखाइएको उक्त प्रकाशन सन् १९४४ मा प्रकाशित भएको थियो तर अहिले भने छापिंदैन।
b एभान्ज एम्योटबारे थप जानकारीको लागि प्रहरीधरहरा, जनवरी १, १९९९, पृष्ठ २२, २३ हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
सिमोन र म
[पृष्ठ ५-मा भएको चित्र]
जिल्ला निरीक्षकको रूपमा सेवा गर्दा ▸
[पृष्ठ ५-मा भएको चित्र]
मैले पहिलो पटक पाएको बाइबलसँग मिल्दोजुल्दो बाइबल
[पृष्ठ ६-मा भएको चित्र]
हाम्रो विवाहको दिन
[पृष्ठ ६-मा भएको चित्र]
आइरिन र मलाई बाइबल पढ्न र अध्ययन गर्न निकै रमाइलो लाग्छ ▸