सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको सेवा गर्दा मैले आनन्द पाएको छु

यहोवाको सेवा गर्दा मैले आनन्द पाएको छु

यहोवाको सेवा गर्दा मैले आनन्द पाएको छु

फ्रेड रस्कको वृत्तान्तमा आधारित

भजन २७:१० मा दाऊदले भनेका यी शब्दहरूको सत्यता मैले सानै उमेरमा अनुभव गरें: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।” यी शब्दहरू मेरो जीवनमा कसरी सत्य साबित भए, आउनुहोस्‌ म तपाईंहरूलाई बताउँछु।

मेरो बाजे अमेरिकाको जर्जियामा कपास खेती गर्नुहुन्थ्यो। म त्यहीं हुर्कें-बढें। त्यतिबेला सन्‌ १९३० दशकको महामन्दीले जताततै असर गरेको थियो। मेरी आमा र भर्खरै जन्मेको भाइको मृत्युले गर्दा मेरो बुबालाई भावनात्मक रूपमा एकदमै गहिरो चोट परेको थियो। मलाई बाजेको घरमा छोडेर उहाँचाहिं काम गर्नको लागि धेरै टाढाको सहरमा जानुभयो। त्यतिबेला बज्यै पनि बितिसक्नुभएको थियो। पछि बुबाले मलाई धेरै चोटि आफू भएकै ठाउँमा लैजान खोज्नुभयो तर उहाँको प्रयास कहिल्यै सफल हुन सकेन।

बाजेको घरगृहस्थी सबै फुपूहरूले सम्हाल्नुहुन्थ्यो। बाजेलाई धर्मप्रति रुचि थिएन तर फुपूहरू भने आफ्नो धर्मप्रति एकदमै कट्टर हुनुहुन्थ्यो र मलाई पनि उहाँहरूको आस्थाअनुरूप हिंड्‌न कर गर्नुहुन्थ्यो। उहाँहरूले पिट्‌नुहुन्छ भन्‍ने डरले म हरेक आइतबार चर्च जान्थें। वास्तवमा भन्‍ने हो भने सानै उमेरदेखि मलाई धर्मकर्ममा रुचि थिएन। तर मलाई स्कूल जान अनि खेलहरू खेल्न चाहिं मनपर्थ्यो।

मेरो जीवन नै परिवर्तन गर्ने भेट

सन्‌ १९४१ मा एकदिन दिउँसोतिर एक जना पाको व्यक्‍ति अनि उहाँकी श्रीमती हाम्रो घरमा आउनुभयो। त्यतिबेला म १५ वर्षको थिएँ। यसअघि मैले उहाँहरूलाई कहिल्यै भेटेको थिइनँ। उहाँहरू मेरी आमापट्टिको अलि टाढाको साइनो पर्नुहुँदो रहेछ। ‘उहाँ तिम्रो बाजे टाल्माड्‌ज रस्क!’ भनेर उक्‍त पाको व्यक्‍तिको परिचय दिइयो। उहाँहरू यहोवाको साक्षी हुनुहुँदो रहेछ भनेर मैले पछि थाह पाएँ। बाजेले परमेश्‍वरको उद्देश्‍य मानिसहरू यस पृथ्वीमा सधैंभरि बाँचून्‌ भन्‍ने हो भनेर हामीलाई बताउनुभयो। उहाँले बताउनुभएको कुरा मैले चर्चमा सुनेको कुराभन्दा एकदमै फरक थियो। परिवारका प्रायजसो सदस्यले उहाँको कुरा सुनेनन्‌, बरु उल्टै घृणा गरे। त्यसपछि उहाँहरूलाई फेरि कहिल्यै हाम्रो घरभित्र छिर्न दिइएन। तर रोजलोन नाम गरेकी फुपू, जो मभन्दा तीन वर्षले मात्र जेठी हुनुहुन्थ्यो, उहाँले भने बाइबल र बाइबलको कुरा बुझ्न मदत गर्ने अन्य केही साहित्यहरू स्वीकार्नुभयो।

रोजलोन फुपू आफूले बाइबल सच्चाइ पाएको कुरामा छिट्टै विश्‍वस्त हुनुभयो र सन्‌ १९४२ मा उहाँले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्नुभयो। येशूले भविष्यवाणी गर्नुभएको यो कुरा पनि उहाँले अनुभव गर्नुभयो: “मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌।” (मत्ती १०:३४-३६) उहाँलाई परिवारले साह्रै विरोध गऱ्‍यो। जेठी फुपूको सामाजिक प्रभुत्व भएको कारण उहाँले गुपचुपमा त्यस सहरको मेयरसित साँठगाँठ गरेर बाजे टाल्माड्‌जलाई समाउन लगाउनुभयो। उहाँलाई अनुमतिपत्रविना साहित्य वितरण गरेको आरोप लगाइयो अनि उहाँ दोषी पनि ठहरिनुभयो।

त्यहाँका मेयर जो न्यायाधीश पनि थिए, तिनले त्यस सहरको अदालतमा भएका मानिसहरूलाई यसो भनेको कुरा स्थानीय अखबारमा छापियो: “यो मान्छेले वितरण गरिरहेको साहित्य . . . विष जत्तिकै खतरनाक छ!” टाल्माड्‌ज बाजेले यसबारे पुनरावेदनमा रिट दायर गर्नुभयो र पछि उहाँ दोष मुक्‍त हुनुभयो। यस अवधिमा उहाँ दस दिन जेलमा बस्नुभयो।

रोजलोन फुपूले मलाई मदत गर्नुभयो

रोजलोन फुपूले आफूले पाएको नयाँ विश्‍वासबारे मलाई बताउनुभयो र अरू छिमेकीहरूलाई पनि त्यसबारे बताउन थाल्नुभयो। एकचोटि म उहाँको बाइबल अध्ययनमा गएको थिएँ। उक्‍त व्यक्‍तिले फुपूसित नयाँ संसार a (अङ्‌ग्रेजी) भन्‍ने किताब लिएका रहेछन्‌। तिनले रातभर लगाएर त्यो किताब पढे रे भनेर तिनकी श्रीमतीले हामीलाई बताइन्‌। म तुरुन्तै धार्मिक गफमा मग्न हुन चाहन्‍नथें तर त्यतिबेला मैले जे सिकिरहेको थिएँ, त्यसले मेरो मन छोयो। तर यहोवाका साक्षीहरू नै परमेश्‍वरका जनहरू हुन्‌ भनेर मलाई विश्‍वस्त पार्ने कुरा आधारभूत बाइबल शिक्षा थिएन। बरु, तिनीहरूले भोगिरहेको विरोध थियो।

उदाहरणका लागि, एक दिन गोलभेंडा गोडगाड गरेर घर फर्कंदै गर्दा रोजलोन फुपू र मैले फोहोर जलाउने ठाउँबाट धुवाँ निस्किरहेको देख्यौं। अरू फुपूहरूले उहाँका साहित्यहरू अनि बाइबल सन्देशहरू समावेश भएका फोनोग्राफ अनि रेकर्डिङ सबै जलाइदिनुभएछ। मलाई खुबै रिस उठ्यो तर ठूली फुपूले मलाई यसो भन्‍नुभयो, “हामीले जे गऱ्‍यौं नि, त्यसको लागि तिमीले हामीलाई पछि धन्यवाद दिनेछौ, बुझ्यौ!”

रोजलोन फुपूले आफ्नो विश्‍वास नत्याग्नुभएको कारण अनि छिमेकीहरूलाई प्रचार गर्न नछोड्‌नुभएको कारण सन्‌ १९४३ मा उहाँलाई घरबाट निकालियो। त्यतिन्जेल मैले परमेश्‍वरको नाम यहोवा हो भनेर सिक्नुका साथै उहाँ मायालु अनि दयालु परमेश्‍वर हुनुहुन्छ र मानिसहरूलाई नरकमा जल्न दिनुहुन्‍न भनेर सिकिसकेको थिएँ। यसले गर्दा म साह्रै रोमाञ्चित भएको थिएँ। त्यति मात्र होइन सभामा एकचोटि पनि नगएको भए तापनि मैले यहोवाको एउटा मायालु सङ्‌गठन छ भन्‍ने कुरा थाह पाइसकेको थिएँ।

एकदिन, चौरको घाँस काट्‌दै गर्दा एउटा कार बिस्तारै म भएतिर आयो र कारभित्र भएको दुई जनामध्ये एक जनाले “फ्रेड भनेको तपाईं नै हो?” भनेर सोध्नुभयो। उहाँहरू यहोवाको साक्षी हुनुहुँदो रहेछ भनेर थाह पाएपछि मैले उहाँहरूलाई यसो भनें, “मलाई भित्र आउन दिनुस्‌। हामी कतै सुरक्षित ठाउँमा गएर कुरा गरौं।” मलाई प्रचार गर्नको लागि रोजलोन फुपूले उहाँहरूलाई पठाउनुभएको रहेछ। उहाँहरूमध्ये एक जना शिल्ड टटजीन नाम गरेका परिभ्रमण सेवक हुनुहुन्थ्यो। उहाँले मलाई ठीक समयमा नै प्रोत्साहन र आध्यात्मिक निर्देशनहरू दिनुभयो। यहोवाका साक्षीहरूको समर्थन गरेकोले अब म पनि परिवारको लागि आँखाको कसिङ्‌गर बन्‍न पुगें।

रोजलोन फुपूले आफू सर्नुभएको ठाउँ भर्जिनियाबाट मलाई चिठी पठाउनुभयो। उहाँले चिठीमा यस्तो लेख्नुभएको थियो: “यदि तिमी साँच्चै यहोवाको सेवा गर्न चाहन्छौ भने तिमी मसँगै आएर बस्न सक्छौ।” मैले तुरुन्तै उहाँकहाँ जाने निर्णय गरें। अक्टोबर १९४३ को एउटा शुक्रबारको साँझ मैले आफूलाई चाहिने सबै सामानहरू एउटा बाकसमा हालें र घरबाट अलि टाढा एउटा रूखमा बाँधेर राखें। शनिबार त्यो बाकस लिएर म एक जना छिमेकीको घरपछाडिको चोर बाटो भएर गएँ अनि गाडी चढेर सहरतर्फ लागें। म रोनोक सहर गएँ जहाँ रोजलोन फुपू एड्‌ना फोउल्स्‌को घरमा बस्नुभएको थियो।

आध्यात्मिक प्रगति, बप्तिस्मा अनि बेथेल सेवा

एड्‌ना दयालु अभिषिक्‍त साक्षी हुनुहुन्थ्यो। उहाँलाई आधुनिक जमानाको लिडिया नै भन्‍न सकिन्छ। उहाँले एउटा ठूलो घर भाडामा लिनुभएको थियो र रोजलोन फुपूलाई मात्र होइन आफ्नी भाउजू र तिनकी दुई छोरी ग्लाडिस र ग्रेस ग्रेगरीलाई पनि आफूसँगै राख्नुभएको थियो। पछि ग्लाडिस र ग्रेसले मिसनरीको रूपमा सेवा गरे। अहिले ९० वर्ष नाघिसकेकी ग्लाडिस अझै पनि विश्‍वासी भएर जापान शाखामा सेवा गरिरहेकी छिन्‌।

एड्‌नाको घरमा छँदा म नियमित रूपमा सभाहरू धाउथें र त्यतिबेला नै मैले प्रचार गर्न तालिम पाएँ। यहोवालाई चिन्‍ने मेरो इच्छा झन्‌-झनै तीव्र हुँदै थियो तर परमेश्‍वरको वचन पढ्‌ने र सभाहरूमा धाउने स्वतन्त्रता पाएकोले मैले आफ्नो आध्यात्मिक भोक तृप्त पार्न सकें। मैले जुन १४, १९४४ को दिन बप्तिस्मा गरें। रोजलोन फुपू, ग्लाडिस र ग्रेसले अग्रगामी सेवा सुरु गरे र भर्जिनियाको उत्तरी भागमा गएर सेवा गर्ने निम्तो स्वीकारे। उनीहरूले लिजबर्गमा मण्डली खडा गर्न मदत गरे। सन्‌ १९४६ को सुरुतिर मैले उनीहरू सेवा गरिरहेको ठाउँ नजिकै पर्ने इलाकामा गएर अग्रगामी सेवा गर्न थालें। त्यस वर्षको गर्मी महिनामा क्लिभल्याण्ड, ओहायोमा आयोजना गरिएको अन्तरराष्ट्रिय अधिवेशनमा हामी सबै जना गयौं। अगस्त ४ देखि ११ सम्म आयोजना गरिएको उक्‍त अधिवेशन हाम्रो लागि साँच्चै अविस्मरणीय थियो!

उक्‍त अधिवेशनमा हाम्रो सङ्‌गठनको नेतृत्व लिइरहेका भाइ नेथन नोरले ब्रूक्लिनमा रहेको बेथेललाई अझ विस्तार गर्ने योजनाबारे बताउनुभयो। उक्‍त योजनामा नयाँ भवन बनाउने अनि छापाखाना थप्ने कुरा समावेश थियो। थुप्रै जवान भाइहरूको आवश्‍यकता परेको थियो। मैले पनि बेथेलमा गएर यहोवाको सेवा गर्ने निर्णय गरें। त्यसैले बेथेल फाराम भरें र केही महिनाभित्रै अर्थात्‌ डिसेम्बर १, १९४६ देखि बेथेलमा गएर सेवा गर्न थालें।

यसको लगभग एक वर्षपछि चिठीहरू बुझ्ने र पठाउने विभागमा काम गरिरहेको बेला छापाखानाका निरीक्षक भाइ म्याक्स लार्सन मकहाँ आउनुभयो र मलाई सेवा विभागमा खटाइएको जानकारी दिनुभयो। यो जिम्मेवारी सम्हालेपछि मैले बाइबल सिद्धान्तहरूलाई कसरी प्रयोग गर्ने अनि परमेश्‍वरको सङ्‌गठनले कसरी काम गर्छ भन्‍ने कुरा अझ राम्ररी बुझ्न सकें। विशेषगरि सेवा विभागका निरीक्षक टि. जे. (बड) सलिभनसँग काम गरेर अझ धेरै कुरा सिकें।

मेरो बुबा मलाई भेट्‌न भनेर केही पटक बेथेलमा आउनुभयो। आफ्नो जीवनको अन्ततिर उहाँमा धर्मकर्मप्रति रुचि जागेको थियो। सन्‌ १९६५ मा अन्तिम पटक भेट्‌न आउँदा उहाँले मलाई यसो भन्‍नुभएको थियो: “तिमी मलाई भेट्‌न आउन सक्छौ तर मचाहिं तिमीलाई भेट्‌न यहाँ कहिल्यै आउँदिनँ।” उहाँको मृत्यु हुनुभन्दा अघि केही पटक म उहाँलाई भेट्‌न गएँ। आफू स्वर्ग जाने कुरामा उहाँ पक्का हुनुहुन्थ्यो। उहाँ यहोवाको सम्झनामा हुनुहुन्छ भन्‍ने आशा मैले राखेको छु। यदि त्यसो हो भने पुनर्जीवित हुँदा उहाँ आफूले सोचेको ठाउँमा नभई प्रमोदवनमा परिणत भएको यही पृथ्वीमा सधैंभरि बाँच्ने आशा लिएर उठ्‌नुहुनेछ।

अन्य अविस्मरणीय अधिवेशनहरू अनि निर्माणकार्य

आध्यात्मिक रूपमा उन्‍नति गर्नको लागि अधिवेशनहरू मेरो लागि कोसेढुङ्‌गो नै साबित भएको छ। विशेषगरि, सन्‌ १९५० को दशकमा न्यु योर्कको याङ्‌की रङ्‌गशालामा सम्पन्‍न भएका अन्तरराष्ट्रिय अधिवेशनहरू। सन्‌ १९५८ मा १२३ मुलुकबाट आएका २,५३,९२२ मानिसहरूले याङ्‌की रङ्‌गशाला र पोलो ग्राउन्ड्‌स खचाखच भरिएको थियो। उक्‍त अधिवेशनमा घटेको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ। म अधिवेशन अफिसलाई मदत गर्दै थिएँ त्यत्तिकैमा भाइ नोर हतार-हतार गरेर आउनुभयो अनि यसो भन्‍नुभयो: “भाइ फ्रेड, सुन्‍नुस्‌ त! भाडामा लिएको नजिकैको भोज गर्ने हलमा भेला भएका अग्रगामीहरूको लागि भाषण दिन मैले असाइनमेन्ट दिनै बिर्सेछु। त्यसैले तपाईं तुरुन्तै त्यहाँ गएर एउटा राम्रो भाषण दिइदिनुस्‌ न है! बाटोमा सोच्दै जानुस्‌, दिमागमा जे आउँछ, त्यही दिनुस्‌!” म हस्याङफस्याङ गर्दै त्यतातिर लागें अनि त्यतिन्जेल मैले कत्ति पटक प्रार्थना गरें, त्यो त कुरै नगरौं।

सन्‌ १९५० र १९६० को दशकमा न्यु योर्क सहरमा मण्डलीको सङ्‌ख्या अचम्मलाग्दो तरिकाले बढ्‌दै गएकोले भाडामा लिइएका राज्य भवनहरू अपुग भए। त्यसैले सन्‌ १९७० देखि १९९० सम्ममा म्यानहाटनमा तीन वटा भवनहरू किनियो र त्यसलाई सभा गर्ने ठाउँ बनाउन मर्मत सम्भार गरियो। म ती परियोजनामा निर्माण समितिको अध्यक्ष थिएँ र त्यतिबेला मैले थुप्रै मीठा अनुभवहरू बटुलें। यहोवाले ती भवनहरूको मर्मत सम्भार गर्न अग्रसर भएका र भौतिक रूपमा सघाएका मण्डलीहरूलाई आशिष्‌ दिनुभयो। ती भवनहरूले साँचो उपासना अघि बढाउन निकै मदत दिएको छ।

जीवनमा आएका परिवर्तनहरू

कुरा सन्‌ १९५७ को हो। एकदिन म बेथेल भवन र छापाखानाको बीचमा पर्ने पार्कबाट आफ्नो कामतर्फ जाँदै थिएँ। अचानक पानी पर्न थाल्यो। मैले आफ्नो अगाडि एउटी सुन्दरीलाई देखें। तिनी भर्खरै मात्र बेथेलमा सेवा गर्न आएकी रहेछिन्‌। तिनीसँग छाता थिएन त्यसैले मैले तिनलाई छाता ओड्‌न दिएँ। यसरी मार्जरीसँग मेरो भेट भयो। सन्‌ १९६० मा हाम्रो विवाह भएदेखि हामीले एकअर्कालाई सुख-दुःखमा साथ दिदैं यहोवाको सेवामा लागिरहेका छौं। हामीले सन्‌ २०१० को सेप्टेम्बरमा विवाहको ५० औं वार्षिकी मनायौं।

हनिमुनबाट फर्केको केही समय बित्न नपाउँदै भाइ नोरले म गिलियड स्कूलको प्रशिक्षक नियुक्‍त भएको कुरा बताउनुभयो। त्यो कत्ति ठूलो सुअवसर थियो! सन्‌ १९६१ देखि १९६५ सम्म पाँच वटा लामो-लामो कक्षाहरू सञ्चालन गरियो। त्यतिबेलाको कक्षा, शाखामा काम गर्नेहरूलाई शाखा व्यवस्थापनबारे तालिम दिनमा केन्द्रित हुन्थ्यो। तर सन्‌ १९६५ को शरद्‌ ऋतुपछि पाँच महिने कक्षा सुरु भयो। अबदेखि चाहिं यो कक्षाको उद्देश्‍य मिसनरीहरूलाई तालिम दिनुथियो।

सन्‌ १९७२ मा मेरो असाइनमेन्ट परिवर्तन भयो। मैले गिलियड स्कूलको प्रशिक्षकको रूपमा नभई बाइबल शिक्षासम्बन्धी प्रश्‍नहरूको जवाफ दिने विभागको निरीक्षकको रूपमा सेवा गर्न थालें। विभिन्‍न किसिमका प्रश्‍नहरू र समस्याहरूबारे अनुसन्धान गर्दा मैले परमेश्‍वरको वचन र त्यसमा भएका उत्कृष्ट सिद्धान्तहरू प्रयोग गर्दै अरूलाई कसरी मदत दिन सकिन्छ भनेर अझ राम्रोसँग बुझ्न सकें।

त्यसपछि सन्‌ १९८७ मा मैले अस्पताल सूचना सेवा नाम गरेको नयाँ विभागमा सेवा गर्न थालें। अस्पताल सम्पर्क समितिमा सेवा गर्ने एल्डरहरूलाई सिकाउन सेमिनारहरूको प्रबन्ध गरियो। ती सेमिनारहरूमा डाक्टर, वकिल तथा समाजसेवीलाई रगतको सन्दर्भमा हाम्रो शास्त्रीय अडानबारे कसरी बताउने भनेर सिकाइयो। एउटा ठूलो समस्या भनेको डाक्टरहरूले यहोवाका साक्षीहरूको बच्चाहरूलाई तिनीहरूको अभिभावकको राय नलिइकनै रगत दिने गर्थे र त्यसो गर्न अक्सर तिनीहरूले अदालतको स्वीकृति समेत लिने गर्थे।

डाक्टरहरूसँग रगत नलिईकन वैकल्पिक उपचार अपनाउने कुरा गऱ्‍यो भने तिनीहरूले प्रायजसो त्यस्तो उपचार उपलब्ध छैन वा त्यस्तो उपचारपद्धति निकै महँगो छ भन्‍ने गर्थे। त्यसो भन्‍ने डाक्टरलाई म प्रायजसो यसो भन्‍ने गर्थें: “कृपया आफ्नो हात हेर्नुस्‌ त!” त्यसपछि म यसो भन्‍ने गर्थें, “तपाईंलाई थाह छ, तपाईंको हातमा सीप छ नि! तपाईं वैकल्पिक तरिका अपनाएर उपचार गर्न सक्षम हुनुहुन्छ।” यसरी प्रशंसा गर्दा तिनले शल्यक्रिया गर्दा चलाउने चक्कुलाई होसियारीसाथ चलाएमा रगत धेरै बग्न पाउँदैन भन्‍ने कुरा याद गर्न सक्थे।

बितेको दुई दशकदेखि डाक्टर तथा वकिललाई सिकाउन हामीले गरेको प्रयासमा यहोवाले प्रशस्त आशिष्‌ दिनुभएको छ। हाम्रो अडानबारे राम्रोसँग बुझिसकेपछि तिनीहरूको मनोवृत्तिमा आमूल परिवर्तन आएको छ। चिकित्सा क्षेत्रमा गरिएको अनुसन्धानले देखाएअनुसार वैकल्पिक उपचार प्रभावकारी छ भन्‍ने कुरा तिनीहरूले बुझेका छन्‌। साथै थुप्रै डाक्टर तथा अस्पतालहरू वैकल्पिक उपचार गर्न तयार छन्‌ भन्‍ने कुरा पनि तिनीहरूले बुझेका छन्‌।

सन्‌ १९९६ देखि मार्जरी र म न्यु योर्कको प्याटर्सनस्थित वाचटावर एजुकेसनल सेन्टरमा सेवा गर्दैछौं। यो ब्रुकलिनबाट लगभग ११० किलोमिटर उत्तरमा पर्छ। यहाँ मैले छोटो समयको लागि सेवा विभागमा काम गरें र केही समय शाखाका भाइहरू अनि परिभ्रमण निरीक्षकहरूलाई प्रशिक्षण दिने काममा पनि मदत गरें। अहिले म १२ वर्षदेखि फेरि बाइबल शिक्षासम्बन्धी प्रश्‍नहरूको जवाफ दिने विभागमा निरीक्षकको रूपमा सेवा गर्दैछु। यो विभाग पहिला ब्रुकलिनमा थियो तर अहिले प्याटर्सनमा सारिएको छ।

वृद्धावस्थाका चुनौतीहरू

अहिले म लगभग ८५ वर्षको भएँ। त्यसैले बेथेलमा पाएका सुअवसरहरू पूरा गर्न मलाई पहिलाभन्दा झन्‌ गाह्रो भएको छ। मैले क्यान्सरसित लडेको १० वर्षभन्दा बढी भइसक्यो। यहोवाले आयु लम्ब्याइ दिंदा हिजकियाहले जस्तो महसुस गरेका थिए आज म पनि त्यस्तै महसुस गर्दैछु। (यशै. ३८:५) मेरी श्रीमतीको पनि स्वास्थ्य अवस्था झन्‌-झन्‌ कमजोर हुँदैछ र हामी दुवै जना मिलेर तिनको अल्जाइमर्स रोगसित लड्‌ने प्रयास गरिरहेका छौं। मार्जरी यहोवाको एक जना योग्य सेविका, जवानहरूका लागि प्रोत्साहनको स्रोत अनि मेरो लागि चाहिं विश्‍वासी अनि वफादार साथी साबित भएकी छिन्‌। तिनी बाइबलको असल विद्यार्थी अनि राम्रो शिक्षिका साबित भएकी छिन्‌। हाम्रा थुप्रै आध्यात्मिक छोराछोरीहरूले बेलाबेलामा हामीसित सम्पर्क गरिरहन्छन्‌।

मार्च २०१० मा ८७ वर्षको उमेरमा रोजलोन फुपूको मृत्यु भयो। उहाँ परमेश्‍वरको वचनको एकदमै राम्रो शिक्षिका हुनुहुन्थ्यो र थुप्रैलाई उहाँले साँचो उपासनाको पक्षमा खडा हुन मदत दिनुभयो। उहाँले पूर्ण-समय सेवामा धेरै वर्ष बिताउनुभयो। मलाई परमेश्‍वरको वचनको सत्य सिकाउन र आफूजस्तै, मायालु परमेश्‍वर यहोवाको सेवक बनाउन उहाँले गर्नुभएको प्रयासको लागि म साह्रै कृतज्ञ छु। रोजलोन फुपूलाई फुपाजु गाडिएको ठाउँ नजिकै गाडियो। फुपाजु पहिला इस्राएलमा मिसनरीको रूपमा सेवा गर्नुहुन्थ्यो। उहाँहरू दुवै यहोवाको सम्झनामा हुनुहुन्छ र यहोवाले उहाँहरूलाई पुनर्जीवित पार्नुहुन्छ भन्‍ने कुरामा म पक्का छु।

यहोवाको सेवामा आफूले बिताएको ६७ वर्षलाई फर्केर हेर्दा उहाँले मलाई थुप्रै आशिष्‌ दिनुभएकोमा म उहाँप्रति धन्यवादी छु। यहोवाको इच्छा गर्न पाउनु साँच्चै नै आनन्दित कुरा हो! यहोवाको असीम अनुग्रहमा पूर्ण विश्‍वास राख्दै म येशू ख्रीष्टले गर्नुभएको यो प्रतिज्ञा आफूमा पनि पूरा भएको उत्कट आशा गर्छु: “जसले मेरो नामको कारण घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले कैयौं गुणा यी कुरा र अनन्त जीवन पाउनेछ।”मत्ती १९:२९.

[फुटनोट]

a सन्‌ १९४२ मा प्रकाशित तर हाल छापिंदैन।

[पृष्ठ १९-मा भएको चित्र]

सन्‌ १९२८ मा अमेरिकाको जर्जियामा मेरो बाजेले कपास लगाउनुभएको ठाउँ नजिकै

[पृष्ठ १९-मा भएको चित्र]

रोजलोन फुपू र बाजे टाल्माड्‌ज

[पृष्ठ २०-मा भएको चित्र]

रोजलोन फुपू, ग्लाडिस र ग्रेस

[पृष्ठ २०-मा भएको चित्र]

जून १४, १९४४ मा मेरो बप्तिस्माको दिन

[पृष्ठ २०-मा भएको चित्र]

बेथेलको सेवा विभागमा

[पृष्ठ २१-मा भएको चित्र]

सन्‌ १९५८ मा याङ्‌की रङ्‌गशालामा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा रोजलोन फुपूसँग

[पृष्ठ २१-मा भएको चित्र]

विवाहको दिन मार्जरीसँग

[पृष्ठ २१-मा भएको चित्र]

सन्‌ २००८ मा सँगै