सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌

अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌

अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌

“ज-जसले पूरा तालिम पाउँछन्‌ ती सबै आफ्नो गुरु जत्तिकै हुनेछन्‌।”—लूका ६:४०.

१. आफ्नो पार्थिव सेवाको दौडान येशूले कसरी एउटा असाधारण मण्डलीको जग बसाल्नुभयो?

 आफूले लेखेको सुसमाचारको विवरण अन्त गर्दै प्रेषित यूहन्‍नाले यस्तो लेखे: “वास्तवमा येशूले अरू पनि धेरै कुरा गर्नुभएको थियो। मलाई लाग्छ, ती सबै एक-एक बयान गरेर लेखिएका भए, ती मुठाहरू संसारमा अटाउने थिएनन्‌।” (यूह. २१:२५) आफ्नो छोटो तर जोसिलो सेवाको दौडान येशूले थुप्रै काम गर्नुभयो। त्यस काममा आफूले यो पृथ्वी छोडिसकेपछि नेतृत्व लिन सक्ने योग्य पुरुषहरू खोज्ने, उनीहरूलाई तालिम दिने अनि सङ्‌गठित पार्ने काम पनि समावेश थियो। इस्वी संवत्‌ ३३ मा स्वर्ग फर्कनुअघि येशूले एउटा असाधारण मण्डलीको जग बसाल्नुभयो जुन मण्डलीमा पछि गएर हजारौं मानिसहरू ओइरिनेथिए।—प्रेषि. २:४१, ४२; ४:४; ६:७.

२, ३. (क) अहिले बप्तिस्मा भएका पुरुषहरू अघि बढ्‌नु नितान्त जरुरी छ, किन? (ख) यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

अहिले विश्‍वव्यापी रूपमा ७० लाखभन्दा धेरै जोसिला राज्य उद्‌घोषकले १ लाखभन्दा बढी मण्डलीमा सङ्‌गत गर्दैछन्‌। ती मण्डलीहरूमा आध्यात्मिक मामिलामा अगुवाइ लिने पुरुषहरूको आवश्‍यकता परेको छ। उदाहरणका लागि, ती मण्डलीहरूमा ख्रीष्टियन एल्डरहरूको तड्‌कारो खाँचो छ। यो सेवाको सुअवसर पाउन अघि बढ्‌ने पुरुषहरू साँच्चै प्रशंसाको योग्य छन्‌ किनभने तिनीहरू ‘असल काम गर्न चाहन्छन्‌।’—१ तिमो. ३:१.

तर मण्डलीको जिम्मेवारी सम्हाल्न पुरुषहरू आफसेआफ योग्य हुँदैनन्‌। सांसारिक शिक्षा अनि अनुभव हासिल गर्दैमा तिनीहरू यस कामको निम्ति योग्य हुँदैनन्‌। यस्तो जिम्मेवारी सम्हाल्न पुरुषहरू आध्यात्मिक रूपमा योग्य हुनै पर्छ। तिनमा खुबी अनि उपलब्धिहरू होइन तर आध्यात्मिक गुणहरू हुनुपर्छ। मण्डलीमा भएका पुरुषहरूलाई यस्तो जिम्मेवारीको लागि योग्य बन्‍न कसरी मदत गर्न सकिन्छ? येशूले भन्‍नुभयो: “ज-जसले पूरा तालिम पाउँछन्‌ ती सबै आफ्नो गुरु जत्तिकै हुनेछन्‌।” (लूका ६:४०) यस लेखमा हामी महान्‌ शिक्षक येशूले आफ्ना चेलाहरूलाई ठूलठूला जिम्मेवारीहरू सम्हाल्न कसरी योग्य बनाउनुभयो, त्यसका केही तरिकाहरू विचार गर्नेछौं। साथै, उहाँले अपनाउनुभएको तरिकाबाट हामी के सिक्न सक्छौं, त्यसबारे पनि चर्चा गर्नेछौं।

“मैले तिमीहरूलाई मित्र भनेको छु”

४. येशूले आफ्ना चेलाहरूको साँचो मित्र भएको कुरा कसरी देखाउनुभयो?

येशूले आफ्ना चेलाहरूसित मित्रलाई जस्तो व्यवहार गर्नुभयो, तिनीहरूलाई तुच्छ ठान्‍नुभएन। उहाँले तिनीहरूसित समय बिताउनुभयो, तिनीहरूमाथि भरोसा गर्नुभयो अनि ‘बुबाबाट जे-जे सुन्‍नुभएको थियो, ती सबै तिनीहरूलाई प्रकट गर्नुभयो।’ ( यूहन्‍ना १५:१५ पढ्‌नुहोस्‌) येशूले उहाँका चेलाहरूको यो प्रश्‍नको जवाफ दिंदा तिनीहरू कत्ति रोमाञ्चित भए होलान्‌, कल्पना गर्नुहोस्‌ त: “तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ती २४:३, ४) उहाँले आफ्ना चेलाहरूसित निजी विचार अनि भावनाहरू पनि व्यक्‍त गर्नुभयो। उदाहरणको लागि, आफूलाई धोका दिइने रात एकदमै विचलित हुँदा उहाँ गेत्समनी बगैंचामा व्यग्र प्रार्थना गर्न जानुभएको थियो र त्यतिबेला उहाँले आफूसँगै पत्रुस, याकूब र यूहन्‍नालाई पनि लानुभएको थियो। आफू विचलित भएको कुरा येशूले आफ्ना चेलाहरूबाट लुकाउनुभएन। त्यसैले उहाँलाई कत्ति धेरै पीडा भएको थियो, त्यो भने चेलाहरूले महसुस गरेको हुनुपर्छ। (मर्कू. १४:३३-३८) यसभन्दा अघि येशूको रूप परिवर्तन भएको घटनाले ती तीन चेलाहरूलाई कस्तो गहिरो प्रभाव पारेको थियो होला, त्यो पनि विचार गर्नुहोस्‌। (मर्कू. ९:२-८; २ पत्रु. १:१६-१८) येशूले आफ्ना चेलाहरूसित घनिष्ठ मित्रता गाँस्नुभएकोले नै तिनीहरूले पछि गहन जिम्मेवारीहरू सम्हाल्न सके।

५. ख्रीष्टियन एल्डरहरूले अरूलाई कुन-कुन तरिकामा मदत गर्न सक्छन्‌?

येशूले जस्तै आज पनि ख्रीष्टियन एल्डरहरूले अरूलाई मित्र बनाउँछन्‌ र मदत गर्छन्‌। तिनीहरू आफ्ना सँगी विश्‍वासीहरूलाई चासो देखाउन समय निकालेर उनीहरूसित न्यानो अनि घनिष्ठ सम्बन्ध गाँस्छन्‌। एल्डरहरूले कतिपय कुरा गोप्य राख्नुपर्ने हुन्छ तर तिनीहरू चाहिनेभन्दा बढी कुरा लुकाउँदैनन्‌। बरु तिनीहरू आफ्ना भाइहरूलाई भरोसा गर्छन्‌ र आफूले बाइबलबाट सिकेको कुरा अरूसित पनि बाँड्‌छन्‌। एल्डरहरूले आफूभन्दा कम उमेरको सहायक सेवकलाई हेप्दैनन्‌। बरु उनलाई मण्डलीमा अमूल्य योगदान दिनसक्ने र भविष्यमा थप आध्यात्मिक प्रगति गर्ने सम्भावना बोकेको पुरुषको रूपमा हेर्छन्‌।

‘मैले तिमीहरूका लागि नमुना बसालेको छु’

६, ७. येशूले आफ्ना चेलाहरूको लागि कस्तो उदाहरण बसाल्नुभयो अनि त्यसले तिनीहरूमाथि कस्तो प्रभाव पाऱ्‍यो, बताउनुहोस्‌।

येशूका चेलाहरूले आध्यात्मिक कुराहरूको मोल गर्थे। तैपनि कहिलेकाहीं तिनीहरूको सोचाइ तिनीहरूको पृष्ठभूमि अनि संस्कृतिबाट प्रभावित हुन्थ्यो। (मत्ती १९:९, १०; लूका ९:४६-४८; यूह. ४:२७) तर येशूले तिनीहरूलाई भाषण छाँट्‌नुभएन अनि तिनीहरूलाई थर्काउनु पनि भएन। न त उहाँले तिनीहरूबाट अव्यावहारिक माग नै गर्नुभयो। साथै, उहाँले तिनीहरूलाई एक थरी कुरा सिकाएर आफूले भने अर्को थरी काम गर्नुभएन। बरु तिनीहरूलाई आफ्नो उदाहरणद्वारा सिकाउनुभयो।—यूहन्‍ना १३:१५ पढ्‌नुहोस्‌।

येशूले आफ्ना चेलाहरूको लागि कस्तो उदाहरण बसाल्नुभयो? (१ पत्रु. २:२१) अरूको सक्दो सेवा गर्न सकियोस्‌ भनेर उहाँले आफ्नो जीवन सरल बनाउनुभयो। (लूका ९:५८) येशू नम्र हुनुहुन्थ्यो अनि उहाँले सधैं नै धर्मशास्त्रमा आधारित शिक्षाहरू सिकाउनुहुन्थ्यो। (यूह. ५:१९; १७:१४, १७) उहाँ नजिकिन सजिलो अनि दयालु व्यक्‍ति हुनुहुन्थ्यो। उहाँले जे-जति गर्नुहुन्थ्यो त्यो सबै प्रेमले उत्प्रेरित भएर गर्नुहुन्थ्यो। (मत्ती १९:१३-१५; यूह. १५:१२) येशूको उदाहरणले उहाँका प्रेषितहरूमा सकारात्मक प्रभाव पाऱ्‍यो। उदाहरणका लागि, याकूब मृत्युदेखि डराएनन्‌। मारिनुअघिसम्म पनि तिनी वफादार भएर यहोवाको सेवा गर्दै थिए। (प्रेषि. १२:१, २) अनि यूहन्‍नाले ६० वर्षभन्दा पनि लामो समयसम्म विश्‍वासी भई येशूको पदचिन्ह पछ्याए।—प्रका. १:१, २, ९.

८. जवान पुरुष अनि अरूहरूका लागि एल्डरहरूले कस्तो उदाहरण बसाल्छन्‌?

आत्मत्यागी, नम्र अनि मायालु एल्डरहरूले जवान पुरुषहरूको लागि राम्रो उदाहरण बसाल्छन्‌। (१ पत्रु. ५:२, ३) साथै विश्‍वास, शिक्षणकला, ख्रीष्टियन जीवनशैली अनि क्षेत्र सेवामा उदाहरणीय एल्डरहरूले आफ्नो विश्‍वासको अनुकरण अरूले पनि गर्छन्‌ भनेर थाह पाउँदा आनन्दित महसुस गर्छन्‌।—हिब्रू १३:७.

‘तिनीहरूलाई येशूले आदेश दिएर पठाउनुभयो’

९. प्रचारकार्यको अभिभारा उठाउन येशूले आफ्ना चेलाहरूलाई तालिम दिनुभयो भन्‍ने कुरा हामी कसरी थाह पाउन सक्छौं?

दुई वर्षसम्म जोसका साथ प्रचारकार्यमा लागेपछि येशूले आफ्ना १२ जना प्रेषितहरूलाई प्रचारमा पठाएर त्यस गतिविधिलाई अझ फैलाउनुभयो। तर यसभन्दा अघि उहाँले तिनीहरूलाई के-कसो गर्ने भनेर निर्देशन दिनुभयो। (मत्ती १०:५-१४) चमत्कार गरेर ठूलो भीडलाई खुवाउनुअघि येशूले आफ्ना चेलाहरूलाई भीडलाई कसरी व्यवस्थित गर्ने अनि कसरी खाना बाँड्‌ने भनेर सिकाउनुभयो। (लूका ९:१२-१७) कुरा स्पष्ट छ, येशूले आफ्ना चेलाहरूलाई सुस्पष्ट अनि तोकेरै निर्देशनहरू दिएर तालिम दिनुहुन्थ्यो। तालिम दिने यो तरिकाले गर्दा अनि पवित्र शक्‍तिको सशक्‍त प्रभावले गर्दा प्रेषितहरूले इस्वी संवत्‌ ३३ अनि त्यसपछि व्यापक रूपमा फैलिएको प्रचारकार्यलाई व्यवस्थित गर्न सके।

१०, ११. नयाँ व्यक्‍तिहरूलाई कसरी एकपछि अर्को गर्दै तालिम दिन सकिन्छ?

१० अहिलेको कुरा गर्ने हो भने कुनै पुरुषसँग बाइबल अध्ययन सुरु गरेदेखि नै तिनलाई आध्यात्मिक निर्देशन दिने कामको थालनी हुन्छ। हामीले तिनलाई राम्रोसँग पढ्‌न सिकाउनुपर्ने हुन सक्छ। बाइबल अध्ययन गर्दै जाँदा हामी तिनलाई अन्य विभिन्‍न तरिकामा पनि मदत गर्छौं। ख्रीष्टियन सभामा नियमित रूपमा उपस्थित हुन थालेपछि तिनले ईश्‍वरतान्त्रिक सेवा स्कूलमा भाग लिन, बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍न अनि अरू प्रगति गर्न मदत पाउँछन्‌। बप्तिस्मा गरिसकेपछि तिनले राज्यभवनको मर्मतसम्भार गर्ने तालिम पनि पाउन सक्छन्‌। अनि सहायक सेवकको लागि योग्य हुन के-के गर्नुपर्छ, त्यो बुझ्न पनि तिनलाई बिस्तारै मदत गर्न सकिन्छ।

११ बप्तिस्मा गरिसकेका भाइलाई जिम्मेवारी सुम्पिंदा एल्डरले तिनलाई सङ्‌गठनको प्रक्रियाबारे बुझाउँछन्‌ अनि आवश्‍यक निर्देशन पनि दिन्छन्‌। तालिम लिइरहेको भाइले आफूबाट के आशा गरिएको छ, त्यो कुरा राम्रोसँग बुझेको हुनै पर्छ। यदि तिनलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न ती भाइलाई गाह्रो भइरहेको छ भने मायालु एल्डर तिनी अयोग्य छन्‌ भन्‍ने निष्कर्षमा तुरुन्तै पुगिहाल्दैनन्‌। बरु ती एल्डरले दयालु तरिकामा तिनलाई उन्‍नति गर्नुपर्ने क्षेत्रहरूबारे बताइदिन्छन्‌ र त्यसको लागि के-कस्तो लक्ष्य राख्न सकिन्छ र के गर्नुपर्छ, त्यसबारे पनि सल्लाह-सुझाव दिन्छन्‌। कुनै भाइले सल्लाह-सुझावअनुसारै काम गरेको अनि अरूको सेवा गरेर आनन्द बटुलेको देखेर एल्डरहरू औधी खुसी हुन्छन्‌।—प्रेषि. २०:३५.

‘बुद्धिमान्‌ मानिसले अरूको सल्लाह सुन्छ’

१२. येशूको सल्लाह प्रभावकारी हुनुको कारण के हो?

१२ येशूले आफ्ना चेलाहरूलाई तिनीहरूको आवश्‍यकताअनुसार व्यक्‍तिगत सल्लाह पनि दिनुभयो। उदाहरणको लागि, उहाँलाई स्वागत नगर्ने सामरीहरूलाई आकाशबाट आगो बर्साएर भस्म पार्न चाहेकोले याकूब र यूहन्‍नालाई उहाँले हप्काउनुभयो। (लूका ९:५२-५५) याकूब र यूहन्‍नाकी आमाले येशूकहाँ आएर आफ्ना छोराहरूलाई उहाँको राज्यमा उच्च ओहदा दिन आग्रह गर्दा येशूले ती दाजुभाइलाई सीधै यसो भन्‍नुभयो: “मेरो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। मेरो बुबाले जसको लागि यो तयार पार्नुभएको हो, ऊ नै त्यहाँ बस्नेछ।” (मत्ती २०:२०-२३) येशूले सधैं स्पष्ट, व्यावहारिक अनि पूर्णतया बाइबल सिद्धान्तमा आधारित सल्लाह दिनुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूलाई ती सिद्धान्तहरूमा तर्क गर्न सिकाउनुभयो। (मत्ती १७:२४-२७) येशूले आफ्ना अनुयायीहरूको सीमितता पनि राम्रोसँग बुझ्नुभयो अनि तिनीहरू सर्वगुण सम्पन्‍न भएको आशा गर्नुभएन। उहाँ साँचो प्रेमले उत्प्रेरित भएर सल्लाह दिनुहुन्थ्यो।—यूह. १३:१.

१३, १४. (क) कसलाई सल्लाह चाहिन्छ? (ख) आध्यात्मिक प्रगति नगर्ने व्यक्‍तिलाई एल्डरले कस्तो व्यक्‍तिगत सल्लाह दिन सक्छन्‌, उदाहरण दिनुहोस्‌।

१३ ख्रीष्टियन मण्डलीमा जिम्मेवारी सम्हाल्न अघि बढिरहेको हरेक पुरुषलाई कुनै न कुनै बेला सल्लाह अथवा धर्मशास्त्रीय सुझाव चाहिन्छ। ‘बुद्धिमान्‌ मानिसले अरूको सल्लाहलाई सुन्छ’ भनेर हितोपदेश १२:१५ मा लेखिएको छ। एक जवान भाइ यसो भन्छन्‌: “मलाई आफू एकदमै अयोग्य लाग्थ्यो। त्यसैले एक जना एल्डरको सल्लाहले मलाई आफूप्रति सही दृष्टिकोण राख्न मदत गऱ्‍यो।”

१४ कुनै पुरुषलाई तिनको आचरणले आध्यात्मिक प्रगति गर्नदेखि रोकिरहेको छ भन्‍ने देखेमा एल्डरहरू नम्रतापूर्वक ती व्यक्‍तिलाई सल्लाह दिन अग्रसर हुन्छन्‌। (गला. ६:१) कहिलेकाहीं कसैलाई तिनीहरूको व्यक्‍तित्वको विषयमा पनि सल्लाह दिनुपर्ने हुन्छ। जस्तै, यदि कुनै भाइमा आफूले गर्न सक्ने कुरा पनि नगर्ने झुकाव छ भने एल्डरले तिनलाई येशू एकदमै जोसिलो राज्य उद्‌घोषक हुनुहुन्थ्यो र उहाँले आफ्ना अनुयायीहरूलाई पनि चेला बनाउने आज्ञा दिनुभएको छ भनेर बताउन सक्छन्‌। (मत्ती २८:१९, २०; लूका ८:१) अनि यदि कुनै भाइ महत्त्वाकाङ्‌क्षी छन्‌ भने येशूले आफ्ना चेलाहरूलाई अरूबाट प्रतिष्ठा खोज्नु खतरनाक हुन्छ भनेर बताउनुभएको कुरा एल्डरले तिनलाई सम्झाउन सक्छन्‌। (लूका २२:२४-२७) यदि कुनै भाइले अरूलाई माफी दिंदैनन्‌ भने नि? त्यतिबेला तिनलाई धेरै ऋण माफी पाएको दासले आफूसित थोरै ऋण लिने दासलाई माफ नगरेको दृष्टान्त बताउनु प्रभावकारी हुन सक्छ। (मत्ती १८:२१-३५) यदि कसैलाई सल्लाहको आवश्‍यकता छ भने एल्डरहरूले तिनलाई जतिसक्दो चाँडो भेट्‌नु राम्रो हुन्छ।—हितोपदेश २७:९, NRV पढ्‌नुहोस्‌।

“आफैलाई तालिम देऊ”

१५. अरूको सेवा गर्न एक जना पुरुषलाई तिनको परिवारले कसरी मदत दिन सक्छ?

१५ पुरुषहरूलाई अघि बढ्‌न तालिम दिने काममा एल्डरहरूले नेतृत्व लिन्छन्‌ तर अरूहरूले पनि तिनीहरूलाई समर्थन गर्न सक्छन्‌। उदाहरणको लागि, कुनै पुरुषलाई अघि बढ्‌न तिनको परिवारले मदत दिन सक्छ र दिनु पनि पर्छ। अनि यदि तिनले एल्डरको रूपमा सेवा गरिरहेका छन्‌ भने मायालु पत्नी अनि निःस्वार्थ छोराछोरीको साथ पाउनु तिनको लागि निकै मदतकारी हुन्छ। तिनले मण्डलीको जिम्मेवारी राम्रोसँग पूरा गर्ने हो भने तिनको परिवार तिनलाई मण्डलीसित बाँड्‌न तयार हुनुपर्छ। परिवारको आत्मत्यागी मनोभावले गर्दा उक्‍त एल्डर खुसी हुनेछन्‌ अनि अरूहरूले पनि त्यो परिवारको कदर गर्नेछन्‌।—हितो. १५:२०; ३१:१०, २३.

१६. (क) अघि बढ्‌न कदम चाल्ने प्रमुख जिम्मेवारी कसको हो? (ख) मण्डलीमा सुअवसरहरू प्राप्त गर्न कुनै पुरुष कसरी अघि बढ्‌न सक्छन्‌?

१६ हुनत, अरूहरूले पनि कुनै पुरुषलाई अघि बढ्‌न मदत अनि समर्थन गर्न सक्छन्‌ तर कदम चाल्ने प्रमुख जिम्मेवारी तिनको आफ्नै हो। ( गलाती ६:५ पढ्‌नुहोस्‌) अरूलाई मदत गर्न अनि प्रचारकार्यमा जोडतोडले भाग लिन सहायक सेवक वा एल्डर नै हुनुपर्छ भन्‍ने त छैन तैपनि मण्डलीमा सेवाको सुअवसर पाउन अघि बढ्‌नुको मतलब धर्मशास्त्रीय योग्यताहरू हासिल गर्न परिश्रम गर्नु हो। (१ तिमो. ३:१-१३; ती. १:५-९; १ पत्रु. ५:१-३) त्यसकारण यदि कुनै पुरुष सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्न चाहन्छन्‌ तर अहिलेसम्म नियुक्‍त भएका छैनन्‌ भने आफूले प्रगति गर्नुपर्ने क्षेत्रहरूबारे तिनले विचार गर्नुपर्छ। यसमा नियमित बाइबल पढाइ, लगनशील व्यक्‍तिगत अध्ययन, गम्भीर मनन, हार्दिक प्रार्थना अनि ख्रीष्टियन सेवामा जोसिलो सहभागिता समावेश छ। यसो गरेर तिनले पावलले तिमोथीलाई दिएको यो सल्लाह व्यक्‍तिगत रूपमा पालन गरिरहेका हुन्छन्‌: “परमेश्‍वरको भक्‍ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ।”—१ तिमो. ४:७.

१७, १८. अयोग्यताको भावले वा उत्प्रेरणाको कमीले गर्दा बप्तिस्मा गरिसकेको कुनै भाइ अघि बढ्‌न सकिरहेका छैनन्‌ भने तिनले के गर्न सक्छन्‌?

१७ तर यदि कुनै पुरुषले अघि बढ्‌न आफू अयोग्य छु भन्‍ने महसुस गर्छन्‌ भने नि? त्यसो हो भने तिनले यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टले हाम्रो लागि के-कति गर्नुभएको छ भनेर विचार गर्नु राम्रो हुन्छ। साँच्चै नै, यहोवा ‘दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ।’ (भज. ६८:१९) त्यसकारण हाम्रो स्वर्गको बुबाले मण्डलीका जिम्मेवारीहरू सम्हाल्न पनि तिनलाई मदत गर्न सक्नुहुन्छ। सहायक सेवक वा एल्डर नभइसकेका भाइले यहोवाको सङ्‌गठनमा सेवाको सुअवसर स्वीकार्ने परिपक्व भाइहरूको तड्‌कारो खाँचो छ भन्‍ने तथ्यलाई विचार गर्नु पनि फाइदाजनक हुन्छ। यस्तो कुरा विचार गर्दा तिनी नकारात्मक भावनामाथि विजय हासिल गर्न उत्प्रेरित हुन सक्छन्‌। पवित्र शक्‍तिको फलको पक्षअन्तर्गत शान्ति अनि संयम पनि पर्छ भन्‍ने कुरा मनमा राख्दै तिनले पवित्र शक्‍तिको लागि प्रार्थना गर्न सक्छन्‌। यी गुणहरूले तिनलाई अयोग्यताको भाव हटाउन मदत गर्छ। (लूका ११:१३; गला. ५:२२, २३) अनि सही मनसाय लिएर अघि बढ्‌ने जोसुकैलाई पनि यहोवा आशिष्‌ दिनुहुन्छ भनेर हामी पूर्णतया विश्‍वस्त हुन सक्छौं।

१८ आफैमा उत्प्रेरणाको कमी भएकोले गर्दा पो बप्तिस्मा गरिसकेको भाइ अघि बढ्‌न नसकिरहेका हुन्‌ कि? सेवा गर्ने इच्छा नै नभएको भाइलाई कुन कुराले मदत गर्न सक्छ? प्रेषित पावलले यस्तो लेखे: “तिमीहरूले इच्छा गर्न र त्यसअनुसार काम गर्न सकोस्‌ भनेर परमेश्‍वरले नै आफूले चाहेअनुसार तिमीहरूभित्र काम गरिरहनुभएको छ।” (फिलि. २:१३) सेवा गर्ने इच्छा परमेश्‍वरले नै दिनुहुन्छ अनि उहाँको पवित्र शक्‍तिले हामीलाई पवित्र सेवा चढाउन बल दिन्छ। (फिलि. ४:१३) साथै, ‘सही काम गर्न मदत गर्नुहोस्‌’ भनेर पनि ख्रीष्टियनहरूले उहाँलाई प्रार्थना गर्न सक्छन्‌।—भज. २५:४, ५.

१९. “सात गोठाला र आठ मुखियाहरू” खडा हुने भविष्यवाणीले हामीलाई कस्तो आश्‍वासन दिन्छ?

१९ अरूलाई तालिम दिने परिपक्व पुरुषहरूको प्रयासमाथि यहोवाले आशिष्‌ दिनुहुन्छ। साथै परिपक्व पुरुषहरूबाट पाएको तालिम स्वीकार्ने अनि मण्डलीको सुअवसर सम्हाल्न अघि बढ्‌ने पुरुषहरूले पनि उहाँको आशिष्‌ अनुभव गर्न सक्छन्‌। यहोवाको सङ्‌गठनमा परमेश्‍वरका जनहरूको नेतृत्व लिन “सात गोठाला र आठ मुखियाहरू” अर्थात्‌ आवश्‍यक योग्य पुरुषहरू खडा हुनेछन्‌ भनेर पनि धर्मशास्त्रले हामीलाई आश्‍वासन दिन्छ। (मीका ५:५) अहिले थुप्रै नम्र पुरुषहरू यहोवाको प्रशंसा गर्न अरूको सेवा गर्ने तालिम लिंदैछन्‌ अनि सेवाको सुअवसर प्राप्त गर्न अघि बढ्‌दैछन्‌। यसले गर्दा हामीले पनि अपार आशिष्‌ पाउँछौं!

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• ठूलठूला जिम्मेवारीहरूको लागि योग्य हुन येशूले आफ्ना चेलाहरूलाई कसरी मदत गर्नुभयो?

• मण्डलीमा पुरुषहरूलाई नेतृत्व लिन मदत गर्ने सन्दर्भमा एल्डरहरूले येशूको अनुकरण कसरी गर्न सक्छन्‌?

• कुनै पुरुषलाई अघि बढ्‌ने मदत दिन तिनको परिवारले कस्तो भूमिका खेल्न सक्छन्‌?

• सुअवसर प्राप्त गर्न पुरुष आफैले के गर्न सक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३१-मा भएको चित्र]

प्रगति गर्न खोज्ने बाइबल विद्यार्थीलाई तपाईं कस्तो तालिम दिन सक्नुहुन्छ?

[पृष्ठ ३२-मा भएको चित्र]

पुरुषहरूले आफू अघि बढिरहेको कुरा कसरी देखाउन सक्छन्‌?