सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवन र शान्ति पाउन पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम हिंड्‌नुहोस्‌

जीवन र शान्ति पाउन पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम हिंड्‌नुहोस्‌

जीवन र शान्ति पाउन पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम हिंड्‌नुहोस्‌

“शारीरिक इच्छाअनुसार होइन तर पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम [ चल्नुहोस्‌]।”—रोमी ८:४.

१, २. (क) चालकको ध्यान विकर्षण हुँदा कस्तो नराम्रो परिणाम हुन्छ? (ख) आध्यात्मिक रूपमा ध्यान विकर्षण हुँदा कस्तो खतरा आइपर्न सक्छ?

 “गाडी चालकहरूको ध्यान विकर्षण हुने समस्या वर्षैपिच्छे विकराल हुँदै गइरहेको छ।” यो भनाइ अमेरिकाको यातायात मन्त्रीको हो। गाडी चलाउँदा चालकहरूको ध्यान विकर्षण गर्ने एउटा साधन मोबाइल हो। एउटा सर्वेक्षणमा अन्तरवार्ता लिइएका एक तिहाइभन्दा बढी मानिसहरूले चालकहरूले मोबाइलमा कुरा गर्दै गाडी चलाएको कारण आफूलाई ठक्कर दिएको वा झन्डै ठक्कर दिएको कुरा बताएका छन्‌। गाडी चलाउँदै मोबाइलमा कुरा गर्दा समयको सदुपयोग गरेको जस्तो देखिएला तर यसको नतिजा विध्वंसक हुन सक्छ।

आध्यात्मिक कुराको सन्दर्भमा पनि यस्तै भन्‍न सकिन्छ। अन्यत्र ध्यान दिंदै गाडी चलाउने चालकले प्रायजसो खतराको सङ्‌केतलाई याद गर्दैन। त्यसैगरि आध्यात्मिक रूपमा ध्यान विकर्षण भएको मानिस पनि सजिलै खतरामा जाकिन सक्छ। आफूलाई ख्रीष्टियन मार्ग र ईश्‍वरीय गतिविधिबाट टाढिन दियौं भने हाम्रो विश्‍वासको जहाज क्षतिग्रस्त हुन सक्छ। (१ तिमो. १:१८, १९) रोममा भएका आफ्ना सँगी ख्रीष्टियनहरूलाई प्रेषित पावलले यो खतराबारे यस्तो चेतावनी दिए: “शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो, तर परमेश्‍वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो।” (रोमी ८:६) पावलले के भन्‍न खोजिरहेका थिए? हामी कसरी ‘शारीरिक इच्छाहरूमा मन लगाउनदेखि’ जोगिन र ‘परमेश्‍वरका कुराहरूमा मन लगाउन’ सक्छौं?

“तिनीहरूलाई दोषी ठहराइँदैन”

३, ४. (क) आफूले गरिरहेको कस्तो सङ्‌घर्षबारे पावलले बताए? (ख) पावलको अवस्था हाम्रो लागि किन चासोको विषय हो?

रोमीहरूलाई पत्र लेख्दा पावलले आफूले गरिरहेको सङ्‌घर्षबारे बताए। तिनले आफ्नो शरीर र दिमाग आपसमा युद्ध गर्छन्‌ भनेर लेखे। ( रोमी ७:२१-२३ पढ्‌नुहोस्‌) यस्तो कुरा लेखेर पावलले आफ्नो सफाइ दिन खोजिरहेका थिएनन्‌ अनि आफूलाई बिचराका पात्र पनि बनाइरहेका थिएनन्‌। पापको गह्रौं बोझले लादिएको कारण ‘केही पनि गर्न सक्दिनँ’ भनेर तिनले भन्‍न खोजिरहेका थिएनन्‌। तिनी “अन्यजातिहरूको प्रेषित” हुन पवित्र शक्‍तिद्वारा छानिएका परिपक्व ख्रीष्टियन थिए। (रोमी १:१; ११:१३) त्यसोभए पावलले किन यस सङ्‌घर्षबारे लेखे त?

‘आफूले चाहेको हदसम्म परमेश्‍वरको इच्छा गर्न म आफ्नै बलबर्कतमा केही पनि गर्न सक्दिनँ’ भनेर पावलले इमानदारीपूर्वक स्वीकारिरहेका थिए। यसो गर्न नसक्नुको कारण के हो? “सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌” भनी तिनले लेखे। (रोमी ३:२३) आदमको सन्तान भएकोले पावल त्रुटिपूर्ण थिए र तिनमा पनि गलत झुकाव थियो। हामी पनि तिनीजस्तै त्रुटिपूर्ण छौं अनि दिनहुँ तिनले जस्तै सङ्‌घर्ष गर्छौं। त्यसकारण तिनले कस्तो महसुस गरे, हामी राम्ररी बुझ्न सक्छौं। साथै, हाम्रो ध्यान भङ्‌ग गर्ने थुप्रै कुराहरूले गर्दा हामी ‘जीवनतर्फ लैजाने अप्ठेरो’ बाटोबाट तर्केर जान सक्छौं। (मत्ती ७:१४) तैपनि, पावलको अवस्था आशाविहीन थिएन र हाम्रो पनि छैन।

५. पावललाई केले मदत र चैन दियो?

पावलले लेखे: “मलाई कसले छुटाउला? हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌!” (रोमी ७:२४, २५) त्यसपछि तिनले “ख्रीष्ट येशूसँग एक भएका” अभिषिक्‍त ख्रीष्टियनहरूलाई सम्बोधन गर्दै लेखे। ( रोमी ८:१, २ पढ्‌नुहोस्‌) यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा तिनीहरूलाई धर्मपुत्रको रूपमा स्वीकार्नुभएको छ र “ख्रीष्टका सँगी उत्तराधिकारी” हुन बोलाउनुभएको छ। (रोमी ८:१४-१७) पवित्र शक्‍तिको मदत अनि येशूको बलिदानमाथिको विश्‍वासले गर्दा तिनीहरूले पावलले बताएको जस्तै सङ्‌घर्षको डटेर सामना गर्न सकेका छन्‌ अनि यसरी तिनीहरू निर्दोष ठहरिएका छन्‌। तिनीहरू “पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र” भएका छन्‌।

६. परमेश्‍वरका सम्पूर्ण सेवकहरूले पावलको कुरामा किन ध्यान दिनुपर्छ?

पावलले यी कुरा अभिषिक्‍त ख्रीष्टियनहरूलाई भनिरहेको भए तापनि पवित्र शक्‍ति अनि येशूको फिरौतीको बलिदानबारे तिनले भनेको कुराबाट यहोवाका सम्पूर्ण सेवकहरूले लाभ उठाउन सक्छन्‌, चाहे तिनीहरूको आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने। पावलले अभिषिक्‍त ख्रीष्टियनहरूलाई सल्लाह दिनको लागि परमेश्‍वरबाट प्रेरणा पाएको भए तापनि उहाँका सम्पूर्ण सेवकहरूले तिनले लेखेका कुराहरू राम्ररी बुझ्नु अनि त्यसबाट लाभ उठाउन प्रयास गर्नु महत्त्वपूर्ण छ।

“परमेश्‍वरले शरीरमा बास गर्ने पापलाई” कसरी दोषी ठहराउनुभयो?

७, ८. (क) कुन अर्थमा मोशाको व्यवस्था “मानव असिद्धताले गर्दा” असफल भयो? (ख) पवित्र शक्‍ति अनि येशूको बलिदानमार्फत परमेश्‍वरले के सम्भव तुल्याउनुभएको छ?

रोमी ७ अध्यायमा पावलले हाम्रो शरीरमाथि पापले प्रभुत्व जमाएको कुरा गरेका छन्‌। अनि ८ अध्यायमा चाहिं तिनले पवित्र शक्‍तिको सामर्थ्यबारे चर्चा गरेका छन्‌। पापविरुद्ध सङ्‌घर्ष गरेर यहोवाको इच्छाअनुसार जिउन अनि उहाँको अनुमोदन पाउन ख्रीष्टियनहरूलाई पवित्र शक्‍तिले कसरी मदत गर्न सक्छ, त्यसबारे पावलले बताए। मोशाको व्यवस्थाले सम्भव पार्न नसकेको कुरा परमेश्‍वरले पवित्र शक्‍ति अनि येशूको फिरौतीको बलिदानमार्फत सम्भव तुल्याउनुभएको छ भनेर पनि तिनले बताए।

मोशाको व्यवस्थामा भएका नीति-नियमहरू पूर्णतया पालन गर्न नसकिने भएको कारण त्यसले पापीहरूलाई दोषी ठहराउँथ्यो। साथै मोशाको व्यवस्थाको अधीनमा रहेर सेवा गर्ने प्रधान पुजारीहरू त्रुटिपूर्ण थिए र तिनीहरूले पापबाट पूर्णतया मुक्‍त गर्ने बलिदान चढाउन सक्दैनथे। त्यसकारण मोशाको व्यवस्था “मानव असिद्धताले गर्दा” असफल भयो। तर “आफ्नो छोरालाई पापी मानवको बनौटमा” पठाएर अनि उहाँलाई फिरौतीस्वरूप मर्न दिएर परमेश्‍वरले “शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो” र “मोशाको व्यवस्थाले जे गर्न सकेन,” त्यसलाई सम्भव तुल्याउनुभयो। परिणामस्वरूप, येशूको फिरौतीको बलिदानमाथि विश्‍वास गरेको आधारमा अभिषिक्‍त ख्रीष्टियनहरू असल ठहरिए। उनीहरूलाई “शारीरिक इच्छाअनुसार होइन तर पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम” चल्न आग्रह गरिएको छ। ( रोमी ८:३, ४ पढ्‌नुहोस्‌) वास्तवमा जीवनको मुकुट” पाउन उनीहरूले आफ्नो पार्थिव जीवनको अन्तसम्मै विश्‍वासी भएर उक्‍त आग्रहअनुरूप काम गर्नु महत्त्वपूर्ण छ।—प्रका. २:१०.

९. रोमी ८:२ मा प्रयोग गरिएको “व्यवस्था” शब्दको अर्थ के हो?

“मोशाको व्यवस्था”-को अलावा पावलले “पवित्र शक्‍तिको व्यवस्था” अनि “पाप र मृत्युको व्यवस्था”-बारे पनि चर्चा गरे। (रोमी ८:२) यी व्यवस्थाहरूको अर्थ के हो? “पवित्र शक्‍तिको व्यवस्था” अनि “पाप र मृत्युको व्यवस्था” भन्‍ने वाक्यांशमा चलाइएको “व्यवस्था” शब्दले मोशाको व्यवस्थामा भएको जस्तै कुनै खास नियमहरूलाई बुझाउँदैन। एउटा पुस्तकले यसबारे यसो भन्छ: “यहाँ व्यवस्था भनी प्रयोग गरिएको ग्रीक अभिव्यक्‍तिले मानिसलाई असल अथवा खराब काम गर्न लगाउने आन्तरिक स्रोतलाई बुझाउँछ र यसले नियमको जस्तै काम गर्छ। साथै यो अभिव्यक्‍तिले कुनै मानिसले कसरी जीवन बिताउनुपर्छ भन्‍ने कुरालाई पनि निर्दिष्ट गर्छ।”

१०. हामी कसरी पाप र मृत्युको व्यवस्थाको अधीनमा परेका छौं?

१० प्रेषित पावलले यस्तो लेखे: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) आदमको सन्तान भएको कारण हामी सबै नै पाप र मृत्युको व्यवस्थाको अधीनमा परेका छौं। हाम्रो पापी शरीरले हामीलाई निरन्तर परमेश्‍वरलाई मन नपर्ने कामहरू गर्न लगाउन खोज्छ तर यसले मृत्युको मार्गबाहेक अन्त कतै डोऱ्‍याउँदैन। गलातीका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा पावलले यस्तो कार्य अनि व्यवहारलाई “शरीरका कामहरू” भनेका छन्‌। त्यसपछि तिनले यसो भने: “यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (गला. ५:१९-२१) यस्ता मानिसहरू शारीरिक इच्छाअनुसार चल्ने मानिसहरूजस्तै हुन्छन्‌। (रोमी ८:४) तिनीहरूलाई “काम गर्न लगाउने आन्तरिक स्रोत” अनि तिनीहरूको ‘जीवन बिताउने’ तरिका पूर्णतया शारीरिक कुरामा केन्द्रित हुन्छ। तर अवैध यौन सम्बन्ध राख्ने, मूर्तिपूजा गर्ने, तन्त्रमन्त्रमा भाग लिने अथवा अन्य किसिमको घोर पाप गर्नेहरू मात्र शारीरिक इच्छाअनुसार हिंडिरहेका हुन्छन्‌ त? अहँ, होइन। मानिसहरूले सानोतिनो त्रुटि ठान्‍ने डाह, रिस, झगडा अनि ईर्ष्या पनि शरीरका कामअन्तर्गत नै पर्दछन्‌। हामीमध्ये कसैले पनि ‘मैले शारीरिक इच्छाअनुसार हिंड्‌न सतप्रतिशत छोडिसकें’ भन्‍न सक्दैनौं।

११, १२. पाप र मृत्युको व्यवस्थाबाट मुक्‍त हुन यहोवाले हाम्रो लागि कस्तो प्रबन्ध गरिदिनुभएको छ अनि परमेश्‍वरको अनुमोदन पाउन हामीले के गर्नै पर्छ?

११ यहोवाले हामीलाई पाप र मृत्युको व्यवस्थाबाट मुक्‍त हुन सम्भव तुल्याइदिनुभएकोमा हामी कत्ति खुसी हुन सक्छौं नि, होइन र? येशूले भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” परमेश्‍वरको प्रेम स्वीकारेर अनि येशू ख्रीष्टको फिरौतीको बलिदानमा विश्‍वास गरेर हामी वंशाणुगत पापको परिणामबाट मुक्‍त हुन सक्छौं। (यूह. ३:१६-१८) त्यसकारण हामी पावलले जस्तै यस्तो उद्‌गार व्यक्‍त गर्न सक्छौं: “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌!”

१२ हाम्रो अवस्था गम्भीर रोगबाट मुक्‍त हुँदै गरेको व्यक्‍तिको जस्तै छ। यदि हामी पूर्णतया निको हुन चाहन्छौं भने हामीले डाक्टरले भनेको एक-एक कुरा मान्‍नै पर्छ। फिरौतीको बलिदानमा विश्‍वास गर्दा त्यसले हामीलाई पाप र मृत्युको व्यवस्थाबाट मुक्‍त गर्न सके तापनि हामी अझै त्रुटिपूर्ण अनि पापी छौं। आध्यात्मिक रूपमा स्वस्थ रहन अनि यहोवाको अनुमोदन र आशिष्‌ पाउन हामीले अरू काम पनि गर्नुपर्छ। पावलले “मोशाको व्यवस्थाको उचित माग पूरा गर्न” पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्‌नुपर्छ भनेर बताए।

पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम हिंड्‌ने तर कसरी?

१३. पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्‌नुको अर्थ के हो?

१३ हिंड्‌दाखेरि हामी कुनै गन्तव्यलाई मनमा राखेर त्यसतर्फ अघि बढ्‌छौं। तसर्थ पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्‌दा हामीले निरन्तर आध्यात्मिक प्रगति गरिरहन्छौं तर यसको मतलब हामी आध्यात्मिक रूपमा सर्वगुण सम्पन्‍न हुन्छौं भन्‍न खोजेको चाहिं होइन। (१ तिमो. ४:१५) पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्‌न अर्थात्‌ पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम जीवन बिताउन हामीले दिनदिनै र यथासक्दो प्रयास गर्नै पर्छ। “पवित्र शक्‍तिको भरमा” हिंड्यौं भने हामीले परमेश्‍वरको अनुमोदन पाउनेछौं।—गला. ५:१६.

१४. ‘शारीरिक इच्छाहरूमै मन लगाउनेहरूको’ झुकाव कस्तो हुन्छ?

१४ रोमीहरूलाई लेखेको पत्रमा त्यसपछि पावलले फरक धारणा भएका दुई किसिमका व्यक्‍तिहरूबारे बताए। ( रोमी ८:५ पढ्‌नुहोस्‌) पावलले यहाँ शारीरिक इच्छा र मनबीच हुने सङ्‌घर्षबारे कुरा गरेका छन्‌। तर “शारीरिक इच्छाअनुसार” चल्नेहरूले पावलले जस्तो शारीरिक इच्छाविरुद्ध लड्‌ने प्रयाससमेत गर्दैनन्‌। परमेश्‍वरले आफूहरूबाट के चाहनुहुन्छ भनेर तिनीहरू बुझ्नै चाहँदैनन्‌ र उहाँले उपलब्ध गराउनुभएको मदत पनि स्वीकार्दैनन्‌। बरु, तिनीहरू “शारीरिक इच्छाहरूमै मन लगाउँछन्‌।” तिनीहरू प्रायजसो आफ्नै शारीरिक इच्छा अनि पापी अभिलाषाहरू सन्तुष्ट पार्न लग्गू हुन्छन्‌। तर “पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम” चल्नेहरूले भने “परमेश्‍वरका कुराहरूमा मन लगाउँछन्‌” अर्थात्‌ उहाँले उपलब्ध गराउनुभएको आध्यात्मिक प्रबन्ध अनि गतिविधिमै मन लगाउँछन्‌।

१५, १६. (क) कुनै कुरामा मन लगाउँदा त्यसले हाम्रो मानसिक झुकावलाई कसरी असर गर्छ? (ख) आजका अधिकांश मानिसहरूले कस्ता कुराहरूमा मन लगाउँछन्‌?

१५ रोमी ८:६ पढ्‌नुहोस्‌। कुनै काममा मन लगाएपछि मात्र त्यो काम सम्पन्‍न गर्न सकिन्छ—चाहे त्यो काम राम्रो होस्‌ या नराम्रो। निरन्तर शारीरिक इच्छामा मन लगाउने व्यक्‍तिले छिट्टै नै शारीरिक कुरामा केन्द्रित मानसिक झुकाव वा मनोवृत्ति विकास गर्छ। तिनीहरूको धारणा, चासो अनि मोह पूर्णतया यस्तै कुराहरूमा केन्द्रित हुन्छन्‌।

१६ आजका अधिकांश मानिसहरू कस्तो कुरामा मग्न छन्‌? प्रेषित यूहन्‍नाले यस्तो लेखे: “संसारमा भएको जुनसुकै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा र तडकभडक बुबाबाट होइन तर संसारबाट आउँछ।” (१ यूह. २:१६) यस्तो अभिलाषामा यौन अनैतिकता, प्रतिष्ठा अनि ओहदा पाउने चाहना समावेश छ। पुस्तक-पुस्तिका, पत्र-पत्रिका, टिभी, फिल्म अनि इन्टरनेटमा यस्तै कुराहरूको ओइरो लागेको छ किनभने यस्तै कुराहरूमा थुप्रै मानिसहरूले आफ्नो मन लगाउँछन्‌ अनि यस्तै कुराहरू चाहन्छन्‌। तर “शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो।” यसको मतलब हामी अहिले आध्यात्मिक रूपमा मर्छौं भने भविष्यमा शारीरिक रूपमै मर्नेछौं। किन? “शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ परमेश्‍वरसित दुस्मनी राख्नु हो, किनकि शारीरिक इच्छा परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, भनौं भने हुन पनि सक्दैन। त्यसैले जो शारीरिक इच्छाअनुसार चल्छन्‌, तिनीहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्‌।”—रोमी ८:७, ८.

१७, १८. हामी कसरी परमेश्‍वरका कुराहरूमा मन लगाउन सक्छौं र यसो गर्दा परिणाम कस्तो हुन्छ?

१७ अर्कोतर्फ “परमेश्‍वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो,” मतलब हामीले भविष्यमा अनन्त जीवन पाउनेछौं र अहिल्यै पनि मनोशान्ति अनि परमेश्‍वरसितको शान्तिमय सम्बन्ध अनुभव गर्न सक्छौं। हामी कसरी ‘परमेश्‍वरका कुराहरूमा मन लगाउन’ सक्छौं? सधैं परमेश्‍वरका कुराहरूमा ध्यान केन्द्रित गरेर अनि आफूभित्र आध्यात्मिक झुकाव अनि मनोवृत्ति विकास हुन दिएर। यसो गऱ्‍यौं भने हामीले “परमेश्‍वरको व्यवस्थाको अधीनमा” रहेका अनि उहाँको सोचाइअनुसारका कुराहरूमा मन लगाइरहेका हुनेछौं। प्रलोभनको सामना गर्नुपर्दा हामी के गर्ने, कसो गर्ने भनेर अलमलमा पर्नेछैनौं। हामीले सही छनौट गर्नेछौं जुन पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिमको हुनेछ।

१८ त्यसकारण हामीले आफ्नो मन परमेश्‍वरका कुराहरूमा लगाउनुपर्छ। हाम्रो जीवनलाई आध्यात्मिक तालिकामै व्यस्त राख्ने गतिविधिहरूमा लाग्न ‘आफ्नो कम्मर कसेर’ हामी यसो गर्न सक्छौं। यसमा नियमित प्रार्थना, बाइबल पढाइ र अध्ययन, सभाको उपस्थिति अनि ख्रीष्टियन सेवा जस्ता कुराहरू समावेश छन्‌। (१ पत्रु. १:१३) शारीरिक इच्छाहरूले आफूलाई अलमलाउन दिनुको साटो परमेश्‍वरका कुराहरूमा ध्यान केन्द्रित गरौं। यसरी हामी पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम चलिरहेका हुनेछौं। यसो गर्दा हामीले आशिष्‌ पाउनेछौं किनभने पवित्र शक्‍तिमा मन लगाउनुको अर्थ जीवन र शान्ति हो।—गला. ६:७, ८.

तपाईं बुझाउन सक्नुहुन्छ?

• मोशाको व्यवस्थाले के गर्न सकेन र परमेश्‍वरले यसलाई सम्भव तुल्याउन के गर्नुभयो?

• “पाप र मृत्युको व्यवस्था” के हो र हामी यसबाट कसरी मुक्‍त हुन सक्छौं?

• ‘परमेश्‍वरका कुराहरूमा मन लगाउन’ हामीले के गर्नै पर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

तपाईं शारीरिक इच्छाअनुसार चल्नुहुन्छ कि पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम?