सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुष्ट संसारमा “अस्थायी बासिन्दा”

दुष्ट संसारमा “अस्थायी बासिन्दा”

दुष्ट संसारमा “अस्थायी बासिन्दा”

“तिनीहरू सबैले . . . आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा हौं भनी जनसमक्ष घोषणा गरे।”—हिब्रू ११:१३.

१. यस संसारमा आफ्ना अनुयायीहरूको स्थानबारे येशूले के भन्‍नुभयो?

 येशूले आफ्ना चेलाहरूबारे यसो भन्‍नुभयो: “तिनीहरू . . . यही संसारमै हुनेछन्‌।” तर उहाँले यसो पनि भन्‍नुभयो: “जस्तो म यस संसारको होइन तिनीहरू पनि यस संसारका होइनन्‌।” (यूह. १७:११, १४) सैतानले आफैलाई ईश्‍वर बनाएर राज गरिरहेको “यस युग”-मा आफ्ना साँचो चेलाहरूको स्थान के हो भनेर येशूले स्पष्ट पार्नुभयो। (२ कोरि. ४:४) तिनीहरू यसै दुष्ट संसारमा बसे तापनि यस संसारको भाग भने हुनेथिएनन्‌। तिनीहरू यस संसारमा “परदेशी अनि प्रवासीहरूझैं” हुनेथिए।—१ पत्रु. २:११.

तिनीहरू ‘अस्थायी बासिन्दाझैं’ रहे

२, ३. हनोक, नूह, अब्राहाम र साराले “परदेशी र अस्थायी बासिन्दा”-को जस्तो जीवन बिताए भनेर हामी किन भन्‍न सक्छौं?

पुरातन समयदेखि नै यहोवाका विश्‍वासी सेवकहरू आफू बसिरहेको भक्‍तिहीन संसारका मानिसहरूभन्दा भिन्‍न छन्‌। जलप्रलयअघिको समयमा हनोक र नूह “परमेश्‍वरको साथै हिंड्‌ने गर्थे।” (उत्प. ५:२२-२४; ६:९) तिनीहरू दुवैले सैतानको दुष्ट संसारमाथि यहोवाले न्यायदण्ड ल्याउनुहुनेछ भनेर साहसी भई प्रचार गरे। ( २ पत्रुस २:५; यहूदा १४, १५ पढ्‌नुहोस्‌) भक्‍तिहीन संसारमा यहोवासँगै हिंडेको कारण हनोकले “परमेश्‍वरलाई असाध्यै खुसी” पार्न सके अनि नूहले पनि आफूलाई “आफ्नो पुस्तामा . . . धर्मी र निर्दोष मानिस” साबित गर्न सके।—हिब्रू ११:५; उत्प. ६:९.

यहोवाबाट आज्ञा पाएपछि अब्राहाम र साराले कल्दीहरूको देश ऊरको आरामदायी जीवन त्यागे अनि विदेशी भूमिमा फिरन्ते जीवन बिताउने चुनौती स्वीकारे। (उत्प. ११:२७, २८; १२:१) प्रेषित पावलले यस्तो लेखे: “विश्‍वासैले गर्दा अब्राहाम, जब तिनलाई बोलाइयो, तब आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउनेथिए। आफू कहाँ जाँदैछु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए। विश्‍वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा विदेशमा झैं प्रवासी भएर बसोबास गरे। अनि इसहाक र याकूबसँग पालमा बसे, जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।” (हिब्रू ११:८, ९) यहोवाका यस्ता वफादार सेवकहरूबारे पावलले यसो भने: “तिनीहरू सबैले आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्‍वास गरे। आफूलाई प्रतिज्ञा गरिएका कुराहरू तिनीहरूको जीवनकालमा पूरा नभए तापनि ती कुराहरूलाई टाढैबाट देखे र स्वागत गरे अनि आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा हौं भनी जनसमक्ष घोषणा गरे।”—हिब्रू ११:१३.

इस्राएलीहरूलाई दिइएको चेतावनी

४. तिनीहरूलाई दिइएको भूमिमा बसोबास गर्नुअघि इस्राएलीहरूलाई कस्तो चेतावनी दिइएको थियो?

अब्राहामका सन्तान इस्राएलीहरू सङ्‌ख्यामा बढ्‌दै गए। अनि पछि गएर यहोवाले तिनीहरूलाई नियम-कानुनका साथै भूमि दिएर राष्ट्रको रूपमा खडा गर्नुभयो। (उत्प. ४८:४; व्यव. ६:१) आफू बसोबास गरिरहेको भूमिको वास्तविक मालिक यहोवा नै हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूले कहिल्यै बिर्सनुहुँदैनथ्यो। (लेवी २५:२३) भाडामा बस्ने व्यक्‍तिले घरधनीको एक-एक कुरा मानेजस्तै तिनीहरूले पनि आफ्नो मालिक यहोवाको इच्छाअनुसार गर्नुपर्थ्यो। साथै, “मानिस भोजनले मात्र जिउँदैन” भन्‍ने कुरा पनि तिनीहरूले मनमा राख्नुपर्थ्यो। भौतिक कुराहरूको पछि लागेर यहोवालाई बिर्सने हदसम्म तिनीहरू पुग्नुहुँदैनथ्यो। (व्यव. ८:१-३) तिनीहरूलाई दिइएको भूमिमा बसोबास गर्नुअघि इस्राएलीहरूलाई यस्तो चेतावनी दिइएको थियो: “परमेश्‍वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुऱ्‍याउनुहुनेछ, अर्थात्‌ तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा शहरहरू भएको देश, जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू, तिमीहरूले नखनेका इनारहरू हुनेछन्‌, औ त्यहाँ तिमीहरूले नरोपेका दाख र भद्राक्ष खाएर अघाउँदा होसियार! तिमीहरूले . . . परमेश्‍वरलाई नभुल्नू।”—व्यव. ६:१०-१२.

५. यहोवाले इस्राएलीहरूलाई किन त्याग्नुभयो र कुनचाहिं नयाँ राष्ट्रलाई अनुमोदन दिनुभयो?

यहोवाले यो चेतावनी त्यत्तिकै दिनुभएको थिएन; नभन्दै पछि गएर त्यस्तै भयो। नहेम्याहको समयमा, केही लेवीहरूले सरम मान्दै इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि के भयो त्यसबारे बताए। इस्राएलीहरूले बस्नको लागि आरामदायी घर पाएपछि अनि प्रशस्त खानेकुरा र दाखमद्य पाएपछि ‘तिनीहरू खाएर तृप्त भए र पुष्टाए।’ तिनीहरूले यहोवाको विरोध गरे। यहाँसम्म कि यहोवाले चेतावनी दिन पठाउनुभएको अगमवक्‍ताहरूलाई समेत तिनीहरूले मारे। त्यसकारण यहोवाले तिनीहरूलाई शत्रुहरूको हातमा पर्न दिनुभयो। ( नहेम्याह ९:२५-२७ पढ्‌नुहोस्‌; होशे १३:६-९) पछि, रोमी शासनको बेला अविश्‍वासी यहूदीहरू प्रतिज्ञा गरिएको मसीहलाई मार्ने हदसम्म पुगे। यहोवाले तिनीहरूलाई त्याग्नुभयो र नयाँ राष्ट्र अर्थात्‌ आध्यात्मिक इस्राएललाई अनुमोदन दिनुभयो।—मत्ती २१:४३; प्रेषि. ७:५१, ५२; गला. ६:१६.

“तिमीहरू यस संसारका होइनौ”

६, ७. (क) यस संसारमा आफ्ना अनुयायीहरूको स्थानबारे येशूले बताउनुभएको कुरालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ? (ख) साँचो ख्रीष्टियनहरू किन सैतानको संसारबाट अलग रहनुपर्थ्यो?

यस लेखको सुरुतिर चर्चा गरिएझैं ख्रीष्टियन मण्डलीको शिर येशू ख्रीष्टले आफ्ना अनुयायीहरू संसारबाट अर्थात्‌ सैतानको यस दुष्ट युगबाट अलग रहनेछन्‌ भन्‍ने कुरा स्पष्ट पार्नुभयो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका हुँदा हौ त, संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्नेथियो। अब तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।”—यूह. १५:१९.

ख्रीष्टियनहरू संसारको विभिन्‍न कुनामा छरिएपछि, संसारको रीतिथितिमा भाग लिएर के तिनीहरू संसारको भाग हुन मिल्थ्यो त? अहँ, मिल्दैनथ्यो! जहाँ बसे तापनि उनीहरू सैतानको संसारबाट अलग रहनुपर्थ्यो। येशूको मृत्यु भएको लगभग ३० वर्षपछि, प्रेषित पत्रुसले रोमीहरूले शासन गरेको विभिन्‍न ठाउँमा बसोबास गरिरहेका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “हे मेरा प्रियहरू हो, परदेशी अनि प्रवासीहरूझैं शरीरका लालसाहरूदेखि अलग बसिरहो भनेर म तिमीहरूलाई आग्रह गर्छु। किनकि यस्तै लालसाहरूले तिमीहरूको जीवनसित सङ्‌घर्ष गर्छ। संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌।”—१ पत्रु. १:१; २:११, १२.

८. प्रारम्भिक समयका ख्रीष्टियनहरूले यस संसारप्रति राखेको दृष्टिकोणबारे एक जना इतिहासकारले के लेखे?

रोमीहरूले शासन गरेको संसारमा प्रारम्भिक ख्रीष्टियनहरूले “परदेशी र अस्थायी बासिन्दा”-झैं जीवन बिताएको विषयमा इतिहासकार केनेथ स्कट लाटूरेटले यस्तो लेखे: “सुरुको तीन शताब्दीमा प्रारम्भिक ख्रीष्टियनहरूले निरन्तर सतावट भोगे र प्रायजसो यस्तो सतावट कठोर हुन्थ्यो भन्‍ने कुरा जगजाहेर छ। . . . मानिसहरूले उनीहरूलाई विभिन्‍न किसिमको आरोप लगाउँथे। समाजमा विद्यमान झूटो उपासनासित सम्बन्धित रीतिथितिहरूमा भाग नलिएकोले उनीहरूलाई नास्तिकको संज्ञा दिइयो। झूटो विश्‍वास, रीतिथिति अनि अनैतिकताले भरिएको चाडपर्व तथा मनोरञ्जनमा भाग नलिएको कारण उनीहरूलाई मानवजातिको शत्रुको रूपमा उपहास गरिन्थ्यो।”

संसारको पूरा उपभोग नगरौं

९. हामी साँचो ख्रीष्टियनहरू “मानवजातिको शत्रु” होइनौं भनेर कसरी प्रमाण दिन्छौं?

आज हाम्रो समयबारे के भन्‍न सकिन्छ? यस “वर्तमान दुष्ट युग”-को सन्दर्भमा हामी पनि प्रारम्भिक ख्रीष्टियनहरूको जस्तै दृष्टिकोण राख्छौं। (गला. १:४) यसले गर्दा थुप्रैलाई हाम्रो विषयमा गलतफहमी भएको छ अनि केहीले त हामीलाई घृणा समेत गरेका छन्‌। तर हामी “मानवजातिको शत्रु” चाहिं पटक्कै होइनौं। सङ्‌गी मानवप्रतिको प्रेमले गर्दा नै हामी घर-घरमा गएर ‘राज्यको सुसमाचार’ सुनाउँछौं र सकेसम्म सबैलाई भेट्‌न हर कोसिस गर्छौं। (मत्ती २२:३९; २४:१४) हामी यसो गर्न उत्प्रेरित हुन्छौं किनभने अब चाँडै नै येशूले राजाको रूपमा शासन गर्नुहुने परमेश्‍वरको राज्यले त्रुटिपूर्ण मानव राज्यलाई हटाएर न्यायले बास गर्ने नयाँ संसार ल्याउनेछ।—दानि. २:४४; २ पत्रु. ३:१३.

१०, ११. (क) हामी कसरी सीमित रूपमा मात्र संसारको उपभोग गर्छौं? (ख) सचेत ख्रीष्टियनहरू कुन-कुन तरिकामा संसारको पूरा उपभोग गर्नदेखि अलग बस्छन्‌?

१० यस वर्तमान युगको अन्त नजिकै छ भनेर हामी यहोवाका सेवकहरूलाई थाह भएकोले विनाश हुनै लागेको यस संसारमा घरगृहस्थी बसाल्ने समय अहिले होइन। हामी प्रेषित पावलले भनेका यो कुरा पालन गर्छौं: “यसबाहेक, भाइहरू हो, म के भन्छु भने समय थोरै मात्र बाँकी छ। त्यसैले . . . किनमेल गर्नेहरू आफूसित केही नभएजस्ता, अनि संसारको उपभोग गर्नेहरू त्यसको पूरा उपभोग नगर्नेहरूजस्ता होऊन्‌, किनकि यस संसारको दृश्‍य परिवर्तन हुँदैछ।” (१ कोरि. ७:२९-३१) वर्तमान समयका ख्रीष्टियनहरूले संसारको उपभोग कसरी गर्छन्‌? संसारभरि सयौं भाषाहरूमा बाइबल सन्देश फैलाउनको लागि आधुनिक प्रविधि अनि विभिन्‍न सञ्चार माध्यमहरू प्रयोग गरेर तिनीहरू संसारको उपभोग गर्छन्‌। तिनीहरू जीविकोपार्जनको लागि सीमित रूपमा मात्र संसारको उपभोग गर्छन्‌। तिनीहरू आफूलाई आवश्‍यक पर्ने सरसामान किन्छन्‌ अनि यस संसारमा उपलब्ध सेवा-सुविधाको उपभोग गर्छन्‌। तर, तिनीहरू यस संसारको पूरा उपभोग गर्दैनन्‌। बरु संसारले दिने मान-सम्मान अनि पेसाजस्ता कुराहरूलाई उचित स्थानमा राख्छन्‌।१ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌।

११ सचेत ख्रीष्टियनहरू उच्च शिक्षाको सन्दर्भमा यस संसारको पूरा उपभोग गर्दैनन्‌। संसारका थुप्रै मानिसहरूको विचारमा उच्च शिक्षा नै प्रतिष्ठा अनि सम्पन्‍न जीवन पाउनको लागि नभई नहुने कुरा हो। तर हामी ख्रीष्टियनहरू भने यस संसारमा अस्थायी बासिन्दाको रूपमा बस्छौं र बेग्लै किसिमको लक्ष्य राख्छौं। हामी “ठूलठूला कुराहरूमा मन” लगाउँदैनौं। (रोमी १२:१६; यर्मि. ४५:५) येशूको अनुयायीहरू भएकोले हामी उहाँले दिनुभएको यो चेतावनी पालन गर्छौं: “तिमीहरूको आँखा खुला राख र हर प्रकारको लालचबाट आफूलाई जोगाओ किनभने मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) तसर्थ, जवान ख्रीष्टियनहरूले यहोवाको सेवा गर्ने लक्ष्य राख्नुपर्छ। आफ्नो आधारभूत आवश्‍यकता पूरा गर्दै ‘सारा मन, ज्यान, बल र दिमागले’ यहोवाको सेवा गर्न जति शिक्षा आवश्‍यक पर्छ, तिनीहरूले त्यति मात्र शिक्षा लिनुपर्छ। (लूका १०:२७) यसो गरेर तिनीहरू “परमेश्‍वरको नजरमा . . . धनी” हुन सक्छन्‌।—लूका १२:२१; मत्ती ६:१९-२१ पढ्‌नुहोस्‌।

जीवनका फिक्रीहरूको बोझले दबिनदेखि जोगिनुहोस्‌

१२, १३. मत्ती ६:३१-३३ मा येशूले भन्‍नुभएको कुरा पालन गर्दा हामी संसारका मानिसहरूभन्दा कसरी भिन्‍न हुन्छौं?

१२ भौतिक चीजबीजहरूप्रति संसारका मानिसहरूले राख्ने दृष्टिकोण र यहोवाका सेवकहरूले राख्ने दृष्टिकोण फरक छ। यस सन्दर्भमा येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “त्यसैले ‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। किनकि अन्यजातिका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्‌। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ। यसकारण उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।” (मत्ती ६:३१-३३) स्वर्गमा बस्नुहुने बुबाले आफ्ना जनहरूको आवश्‍यकता पूरा गरिदिनुहुन्छ भनेर हाम्रा थुप्रै सँगी विश्‍वासीले व्यक्‍तिगत रूपमा अनुभव गरेका छन्‌।

१३ “सन्तुष्टता सहितको भक्‍तिनै ठूलो लाभ हो।” (१ तिमो. ६:६, RV) यो कुरा संसारका मानिसहरूले राख्ने दृष्टिकोणभन्दा एकदमै फरक छ। उदाहरणका लागि, विवाह गर्नेबित्तिकै थुप्रै जवानहरूले तुरुन्ता-तुरुन्तै महँगा सरसामानले भरिएको चिटिक्क परेको घर अथवा अपार्टमेन्ट, चिल्लो गाडी अनि अत्याधुनिक इलेक्ट्रोनिक सामग्रीहरू प्राप्त गर्न चाह गर्छन्‌। तर यस संसारमा अस्थायी बासिन्दाको जस्तो जीवन बिताएका ख्रीष्टियनहरूले भने आफ्नो इच्छालाई नभई व्यावहारिक अनि आफूले पूरा गर्न सक्ने कुरालाई प्राथमिकता दिन्छन्‌। जोसिलो राज्य प्रचारकको रूपमा यहोवाको सेवामा बढी समय र शक्‍ति खर्च गर्न थुप्रैले भौतिक सुखसुविधा त्यागेको देख्न पाउनु साँच्चै खुसीको कुरा हो। अरू कतिपयले भने अग्रगामी, बेथेल सेवक, परिभ्रमण निरीक्षक अनि मिसनरीको रूपमा सेवा गर्छन्‌। पूरा मनले यहोवाको उपासना गर्ने हाम्रा यी सँगी उपासकहरूप्रति हामी सबै कत्ति कृतज्ञ छौं नि, होइन र?

१४. बीउ छर्ने मानिसबारे येशूले दिनुभएको दृष्टान्तबाट हामी के सिक्न सक्छौं?

१४ बीउ छर्ने मानिसको दृष्टान्त बताउनुहुँदा येशूले “संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्‍तिले गर्दा” हाम्रो हृदयमा भएको परमेश्‍वरको वचन निसासिन सक्छ र त्यसले गर्दा हामी फल फलाउन नसक्ने हुन सक्छौं भनेर बताउनुभयो। (मत्ती १३:२२) यस संसारमा अस्थायी बासिन्दाको जस्तो जीवन बिताउँदा सन्तुष्ट महसुस गर्छौं भने हामी पासोमा पर्नदेखि जोगिन सक्छौं। अनि यसले हामीलाई आँखा “निर्मल” राख्न अर्थात्‌ परमेश्‍वरको राज्यलाई आफ्नो ‘आँखाले एकनासले हेर्न’ र ‘त्यसमै ध्यान केन्द्रित’ गर्न अनि त्यससित सम्बन्धित गतिविधिलाई प्रथम स्थान दिइरहन मदत गर्छ।—मत्ती ६:२२, फुटनोट।

“संसार बितेर जाँदैछ”

१५. वर्तमान संसारप्रति ख्रीष्टियनहरूले राख्ने दृष्टिकोण अनि उनीहरूको आनीबानीलाई प्रेषित यूहन्‍नाले भनेको कुन कुराले असर गर्छ?

१५ साँचो ख्रीष्टियनको हैसियतमा हामीले यस संसारमा आफूलाई “परदेशी र अस्थायी बासिन्दा” सम्झनुको एउटा महत्त्वपूर्ण कारण यो हो: यो संसारको अन्त एकदमै नजिक छ। (१ पत्रु. २:११; २ पत्रु. ३:७) यस्तो दृष्टिकोणले हाम्रो जीवनका छनौट, चाहना अनि आकाङ्‌क्षालाई असर गर्छ। प्रेषित यूहन्‍नाले आफ्ना सँगी विश्‍वासीहरूलाई यस संसारलाई अनि यस संसारमा भएका चीजहरूलाई प्रेम नगर्न सल्लाह दिए किनभने “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”—१ यूह. २:१५-१७.

१६. हामी भिन्‍न मानिसहरूको रूपमा छुट्ट्याइएका छौं भनेर कसरी देखाउन सक्छौं?

१६ यहोवाको आज्ञा पालन गरेमा इस्राएलीहरू “समस्त मानिसहरूमध्ये” परमेश्‍वरको “एक निज धन” हुन सक्थे भनेर तिनीहरूलाई बताइएको थियो। (प्रस्थ. १९:५) यहोवाप्रति वफादार रहुन्जेल इस्राएलीहरू उपासना अनि जीवनशैलीको मामिलामा अरू राष्ट्रहरूभन्दा भिन्‍न देखिन्थे। आज पनि यहोवाले आफ्ना मानिसहरूलाई सैतानको संसारबाट छुट्टै राख्नुभएको छ। हामीलाई यसो भनिएको छ: “भक्‍तिहीनता र सांसारिक इच्छाहरू त्याग्न अनि यस वर्तमान युगमा सुझबुझ चलाउन, परमेश्‍वरको स्तरबमोजिम असल काम गर्न र परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन सिकाउँछ। हाम्रो सुखद आशा पूरा हुने अनि हाम्रा महान्‌ परमेश्‍वर र हाम्रा उद्धारक, ख्रीष्ट येशू प्रकट हुने बाटो हेर्दै बसिरहेको बेला हामी यसरी नै जीवन बिताऔं। हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन र असल कामहरूमा जोसिलो आफ्नो विशेष जन बनाउनको लागि हामीलाई शुद्ध पार्न ख्रीष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो।” (ती. २:११-१४) यहाँ उल्लेख गरिएको “विशेष जन”-मा अभिषिक्‍त ख्रीष्टियनहरू र तिनीहरूलाई मदत अनि साथ दिने लाखौं सङ्‌ख्यामा रहेका येशूका “अरू भेडा” समावेश छन्‌।—यूह. १०:१६.

१७. यस संसारमा अस्थायी बासिन्दाको जस्तो जीवन बिताएकोमा अभिषिक्‍त जन अनि अरू भेडाले किन पछुतो मान्‍नेछैनन्‌?

१७ अभिषिक्‍त ख्रीष्टियनहरूको “सुखद आशा” भनेको ख्रीष्टसितै स्वर्गमा शासन गर्नु हो। (प्रका. ५:१०) अरू भेडाका लागि यस पृथ्वीमा अनन्त जीवनको आशा पूरा हुँदा तिनीहरू यस दुष्ट संसारमा अस्थायी बासिन्दा भएर बस्नुपर्नेछैन। तिनीहरूको आ-आफ्नै सुन्दर घर हुनेछ अनि खानको लागि प्रशस्त खानेकुरा अनि दाखमद्य हुनेछ। (भज. ३७:१०, ११; यशै. २५:६; ६५:२१, २२) यी सम्पूर्ण कुराहरू “सारा पृथ्वीका परमेश्‍वर” यहोवाले दिनुभएको हो भनेर इस्राएलीहरूले बिर्सेजस्तो तिनीहरूले भने बिर्सनेछैनन्‌। (यशै. ५४:५) यस दुष्ट संसारमा अस्थायी बासिन्दाको जस्तो जीवन बिताएकोमा अभिषिक्‍त जन अनि अरू भेडा कसैले पनि पछुतो मान्‍नेछैनन्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• पुरातन समयका विश्‍वासी व्यक्‍तिहरूले कसरी अस्थायी बासिन्दाको जस्तो जीवन बिताए?

• प्रारम्भिक ख्रीष्टियनहरूले यस संसारमा कसरी जीवन बिताए?

• साँचो ख्रीष्टियनहरूले कसरी सीमित रूपमा मात्र यस संसारको उपभोग गर्छन्‌?

• यस दुष्ट संसारमा अस्थायी बासिन्दाको जस्तो जीवन बिताएकोमा हामीले किन पछुतो मान्‍नेछैनौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

प्रारम्भिक ख्रीष्टियनहरू यस संसारको हिंस्रक अनि अनैतिक मनोरञ्जनबाट अलग रहे