सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

येशूलाई कति बजे यातनाको खम्बामा टाँगियो, के हामी ठ्याक्कै भन्‍न सक्छौं?

सुसमाचार पुस्तकका लेखकहरू मर्कूस र प्रेषित यूहन्‍नाले परमेश्‍वरको प्रेरणा पाएर येशूको मृत्युको विवरण लेख्दा छुट्टाछुट्टै समय उल्लेख गरेको जस्तो देखिएकोले यो प्रश्‍न उठेको हो। मर्कूसले यस्तो लेखेका छन्‌: “बिहानको नौ बजेको थियो अनि तिनीहरूले उहाँलाई खम्बामा टाँगे।” (मर्कू. १५:२५) यूहन्‍नाको विवरणअनुसार पिलातसले येशूलाई खम्बामा टाँग्न यहूदीहरूलाई सुम्पिंदा “लगभग मध्यान्हको बाह्र बजेको थियो।” (यूह. १९:१४-१६) आपसमा मेल नखाएको जस्तो देखिने यो भिन्‍नतालाई स्पष्ट पार्न बाइबलका टिप्पणीकारहरूले थुप्रै तर्कहरू पेस गरेका छन्‌। तर बाइबलका यी दुई विवरणबीचको भिन्‍नतालाई स्पष्ट पार्ने धर्मशास्त्रीय जानकारीहरू पर्याप्त मात्रामा उपलब्ध छैन। तैपनि त्यतिबेलाका मानिसहरूले समय कसरी हिसाब गर्थे भनेर विचार गर्नु मदतकारी हुन सक्छ।

इस्वी संवत्‌ प्रथम शताब्दीमा यहूदीहरूले दिनको उज्यालोलाई १२ घण्टामा विभाजन गर्थे। तिनीहरूले सूर्योदयको समयदेखि यो १२ घण्टा हिसाब गर्थे। (यूह. ११:९) हो, वर्षभरिमा सूर्योदय हुने र सूर्यास्त हुने समय फरक-फरक हुन्छ। फलतः मौसमअनुसार दिन लामो अथवा छोटो हुन्छ। साथै, सूर्यको स्थान हेरेर पनि त्यतिबेला घण्टाको हिसाब गरिन्थ्यो। त्यसकारण उल्लेख गरिएका समयहरू अन्दाजी समय मात्र हुन्‌। ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा विभिन्‍न घटनाहरू नौ बजेतिर, बाह्र बजेतिर वा तीन बजेतिर भयो भनेर बताइएको छ। त्यसकारण ती घटनाहरू ठ्याक्कै त्यही समयमा नभई लगभग त्यो समयतिर भएको थियो भनेर हामी भन्‍न सक्छौं। (मत्ती २०:३, ५; प्रेषि. १०:३, ९, ३०) तर घटनाक्रमको व्याख्या गर्न ठ्याक्कै समय उल्लेख नगरी नहुने कुनै-कुनै विवरणमा भने “दिउँसो एक बजे” भन्‍नेजस्तो ठ्याक्कै समय तोकेरै बताउने अभिव्यक्‍तिहरू चलाइएको पाइन्छ।—यूह. ४:५२.

येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम घडीमा भएका घटनाहरूबारे सुसमाचारका लेखकहरूले बताएका कुराहरू आपसमा मिल्छन्‌। ती चारै जनाले बिहान भएपछि सबै मुख्य पुजारीहरू अनि धर्म-गुरुहरूले आपसमा सल्लाह गरेको अनि येशूलाई पिलातसकहाँ सुम्पिदिएको कुरा उल्लेख गरेका छन्‌। (मत्ती २७:१; मर्कू. १५:१; लूका २२:६६; यूह. १८:२८) येशू यातनाको खम्बामा टाँगिएकै अवस्थामा “मध्यान्ह बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म” सारा देशभरि अन्धकार छाएको विवरण मत्ती, मर्कूस र लूका सबैले लेखेका छन्‌।—मत्ती २७:४५, ४६; मर्कू. १५:३३, ३४; लूका २३:४४.

येशूलाई टाँगिएको समयबारे उल्लेख गरिएको विवरण फरक पर्नुको एउटा महत्त्वपूर्ण कारण यो पनि हुन सक्छ: त्यतिबेलाका मानिसहरूले कोर्रा लगाउनुलाई टाँग्ने प्रक्रियाकै एउटा भाग ठान्थे। कहिलेकाहीं त यति निर्मम तरिकाले कोर्रा लगाइन्थ्यो कि उक्‍त व्यक्‍तिको मृत्युसमेत हुन्थ्यो। येशूलाई पनि टाँगिनअघि एकदमै कठोर तरिकामा कोर्रा लगाइएको थियो भनेर हामी भन्‍न सक्छौं किनभने उहाँलाई यातनाको खम्बा बोकाइँदा उहाँले बोक्न नसकेर बीच बाटोमै अर्को व्यक्‍तिलाई उक्‍त खम्बा बोकाइएको थियो। (लूका २३:२६; यूह. १९:१७) यदि कोर्रा लगाइएको समयदेखि टाँग्ने प्रक्रिया सुरु भयो भनेर मानिलिने हो भने येशूलाई खम्बामा किला ठोकेर टाँगिएको समयसम्म केही समय बितिसकेको हुनुपर्छ। विभिन्‍न व्यक्‍तिहरूले टाँग्ने प्रकियालाई फरक-फरक तरिकाले लिने हुँदा उनीहरूले टाँगिएको समयबारे भिन्‍ना-भिन्‍नै समय उल्लेख गरेका हुन सक्छन्‌।

सुसमाचार पुस्तकका अरू लेखकहरूले भन्दा दशकौंपछि मात्र प्रेषित यूहन्‍नाले आफ्नो विवरण लेखेका थिए। त्यसकारण तिनले सजिलैसित अरू सुसमाचार लेखकहरूको विवरण हेर्न सक्थे। हो, यूहन्‍नाले उल्लेख गरेको समय मर्कूसले उल्लेख गरेको समयभन्दा फरक छ। त्यसैले यसबाट हामी यो कुरा बुझ्न सक्छौं, यूहन्‍नाले मर्कूसको विवरण हुबहु सारेका थिएनन्‌। यूहन्‍ना अनि मर्कूस दुवैले परमेश्‍वरको प्रेरणा पाएका थिए। तिनीहरूले फरक-फरक समय उल्लेख गर्नुको कारणबारे बाइबलमा पर्याप्त जानकारी नभए तापनि हामी सुसमाचारको पुस्तकमा पाइने विवरणमाथि भरोसा गर्न सक्छौं।