सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छाँटकाँट गर्दा आशिष्‌ पाएँ

छाँटकाँट गर्दा आशिष्‌ पाएँ

छाँटकाँट गर्दा आशिष्‌ पाएँ

जेम्स ए. थम्पसनको वृत्तान्तमा आधारित

मेरो जन्म सन्‌ १९२८ मा संयुक्‍त राज्य अमेरिकाको दक्षिणी भागमा भएको थियो। त्यतिबेलाको विभेदकारी ऐनको कारण गोरा अनि काला जातिहरू भिन्‍नाभिन्‍नै बस्थे। त्यो ऐन तोड्यो कि त झ्यालखानामा परिन्थ्यो वा त्योभन्दा पनि नराम्रो सजाय भोग्नुपर्ने हुन्थ्यो।

त्यस ऐनको कारण संयुक्‍त राज्य अमेरिकाको कुनै-कुनै भागमा गोरा अनि काला जातिका यहोवाका साक्षीहरूको छुट्टाछुट्टै मण्डलीहरू, क्षेत्रहरू अनि जिल्लाहरू थियो। सन्‌ १९३७ मा मेरो बुबा काला जातिका भाइबहिनीको मण्डली, जुन टेनेसीको चट्टानूगामा थियो, त्यहाँको कम्पनी सेवक (अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ) बन्‍नुभयो। भाइ हेन्री निकोल्जचाहिं गोरा जातिहरूको मण्डलीको कम्पनी सेवक हुनुहुन्थ्यो।

केटाकेटी छँदाका निकै रमाइला अनुभवहरू मैले सँगालेको छु। सानो छँदा म राती बरन्डामा बसेर बुबा अनि भाइ निकोल्जको कुराकानी सुन्‍ने गर्थें। उहाँहरूले गरेको सबै कुरा त म बुझ्दिनथें तैपनि बुबाको छेउमा बसेर उहाँहरूले त्यतिबेलाको अवस्थामा प्रचारकार्यको लागि राम्रोभन्दा राम्रो तरिका अपनाउने विषयमा छलफल गरेको सुन्दा निकै मज्जा लाग्थ्यो।

योभन्दा केही वर्षअघि सन्‌ १९३० मा हाम्रो परिवारमा एउटा दुःखद घटना घटेको थियो। मेरी आमाको २० वर्षको अल्पायुमै निधन भयो। त्यसकारण बुबाले चार वर्षकी दिदी डोरिस र मेरो हेरविचार गर्नुपर्ने भयो। त्यतिबेला म जम्मा दुई वर्षको मात्र थिएँ। बुबाले बप्तिस्मा गर्नुभएको केही समय मात्र भएको थियो तैपनि उहाँले निकै आध्यात्मिक प्रगति गर्नुभयो।

मेरो जीवनमा प्रभाव पार्ने असल उदाहरणहरू

सन्‌ १९३३ मा मेरो बुबाले लिली मे ग्वेन्डलेन थोमस नाम गरेकी एउटी असल ख्रीष्टियन बहिनी भेट्‌नुभयो र छिट्टै विवाह पनि गर्नुभयो। वफादार भई यहोवाको सेवा गर्ने सन्दर्भमा उहाँहरू दुवैले डोरिस दिदी र मेरो लागि राम्रो उदाहरण बसाल्नुभयो।

पहिला-पहिला स्थानीय मण्डलीहरूमा एल्डरहरू नियुक्‍त गर्दा भोट हालेर छानिन्थ्यो तर सन्‌ १९३८ देखि यो तरिका परिवर्तन भयो। अबउप्रान्त न्यु योर्कको ब्रूक्लिनमा रहेको मुख्यालयले नै एल्डरहरू नियुक्‍त गर्नेछ भनेर जानकारी दिइयो र यससम्बन्धी प्रस्तावनामा समर्थन जनाउन यहोवाका साक्षीहरूको सम्पूर्ण मण्डलीलाई आग्रह गरियो। चट्टानूगामा भएका कोही-कोही भाइबहिनीहरू यो परिवर्तन स्वीकार्न हिचकिचाए तर बुबाले भने सङ्‌गठनले गरेको यो छाँटकाँटमा पूर्ण सहमति जनाउनुभयो। उहाँले देखाउनुभएको वफादारिता र त्यसप्रति आमाले मनैदेखि गर्नुभएको समर्थनले गर्दा मैले अहिलेसम्म पनि प्रोत्साहन पाइरहेको छु।

बप्तिस्मा अनि पूर्ण-समय सेवा

सन्‌ १९४० मा डिटरोइट, मिशिगनमा आयोजना गरिएको अधिवेशनमा जानको लागि हाम्रो मण्डलीका केही भाइबहिनीहरूले एउटा बस भाडामा लिए। त्यस बसमा यात्रा गर्ने कोही-कोहीले त्यस अधिवेशनमा बप्तिस्मा पनि गरे। मैलेचाहिं किन बप्तिस्मा नगरेको होला भनेर कोही-कोही छक्क परे किनभने मैले पाँच वर्षको उमेरदेखि नै प्रचार गर्न थालेको थिएँ र यस कार्यमा निकै जोसिलो भएर भाग लिइरहको थिएँ।

उनीहरूले बप्तिस्मा नगर्नुको कारण सोध्दा मैले यस्तो जवाफ दिएँ, “खै, बप्तिस्मा भनेको के हो, यसको लागि के-के गर्नुपर्छ, मलाई क्यै त थाह छैन!” मेरो कुरा सुनेर बुबा छक्क पर्नुभयो। त्यसपछि त उहाँले मलाई बप्तिस्माको अर्थ अनि त्यसको महत्त्व बुझाउन थप मेहनत गर्नुभयो। यसको चार महिनापछि अर्थात्‌ सन्‌ १९४०, अक्टोबर १ को एकदमै जाडो दिनमा मैले चट्टानूगाबाहिर पर्ने एउटा पोखरीमा बप्तिस्मा गरें।

चौध वर्षको उमेरमा, स्कूलको गर्मी बिदा हुँदा मैले अग्रगामी सेवा सुरु गरें। मैले टेनेसीको स-साना सहरहरूमा अनि टेनेसीबाट नजिकै पर्ने जर्जियाका केही इलाकाहरूमा पनि प्रचार गरें। म सबेरै उठ्‌थें अनि खानाको पोको बोकेर ६:०० बजेको रेल वा बस चढेर प्रचारको इलाकामा जान्थें अनि बेलुकी ६:०० बजेतिर मात्रै घर फर्कन्थें। आफूसँगै लगेको खाना प्रायजसो बिहानै सकिन्थ्यो। पैसा भए पनि म खानेकुरा किन्‍न पसलभित्र छिर्न पाउँदिनथें किनभने म कालो जातिको थिएँ। एकचोटिको कुरा हो, म आइसक्रिम किन्‍न एउटा पसलमा छिरेको थिएँ तर मलाई तुरुन्तै बाहिर निस्कन भनियो। तर खुसीको कुरा, एउटी गोरा जातिकी आइमाईले मलाई माया गरेर बाहिरै आइसक्रिम ल्याइदिइन्‌।

मैले उच्च माध्यामिक विद्यालयमा पढ्‌न थाल्दा दक्षिणी भागमा नागरिक अधिकारसम्बन्धी आन्दोलन चर्किंदै थियो। अनि नेसनल एसोसिएसन फर दि एडभान्स्मेन्ट अफ कलर्ड पीपल (एनएएसीपी) जस्ता संस्थाहरूले विद्यार्थीहरूलाई आन्दोलनमा भाग लिन प्रोत्साहन दिइरहेका थिए। हामीलाई पनि त्यस्ता संस्थाहरूको सदस्य बन्‍न आग्रह गरियो। मेरो स्कूललगायत काला जातिहरू पढ्‌ने अन्य थुप्रै स्कूलले सतप्रतिशत सदस्यता जनाउने लक्ष्य राख्यो। मलाई पनि “हाम्रो जातिलाई समर्थन गर्न” दबाब आयो। तर मैले इन्कार गरें, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न अनि उहाँले कुनै एक जातिलाई काखा र अर्कोलाई पाखा गर्नुहुन्‍न भनेर बताएँ। साथै यस्तो अन्याय परमेश्‍वरले नै हटाउनुहुन्छ भनेर साक्षी पनि दिएँ।—यूह. १७:१४; प्रेषि. १०:३४, ३५.

उच्च माध्यामिक विद्यालयको पढाइ सिध्याएको केही समयपछि मैले न्यु योर्क सहरमा बसाइँ सर्ने निर्णय गरें। तर यात्राको दौडान म अधिवेशनमा चिनापर्ची भएका साथीहरूलाई भेट्‌न भनेर पेन्सिलभेनियाको फिलाडेल्फियामा केही समयको लागि रोकिएँ। त्यहाँ मैले पहिलो चोटि विभिन्‍न जातिका व्यक्‍तिहरू मिलेर बनेको मण्डलीमा सङ्‌गत गर्ने मौका पाएँ। क्षेत्रीय निरीक्षकको भ्रमणको बेला उहाँले मलाई एकापट्टि लगेर अर्को सभामा मलाई एउटा असाइनमेन्ट दिने कुरा बताउनुभयो। यसले गर्दा मलाई त्यहीं बस्ने निर्णय गर्न सजिलो भयो।

मैले फिलाडेल्फियामा बनाएका साथीहरूमध्ये जेरलडिन ह्वाइट पनि थिइन्‌। तिनलाई मैले पछि जेरी भनेर बोलाउन थालें। तिनीसित बाइबलको एकदमै राम्रो ज्ञान थियो अनि घर-घरको प्रचारकार्यमा घरधनीसित कुरा गर्न तिनी निकै सिपालु थिइन्‌। तिनी पनि मैले जस्तै अग्रगामी सेवा अङ्‌गाल्न चाहन्थिन्‌ अनि त्यति भएपछि मलाई के चाहियो र! हामीले सन्‌ १९४९ को अप्रिल २३ मा विवाह गऱ्‍यौं।

गिलियडको निम्तो

हाम्रो सुरुदेखिको लक्ष्य नै गिलियड स्कूल जाने अनि विदेशी भूमिमा मिसनरीको रूपमा सेवा गर्ने थियो। गिलियडको लागि योग्य हुन हामी आफ्नो परिस्थितिमा काँटछाँट गर्न तयार थियौं। केही समयपछि हामीलाई न्यु जर्सीको लोनसाइडमा गएर सेवा गर्न भनियो। त्यसपछि हामी पेन्सिलभेनियाको चेस्टरमा गयौं अनि अन्तमा न्यू जर्सीकै एट्‌लान्टिक सिटीमा गएर सेवा गर्न थाल्यौं। एट्‌लान्टिक सिटीमा सेवा गर्दै गर्दा हामी गिलियडको लागि आवेदन दिन योग्य भयौं किनभने हामीले विवाह गरेको दुई वर्ष भइसकेको थियो। तर हाम्रो निमन्त्रणा केही समयको लागि स्थगित गरियो। किन?

सन्‌ १९५० दशकको सुरु-सुरुतिर थुप्रै युवाहरूलाई सैन्य सेवामा भर्ती हुन र युद्धको लागि कोरियामा जान आदेश दिइएको थियो। यहोवाका साक्षीहरू तटस्थ रहेको कारण फिलाडेल्फियामा भएको भर्ती केन्द्रले हामीहरूमाथि निकै पक्षपात गरेको थियो। तर अन्तमा, संघीय जाँच आयोगद्वारा (एफबीआई) ममाथि छानबिन भएको र तटस्थ रहने मेरो अडानमा कुनै त्रुटि नभएको कुरा एक जना न्यायाधीशले मलाई बताए। त्यसकारण सन्‌ १९५२, जनवरी ११ को दिन प्रेसिडेन्सिएल अपिल बोर्डले म एक जना धार्मिक सेवक भएको कारण सैन्य सेवामा भर्ती हुनु नपर्ने छुट दियो।

सोही वर्षको अगस्त महिनामा जेरी अनि मैले सप्टेम्बर महिनामा सुरु हुन लागेको गिलियडको २० औं कक्षामा भाग लिने निम्तो पायौं। अध्ययनको दौडान हामीले विदेशी भूमिमा खटाइने आशा राखेका थियौं। मेरी दिदी डोरिसले गिलियडको १३ औं कक्षाबाट स्नातक गरिसक्नुभएको थियो र ब्राजिलमा सेवा गरिरहनुभएको थियो। गिलियड सकेपछि हामीलाई दक्षिणी भागमा रहेको अलाबामा गएर काला जातिहरूको मण्डलीमा क्षेत्रीय निरीक्षकको रूपमा काम गर्ने असाइनमेन्ट दिंदा हामी कति छक्क पऱ्‍यौं, कुरै नगरौं! यो असाइनमेन्टले गर्दा हामी केही हदसम्म हतोत्साहित भयौं किनभने हाम्रो मनैदेखिको चाहना विदेशी भूमिमा गएर सेवा गर्नुथियो।

हामीले पहिलोचोटि भ्रमण गरेको मण्डली हन्टस्भिल्लेमा थियो। त्यहाँ पुगेपछि हामी एक जना ख्रीष्टियन बहिनीको घरमा बस्न गयौं। हाम्रो सामान गाडीबाट झार्दै गर्दा तिनले टेलिफोनमा यसो भनेको हामीले सुन्यौं, “केटाकेटीहरू भर्खरै आइपुगे।” त्यतिबेला हामी भर्खर २४ वर्ष पुगेका थियौं र उमेरभन्दा पनि कलिला देखिन्थ्यौं। त्यस क्षेत्रमा सेवा गरुन्जेल हामीलाई “केटाकेटी” भनेर नै बोलाइयो।

दक्षिणी इलाकाका धेरैजसो मानिसहरू बाइबललाई निकै आदर गर्थे। त्यसकारण प्रायजसो त्यो इलाकालाई बाइबल प्रान्त भन्‍ने गरिन्थ्यो। हामी अक्सर तिनीहरूसित निम्न तीन बुँदा समावेश गर्दै कुरा थाल्थ्यौं:

(१) संसारको अवस्थाबारे छोटकरीमा बताएर

(२) बाइबलले दिने समाधान देखाएर

(३) हामीले गर्नै पर्ने कामबारे बाइबलले बताउने कुरा बुझाएर

त्यसपछि बाइबल बुझ्न मदत गर्ने उपयुक्‍त साहित्य प्रस्तुत गर्थ्यौं। यो तरिका अपनाउँदा सफल भएको कारण मलाई सन्‌ १९५३ मा न्यु योर्क सहरमा आयोजित नयाँ विश्‍व समाज सम्मेलनमा एउटा प्रदर्शन देखाउन भनियो। त्यस प्रदर्शनमा मैले ती नै तीन बुँदाहरू प्रयोग गरें।

सन्‌ १९५३ को गर्मी याममा मैले दक्षिणी भागमा रहेको काला जातिहरू बसोबास गर्ने क्षेत्रमा जिल्ला निरीक्षकको रूपमा सेवा गर्ने असाइनमेन्ट पाएँ। हाम्रो इलाका भर्जिनियादेखि फ्लोरिडासम्म अनि पश्‍चिमतिर चाहिं अलाबामा र टेनेसीसम्मै फैलिएको थियो। परिभ्रमण निरीक्षकहरू स्थानीय परिवेशमा ढल्न सक्ने हुनुपर्थ्यो। जस्तै, हामी प्रायजसो घरभित्र बाथरुम नभएको ठाउँमा बस्थ्यौं र भान्छाकोठाको चुलो पछाडि राखेको टिनको बाथटबमा बसेर नुहाउँथ्यौं। खुसीको कुरा, त्यो ठाउँ घरको सबैभन्दा न्यानो भाग थियो!

जातीय विभेदको कारण सामना गर्नुपरेका चुनौतीहरू

दक्षिणी भागमा सेवा गर्दा कुनै काम फत्ते गर्न हामी निकै विचारशील अनि चनाखो हुनुपर्थ्यो। काला जातिहरूलाई लुगा धुन सार्वजनिक ठाउँहरू प्रयोग गर्न दिइँदैन थियो। त्यसैले जेरीले त्यहाँ गएर आफूले ल्याएको लुगाहरू “थोम्पसन म्याडमको” हो भन्‍ने गर्थिन्‌। अनि अरूले उनी नोकर्नी होलिन्‌ र “थोम्पसन म्याडम” भनेको चाहिं उनकी मालिक्नी होलिन्‌ भनेर सोच्दा रहेछन्‌। जिल्ला निरीक्षकहरूले नयाँ विश्‍व समाजको क्रियाकलाप (अङ्‌ग्रेजी) नामक फिल्म देखाउनुपर्ने बेलामा मैले पसलमा फोन गर्थें र एउटा ठूलो पर्दा “थोम्पसन सरको” लागि भनेर बुकिङ गर्थें। त्यसपछि त्यहाँ गएर पर्दा लिएर आउँथें। हामी सधैं नम्र व्यवहार गर्थ्यौं अनि कुनै बाधाअवरोधविना नै प्रचारकार्य सम्पन्‍न गर्थ्यौं।

त्यसबेला अर्को किसिमको विभेद पनि थियो—क्षेत्रीय विभेद। दक्षिणी भागका धेरैजसो मानिसहरू उत्तरी भागका मानिसहरूलाई मन पराउँदैनथे। एकचोटिको कुरा हो, एउटा स्थानीय पत्रिकाले अबको सम्मेलनमा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्कका जेम्स ए. थम्पसन जुनियरले भाषण दिंदैछन्‌ भनेर रिपोर्ट गऱ्‍यो। यो समाचार पढेर कसै-कसैले त मलाई न्यु योर्कको मान्छे भन्ठानेछन्‌। त्यसैले हामीले सम्मेलनको लागि भाडामा लिएको स्कूल हल तिनीहरूले प्रयोग गर्न नदिने निर्णय गरे। यो कुरा थाह पाएपछि मैले स्कूल सञ्चालक समितिलाई भेटेर आफूले चट्टानूगाकै स्कूलमा पढेको कुरा बताएँ। त्यसपछि बल्ल हामीले क्षेत्रीय सम्मेलनको लागि हल भाडामा पायौं।

सन्‌ १९५० दशकको बीचतिर जातीय विभेदले एकदमै उग्र रूप लिंदै थियो। कहिलेकाहीं दङ्‌गाफसाद पनि हुन्थ्यो। सन्‌ १९५४ मा आयोजना गरिएका केही जिल्ला अधिवेशनहरूमा काला जातिका भाइहरूमध्ये एक जनाले पनि भाषण नदिएको कारण केही साक्षीहरू निराश भए। त्यसकारण हामीले काला जातिका भाइबहिनीहरूलाई धैर्य गर्न भन्यौं। त्यसपछिको गर्मी याममा मैले भाषण दिने जिम्मेवारी पाएँ। त्यसदेखि यता त दक्षिणी भागमा बस्ने काला जातिका भाइहरूले धमाधम भाषण दिने जिम्मेवारी पाउन थाले।

समय बित्दै जाँदा दक्षिणी भागमा चर्केको हिंसा पनि सेलाउँदै गयो। बिस्तारै काला अनि गोरा दुवै जातिका भाइबहिनीहरू एउटै मण्डलीमा धाउन थाले। यसले गर्दा कोही-कोही प्रकाशकहरूलाई अर्कै मण्डलीमा सङ्‌गत गर्न खटाइयो, मण्डलीको इलाकाहरूमा फेरबदल भयो अनि निरीक्षकहरूको जिम्मेवारीमा पनि काँटछाँट गरियो। यो नयाँ प्रबन्ध काला अनि गोरा दुवै जातिका कुनै-कुनै भाइबहिनीहरूलाई मन परेन। तर धेरैजसो भाइबहिनीहरू स्वर्गमा बस्नुहुने हाम्रो बुबाजस्तै निष्पक्ष थिए। छालाको रङ्‌ग फरक भए पनि उनीहरूको मनको रङ्‌ग फरक भएन, उनीहरू एकअर्काको घनिष्ठ साथी भए। यो कुरा हाम्रो परिवारले सन्‌ १९३०/४० को दशकतिरै अनुभव गरिसकेको थियो, जतिबेला म बच्चै थिएँ।

नयाँ असाइनमेन्ट

सन्‌ १९६९ को जनवरी महिनामा जेरी र मैले दक्षिण अमेरिकाको गायनामा गएर सेवा गर्ने निम्तो पायौं। हामीले खुसी-खुसी त्यो निम्तो स्वीकाऱ्‍यौं। पहिला हामी न्यु योर्कको ब्रूक्लिन गयौं। त्यहाँ मैले गायनाको प्रचारकार्यको निरीक्षण कसरी गर्ने भन्‍ने विषयमा तालिम पाएँ। सन्‌ १९६९ को जुलाईमा हामी गायना पुग्यौं। परिभ्रमण कार्यमा १६ वर्ष बिताइसकेपछि एउटै ठाउँमा बसेर काम गर्नुपर्ने जिम्मेवारी पाउँदा मैले ठूलो छाँटकाँट गर्नुपऱ्‍यो। जेरीले धेरैजसो समय मिसनरीको रूपमा प्रचारकार्यमा बिताउँथिन्‌ भने मचाहिं शाखा कार्यालयमा काम गर्थें।

त्यहाँ मैले घाँस काट्‌ने, २८ वटा मण्डलीहरूमा साहित्य पठाउने अनि ब्रूक्लिनको मुख्यालयसित सम्पर्क राख्नेदेखि लिएर सब काम भ्याउनुपर्थ्यो। म हरेक दिन १४-१५ घण्टासम्म काम गर्थें। हामी दुवैको लागि यो असाइनमेन्ट गाह्रो थियो तैपनि हामी आनन्दित थियौं। हामी गायना पुग्दा त्यहाँ जम्मा ९५० जना मात्र प्रकाशक थिए तर अहिले भने २,५०० भन्दा बढी प्रकाशकहरू छन्‌।

हामीले गायनामा राम्रो मौसम अनि थरी-थरीका रसिला-भरिला फलफूल अनि तरकारीहरूको आनन्द उठायौं। तर त्योभन्दा पनि परमेश्‍वरको राज्यबारे बाइबल सत्य सिक्न इच्छुक नम्र व्यक्‍तिहरू देखेर हामीलाई औधी खुसी लाग्थ्यो। जेरीले प्रायजसो हप्तामा २० वटा अध्ययन भ्याउँथिन्‌ अनि हामीले अध्ययन गरेकाहरूमध्ये थुप्रैले त बप्तिस्मा पनि गरे। पछि तिनीहरूमध्ये कोही अग्रगामी बने, कोही मण्डलीको एल्डर बने अनि कोहीचाहिं मिसनरी बन्‍न गिलियडसमेत गए।

अन्य चुनौतीहरू अनि स्वास्थ्य समस्या

सन्‌ १९८३ मा संयुक्‍त राज्य अमेरिकामा बसोबास गरिरहनुभएका मेरा आमाबुबालाई मदतको खाँचो पऱ्‍यो। त्यसैले उहाँहरूको हेरविचार गर्न को जाने भनेर डोरिस दिदी, जेरी अनि मैले सल्लाह गऱ्‍यौं। मिसनरीको रूपमा ३५ वर्ष ब्राजिलमा सेवा गरिसक्नुभएकी डोरिस दिदीले आमाबुबाको हेरविचार गर्न घर फर्कने निर्णय गर्नुभयो। ‘यदि एक जनाले नै आमाबुबाको हेरविचार गर्न सक्छ भने दुई-दुई जनाले किन मिसनरी सेवा छोड्‌नु!’ भनेर उहाँले भन्‍नुभयो। आमाबुबाको मृत्युपछि डोरिस दिदी चट्टानूगामै बसेर विशेष अग्रगामीको रूपमा सेवा गर्दै हुनुहुन्छ।

सन्‌ १९९५ मा मलाई प्रोस्ट्रेट क्यान्सर भएको थाह लाग्यो। त्यसैले हामी संयुक्‍त राज्य अमेरिकामा फर्कनुपर्ने भयो। त्यहाँ गएर हामी उत्तरी क्यारोलाइनाको गोल्डस्बोरोमा बसोबास गर्न थाल्यौं किनभने त्यो ठाउँ मेरो परिवार बसोबास गर्ने टेनेसी सहर अनि जेरीको परिवार बसोबास गर्ने पेन्सिलभेनियाको बीचतिर पर्छ। अहिले मेरो क्यान्सर नियन्त्रणमा छ अनि हामी गोल्डस्बोरोको मण्डलीमा अशक्‍त विशेष अग्रगामी सेवकको रूपमा सेवा गर्दैछौं।

पूर्ण-समय सेवामा बिताएको ६५ वर्षलाई फर्केर हेर्दा, जेरी र मैले यहोवाको सेवा गर्नको लागि गरेको काँटछाँटमा उहाँले आशिष्‌ दिनुभएकोमा धेरै खुसी छौं। दाऊदको यो भनाइ कत्ति सत्य छ: “भक्‍तसँग [यहोवा] भक्‍त देखा पर्नुहुन्छ।”—२ शमू. २२:२६.

[पृष्ठ ३-मा भएको चित्र]

मेरो बुबा र भाइ निकोल्जले मेरो लागि राम्रो उदाहरण बसाल्नुभयो

[पृष्ठ ४-मा भएको चित्र]

सन्‌ १९५२ मा जेरी र म, गिलियड जान तयार

[पृष्ठ ५-मा भएको चित्र]

गिलियडपछि हामीलाई दक्षिणी भागमा परिभ्रमण कार्यको असाइनमेन्ट दिइयो

[पृष्ठ ६-मा भएको चित्र]

सन्‌ १९६६ मा परिभ्रमण निरीक्षकहरू र तिनका श्रीमतीहरू गोरा अनि काला जातिको संयुक्‍त जिल्ला अधिवेशनको तयारीमा

[पृष्ठ ७-मा भएको चित्र]

गायनामा मिसनरी सेवा गर्दा आनन्द उठायौं