सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?

तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?

तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?

“याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्‌नेछौं।”—यशै. २:३.

१, २. बाइबल पात्रका उदाहरणहरूबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

 बाइबलमा लेखिएका कुराहरू तपाईंका लागि लाभदायी छन्‌ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? यसमा तपाईं वफादार पुरुष तथा स्त्रीहरूको उदाहरण पाउन सक्नुहुन्छ जसको जीवनशैली अनि गुणहरू तपाईं पछ्याउन सक्नुहुन्छ। (हिब्रू ११:३२-३४) तथापि यसमा चेतावनीमूलक उदाहरणहरू पनि पाउन सकिन्छ जसको काम तथा मनोवृत्ति हामीले पछ्याउनु हुँदैन।

वास्तवमा बाइबलमा उल्लेख गरिएका व्यक्‍तिहरूमध्ये कोही-कोही यस्ता पनि छन्‌ जसबाट हामीले पछ्याउनुपर्ने राम्रो उदाहरणका साथै गर्न नहुने कामको सन्दर्भमा चेतावनी पनि पाउँछौं। दाऊदलाई विचार गर्नुहोस्‌। तिनी सुरुमा नम्र गोठाला थिए तर पछि गएर शक्‍तिशाली राजा बने। सत्यलाई प्रेम गर्ने र यहोवामा भरोसा राख्ने सन्दर्भमा तिनी राम्रो उदाहरण हुन्‌। तैपनि तिनले बेतशेबासँग अवैध यौनसम्बन्ध राखेर, उरियाहको हत्या गरेर अनि यहोवाको इच्छा विपरीत जनगणना लिएर गम्भीर गल्ती गरे। तर हामी यस लेखमा दाऊदका छोरा सुलेमानको विषयमा चर्चा गर्नेछौं, जो एक राजा अनि बाइबल लेखक पनि थिए। सुरुमा हामी तिनले बसालेका दुई वटा असल उदाहरण विचार गरौं।

‘सुलेमानको बुद्धि’

३. सुलेमानले हाम्रो लागि राम्रो उदाहरण बसाले भनेर हामी किन भन्‍न सक्छौं?

महान्‌ सुलेमान येशू ख्रीष्टले राजा सुलेमान हाम्रो लागि असल उदाहरण हुन्‌ भनी बताउनुभयो। येशूले केही शङ्‌कालु यहूदीलाई यसो भन्‍नुभयो: “न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन्‌ र यसलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌। तर हेर, सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।” (मत्ती १२:४२) हो, सुलेमान आफ्नो बुद्धिका लागि प्रख्यात थिए अनि तिनले हामीलाई पनि बुद्धि प्राप्त गर्न आग्रह गरे।

४, ५. सुलेमानले कसरी बुद्धि प्राप्त गरे तर आज हामीले चाहिं बुद्धि प्राप्त गर्न के गर्नुपर्छ?

सुलेमानको शासनकालको सुरुतिर परमेश्‍वर तिनको सपनामा देखा परेर तिनलाई केही माग्न भन्‍नुभयो। आफूसित त्यत्ति धेरै अनुभव छैन भन्‍ने कुरा थाह भएकोले तिनले परमेश्‍वरसित बुद्धि मागे। ( १ राजा ३:५-९ पढ्‌नुहोस्‌) सुलेमान राजाले धनसम्पत्ति अनि गौरवको सट्टा बुद्धि मागेको देखेर परमेश्‍वर खुसी हुनुभयो र तिनलाई “बुद्धि र समझ भएको मन” दिनुका साथै धन-सम्पत्ति पनि दिनुभयो। (१ राजा ३:१०-१४) येशूले भन्‍नुभएझैं सुलेमानको बुद्धि यति असामान्य थियो कि तिनको विषयमा सुनिसकेपछि आफैले तिनको बुद्धि जाँच्न शबाकी रानीले कोसौं यात्रा गरिन्‌।—१ राजा १०:१, ४-९.

आज हामी सुलेमानले जस्तै चमत्कारपूर्ण ढङ्‌गमा बुद्धि प्राप्त गर्ने आशा गर्दैनौं। “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ” भनी सुलेमानले बताए। तर परमेश्‍वरले दिने यो गुण प्राप्त गर्न हामीले मेहनत गर्नुपर्छ भन्‍ने कुरालाई सङ्‌केत गर्दै तिनले यसरी लेखे: ‘बुद्धिमा तेरो ध्यान र तेरो मन समझशक्‍तिमा लगा।’ यस सन्दर्भमा तिनले ‘माग्नु’, ‘खोज्नु’ र ‘खन्‍नु’ भन्‍ने जस्ता अभिव्यक्‍तिहरू चलाए। (हितो. २:१-६) हो, बुद्धि पाउन सम्भव छ।

६. बुद्धि प्राप्त गर्ने सन्दर्भमा सुलेमानको असल उदाहरणबाट हामीले लाभ उठाइरहेका छौं भनेर कसरी देखाउन सक्छौं?

हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ, ‘के म पनि सुलेमानले जस्तै ईश्‍वरीय बुद्धिको मोल गर्छु?’ आर्थिक उथलपुथलको कारण धेरैको ध्यान आफ्नो जागिर र आम्दानीमा छ। साथै, कस्तो शिक्षा लिने र कति शिक्षा लिने भन्‍ने मानिसहरूको निर्णयमा पनि यसले असर गरेको छ। तपाईं र तपाईंको परिवारलाई चाहिं यसले कस्तो असर गरेको छ? तपाईंले गर्ने छनौटहरूले तपाईं ईश्‍वरीय बुद्धिको मोल गर्ने अनि यसको खोजी गर्ने व्यक्‍ति हुनुहुन्छ भनेर देखाउँछ? आफ्ना प्राथमिकता तथा लक्ष्यहरू छाँटकाँट गरेर तपाईं अझ बढी बुद्धि प्राप्त गर्न सक्नुहुन्छ कि? बुद्धि प्राप्त गर्दा र त्यसैअनुसार काम गर्दा यसले तपाईंलाई अनन्त लाभ पुऱ्‍याउनेछ। सुलेमानले यस्तो लेखे: “जे ठीक र न्यायसंगत छ सो तैंले बुझ्नेछस्‌, र असल मानिसको बाटोमा मात्र तँ हिंड्‌नेछस्‌।”—हितो. २:९.

साँचो उपासनालाई प्राथमिकता दिंदा शान्ति छायो

७. परमेश्‍वरको निम्ति भव्य मन्दिर कसरी बनाइयो?

यहोवाको उपासना गर्न मोशाको समयदेखि नै बासस्थानको प्रयोग हुँदै आएको थियो। तर राजा सुलेमानले आफ्नो शासनकालको सुरुतिर त्यसको साटो भव्य मन्दिर बनाउन सुरु गरे। (१ राजा ६:१) यसलाई सुलेमानको मन्दिर भनिए तापनि यो तिनले आफ्नै बुद्धिले बनाएका थिएनन्‌। अनि वास्तुकारको रूपमा नाम कमाउन वा दानी व्यक्‍ति भनेर चिनिन पनि तिनले त्यो मन्दिर बनाएका थिएनन्‌। वास्तवमा त्यो मन्दिर बनाउने योजना दाऊदको थियो। उनले मन्दिर बनाउने प्रस्ताव राखेपछि परमेश्‍वरले उनलाई त्यो मन्दिर के-कसरी बनाउने भनेर सम्पूर्ण विवरण दिनुभएको थियो अनि त्यसमा के-के सामग्री राख्ने त्यो समेत बताउनुभएको थियो। दाऊदले त्यो मन्दिर बनाउनको लागि प्रशस्त आर्थिक सहयोग पनि दिएका थिए। (२ शमू. ७:२, १२, १३; १ इति. २२:१४-१६) यसको निर्माण गर्ने जिम्मेवारी भने सुलेमानले पाए र त्यो काम सिध्याउन साढे सात वर्ष लाग्यो।—१ राजा ६:३७, ३८; ७:५१.

८, ९. (क) असल कामलाई निरन्तरता दिने सन्दर्भमा सुलेमानबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (ख) सुलेमानले साँचो उपासनालाई प्राथमिकता दिंदा नतिजा कस्तो भयो?

असल कामलाई निरन्तरता दिने सन्दर्भमा सुलेमानले हाम्रो निम्ति राम्रो उदाहरण बसाले अनि तिनले सर्वमहत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गरे। मन्दिर बनाउने काम सिद्धिएर करारको सन्दुकलाई त्यहाँ राखेपछि तिनले सबैका सामु यहोवालाई प्रार्थना गरे। तिनको प्रार्थनाको केही भाग यस्तो थियो: “तपाईंको नजर यस भवनमा रात-दिन सधैंभरिनै रहोस्‌। यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘मेरो नाउँ त्यहाँ रहनेछ।’ यसरी तपाईंको दास, मैले, यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तपाईंले सुन्‍नुहोस्‌।” (१ राजा ८:६, २९) इस्राएली अनि परदेशीहरूले परमेश्‍वरको महिमाको निम्ति बनाइएको त्यस मन्दिरतर्फ फर्केर प्रार्थना गर्न सक्थे।—१ राजा ८:३०, ४१-४३, ६०.

सुलेमानले साँचो उपासनालाई प्राथमिकता दिंदा नतिजा कस्तो भयो? मन्दिर समर्पणको चाड सकिएपछि मानिसहरू यहोवाले ‘दाऊद र आफ्नो प्रजा इस्राएललाई दिनुभएका सबै उन्‍नतिको निम्ति खुसी र मनमा हर्षित भए।’ (१ राजा ८:६५, ६६) सुलेमानले शासन गरेको ४० वर्षसम्म उल्लेखनीय रूपमा शान्ति र समृद्धि छायो। ( १ राजा ४:२०, २१, २५ पढ्‌नुहोस्‌) त्यो कुरा भजन ७२ अध्यायमा बताइएको छ र त्यसबाट हामी महान्‌ सुलेमान येशू ख्रीष्टको शासनमा हामीले के-कस्तो आशिष्‌ पाउनेछौं भनेर अझ राम्ररी थाह पाउन सक्छौं।—भज. ७२, ६-८, १६.

सुलेमानको चेतावनीमूलक उदाहरण

१०. सुलेमानको कुन चाहिं कमजोरी हाम्रो दिमागमा तुरुन्तै आउन सक्छ?

१० सुलेमानको जीवनशैलीबाट हामी चेतावनी पनि पाउन सक्छौं भनेर किन भन्‍न सकिन्छ? सायद तपाईंले सबैभन्दा पहिले तिनका विदेशी पत्नीहरू र उपपत्नीहरूको कुरा सम्झनुभयो होला। हामी बाइबलमा यस्तो लेखिएको पाउँछौं: “[सुलेमान] वृद्ध हुँदा तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए, र तिनी आफ्ना पिता दाऊदझैं परमप्रभु आफ्ना परमेश्‍वरका सम्पूर्ण रीतिले भक्‍त भएनन्‌।” (१ राजा ११:१-६) तिनको जस्तो मूर्ख कदम नचाल्न तपाईं कटिबद्ध हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर सुलेमानको जीवनबाट पाउन सकिने चेतावनी के यति मात्र हो? हामीले हतपत याद नगर्ने तिनको जीवनका केही पक्ष विचार गरौं र त्यसबाट कस्तो चेतावनी पाउन सकिन्छ, हेरौं।

११. सुलेमानको पहिलो विवाहबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

११ सुलेमानले ४० वर्ष शासन गरे। (२ इति. ९:३०) त्यसैले १ राजा १४:२१ पढेर हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? (पढ्‌नुहोस्‌) त्यस पदमा बताइएअनुसार सुलेमानको मृत्यु भएपछि तिनकी पत्नी “नामा भन्‍ने एक अम्मोनी स्त्री”-बाट जन्मिएको छोरा रहबाम राजा भए। राजा हुने बेला रहबाम ४१ वर्षका थिए। यसको मतलब सुलेमानले आफू राजा हुनुभन्दा अगाडि नै मूर्तिपूजा व्याप्त भएको शत्रु राष्ट्रकी स्त्रीसित विवाह गरेका थिए। (न्याय. १०:६; २ शमू. १०:६) के उनी पनि मूर्तिपूजक थिइन्‌? उनले मूर्तिपूजालाई नै निरन्तरता दिइन्‌ अथवा राहाब र रूथले जस्तै मूर्तिपूजा त्यागेर साँचो परमेश्‍वरको उपासना गरिन्‌, त्यो त पक्का छैन। (रूथ १:१६; ४:१३-१७; मत्ती १:५, ६) तैपनि, सुलेमानको ससुराली खलक र नातागोताहरूले भने यहोवाको सेवा गर्दैनथे भन्‍ने कुरा पक्का छ।

१२, १३. आफ्नो शासनकालको सुरुतिर सुलेमानले कस्तो गलत निर्णय गरे र तिनले कस्तो तर्क गरेका हुन सक्छन्‌?

१२ तिनी राजा भएपछि अवस्था झन्‌-झनै खस्किंदै गयो। “सुलेमानले मिश्र देशका राजा फिरऊनकी छोरीसँग विवाह गरेर तिनीसित मित्रता बाँधे। . . . सुलेमान राजाले तिनलाई दाऊदको शहरमा ल्याएर राखे।” (१ राजा ३:१) के यी मिश्री स्त्रीले रूथको अनुकरण गर्दै साँचो उपासना अँगालिन्‌? तिनले त्यसो गरिन्‌ भन्‍ने कुनै छनक हामी पाउँदैनौं। बरु, समयको दौडान सुलेमानले तिनको निम्ति (र सायद तिनका मिश्री सुसारेहरूको निम्ति) दाऊदको सहरबाहिर एउटा महल बनाइदिए। किन? झूटा देवताका उपासकहरू करारको सन्दुक नजिकै बस्नु उचित हुँदैन भनेर तिनले त्यसो गरेका थिए भनी बाइबल बताउँछ।—२ इति. ८:११.

१३ सायद सुलेमानले राजनैतिक फाइदा विचार गरेर मिश्री राजकुमारीसँग विवाह गरेको हुनुपर्छ। तर के तिनले त्यस्तो बहाना बनाएर झूटा उपासकहरूसँग विवाह गर्न मिल्थ्यो? धेरै वर्षअघि परमेश्‍वरले मूर्तिपूजक कनानीहरूसँग विवाह गर्न निषेध गर्नुभएको थियो र निषेध गरिएका राष्ट्रहरूको सूचीसमेत दिनुभएको थियो। (प्रस्थ. ३४:११-१६) त्यो सूचीमा मिश्र देश पर्दैन भनेर सुलेमानले तर्क गरेका पो थिए कि? यदि त्यसो हो भने के त्यो तर्क उचित थियो? वास्तवमा, ती राष्ट्रहरूले इस्राएलीहरूलाई साँचो उपासनाबाट बहकाएर झूटो उपासनातर्फ लैजान सक्छन्‌ भनेर यहोवाले स्पष्टसित बताउनुभएको खतरालाई सुलेमानले बेवास्ता गरिरहेका थिए।—व्यवस्था ७:१-४ पढ्‌नुहोस्‌।

१४. सुलेमानको चेतावनीमूलक उदाहरणलाई गम्भिरतापूर्वक लियौं भने हामी कसरी लाभ उठाउन सक्छौं?

१४ सुलेमानको जीवनशैलीलाई के हामी चेतावनीमूलक उदाहरणको रूपमा लिनेछौं? “प्रभुको चेलासित मात्र” विवाह गर्नू भन्‍ने परमेश्‍वरको निर्देशनलाई बेवास्ता गर्दै बेग्लै विश्‍वास भएको व्यक्‍तिसित रोमान्टिक सम्बन्ध राख्नको लागि कुनै बहिनीले बहाना बनाउन सक्छिन्‌। (१ कोरि. ७:३९) त्यस्तै बहाना बनाएर कसै-कसैले स्कूलको अतिरिक्‍त गतिविधिमा धेरै समय बिताउने वा कुनै क्लबको सदस्य बन्‍ने निर्णय गर्न सक्छन्‌, आम्दानी कम देखाएर कर छल्न सक्छन्‌ अथवा आफूलाई अप्ठेरोमा पार्ने प्रश्‍न सोधिंदा झूट बोल्न सक्छन्‌। भन्‍न खोजेको कुरा के हो भने, सुलेमानले छली तर्कहरू गरेर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेका थिए र यस्तै खतरामा हामी पनि पर्न सक्छौं।

१५. सुलेमानसित व्यवहार गर्दा यहोवाले कसरी कृपा देखाउनुभयो तर हामीले कुन कुरा याद गर्नुपर्छ?

१५ रोचक कुरा, सुलेमानले विदेशी राजकुमारीसित विवाह गरेको कुरा उल्लेख गरिसकेपछि परमेश्‍वरले तिनको बिन्ती सुनेर तिनलाई बुद्धिका साथै धनसम्पत्ति पनि दिनुभयो भनेर बाइबल बताउँछ। (१ राजा ३:१०-१३) सुलेमानले यहोवाको निर्देशन नस्वीकारे तापनि उहाँले तिनलाई तुरुन्तै राजाको रूपमा त्यागेको वा कडा अनुशासन दिएको सङ्‌केत हामी कतै पाउँदैनौं। यो विवरणले के देखाउँछ भने हामी माटोबाट बनेका त्रुटिपूर्ण मानिसहरू हौं भनेर परमेश्‍वर जान्‍नुहुन्छ। (भज. १०३:१०, १३, १४) तर याद राख्नुहोस्‌: हामी अहिले जे रोप्छौं, ढिलो होस्‌ या चाँडो, त्यसको कटनी गर्नै पर्छ।

यत्ति धेरै पत्नी!

१६. धेरै पत्नी ल्याएर सुलेमानले कुन निर्देशन बेवास्ता गरिरहेका थिए?

१६ श्रेष्ठगीतको पुस्तकमा सुलेमानले एउटी कन्ये केटीको खुबै प्रशंसा गरेका छन्‌। तिनले ती कन्या ६० रानी अनि ८० उपपत्नीहरूभन्दा पनि राम्री छिन्‌ भनेर बताए। (श्रेष्ठ. ६:१, ८-१०) यदि यसले सुलेमानको आफ्नै अवस्थालाई सङ्‌केत गरेको हो भने त्यतिबेला तिनकी पत्नीहरूको सङ्‌ख्या कति पुगेको थियो भनेर हामी थाह पाउन सक्छौं। यदि उनीहरूमध्ये धेरैजसो अथवा सबै नै साँचो परमेश्‍वरको उपासक भए तापनि परमेश्‍वरले मोशामार्फत इस्राएलका राजाहरूलाई दिनुभएको यस्तो निर्देशन तिनले पालन गरेका थिएनन्‌: “राजाले आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरोस्‌, नत्रता उसको मन बरालिनेछ।” (व्यव. १७:१७) तैपनि परमेश्‍वरले तिनलाई त्याग्नुभएन। उहाँले तिनलाई अझै आशिष्‌ दिइरहनुभयो र श्रेष्ठगीतको पुस्तक लेख्न प्रयोग गर्नुभयो।

१७. कुन वास्तविकताप्रति हामीले आँखा चिम्लनु हुँदैन?

१७ के यसको मतलब सुलेमानले जत्ति गल्ती गरे पनि परमेश्‍वरबाट कुनै सजाय पाएनन्‌ र हामी पनि त्यसै गर्न सक्छौं भन्‍ने हो? अहँ, होइन। बरु, यसबाट परमेश्‍वर केही समयका लागि धीरज गर्नुहुन्छ भन्‍ने देखिन्छ। तर परमेश्‍वरको कुनै जनले उहाँको निर्देशन बेवास्ता गर्दा तुरुन्तै खराब नतिजा भोगेनन्‌ भन्दैमा त्यसको नतिजा पछिसम्म पनि राम्रै हुन्छ भन्‍ने होइन। सुलेमानले के लेखे, याद गर्नुहोस्‌: “खराब कामको दण्ड तुरुन्तै नपाएकोले नै मानिसले यति साहससित खराब काम गर्दछ।” तिनले अझै यसो भने: “परमेश्‍वरसँग डराउनेहरूलाई असलै हुनेछ भनी मलाई थाहा छ। परमेश्‍वरप्रतिको तिनीहरूको भयले यो कुरा पक्का गराउँछ।”—उप. ८:११, १२.

१८. गलाती ६:७ मा लेखिएको कुरा सत्य हो भनेर सुलेमानको उदाहरणबाट कसरी देखिन्छ?

१८ परमेश्‍वरको वचनमा पाइने यो सत्य भनाइअनुसारै सुलेमानले गरेको भए कत्ति राम्रो हुने थियो! हो, तिनले थुप्रै असल काम गरे अनि लामो समयसम्म परमेश्‍वरबाट थुप्रै आशिष्‌हरू पनि पाए। तर समय बित्दै जाँदा तिनले एकपछि अर्को नराम्रो काम गर्दै गए। तिनमा त्यसो गर्ने बानी नै बस्यो। पछि प्रेषित पावलले परमेश्‍वरको प्रेरणा पाएर लेखेको कुरा कत्ति सत्य छ: “नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिंदैन। किनकि मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ।” (गला. ६:७) परमेश्‍वरको निर्देशनलाई बेवास्ता गर्दा सुलेमानले पछि नराम्रो नतिजा भोग्नुपऱ्‍यो। “सुलेमान राजा स्त्री प्रेमी थिए, औ फिरऊनकी छोरीबाहेक तिनले धेरै विदेशी स्त्रीहरू, अर्थात्‌ मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्ती स्त्रीहरू”-लाई प्रेम गरे भनेर लेखिएको कुरा हामी बाइबलमा पाउँछौं। (१ राजा ११:१) उनीहरूमध्ये धेरैजसोले झूटो उपासनालाई नै निरन्तरता दिएको हुनुपर्छ। उनीहरूको प्रभावबाट सुलेमान अछुतो रहेनन्‌। तिनी पनि बहकिए र धीरजी परमेश्‍वर यहोवाको अनुमोदन गुमाउन पुगे।—१ राजा ११:४-८ पढ्‌नुहोस्‌।

तिनको असल र खराब उदाहरणबाट पाठ सिक्नुहोस्‌

१९. बाइबलमा थुप्रै असल उदाहरण दिइएको छ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ?

१९ यहोवाले पावललाई यस्तो कुरा लेख्ने प्रेरणा दिनुभयो: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) ती लेखिएका कुराहरूअन्तर्गत असाधारण विश्‍वास देखाउने पुरुष तथा स्त्रीका असल उदाहरणहरू पनि पर्छन्‌। पावलले यसो भन्‍न सके: “अझ अरू क-कसको विषयमा म भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्तह, दाऊद, शमूएलका साथै अरू भविष्यवक्‍ताहरूको विषयमा बताउन थालें भने मलाई समय पुग्दैन। विश्‍वासैले गर्दा यिनीहरूले भिडन्त गर्न आएका राज्यहरूलाई परास्त गरे, परमेश्‍वरको स्तर स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे, . . . कमजोर अवस्थाबाट शक्‍तिशाली बनाइए।” (हिब्रू ११:३२-३४) ती बाइबल विवरणहरूमा दिइएका राम्रा कुराहरूको अनुकरण गरेर धर्मशास्त्रमा पाइने असल उदाहरणहरूबाट हामी लाभ उठाउन सक्छौं र उठाउनु पनि पर्छ।

२०, २१. परमेश्‍वरको वचनमा पाइने चेतावनीमूलक उदाहरणबाट लाभ उठाउन तपाईं किन कटिबद्ध हुनुहुन्छ?

२० बाइबलका केही विवरणहरूमा भने हामी चेतावनीमूलक उदाहरण पाउँछौं। तीमध्ये केही मानिसहरूले त सुरुमा यहोवाको अनुमोदन पाएका थिए र उहाँको सेवा गरेका थिए। बाइबलमा यस्ता विवरणहरू पढ्‌दा ती मानिसहरू कुन कुरामा चुके अनि कसरी बहकिए र हाम्रो लागि चेतावनीमूलक उदाहरण बन्‍न पुगे, त्यो याद गर्न सक्छौं। कोही-कोहीले समयको दौडान गलत मनोवृत्ति अथवा झुकाव विकास गरे अनि अन्तमा नराम्रो नतिजा भोगे भनेर हामी बुझ्न सक्छौं। त्यस्ता विवरणहरूबाट हामी कसरी पाठ सिक्न सक्छौं? हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘त्यस्तो झुकाव कसरी उत्पन्‍न भयो? ममा पनि त्यस्तो झुकाव उत्पन्‍न हुन सक्छ कि? त्यसो हुन नदिन र त्यस्ता चेतावनीमूलक उदाहरणहरूबाट लाभ उठाउन म के गर्न सक्छु?’

२१ हामीले यस्ता उदाहरणहरूलाई गम्भीरतासाथ लिनै पर्छ किनभने पावल यस्तो लेख्न उत्प्रेरित भए: “यी कुराहरू उदाहरणको रूपमा तिनीहरूमाथि आइपरे अनि यस युगको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।”—१ कोरि. १०:११.

तपाईंले के सिक्नुभयो?

• बाइबलमा असल तथा चेतावनीमूलक दुवै प्रकारका उदाहरण किन दिइएको हो?

• सुलेमानले कसरी एकपछि अर्को खराब बानी विकास गरे?

• सुलेमानको चेतावनीमूलक उदाहरणबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

परमेश्‍वरले दिनुभएको बुद्धिको सुलेमानले सदुपयोग गरे

[पृष्ठ १२-मा भएको चित्र]

के तपाईं सुलेमानको चेतावनीमूलक उदाहरणबाट लाभ उठाउँदै हुनुहुन्छ?