सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?

“तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ। तपाईंको आत्मा [ “पवित्र शक्‍ति,” NW] भला छ, मलाई सोझो बाटोमा डोऱ्‍याउनुहोस्‌।”—भज. १४३:१०.

१. अदृश्‍य शक्‍तिले मानिसलाई कसरी डोऱ्‍याउन सक्छ, उदाहरण दिनुहोस्‌।

 के तपाईंले कहिल्यै बाटो पत्ता लगाउन कम्पासको प्रयोग गर्नुभएको छ? कम्पास भनेको एउटा साधारण उपकरण हो। यसमा एउटा मात्र घुम्ने भाग हुन्छ जसलाई चुम्बकीय सुई भनिन्छ। चुम्बकीय शक्‍ति भनिने अदृश्‍य शक्‍तिको कारण यो सुई पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवतिर तेर्सिएर बस्छ। शताब्दियौंदेखि अन्वेषकहरू र यात्रीहरूले जल अनि थलको यात्रा गर्दा डोऱ्‍याइको लागि कम्पासको प्रयोग गर्दै आएका छन्‌।

२, ३. (क) युगौंअघि यहोवाले सृष्टि गर्न के चलाउनुभयो? (ख) परमेश्‍वरको सक्रिय शक्‍तिले हामीलाई डोऱ्‍याउन सक्छ भनेर किन आशा गर्न सकिन्छ?

योभन्दा पनि महत्त्वपूर्ण अर्को एउटा अदृश्‍य शक्‍ति छ जुन शक्‍ति हाम्रो डोऱ्‍याइको लागि नभई हुँदैन। त्यो के हो? त्यस शक्‍तिबारे बाइबलको सुरुका पदहरूमा चर्चा गरिएको छ। युगौंअघि यहोवाले गर्नुभएको कामबारे उत्पत्तिको विवरण यसो भन्छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” यसको लागि उहाँले आफ्नो बलवान्‌ शक्‍ति प्रयोग गर्नुभयो किनकि उत्पत्तिको विवरण अझै यसो भन्छ: “औ परमेश्‍वरका आत्मा [ “पवित्र शक्‍ति,” NW] पानीमाथि घुमिरहनुहुन्थ्यो।” (उत्प. १:१, २) हो, उहाँले पवित्र शक्‍ति अर्थात्‌ आफ्नो सक्रिय शक्‍ति चलाएर सम्पूर्ण थोक सृष्टि गर्नुभयो। यहोवाले आफ्नो पवित्र शक्‍ति नचलाएको भए हामी लगायत कुनै पनि कुरा अस्तित्वमा आउने थिएन।—अय्यू. ३३:४; भज. १०४:३०.

सृष्टि गर्न यहोवाले आफ्नो पवित्र शक्‍ति चलाउनुभयो भनेर त हामीले थाह पाइसक्यौं तर के यसले हाम्रो जीवनमा अरू तरिकामा पनि असर गर्न सक्छ? हो, गर्न सक्छ। यो कुरा परमेश्‍वरको छोरा येशूले आफ्ना चेलाहरूलाई भनेको कुराबाट स्पष्ट हुन्छ: “सत्य राम्ररी बुझ्न मदत गरेर त्यसले [पवित्र शक्‍तिले] तिमीहरूलाई डोऱ्‍याउनेछ।”—यूह. १६:१३.

पवित्र शक्‍ति के हो?

४, ५. (क) परमेश्‍वरको पवित्र शक्‍तिको सन्दर्भमा केही मानिसहरूमा कस्तो गलत धारणा छ? (ख) पवित्र शक्‍ति के हो भनेर तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

तपाईंले प्रचारमा भेट्‌ने केही मानिसहरूको बाइबलमा “पवित्र शक्‍ति”-लाई “पवित्र आत्मा” भनेर अनुवाद गरिएको हुन सक्छ। त्रिएकमा विश्‍वास गर्ने मानिसहरूले यसलाई पिता परमेश्‍वरको बराबरीमा आउने एक जना अदृश्‍य व्यक्‍ति मान्छन्‌। (१ कोरि. ८:६) तर त्रिएकको शिक्षा धर्मशास्त्रसित फिटिक्कै मेल खाँदैन।

त्यसोभए, पवित्र शक्‍ति वास्तवमा के हो त? उत्पत्ति १:२ मा चलाइएको हिब्रू शब्द रुवाक-लाई अक्सर ‘शक्‍ति’ भनेर अनुवाद गरिए तापनि यसलाई ‘बतास’ वा अन्य पर्यायवाची शब्द चलाएर पनि अनुवाद गर्न सकिन्छ। हुनत हामी बतास देख्न सक्दैनौं तर यसले गर्ने काम भने देख्न सक्छौं। त्यसैगरि, परमेश्‍वरको शक्‍ति पनि अदृश्‍य छ तर यसको काम भने हामी देख्न सक्छौं। परमेश्‍वरको शक्‍ति कुनै व्यक्‍ति होइन। आफूले चाहेको कुरा सम्भव तुल्याउन परमेश्‍वर यो शक्‍ति मानिस वा अन्य कुराहरूमा प्रयोग गर्नुहुन्छ। सर्वोच्च परमेश्‍वरबाट त्यस्तो शक्‍ति पाउन सकिन्छ भन्‍ने कुरामा विश्‍वास गर्न गाह्रो छ र? अहँ, छैन!—यशैया ४०:१२, १३ पढ्‌नुहोस्‌।

६. दाऊदले यहोवालाई कस्तो बिन्ती गरे?

के हामीलाई जीवनभर डोऱ्‍याउन यहोवाले आफ्नो पवित्र शक्‍ति चलाउनुहुन्छ? भजनहार दाऊदलाई उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु।” (भज. ३२:८) के दाऊद यहोवाको डोऱ्‍याइ चाहन्थे? हो, चाहन्थे। त्यसैकारण त तिनले यहोवालाई यस्तो बिन्ती गरे: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ। तपाईंको आत्मा भला छ, मलाई सोझो बाटोमा डोऱ्‍याउनुहोस्‌।” (भज. १४३:१०) हामीले पनि त्यसरी नै इच्छुक भएर यहोवाको डोऱ्‍याइ खोज्नुपर्छ। किन? यसको चारवटा कारण विचार गरौं।

हामी आफैलाई डोऱ्‍याउन असक्षम छौं

७, ८. (क) यहोवाको मदतविना हामी आफैलाई डोऱ्‍याउन असक्षम छौं, किन? (ख) यस दुष्ट संसारमा हामीले किन आफ्नो बाटो आफै पहिल्याउन खोज्नुहुँदैन?

हामी परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुरूप हिंड्‌न इच्छुक हुनुपर्ने पहिलो कारण हो: हामी आफैलाई डोऱ्‍याउन असक्षम छौं। “डोऱ्‍याउनु” भनेको “जानुपर्ने बाटोमा सँगसँगै हिंडाउनु वा बाटो देखाउनु” हो। तर आफैलाई डोऱ्‍याउने क्षमतासहित यहोवाले हामीलाई सृष्टि गर्नुभएको छैन। त्यसमाथि पनि हामी त्रुटिपूर्ण छौं। यहोवाका अगमवक्‍ता यर्मियाले यस्तो लेखे: “हे परमप्रभु, मलाई थाहा छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मि. १०:२३) किन? हामीले आफैलाई डोऱ्‍याउन नसक्नुको कारणबारे यहोवाले यर्मियालाई बताउनुभयो। हाम्रो भित्री मनुष्यत्वबारे उहाँले यसो भन्‍नुभयो: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?”—यर्मि. १७:९; मत्ती १५:१९.

अनुभवी गाइड वा कम्पासविना अनुभवहीन व्यक्‍ति एक्लै घना जङ्‌गलको यात्रामा निस्कन्छ भने त्यो कत्ति मूर्खतापूर्ण कुरा हो नि, होइन र? एकलासको ठाउँमा प्रतिकूल परिस्थिति आइपर्दा के गर्ने भन्‍ने ज्ञान छैन अनि सुरक्षितसाथ आफ्नो गन्तव्यसम्म पुग्न बाटो देखाउने अनुभवी गाइड पनि साथमा छैन भने त्यो व्यक्‍तिले आफ्नो जीवन खतरामा पारिरहेको हुन्छ। त्यसैगरि, यदि कुनै व्यक्‍तिले यो दुष्ट संसारमा परमेश्‍वरको डोऱ्‍याइ नखोजी आफ्नो इच्छाअनुसार चल्न खोज्छ भने त्यो व्यक्‍तिले पनि आफ्नो जीवनमा भयावह नतिजा भोग्नुपर्ने हुन्छ। यस दुष्ट संसारको सफलतासाथ सामना गर्ने एउटै मात्र तरिका दाऊदले जस्तै यहोवालाई प्रार्थना गर्नु हो। तिनले यसो भनेका थिए: “मेरो पाइलाले तपाईंका बाटोहरूमा दृढसाथ टेकेका छन्‌, मेरा खुट्टा चिप्लेका छैनन्‌।” (भज. १७:५; २३:३) त्यस्तो डोऱ्‍याइ कसरी पाउन सकिन्छ?

९. पृष्ठ १७ को चित्रमा देखाइएजस्तै परमेश्‍वरको शक्‍तिले हामीलाई कसरी सही बाटोतर्फ डोऱ्‍याउनेछ?

यदि हामी नम्र छौं अनि यहोवामाथि भरोसा गर्न इच्छुक छौं भने उहाँले हामीलाई डोऱ्‍याउनको लागि पवित्र शक्‍ति दिनुहुनेछ। त्यस सक्रिय शक्‍तिले हामीलाई कसरी मदत गर्नेछ? येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई बाँकी अरू कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।” (यूह. १४:२६) यदि हामीले नियमित रूपमा अनि प्रार्थनापूर्वक परमेश्‍वरको वचन र त्यसमा समावेश भएका येशूका शिक्षाहरू पढ्‌छौं भने पवित्र शक्‍तिले हामीलाई यहोवाको गहिरो बुद्धि अझ राम्ररी बुझ्न मदत गर्नेछ। यसले गर्दा हामीले परमेश्‍वरको इच्छा अझ राम्रोसँग पूरा गर्न सक्नेछौं। (१ कोरि. २:१०) साथै, जीवनको बाटोमा अप्रत्याशित मोड आइपर्दा पवित्र शक्‍तिले हामीलाई सही बाटो देखाउनेछ। यसले हामीलाई पहिल्यै सिकिसकेका बाइबल सिद्धान्तहरू सम्झन र भावी कदम चाल्न ती सिद्धान्तहरू कसरी प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा बुझ्न मदत दिनेछ।

येशू पवित्र शक्‍तिद्वारा डोरिनुभएको थियो

१०, ११. परमेश्‍वरको एक मात्र छोराले पवित्र शक्‍तिले आफूमा कस्तो प्रभाव पार्ने आशा गर्नुभएको थियो र पछि के भयो?

१० हामी पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्न इच्छुक हुनुपर्ने दोस्रो कारण हो: परमेश्‍वरले आफ्नो छोरालाई यही पवित्र शक्‍तिद्वारा डोऱ्‍याउनुभएको थियो। पृथ्वीमा आउनुअघि नै परमेश्‍वरको एक मात्र छोरालाई धर्मशास्त्रमा गरिएको यो भविष्यवाणी थाह थियो: “परमप्रभुको आत्मा उहाँमा रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्‍तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको श्रद्धाको आत्मा।” (यशै. ११:२) पृथ्वीमा आफूले सामना गर्नुपरेको गाह्रोसाह्रो परिस्थितिहरूमा परमेश्‍वरको शक्‍तिको मदत पाउन येशू कत्ति इच्छुक हुनुहुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त!

११ यहोवाको वचन सत्य साबित भयो। येशूको बप्तिस्मालगत्तै के भयो, त्यसबारे सुसमाचारको पुस्तकमा यस्तो लेखिएको छ: “येशू पवित्र शक्‍तिले भरिएर यर्दन नदीबाट जानुभयो र पवित्र शक्‍तिले उहाँलाई उजाडस्थानतर्फ डोऱ्‍यायो।” (लूका ४:१) त्यहाँ उपवास बस्दा, प्रार्थना गर्दा अनि मनन गर्दा यहोवाले येशूलाई पक्कै पनि आगामी दिनहरूमा के-कसो हुने हो त्यस विषयमा निर्देशन दिनुभएको अनि तयार पार्नुभएको हुनुपर्छ। परमेश्‍वरको सक्रिय शक्‍तिले येशूको मनमस्तिष्कलाई असर गऱ्‍यो। अनि त्यसले उहाँको सोचाइलाई डोऱ्‍यायो र सही निर्णय गर्न मदत गऱ्‍यो। फलस्वरूप, हरेक परिस्थितिमा कस्तो कदम चाल्नुपर्ने हो त्यस विषयमा येशूलाई थाह थियो र बुबाले जे चाहनुभएको थियो ठ्याक्कै त्यही गर्नुभयो।

१२. आफूलाई डोऱ्‍याउनको लागि हामीले किन पवित्र शक्‍ति माग्नु आवश्‍यक छ?

१२ आफ्नो जीवनमा पवित्र शक्‍तिको कत्ति धेरै महत्त्व छ भन्‍ने कुरा येशूले बुझ्नुभएको थियो। त्यसैले आफ्ना चेलाहरूसित कुरा गर्दा उहाँले पवित्र शक्‍ति माग्नु र त्यसैअनुसार डोरिनुको महत्त्वलाई एकदमै जोड दिनुभयो। ( लूका ११:९-१३ पढ्‌नुहोस्‌) हामीले पनि त्यसै गर्नु किन आवश्‍यक छ? किनभने पवित्र शक्‍तिले हाम्रो सोचाइ परिवर्तन गरिदिन्छ र ख्रीष्टको सोचाइ ग्रहण गर्न मदत गर्छ। (रोमी १२:२; १ कोरि. २:१६) हामीले आफूलाई पवित्र शक्‍तिद्वारा डोरिन दियौं भने येशूको जस्तै सोचाइ विकास गर्न र उहाँको उदाहरण पछ्याउन सक्नेछौं।—१ पत्रु. २:२१.

संसारको मनोभावले हामीलाई गलत बाटोतर्फ डोऱ्‍याउन सक्छ

१३. संसारको मनोभाव भनेको के हो र यसले मानिसहरूमा कस्तो मनोभाव विकास गराउँछ?

१३ पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्न इच्छुक हुनुपर्ने तेस्रो कारण हो: पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चालेनौं भने संसारको मनोभावले हामीलाई खराब बाटोतर्फ डोऱ्‍याउन सक्छ जुन मनोभावले अहिले थुप्रै मानिसहरूमा प्रभाव पारिरहेको छ। संसारको पनि आफ्नै किसिमको प्रभावशाली शक्‍ति छ र यसले हामीमा पवित्र शक्‍तिले विकास गर्ने मनोभावभन्दा बेग्लै किसिमको मनोभाव विकास गराउँछ। संसारको मनोभावले मानिसहरूलाई ख्रीष्टको सोचाइ विकास गर्न मदत दिनुको साटो संसारको शासक सैतानको जस्तै सोचाइ राख्न अनि त्यसको जस्तै काम गर्न लगाउँछ। ( एफिसी २:१-३; तीतस ३:३ पढ्‌नुहोस्‌) यदि कुनै व्यक्‍ति संसारको मनोभावको प्रभावमा पर्छ र शरीरका कामहरूमा लाग्छ भने त्यसले साह्रै नमीठो परिणाम निम्त्याउन सक्छ। हो, उसले परमेश्‍वरको राज्यको हकदार हुने मौका गुमाउँछ।—गला. ५:१९-२१.

१४, १५. हामी कसरी संसारको मनोभावको प्रतिरोध गर्न सक्छौं?

१४ यहोवाले हामीलाई संसारको मनोभावको प्रतिरोध गर्न आवश्‍यक कुराहरूद्वारा सुसज्जित पार्नुभएको छ। प्रेषित पावलले यसो भने: “प्रभुको चेलाको नाताले तिमीहरू उहाँबाट अनि उहाँको पराक्रमी शक्‍तिबाट तागत हासिल गरिरहो . . . ताकि तिमीहरूले त्यस खराब दिनको सामना गर्न सकोस्‌।” (एफि. ६:१०, १३) यहोवाले आफ्नो शक्‍तिद्वारा हामीलाई खराब बाटोमा डोऱ्‍याउने सैतानको दुष्प्रयासमाथि विजयी हुन मदत गर्नुहुन्छ। (प्रका. १२:९) संसारको मनोभाव प्रभावशाली छ र यसलाई हामी पूर्ण रूपमा हटाउन सक्दैनौं। तैपनि, हामी यसद्वारा भ्रष्ट हुनदेखि भने जोगिन सक्छौं। पवित्र शक्‍ति संसारको मनोभावभन्दा कता हो कता शक्‍तिशाली छ र यसले हामीलाई मदत गर्नेछ।

१५ प्रथम शताब्दीमा ख्रीष्टियन धर्म त्यागेकाहरूबारे प्रेषित पत्रुसले यसो भने: “सोझो बाटोलाई त्यागेर तिनीहरू बहकिएका छन्‌।” (२ पत्रु. २:१५) “संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति” पाएकोमा हामी कत्ति धन्यवादी छौं! (१ कोरि. २:१२) पवित्र शक्‍तिलाई आफ्नो जीवनमा काम गर्न दिएर अनि हामीलाई सही मार्गमा डोऱ्‍याउन यहोवाले गरिदिनुभएको आध्यात्मिक प्रबन्धबाट पूरापूर लाभ उठाएर हामी यस दुष्ट संसारको सैतानी मनोभावको प्रतिरोध गर्न सक्छौं।—गला. ५:१६.

पवित्र शक्‍तिले असल फल फलाउँछ

१६. पवित्र शक्‍तिले हामीमा कस्तो फल फलाउन सक्छ?

१६ पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्न इच्छुक हुनुपर्ने चौथो कारण हो: यसद्वारा डोरिएकाहरूको जीवनमा यसले असल फल फलाउँछ। ( गलाती ५:२२, २३ पढ्‌नुहोस्‌) हामीमध्ये कसलाई पो मायालु, आनन्दित अनि शान्तिप्रिय बन्‍न मनपर्दैन र? वा धीरजी, दयालु अनि भलो हुन मनपर्दैन र? साथै बलियो विश्‍वास, नम्रता अनि संयम खेती गरेर लाभ उठाउन नचाहने हामीमध्ये को पो होला र? पवित्र शक्‍तिले हामीलाई असल गुणहरू खेती गर्न मदत गर्छ। यस्ता गुणहरूले हामी आफैलाई अनि हाम्रो परिवार तथा सँगी उपासकहरूलाई पनि फाइदा पुऱ्‍याउँछ। यो फल खेती गर्ने काम हामीले निरन्तर गरिरहनुपर्ने काम हो किनभने हाम्रो जीवनमा पवित्र शक्‍तिको फल कति चाहिन्छ र हामी यो कति फलाउन सक्छौं त्यसको कुनै सीमा छैन।

१७. हामी कसरी पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षहरू आफ्नो जीवनमा प्रशस्त मात्रामा खेती गर्न सक्छौं?

१७ पवित्र शक्‍तिको डोऱ्‍याइअनुरूप चलेको र यसको फल फलाइरहेको कुरा हाम्रो बोली अनि व्यवहारमा देखिन्छ कि देखिंदैन भनेर आफैलाई जाँच्नु बुद्धिमानी हुन्छ। (२ कोरि. १३:५क; गला. ५:२५) आफूमा पवित्र शक्‍तिको फलका केही पक्षहरू खेती गर्नुपर्ने आवश्‍यकता महसुस हुँदा हामीले पवित्र शक्‍तिको डोऱ्‍याइअनुरूप गर्न झन्‌ धेरै प्रयास गर्न सक्छौं। बाइबल अनि हाम्रा प्रकाशनहरूको मदत लिएर हामी पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षबारे अध्ययन गर्न सक्छौं। यसो गऱ्‍यौं भने पवित्र शक्‍तिको फल आफ्नो जीवनमा कसरी प्रदर्शित गर्ने भनेर विचार गर्न सक्नुका साथै उक्‍त फल प्रशस्त मात्रामा खेती गर्ने सक्दो कोसिस पनि गर्न सक्छौं। a पवित्र शक्‍तिले हामीमा अनि हाम्रा सँगी ख्रीष्टियनहरूमा पारेको प्रभाव देख्दा, यसको डोऱ्‍याइअनुरूप चल्नुपर्ने आवश्‍यकता हामी झनै स्पष्टसित बुझ्न सक्छौं।

के तपाईं पवित्र शक्‍तिद्वारा डोरिंदै हुनुहुन्छ?

१८. परमेश्‍वरको शक्‍तिद्वारा आफूलाई डोरिन दिने सन्दर्भमा येशू हाम्रो लागि कसरी राम्रो उदाहरण हुनुहुन्छ?

१८ भौतिक ब्रह्‍माण्डको सृष्टि गर्दा येशू परमेश्‍वरको मुख्य “कारीगर” हुनुहुन्थ्यो। त्यसकारण उहाँलाई मानिसले पृथ्वीको दिशा पत्ता लगाउन प्रयोग गर्ने चुम्बकीय शक्‍तिबारे सम्पूर्ण ज्ञान छ। (हितो. ८:३०, NRV; यूह. १:३) तर पृथ्वीमा छँदा, डोऱ्‍याइको लागि येशूले उक्‍त शक्‍ति प्रयोग गर्नुभएको विवरण बाइबलमा कतै पनि पाउँदैनौं। बरु मानिसको रूपमा छँदा येशूले आफ्नो जीवनमा परमेश्‍वरको पवित्र शक्‍तिको प्रभाव अनुभव गर्नुभएको थियो भनेर चाहिं बाइबल बताउँछ। उहाँ पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार गर्न इच्छुक हुनुभयो। पवित्र शक्‍तिले आफूलाई कुनै काम गर्ने निर्देशन दिंदा उहाँले स्वीकार्नुभयो र त्यसैअनुरूप गर्नुभयो। (मर्कू. १:१२, १३; लूका ४:१४) के तपाईं पनि त्यसै गर्नुहुन्छ?

१९. पवित्र शक्‍तिले डोरिन चाहन्छौं भने हामीले के गर्नै पर्छ?

१९ अहिले पनि परमेश्‍वरको पवित्र शक्‍तिले इच्छुक व्यक्‍तिको मन-मस्तिष्कलाई प्रभाव पार्छ र डोऱ्‍याइ दिन्छ। सही दिशामा डोरिनको लागि तपाईं पवित्र शक्‍तिलाई कसरी काम गर्न दिन सक्नुहुन्छ? पवित्र शक्‍तिको लागि बिन्ती गर्दै अनि त्यसको डोऱ्‍याइ स्वीकार्न मदत माग्दै यहोवालाई निरन्तर प्रार्थना गर्नुहोस्‌। ( एफिसी ३:१४-१६ पढ्‌नुहोस्‌) पवित्र शक्‍तिको मदतद्वारा लेखिएको परमेश्‍वरको वचन बाइबलमा पाइने सल्लाह खोजेर आफ्नो प्रार्थनाअनुरूप काम गर्नुहोस्‌। (२ तिमो. ३:१६, १७) यसले दिने बुद्धिमानी निर्देशन पालन गर्नुहोस्‌ अनि पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्‌न इच्छुक हुनुहोस्‌। यस दुष्ट संसारमा हामीलाई सही डोऱ्‍याइ दिन सक्ने यहोवाको क्षमतामा पूर्ण विश्‍वास गर्नुहोस्‌।

[फुटनोट]

a पवित्र शक्‍तिको फलका प्रत्येक पक्षबारे छलफल गर्न w०७ ८/१ १८-१९; w०३ १/१५ ११; w०२ १/१५ १७; w९५ १/१५ १६; w०१ ११/१ १४-१५; w०३ ७/१ ६; w०१ १/१ २२; w०३ ४/१ १५, १९-२०; w०३ १०/१५ १४ हेर्नुहोस्‌।

के तपाईंले मुख्य कुरा बुझ्नुभयो?

• पवित्र शक्‍तिले हाम्रो जीवनमा कसरी प्रभाव पार्न सक्छ?

• पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्न इच्छुक हुनुपर्ने चारवटा कारण के-के हुन्‌?

• पवित्र शक्‍तिले दिने डोऱ्‍याइबाट पूरापूर लाभ उठाउन हामीले कस्तो योगदान पुऱ्‍याउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

पवित्र शक्‍तिले येशूको जीवनमा सशक्‍त प्रभाव पाऱ्‍यो

[पृष्ठ १७-मा भएको चित्र]

परमेश्‍वरको पवित्र शक्‍तिले मन-मस्तिष्कमा प्रभाव पार्छ र डोऱ्‍याइ दिन्छ