सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज

“यी सबै काम एउटै पवित्र शक्‍तिद्वारा हुन्छ।”—१ कोरि. १२:११.

१. यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

 पेन्तिकोस। यो एउटा शब्द सुन्दा मात्र पनि हाम्रो मनमा प्रथम शताब्दीमा घटेका रोमाञ्चकारी घटनाहरू याद आउँछ नि, होइन र? (प्रेषि. २:१-४) त्यतिबेला यहोवाले आफ्ना जनहरूमाथि पवित्र शक्‍ति खन्याउनुभएको थियो। त्यस घटनापछि परमेश्‍वरले आफ्ना जनहरूलाई डोऱ्‍याउन नयाँ तरिकामा पवित्र शक्‍ति चलाउनुभयो। यसअघिको लेखमा हामीले प्राचीन समयका विश्‍वासी जनहरूलाई तिनीहरूको गहन जिम्मेवारी पूरा गर्न पवित्र शक्‍तिले कसरी सक्षम बनायो भन्‍ने विषयमा चर्चा गऱ्‍यौं। तर प्रथम शताब्दीअघिका मानिसहरूको समयमा र प्रथम शताब्दीमा पवित्र शक्‍तिले काम गरेको तरिकामा कस्तो भिन्‍नता छ? अनि पवित्र शक्‍तिको कामबाट आज हामी ख्रीष्टियनहरूले कसरी लाभ उठाउन सक्छौं? आउनुहोस्‌, त्यस विषयमा छलफल गरौं।

“हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”

२. पवित्र शक्‍तिले गर्न सक्ने काम मरियमले कसरी थाह पाइसकेकी थिइन्‌?

प्रतिज्ञा गरिएअनुसारै पवित्र शक्‍ति खन्याइँदा मरियम पनि यरूशलेममा भएको त्यस घरको माथिल्लो तल्लाको ठूलो कोठामा थिइन्‌। (प्रेषि. १:१३, १४) तर यहोवाको पवित्र शक्‍तिले के-कस्तो आश्‍चर्यजनक काम गर्न सक्छ भनेर मरियमलाई त्यो घटना हुनुभन्दा ३० वर्ष अगाडि नै थाह थियो। यहोवाले स्वर्गबाट आफ्नो छोराको जीवन पृथ्वीमा मरियमको कोखमा सारिदिनुभयो जसले गर्दा तिनी कुमारी नै भए तापनि गर्भवती भइन्‌। तिनी “पवित्र शक्‍तिबाट” गर्भवती भएकी थिइन्‌।—मत्ती १:२०.

३, ४. मरियमले कस्तो मनोवृत्ति देखाइन्‌? अनि हामी तिनको अनुकरण कसरी गर्न सक्छौं?

मरियमलाई यस्तो अतुलनीय सुअवसर किन दिइयो? तिनको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍य स्वर्गदूतमार्फत थाह पाइसकेपछि मरियमले यसो भनिन्‌: “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ! तपाईंले घोषणा गर्नुभएअनुसारै मलाई होस्‌।” (लूका १:३८) यसो भनेर मरियमले आफ्नो मनको अवस्था प्रकट गरिन्‌ जुन कुरा परमेश्‍वरलाई पहिल्यै थाह थियो। तुरुन्तै जवाफ दिएर मरियमले परमेश्‍वरको यो इच्छा पूरा गर्न आफू तयार रहेको कुरा देखाइन्‌। गर्भवती भएपछि समाजले के भन्ला अनि आफ्नो मंगेतरसितको सम्बन्ध कस्तो होला भनेर तिनले कुनै प्रश्‍न उठाइनन्‌। बरु आफूलाई तुच्छ दासी भनेर सम्बोधन गर्दै तिनले यहोवालाई आफ्नो मालिकको रूपमा पूर्ण भरोसा गरेको देखाइन्‌।

परमेश्‍वरको सेवा गर्दा के तपाईंलाई कहिलेकाहीं चुनौती अनि जिम्मेवारीहरूको बोझले थिचेको महसुस हुन्छ? हामी प्रत्येकले आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ: ‘यहोवाले सम्पूर्ण काम आफ्नो इच्छाअनुसारै गर्नुहुनेछ भन्‍ने कुरामा के म पूर्ण भरोसा राख्छु? के म इच्छुक मनोभाव देखाउँछु?’ परमेश्‍वरलाई मनदेखि भरोसा गर्ने अनि उहाँको सार्वभौमिकतालाई समर्थन गर्ने व्यक्‍तिलाई उहाँले पवित्र शक्‍ति दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌।—प्रेषि. ५:३२.

पत्रुसलाई पवित्र शक्‍तिले मदत गऱ्‍यो

५. पत्रुसले इस्वी संवत्‌ ३३ पेन्तिकोसअघि नै परमेश्‍वरको पवित्र शक्‍तिले गरेको कस्तो काम अनुभव गरिसकेका थिए?

मरियमले जस्तै पत्रुसले पनि इस्वी संवत्‌ ३३ पेन्तिकोसअघि नै परमेश्‍वरको शक्‍तिले आफूमाथि शक्‍तिशाली तरिकामा काम गरेको अनुभव गरिसकेका थिए। येशूले तिनलाई अनि अरू प्रेषितहरूलाई दुष्ट स्वर्गदूतहरू धपाउने अख्तियार दिनुभएको थियो। (मर्कू. ३:१४-१६) बाइबलमा यसबारे त्यत्ति धेरै जानकारी त दिइएको छैन, तैपनि पत्रुसले त्यो अधिकार प्रयोग गरेको जस्तो देखिन्छ। गालील समुद्रमा येशूले पत्रुसलाई पानीमाथि हिंड्‌दै आफूकहाँ आउन निमन्त्रणा दिनुहुँदा तिनले त्यो निम्तो स्वीकारेर पानी माथि हिंडे। त्यतिबेला पनि तिनले परमेश्‍वरको पवित्र शक्‍तिको काम देखेका थिए। ( मत्ती १४:२५-२९ पढ्‌नुहोस्‌) हो, शक्‍तिशाली कामहरू गर्न पत्रुस पवित्र शक्‍तिको मदतमा भर परेका थिए। त्यसको केही समयपछि नै पवित्र शक्‍तिले पत्रुस अनि अरू चेलाहरूमाथि भिन्‍नै तरिकामा काम गर्ने थियो।

६. पवित्र शक्‍तिको मदत पाएर पत्रुसले इस्वी संवत्‌ ३३ पेन्तिकोसको दौडान र त्यसपछि कस्तो काम गर्न सके?

इस्वी संवत्‌ ३३ मा विभिन्‍न ठाउँका मानिसहरू पेन्तिकोसको चाड मनाउन यरूशलेम आएका थिए। त्यतिखेर चमत्कारपूर्ण तरिकामा पत्रुस र अरू चेलाहरूलाई ती मानिसहरूको भाषा बोल्ने क्षमता दिइयो। त्यसपछि पत्रुसले भीडसामु बोल्ने काममा नेतृत्व लिए। (प्रेषि. २:१४-३६) यी तिनै पत्रुस हुन्‌ जो कुनै समय हडबडे र डरपोक स्वभावका थिए तर अहिले तिनी डर-धम्की र खेदोको बाबजुद पनि साहसी भई साक्षी दिन सक्षम भएका छन्‌। (प्रेषि. ४:१८-२०, ३१) परमेश्‍वरले पवित्र शक्‍तिद्वारा तिनलाई विशेष ज्ञान दिनुभयो। (प्रेषि. ५:८, ९) तिनी मरेको मानिसलाई पुनर्जीवित गर्न समेत सक्षम भए।—प्रेषि. ९:४०.

७. येशूले सिकाउनुभएको कुन कुरा पत्रुसले अभिषिक्‍त भइसकेपछि मात्र स्पष्टसित बुझे?

येशूले सिकाउनुभएको धेरैजसो सत्य वचन पत्रुसले पेन्तिकोसअघि पनि प्रस्टै बुझेका थिए। (मत्ती १६:१६, १७; यूह. ६:६८) तर केही-केही कुरा भने तिनले पेन्तिकोसअघि स्पष्टसित बुझेका थिएनन्‌। जस्तो कि, ख्रीष्ट तेस्रो दिनमा अदृश्‍य रूपमा ब्यूँतनुहुनेछ भन्‍ने कुरा पत्रुसले बुझेका थिएनन्‌, न त तिनले उहाँको राज्य स्वर्गमा हुनेछ भन्‍ने कुरा नै बुझेका थिए। (यूह. २०:६-१०; प्रेषि. १:६) मानिस अदृश्‍य प्राणी बन्‍ने अनि स्वर्गीय राज्यमा शासन गर्ने कुरा पत्रुसको लागि नौलो थियो। तर पवित्र शक्‍तिद्वारा बप्तिस्मा गरिसकेपछि अनि स्वर्गीय आशा पाइसकेपछि भने तिनले येशूको शिक्षाको सार बुझ्न सके।

८. अभिषिक्‍त जन अनि “ठूलो भीड” दुवैका लागि कस्तो ज्ञान उपलब्ध छ?

येशूका चेलाहरूले पहिले हासिल नगरेको समझ उनीहरू आफैले पवित्र शक्‍ति पाइसकेपछि हासिल गर्न सके। यही पवित्र शक्‍तिको प्रेरणा पाएर ख्रीष्टियन ग्रीक धर्मशास्त्रका लेखकहरूले हाम्रो फाइदाको लागि यहोवाको उद्देश्‍यको उदेकलाग्दा पक्षहरू उल्लेख गरिदिए। (एफि. ३:८-११, १८) आज अभिषिक्‍त जन अनि “ठूलो भीड” दुवैले एउटै आध्यात्मिक आहाराबाट पोषण पाइरहेका छन्‌। (यूह. १०:१६) के तपाईं पवित्र शक्‍तिद्वारा उपलब्ध भएको परमेश्‍वरको वचनको ज्ञान अनि समझको मोल गर्नुहुन्छ?

पावल ‘पवित्र शक्‍तिले भरिए’

९. पवित्र शक्‍तिको मदत पाएर पावलले के गर्न सके?

इस्वी संवत्‌ ३३ पेन्तिकोसको लगभग एक वर्षपछि अर्का एक जना व्यक्‍तिले परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिको वरदान पाए। ती व्यक्‍ति शावल थिए जो पछि गएर पावल भनेर चिनिए। पवित्र शक्‍तिले तिनमा जुन तरिकाले काम गऱ्‍यो त्यसबाट आज हामीले पनि लाभ उठाइरहेका छौं। प्रेषित पावलले बाइबलको १४ वटा पुस्तक लेख्ने प्रेरणा पाए। अनि पत्रुसलाई जस्तै तिनलाई पनि पवित्र शक्‍तिले स्वर्गमा अमर अनि अविनाशी रूप धारण गर्ने विषयमा स्पष्टसित बुझ्न अनि लेख्न मदत गऱ्‍यो। पवित्र शक्‍तिको मदत पाएर पावलले बिरामीहरूलाई निको पारे, दुष्ट स्वर्गदूतहरूलाई धपाए अनि मरेका मानिसहरूलाई समेत ब्यूँताए! तर पवित्र शक्‍तिबाट पाएको सामर्थ्यको योभन्दा पनि महत्त्वपूर्ण उद्देश्‍य छ। यही उद्देश्‍य पूरा गर्न पहिलाजस्तै अहिले पनि परमेश्‍वरका सेवकहरूले पवित्र शक्‍ति पाउँछन्‌ तर चमत्कारपूर्ण ढङ्‌गमा चाहिं होइन।

१०. पवित्र शक्‍तिले पावलको बोल्ने क्षमतामा कस्तो असर पाऱ्‍यो?

१० ‘पवित्र शक्‍तिले भरिएका’ पावलले साहसी हुँदै एक जना तान्त्रिकको विरोध गरे। पावलको कुरा सुनिरहेका साइप्रसका प्रान्तीय राज्यपाललाई त्यस घटनाले कत्ति गहिरो असर पारेको हुनुपर्छ! तिनले सत्य स्वीकारे “किनकि यहोवाको विषयमा सुनेर तिनी दङ्‌ग परेका थिए।” (प्रेषि. १३:८-१२) अरूलाई सत्यबारे बताउने काममा पवित्र शक्‍तिको भूमिका कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा पावललाई राम्ररी थाह थियो। (मत्ती १०:२०) पछि, आफूले “बोल्न सकूँ” भनी उत्कट बिन्ती गरिदिन एफिससमा भएको मण्डलीलाई पावलले अनुरोध गरे।—एफि. ६:१८-२०.

११. पावललाई पवित्र शक्‍तिले कसरी डोऱ्‍यायो?

११ पवित्र शक्‍तिले पावललाई बोल्न सक्षम मात्र बनाएन तर कहिलेकाहीं कुनै-कुनै ठाउँमा बोल्न रोक समेत लगायो। तिनले मिसनरी यात्रा सुरु गर्दा पवित्र शक्‍तिले तिनलाई डोऱ्‍यायो। (प्रेषि. १३:२; प्रेषित १६:६-१० पढ्‌नुहोस्‌) अहिले पनि यहोवाले पवित्र शक्‍तिमार्फत प्रचारकार्यमा डोऱ्‍याइ दिंदै हुनुहुन्छ। पावलले जस्तै यहोवाका सम्पूर्ण आज्ञाकारी सेवकहरूले साहसी अनि जोसिलो हुँदै सत्य घोषणा गर्न सक्दो प्रयास गर्छन्‌। पावलको समयमा जस्तै पवित्र शक्‍तिले प्रत्यक्ष रूपमा काम गरेको त अहिले हामी नदेखौंला, तैपनि इच्छुक व्यक्‍तिहरूसम्म सच्चाइ पुऱ्‍याउन यहोवाले आफ्नो पवित्र शक्‍ति प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरामा चाहिं हामी पक्का हुन सक्छौं।—यूह. ६:४४.

“कामहरू विभिन्‍न किसिमका छन्‌”

१२-१४. के पवित्र शक्‍तिले परमेश्‍वरका सम्पूर्ण सेवकहरूमाथि एउटै तरिकाले काम गर्छ? व्याख्या गर्नुहोस्‌।

१२ अभिषिक्‍त जनहरू मिलेर बनेको प्रथम शताब्दीको मण्डलीलाई यहोवाले आशिष्‌ दिनुभएको विवरणलाई विचार गर्दा अहिलेका परमेश्‍वरका समर्पित सेवकहरूलाई ठूलो प्रोत्साहन मिल्दैन र? पक्कै मिल्छ! पावलले आफ्नो समयमा यहोवाले दिनुभएका चमत्कारपूर्ण वरदानहरूबारे कोरिन्थको मण्डलीलाई लेखेको प्रेरित शब्दहरूलाई विचार गर्नुहोस्‌: “वरदान विभिन्‍न किसिमका छन्‌ तर पवित्र शक्‍ति भने एउटै छ; अनि सेवाको काम विभिन्‍न किसिमका छन्‌ तर प्रभु भने एउटै हुनुहुन्छ; अनि कामहरू विभिन्‍न किसिमका छन्‌ तर सबै मानिसमा ती सबै काम गराउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ।” (१ कोरि. १२:४-६, ११) हो, परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न पवित्र शक्‍तिलाई फरक-फरक व्यक्‍तिमा फरक-फरक तरिकाले प्रयोग गर्न सक्नुहुन्छ। वास्तवमा यो शक्‍ति ख्रीष्टको “सानो बगाल” अनि “अरू भेडा” दुवैको लागि उपलब्ध छ। (लूका १२:३२; यूह. १०:१६) तर पवित्र शक्‍तिले मण्डलीका प्रत्येक सदस्यहरूमा सधैं एउटै तरिकाले काम गर्दैन।

१३ उदाहरणका लागि, एल्डरहरू पवित्र शक्‍तिद्वारा नियुक्‍त हुन्छन्‌। (प्रेषि. २०:२८) तर पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका सबैले मण्डलीमा निरीक्षकको रूपमा सेवा गर्दैनन्‌। यसबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? कुरा स्पष्ट छ, परमेश्‍वरको शक्‍तिले मण्डलीका प्रत्येक सदस्यमाथि भिन्‍ना-भिन्‍नै तरिकाले काम गर्छ।

१४ अभिषिक्‍त जनहरूलाई ‘धर्मपुत्र बनाउने’ पवित्र शक्‍ति अनि यहोवाले आफ्नो एक मात्र छोरालाई मृत्युबाट ब्यूँताएर स्वर्गमा अनन्त जीवन दिन चलाउनुभएको शक्‍तिमा कुनै भिन्‍नता छैन, ती दुवै एउटै हुन्‌। ( रोमी ८:११, १५ पढ्‌नुहोस्‌) अनि सारा ब्रह्‍माण्डलाई अस्तित्वमा ल्याउन यहोवाले चलाउनुभएको शक्‍ति पनि यही थियो। (उत्प. १:१-३) साथै बासस्थानको विशेष काम गर्नको लागि बजलेललाई सक्षम बनाउने, शिमशोनलाई असाधारण बल चाहिने कामहरू गर्न मदत गर्ने अनि पत्रुसलाई पानीमाथि हिंड्‌न मदत गर्ने शक्‍ति पनि यही थियो। त्यसकारण पवित्र शक्‍तिको मदत पाउनु अनि पवित्र शक्‍तिद्वारा अभिषिक्‍त हुनु एउटै हो भनेर नझुक्किऔं। पवित्र शक्‍तिद्वारा अभिषेक गरिनु त पवित्र शक्‍तिले गर्ने विभिन्‍न कामको एउटा विशेष पक्ष मात्र हो। कसलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्ने, त्यो छनौट यहोवाले नै गर्नुहुन्छ।

१५. पवित्र शक्‍तिद्वारा बप्तिस्मा गराउने काम के सधैंभरि चलिरहनेछ? व्याख्या गर्नुहोस्‌।

१५ यहोवाले धेरै पहिलादेखि नै आफ्ना विश्‍वासी सेवकहरूका लागि विभिन्‍न तरिकाले आफ्नो पवित्र तथा सक्रिय शक्‍ति चलाउँदै आउनुभएको छ। हो, पवित्र शक्‍तिद्वारा अभिषेक हुने काम सुरु हुनुभन्दा हजारौं वर्षअघिदेखि नै यहोवाले यसो गर्दै आउनुभएको छ। पवित्र शक्‍तिद्वारा अभिषेक गर्ने नयाँ काम इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि सुरु भए तापनि यो सधैंभरि भइरहने छैन। पवित्र शक्‍तिद्वारा बप्तिस्मा गराउने काम बन्द हुनेछ तर परमेश्‍वरका सेवकहरूले सधैंभरि उहाँको इच्छाअनुरूप गरिरहन सकून्‌ भनेर पवित्र शक्‍तिले तिनीहरूमा काम भने गरिरहनेछ।

१६. पवित्र शक्‍तिको मदत पाएर अहिले परमेश्‍वरका सेवकहरूले के गरिरहेका छन्‌?

१६ यहोवाको पवित्र शक्‍तिको मदतले अहिले पृथ्वीमा विशेषगरि कुन काम सम्पन्‍न हुँदैछ? प्रकाश २२:१७ यस्तो जवाफ दिन्छ: “पवित्र शक्‍ति अनि दुलहीले यसो भनिरहे: ‘आऊ!’ त्यसैगरि, जसले सुन्छ, उसले भनोस्‌: ‘आऊ!’ जो तिर्खाउँछ, ऊ आओस्‌; अनि जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैंमा लेओस्‌।” पवित्र शक्‍तिद्वारा उत्प्रेरित भएर आजका ख्रीष्टियनहरूले जीवनदायी निम्तो बाँडिरहेका छन्‌। जीवनको पानी “जसले चाहन्छ” उनीहरू सबैलाई तिनीहरू यहोवाको उक्‍त निम्तो बाँड्‌छन्‌। यो काममा अभिषिक्‍त ख्रीष्टियनहरूले अगुवाइ लिइरहेका छन्‌। तर व्यापक रूपमा यो निम्तो बाँड्‌ने काममा अरू भेडाले पनि हातेमालो गरिरहेका छन्‌। यो कामलाई सफलताको चुलीमा पुऱ्‍याउन दुवै समूहका व्यक्‍तिहरू एउटै शक्‍तिमा भर पर्छन्‌। अनि यी दुवै समूहका व्यक्‍तिहरूले “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा” गरेर आफूले यहोवालाई समर्पण गरेको कुरा देखाएका छन्‌। (मत्ती २८:१९) साथै सबै जना नै पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्‌छन्‌ र आफ्नो जीवनमा पवित्र शक्‍तिको फलका पक्षहरू खेती गर्छन्‌। (गला. ५:२२, २३) अभिषिक्‍त जनहरूले जस्तै अरू भेडाका सदस्यहरूले पनि पवित्र शक्‍तिको मदत स्वीकार्छन्‌। पवित्र शक्‍तिको मदत पाएर तिनीहरू पवित्रतासम्बन्धी यहोवाको स्तरसम्म पुग्न भरमग्दुर प्रयास गर्छन्‌।—२ कोरि. ७:१; प्रका. ७:९, १४.

पवित्र शक्‍ति मागिरहनुहोस्‌

१७. हामीसँग परमेश्‍वरको पवित्र शक्‍ति छ भनेर कसरी प्रमाण दिन सक्छौं?

१७ परमेश्‍वरले तपाईंको लागि दिनुभएको अनन्त जीवनको आशा चाहे स्वर्गमा होस्‌ या पृथ्वीमा, उहाँले आफ्नो “असाधारण शक्‍ति”-द्वारा तपाईंलाई सत्यनिष्ठ रहिरहन अनि इनाम पाउन मदत गर्न सक्नुहुन्छ। (२ कोरि. ४:७) परमेश्‍वरको राज्यको सुसमाचारबारे निरन्तर प्रचार गर्दा मानिसहरूले तपाईंको खिल्ली उडाउन सक्छन्‌। तर प्रेषित पत्रुसका यी शब्दहरू याद राख्नुहोस्‌, “ख्रीष्टको नामको खातिर तिमीहरूको बदनाम भइरहेको छ भने तिमीहरू आनन्दित हौ, किनकि परमेश्‍वरको पवित्र शक्‍ति र त्यसको महिमा तिमीहरूमाथि छ।”—१ पत्रु. ४:१४.

१८, १९. यहोवाले तपाईंलाई पवित्र शक्‍ति चलाएर कसरी मदत गर्नुहुनेछ अनि यस सन्दर्भमा तपाईंको सङ्‌कल्प कस्तो छ?

१८ साँचो मनले खोजी गर्नेहरूलाई परमेश्‍वरले सित्तैंमा पवित्र शक्‍ति दिनुहुन्छ। पवित्र शक्‍तिले तपाईंको क्षमतालाई मात्रै होइन तर उहाँको सेवामा आफूले सकेजति गर्ने तपाईंको इच्छालाई पनि बढाउन सक्छ। पावलले लेखे, “तिमीहरूले इच्छा गर्न र त्यसअनुसार काम गर्न सकोस्‌ भनेर परमेश्‍वरले नै आफूले चाहेअनुसार तिमीहरूभित्र काम गरिरहनुभएको छ।” पवित्र शक्‍तिको अमूल्य वरदानका साथै ‘जीवनको वचनलाई बलियोसित पक्रिराख्ने’ हाम्रो अथक प्रयासले हामीलाई “आफ्नो उद्धारको निम्ति . . . डर र कम्पसहित प्रयत्न” गरिरहन मदत गर्नेछ।—फिलि. २:१२, १३, १६.

१९ त्यसकारण परमेश्‍वरको शक्‍तिमा पूर्ण भरोसा राख्दै आफूले पाएको जिम्मेवारीमा तनमनले लाग्नुहोस्‌, त्यसमा अझै सिपालु हुँदै जानुहोस्‌ अनि मदतको लागि यहोवाको साथ खोज्नुहोस्‌। (याकू. १:५) परमेश्‍वरले तपाईंलाई उहाँको वचन बुझ्न, समस्याहरूको सामना गर्न र सुसमाचार सुनाउन मदत गर्नुहुनेछ। येशूले भन्‍नुभयो, “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ।” (लूका ११:९, १३) पवित्र शक्‍ति प्राप्त गर्ने सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। तसर्थ पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंडेका प्राचीन तथा आधुनिक समयका विश्‍वासी जनहरूजस्तै बन्‍न सकूँ भनेर यहोवालाई उत्कट बिन्ती चढाइरहनुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• आशिष्‌ पाउने हो भने मरियमले जस्तै हामीले पनि कस्तो मनोवृत्ति देखाउनुपर्छ?

• पावललाई कुन अर्थमा पवित्र शक्‍तिले डोऱ्‍यायो?

• आज परमेश्‍वरका सेवकहरूलाई कुन अर्थमा पवित्र शक्‍तिले डोऱ्‍याउँछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

पवित्र शक्‍तिको मदत पाएर पावलले दुष्ट स्वर्गदूतहरूको प्रभावमाथि विजय हासिल गर्न सके

[पृष्ठ २६-मा भएको चित्र]

अहिले ख्रीष्टियनहरूको आशा जुनसुकै भए तापनि मदतको लागि पवित्र शक्‍ति उपलब्ध छ