सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोऱ्‍याइएका प्राचीन समयका विश्‍वासी जनहरू

परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोऱ्‍याइएका प्राचीन समयका विश्‍वासी जनहरू

परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोऱ्‍याइएका प्राचीन समयका विश्‍वासी जनहरू

“परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ।”—यशै. ४८:१६.

१, २. विश्‍वास देखाउन कुन कुरा चाहिन्छ अनि प्राचीन समयका विश्‍वासी जनहरूबारे विचार गर्दा हामी कस्तो प्रोत्साहन पाउन सक्छौं?

 “विश्‍वास सबैसित हुँदैन” भन्‍ने कुरा हाबिलको दिनदेखि नै प्रमाणित हुँदै आएको छ। (२ थिस्स. ३:२) मानिसमा यो गुण कसरी आउँछ अनि विश्‍वासी हुन तिनलाई कुन कुराले मदत गर्छ? प्रायजसो, परमेश्‍वरको वचन सुनेपछि नै विश्‍वास पलाउँछ। (रोमी १०:१७) विश्‍वास भन्‍ने गुण पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) त्यसकारण विश्‍वास गर्ने अथवा त्यसैअनुसार काम गर्ने हो भने हामीलाई पवित्र शक्‍ति चाहिन्छ।

विश्‍वासी पुरुष तथा स्त्रीहरू जन्मेदेखि नै विश्‍वासी हुन्छन्‌ अर्थात्‌ विश्‍वास आफसेआफ पैदा हुन्छ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। हामीले बाइबलमा पढ्‌ने उदाहरणीय सेवकहरू पनि “हामीजस्तै . . . थिए।” (याकू. ५:१७) तिनीहरूमा पनि शङ्‌का-उपशङ्‌का थियो, तिनीहरू पनि असुरक्षित महसुस गर्थे अनि तिनीहरूको पनि हाम्रो जस्तै कमजोरीहरू थियो। तर तिनीहरूलाई चुनौतीहरूको सामना गर्न पवित्र शक्‍तिले “शक्‍तिशाली” बनायो। (हिब्रू ११:३४) अहिले हाम्रो विश्‍वासलाई आक्रमण गर्ने कुराहरू थुप्रै छन्‌। त्यसकारण प्राचीन समयमा विश्‍वासी जनहरूमाथि यहोवाको शक्‍तिले कसरी काम गऱ्‍यो, त्यो विचार गर्दा अहिले पनि हामीलाई विश्‍वासी भइरहन प्रोत्साहन मिल्नेछ।

परमेश्‍वरको पवित्र शक्‍तिले मोशालाई सक्षम बनायो

३-५. (क) मोशाले पवित्र शक्‍तिको मदत पाएर आफ्नो जिम्मेवारी पूरा गर्न सकेका थिए भनेर हामी कसरी थाह पाउन सक्छौं? (ख) यहोवाले पवित्र शक्‍ति दिने सन्दर्भमा हामी मोशाको उदाहरणबाट के सिक्न सक्छौं?

ईसापूर्व १५१३ मा, त्यतिबेलाका मानिसहरूमध्ये मोशा “सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) कोमल स्वभावका यी सेवकलाई यहोवाले इस्राएल राष्ट्रको हेरविचार गर्ने ठूलो जिम्मेवारी सुम्पनुभयो। परमेश्‍वरको पवित्र शक्‍तिले मोशालाई अगमवाणी बोल्न, न्याय गर्न, पुस्तक लेख्न, नेतृत्व लिन र चमत्कारहरू गर्न सक्षम बनायो। ( यशैया ६३:११-१४ पढ्‌नुहोस्‌) तर एकताका मोशालाई यो जिम्मेवारी वहन गर्न निकै गाह्रो भएको थियो। (गन्ती ११:१४, १५) त्यसकारण अरू ७० जना पुरुषले मोशाको काममा सघाऊन्‌ भनेर यहोवाले ‘तिनीसँग भएको आत्मा लिएर’ ती पुरुषहरूमाथि राखिदिनुभयो। (गन्ती ११:१६, १७) मोशाको काम निकै गाह्रो देखिए तापनि वास्तवमा त्यो भार तिनी एक्लैले उठाइरहेका थिएनन्‌ न त तिनलाई सघाउन छानिएका व्यक्‍तिहरूले नै त्यो भार एक्लैले उठाउनुपर्थ्यो।

त्यो जिम्मेवारी वहन गर्न चाहिने पवित्र शक्‍ति यहोवाले मोशालाई दिनुभएको थियो। सत्तरी जना पुरुषलाई छानिसकेपछि पनि मोशाले चाहिने मात्रामा पवित्र शक्‍ति पाइनै रहे। मोशालाई आफ्नो काम पूरा गर्न पवित्र शक्‍तिको कमी भएन अनि अरू ७० जनाले पनि आवश्‍यकताअनुसार नै पवित्र शक्‍ति पाए। परमेश्‍वरले हाम्रो आवश्‍यकता तथा अवस्थाअनुसार चाहिने जति पवित्र शक्‍ति हामीलाई दिनुहुन्छ। “उहाँले पवित्र शक्‍ति दिंदा नापेर दिनुहुन्‍न” तर प्रशस्त गरी दिनुहुन्छ।—यूह. ३:३४.

के तपाईं कठिनाइको सामना गर्दै हुनुहुन्छ? के तपाईंलाई आफ्नो जिम्मेवारी पूरा गर्न भ्याई-नभ्याई भइरहेको छ? के तपाईंले परिवारको बढ्‌दो खर्च अनि खस्कँदो स्वास्थ्य अवस्थाको बाबजुद तिनीहरूको आध्यात्मिक अनि भौतिक आवश्‍यकता पूरा गर्न कडा परिश्रम गरिरहनुभएको छ? के मण्डलीमा तपाईंको गहन जिम्मेवारीहरू छ? हामीले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि यहोवाले हामीलाई त्यसको सामना गर्न पवित्र शक्‍ति दिन सक्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—रोमी १५:१३.

पवित्र शक्‍तिले बजलेल र ओहोलीआबलाई दक्ष बनायो

६-८. (क) यहोवाको पवित्र शक्‍तिले बजलेल र ओहोलीआबलाई के गर्न सक्षम बनायो? (ख) बजलेल र ओहोलीआब परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोरिएका थिए भनेर कुन कुराले देखाउँछ? (ग) बजलेलको अनुभव हाम्रो लागि किन प्रोत्साहनजनक छ?

परमेश्‍वरको पवित्र शक्‍तिले कसरी काम गर्छ भन्‍ने सन्दर्भमा हामी मोशाको समयका व्यक्‍ति बजलेलको अनुभवबाट धेरै कुरा सिक्न सक्छौं। ( प्रस्थान ३५:३०-३५ पढ्‌नुहोस्‌) बासस्थानको लागि आवश्‍यक पर्ने सामग्रीहरू बनाउने कामको नेतृत्व लिन बजलेललाई नियुक्‍त गरिएको थियो। यो ठूलो जिम्मेवारी पाउनुअघि के तिनमा कालिगडीसम्बन्धी केही ज्ञान थियो? हुन पनि सक्छ। सायद तिनले सबैभन्दा पछिल्लो चोटि गरेको काम मिश्रीहरूको लागि इँटा बनाउने हुनुपर्छ। (प्रस्थ. १:१३, १४) त्यसोभए बजलेलले यो जटिल काम कसरी पूरा गर्न सक्थे? “सबै किसिमका शिल्पकारीमा खूब असल काम निकालून्‌ भन्‍ने ध्येयले” यहोवाले बजलेललाई ‘आफ्नो आत्माले, अर्थात्‌ बुद्धि समझ र ज्ञान र सबै किसिमको शिल्पकारीको आत्माले परिपूर्ण पार्नुभयो।’ बजलेलमा जुन सीप पहिल्यैदेखि थियो त्यसलाई पवित्र शक्‍तिले अझै तिखाऱ्‍यो। ओहोलीआबको सन्दर्भमा पनि त्यस्तै भयो। बजलेल र ओहोलीआबले पवित्र शक्‍तिको मदत पाएर आफ्नो कामको विषयमा राम्रो ज्ञान हासिल गरेको हुनुपर्छ किनभने तिनीहरूले आफ्नो काम मात्र गरेनन्‌ तर त्यो काम कसरी गर्ने भनेर अरूलाई पनि सिकाउन सके। हो, परमेश्‍वरको मदत पाएर तिनीहरू अरूलाई सिकाउन उत्प्रेरित भए।

बजलेल र ओहोलीआबले बनाएका सर-सामग्रीहरू असाधारण रूपमा टिकेकोले पनि तिनीहरू परमेश्‍वरको शक्‍तिद्वारा डोरिएका थिए भन्‍न सकिन्छ। तिनीहरूले बनाएका सामग्री लगभग ५०० वर्षपछिसम्म पनि प्रयोगमा थियो। (२ इति. १:२-६) आजकाल मानिसहरूले आफूले गरेको काम चिनाउनको लागि त्यसमा आफ्नो हस्ताक्षर गर्ने वा छाप लगाउने गर्छन्‌ तर बजलेल र ओहोलीआब त्यस्ता थिएनन्‌। तिनीहरूले जे-जति गरे त्यसको सबै श्रेय यहोवालाई दिए।—प्रस्थ. ३६:१, २.

आज हामीले पनि विशेष खुबी चाहिने कामहरू गर्नुपर्ने हुन सक्छ। जस्तै:- निर्माणकार्य, छापाखानाको काम, अधिवेशन आयोजना गर्ने काम, विपत्तिको बेला राहत दिने काम र रगतको प्रयोग गर्ने सन्दर्भमा हाम्रो धर्मशास्त्रीय अडानबारे डाक्टर तथा अस्पतालका कर्मचारीहरूसँग छलफल गर्ने काम। कहिलेकाहीं यस्ता कामहरू दक्ष भाइबहिनीहरूले गर्छन्‌ तर धेरैजसो अवस्थामा भने यस्तो क्षेत्रमा खासै अनुभव नभएका स्वयंसेवकहरूले नै यी कामहरू गर्ने गर्छन्‌। यहोवाको पवित्र शक्‍तिको मदतले गर्दा तिनीहरू आफ्नो प्रयासमा सफल हुन्छन्‌। आफू अरू भाइबहिनीजस्तो सिपालु छैन भन्‍ने भावनाले गर्दा के तपाईं कहिल्यै यहोवाको सेवामा पाएको जिम्मेवारी स्वीकार्नदेखि पछि हट्‌नुभएको छ? यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, यहोवाको पवित्र शक्‍तिले तपाईंसँग भएको ज्ञान र क्षमतालाई अझै बढाइदिन सक्छ र उहाँले तपाईंलाई सुम्पनुभएको कुनै पनि जिम्मेवारी पूरा गर्न मदत गर्न सक्छ।

पवित्र शक्‍तिको मदत पाएर यहोशू सफल हुन सके

९. मिश्रबाट निस्केपछि इस्राएलीहरूले कस्तो परिस्थितिको सामना गर्नुपऱ्‍यो? यसले गर्दा कस्तो प्रश्‍न खडा भयो?

मोशा र बजलेलकै समयका अर्का एक जना व्यक्‍तिलाई पनि पवित्र शक्‍तिले डोऱ्‍याएको थियो। मिश्रको दासत्वबाट मुक्‍त भएर हिंडेको केही समय नबित्दै अमालेकीहरूले विनाकारण परमेश्‍वरका जनहरूमाथि आक्रमण गरे। इस्राएलीहरूले तिनीहरूको प्रतिकार गर्ने बेला आयो। पहिला कहिल्यै युद्ध नगरेका इस्राएलीहरूले स्वतन्त्र भएपछि पहिलो पटक युद्ध गर्नुपर्ने भयो। (प्रस्थ. १३:१७; १७:८) लडाकु फौजको नेतृत्व लिन एक जना व्यक्‍तिको आवश्‍यकता पऱ्‍यो। त्यो काम कसले गर्नेथियो?

१०. यहोशूको नेतृत्वमा युद्ध गर्न गएका इस्राएलीहरू कसरी विजयी हुन सके?

१० त्यसको लागि यहोशूलाई छानियो। तर त्यो काम सम्पन्‍न गर्न तिनीसँग के-कति योग्यता छ भनेर तिनलाई सोधिएको भए तिनले के जवाफ दिनेथिए? आफूले दासको रूपमा काम गरेको, माटोमा पराल मिसाउने काम गरेको वा मन्‍न बटुलेको अनुभव बताउने थिए कि? हुनत यहोशूका हजुरबुबा एलीशामा एप्रैम कुलको कुलनायक थिए र इस्राएललाई कुल-कुलअनुसार तीन भागमा विभाजित गरिंदा तिनले १,०८,१०० जनाको नेतृत्व लिएका थिए। (गन्ती २:१८, २४; १ इति. ७:२६, २७) तैपनि यहोवाले मोशामार्फत निर्देशन दिएअनुसार फौजको नेतृत्व लिएर शत्रुहरूलाई परास्त गर्ने काम न त एलीशामाले गर्नेथिए न त तिनको छोरा नुनले नै। त्यो काम यहोशूले गर्नेथिए। त्यो युद्ध दिनभरि नै चलिरह्‍यो। यहोशूले यहोवाको आज्ञा हुबहु पालन गरेकोले र उहाँको पवित्र शक्‍तिको डोऱ्‍याइप्रति गहिरो कृतज्ञता देखाएकोले इस्राएलीहरू विजयी भए।—प्रस्थ. १७:९-१३.

११. पवित्र सेवा चढाउने सन्दर्भमा यहोशूजस्तै हामी पनि कसरी सफल हुन सक्छौं?

११ ‘बुद्धिको आत्माले परिपूर्ण’ यहोशू पछि गएर मोशाका उत्तराधिकारी भए। (व्यव. ३४:९) पवित्र शक्‍तिले यहोशूलाई मोशाले जस्तै भविष्यवाणी वा चमत्कारहरू गर्ने शक्‍ति त दिएन तर कनानीहरूलाई परास्त गर्नको लागि तयार पारिएको फौजको नेतृत्व लिन भने सक्षम बनायो। आफूले चढाउने पवित्र सेवाका केही पक्षहरूमा अनुभवहीन अथवा अयोग्य भएको जस्तो हामीलाई लाग्न सक्छ। तर परमेश्‍वरले दिनुभएको निर्देशन हुबहु पालन गरेमा यहोशूजस्तै हामी पनि सफल हुनेछौं भनेर ढुक्क हुन सक्छौं।—यहो. १:७-९.

यहोवाको शक्‍ति गिदोनमाथि आयो

१२-१४. (क) जम्मा ३०० जनाको सेनाले त्यति ठूलो मिद्यानी फौजलाई जितेको कुराबाट हामी के थाह पाउन सक्छौं? (ख) यहोवाले गिदोनलाई कसरी आश्‍वस्त पार्नुभयो? (ग) आज हामी कस्तो ईश्‍वरीय आश्‍वासन पाउँछौं?

१२ यहोशूको मृत्यु भइसकेपछि पनि यहोवाले आफ्ना विश्‍वासी जनहरूलाई बलियो पार्न पवित्र शक्‍ति दिइरहनुभयो। ‘कमजोर अवस्थाबाट शक्‍तिशाली बनाइएका’ थुप्रै व्यक्‍तिहरूको अनुभव हामी न्यायकर्ताको पुस्तकमा पाउँछौं। (हिब्रू ११:३४) आफ्ना मानिसहरूको पक्षबाट युद्ध गर्न यहोवाले पवित्र शक्‍तिद्वारा गिदोनलाई जुरमुऱ्‍याउनुभयो। (न्याय. ६:३४) गिदोनले सेना जम्मा पारे तर विपक्षी सेनाको सङ्‌ख्या झन्डै चार गुणा बढी थियो। तैपनि यहोवाको नजरमा इस्राएलीहरूको त्यो सैनिक टुकडी निकै ठूलो थियो। त्यसकारण यहोवाले गिदोनलाई दुई पटकसम्म इस्राएली सेनाको सङ्‌ख्या घटाउन आदेश दिनुभयो। अन्तमा, विपक्षी सेनाको सङ्‌ख्या इस्राएलीहरूको भन्दा ४५० गुणा धेरै भयो। (न्याय. ७:२-८; ८:१०) त्यसपछि मात्र यहोवाले सेनाको सङ्‌ख्या ठीक छ भन्‍नुभयो। अब तिनीहरू विजयी भएमा त्यो जित मानिसको शक्‍ति वा बुद्धिले गर्दा भएको हो भनेर कसले पो फूर्ति लाउन सक्थ्यो र?

१३ गिदोन र तिनका सेनाहरू युद्धमा जान तयार थिए। यदि तपाईं त्यो सेनामा भएको भए तपाईंलाई कस्तो लाग्ने थियो? युद्ध गर्न डराउने अनि सतर्क नरहने सेनाहरू घर फर्के भनेर ढुक्क महसुस गर्नुहुने थियो कि नतिजा कस्तो हुने होला भनेर चिन्ता गर्नुहुने थियो? गिदोनले कस्तो महसुस गरे, त्यो छर्लङ्‌गै छ। यहोवाले जे भन्‍नुभएको थियो, तिनले त्यसै गरे! ( न्यायकर्त्ता ७:९-१४ पढ्‌नुहोस्‌) यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर पक्का गर्न तिनले उहाँसँग एउटा चिन्ह मागे। तैपनि यहोवा तिनीसँग रिसाउनुभएन। (न्याय. ६:३६-४०) बरु उहाँले तिनको विश्‍वास बलियो बनाउन मदत गर्नुभयो।

१४ यहोवाको बचाउने शक्‍ति अथाह छ। यहोवा आफ्ना जनहरूलाई तिनीहरूमाथि आइपर्न सक्ने जस्तोसुकै खतराबाट पनि जोगाउन सक्नुहुन्छ र यसको लागि उहाँले कमजोर वा निर्धा देखिने व्यक्‍तिहरूलाई समेत प्रयोग गर्न सक्नुहुन्छ। कहिलेकाहीं हामीलाई आफूविरुद्ध थुप्रै मानिस छन्‌ र हामी अत्यन्तै कठिन अवस्थामा परेका छौं जस्तो लाग्ला। हामी गिदोनले जस्तै चमत्कारपूर्ण तरिकामा आश्‍वासन पाउने आशा गर्न त सक्दैनौं। तर परमेश्‍वरको वचन अनि उहाँको पवित्र शक्‍तिद्वारा डोरिएको ख्रीष्टियन मण्डलीबाट भने प्रशस्त मात्रामा डोऱ्‍याइ अनि आश्‍वासन पाउन सक्छौं। (रोमी ८:३१, ३२) यहोवाका मायालु प्रतिज्ञाहरूले हाम्रो विश्‍वास बलियो बनाउँछ र उहाँ हाम्रो सहायक हुनुहुन्छ भनेर विश्‍वस्त पार्छ।

‘यहोवाको आत्मा यिप्तहमाथि आयो’

१५, १६. यिप्तहकी छोरीको मनोवृत्ति राम्रो हुनुको कारण के हो? अनि यसबाट आमाबुबाले कस्तो प्रोत्साहन पाउन सक्छन्‌?

१५ अर्को उदाहरण विचार गर्नुहोस्‌। इस्राएलीहरूले अम्मोनीहरूसित युद्ध गर्नुपर्दा ‘यहोवाको आत्मा यिप्तहमाथि आयो।’ विजयी भएर यहोवाको प्रशंसा होस्‌ भन्‍ने चाहले गर्दा यिप्तहले एउटा भाकल गरे तर त्यो पूरा गर्न निकै गाह्रो थियो। परमेश्‍वरले अम्मोनीहरूलाई आफ्नो हातमा सुम्पेको खण्डमा घर फर्केर आउँदा ढोकाबाट बाहिर निस्कने पहिलो प्राणी उहाँकै हुनेछ भनेर यिप्तहले भाकल गरे। अम्मोनीहरूमाथि विजयी भएर घर फर्कंदा तिनलाई भेट्‌न तिनकी छोरी दगुर्दै आइन्‌। (न्याय. ११:२९-३१, ३४) के यो देखेर यिप्तह छक्क परे? सायद परेनन्‌ किनकि उनीबाहेक तिनको अरू कुनै सन्तान थिएन। शिलोमा भएको यहोवाको मन्दिरमा बसेर सेवा गर्न आफ्नी एक मात्र छोरीलाई अर्पण गरेर यिप्तहले आफ्नो भाकल पूरा गरे। यहोवाको वफादार सेवक भएकीले यिप्तहकी छोरी पनि बुबाको भाकल पूरा गर्नुपर्छ भनेर विश्‍वस्त थिइन्‌। ( न्यायकर्त्ता ११:३६ पढ्‌नुहोस्‌) यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा बुबा-छोरी दुवैलाई चाहिने मदत दिनुभयो।

१६ यिप्तहकी छोरीले त्यस्तो आत्मत्यागी मनोभाव कसरी विकास गरिन्‌? यहोवाप्रति बुबाको भक्‍ति र जोस देखेकोले नै यिप्तहकी छोरीलाई आफ्नो विश्‍वास बलियो बनाउन मदत मिलेको हुनुपर्छ। आमाबुबाहरू हो, तपाईंले बसाल्नुभएको उदाहरण तपाईंका छोराछोरीले पक्कै याद गर्नेछन्‌। तपाईंले गर्नुहुने निर्णयबाट तपाईं आफ्नो बोलीअनुसार काम पनि गर्नुहुन्छ भनेर छोराछोरीले देख्नेछन्‌। तपाईंले उत्कटतासाथ यहोवालाई प्रार्थना गर्नुभएको, प्रभावकारी तरिकामा सिकाउनुभएको र पूर्ण हृदयले यहोवाको सेवा गर्न प्रयास गर्नुभएको कुरा छोराछोरीले याद गर्नेछन्‌। यसरी तपाईंका छोराछोरीहरू यहोवाको सेवा गर्न झनै इच्छुक हुन सक्छन्‌। अनि यो देखेर कुनचाहिं आमाबाबुको मन खुसी हुँदैन र?

‘यहोवाको आत्मा झट्टै शिमशोनमा आयो’

१७. पवित्र शक्‍तिको मदत पाएर शिमशोनले के गरे?

१७ अर्को उदाहरण विचार गर्नुहोस्‌। जब इस्राएलीहरू पलिश्‍तीहरूको हातमा परेका थिए, तब शिमशोनलाई “परमप्रभुका आत्माले” इस्राएलीहरूलाई छुटाउन ‘प्रेरणा दियो।’ (न्याय. १३:२४, २५) यहोवाबाट बल पाएर तिनले असाधारण र अचम्मलाग्दा कामहरू गरे। पलिश्‍तीहरूले केही इस्राएलीहरूलाई मनाएर शिमशोनलाई पक्रँदा “परमप्रभुका आत्मा झट्टै तिनीमा [आयो] र तिनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैं भइहाले, र तिनका बन्धनहरू चुँडिहाले।” (न्याय. १५:१४) आफ्नो गलत निर्णयले गर्दा तिनले शारीरिक शक्‍ति गुमाउनुपऱ्‍यो तैपनि “विश्‍वासैले गर्दा” तिनी शक्‍तिशाली बनाइए। (हिब्रू ११:३२-३४; न्याय. १६:१८-२१, २८-३०) परिस्थिति असामान्य भएको कारण परमेश्‍वरको शक्‍तिले शिमशोनमाथि बेग्लै तरिकामा काम गरेको थियो। तर आज पनि यी ऐतिहासिक विवरणहरू हाम्रो लागि ठूलो प्रोत्साहनको स्रोत हुन सक्छ। कसरी?

१८, १९. (क) शिमशोनको उदाहरणले हामीलाई कस्तो आश्‍वासन दिन्छ? (ख) यस लेखमा विश्‍वासी जनहरूको उदाहरण छलफल गरेर तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

१८ शिमशोन जुन पवित्र शक्‍तिमा भर परेका थिए हामी पनि त्यही पवित्र शक्‍तिमा भर पर्छौं। येशूले आफ्ना चेलाहरूलाई ‘मानिसहरूलाई प्रचार गर्ने र राम्ररी बुझाउने’ काम सुम्पनुभएको थियो अनि त्यो काम गर्दा पवित्र शक्‍तिमा भर परेको कुरा हामी देखाउन सक्छौं। (प्रेषि. १०:४२) यो काम गर्नको लागि चाहिने सीप स्वतः आउँदैन। हामीलाई सुम्पिइएको विभिन्‍न कामहरू पूरा गर्न यहोवाले उहाँको पवित्र शक्‍ति दिनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा हामी कत्ति कृतज्ञ छौं नि, होइन र? तसर्थ, आफूलाई दिइएको जिम्मेवारी सम्हाल्दा यशैया अगमवक्‍ताले जस्तै हामी पनि यसो भन्‍न सक्छौं: “परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ।” (यशै. ४८:१६) उहाँले मोशा, बजलेल अनि यहोशूको योग्यता बढाउनुभए जस्तै हाम्रो पनि बढाउनुहुनेछ भन्‍ने कुरामा आश्‍वस्त हुँदै हामी आफ्नो काममा ध्यान लगाउन सक्छौं। यहोवाले गिदोन, यिप्तह र शिमशोनलाई शक्‍ति दिएझैं हामीलाई पनि शक्‍ति दिनुहुनेछ भनेर निर्धक्क हुँदै हामी “आत्माको तरवार जो चाहिं परमेश्‍वरको वचन हो,” त्यो उठाउँछौं। (एफि. ६:१७, १८) कठिनाइहरूको सामना गर्नुपर्दा यहोवामा भर पऱ्‍यौं भने शिमशोन शारीरिक रूपमा जति बलिया थिए हामी पनि आध्यात्मिक रूपमा त्यति नै बलियो हुन सक्छौं।

१९ कुरा स्पष्ट छ, साँचो उपासनाको लागि दृढ अडान लिनेहरूलाई यहोवाले आशिष्‌ दिनुहुन्छ। पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिंड्यौं भने हाम्रो विश्‍वास बलियो हुनेछ। त्यसकारण ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा उल्लेख गरिएका केही रोचक विवरणहरू पनि पुनरावलोकन गर्नु लाभदायी हुनेछ। ती विवरणहरू केलाउँदा हामीले प्रथम शताब्दीका अर्थात्‌ इस्वी संवत्‌ ३३ पेन्तिकोस अघिका अनि पछिका विश्‍वासी जनहरूमा पवित्र शक्‍तिले कसरी काम गऱ्‍यो भनेर बुझ्नेछौं। यस पछिको लेखमा यसै विषयमा छलफल गरिनेछ।

निम्न व्यक्‍तिहरूमा पवित्र शक्‍तिले कसरी काम गऱ्‍यो भनेर थाह पाउँदा तपाईं कस्तो प्रोत्साहन पाउन सक्नुहुन्छ . . .

• मोशा?

• बजलेल?

• यहोशू?

• गिदोन?

• यिप्तह?

• शिमशोन?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]

शिमशोन जति बलिया थिए, परमेश्‍वरको शक्‍तिले हामीलाई आध्यात्मिक रूपमा त्यति नै बलियो बनाउन सक्छ

[पृष्ठ २१-मा भएको चित्र]

आमाबाबु हो, तपाईंको जोसिलो उदाहरणले छोराछोरीमा ठूलो प्रभाव पार्न सक्छ