सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोगले तपाईंको आनन्द नलुटोस्‌

रोगले तपाईंको आनन्द नलुटोस्‌

रोगले तपाईंको आनन्द नलुटोस्‌

के तपाईं बिहान आँखा खुल्नेबित्तिकै ‘यो दिन कसरी कटाउने होला’ भनेर सोच्नुहुन्छ? नयाँ दिनको आगमनसँगसँगै तपाईंले शारीरिक तथा भावनात्मक पीडासित थप एक दिन सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। सायद तपाईं अय्यूबले जस्तै महसुस गर्नुहुन्छ होला, जसले यसो भनेका थिए: “मेरा सबै कष्टहरूभन्दा ता मृत्युनै म चाहनेथिएँ।” (अय्यू. ७:१५) यस्तो स्थिति वर्षौं-वर्षसम्म रहिरह्‍यो भने के गर्नुहुन्छ?

मपीबोशेतलाई यस्तै भएको थियो। तिनी राजा दाऊदका साथी जोनाथनका छोरा थिए। पाँच वर्षको छँदा ‘तिनी लडेर लङ्‌गडा भएका थिए।’ (२ शमू. ४:४) पछि राजालाई धोका दिएको आरोप लाग्दा अनि आफ्नो जायजेथा गुमाउनुपर्दा झन्‌ तिनको घाउमा नुन छर्केजस्तै भयो। एक त तिनी पहिल्यैदेखि लङ्‌गडो थिए, त्यसमाथि पनि यो कुराले तिनलाई कत्ति भावनात्मक चोट पुऱ्‍यायो होला, सोच्नुहोस्‌ त! तर तिनले अरूको लागि एकदमै राम्रो उदाहरण बसाले। अशक्‍तता, झूटा आरोप अनि नैराश्‍यताको बाबजुद तिनी आनन्दित भइरहे।—२ शमू. ९:६-१०; १६:१-४; १९:२४-३०.

प्रेषित पावलको उदाहरणलाई पनि विचार गर्नुहोस्‌। तिनले एक पटक “शरीरमा एउटा छेस्को” भएको र त्यससित सङ्‌घर्ष गर्नुपरेको कुरा लेखेका थिए। (२ कोरि. १२:७) तिनमा भएको त्यो छेस्को दीर्घकालीन अशक्‍तता वा प्रेषितको रूपमा तिनले पाएको जिम्मेवारीलाई चुनौती दिने मानिसहरू हुनुपर्छ। कुरा जेसुकै होस्‌, तिनको त्यो समस्या लामो समयसम्म रह्‍यो र त्यसले गर्दा तिनले शारीरिक वा भावनात्मक पीडा सहनुपऱ्‍यो।—२ कोरि. १२:९, १०.

अहिले पनि परमेश्‍वरका केही सेवकहरूलाई दीर्घकालीन रोगले कमजोर बनाउँछ र भावनात्मक पीडाले सताउँछ। माग्डेलिना नाम गरेकी १८ वर्षीया युवतीलाई विचार गर्नुहोस्‌। तिनलाई सिस्टेमिक लुपस एरिथेमाटोसस्‌ भन्‍ने रोग लागेको पत्ता लाग्यो। यो रोग लागेपछि शरीरमा भएको रोगविरुद्ध लड्‌ने प्रतिरोधात्मक क्षमताले विभिन्‍न अङ्‌गहरूलाई आक्रमण गर्न थाल्छ। माग्डेलिना यसो भन्छिन्‌: “सुरुमा त मलाई एकदमै डर लाग्यो। समय बित्दै जाँदा मेरो अवस्था झन्‌-झनै बिग्रँदै गयो। मेरो पाचन प्रणालीमा समस्या देखा पर्न थाल्यो, मुखभरि खटिरा आउन थाल्यो अनि थाइरोइड ग्रन्थीको समस्या पनि देखिन थाल्यो।” इजाबिलाको भने अर्कै समस्या छ। तिनको समस्या अरूले देख्न सक्दैनन्‌। तिनी यसो भन्छिन्‌: “सानैदेखि मलाई डिप्रेसन थियो। यसले गर्दा मलाई छटपटी हुने, सास फेर्न गाह्रो हुने अनि पेटको समस्या भएको छ। प्रायजसो म लखतरान हुन्छु।”

वास्तविकताको सामना गर्नुहोस्‌

रोग अथवा अशक्‍तताले तपाईंको जीवनलाई विरक्‍तलाग्दो बनाउन सक्छ। यस्तो भयो भने एकछिन बसेर आफ्नो अवस्था इमानदारीपूर्वक जाँच्नु राम्रो हुन्छ। तपाईंलाई आफ्नो सीमितता स्वीकार्न गाह्रो लाग्न सक्छ। माग्डेलिना यसो भन्छिन्‌: “मेरो अवस्था दिनप्रतिदिन बिग्रिंदैछ। प्रायजसो मलाई खाटबाट उठ्‌न पनि निकै गाह्रो लाग्छ। एकछिनपछि के हुने हो केही थाह छैन। त्यसैले भविष्यका योजनाहरू बनाउन पनि गाह्रो छ। मलाई एकदमै निराश बनाउने कुरा त के हो भने मैले पहिला जति यहोवाको सेवा गर्थें अहिले त्यति गर्न सकेको छैन।”

जेब्गनेभ यसो भन्छन्‌: “वर्षहरू बित्दै जाँदा बाथ रोगले मेरो शक्‍ति छिन्दै लगेको छ अनि एकपछि अर्को गर्दै मेरो जोर्नीहरू खियाउँदै लगेको छ। कहिलेकाहीं त यत्ति जलन हुन्छ कि सानोभन्दा सानो काम पनि गर्न सक्दिनँ। यसले गर्दा मलाई ज्यादै नै खिन्‍न महसुस हुन्छ।”

केही वर्ष पहिला बार्बरालाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। तिनी यसो भन्छिन्‌, “मेरो शरीरमा एकाएक परिवर्तन आयो। शरीर फतक्कै गल्छ, पटक-पटक टाउको दुख्छ अनि कुनै कुरामा ध्यान लगाउन पनि सक्दिनँ। आफ्नो सीमितताले गर्दा मैले हरेक कुरा छाँटकाँट गर्नुपरेको छ।”

यी सबै व्यक्‍तिहरू यहोवाका समर्पित सेवकहरू हुन्‌। तिनीहरू सबै उहाँको कामलाई प्राथमिकता दिन्छन्‌। तिनीहरू आफ्नो सारा भरोसा परमेश्‍वरमा राख्छन्‌ र उहाँको मदतबाट लाभ उठाउँछन्‌।—हितो. ३:५, ६.

यहोवाले मदत गर्नुहुन्छ—कसरी?

परमेश्‍वर रिसाउनुभएकोले नै हामीले दुःखकष्ट भोगेको हो भनेर सोच्नु हुँदैन। (विला. ३:३३) “निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस” भए तापनि अय्यूबले कस्तो-कस्तो दुःख भोग्नुपऱ्‍यो, विचार गर्नुहोस्‌ त! (अय्यू. १:८) परमेश्‍वरले खराब मनसायले कसैको पनि परीक्षा लिनुहुन्‍न। (याकू. १:१३) सबै किसिमका रोगहरू—चाहे त्यो दीर्घकालीन होस्‌ या भावनात्मक—सबै नै हाम्रा प्रथम आमाबुबा आदम र हव्वाले दिएको विनाशकारी उपहार हो।—रोमी ५:१२.

तर यहोवा र येशूले आफ्नो स्तरबमोजिमको असल काम गर्ने व्यक्‍तिहरूलाई मदत दिन आफ्नो हात छोटो पार्नुहुन्‍न। (भज. ३४:१५) विशेषगरि, जीवनको यस्तै कठिन घडीहरूमा हामीले परमेश्‍वर हाम्रो “शरणस्थान र किल्ला हुनुहुन्छ” भन्‍ने कुराको मोल गर्ने मौका पाउँछौं। (भज. ९१:२) त्यसोभए चुट्‌कीको भरमा हल गर्न नसकिने अवस्थाहरूको सामना गरिरहेका छौं भने हामीलाई आनन्द कायम राख्न केले मदत गर्न सक्छ?

प्रार्थना: पुरातन समयका परमेश्‍वरका वफादार सेवकहरूको नमुना पछ्याउँदै तपाईं प्रार्थनाद्वारा आफ्नो सारा भार स्वर्गमा बस्नुहुने बुबामाथि बिसाउन सक्नुहुन्छ। (भज. ५५:२२) यसो गर्नुभयो भने तपाईंले ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्‍वरको शान्ति’ महसुस गर्न सक्नुहुनेछ। अनि त्यस्तो मनोशान्तिले तपाईंको “मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) प्रार्थनाद्वारा परमेश्‍वरमा भर परेर माग्डेलिना आफूलाई कमजोर बनाउने रोगको सामना गर्छिन्‌। तिनी भन्छिन्‌: “यहोवालाई आफ्नो मनको बह पोखाउँदा मलाई एक किसिमको राहत महसुस हुन्छ अनि आनन्द लाग्छ। दिनहुँ यहोवामा भर पर्नु भनेको के हो, बल्ल बुझ्दैछु।”—२ कोरि. १:३, ४.

प्रार्थना गर्नुभयो भने यहोवाले तपाईंलाई पवित्र शक्‍ति, उहाँको वचन बाइबल अनि ख्रीष्टियन भाइबहिनीहरूमार्फत बल दिन सक्नुहुन्छ। परमेश्‍वरले चमत्कार गरेर चटक्कै रोग निको पारिदिएको आशा नगर्नुहोस्‌। तैपनि हरेक दुःखको सामना गर्न उहाँले आवश्‍यक बुद्धि र बल दिनुहुन्छ भन्‍ने कुरामा चाहिं तपाईं विश्‍वस्त हुन सक्नुहुन्छ। (हितो. २:७) उहाँले तपाईंलाई “असाधारण शक्‍ति” दिएर बलियो पार्न सक्नुहुन्छ।—२ कोरि. ४:७.

परिवार: घरको मायालु र अनि समानुभूतिशील वातावरणले तपाईंलाई रोगविरुद्ध लड्‌न मदत गर्न सक्छ। तर तपाईंको परिवारलाई पनि उत्तिकै पीडा भइरहेको छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। उनीहरूले पनि तपाईंले जस्तै निस्सहाय महसुस गरिरहेका हुन सक्छन्‌। तर कठिन परिस्थितिको बाबजुद तपाईंको हात थाम्न उनीहरू तपाईंको साथमा छन्‌। सँगै बसेर प्रार्थना गर्नुभयो भने तपाईंको मन शान्त हुन सक्छ।—हितो. १४:३०.

आफ्ना छोरीहरू र मण्डलीका अरू जवान बहिनीहरूबारे बार्बरा यसो भन्छिन्‌: “उनीहरू मलाई प्रचारमा भाग लिन मदत गर्छन्‌। उनीहरूको जोस देखेर मलाई आनन्द लाग्छ।” जेब्गनेभ आफ्नी पत्नीको सहयोगको एकदमै कदर गर्छन्‌। उनी यसो भन्छन्‌: “तिनी घरको प्रायजसो कामकाज आफै सम्हाल्छिन्‌। मलाई सभा अनि प्रचारमा जानको लागि लुगा लगाउन मदत गर्छिन्‌ अनि मेरो ब्याग पनि बोकिदिन्छिन्‌।”

सँगी विश्‍वासीहरू: सँगी विश्‍वासीहरूसँगै हुँदा हामी प्रोत्साहित हुन्छौं र सान्त्वना पाउँछौं। तर तपाईं आफ्नो रोगको कारण सभा जान सक्नुहुन्‍न भने नि? माग्डेलिना यसो भन्छिन्‌: “मैले सभाबाट लाभ उठाउन सकोस्‌ भनेर मण्डलीले रेकर्डिङको प्रबन्ध गरिदिन्छ। मेरा सँगी उपासकहरूले ‘केही गरिदिनुपर्छ कि’ भनेर सोध्नुहुन्छ। उहाँहरू मलाई प्रोत्साहनदायी पत्रहरू पनि पठाउनुहुन्छ। उहाँहरू मलाई याद गर्नुहुन्छ अनि मेरो चिन्ता गर्नुहुन्छ भनेर थाह पाउँदा मैले सहने बल पाउँछु।

डिप्रेसनको सिकार भएकी इजाबिला यसो भन्छिन्‌: “मण्डलीमा मेरो थुप्रै ‘आमाबुबाहरू’ हुनुहुन्छ। उहाँहरू मेरो कुरा सुन्‍ने अनि मलाई बुझ्ने कोसिस गर्नुहुन्छ। मण्डली मेरो लागि एउटा परिवार हो जहाँ म शान्ति अनि आनन्द महसुस गर्छु।”

विभिन्‍न कठिन परिस्थितिको सामना गरिरहेकाहरूले आफूलाई अरूबाट ‘अलग्ग नराख्न’ सक्दो कोसिस गर्छन्‌। बरु, तिनीहरू मण्डलीसित सङ्‌गत गर्ने मौकालाई बहुमूल्य ठान्छन्‌। (हितो. १८:१) यसरी तिनीहरू अरूको लागि ठूलो प्रोत्साहनको स्रोत हुन्छन्‌। सुरुमा त भाइबहिनीहरूलाई आफ्नो आवश्‍यकताबारे बताउन तपाईंलाई गाह्रो लाग्ला। तर तपाईंले खुलेर कुरा गर्नुभयो भने उनीहरूले त्यसको मोल गर्नेछन्‌। यसले उनीहरूलाई ‘निष्कपट भ्रातृस्नेह देखाउने’ मौका प्रदान गर्नेछ। (१ पत्रु. १:२२) तपाईंलाई सभामा जानको लागि मदत चाहिएको छ अनि तपाईं उनीहरूसित सँगै प्रचारमा जान चाहनुहुन्छ वा दुई जना मात्र बसेर गोप्य कुराकानी गर्न चाहनुहुन्छ भनेर उनीहरूलाई बताए कसो होला? हामीले उनीहरूबाट चाहिनेभन्दा बढी माग गर्नुहुँदैन बरु उनीहरूको मदतको कदर गर्नुपर्छ।

सकारात्मक हुनुहोस्‌: दीर्घकालीन रोगको बाबजुद तपाईं आनन्दित हुन सक्नुहुन्छ तर त्यो तपाईंकै हातको कुरा हो। यदि हामी अँध्यारो मुख लाएर बस्छौं वा निरुत्साहित हुन्छौं भने सजिलै नकारात्मक सोचाइको सिकार हुन सक्छौं। बाइबल यसो भन्छ: “मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर आत्माले चोट लागेको छ भने कसले त्यसलाई निको तुल्याउनसक्छ?”—हितो. १८:१४.

माग्डेलिना यसो भन्छिन्‌: “आफ्नै समस्यामा मात्र ध्यान नदिन म सक्दो कोसिस गर्छु। अलि सन्चो भएको जस्तो लाग्यो भने म रमाइलो गर्ने कोसिस गर्छु। दीर्घकालीन रोगको बाबजुद वफादार रहेका व्यक्‍तिहरूको अनुभव पढ्‌दा म प्रोत्साहन पाउँछु।” इजाबिलाले चाहिं यहोवाले उनलाई माया गर्नुहुन्छ अनि उनको मोल गर्नुहुन्छ भन्‍ने कुरा विचार गर्दा बल पाएकी छिन्‌। उनी भन्छिन्‌: “मलाई लाग्छ, कसैलाई मेरो खाँचो छ अनि म कसैको लागि बाँच्नुपर्छ। साथै मैले भविष्यको लागि अद्‌भुत आशा पनि पाएकी छु।”

जेब्गनेभ भन्छन्‌: “मेरो रोगले मलाई नम्र अनि आज्ञाकारी हुन सिकाएको छ। यसले मलाई अन्तरदृष्टि चलाउन, सही निर्णय गर्न अनि अरूलाई मनैदेखि क्षमा दिन पनि सिकाएको छ। मैले निस्सहाय महसुस नगरीकन यहोवाको सेवा गर्न सिकेको छु। साँच्चै भन्‍नुपर्दा, म आध्यात्मिक प्रगति गरिरहन उत्प्रेरित भएको छु।”

तपाईंले गर्नुभएको धैर्यलाई यहोवा सधैं सम्झनुहुन्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। उहाँले तपाईंको पीडा बुझ्नुहुन्छ अनि तपाईंको ख्याल राख्नुहुन्छ। हामीले “परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” (हिब्रू ६:१०) उहाँको डर राख्नेहरूको लागि यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ विचार गर्नुहोस्‌: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।”—हिब्रू १३:५.

कहिलेकाहीं तपाईं निराश हुनुहोला। त्यस्तो बेला नयाँ संसारमा जीवन बिताउने अद्‌भुत आशामा ध्यान केन्द्रित गर्नुहोस्‌। तपाईंले पृथ्वीमा परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌ आफ्नै आँखाले देख्नुहुनेछ—त्यो पनि छिट्टै!

[पृष्ठ २८-मा भएको पेटी/चित्र]

दीर्घकालीन रोगको बाबजुद तिनीहरू प्रचारकार्यमा लागिरहेका छन्‌

“म एक्लै हिंड्‌न सक्दिनँ। त्यसैले मेरी श्रीमती अथवा अरू भाइबहिनीले मलाई प्रचार जान मदत गर्छन्‌। म प्रस्तुतिहरू अनि बाइबल पदहरू पहिल्यै याद गर्छु।”— यज्ही, आँखा नदेख्ने भाइ।

“टेलिफोन साक्षी दिनुको अलावा म पत्रहरू लेखेर चासो दिने व्यक्‍तिहरूसित नियमित रूपमा सम्पर्क राख्छु। अस्पतालमा बस्नुपर्दा म सधैं बाइबल अनि हाम्रा साहित्यहरू खाटको छेवैमा राख्छु। यसले गर्दा मैले थुप्रैसित राम्रो कुराकानी थाल्ने मौका पाएकी छु।”— माग्डेलिना, सिस्टेमिक लुपस एरिथेमाटोसस्‌ रोग लागेकी बहिनी।

“मलाई घर-घरको प्रचार जान मनपर्छ। जान नसक्दाचाहिं टेलिफोन साक्षी दिने गर्छु।”— इजाबिला, डिप्रेसन भएकी बहिनी।

“मलाई पुनःभेट गर्न अनि बाइबल विद्यार्थीहरूलाई मदत गर्न रमाइलो लाग्छ। सन्चो भएको बेला मलाई घर-घरको प्रचार जान मनपर्छ।”— बार्बरा, ब्रेन ट्युमर भएकी बहिनी।

“म आफ्नो ब्यागमा अलि-अलि पत्रिकाहरू मात्र बोक्छु। अनि जोर्नीको दुखाइ सहन सकुन्जेल प्रचार गरिरहन्छु।”— जेब्गनेभ, बाथ रोग लागेको भाइ।

[पृष्ठ ३०-मा भएको चित्र]

केटाकेटी र वयस्क दुवै प्रोत्साहनको स्रोत हुन सक्छन्‌