सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन गर्ने समयलाई अझै रमाइलो र प्रभावकारी बनाउनुहोस्‌

अध्ययन गर्ने समयलाई अझै रमाइलो र प्रभावकारी बनाउनुहोस्‌

अध्ययन गर्ने समयलाई अझै रमाइलो र प्रभावकारी बनाउनुहोस्‌

बाइबल अध्ययनलाई हामी कसरी अझै रमाइलो बनाउन सक्छौं? अध्ययन गर्ने समयलाई हामी कसरी अझै प्रभावकारी बनाउन सक्छौं? व्यक्‍तिगत बाइबल अध्ययनबाट पूरापूर लाभ उठाउन मदत गर्ने तीन वटा महत्त्वपूर्ण तरिका छोटकरीमा विचार गरौं।

१ प्रार्थना गर्नुहोस्‌: पहिलो तरिका प्रार्थना गर्नु हो। (भज. ४२:८) किन? परमेश्‍वरको वचन अध्ययन गर्नुलाई हामीले उपासनाको भागको रूपमा लिनुपर्छ। त्यसैले मन खोलिदिनुहोस्‌ अनि पवित्र शक्‍ति दिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्नुपर्छ। (लूका ११:१३) लामो समयदेखि मिसनरी सेवा गरिरहेकी बार्बरा भन्छिन्‌: “बाइबल पढ्‌नु अथवा अध्ययन गर्नुअघि म सधैं प्रार्थना गर्छु। त्यसपछि, यहोवा मसितै हुनुहुन्छ र मैले गरेको कुरालाई उहाँले अनुमोदन दिनुहुन्छ भन्‍ने महसुस गर्छु।” अध्ययन गर्नुअघि प्रार्थना गर्दा हामीसामु भएको प्रशस्त आध्यात्मिक भोजनबाट पूरापूर लाभ उठाउन हाम्रो दिमाग र मन तयार हुन्छ।

२ मनन गर्नुहोस्‌: समयको अभावले गर्दा कसै-कसैले परमेश्‍वरको वचन सरसर्ती मात्र पढ्‌ने गर्छन्‌। तर बाइबल अध्ययन गरेर हासिल गर्न सकिने फाइदा तिनीहरूले गुमाइरहेका हुन्छन्‌। पचास वर्षभन्दा धेरै समयदेखि यहोवाको सेवा गरिरहेका कार्लोस भन्‍ने भाइले अध्ययन प्रभावकारी बनाउन मननको लागि समय छुट्ट्याउनु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा महसुस गरे। तिनी भन्छन्‌: “अहिले म एक पटकमा बाइबलका केही पानाहरू मात्र पढ्‌छु—प्रत्येक दिन लगभग दुई पाना जति। यसो गर्दा पढेको कुराबाट महत्त्वपूर्ण पाठ सिक्नको लागि मनन गर्न धेरै समय लगाउन सक्छु।” (भज. ७७:१२) मनन गर्न समय निकाल्दा परमेश्‍वरको ज्ञानमा अझ बढ्‌न र उहाँको इच्छा अझ राम्ररी बुझ्न सक्छौं।—कल. १:९-११.

३ लागू गर्नुहोस्‌: कुनै पनि कुराको व्यावहारिक महत्त्व बुझ्यौं भने त्यसबाट हामी अझ धेरै लाभ उठाउन सक्छौं। बाइबल अध्ययनको सन्दर्भमा पनि कुरा त्यही हो। बाइबल अध्ययन गर्ने नियमित तालिका भएका एक जवान भाइ गब्रिएल यसो भन्छन्‌, “अध्ययनले मलाई दैनिक जीवनका समस्याहरू झेल्न मदत गर्छ अनि अरूलाई मदत गर्न तयार पार्छ।” उनी अझै भन्छन्‌: “सिकेको सबै कुरा जीवनमा लागू गर्ने प्रयास गर्छु।” (व्यव. ११:१८; यहो. १:८) हो, हामीले सिक्न र लागू गर्न सक्ने परमेश्‍वरको ज्ञान प्रशस्त छ।—हितो. २:१-५.

पुनरावलोकन: बुद्धिका स्रोत यहोवाले प्रबन्ध गर्नुभएको ज्ञानलाई खोतल्न पाउनु हाम्रो लागि कस्तो ठूलो सुअवसर! (रोमी ११:३३) त्यसकारण अर्को पटक अध्ययन गर्नुअघि मन खोलिदिन अनि पवित्र शक्‍ति दिन बिन्ती गर्दै यहोवालाई प्रार्थना गर्न नबिर्सनुहोस्‌। त्यसपछि आफूले पढेको कुरा मनन गर्न बीच-बीचमा रोकिनुहोस्‌। साथै आफूले सिकिरहेका कुराहरू दैनिक जीवनमा लागू गर्नुहोस्‌। यी महत्त्वपूर्ण तरिकाहरू पछ्याउनुभयो भने बाइबल अध्ययन एकदमै रमाइलो र प्रभावकारी भएको पाउनुहुनेछ।