कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्
“मसँगै जागा रहो।”—मत्ती २६:३८.
१-३. येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम रात प्रेषितहरू जागा रहनदेखि कसरी चुके अनि तिनीहरूले आफ्नो गल्तीबाट पाठ सिके भनी कुन कुराले देखाउँछ?
येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम रातको दृश्य कल्पना गर्नुहोस्। येशू आफूलाई असाध्यै मनपर्ने ठाउँमध्ये एउटा ठाउँ, गेत्समनीको बगैंचामा आउनुभएको छ। उक्त ठाउँ यरूशलेमको पूर्वपट्टि छ। येशू यहाँ आफ्ना विश्वासी प्रेषितहरूसित आउनुभएको छ। मनमा साह्रै विचलित भएकोले प्रार्थना गर्न येशूलाई एकान्त ठाउँ चाहिएको छ।—मत्ती २६:३६; यूह. १८:१, २.
२ तीन जना प्रेषितहरू—पत्रुस, याकूब र यूहन्ना येशूसँग बगैंचाको भित्रसम्मै जान्छन्। उहाँ तिनीहरूलाई “तिमीहरू यहीं बस र मसँगै जागा रहो” भन्नुहुन्छ र प्रार्थना गर्न जानुहुन्छ। फर्केर आउँदा त आफ्ना मित्रहरू निदाइरहेका भेट्टाउनुहुन्छ। फेरि उहाँ तिनीहरूलाई यसरी आग्रह गर्नुहुन्छ: “जागा रहो।” तैपनि तिनीहरू अझै दुई पटक यसरी नै निदाउँछन्! पछि, त्यसै रात सम्पूर्ण प्रेषितहरू आध्यात्मिक रूपमा जागा रहनदेखि चुक्छन्। त्यतिमात्र कहाँ हो र, तिनीहरू येशूलाई छोडेरसमेत भाग्छन्!—मत्ती २६:३८, ४१, ५६.
३ जागा रहन नसकेकोमा प्रेषितहरूले निश्चय नै पछुतो गरे। ती विश्वासी पुरुषहरूले आफ्नो गल्तीबाट तुरुन्तै पाठ सिके। जागा रहिरहने सम्बन्धमा तिनीहरूले उत्कृष्ट उदाहरण बसाले भनी प्रेषितको पुस्तकले देखाउँछ। निस्सन्देह, तिनीहरूको उदाहरणले सँगी ख्रीष्टियनहरूलाई पनि त्यस्तै गर्न उत्प्रेरित गऱ्यो। अहिले हामी पहिलेभन्दा झनै जागा रहनु आवश्यक छ। (मत्ती २४:४२) त्यसोभए आउनुहोस्, जागा रहने सम्बन्धमा प्रेषितको पुस्तकबाट सिक्न सकिने तीन वटा पाठ विचार गरौं।
कहाँ प्रचार गर्ने भनेर पाएको निर्देशनलाई तिनीहरूले ध्यान दिए
४, ५. पावल र तिनका सहयात्रीहरूले पवित्र शक्तिको निर्देशन पाएको कुरा कसरी महसुस गरे?
४ पहिलो, कहाँ प्रचार गर्ने भनेर पाएको निर्देशनलाई प्रेषितहरूले ध्यान दिए। एउटा असाधारण यात्राको दौडान प्रेषित पावल र तिनका सहयात्रीहरूलाई डोऱ्याउन येशूले यहोवाबाट पाएको पवित्र शक्ति कसरी प्रयोग गर्नुभयो, एउटा विवरणमा हामी त्यसबारे सिक्छौं। (प्रेषि. २:३३) आउनुहोस्, हामी तिनीहरूको यात्राको विवरण केलाऔं।—प्रेषित १६:६-१० पढ्नुहोस्।
५ पावल, सिलास र तिमोथीले दक्षिणी गलातियाको सहर लिस्त्रा छोडे। केही दिनपछि तिनीहरू रोमी राजमार्ग हुँदै जनसङ्ख्या धेरै भएको एसियाको पश्चिमी भागमा पुगे। ख्रीष्टबारे सुन्न नपाएका हजारौं मानिसहरू भएका सहरहरूको भ्रमण गर्न सकियोस् भनेर ती यात्रीहरूले त्यो बाटो रोजे। तर केही कुराले तिनीहरूलाई अघि बढ्नदेखि रोक्यो। पद ६ मा हामी यस्तो लेखिएको पाउँछौं: “तिनीहरू फ्रिजिया र गलातियाको इलाका हुँदै गए, किनकि पवित्र शक्तिले तिनीहरूलाई एसिया प्रान्तमा परमेश्वरको वचन प्रचार गर्न निषेध गरेको थियो।” हुनत बाइबलमा यसको कारण उल्लेख गरिएको छैन। तर जेहोस्, पवित्र शक्तिले ती यात्रीहरूलाई एसियाको प्रान्तमा प्रचार गर्नदेखि रोक्यो। स्पष्ट छ, येशूले परमेश्वरको पवित्र शक्तिद्वारा पावल र तिनका सहयात्रीहरूलाई अर्कै दिशातर्फ डोऱ्याउन चाहनुभयो।
६, ७. (क)पावल र अरू सहयात्रीहरू बिथिनिया नजिकै पुग्दा के भयो? (ख) चेलाहरूले कस्तो निर्णय गरे र नतिजा कस्तो भयो?
६ ती उत्सुक यात्रीहरू कहाँ गए? पद ७ ले के भन्छ ध्यान दिनुहोस्: “साथै, माइसिया पुगेपछि तिनीहरूले बिथिनिया जाने प्रयास गरे तर येशूले पवित्र शक्तिद्वारा तिनीहरूलाई त्यहाँ जाने अनुमति दिनुभएन।” एसियामा प्रचार गर्ने अनुमति नपाएपछि पावल र तिनका सहयात्रीहरू बिथिनियाका सहरहरूमा प्रचार गर्ने उद्देश्यले उत्तरतर्फ लागे। तर बिथिनिया नजिक पुग्दा तिनीहरूलाई रोक्न येशूले फेरि पवित्र शक्ति प्रयोग गर्नुभयो। अब भने ती मानिसहरू अलमल्लमा परेको हुनुपर्छ। के प्रचार गर्ने र कसरी प्रचार गर्ने तिनीहरूलाई थाह थियो, तर कहाँ प्रचार गर्ने, त्योचाहिं थाह थिएन। यसलाई हामी यसरी भन्न सक्छौं: तिनीहरूले एसियाको ढोका ढकढक्याए—तर प्रयास व्यर्थ भयो। बिथिनियाको ढोका ढकढक्याए—प्रयास फेरि पनि व्यर्थ भयो। अब के तिनीहरूले हरेस खाए? अहँ खाएनन्!
७ यस घडीमा आएर तिनीहरूले अलि छक्कलाग्दो जस्तो देखिने निर्णय गरे। पद ८ यसो भन्छ: “तिनीहरू मिसिया हुँदै त्रोआस आइपुगे।” तिनीहरू पश्चिमतर्फ लागे र एउटा सहरबाट अर्को सहर हुँदै म्यासिडोनिया जाने सबैभन्दा सजिलो बाटो—त्रोआसको बन्दरगाह पुगे। यसको लागि तिनीहरू ५६३ किलोमिटर हिंडे। अब तेस्रो पटक पावल र तिनका सहयात्रीहरूले त्यहाँको ढोका ढकढक्याए। यसपालि भने ढोका खोलियो! त्यसपछि भएको घटनाबारे पद ९ मा यस्तो लेखिएको छ: “राती पावलले एउटा दर्शन देखे: एक जना म्यासिडोनियाली पुरुष खडा भएर तिनलाई यस्तो बिन्ती गरिरहेका थिए: ‘म्यासिडोनिया आउनुहोस् र हामीलाई मदत गर्नुहोस्।’” अब भने कहाँ प्रचार गर्ने पावललाई थाह भयो। ढिलासुस्ती नगरी तिनीहरू म्यासिडोनियातर्फ जाने जहाज चढे।
८, ९. पावलको यात्राको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
८ यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौ? याद गर्नुहोस्, पावल एसियाको यात्रामा निस्किसकेपछि मात्र परमेश्वरको शक्तिले तिनलाई रोक्यो। अनि पावल बिथिनिया नजिक पुगिसकेपछि मात्र येशूले तिनलाई निर्देशन दिनुभयो। अन्तमा, पावल त्रोआस पुगिसकेपछि मात्र येशूले तिनलाई म्यासिडोनियातर्फ डोऱ्याउनुभयो। मण्डलीको शिरको हैसियतमा आज पनि येशू हामीलाई त्यसरी नै डोऱ्याउन सक्नुहुन्छ। (कल. १:१८) उदाहरणको लागि तपाईं अग्रगामी सेवा गर्ने वा आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सर्ने योजना बनाउँदै हुनुहुन्छ होला। तर त्यस लक्ष्यमा पुग्न तपाईंले कदम चालिसकेपछि मात्र येशूले परमेश्वरको शक्तिको मदतद्वारा तपाईंलाई डोऱ्याउनुहुनेछ। यस उदाहरणबारे सोच्नुहोस्: गाडी गुडिरहेको छ भने मात्र चालकले त्यसलाई मोडेर दायाँ अथवा बायाँ लैजान सक्छ। त्यसैगरि हामी गतिशील छौं अर्थात् लक्ष्यमा पुग्न साँचो प्रयास गरिरहेका छौं भने मात्र येशूले हामीलाई सेवाको काम विस्तार गर्न आवश्यक डोऱ्याइ दिनुहुन्छ।
९ तर तपाईंको प्रयास उत्तिनैखेर सफल भएन भने नि? परमेश्वरको शक्तिले तपाईंलाई डोऱ्याएको रहेनछ भन्ने निष्कर्षमा पुग्दै हरेस खानुपर्छ? पावलले पनि त्यस्तै प्रकारका बाधाहरू सामना गर्नुपरेको थियो भन्ने कुरा नबिर्सनुहोस्। तैपनि ढोका नखुलुन्जेल तिनले खोजिरहे र ढकढक्याइरहे। त्यसैगरि “सेवा गर्ने मौकाको ठूलो ढोका” खोज्न लगनशील भई लागेमा तपाईंले पनि इनाम पाउन सक्नुहुनेछ।—१ कोरि. १६:९.
प्रार्थना गर्ने विषयमा सजग रहे
१०. जागा रहिरहनको लागि प्रार्थनामा लागिरहनु आवश्यक छ भनेर कुन कुराले देखाउँछ?
१० अब हामी जागा रहने सन्दर्भमा प्रथम शताब्दीका हाम्रा ख्रीष्टियन भाइहरूबाट सिक्न सकिने दोस्रो पाठ विचार गरौं: तिनीहरू प्रार्थना गर्ने विषयमा सजग थिए। (१ पत्रु. ४:७) जागा रहिरहन प्रार्थनामा लागिरहनु अत्यावश्यक छ। आफ्नो गिरफ्तारीअघि येशूले आफ्ना तीन जना प्रेषितहरूलाई गेत्समनीको बगैंचामा भन्नुभएको यो कुरा सम्झनुहोस्: “जागा रहो र निरन्तर प्रार्थना गर।”—मत्ती २६:४१.
११, १२. पत्रुसलगायत अन्य ख्रीष्टियनहरूलाई हेरोदले किन र कसरी दुर्व्यवहार गरे?
११ त्यस अवसरमा उपस्थित पत्रुसले व्यग्र प्रार्थना गर्नुको महत्त्व पछि आफैले अनुभव गरे। (प्रेषित १२:१-६ पढ्नुहोस्) यस विवरणको सुरुका पदहरूले बताएअनुसार यहूदीहरूलाई रिझाउन हेरोदले ख्रीष्टियनहरूलाई दुर्व्यवहार गर्न थाले। याकूब येशूको घनिष्ठ प्रेषित हुन् भन्ने कुरा हेरोदलाई पक्कै पनि थाह थियो। त्यसैले हेरोदले याकूबलाई “तरबारले” मारे। (पद २) यसरी मण्डलीले प्रिय प्रेषित गुमायो। भाइहरूका लागि कत्ति ठूलो परीक्षा!
१२ त्यसपछि हेरोदले के गरे? पद ३ यसो भन्छ: “यसबाट यहूदीहरू खुसी भएको देखेर उनी पत्रुसलाई पनि गिरफ्तार गर्न अघि सरे।” तर पहिले पनि पत्रुसलगायत केही प्रेषितहरूले चमत्कारी रूपमा झ्यालखानाबाट छुटकारा पाएका थिए। (प्रेषि. ५:१७-२०) हेरोदलाई यो कुरा पक्कै पनि राम्रोसँग थाह भएको हुनुपर्छ। ती धूर्त राजनीतिज्ञले कुनै कसर बाँकी राखेनन्। हेरोदले “चार-चार जना सिपाहीको चार वटा समूह बनाएर [पत्रुसमाथि] पालैसित पहरा दिन खटाए, किनकि उनले निस्तार-चाड सिद्धिएपछि तिनलाई जनतासामु उभ्याउने विचार गरेका थिए।” (पद ४) कल्पना गर्नुहोस् त! हेरोदले २ जना सिपाहीहरूका बीचमा पत्रुसलाई साङ्लोले बाँधे। यी प्रेषित भाग्न नसकून् भनेर जम्माजम्मी १६ जना सिपाहीहरूले पालैपालो दिनरात पहरा दिन्थे। निस्तार-चाडपछि पत्रुसलाई भीडसामु उभ्याउने अनि भीडलाई खुसी पार्न तिनको हत्या गर्ने हेरोदको आशय थियो। यस्तो कठिन अवस्थामा पत्रुसका सँगी ख्रीष्टियनहरूले के गर्न सक्थे?
१३, १४. (क)पत्रुस झ्यालखानामा पर्दा मण्डलीले कस्तो प्रतिक्रिया देखायो? (ख) प्रार्थनाको सन्दर्भमा पत्रुसका सँगी ख्रीष्टियनहरूले बसालेको उदाहरणबाट हामी के सिक्न सक्छौं?
१३ के गर्नुपर्ने हो, मण्डलीलाई थाह थियो। पद ५ मा हामी यस्तो लेखिएको पाउँछौं: “त्यसैले पत्रुस झ्यालखानामै रहिरहे तर मण्डलीले तिनको लागि परमेश्वरलाई तनमनले प्रार्थना गरिरहेको थियो।” हो, आफ्ना प्रिय भाइको खातिर तिनीहरूले मनैदेखि उत्कट बिन्ती चढाए। याकूबको मृत्युको कारण तिनीहरूले हरेस खाएका थिएनन्। प्रार्थना गर्नु बेकार छ भन्ने पनि तिनीहरूलाई लागेको थिएन। त्यसको विपरीत वफादार सेवकहरूको प्रार्थनालाई यहोवा असाध्यै महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। यस्ता प्रार्थनाहरू उहाँको इच्छासँग मेल खान्छ भने उहाँ त्यसको जवाफ दिनुहुन्छ।—हिब्रू १३:१८, १९; याकू. ५:१६.
१४ पत्रुसका सँगी ख्रीष्टियनहरूको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? जागा रहनुमा आफ्नै लागि मात्र होइन तर आफ्ना भाइबहिनीहरूका लागि प्रार्थना गर्नु पनि समावेश छ। (एफि. ६:१८) के तपाईं परीक्षा भोगिरहेका भाइबहिनीहरूलाई चिन्नुहुन्छ? कसैले सतावट, सरकारी प्रतिबन्ध वा प्राकृतिक प्रकोपको सामना गरिरहेका हुन सक्छन्। तिनीहरूको लागि मनैदेखि प्रार्थना गरिदिए कसो होला? झट्टै नदेखिने कठिनाइ सामना गरिरहेकाहरूलाई पनि तपाईं चिन्नुहुन्छ होला। तिनीहरूले पारिवारिक समस्या, निराशा वा खस्कँदो स्वास्थ्य अवस्थाको सामना गरिरहेका होलान्। “प्रार्थना सुन्नुहुने” यहोवालाई प्रार्थना गर्नुअघि कुनै खास व्यक्ति सम्झेर तिनको नाम नै तोकेर प्रार्थना गर्न सक्नुहुन्छ।—भज. ६५:२.
१५, १६. (क)यहोवाको स्वर्गदूतले पत्रुसलाई झ्यालखानाबाट कसरी छुटाए, व्याख्या गर्नुहोस्। (तल दिइएको चित्र हेर्नुहोस्।) (ख) यहोवाले पत्रुसलाई बचाउनुभएको तरिका विचार गर्नु किन सान्त्वनादायी छ?
१५ त्यसपछि पत्रुसलाई के भयो? झ्यालखानामा अन्तिम रात बिताइरहेको बेला पत्रुस दुई सिपाहीहरूका बीचमा मस्त निदाइरहेका थिए। तिनले एकपछि अर्को छक्कलाग्दो घटना अनुभव गरे। (प्रेषित १२:७-११ पढ्नुहोस्) त्यहाँ भएको घटना कल्पना गर्नुहोस्: कोठामा अकस्मात् ज्योति चम्कियो। स्पष्टतः सिपाहीहरूले देख्न नसक्नेगरि एक जना स्वर्गदूत त्यहाँ खडा भए र पत्रुसलाई झट्टै जगाए। तिनका हातमा बाँधिएका साङ्लाहरू फुस्केर खसे! त्यसपछि बाहिर खडा भइरहेका सिपाहीहरूकै सामनेबाट उक्त स्वर्गदूतले पत्रुसलाई कोठाबाहिर लगे र बडेमाको फलामे ढोकामा पुऱ्याए, जुन ढोका “आफसेआफ” खुल्यो। झ्यालखानाबाहिर पुगेपछि उक्त स्वर्गदूत अल्पिए। पत्रुस मुक्त भए!
१६ आफ्ना सेवकहरूलाई उद्धार गर्न सक्ने यहोवाको शक्तिबारे विचार गर्दा के हाम्रो विश्वास बलियो हुँदैन र? आज यहोवाले आफ्ना सेवकहरूलाई चमत्कारपूर्ण ढङ्गमा छुटकारा दिनुहुन्छ भनेर त हामी आशा गर्दैनौं। तथापि आज पनि यहोवाले आफ्ना जनहरूको खातिर आफ्नो शक्ति प्रयोग गर्नुहुन्छ भनी हामी पूरापूर विश्वास गर्छौं। (२ इति. १६:९) हामीमाथि जस्तोसुकै परीक्षा आए तापनि उहाँले आफ्नो शक्तिशाली पवित्र शक्तिद्वारा त्यसको सामना गर्न हामीलाई सक्षम बनाउन सक्नुहुन्छ। (२ कोरि. ४:७; २ पत्रु. २:९) साथै, सबैभन्दा कठोर झ्यालखाना—मृत्युबाट लाखौं-लाखलाई छुटकारा दिन यहोवाले चाँडै नै आफ्नो छोरालाई शक्ति दिनुहुनेछ। (यूह. ५:२८, २९) यहोवाका प्रतिज्ञाहरूमाथिको विश्वासले आज परीक्षाहरू सामना गर्दा हामीलाई अथाह साहस दिन सक्छ।
अवरोधहरू आए तापनि राम्ररी साक्षी दिइरहे
१७. जोसिलो हुँदै अविलम्बी भावसहित प्रचार गर्ने सन्दर्भमा पावलले कसरी उल्लेखनीय उदाहरण बसाले?
१७ अब, जागा रहने सम्बन्धमा प्रेषितहरूबाट सिक्न सक्ने तेस्रो पाठ विचार गरौं: तिनीहरूले अवरोधहरू आए तापनि राम्ररी साक्षी दिइरहे। जागा रहिरहन जोसिलो हुँदै अविलम्बी भावसहित प्रचार गर्नु महत्त्वपूर्ण छ। यस सन्दर्भमा प्रेषित पावलले उत्कृष्ट उदाहरण बसाले। टाढा-टाढासम्म यात्रा गर्दै र विभिन्न मण्डली स्थापना गर्दै तिनी जोसका साथ यस काममा लागे। तिनले थुप्रै कठिनाइ भोगे, तैपनि जोसिलो भइरहे र अविलम्बी भाव कहिल्यै गुमाएनन्।—२ कोरि. ११:२३-२९.
१८. रोममा थुनामा राखिएको बेला पावलले कसरी साक्षी दिइरहे?
१८ प्रेषितको पुस्तकमा पावलबारे अन्तिम पटक उल्लेख गरिएको विवरणलाई प्रेषित अध्याय २८ बाट विचार गरौं। पावल रोम आइपुगे र त्यहाँ तिनी नेरोसामु खडा हुनुपर्ने थियो। सायद तिनलाई साङ्लोले बाँधेर सिपाहीहरूको जिम्मामा थुनामा राखियो। तर साङ्लोले यी जोसिला प्रेषितलाई चुप लगाउन सकेन! पावलले साक्षी दिने उपायहरू खोजिरहे। (प्रेषित २८:१७, २३, २४ पढ्नुहोस्) तीन दिनपछि, साक्षी दिने हेतुले तिनले यहूदीहरूका गण्यमान्य मानिसहरूलाई बोलाउन लगाए। अनि तोकिएको दिनमा पावलले अझ विस्तृत साक्षी दिए। पद २३ के भन्छ, याद गर्नुहोस्: “उनीहरूले [स्थानीय यहूदीहरूले] तिनीसित एक दिन तोके र तिनको डेरामा पहिले भन्दा धेरै जना भेला भए। तिनले उनीहरूलाई परमेश्वरको राज्यको विषयमा राम्ररी साक्षी दिए अनि मोशाको व्यवस्था र भविष्यवक्ताहरूको पुस्तकबाट येशूको विषयमा चित्तबुझ्दो तर्क दिएर उनीहरूलाई मनाए। यसरी तिनले बिहानदेखि बेलुकीसम्मै उनीहरूसित कुरा गरे।”
१९, २०. (क)साक्षी दिने काममा पावल किन प्रभावकारी थिए? (ख) सबैले सुसमाचार नस्वीकार्दा पावलले कस्तो प्रतिक्रिया देखाए?
१९ साक्षी दिने काममा पावल किन असाध्यै प्रभावकारी थिए? पद २३ मा बताइएका विभिन्न कारण याद गर्नुहोस्। (१) तिनले परमेश्वरको राज्यमा र येशू ख्रीष्टमा जोड दिए। (२) “चित्तबुझ्दो तर्क दिएर” तिनले आफ्ना श्रोताहरूको चासो जगाउन खोजे। (३) तिनले धर्मशास्त्रबाट तर्क गरे। (४) तिनले “बिहानदेखि बेलुकीसम्मै” साक्षी दिएर आत्मत्यागी मनोभाव देखाए। पावलले जोडदार साक्षी दिए तर सबैले भने सुनेनन्। पद २४ यसो भन्छ: “तिनले भनेका कुराहरूमा कतिपयले विश्वास गर्न थाले तर अरूले भने गरेनन्।” विवाद सुरु भयो र मानिसहरू छरपस्ट भए।
२० सबैले सुसमाचार नस्वीकारेकोले के पावल निराश भए? अहँ भएनन्! प्रेषित २८:३०, ३१ मा हामी यस्तो लेखिएको पाउँछौं: “तिनले पूरा दुई वर्ष आफ्नै डेरामा बिताए। तिनले आफू कहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे अनि उनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ प्रभु येशू ख्रीष्टको विषयमा विनारोकटोक सिकाउँथे।” परमेश्वरको प्रेरणा पाएर लेखिएको प्रेषितको पुस्तक यिनै सान्त्वनादायी शब्दहरूद्वारा समापन हुन्छ।
२१. नजरबन्दमा पर्दा पावलले बसालेको उदाहरणबाट हामी के सिक्न सक्छौं?
२१ पावलको उदाहरणबाट हामी के सिक्न सक्छौं? नजरबन्दमा पर्दा पावल घर-घरमा गएर साक्षी दिन सक्दैनथे। तैपनि आफूकहाँ आउनेजति सबैलाई साक्षी दिएर तिनले सकारात्मक सोचाइ कायम राखे। त्यसैगरि आज पनि परमेश्वरका थुप्रै जन आफ्नो विश्वासको खातिर अन्यायी ढङ्गमा कैदमा पर्नुपरे तापनि आनन्दित भइरहन्छन् र प्रचार गरी नै रहन्छन्। हाम्रा केही प्रिय भाइबहिनीहरू घरभित्रै कुँजिन बाध्य छन्, अझ कतिले त वृद्धावस्था वा रोगबिमारको कारण नर्सिङ होममा जीवन बिताइरहेका होलान्। सक्षम भएसम्म तिनीहरू डाक्टर र कर्मचारीहरूलाई, भेट्न आउने मानिसहरूलाई अनि आफूकहाँ आउने अरूलाई प्रचार गर्छन्। परमेश्वरको राज्यबारे राम्ररी साक्षी दिनु तिनीहरूको मनैदेखिको चाहना हो। तिनीहरूले बसालेको उदाहरणको हामी कत्ति धेरै मोल गर्छौं!
२२. (क)प्रेषितको पुस्तकबाट लाभ उठाउन कुन प्रबन्धले हामीलाई मदत गरिरहेको छ? (माथिको पेटी हेर्नुहोस्।) (ख) यस पुरानो युगको अन्त पर्खंदै गर्दा तपाईं कुन कुरामा कटिबद्ध हुनुहुन्छ?
२२ बाइबलको प्रेषितको पुस्तकमा उल्लेख गरिएका प्रेषितहरू र प्रथम शताब्दीका अन्य ख्रीष्टियनहरूबाट जागा रहने सन्दर्भमा सिक्नुपर्ने कुरा धेरै छ। यस पुरानो युगको अन्त पर्खंदै गर्दा साहस र जोसका साथ साक्षी दिने सन्दर्भमा प्रथम शताब्दीका ख्रीष्टियनहरूको अनुकरण गर्न कटिबद्ध होऔं। अहिले हाम्रो लागि परमेश्वरको राज्यको विषयमा “राम्ररी साक्षी” दिन पाउनुभन्दा ठूलो सुअवसर अरू कुनै छैन!—प्रेषि. २८:२३.
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १३-मा भएको पेटी]
“प्रेषितको पुस्तक मेरो लागि सधैं नयाँ हुन्छ”
परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिने (अङ्ग्रेजी) पुस्तक पढिसकेपछि एक जना परिभ्रमण निरीक्षकले आफ्नो भावना यसरी व्यक्त गरे: “प्रेषितको पुस्तक मेरो लागि सधैं नयाँ हुन्छ। मैले प्रेषितको पुस्तकका विवरणहरू थुप्रै पटक सरसर्ती पढेको छु तर त्यो पढाइ अँधेरोमा मैनबत्ती समाएर अनि फोहोर चस्मा लगाएर पढे बराबर थियो। अहिले त प्रेषितको पुस्तक घामको उज्यालोमा बसेर पढ्न पाएको जस्तो लाग्छ।”
[पृष्ठ १२-मा भएको चित्र]
एक जना स्वर्गदूतले पत्रुसलाई बडेमाको फलामे ढोकाबाट बाहिर पुऱ्याए