सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले साहसी भई परमेश्‍वरको वचन घोषणा गरे!

तिनीहरूले साहसी भई परमेश्‍वरको वचन घोषणा गरे!

तिनीहरूले साहसी भई परमेश्‍वरको वचन घोषणा गरे!

विरोधको सम्मुख पर्दा साहसी र निर्भयीसमेत। परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिने (अङ्‌ग्रेजी) र यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी) जस्ता प्रकाशनले बताएअनुसार साँचो ख्रीष्टियनहरूले यी गुणहरू देखाएका छन्‌। यहोवाको शक्‍ति पाउन र उहाँको वचन निर्भयी भएर बोल्ने मदत पाउन प्रथम शताब्दीका सङ्‌गी विश्‍वासीहरूजस्तै हामी पनि उहाँलाई प्रार्थना गर्छौं।—प्रेषि. ४:२३-३१.

प्रथम विश्‍वयुद्धको दौडान भएको हाम्रो प्रचारकार्यबारे एक जना भाइले यस्तो लेखे: “परमेश्‍वरका सेवकहरूले धर्मशास्त्रको अध्ययन (अङ्‌ग्रेजी) किताबको सातौं खण्ड अर्थात्‌ टुंगिएको रहस्य (अङ्‌ग्रेजी) जोसका साथ वितरण गरिरहेका थिए। यसको वितरण अभूतपूर्व तरिकाले गरिदैं थियो। राज्य समाचार न. १ सन्‌ १९१८ मा विमोचन गरियो। केही समयपछि राज्य समाचार न. २ विमोचन गरियो। टुंगिएको रहस्य (अङ्‌ग्रेजी) किताबलाई अख्तियारवालाहरूले किन दबाए, राज्य समाचार न. २ मा व्याख्या गरिएको थियो। त्यसपछि राज्य समाचार न. ३ विमोचन गरियो। विश्‍वासी अभिषिक्‍त वर्गले यी प्रकाशनहरूलाई व्यापक रूपमा वितरण गऱ्‍यो। राज्य समाचार निकाल्न विश्‍वास र साहस आवश्‍यक पऱ्‍यो।

आज नयाँ राज्य प्रकाशकहरूले साधारणतया प्रचारकार्यको लागि प्रशिक्षण पाउँछन्‌। तर त्यतिबेला त्यस्तो थिएन। सन्‌ १९२२ मा आफूले पहिलो पटक क्षेत्र सेवामा भाग लिएको अनुभवबारे सम्झदैं अमेरिकामा बस्ने पोल्याण्डका एक जना भाइले यस्तो लेखे: “साहित्यहरू कसरी प्रस्तुत गर्ने भन्‍नेबारे मलाई केही ज्ञान थिएन अनि मेरो अङ्‌ग्रेजी पनि त्यति राम्रो थिएन। तैपनि म एक्लै गएर एक जना डाक्टरको अफिसको ढोका ढकढक्याएँ। एउटी नर्सले ढोका खोलिन्‌। म यत्ति उत्साहित र भयभीत भएको थिएँ कि त्यो अनुभव म कहिल्यै बिर्सन सक्दिनँ। झोला खोल्दा त सबै किताब तिनको खुट्टामा छरियो। मैले के भनें मलाई थाह छैन तर मैले तिनलाई एउटा प्रकाशन दिएँ। त्यहाँबाट हिंड्‌दा आफू साहसी भएको र यहोवाबाट आशिष्‌ पाएको महसुस गरें। त्यो दिन त्यस व्यापारिक इलाकामा थुप्रै पुस्तिका प्रस्तुत गरें।”

एउटी बहिनीले भनेअनुसार “सन्‌ १९३३ तिर थुप्रै भाइहरूले राज्य सन्देश फैलाउन ध्वनि यन्त्र जोडिएको मोटरगाडी प्रयोग गर्थे।” एक पटक तिनी र एक साक्षी दम्पतीले अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी इलाकामा प्रचार गरिरहेका थिए। ती बहिनी सम्झन्छिन्‌: “उक्‍त भाइले ध्वनि यन्त्र जोडिएको मोटरगाडी पहाडको मास्तिर लगे अनि हामीचाहिं तल सहरमै बस्यौं। रेकर्ड गरिएको सन्देश उनले बजाउँदा त त्यो आवाज स्वर्गबाट आएको जस्तो सुनिन्थ्यो। सहरका मानिसहरूले उक्‍त भाइलाई धुइँधुइँती खोजे तर भेट्टाउनै सकेनन्‌। रेकर्ड बजाइसकेपछि हामीले मानिसहरूलाई बोलाएर साक्षी दियौं। मैले ध्वनि यन्त्र जोडिएको अरू दुई वटा मोटरगाडीमा पनि काम गरें तर थुप्रै मानिसले हाम्रो सन्देश सुन्‍न चाहेनन्‌। तर तिनीहरूको घरसम्मै आइपुगेको त्यो आवाज नसुनी तिनीहरूलाई सुखै थिएन। यहोवाले सही समयमा सही तरिका प्रयोग गर्नुहुन्छ भनी हामीले सधैं महसुस गर्न सक्यौं। यो तरिका अपनाउन हामीलाई भएभरको साहस चाहिएको थियो तर यसले सधैं आफ्नो उद्देश्‍य पूरा गऱ्‍यो अनि यहोवाको नामको महिमा गऱ्‍यो।”

सन्‌ १९३० को दशक अनि १९४० को दशकको सुरुतिर प्रचारकार्यमा फोनोग्राफ र रेकर्ड गरिएको बाइबलआधारित भाषणहरू प्रयोग गरिन्थ्यो। एक जना ख्रीष्टियन स्त्री सम्झन्छिन्‌: “एक जवान बहिनीले फोनोग्राफ प्रयोग गरेर ढोका-ढोकामा साक्षी दिंदै थिइन्‌। उनले एउटा ढोकामा रेकर्ड बजाउन सुरु गर्दा त्यस घरका मानिस यत्ति रिसाए कि तिनले फोनोग्राफलाई लात्तीले हानेर दलानमा पुऱ्‍याइदिए। तर एउटा रेकर्ड पनि बिग्रिएन। रोकिरहेको ट्रकमा बसेर खाना खाइरहेका तीन जना मानिसले भर्खरै भएको यो कुरा देखे। तिनीहरूले ती बहिनीलाई बोलाए, रेकर्ड बजाउन लगाए र साहित्य स्वीकारे। ती बहिनीले दुर्व्यवहारको क्षतिपूर्ति पाएको महसुस गरिन्‌।” यस्ता परीक्षा सहन साहस चाहिन्थ्यो।

ती बहिनी अझै भन्छिन्‌: “सन्‌ १९४० मा सडकमा पत्रिका वितरण गर्न सुरु गरेको घटना म सम्झन्छु। त्यतिबेला जानकारी भएका सङ्‌केतपाटी बोकेर पदयात्रा गरिन्थ्यो। ‘धर्म पासो र फन्दा हो’ अनि ‘परमेश्‍वर र राजा ख्रीष्टको सेवा गर’ भनी लेखिएको सङ्‌केतपाटी बोकेर भाइबहिनीहरू सडकको छेउमा एउटै पङ्‌क्‍ति बनाएर हिंड्‌थे। यसरी हिंडिरहेकै बेला मानिसहरूलाई सित्तैंमा पर्चाहरू पनि दिइन्थ्यो। यस्ता कामहरूमा लाग्न साहस चाहिन्थ्यो तर यसले यहोवाको नाम र उहाँका मानिसहरूलाई जनसमक्ष चिनाउने उद्देश्‍य पूरा गऱ्‍यो।”

अर्की बहिनी यसो भन्छिन्‌: “साना सहरहरूमा पत्रिकाकार्य गर्नु धेरै गाह्रो थियो। साक्षीहरूलाई तीव्र विरोध गरिंदा झनै गाह्रो हुन्थ्यो। . . . एउटा कुनामा पत्रिका समाएर उभिंदै विभिन्‍न नारा लगाउन साँच्चै साहस चाहिन्थ्यो। तर शनिबारको प्रचारकार्य विरलै मात्र छुटाउने गर्थ्यौं। कहिलेकाहीं मानिसहरू मित्रैलो भएर कुरा गर्थे। तर कहिलेचाहिं हामी वरपर रिसाएका मानिसहरूको जमात खडा हुन्थ्यो अनि भीडबाट बच्न हामी सुटुक्क भाग्नुपर्थ्यो।”

दोस्रो विश्‍वयुद्धको दौडान आएका सतावटको बाबजुद यहोवाका साक्षीहरूले साहसी भई प्रचारकार्यमा भाग लिए। डिसेम्बर १, १९४० देखि जनवरी १२, १९४१ सम्म चलेको ४३ दिने अभियानमा अमेरिकाका लगभग ५०,००० प्रकाशकले झन्डै ८० लाख पुस्तिका वितरण गरे। त्यस समयलाई “साहसको” जाँचको घडीसमेत भनिन्थ्यो।

परमेश्‍वरको सङ्‌गठनका थुप्रै पाका व्यक्‍तिहरू आफूलाई साहसको आवश्‍यकता परेको विगतका चुनौतीहरू अझै पनि सम्झन्छन्‌। ‘युद्धलाई सँघारमै पुऱ्‍याऊ!’ भनेर अक्सर तिनीहरूले भन्‍ने गरेको अभिव्यक्‍तिले तिनीहरूको साहसी मनोभावलाई वर्षौंसम्म झल्काएको कुरा कोही-कोही सम्झन्छन्‌। परमेश्‍वरले हामीलाई सुम्पनुभएको सन्देशले यस वर्तमान दुष्ट युगको अन्त हुनुअघि कस्तो रूप लिनेछ भनेर देख्न बाँकी नै छ। तैपनि परमेश्‍वरको मदत पाएर हामी यहोवाको वचन विश्‍वास र साहससाथ घोषणा गरिरहनेछौं।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

राज्य प्रचारकार्यमा भाग लिन सधैं साहसको आवश्‍यकता परेको छ