नातान—शुद्ध उपासनाको वफादार समर्थक
नातान—शुद्ध उपासनाको वफादार समर्थक
कुनै शक्तिशाली मानिसलाई उसको काम खराब छ र उसले सुधार गर्नु आवश्यक छ भनेर बताउनु चानचुने कुरा होइन। त्यस शक्तिशाली मानिसले आफ्नो इज्जत जोगाउनकै लागि कसैको हत्या गरेको थाह पाउनुभयो भने के तपाईं उसको अघि पर्नुहुन्छ?
प्राचीन इस्राएलका राजा दाऊदले बेतशेबासँग अवैध यौनसम्बन्ध राखे र तिनी गर्भवती भइन्। आफूहरूले गरेको पाप लुकाउन दाऊदले बेतशेबाका पतिको हत्या गराए र बेतशेबालाई आफ्नी पत्नी बनाए। दाऊदले दोहोरो जीवन बिताउँदै राजाको रूपमा काम गरिरहेको महिनौं भइसकेको थियो। तर यहोवाले तिनले गरेको पापको बेवास्ता गर्नुभएन। उहाँले आफ्नो भविष्यवक्ता नातानलाई दाऊदकहाँ पठाउनुभयो।
यो सजिलो काम थिएन। आफूलाई नातानको ठाउँमा राख्नुहोस्। यहोवाप्रति वफादार भएकोले र दृढ भई उहाँका आज्ञाहरू पालन गरेकोले नै उनी दाऊदलाई तिनको गल्ती महसुस गराउन उत्प्रेरित भए। यी भविष्यवक्ताले यो काम कसरी गर्न सक्थे अनि दाऊदलाई पश्चात्ताप गर्नुपर्ने खाँचोबारे कसरी बुझाउन सक्थे?
समझदार शिक्षक
दोस्रो शमूएल १२:१-२५ पढ्न केही समय निकाल्नुभए कसो होला? नातानले दाऊदलाई यो कथा बताउँदा तपाईं आफू नातान भएको कल्पना गर्नुहोस्: “एकपल्ट एउटा शहरमा दुई जना मानिस थिए। एक जना धनी, र अर्कोचाहिं गरीब। धनी मानिसका धेरै भेडा-बाख्राको बगाल र गाई-गोरुको बथान थिए, त्यो गरीब मानिसको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालन-पोषण गऱ्यो, र आफ्नै घरमा आफ्नै छोराहरूसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै प्यालामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उनले आफ्नो छोरीजस्तै गर्थे। एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो, औ त्यस धनी मानिसले आफ्नो पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर नीच व्यवहार गरेर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गऱ्यो।”—२ शमू. १२:१-४.
दाऊद आफै पनि पहिले गोठालो भएकोले तिनले यसलाई वास्तविक घटनाको रूपमा लिएको हुनुपर्छ। एक टिप्पणीकार यसरी बताउँछन्: “अन्यायमा परेकाहरूको पुकारा सुनिदिने कोही नहुँदा सायद नातान पहिले पनि तिनीहरूका लागि बिन्ती गरिदिन दाऊदकहाँ आउने गर्थे। र अहिले पनि नातान त्यसैको लागि आए होलान् भनी दाऊदले सोचेको हुनुपर्छ।” कुरा त्यस्तै थियो भने पनि राजासँग त्यसरी कुरा गर्न उनलाई साहस र परमेश्वरप्रतिको वफादारी चाहिन्थ्यो। नातानले बताएको कथा सुनेपछि दाऊद रिसले चूर भए। तिनी यसो भन्दै कराए: “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!” त्यसपछि नातानले दाऊद झसङ्गै हुनेगरि यो कुरा बताए: “त्यो मानिस तपाईंनै हो!”—२ शमू. १२:५-७.
नातानले दाऊदसित किन यस्तो तरिकामा कुराकानी गरे, विचार गर्नुहोस्। भावनामा बहेर कसैसित नजिक भएको मान्छेलाई आफ्नो अवस्था राम्रोसित विचार गर्न गाह्रो हुन्छ। आफूले गरेको गलत कामलाई सही ठहऱ्याउन हामीमध्ये जो कोही पनि कुनै न कुनै बहाना बनाउन खौज्छौं। तर नातानले चलाएको उदाहरणले गर्दा दाऊद अनायासै आफूले गरेको कामको निन्दा गर्न पुगे। नातानले उदाहरणमा बताएका धनी मानिसको काम अत्यन्तै खराब थियो भनी दाऊदले स्पष्टसित बुझे। दाऊद आफैले त्यस कामको निन्दा गरेपछि मात्रै त्यो उदाहरण तिनमै लागू हुन्छ भनी नातानले बताए। आफूले गरेको पाप कत्तिको गम्भीर रहेछ भनी दाऊदले त्यसपछि बुझे। यसले गर्दा दाऊदलाई सुधार स्वीकार्न सजिलो भयो। बेतशेबासँग पाप गरेर आफूले यहोवालाई “तुच्छ ठानेको” कुरा दाऊदले मानिलिए र आफूले पाउनुपर्ने अनुशासन स्वीकारे।—२ शमू. १२:९-१४; भज. ५१, शीर्षकमुनि सानो अक्षरमा लेखिएको अंश।
यसबाट हामी के सिक्न सक्छौं? बाइबल शिक्षकको उद्देश्य आफ्ना श्रोताहरूलाई सही निष्कर्षमा आउन मदत गर्नु हो। नातान दाऊदको आदर गर्थे त्यसैले तिनीसँग समझदार हुँदै कुरा गरे। दाऊद वास्तवमा परमेश्वरको स्तरबमोजिमको असल काम अनि न्यायलाई प्रेम गर्थे भनी नातानलाई थाह थियो। त्यसैले उनले एउटा उदाहरण चलाएर यी ईश्वरीय गुणहरूतर्फ दाऊदको ध्यानाकर्षण गरे। इमानदार मानिसहरूलाई हामी पनि यहोवाको दृष्टिकोण बुझ्न मदत गर्न सक्छौं। तर कसरी? हामी तिनीहरूभन्दा श्रेष्ठ छौं भन्ने भान नपारिकनै तिनीहरूसित भएको सही र गलत छुट्ट्याउन सक्ने क्षमता प्रयोग गर्न तिनीहरूलाई मदत दिन सक्छौं। सही के हो र गलत के हो भनी निर्धारण गर्ने सन्दर्भमा हामी आफ्नो धारणा होइन, बाइबलको धारणा स्वीकार्छौं।
मुख्यतया परमेश्वरप्रतिको वफादारीले नातानलाई दाऊदजस्तो शक्तिशाली राजालाई सुधार्न सक्षम बनायो। (२ शमू. १२:१) यस्तै प्रकारको वफादारीले हामीलाई यहोवाका सही सिद्धान्तहरूको पक्षमा दृढ भई खडा हुन चाहिने साहस दिन्छ।
साँचो उपासनाका समर्थक
दाऊद र नातान सायद असल मित्र थिए किनकि दाऊदले आफ्नो एक जना छोराको नाम पनि नातान राखेका थिए। (१ इति. ३:१, ५) बाइबल विवरणमा नातानबारे पहिलो पटक उल्लेख गरिंदा उनी दाऊदसँगै थिए। तिनीहरू दुवैले यहोवालाई प्रेम गर्थे। राजा दाऊदले नातानले दिएको सुधार स्वीकारे भनी हामी भन्न सक्छौं किनकि तिनले यहोवाको लागि आफूले मन्दिर बनाउन तीव्र इच्छा गरेको कुरा नातानलाई बताए। दाऊदले यसो भने: “‘मता देवदारले बनाएको घरमा बस्तैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।’ नातानले राजालाई जवाफ दिए, ‘ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ।’”—२ शमू. ७:२, ३.
नातान यहोवाका वफादार उपासक थिए। त्यसकारण उनले शुद्ध उपासनाको लागि पृथ्वीमै पहिलो स्थायी केन्द्र बनाउने दाऊदको योजनालाई उत्सुक हुँदै समर्थन गरे। तर त्यसबेला नातानले भनेको कुरा यहोवाको तर्फबाट आएको नभई उनको आफ्नै थियो जस्तो देखिन्छ। त्यस रात यहोवाले नातानलाई अर्कै खबर लिएर दाऊदकहाँ जान अह्राउनुभयो। त्यो खबर थियो: दाऊदले यहोवाको मन्दिर बनाउन पाउने थिएनन्। दाऊदका छोराहरूमध्ये एक जनाले त्यो काम पूरा गर्नेथिए। तर दाऊदको सिंहासन “सदा सर्वदाको लागि स्थिर” गर्न यहोवाले तिनीसँग एउटा करार बाँध्नुहुनेछ भनी नातानले बताए।—२ शमू. ७:४-१६.
मन्दिर बनाउने विषयमा नातानको सोचाइ यहोवाको इच्छासँग मेल खाएन। तर यी नम्र भविष्यवक्ताले कुनै गुनासो नगरी यहोवाको उद्देश्यलाई स्वीकारे अनि त्यसलाई समर्थन गरे। परमेश्वरले कुनै तरिकामा हामीलाई सच्याउँदा हामीले पछ्याउनुपर्ने कस्तो राम्रो उदाहरण! नातानले भविष्यवक्ताको रूपमा त्यसपछि गरेका कामहरूबाट उनले यहोवाको अनुमोदन गुमाएका थिएनन् १ इति. २३:१-५; २ इति. २९:२५.
भनेर प्रस्ट हुन्छ। मन्दिरमा चढाइने सेवाको लागि ४,००० सङ्गीतकारहरूलाई व्यवस्थित गर्ने काममा दाऊदलाई मदत गर्न यहोवाले नै नातान र दर्शी गादलाई उत्प्रेरित गर्नुभएको जस्तो देखिन्छ।—राजाको ओहदाको रक्षक
दाऊदपछि सुलेमान राजा हुनेछन् भनेर नातानलाई थाह थियो। त्यसकारण दाऊदको वृद्धावस्थाको दौडान अदोनियाहले तिनको सिंहासन हडप्न खोज्दा नातानले तुरुन्तै कदम चाले। नातानको कामबाट उनी समझदार र वफादार भएको कुरा फेरि पनि देखियो। सुरुमा नातानले बेतशेबालाई दाऊदकहाँ गएर तिनले सुलेमानलाई राजा बनाउने शपथ खाएको कुरा सम्झाउन बिन्ती गरे। दाऊदले अदोनियाहलाई नै राजाको रूपमा छानेका हुन् कि होइनन् भनी सोध्न त्यसपछि नातान स्वयम् दाऊदकहाँ गए। वृद्ध राजा दाऊदले त्यसबेलाको गम्भीर अवस्थालाई विचार गर्दै सुलेमानलाई नै राजा अभिषेक गरे अनि त्यसबारे घोषणा गर्न नातान र अरू वफादार सेवकहरूलाई आदेश दिए। राजसत्ता हडप्ने अदोनियाहको षड्यन्त्र विफल भयो।—१ राजा १:५-५३.
नम्र इतिहासकार
पहिलो शमूएल अध्याय २५ देखि ३१ का साथै २ शमूएलको सम्पूर्ण पुस्तक नातान र गादले लेखेका हुन् भनी साधारणतया सबैले स्वीकार्छन्। परमेश्वरको प्रेरणा पाएर यी पुस्तकहरूमा रेकर्ड गरिएका ऐतिहासिक विवरणबारे यस्तो लेखिएको छ: “दाऊद राजाको राज्यका घटनाहरू शुरूदेखि आखिरीसम्म, तिनका राज्यका पूरा पूरा वर्णन, तिनका वीरताका कामहरू, औ तिनी र इस्राएल र संसारका सबै राज्यहरूका समयमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्तकहरूमा लेखिएका छन्।” (१ इति. २९:२९, ३०) “सुलेमानका राज्यका . . . घटना” पनि नातानले नै लेखेका थिए भनी बाइबल बताउँछ। (२ इति. ९:२९) यसले के देखाउँछ भने, दाऊदको मृत्युपछि पनि नातानले शाही महलमा सायद सक्रिय रूपमा सेवा गरिरहे।
नातानबारे हामीलाई थाह भएका धेरैजसो कुराहरू उनी आफैले लेखेका हुन सक्छन्। तैपनि कुनै-कुनै कुरामा उनको मौनताबाट हामी उनीबारे थुप्रै कुरा थाह पाउन सक्छौं। नातान पक्कै पनि एक नम्र इतिहासकार थिए। उनी आफ्नो नाम उच्च पार्ने अभिलाषा भएका महत्त्वाकाङ्क्षी मानिस थिएनन्। एउटा बाइबल शब्दकोशले बताएअनुसार उनले बाइबल विवरणमा आफूबारे लेख्दा “आफ्नो कुनै परिचय वा वंशावली” उल्लेख गरेनन्। उनको वंशावली र व्यक्तिगत जीवनबारे हामीलाई केही पनि थाह छैन।
यहोवाप्रतिको वफादारीद्वारा उत्प्रेरित
नातानबारे बाइबलमा दिइएका केही झलकबाट उनी नम्र तर यहोवाका प्रबन्धहरूको पक्षमा जोसिलो भई खडा हुने व्यक्ति थिए भनी स्पष्ट हुन्छ। यहोवाले उनलाई गम्भीर जिम्मेवारीहरू सुम्पनुभयो। परमेश्वरप्रतिको वफादारी अनि उहाँले माग गर्नुभएका कुराहरूप्रतिको गहिरो आदरजस्ता नातानका गुणहरूबारे मनन गर्नुहोस्। यस्ता गुणहरू खेती गर्न सक्दो प्रयास गर्नुहोस्।
हुनत अवैध यौनसम्बन्ध राख्ने राजाहरूलाई सुधार गर्ने वा सत्ता हडप्ने षड्यन्त्रलाई विफल पार्ने जिम्मेवारी तपाईंलाई नसुम्पिइएला। तर परमेश्वरको मदत पाएर तपाईं उहाँप्रति वफादार रहन र उहाँका सही स्तरहरूलाई समर्थन गर्न सक्नुहुन्छ। साथै तपाईं सत्य सिकाउने सन्दर्भमा साहसी तर समझदार व्यक्ति अनि शुद्ध उपासनाको समर्थक पनि हुन सक्नुहुन्छ।
[पृष्ठ २५-मा भएको चित्र]
राजाको ओहदाको समर्थकको रूपमा नातानले बेतशेबासँग समझदार भएर कुरा गरे