सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस्‌

मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस्‌

मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस्‌

“तिमीहरूले देखाउने मनोभावमाथि प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहोस्‌।”—फिलि. ४:२३.

निम्न क्षेत्रमा मण्डलीमा कसरी सकारात्मक मनोभाव कायम राख्न सक्छौं . . .

भाइबहिनीहरूसँग सङ्‌गत गर्दा?

क्षेत्र सेवामा जोसिलो हुने सन्दर्भमा?

गम्भीर गल्तीको रिपोर्ट गर्ने सन्दर्भमा?

१. फिलिप्पी र थिआटीराका मण्डलीहरूलाई के कुराको लागि प्रशंसा गरियो?

 फिलिप्पीमा रहेका प्रथम शताब्दीका ख्रीष्टियनहरू गरिब थिए। तथापि तिनीहरू उदार थिए अनि सङ्‌गी विश्‍वासीहरूलाई प्रेम देखाउनमा तिनीहरूले उत्कृष्ट उदाहरण बसाले। (फिलि. १:३-५, ९; ४:१५, १६) त्यसैले परमेश्‍वरको प्रेरणा पाएर तिनीहरूलाई लेखेको पत्रको समापन गर्दै प्रेषित पावलले यस्तो लेख्न सके: “तिमीहरूले देखाउने मनोभावमाथि प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहोस्‌।” (फिलि. ४:२३) थिआटीराका ख्रीष्टियनहरूले पनि त्यस्तै प्रकारको मनोभाव देखाएकोले महिमित येशू ख्रीष्टले तिनीहरूलाई यसो भन्‍नुभयो: “मलाई तिम्रा कामहरू अनि तिम्रो प्रेम, विश्‍वास, सेवा र सहनशीलता थाह छ। अनि तिमीले हालै गरेका कामहरू पहिलेका भन्दा धेरै छन्‌ भनेर पनि मलाई थाह छ।”—प्रका. २:१९.

२. हाम्रो मनोवृत्तिले मण्डलीले देखाउने मनोभावलाई कस्तो असर गर्छ?

आज पनि यहोवाका साक्षीहरूको प्रत्येक मण्डलीले कुनै खास प्रकारको मनोभाव वा झुकाव प्रकट गर्छ। केही मण्डलीले न्यानो र मायालु मनोभाव देखाउनमा नाम कमाएका छन्‌। अरू मण्डलीले भने राज्य प्रचारकार्यलाई जोसका साथ समर्थन गर्ने र पूर्ण-समय सेवाको उच्च कदर गर्ने सन्दर्भमा अत्यन्तै उल्लेखनीय उदाहरण बसालेका छन्‌। हामी प्रत्येकले सकारात्मक मनोभाव विकास गर्दा मण्डलीको एकतामा योगदान पुऱ्‍याइरहेका हुन्छौं र समग्रमा मण्डलीको आध्यात्मिक उन्‍नतिमा टेवा पुऱ्‍याइरहेका हुन्छौं। (१ कोरि. १:१०) अर्कोतर्फ, नकारात्मक मनोभाव देखाउँदा हामीले मण्डलीमा आध्यात्मिक निष्क्रियता अर्थात्‌ मनतातो मनोभाव फैलाइरहेका हुन्छौं र गलत कामलाई समेत सहिरहेका हुन्छौं। (१ कोरि. ५:१; प्रका. ३:१५, १६) तपाईंको मण्डलीले कस्तो मनोभाव देखाउनमा नाम कमाएको छ? मण्डलीमा सकारात्मक मनोभाव विकास गर्न व्यक्‍तिगत रूपमा तपाईं कस्तो मदत दिन सक्नुहुन्छ?

सकारात्मक मनोभाव कायम राख्नुहोस्‌

३, ४. हामी कसरी ‘ठूलो समुदायमा यहोवालाई धन्यवाद चढाउन’ सक्छौं?

भजनरचयिताले यसरी गाए: “ठूलो समुदायमा म तपाईंमा [यहोवामा] धन्यवाद चढाउनेछु। धेरै मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” (भज. ३५:१८) यहोवाका अरू उपासकहरूमाझ हुँदा उहाँको प्रशंसा गर्नदेखि भजनरचयिता पछि हटेनन्‌। प्रहरीधरहरा अध्ययनलगायत मण्डलीका साप्ताहिक सभामा टिप्पणीद्वारा आफ्नो विश्‍वास प्रदर्शन गरेर जोसिलो मनोभाव देखाउने राम्रो मौका पाउन सक्छौं। हामी प्रत्येकले आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘सभामा भाग लिने मौकाको के मैले पूर्ण सदुपयोग गरिरहेको छु? के म सभाको लागि राम्रो तयारी गरेर अर्थपूर्ण टिप्पणी दिन्छु? परिवारको शिरको हैसियतमा के म आफ्ना छोराछोरीलाई पहिल्यै टिप्पणी तयार गर्न र आफ्नै शब्दमा जवाफ दिन सिकाउँछु?’

भजनरचयिता दाऊदले दृढ मनलाई हामीले गाउने स्तुतिसँग जोडे। तिनले भने: “मेरो मन दृढ छ, हे परमेश्‍वर, मेरो मन दृढ छ। म गाउनेछु, म स्तुति गाउनेछु।” (भज. ५७:७) ख्रीष्टियन सभाहरूमा गाइने गीतले दृढ मनका साथ यहोवाको ‘स्तुति गाउने’ राम्रो मौका दिन्छ। यदि हामीलाई कुनै-कुनै गीत आउँदैन भने साँझको पारिवारिक उपासनामा अभ्यास गरे कसो होला? ‘बाँचुन्जेल यहोवाको भजन गाउन र जीवन रहुन्जेल उहाँको स्तुति गाउन’ कटिबद्ध होऔं।—भज. १०४:३३.

५, ६. हामी कसरी अरूको अतिथि-सत्कार गर्न र अरूप्रति उदार हुन सक्छौं? यसो गर्दा मण्डलीमा कस्तो मनोभाव विकास भइरहेको हुन्छ?

भाइबहिनीहरूलाई अतिथि-सत्कार गर्नु मण्डलीमा न्यानो मनोभाव विकास गर्ने अर्को तरिका हो। हिब्रूहरूलाई लेखेको पत्रको अन्तिम अध्यायमा पावलले यस्तो सल्लाह दिए: “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्‌। अतिथि-सत्कार गर्न नबिर्स।” (हिब्रू १३:१, २) परिभ्रमण निरीक्षक तथा तिनकी पत्नीलाई वा मण्डलीका अरू पूर्ण-समय सेवकहरूलाई खाना खान बोलाउनु अतिथि-सत्कार गर्ने उत्तम तरिका हो। साथै हामीसँगै खाना खाएर वा पारिवारिक उपासनामा सँगै भाग लिएर लाभ उठाउन सक्ने विधवा, एक्लो आमाबाबु भएको परिवार वा अरूलाई पनि नबिर्सनुहोस्‌।

‘भलाइको काम गर्न, असल काममा धनी हुन, उदारचित्तको हुन, बाँडचुँड गर्न तत्पर हुन अनि आफ्नो भविष्यको लागि राम्रो जग बसाल्न’ अरूलाई सल्लाह दिनू भनी पावलले तिमोथीलाई निर्देशन दिए। यसो गर्दा तिनीहरूले ‘त्यो जीवन पक्रिराख्न सक्थे जो साँच्ची नै जीवन हो।’ (१ तिमो. ६:१७-१९) पावलले आफ्ना सङ्‌गी उपासकहरूलाई उदार मनोभाव विकास गर्न प्रोत्साहन दिइरहेका थिए। आर्थिक कठिनाइको बेलामा समेत हामी उदार मनोभाव देखाउन सक्छौं। यसो गर्ने एउटा राम्रो तरिका भनेको क्षेत्र सेवा र सभा आउन-जान मदत चाहिएकाहरूलाई यातायातको प्रबन्ध गरिदिनु हो। करुणाले भरिएका यस्ता कार्यहरूबाट लाभ उठाउनेहरूले चाहिं के गर्न सक्छन्‌? इन्धनको महँगो खर्च बेहोर्न सक्दो मदत गरेर कृतज्ञता देखाएमा तिनीहरूले मण्डलीमा सकारात्मक मनोभाव कायम राख्न मदत गरिरहेका हुन्छन्‌। साथै ख्रीष्टियन भाइबहिनीसँग प्रशस्त समय बिताउने प्रबन्ध मिलाउँदा के यसले तिनीहरूलाई मूल्यवान्‌ ठानेको र माया गरेको महसुस गराउँदैन र? “एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीहरूको” लागि असल कामहरू गरेर अनि आफ्नो समय तथा स्रोतसाधन उनीहरूसित बाँडचुँड गर्न तयार भएर हामीले उनीहरूप्रति गहिरो प्रेम मात्र देखाइरहेका हुँदैनौं तर मण्डलीमा न्यानो र सकारात्मक मनोभाव विकास गर्न पनि मदत पुऱ्‍याइरहेका हुन्छौं।—गला. ६:१०.

७. अरूको व्यक्‍तिगत कुरालाई गोप्य राख्दा मण्डलीको सकारात्मक मनोभाव जोगाउन कसरी मदत पुग्छ?

सङ्‌गी विश्‍वासीहरूसँगको प्रेमको बन्धनलाई बलियो बनाउने अन्य पक्षहरू विचार गरौं। ती हुन्‌: मित्रता र गोपनीयता। (हितोपदेश १८:२४ पढ्‌नुहोस्‌) साँचो मित्रहरूले व्यक्‍तिगत कुरालाई गोप्य राख्छन्‌। जब हाम्रा भाइबहिनीले आफ्नो भित्री भावना र विचारहरू हामीलाई बताउँछन्‌ र त्यो गोप्य नै रहन्छ भनी ढुक्क हुन्छन्‌, तब हामीबीच पहिलेदेखि रहेको प्रेमको बन्धन अझै बलियो हुन्छ। गोप्य कुरालाई गोप्य नै राख्न सक्ने भरोसायोग्य मित्र भएर मण्डलीमा न्यानो पारिवारिक वातावरण कायम राखौं।—हितो. २०:१९.

प्रचारकार्यमा जोसिलो हुनुहोस्‌

८. लाओडिसियाका ख्रीष्टियनहरूले कस्तो सल्लाह पाए र किन?

येशूले लाओडिसियाको मण्डलीलाई यसो भन्‍नुभयो: “मलाई तिम्रा कामहरू थाह छ, तिमी न चिसो न तातो छौ। तिमी कि चिसो कि तातो भइदिए त हुनेथियो। तिमी न तातो न चिसो तर मनतातो भएकोले म तिमीलाई मुखबाट ओकलिदिनेछु।” (प्रका. ३:१५, १६) लाओडिसियाका ख्रीष्टियनहरूमा सेवाको कामप्रति त्यति जोस थिएन। त्यस्तो मनोभावले सायद तिनीहरूबीचको सम्बन्धलाई पनि असर गऱ्‍यो। त्यसकारण येशूले तिनीहरूलाई मायालुपूर्वक यस्तो सल्लाह दिनुभयो: “ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु। त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर।”—प्रका. ३:१९.

९. क्षेत्र सेवाप्रति हाम्रो मनोवृत्तिले कसरी मण्डलीलाई असर गर्छ?

मण्डलीमा स्वस्थकर अनि सकारात्मक मनोभाव कायम राख्न हामीले क्षेत्र सेवाप्रतिको आफ्नो जोस कस्तो छ भनी विचार गर्नुपर्छ। इलाकामा भएका निष्कपट व्यक्‍तिहरूलाई खोज्नु र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध बलियो बनाउनु नै मण्डलीको उद्देश्‍य हो। त्यसकारण हामीले पनि चेला बनाउने काममा येशूले जस्तै उत्सुकतासाथ भाग लिनु जरुरी छ। (मत्ती २८:१९, २०; लूका ४:४३) प्रचारकार्यप्रति हामी जति धेरै जोसिलो हुन्छौं, “परमेश्‍वरका सहकर्मीहरू”-को हैसियतमा हामी त्यति नै धेरै एकताबद्ध हुनेछौं। (१ कोरि. ३:९) क्षेत्र सेवामा भाइबहिनीले आफ्नो विश्‍वासको पक्षमा बोलेको र परमेश्‍वरको सेवासँग सम्बन्धित कुराहरूप्रति कृतज्ञता व्यक्‍त गरेको देख्दा हामी उनीहरूलाई अझ धेरै प्रेम र आदर गर्न उत्प्रेरित हुन्छौं। साथै, प्रचारकार्यमा “काँधमा काँध मिलाएर” सेवा गर्दा मण्डलीमा एकताको मनोभाव छाउँछ।—सपन्याह ३:९, NRV पढ्‌नुहोस्‌।

१०. प्रचारकार्यको गुणस्तर बढाउने प्रयासले मण्डलीका अरूमा कस्तो प्रभाव पार्छ?

१० प्रचारकार्यको गुणस्तर अझै बढाउने प्रयासले पनि अरूमा राम्रो प्रभाव पार्छ। क्षेत्रमा भेट्‌ने मानिसहरूलाई गहिरो चासो देखाउँदा अनि घरधनीको मनसम्म पुग्न कडा मेहनत गर्दा प्रचारकार्यप्रतिको हाम्रो उत्साह बढ्‌छ। (मत्ती ९:३६, ३७) हामी उत्साहित भयौं भने हामीसित भएकाहरू पनि उत्साहित हुनेछन्‌। येशूले चेलाहरूलाई प्रचार गर्न पठाउँदा एक्लै होइन, दुई-दुई जना गरी पठाउनुभयो। (लूका १०:१) यसले तिनीहरूलाई प्रोत्साहन र प्रशिक्षण मात्र दिएन तर प्रचारकार्यप्रति पनि अझ जोसिलो बनायो। जोसिला राज्य प्रकाशकहरूसित काम गर्न पाउँदा के हामीलाई खुसी लाग्दैन र? तिनीहरूको जोसिलो मनोभावले हामीलाई पनि प्रोत्साहन र प्रचारकार्यमा लागिरहने प्रेरणा दिन्छ।—रोमी १:१२.

गनगन गर्न र गल्ती गर्नदेखि जोगिनुहोस्‌

११. मोशाको समयका केही इस्राएलीहरूले कस्तो मनोभाव देखाए? यसले तिनीहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

११ नयाँ राष्ट्रको रूपमा स्थापित भएको केही हप्ता नबित्दै इस्राएलीहरूले असन्तोकी र गनगने मनोभाव देखाए। यसले गर्दा तिनीहरू यहोवा र उहाँका प्रतिनिधिहरूको विरोध गर्न पुगे। (प्रस्थ. १६:१, २) मिश्र छोडेर आएका इस्राएलीहरूमध्ये थोरैले मात्र प्रतिज्ञा गरिएको देश देख्न पाए। इस्राएलीहरूले देखाएको नराम्रो मनोभावप्रति मोशाले जुन प्रतिक्रिया देखाए, त्यसले गर्दा मोशासमेत प्रतिज्ञा गरिएको त्यस देशमा पस्न पाएनन्‌! (व्यव. ३२:४८-५२) नकारात्मक मनोभावको सिकार नहुन आज हामी के गर्न सक्छौं?

१२. गनगन गर्ने मनोभाव राख्नदेखि हामी कसरी जोगिन सक्छौं?

१२ गनगन गर्ने मनोभाव राख्नदेखि हामी जोगिनुपर्छ। नम्रता र अख्तियारप्रतिको आदरले हामीलाई यस्तो मनोभाव नराख्न मदत गर्नेछ। होसियार भई आफ्नो सङ्‌गत छान्दा पनि यस्तो मनोभाव राख्नदेखि जोगिन सक्छौं। मनोरञ्जन छान्दा बुद्धि पुऱ्‍याएनौं वा यहोवाको सिद्धान्तअनुसार नचल्ने सहकर्मी वा सहपाठीसँग धेरै समय बितायौं भने ठूलो मोल चुकाउनुपर्ने हुन्छ। गनगन गर्ने वा स्वतन्त्र मनोभाव राख्ने व्यक्‍तिहरूसित धेरै समय नबिताउनु नै बुद्धिमानी हो।—हितो. १३:२०.

१३. गनगन गर्ने बानीले यहोवासितको सम्बन्धलाई बिगार्ने कस्ता हानिकारक आचरणतर्फ धकेल्न सक्छ?

१३ गनगन गर्ने बानीले यहोवासितको सम्बन्धलाई बिगार्ने अन्य हानिकारक आचरणतर्फ धकेल्न सक्छ। उदाहरणको लागि गनगन गर्ने बानीले मण्डलीको शान्ति र एकतामा बाधा पुऱ्‍याउन सक्छ। अझ सङ्‌गी भाइबहिनीविरुद्ध गनगनाउँदा यसले तिनीहरूलाई पीडा दिने मात्र होइन तर तिनीहरूको निन्दा गर्ने र तिनीहरूलाई घृणा गर्ने हदसम्म पुऱ्‍याउन सक्छ। (लेवी १९:१६; १ कोरि. ५:११) प्रथम शताब्दीको मण्डलीका केही गनगनेहरूले ‘प्रभुत्वलाई तुच्छ ठान्दै महिमा पाएका जनहरूको निन्दा गरिरहेका’ थिए। (यहू. ८, १६) मण्डलीका जिम्मेवार पुरुषहरूविरुद्धको यस्तो गनगनलाई परमेश्‍वरले निश्‍चय नै स्वीकार्नुभएन।

१४, १५. (क) गम्भीर गल्तीप्रति आँखा चिम्लिंदा यसले पूरै मण्डलीमा कस्तो असर पुऱ्‍याउन सक्छ? (ख) कसैले गोप्य रूपमा पाप गरिरहेको थाह पायौं भने हामीले के गर्नुपर्छ?

१४ यदि कसैले गोप्य रूपमा रक्सीको दुरुपयोग गरेर, अश्‍लील सामग्री हेरेर वा अनैतिक जीवन बिताएर पाप गरेको थाह पायौं भने नि? (एफि. ५:११, १२) गम्भीर गल्तीप्रति आँखा चिम्लियौं भने यहोवाको पवित्र शक्‍तिले राम्रोसँग काम गर्न पाउँदैन र पूरै मण्डलीको शान्ति खलबलिन सक्छ। (गला. ५:१९-२३) जसरी प्रथम शताब्दीको कोरिन्थका ख्रीष्टियनहरूले खराबीलाई हटाउनुपर्थ्यो, त्यसैगरि आज पनि मण्डलीको सकारात्मक मनोभाव जोगाउन कुनै पनि भ्रष्ट प्रभावलाई मण्डलीबाट हटाउनै पर्छ। मण्डलीको शान्ति कायम राख्न तपाईं के गर्न सक्नुहुन्छ?

१५ अगाडि पनि उल्लेख गरिएझैं कुनै-कुनै कुरामा हामीले गोपनीयता कायम राख्नुपर्ने हुन्छ, विशेषगरि अरूले हामीलाई भरोसा गरेर आफ्नो विचार र भावना पोख्दा। कसैको व्यक्‍तिगत कुरा खुलाउँदै हिंड्‌नु गलत अनि चित्त दुखाउने कुरा हो! तैपनि गम्भीर पापको मामिलामा भने मण्डलीका एल्डरहरूलाई खबर गर्नु जरुरी छ। किनभने यस्ता मामिलाहरू सम्हाल्ने धर्मशास्त्रीय जिम्मेवारी एल्डरहरूको हो। (लेवी ५:१ पढ्‌नुहोस्‌) तसर्थ कुनै भाइ वा बहिनीले त्यस्तो गल्ती गरेको थाह पायौं भने एल्डरहरूकहाँ गएर मदत माग्न प्रोत्साहन दिनुपर्छ। (याकू. ५:१३-१५) तर निश्‍चित समयभित्र तिनले एल्डरहरूलाई आफ्नो समस्याबारे बताएनन्‌ भने हामी आफैले एल्डरहरूलाई बताउनुपर्छ।

१६. गम्भीर गल्तीबारे रिपोर्ट गर्दा मण्डलीको सकारात्मक मनोभाव कसरी जोगिन्छ?

१६ ख्रीष्टियन मण्डली सुरक्षा पाउने ठाउँ हो। त्यसैले यसलाई कायमै राख्न हामीले गम्भीर गल्तीबारे रिपोर्ट गर्नुपर्छ। यदि एल्डरहरूले दिएको मदतले गर्दा गल्ती गर्ने व्यक्‍तिको होस खुल्यो र एल्डरहरूबाट पाएको सुधार र अनुशासन तिनले पश्‍चात्ताप गर्दै स्वीकारे भने मण्डलीको वातावरण खतरामुक्‍त रहन्छ। तर गम्भीर गल्ती गर्ने व्यक्‍तिले पश्‍चात्ताप गरेनन्‌ र एल्डरहरूले मायालुपूर्वक दिएको सल्लाहलाई बेवास्ता गरे भने नि? तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ। यसरी हामीमाझ रहेको भ्रष्ट प्रभाव “नष्ट” हुनेछ अर्थात्‌ हामीमाझबाट हट्‌नेछ र मण्डलीको सकारात्मक मनोभाव जोगिनेछ। (१ कोरिन्थी ५:५ पढ्‌नुहोस्‌) हो, मण्डलीको सकारात्मक मनोभाव जोगाउन हामी प्रत्येकले आवश्‍यक कदम चाल्ने, एल्डरहरूको निकायसँगै मिलेर काम गर्ने र सङ्‌गी भाइबहिनीहरूको भलाइ खोज्ने गर्नुपर्छ।

“पवित्र शक्‍तिद्वारा पाइने एकतामा” रहनुहोस्‌

१७, १८. “पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन” हामीलाई केले मदत गर्नेछ?

१७ प्रारम्भिक समयका ख्रीष्टियनहरूले “प्रेषितहरूको शिक्षा ध्यान दिएर” सुनेकोले मण्डलीमा एकता कायम रह्‍यो। (प्रेषि. २:४२) एल्डरहरूबाट पाएको धर्मशास्त्रीय सल्लाह र निर्देशनको तिनीहरूले मोल गरे। आज पनि एल्डरहरूले विश्‍वासी र बुद्धिमान्‌ दाससँगै मिलेर काम गर्ने भएकोले मण्डलीका सबैले एकतामा रहन मदत र प्रोत्साहन पाएका छन्‌। (१ कोरि. १:१०) यहोवाको सङ्‌गठनबाट आएको बाइबलआधारित शिक्षाअनुसार चल्यौं र एल्डरहरूले दिएको निर्देशनलाई पछ्यायौं भने “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास” गरेको प्रमाण दिइरहेका हुन्छौं।—एफि. ४:३.

१८ त्यसैले मण्डलीको सकारात्मक मनोभावलाई जोगाउन हर प्रयास गरौं। यसो गऱ्‍यौं भने ‘हामीले देखाउने मनोभावमाथि प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहनेछ’ भनी ढुक्क हुन सक्छौं।—फिलि. ४:२३.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

अर्थपूर्ण टिप्पणीहरू तयार गरेर के तपाईं सकारात्मक मनोभाव देखाउनुहुन्छ?

[पृष्ठ २०-मा भएको चित्र]

राज्य गीतहरूसँग परिचित भएर सकारात्मक मनोभाव देखाउनुहोस्‌