हाम्रो अभिलेखालयबाट
‘यसले अरूको ध्यान मतर्फ खिच्यो’
जब पूर्ण-समय प्रचारक सार्लेट ह्वाइट चक्काजडित सुटकेस गुडाउँदै संयुक्त राज्य अमेरिकाको केन्टकी प्रान्तको ल्युइसभिल सहर आइपुगिन्, धेरैको ध्यान तिनीतर्फ खिचियो।
कुरा सन् १९०८ को हो। भर्खरै आविष्कार भएको ‘प्रभात घुम्ती’ लिएकी बहिनी ह्वाइटतर्फ सहरका मानिसहरूको ध्यान खिचिनु कुनै नौलो कुरा थिएन। तिनले भनिन्: “मानिसहरू यसबारे कुरा गर्थे अनि यसले अरूको ध्यान मतर्फ खिच्यो।”
अहिले यहोवाका साक्षीहरू भनेर चिनिने त्यसबेलाका बाइबल विद्यार्थीहरूले बाइबलको लगनशील अध्ययनबाट आफूले सिकेका अनमोल सत्यहरू अरूलाई बाँड्नुपर्ने आवश्यकता महसुस गरे। थुप्रैले सहस्त्रवर्षीय प्रभात (अङ्ग्रेजी) शीर्षकको शृङ्खलाबद्ध किताबबाट बाइबलको ज्ञान पाएका थिए। [यसलाई पछि धर्मशास्त्रको अध्ययन (अङ्ग्रेजी) पनि भनियो]। टाढा-टाढाको इलाकासम्म यात्रा गर्न इच्छुक र सक्षम ख्रीष्टियनहरू “बाइबल विद्यार्थीहरूका लागि सहयोगी हात” भनेर चिनिने यी किताबका शृङ्खलाहरू अरू उत्सुक पाठकहरूलाई दिन विभिन्न सहर, गाउँ र दुर्गम स्थानमा गए।
सन् १९०८ मा बहिनी ह्वाइट र अरू जोसिला राज्य उद्घोषकहरूले कपडाले बेरिएको उक्त छ खण्डे किताब १.६५ अमेरिकी डलरमा (लगभग १२५ रुपैयाँ) वितरण गर्थे। प्रभात किताबहरू तुरुन्तै दिनुको सट्टा तिनीहरू अर्डर लिन्थे र पछि फेरि जान्थे। तिनीहरू अक्सर मानिसहरूले तलब थाप्ने दिन पारेर जान्थे। तिनीहरूले लिएको पैसाले छपाइ खर्च मात्र बेहोर्थ्यो। यी किताबहरूको लागि मानिसहरूले थोरै मात्र अनुदान दिएकोले एक जना व्यक्तिले त आपत्तिसमेत जनाए!
आफूले एक हप्तामा दुई सयदेखि तीन सय वटा किताबहरूको अर्डर लिएको कुरा बहिनी मलिन्डा किफर सम्झन्छिन्। तर मानिसहरूले प्रभात किताबहरूप्रति देखाएको व्यापक चासोले एउटा समस्या उत्पन्न गरायो। यसको छैटौं खण्ड मात्रै पनि
७४० पृष्ठको थियो! यसबारे प्रहरीधरहरा-ले यो कुरा मानिलियो: “पचास वटा किताबको तौल चालीस पाउन्ड (१८ किलोग्राम) थियो!” यसलाई ठाउँ-ठाउँमा पुऱ्याइदिनु विशेषगरि बहिनीहरूको लागि “साह्रै गाह्रो” थियो।प्रभात किताबलाई ठाउँ-ठाउँमा पुऱ्याउँदा आइपर्ने समस्याको समाधान गर्न भाइ जेम्स कोलले दुइटा चक्का भएको अनि दोबार्न मिल्ने एउटा फ्रेमको आविष्कार गरे। यसमा पेचकिला प्रयोग गरेर सुटकेस जडान गर्न मिल्थ्यो। यसको आविष्कारपछि किताबले भरिएका भारी बाकसहरू बोकिरहनुपर्ने झन्झटबाट मुक्ति पाइएकोले यसका आविष्कारक स्वयम्ले यसो भने: “बल्ल मेरो काँधले आराम पाउने भयो।” सन् १९०८ मा ओहायोको सिन्सिनाटीमा आयोजित बाइबल विद्यार्थीहरूको अधिवेशनमा उपस्थित हर्षित श्रोताहरूसामु तिनले यो नयाँ साधनलाई प्रस्तुत गरे। यसमा प्रयोग भएको तेर्सो डन्डीको दुवै छेउको गट्टामा ‘प्रभात घुम्ती’ भन्ने नाम कुँदिएको थियो किनभने यसमा मुख्यतया सहस्त्रवर्षीय प्रभात-का खण्डहरू बोकिन्थ्यो। केहीबेरको अभ्यासपछि नै, दर्जनौं किताबहरूले भरिएको सुटकेसलाई ओसारपसार गर्नु एउटै हातले गर्न सकिने सजिलो काम भयो। यसको उचाइ आवश्यकताअनुसार घटाउन-बढाउन सकिन्थ्यो र यसलाई कच्ची बाटोमा समेत गुडाउन सकिन्थ्यो। प्रचारमा दिन बिताइसकेपछि यसका चक्काहरूलाई सुटकेसमा टाँसिनेगरि मास्तिर दोबारेर राखिन्थ्यो। त्यसपछि खाली भएको सुटकेसलाई गाडीमा वा पैदलै घर लगिन्थ्यो।
पूर्ण-समय सेवा गर्ने बहिनीहरूले ‘प्रभात घुम्ती’ सित्तैंमा पाउन सक्थे। अरूले भने २.५० अमेरिकी डलर (लगभग १९० रुपैयाँ) तिर्नुपर्थ्यो। तस्विरमा देखाइएकी बहिनी किफर ‘प्रभात घुम्ती’ चलाउन यत्ति सिपालु भइन् कि तिनी किताबले भरिएको सुटकेस एउटा हातले गुडाएर अर्को हातले एक झोला किताब बोक्न सक्थिन्। अमेरिकाको पेन्सिलभेनियास्थित कोइला खानी भएको एउटा सहरमा चासो देखाउने मानिसहरू भेटेकीले किताबहरू पुऱ्याउने दिनमा तिनी पुल हुँदै तीन-चार पटक ओहोरदोहोर गर्थिन्।
सन् १९८० दशकको अन्ततिर एक जना पाइलटले चक्काजडित लगेजको आविष्कार गरे जुन आजकाल एयरपोर्ट तथा व्यस्त सडकहरूमा छ्यासछ्यासती देख्न पाइन्छ। तर आजभन्दा लगभग सय वर्षअगाडि नै बाइबल सत्यको बहुमूल्य बीउ छर्न जोसिला बाइबल विद्यार्थीहरूले ‘प्रभात घुम्ती’ यता र उता गुडाउँदै हिंड्दा मानिसहरू खुब छक्क मान्दै तिनीहरूलाई हेर्थे।
[पृष्ठ ३२-मा भएको ठूलो अक्षरको क्याप्सन]
किताबहरू पुऱ्याउने दिनमा बहिनी किफर पुल हुँदै तीन-चार पटक ओहोरदोहोर गर्थिन्
[पृष्ठ ३२-मा भएको ठूलो अक्षरको क्याप्सन]
‘प्रभात’ किताबलाई ठाउँ-ठाउँमा पुऱ्याउँदा आइपर्ने समस्याको समाधान गर्न यसले मदत गऱ्यो