सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

“तपाईंको दाहिने बाहुलीमा सदासर्वदाको निम्ति सुख छ”

“तपाईंको दाहिने बाहुलीमा सदासर्वदाको निम्ति सुख छ”

लोइस डिडुरको वृत्तान्तमा आधारित

हामी सबै नै कहिलेकाहीं यसो भन्‍ने गर्छौं: ‘मैले बेकारमा यस्तो छनौट गरेछु।’ मैले पूर्ण समय सेवा गरेको ५० वर्ष बितिसक्यो। तर पनि यहोवाको दाहिने बाहुलीमा हुँदा कुनै खराब नतिजा भोग्नुपरेको मलाई याद छैन। किन? आउनुहोस्‌ म तपाईंहरूलाई बताउँछु।

मेरो जन्म सन्‌ १९३९ मा भएको थियो र म क्यानाडाको सास्काचेवान प्रान्तको दुर्गम इलाकामा मेरा चार दिदीबहिनी र एक भाइसँगै हुर्किएँ। घाँसे मैदान भएको त्यस ठाउँमा जीवन रमाइलो थियो। एक दिन यहोवाका साक्षीहरूले मेरो बुबालाई भेटे अनि मैले उनीहरूलाई परमेश्‍वरको नाम छ कि भनेर सोधें। उनीहरूले आफ्नो बाइबलबाट भजन ८३:१८ पल्टाएर यहोवा भन्‍ने नाम देखाए। यो देखेपछि परमेश्‍वर र उहाँको वचनबारे अझ धेरै कुरा जान्‍ने इच्छा मेरो मनमा जाग्यो।

त्यस समयताका किसानका छोराछोरीहरू दुर्गम इलाकाको एउटा मात्र कोठा भएको स्कूलमा जान्थे। त्यहाँ आठ कक्षासम्म पढाइ हुन्थ्यो। तिनीहरू घोडा चढेर वा कैयौं किलोमिटर हिंडेर स्कूल जान्थे। शिक्षकलाई चाहिने कुराहरूको प्रबन्ध त्यस क्षेत्रका परिवारहरूले गर्थे। एउटा वर्ष, नयाँ शिक्षक जोन डिडुरको लागि बासको प्रबन्ध गर्ने पालो हाम्रो परिवारको थियो।

त्यस जवान मानिसलाई पनि परमेश्‍वरको वचनप्रति गहिरो चासो थियो भनेर मलाई थाह थिएन। त्यसताका बुबाले साम्यवाद र समाजवादको समर्थन गर्नुहुन्थ्यो। एक पटकको कुरा हो, म पनि साम्यवाद र समाजवादको बखान गरिरहेकी थिएँ। मेरो कुरा सुनेर जोनले सानो सोरमा यसो भन्‍नुभयो: “कुनै पनि मानिसलाई अर्को मानिसमाथि शासन गर्ने अधिकार छैन। त्यस्तो अधिकार त परमेश्‍वरसित मात्रै छ।” उहाँको त्यो कुराले गर्दा हामीबीच अरू थुप्रै रमाइला कुराकानी भए।

जोनको जन्म सन्‌ १९३१ मा भएको थियो। त्यसैले उहाँलाई युद्धले निम्त्याउने कठिन अवस्थाबारे थाह थियो। सन्‌ १९५० मा कोरियन युद्ध सुरु हुँदा त्यसमा भाग लिने चर्चका थुप्रै सदस्यलाई युद्धमा सहभागी हुनुको कारणबारे उहाँले सोध्नुभयो। तिनीहरू सबैले ख्रीष्टियनहरूले हतियार उठाउनु जायज छ भन्‍ने जवाफ दिए। पछि उहाँले यहोवाका साक्षीहरूलाई पनि त्यही प्रश्‍न सोध्नुभयो। तिनीहरूले उहाँलाई प्रथम शताब्दीका ख्रीष्टियनहरूले युद्धसम्बन्धी लिएको धर्मशास्त्रीय अडानबारे बताए। जोनले सन्‌ १९५५ मा बप्तिस्मा गर्नुभयो। त्यसको एक वर्षपछि मैले पनि बप्तिस्मा गरें। हामी दुवै जना यहोवाको सेवामा आफ्नो जीवन र शक्‍ति प्रयोग गर्न चाहन्थ्यौं। (भज. ३७:३, ४) सन्‌ १९५७ को जुलाई महिनामा जोन र मेरो विवाह भयो।

हाम्रो विवाहको वार्षिकी धेरैजसो अधिवेशनकै समयमा पर्थ्यो। वैवाहिक प्रबन्धको आदर गर्ने अरू हजारौंको माझमा हुन पाउँदा हामीलाई खुसी लाग्थ्यो। सन्‌ १९५८ मा हामी पहिलो पटक अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित भयौं। हामी पाँच जना त्यस अधिवेशनको लागि सास्काचेवानबाट न्यु योर्क सहरतर्फ लाग्यौं। एक हप्ताजति हामीले दिनभरि जसो गाडी चलायौं अनि रातीचाहिं पालमा सुत्यौं। पेन्सिलभेनियाको बेतलेहेममा पुगेपछि त्यहाँका एक जना भाइले त्यस रात हामीलाई उहाँको घरमा बस्ने निम्तो दिंदा हामी निकै चकित भयौं! उहाँले देखाउनुभएको दयाले गर्दा हामी सफासुग्घर अवस्थामा न्यु योर्क सहरसम्म पुग्न सक्यौं। यहोवाको सेवा गर्दा पाइने अपार आनन्द हामीले त्यो विशाल अधिवेशनमा महसुस गऱ्‍यौं। भजनरचयिताले लेखेझैं यहोवाको “दाहिने बाहुलीमा सदासर्वदाको निम्ति सुख छ।”—भज. १६:११.

अग्रगामी सेवा

त्यसको एक वर्षपछि सन्‌ १९५९ मा हामीले अग्रगामी सेवा सुरु गऱ्‍यौं र सास्काचेवानको घाँसे पहाडमाथि एउटा मोटर घरमा बस्न थाल्यौं। त्यहाँबाट कैयौं किलोमिटर परसम्म देख्न सकिन्थ्यो र तीमध्ये केही ठाउँ हाम्रो प्रचारको इलाका थियो।

एक दिन शाखा कार्यालयबाट एउटा अचम्मको चिठी आयो। त्यतिखेर जोन ट्याक्टरमा काम गर्दै हुनुहुन्थ्यो। म हतारिंदै उहाँकहाँ गएँ। त्यस चिठीमा ओन्टारियोको रेड लेकमा विशेष अग्रगामीको रूपमा सेवा गर्न हामीलाई निम्तो दिइएको थियो। त्यो ठाउँ कहाँ हो भनेर थाह नभएकोले हामीले तुरुन्तै नक्सा निकाल्यौं र त्यो ठाउँ खोज्न थाल्यौं।

त्यो ठाउँ हामी बसिरहेको खुला घाँसे मैदानभन्दा निकै फरक थियो! त्यहाँ घना जङ्‌गल र सुनखानी नजिकै स-साना सहरहरू थिए। त्यहाँ पुगेको पहिलो दिन हामी बासको खोजीमा थियौं। एउटी सानी केटीले हामीले तिनको छिमेकीसित कुरा गरिरहेको सुनिन्‌। तिनी दौडेर आफ्नी आमाकहाँ गइन्‌ र तिनकी आमाले हामीलाई त्यस रात बास दिइन्‌। त्यहाँ माटोको छिंडीमा एउटा खाट थियो। त्यसको भोलिपल्ट हामीले दुइटा कोठा भएको काठको घर भेट्टायौं। त्यहाँ कुनै धारा वा फर्निचर थिएन, दाउरा बाल्ने टिनको एउटा चुल्हो मात्र थियो। पुराना सामानहरू बेच्ने पसलबाट हामीले केही सामान किन्यौं र त्यसपछि केही अपुग महसुस भएन।

त्यहाँ २०९ किलोमिटर वरपरसम्म यहोवाका साक्षीहरूको कुनै मण्डली थिएन। सुनखानीमा काम गर्ने थुप्रै कामदार युरोपबाट आएका थिए र तिनीहरूकै भाषामा बाइबल उपलब्ध गराइदिन हामीलाई अनुरोध गरे। केही समयभित्रै हामीले ३० वटा प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न सक्यौं। छ महिनाभित्र एउटा सानो मण्डली स्थापना भयो।

हामीसित अध्ययन गरिरहेकी एउटी स्त्रीको पतिले आफ्नो चर्चको पादरीलाई फोन गरेर बोलाए र हामीसित अध्ययन गर्नु ठीक छैन भनेर आफ्नी पत्नीलाई सम्झाइदिन अनुरोध गरे। त्यहाँ आइपुगेपछि ती पादरीले हामीले त्रिएकको शिक्षा पनि सिकाउनुपर्ने हो भने। ती स्त्रीले आफ्नो क्याथोलिक बाइबल निकालिन्‌ र ती पादरीलाई आफूले बताएका कुराहरू बाइबलबाटै देखाउन भनिन्‌। ती पादरीले बाइबललाई हुत्याउँदै आफूले कुनै पनि कुरा प्रमाणित गर्नु आवश्‍यक नभएको बताए। जाने बेलामा ती पादरीले हामीलाई घरबाट घोक्य्राएर निकाल्नू र फेरि कहिल्यै घरभित्र छिर्न नदिनू भनेर ती स्त्री र तिनका पतिलाई युक्रेनियन भाषामा भने। जोनले युक्रेनियन भाषा बुझ्नुहुन्छ भनेर तिनलाई पत्तै थिएन!

त्यसको केही समयपछि हामी रेड लेकबाट बसाइँ सऱ्‍यौं किनभने जोनलाई परिभ्रमण कार्यको लागि प्रशिक्षण लिन बोलाइयो। त्यसको लगभग एक वर्षपछि एउटा जिल्ला अधिवेशनमा जोनले बप्तिस्मा भाषण दिनुहुँदा बप्तिस्मा गर्न तयार व्यक्‍तिहरूमध्ये त्यस स्त्रीका पति पनि थिए! चर्चको पादरीसित भएको उक्‍त घटनाको कारण तिनी आफैले बाइबल जाँचेर हेर्न उत्प्रेरित भएका थिए।

परिभ्रमण कार्यमा व्यस्त

परिभ्रमण कार्यको दौडान विभिन्‍न परिवारहरूसित बस्दा छुट्टै प्रकारको आनन्द महसुस गऱ्‍यौं। हाम्रो लागि आफ्नो घर उपलब्ध गराएर आफ्नो दुःख-सुख बाँड्‌नेहरूसँग हामी अत्यन्तै घनिष्ठ भयौं। एक चोटिको कुरा हो, जाडो महिनामा हामी एउटी वृद्ध आमाको घरमा बस्यौं। हामी माथिल्लो कोठामा बसेका थियौं र त्यहाँ कोठा न्यानो बनाउने कुनै व्यवस्था थिएन। एकाबिहानै ती आमा सुटुक्क हाम्रो कोठामा पस्नुहुन्थ्यो र सानो मकलमा आगो बालिदिनुहुन्थ्यो। हामीले हातमुख धुन सकोस्‌ भनेर उहाँ फेरि एउटा बाटा र तातो पानी लिएर आउनुहुन्थ्यो। उहाँको शान्त र दयालु व्यवहारबाट मैले थुप्रै कुरा सिक्न सकें।

परिभ्रमण कार्यले मलाई यहोवासित अझ नजिक हुन मदत गऱ्‍यो। अल्बर्टा प्रान्तको सुदूर उत्तरी भागको एउटा क्षेत्रमा खानी नजिकैको एउटा सहर पनि पर्थ्यो, जहाँ एउटी साक्षी बहिनी बस्थिन्‌। ती एक्ली बहिनीलाई यहोवाको सङ्‌गठनले कस्तो दृष्टिकोणले हेर्थ्यो? सहरमा भएको ठूलो मण्डलीमा जस्तै छ-छ महिनामा हामी त्यहाँ जान्थ्यौं र तिनीसित प्रचारकार्यमा एक हप्ता बिताउनुका साथै सभा पनि सञ्चालन गर्थ्यौं। यहोवाले आफ्ना प्रत्येक भेडाखाले मानिसको कोमल हेरचाह गर्नुहुन्छ भनेर यसले मेरो मनमा गहिरो छाप पाऱ्‍यो।

हाम्रो लागि बासको प्रबन्ध गर्नुहुने थुप्रै भाइबहिनीसित हामीले सम्पर्क गरिरह्‍यौं। यो कुराले मलाई जोनले सुरु-सुरुतिर दिनुभएको उपहारको सम्झना गराउँछ। त्यो थियो, चिठी पत्र लेख्ने कागज भएको रङ्‌गीन बट्टा। त्यस्ता कागजमा साथीहरूलाई चिठी लेखेर उनीहरूसित सम्पर्कमा रहन पाउँदा हामीलाई निकै खुसी लाग्थ्यो। त्यो बट्टा अहिलेसम्म मसँगै छ।

हामी टोरोन्टो सहरको एउटा क्षेत्रमा भ्रमण गरिरहेको बेला क्यानाडा बेथेलका एक जना भाइले हामी बेथेल सेवा गर्न चाहन्छौं कि भनी सोध्न फोन गर्नुभयो। जवाफ कहिलेसम्ममा दिनुपर्ने होला जस्तो लाग्यो। “सम्भव भए भोलि नै दिनू” भनी उहाँले भन्‍नुभयो! हामीले त्यो निम्तो स्वीकाऱ्‍यौं।

बेथेल सेवा

प्रत्येक पटक हाम्रो काम परिवर्तन हुँदा यहोवाको दाहिने बाहुलीमा हुँदा पाइने सुखको विभिन्‍न पक्ष अनुभव गर्न सक्यौं। सन्‌ १९७७ मा बेथेल सेवा सुरु गर्दा पनि त्यही महसुस गऱ्‍यौं। केही अभिषिक्‍त ख्रीष्टियनसित सङ्‌गत गरेर हामीले उनीहरूको फरक-फरक व्यक्‍तित्व मात्र नभई परमेश्‍वरको वचनप्रति उनीहरूको गहिरो आदर पनि देख्यौं।

हामीलाई बेथेलको जीवनशैली मन पऱ्‍यो। उदाहरणका लागि, हाम्रा लुगाहरू पहिलेजस्तो सुटकेसमा नभई दराजमा थियो र हाम्रो मण्डली पनि फेरबदल भइरहेन। आफ्नो कामको अलावा बेथेल हेर्न आउनेहरूलाई घुमाउनु मेरो लागि सधैं रमाइलो अनुभव थियो। बेथेलमा भइरहेको कामबारे म उनीहरूलाई बताउँथें, उनीहरूको कुरा सुन्थें र उनीहरूले सोधेका प्रश्‍नहरूको जवाफ दिन्थें।

समय बितेको हामीलाई पत्तै भएन। सन्‌ १९९७ मा जोनलाई न्यु योर्क, प्याटर्सनमा शाखा समितिका सदस्यहरूको लागि स्कूलमा उपस्थित हुन निम्तो आयो। त्यसपछि हामीलाई युक्रेनमा सेवा गर्नेबारे एकपटक सोच्न र प्रार्थनापूर्वक विचार गर्न भनियो। त्यो निम्तो पाएको साँझसम्ममा हामीले जाने विचार गरिसकेका थियौं।

अर्को परिवर्तन—युक्रेन

हामी सन्‌ १९९२ मा रूसको सेन्ट पिटर्सवर्गमा र सन्‌ १९९३ मा युक्रेनको किभमा आयोजित विशाल अन्तरराष्ट्रिय अधिवेशनमा गएका थियौं। ती अधिवेशनहरूले पूर्वीय युरोपमा भएका हाम्रा भाइबहिनीहरूप्रति हाम्रो मनमा प्रेम जगाएको थियो। युक्रेनको लेभिफमा हाम्रो नयाँ कोठा एउटा पुरानो घरको दोस्रो तल्लामा थियो। त्यो कोठाको झ्यालबाट हेर्दा एउटा सानो बगैंचा, ठूलो रातो भाले र चल्लाको बथान देखिन्थ्यो। यो देख्दा मलाई आफू सास्काचेवानको घाँसे मैदानमै छु जस्तो लाग्थ्यो। त्यस घरमा हामी बाह्र जना बस्थ्यौं। हरेक दिन बेथेलसम्म पुग्न बिहान सबेरै सहरको पल्लो छेउसम्म पुग्थ्यौं।

युक्रेनको बसाइबारे भन्‍नुपर्दा कठिनाइ, प्रतिबन्ध र जेल सजाय भोगेर पनि आफ्नो विश्‍वासलाई बलियो बनाइराख्ने भाइबहिनीहरूमाझ रहँदा हामी त केही पनि होइनौं जस्तो लाग्थ्यो। हामीले तिनीहरूको प्रशंसा गर्दा तिनीहरू यसो भन्थे: “हामीले यो सब यहोवाको लागि गरेका हौं।” तिनीहरूले कहिल्यै पनि एक्लो महसुस गरेनन्‌। अहिले पनि तपाईंले कसैलाई तिनीहरूले देखाएको दयाको लागि धन्यवाद दिनुभयो भने तिनीहरू सबै कुराको श्रेय यहोवालाई दिंदै यसो भन्छन्‌, “यहोवालाई धन्यवाद दिनुहोस्‌!”

युक्रेनका थुप्रै भाइबहिनीहरू हिंडेरै सभा जाने भएकोले एक-अर्कासित कुराकानी गर्ने र प्रोत्साहन दिने समय पनि प्रशस्तै मिल्छ। राज्यभवनसम्म पुग्न एक घण्टा वा त्योभन्दा बढी पनि हिंड्‌नुपर्ने हुन सक्छ। लेभिफमा ५० भन्दा धेरै मण्डली छन्‌ र तीमध्ये २१ वटा मण्डलीले सभाको लागि एउटा ठूलो भवन प्रयोग गर्छन्‌। आइतबारको दिन सभामा आउँदै गरेका भाइबहिनीहरूको लामो ताँती देख्दा असाध्यै रमाइलो लाग्छ।

त्यहाँका भाइबहिनीहरूको कोमल व्यवहार र हामीप्रतिको चासोको कारण हामी तिनीहरूसित छिट्टै घुलमिल भयौं। मलाई त्यहाँको भाषा बुझ्न समस्या हुँदा तिनीहरू एकदमै धीरजी हुन्छन्‌ र अहिले पनि भाषाको समस्या त छँदैछ। तर तिनीहरूको भावना आँखामा झल्किन्छ।

सन्‌ २००३ मा किभमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा हाम्रा भाइबहिनीबीचको आत्मीयता महसुस गऱ्‍यौं। हामी रेलमार्गको व्यस्त स्टेसनमा पुगे लगत्तै एउटी सानी केटी हामीकहाँ आइन्‌ र सानो आवाजमा हामीलाई भनिन्‌, “मलाई मेरी हजुरआमा भएको ठाउँमा पुऱ्‍याइदिनुस्‌ न!” ती सानी केटीले हाम्रो बिल्ला देखेकीले हामी यहोवाका साक्षी हौं भनेर थाह पाइन्‌। तिनी एकदमै आँटिली भएकीले रोएकी थिइनन्‌। त्यसबेला हामीसँगै भएकी क्षेत्रीय निरीक्षककी पत्नीले माया गरेर ती नानीलाई रङ्‌गशालाभित्र अधिवेशनको हरायो-पायो विभागमा लिएर गइन्‌। त्यसको केही समयपछि ती केटी र तिनकी हजुरआमाको भेट भयो। हजारौं मानिसको भीडमा पनि ती सानी केटीले देखाएको बलियो भरोसाले मेरो मन छोयो।

सन्‌ २००१ को मे महिनामा शाखा कार्यालयको नयाँ भवनको समर्पणको लागि थुप्रै देशका भाइबहिनी युक्रेन आउनुभयो। आइतबार बिहान एउटा रङ्‌गशालामा दिइएको विशेष भाषणपछि भाइबहिनीहरू एउटा ठूलो भीड बनाएर हाम्रो नयाँ बेथेलको भ्रमण गर्न आउनुभयो। कस्तो अविस्मरणीय दृश्‍य! एकदमै शान्त र व्यवस्थित यी भाइबहिनीलाई देखेर म निकै प्रभावित भएँ। यस अनुभवले मलाई यहोवाको सेवा गर्दा पाइने आनन्दप्रति झनै कृतज्ञ हुन मदत गऱ्‍यो।

दुःखदायी घटना

दुःखको कुरा, सन्‌ २००४ मा जोनलाई क्यान्सर भएको पत्ता लाग्यो। उहाँको उपचारको लागि हामी क्यानाडा गयौं। पहिलो चरणको केमोथेरापीलाई उहाँको शरीरले थेग्न सकेन र केही हप्ता उहाँ सघन उपचार कक्षमा बस्नुपऱ्‍यो। धन्‍न, उहाँको होस आयो। बोल्न एकदमै गाह्रो भए पनि उहाँलाई भेट्‌न आउनेहरूप्रतिको कृतज्ञता उहाँको आँखामा झल्किन्थ्यो।

तर उहाँको रोग निको भएन र त्यही सालको जाडो महिनामा उहाँको मृत्यु भयो। मलाई आफ्नो जीवन एकदमै शून्य लाग्यो। जोनसँगै यहोवाको सेवा गर्दा मलाई निकै रमाइलो लाग्थ्यो। अब के गर्ने होला जस्तो लाग्यो। मैले युक्रेन फर्कने निर्णय गरें। त्यहाँको बेथेल परिवार र मण्डलीले देखाएको न्यानो प्रेमको लागि म साह्रै आभारी छु।

हामीले जीवनमा गरेका निर्णयहरूमा पछुताउनुपर्ने समय कहिल्यै आएन। मैले असल मित्रहरूसित रमाइलो जीवन बिताउन सकेकी छु। यहोवाको भलाइबारे मैले अझै धेरै सिक्न बाँकी छ र म सधैंभरि उहाँको सेवा गरिरहन चाहन्छु किनकि मैले साँच्चै नै यहोवाको ‘दाहिने बाहुलीमा सुख’ पाएकी छु।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हामीले जीवनमा गरेका निर्णयहरूमा पछुताउनुपर्ने समय कहिल्यै आएन”

[पृष्ठ ३-मा भएको चित्र]

हाम्रो विवाहको बेला

[पृष्ठ ४-मा भएको चित्र]

ओन्टारियोको रेड लेकमा विशेष अग्रगामीको रूपमा सेवा गर्दा

[पृष्ठ ५-मा भएको चित्र]

सन्‌ २००२ मा जोनसित युक्रेनमा