सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी सल्लाह दिनुहुन्छ?

तपाईं कसरी सल्लाह दिनुहुन्छ?

तपाईं कसरी सल्लाह दिनुहुन्छ?

के तपाईंकहाँ कुनै मानिस कहिल्यै सल्लाह माग्न आएको छ? उदाहरणको लागि के तपाईंलाई यस्ता प्रश्‍नहरू सोधिएको छ: ‘म के गरूँ? म यो जमघटमा जाऊँ कि नजाऊँ? म यो करिअरमा लागौं कि नलागौं? विवाह गर्ने उद्देश्‍यले यो व्यक्‍तिसित नजिक होऊँ कि नहोऊँ?’

कुनै निर्णय गर्नुअघि निष्कपट व्यक्‍तिहरूले तपाईंसित मदत माग्न सक्छन्‌ जुन निर्णयले तिनीहरूको साथी, परिवार अनि यहोवासितको सम्बन्धलाई समेत असर गर्न सक्छ। केमा आधारित भएर तपाईं जवाफ दिनुहुनेछ? अरूलाई सल्लाह दिने सन्दर्भमा तपाईंको बानी कस्तो छ? विषय मामुलीजस्तो देखियोस्‌ या गहन, “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌” भनी हितोपदेश १५:२८ बताउँछ। सल्लाह दिने सन्दर्भमा, तल दिइएका पाँच वटा बाइबल सिद्धान्तहरू कसरी मदतकारी हुन सक्छन्‌, विचार गर्नुहोस्‌।

वास्तविक अवस्था बुझ्नुहोस्‌।

“राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।”हितो. १८:१३.

राम्रो सल्लाह दिन, हामीसित सल्लाह माग्ने व्यक्‍तिको अवस्था र दृष्टिकोण बुझ्नै पर्छ। उदाहरणको लागि कसैले तपाईंलाई फोन गरेर तपाईंको घर आउने सबैभन्दा सजिलो बाटो सोधेमा उक्‍त व्यक्‍तिलाई मदत गर्न तपाईंले के कुरा थाह पाउनुपर्छ? उक्‍त व्यक्‍ति कहाँ छन्‌ भनी थाहै नपाई के तपाईं तिनलाई सजिलो बाटो बताउन सक्नुहुन्छ र? पक्कै पनि सक्नुहुन्‍न! त्यसैगरि उचित सल्लाह दिनको लागि सल्लाह माग्ने व्यक्‍ति हाल “कहाँ छन्‌” अर्थात्‌ तिनको अवस्था र दृष्टिकोण कस्तो छ भनी बुझ्नु आवश्‍यक छ। हाम्रो जवाफलाई केही कुराले असर गर्न सक्छ कि? अवस्था राम्ररी नबुझिकनै सल्लाह दिंदा त्यस सल्लाहले उक्‍त व्यक्‍तिलाई झनै अलमलमा पार्न सक्छ।—लूका ६:३९.

उक्‍त व्यक्‍तिले कत्तिको अनुसन्धान गरेका छन्‌, पक्का गर्नुहोस्‌। सल्लाह खोज्ने व्यक्‍तिलाई यस्ता प्रश्‍नहरू सोध्नु पनि बुद्धिमानी हुन सक्छ: “यस सन्दर्भमा कस्ता बाइबल सिद्धान्तहरू लागू हुन्छन्‌ जस्तो तपाईंलाई लाग्छ?” “तपाईंले गर्ने छनौटले कस्ता फाइदा वा बेफाइदा हुन सक्छ?” “तपाईं आफैले चाहिं के-कस्तो अनुसन्धान गर्नुभयो?” “तपाईंलाई मण्डलीका एल्डरहरूले, आमाबाबुले वा तपाईंको बाइबल अध्ययन सञ्चालकले के-कस्तो सुझाव दिनुभएको छ?”

समाधान भेट्टाउन उक्‍त व्यक्‍तिले कत्तिको प्रयास गरिसकेका छन्‌, तिनले दिएको जवाफबाट बुझ्न सक्छौं। साथै अरूले पहिल्यै दिएको सुझावलाई पनि विचार गर्दै सल्लाह दिने मदत पाउँछौं। अनि सल्लाह खोज्ने व्यक्‍तिले “आफूलाई जे सुन्‍न मनपर्छ, त्यही मात्र सुनाउने” सल्लाहकार खोजिरहेका पो हुन्‌ कि भनेर पनि बुझ्न सक्छौं।—२ तिमो. ४:३.

जवाफ दिन नहतारिनुहोस्‌।

“हरेक मानिसले चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”याकू. १:१९.

राम्रै मनसायले हामी तुरुन्तै जवाफ दिन्छौं होला। तर छलफल गरिंदै गरेको विषयबारे राम्ररी अनुसन्धानै गरेका छैनौं भने त्यसो गर्नु के साँच्चै बुद्धिमानी होला र? हितोपदेश २९:२० यसो भन्छ: “तैंले कसैलाई झट्टै बोल्न इच्छा गरेको देख्छस्‌ भने त्यसको निम्ति भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ।”

तपाईंले दिने सल्लाह परमेश्‍वरको बुद्धिसित मेल खान्छ कि खाँदैन, राम्ररी विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘कतै मेरो सोचाइमा “संसारको मनोभाव” र विचार पो झल्किएको छ कि?’ (१ कोरि. २:१२, १३) असल मनसाय भएर मात्र पुग्दैन भनेर नबिर्सनुहोस्‌। येशूले भोग्नुपर्ने कठिन अवस्थाबारे थाह पाएपछि प्रेषित पत्रुसले उहाँलाई यस्तो सल्लाह दिए: “प्रभु, आफ्नो विषयमा त्यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌। तपाईंलाई कुनै हालतमा यस्तो हुनेछैन।” पत्रुसको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? होसियार नभएमा असल व्यक्‍तिले समेत ‘परमेश्‍वरको होइन तर मानिसहरूको सोचाइलाई’ बढवा दिन सक्छ। (मत्ती १६:२१-२३) त्यसैले बोल्नुअघि सोच्नु कत्ति जरुरी छ! हुन पनि परमेश्‍वरको बुद्धिको तुलनामा हाम्रो अनुभव असाध्यै सीमित छ नि, होइन र? —अय्यू. ३८:१-४; हितो. ११:२.

नम्र भई परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌।

“आफूखुसी म केही पनि गर्दिनँ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु।”यूह. ८:२८.

के तपाईं यसो भन्‍नुहुन्छ, “तपाईंको ठाउँमा म भएको भए त . . . ”? सोधिएको प्रश्‍नको स्पष्ट जवाफ थाह भए तापनि तपाईंले येशूको नम्रताबाट पाठ सिक्नु राम्रो हो। कुनै पनि मानिससित नभएको अथाह बुद्धि र अनुभव उहाँसित थियो; तैपनि उहाँले यसो भन्‍नुभयो: ‘मैले आफ्नै तर्फबाट बोलेको छैन तर मेरो बुबाले नै के भन्‍ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।’ (यूह. १२:४९, ५०) येशूको शिक्षा र सल्लाह सधैं आफ्नो बुबाको इच्छामा आधारित हुन्थ्यो।

उदाहरणको लागि, येशूलाई पक्रन लाग्दा प्रतिकार गर्ने कि नगर्ने भनी चेलाहरूले उहाँसित निर्देशन मागेको विवरण हामी लूका २२:४९ मा पाउँछौं। एक जना चेलाले तरबार चलाए। त्यही घटनाबारे मत्ती २६:५२-५४ मा बताइएको विवरण याद गर्नुहोस्‌। यस्तो अवस्थामा समेत येशूले ती चेलालाई यहोवाको इच्छा बुझ्न मदत दिनुभयो। उत्पत्ति ९:६ मा भएका सिद्धान्तहरूका साथै भजन २२ र यशैया ५३ मा उल्लिखित भविष्यवाणीहरूप्रति येशू सजग हुनुहुन्थ्यो। त्यसैले मानिसहरूको ज्यान बचाउने र यहोवालाई खुसी बनाउने बुद्धिमानी निर्देशन दिन उहाँ सक्षम हुनुभयो।

परमेश्‍वरको सङ्‌गठनले तयार पारेका प्रकाशनहरू प्रयोग गर्नुहोस्‌।

“वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस्‌ भनेर नियुक्‍त गरेका हुन्छन्‌?”मत्ती २४:४५.

महत्त्वपूर्ण आध्यात्मिक भोजन प्रबन्ध गर्न येशूले भरोसायोग्य दास वर्गलाई नियुक्‍त गर्नुभएको छ। महत्त्वपूर्ण विषयमा सल्लाह तथा निर्देशन दिंदै हुनुहुन्छ भने के तपाईं बाइबलआधारित प्रकाशनहरूबाट राम्ररी अनुसन्धान गर्न समय निकाल्नुहुन्छ?

वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) र प्रहरीधरहरा पुस्तकालय a (अङ्‌ग्रेजी)-बाट सजिलैसँग प्रशस्त अनि सुस्पष्ट जानकारी प्राप्त गर्न सक्छौं। त्यस्ता जानकारीहरूको खानीलाई बेवास्ता गर्नु कत्ति ठूलो भुल हुनेछ! सल्लाह खोज्ने व्यक्‍तिहरूलाई मदत गर्न यस्तो खानीमा हजारौं विषय उल्लेख गरिनुका साथै थुप्रै लेखहरू पनि समावेश गरिएको हुन्छ। तपाईं अरूलाई बाइबल सिद्धान्तहरू अनुसन्धान गर्न र परमेश्‍वरको वचनमा लेखिएको कुरामा तर्क गर्न मदत दिन कत्तिको सिपालु हुनुहुन्छ? नक्साले कुनै व्यक्‍तिलाई आफू कहाँ छु भनी थाह पाउन र आफ्नो गन्तव्यसम्म पुग्न मदत गरेझैं अनुसन्धान गर्ने सामग्रीहरूले तिनलाई आफू कुन बाटोमा छु भनी थाह पाउन र जीवनको मार्गमा रहिरहन मदत गर्छ।

थुप्रै एल्डरहरूले वाच टावर प्रकाशन सूची अथवा प्रहरीधरहरा पुस्तकालय प्रयोग गरेर लेखहरू हेर्न प्रकाशकहरूलाई प्रशिक्षण दिएका छन्‌। यसरी ती एल्डरहरूले आफ्ना भाइबहिनीलाई बाइबलमा लेखिएका कुराहरूको आधारमा निर्णय गर्न मदत गरेका छन्‌। यस्तो मदतले प्रकाशकहरूलाई उनीहरूले भोगिरहेको समस्या हल गर्न मात्र होइन, अनुसन्धान गर्ने बानी बसाल्न र यहोवाले प्रबन्ध गर्नुभएका कुराहरूमा भर पर्न पनि सहयोग गर्छ। यसरी तिनीहरूले “आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।”—हिब्रू ५:१४.

अरूको लागि निर्णय नगरिदिनुहोस्‌।

“हरेकले आफ्नो भारी आफै बोक्नेछ।”गला. ६:५.

कुन सल्लाह तथा सुझाव पछ्याउने भनी प्रत्येक व्यक्‍तिले अन्तमा आफैले छनौट गर्नुपर्छ। यहोवाको सिद्धान्तअनुसार चल्ने या नचल्ने, निर्णय गर्ने स्वतन्त्रता उहाँले हामी सबैलाई दिनुभएको छ। (व्यव. ३०:१९, २०) कतिपय अवस्थामा थुप्रै बाइबल सिद्धान्तहरू मुछिएका हुन्छन्‌ तर आखिरमा सल्लाह खोज्ने व्यक्‍ति स्वयम्‌ले नै निर्णय गर्नुपर्छ। सल्लाह खोज्ने व्यक्‍तिको उमेर र तिनको समस्यालाई विचार गर्दै हामीले आफैलाई यसरी सोध्नुपर्ने हुन सक्छ, ‘के यो प्रश्‍नको जवाफ दिने अधिकार मसित छ?’ कुनै-कुनै मामिलाबारे भने मण्डलीका एल्डरहरूसितै कुराकानी गर्न लगाउनुपर्छ अथवा सल्लाह माग्ने व्यक्‍ति कलिलै उमेरका छन्‌ भने आमाबाबुसित कुराकानी गर्न प्रोत्साहन दिनु उपयुक्‍त हुन्छ।

[फुटनोट]

a सी डी रोममा उपलब्ध प्रहरीधरहरा पुस्तकालय हाल ३९ भाषामा उपलब्ध छ। वाच टावर प्रकाशन सूची हाल ४५ भन्दा धेरै भाषामा उपलब्ध छ।

[पृष्ठ ८-मा भएको पेटी]

पारिवारिक उपासनाको कार्यक्रम

तपाईंलाई हालै कसैले केही प्रश्‍न सोधेका छन्‌ भने ती प्रश्‍नहरूको जवाफ अनुसन्धान गर्न अध्ययन कार्यक्रमको आयोजना गर्नुभए कसो होला? यस्ता प्रश्‍नहरू सोध्ने व्यक्‍तिलाई मदत गर्न तपाईं कस्ता लेख तथा बाइबल सिद्धान्तहरू हेर्न सक्नुहुन्छ? मानिलिनुहोस्‌, एक जना भाइ या बहिनीले विवाह गर्ने उद्देश्‍यले कसैसित भेटघाट गर्नेबारे तपाईंलाई प्रश्‍न सोध्छन्‌। वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) अथवा प्रहरीधरहरा पुस्तकालय (अङ्‌ग्रेजी) प्रयोग गर्दा सबैभन्दा सम्बन्धित विषयलाई पहिला हेर्नुहोस्‌। उदाहरणको लागि वाच टावर प्रकाशन सूची-मा तपाईंले “विवाहपूर्व गरिने भेटघाट” (Dating) अथवा “विवाह” (Marriage) भन्‍ने विषय हेर्न सक्नुहुन्छ। त्यसपछि सम्बन्धित लेखहरूको लागि उपशीर्षकहरू केलाउनुहोस्‌। मुख्य शीर्षकलाई हेर्दा, “यो पनि हेर्नुहोस्‌” (See also) भन्‍ने अभिव्यक्‍ति भएमा त्यसलाई पनि याद गर्नुहोस्‌। तपाईंले खोजिरहनुभएको शीर्षकलाई यसले अझ स्पष्ट पार्न सक्छ।

[पृष्ठ ९-मा भएको पेटी]

हामी अरूलाई सबैभन्दा उत्तम सल्लाह दिन पनि सक्छौं र त्यस्तो सल्लाह अरूबाट पाउन पनि सक्छौं। यहोवाले आफ्नो सङ्‌गठनमार्फत गर्नुभएको यस्तो प्रबन्धको लागि हामी उहाँप्रति कृतज्ञ छौं। उपदेशक १२:११, NRV यसो भन्छ: “बुद्धिमान्‌का वचनहरू गोठालोको लाठोझैं छन्‌, र तिनीहरूले सङ्‌कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैं छन्‌, जो एउटै गोठालाबाट दिइएका हुन्‌।” जसरी भारी बोक्ने जनावरलाई डोऱ्‍याउन “गोठालोको लाठो” अर्थात्‌ तीखो छडी प्रयोग गरिन्थ्यो, त्यसरी नै मायालु सल्लाहले निष्कपट व्यक्‍तिहरूलाई सही दिशातर्फ डोऱ्‍याउँछ। “दह्रिलो प्रकारले ठोकेका किल्लाहरू”-द्वारा बनिएको संरचना चिरस्थायी हुन्छ। त्यसैगरि राम्रो सल्लाह दिंदा त्यसले चिरस्थायी नतिजा ल्याउँछ। “एउटै गोठाला” यहोवाको बुद्धि झल्किने “भनाइहरू”-लाई विचार गर्दा बुद्धिमान्‌ मानिस प्रसन्‍न हुन्छ।

सल्लाह दिने बेलामा गोठालो अर्थात्‌ यहोवाको अनुकरण गर्नुहोस्‌। अरूको कुरा सुनिदिन सकेसम्म इच्छुक हुँदै उनीहरूलाई मदतकारी सल्लाह दिन पाउनु कत्ति ठूलो सुअवसर! हाम्रो सल्लाह साँच्चै बाइबल सिद्धान्तमा आधारित छ भने त्यो सल्लाह भरपर्दो हुनेछ र सल्लाह सुन्‍ने व्यक्‍तिलाई त्यसले अनन्त लाभ पुऱ्‍याउनेछ।