सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले हामीलाई उद्धारको लागि सुरक्षित राख्नुहुन्छ

यहोवाले हामीलाई उद्धारको लागि सुरक्षित राख्नुहुन्छ

यहोवाले हामीलाई उद्धारको लागि सुरक्षित राख्नुहुन्छ

“तिमीहरूसित विश्‍वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ।”—१ पत्रु. १:४, ५.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

यहोवाले हामीलाई साँचो उपासनातर्फ कसरी खिच्नुभयो?

हामी आफूलाई यहोवाको सल्लाहद्वारा कसरी डोरिन दिन सक्छौं?

यहोवा हामीलाई कसरी प्रोत्साहन दिनुहुन्छ?

१, २. (क) सत्यनिष्ठा कायम राख्न परमेश्‍वरले हामीलाई मदत गर्नुहुनेछ भन्‍नेबारे हामीले कस्तो आश्‍वासन पाएका छौं? (ख) यहोवा हामी प्रत्येकलाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ?

 “जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।” (मत्ती २४:१३) परमेश्‍वरले सैतानको संसारमाथि न्यायदण्ड ल्याउँदा जोगिने हो भने हामीले अन्तसम्मै आफ्नो सत्यनिष्ठा कायम राख्नुपर्छ भन्‍ने कुरालाई येशूले यी शब्दहरूद्वारा स्पष्ट पार्नुभयो। तर यसको अर्थ हामीले आफ्नै बल-बुद्धिको भरमा सहेको यहोवा आशा गर्नुहुन्छ भन्‍ने होइन। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन, बरु तिमीहरूले त्यो सहन सकोस्‌ भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।” (१ कोरि. १०:१३) यी शब्दहरूबाट हामी के सिक्न सक्छौं?

सहनसक्नेभन्दा बाहिरको परीक्षामा हामी परेका छैनौं भनेर यहोवा पक्का गर्नुहुन्छ। उहाँले यसरी पक्का गर्न सक्नुहुन्छ किनकि उहाँलाई हामीबारे सबै कुरा थाह छ। जस्तै:- हामीले सामना गर्ने चुनौती, हामी व्यक्‍तिविशेषको बनौट अनि हामी कुन हदसम्म सहन सक्छौं, त्यो सबै उहाँलाई थाह छ। के परमेश्‍वरलाई हामीबारे साँच्चै यति धेरै थाह छ? हो, थाह छ। यहोवा हामी प्रत्येकलाई राम्ररी चिन्‍नुहुन्छ भनेर बाइबल बताउँछ। हाम्रो दैनिक तालिका र आनीबानी उहाँलाई थाह छ। उहाँ हाम्रो सोचविचार र मनसायसमेत बुझ्न सक्नुहुन्छ।भजन १३९:१-६ पढ्‌नुहोस्‌।

३, ४. (क) यहोवाले प्रत्येक व्यक्‍तिलाई ध्यान दिनुहुन्छ भनी दाऊदको अनुभवले कसरी देखाउँछ? (ख) आज यहोवाले कस्तो उल्लेखनीय काम गर्दै हुनुहुन्छ?

तुच्छ मानिसहरूप्रति यहोवा यति धेरै चासो राख्नुहुन्छ भन्‍नु के अव्यावहारिक देखिन्छ? यही प्रश्‍न मनमा खेलाउँदै भजनरचयिता दाऊदले यहोवालाई यसो भने: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईंले नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ?” (भज. ८:३, ४) सायद दाऊदको आफ्नै अनुभवले गर्दा तिनले यस्तो प्रश्‍न गरेको हुनुपर्छ। तिनी यिशैका कान्छो छोरा थिए र गोठालो काम गर्थे। तैपनि तिनलाई यहोवाले ‘रुचाउनुभयो’ अनि तिनलाई “इस्राएलको गोठाला हुनलाई” बोलाउनुभयो। (१ शमू. १३:१४; २ शमू. ७:८) एक जना साधारण गोठालोले गरेको मननलाई ब्रह्‍माण्डको सृष्टिकर्ताले ध्यान दिएकोमा दाऊदलाई कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त!

आज यहोवाले हामीलाई देखाइरहनुभएको चासो पनि उल्लेखनीय छ। उहाँले “सबै जाति-जातिका धन-सम्पत्तिहरू”-लाई साँचो उपासनातर्फ जम्मा गर्दै हुनुहुन्छ र आफ्ना सेवकहरूलाई तिनीहरूको सत्यनिष्ठा कायम राख्न मदत गर्दै हुनुहुन्छ। (हाग्गै २:७) सत्यनिष्ठा कायम राख्न यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ भनी अझ राम्ररी बुझ्नुअघि साँचो उपासनातर्फ उहाँले मानिसहरूलाई कसरी खिच्नुहुन्छ, त्यसबारे विचार गरौं।

परमेश्‍वर हामीलाई खिच्नुहुन्छ

५. यहोवाले मानिसहरूलाई आफ्नो छोरातर्फ कसरी खिच्नुहुन्छ? उदाहरण दिनुहोस्‌।

येशूले भन्‍नुभयो: “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।” (यूह. ६:४४) येशूको चेला हुन परमेश्‍वरको मदत चाहिन्छ भनेर यी शब्दहरूले सङ्‌केत गर्छ। यहोवाले भेडाखाले नम्र व्यक्‍तिहरूलाई आफ्नो छोरातर्फ कसरी खिच्नुहुन्छ? सुसमाचारको प्रचार र पवित्र शक्‍तिको मदतद्वारा। उदाहरणका लागि, पावल र तिनका मिसनरी सहयात्रीहरू फिलिप्पीमा छँदा तिनीहरूले लिडिया नाम गरेकी एउटी स्त्री भेटे र उनलाई सुसमाचार सुनाउन थाले। प्रेरित वचन यसो भन्छ: “पावलले भनिरहेका कुराहरू ध्यान दिएर सुनून्‌ भनेर यहोवाले उनको मन खोलिदिनुभयो।” हो, उक्‍त सन्देश राम्रोसँग बुझ्न सकून्‌ भनेर परमेश्‍वरले उनलाई पवित्र शक्‍ति दिनुभयो। फलस्वरूप, उनले अनि उनको घरमा हुने सबैले बप्तिस्मा गरे।—प्रेषि. १६:१३-१५.

६. हामी सबैलाई परमेश्‍वरले साँचो उपासनातर्फ कसरी खिच्नुभयो?

के यस्तो अनुभव गर्ने व्यक्‍ति लिडिया मात्र हुन्‌? अहँ, होइनन्‌। यदि तपाईं समर्पित ख्रीष्टियन हुनुहुन्छ भने तपाईंलाई पनि परमेश्‍वरले साँचो उपासनातर्फ खिच्नुभयो। जसरी स्वर्गमा बस्नुहुने बुबाले लिडियामा राम्रो कुरा देख्नुभयो त्यसरी नै तपाईंमा पनि राम्रो कुरा देख्नुभयो। तपाईंले सुसमाचार सुन्‍न थाल्दा पवित्र शक्‍ति दिएर यहोवाले तपाईंलाई त्यसको अर्थ बुझ्न मदत गर्नुभयो। (१ कोरि. २:११, १२) सिकेको कुरा जीवनमा लागू गर्न खोज्दा उहाँले तपाईंलाई आशिष्‌ दिनुभयो। तपाईंले आफ्नो जीवन समर्पण गर्दा उहाँ रमाउनुभयो। वास्तवमा तपाईंले जीवनको मार्गमा पहिलो कदम चालेदेखि नै उहाँले तपाईंलाई पाइला-पाइलामा साथ दिंदै आउनुभएको छ।

७. परमेश्‍वरले हामीलाई विश्‍वासी रहिरहन मदत गर्नुहुनेछ भनी कसरी थाह पाउन सक्छौं?

जसरी यहोवाले हामीलाई उहाँको सेवा सुरु गर्न मदत गर्नुभयो त्यसरी नै आउँदा दिनहरूमा पनि विश्‍वासी रहिरहन उहाँले हामीलाई मदत गर्नुहुनेछ, हामीलाई अलपत्र छोड्‌नुहुनेछैन। सुरुमा सत्य सिक्न हामीलाई उहाँको मदत चाहिएझैं सत्यमा रहिरहन पनि उहाँको मदत चाहिन्छ भनेर उहाँलाई थाह छ। अभिषिक्‍त ख्रीष्टियनहरूलाई प्रेषित पत्रुसले यस्तो लेखे: “तिमीहरूसित विश्‍वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ।” (१ पत्रु. १:४, ५) सिद्धान्तको रूपमा यी शब्दहरू हामी सबै ख्रीष्टियनलाई लागू हुन्छ अनि हामी सबैले यो विषयमा चासो राख्नुपर्छ। किन? किनभने परमेश्‍वरप्रति विश्‍वासी रहिरहन हामी सबैलाई उहाँको मदत चाहिन्छ।

गलत कदम चाल्नदेखि परमेश्‍वर हामीलाई रोक्नुहुन्छ

८. गलत कदम चाल्ने अवस्थामा पुग्नदेखि हामी किन सजग हुनुपर्छ?

जीवनमा आइपर्ने समस्या तथा हाम्रो आफ्नै कमीकमजोरीले गर्दा हामी परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नदेखि चुक्छौं। त्यसपछि हामी गलत कदम चाल्ने अवस्थामा पुग्न सक्छौं, जुन कुराको हामीलाई पत्तोसमेत नहुन सक्छ। (गलाती ६:१ पढ्‌नुहोस्‌) दाऊदको जीवनमा घटेको एउटा घटनाले यो कुराको पुष्टि दिन्छ।

९, १०. गलत कदम चाल्नदेखि यहोवाले दाऊदलाई कसरी रोक्नुभयो र आज पनि उहाँ हाम्रो लागि के गर्नुहुन्छ?

राजा शाऊलले खेद्दा दाऊदले ती डाही राजासित बदला नलिएर प्रशंसायोग्य संयम देखाएका थिए। (१ शमू. २४:२-७) तर त्यसको केही समयपछि नै तिनले त्यो संयम गुमाए। दाऊदलाई आफ्ना मानिसहरूको निम्ति भोजन तथा पानीको आवश्‍यकता परेको थियो। त्यसकारण तिनले नाबाल नाम गरेका एक जना इस्राएलीकहाँ आफ्ना मानिसहरू पठाए र तिनीहरूले उनीसित आदर झल्काउँदै सहयोगको लागि बिन्ती गरे। नाबालले रूखो व्यवहार गर्दा दाऊद खुब रिसाए अनि उनी र उनको घरानासित बदला लिन तम्सिए। निर्दोष व्यक्‍तिहरूलाई मार्दा परमेश्‍वरले रक्‍तदोषी ठहराउनुहुनेछ भनेर तिनले बिर्से। नाबालकी पत्नी अबिगेलले समयमै आएर रोकेको कारण दाऊदले घोर गल्ती गर्न पाएनन्‌। यसमा यहोवाकै हात छ भन्‍ने कुरा मानिलिंदै दाऊदले अबिगेललाई यसो भने: “परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।”—१ शमू. २५:९-१३, २१, २२, ३२, ३३.

१० यस विवरणबाट हामी के पाठ सिक्न सक्छौं? दाऊदलाई गलत कदम चाल्नदेखि रोक्न यहोवाले अबिगेललाई चलाउनुभयो। हामीलाई पनि गलत कदम चाल्नदेखि उहाँले रोक्नुहुन्छ। तर गलत कदम चाल्नदेखि हामीलाई रोक्न उहाँले हरेक चोटि कोही न कोही पठाउनुहुन्छ भनेर आशा गर्नुहुँदैन। अनि कुनै खास परिस्थितिमा परमेश्‍वरले कस्तो कदम चाल्नुहुन्छ अथवा आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले के-कस्तो परिस्थिति आइपर्न दिनुहुन्छ, त्यो पनि हामी पूर्णतया बुझ्न सक्दैनौं। (उप. ११:५) तैपनि हाम्रो सम्पूर्ण अवस्था यहोवालाई थाह छ र उहाँले हामीलाई विश्‍वासी रहिरहन मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। उहाँले हामीलाई यस्तो आश्‍वासन दिनुभएको छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भज. ३२:८) यहोवाले हामीलाई कसरी सल्लाह दिनुहुन्छ? हामी कसरी त्यसबाट लाभ उठाउन सक्छौं? अनि आज पनि यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याइरहनुभएको छ भनेर हामी कसरी पक्का हुन सक्छौं? प्रकाशको पुस्तकमा यी प्रश्‍नहरूको जवाफ कसरी दिइएको छ, ध्यान दिनुहोस्‌।

सल्लाहद्वारा सुरक्षा मिल्छ

११. आफ्ना जनहरूको मण्डलीमा के भइरहेको छ, त्यसबारे यहोवालाई कत्तिको थाह छ?

११ प्रकाश अध्याय २ र मा लिपिबद्ध दर्शनमा महिमित येशू ख्रीष्टले एसिया माइनरका सातवटा मण्डलीको निरीक्षण गर्नुहुन्छ। येशू ख्रीष्टले सतही कुरा मात्र हेर्नुहुन्‍न भनेर यो दर्शनले देखाउँछ। यस दर्शनमा उहाँले एक-एक मण्डलीको चर्चा गर्नुहुन्छ। अनि प्रत्येकको प्रशंसा गर्नुका साथै तिनीहरूलाई चाहिने सल्लाह पनि दिनुहुन्छ। यस दर्शनले हाम्रो लागि कस्तो अर्थ राख्छ? सातवटा मण्डलीले सन्‌ १९१४ पछिका अभिषिक्‍त ख्रीष्टियनहरूलाई चित्रण गर्छ अनि ती मण्डलीलाई दिइएको सल्लाह परमेश्‍वरका जनहरूको पृथ्वीभरिका मण्डलीलाई पनि लागू हुन्छ। त्यसकारण यहोवाले आफ्नो छोरामार्फत आफ्ना जनहरूलाई सक्रियतासाथ डोऱ्‍याइरहनुभएको छ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। यस्तो डोऱ्‍याइबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१२. हामी कसरी यहोवालाई हाम्रो पाइला डोऱ्‍याउन दिन सक्छौं?

१२ यहोवाको मायालु डोऱ्‍याइबाट लाभ उठाउने एउटा तरिका व्यक्‍तिगत अध्ययन गर्नु हो। विश्‍वासी र बुद्धिमान्‌ दासले तयार पारेको प्रकाशनहरूमार्फत यहोवाले धर्मशास्त्रमा आधारित बहुमूल्य सल्लाह दिनुहुन्छ। (मत्ती २४:४५) तर त्यसबाट लाभ उठाउने हो भने हामीले ती प्रकाशनहरू अध्ययन गर्नको लागि समय निकाल्नै पर्छ र सिकेका कुरा लागू गर्नै पर्छ। व्यक्‍तिगत अध्ययन एउटा यस्तो माध्यम हो जसद्वारा यहोवाले “[हामीलाई] ठेस खानदेखि बचाउन सक्नुहुन्छ।” (यहू. २४) हाम्रा प्रकाशनहरू अध्ययन गर्दा के तपाईंलाई ‘यो त मेरै लागि लेखिएको हो’ भन्‍ने महसुस भएको छ? यसलाई यहोवाबाटै आएको सुधारको रूपमा लिनुहोस्‌। कुनै कुरामा ध्यान खिच्न साथीले तपाईंलाई कुम कोट्याएर बोलाएझैं यहोवाले पनि तपाईंलगायत सबैलाई नै पवित्र शक्‍तिको मदत दिएर सुधार्नुपर्ने आचरण वा व्यक्‍तित्वतर्फ ध्यान खिच्नुहुन्छ। पवित्र शक्‍तिको डोऱ्‍याइ स्वीकार्दा यहोवालाई हाम्रो पाइला डोऱ्‍याउन दिइरहेका हुन्छौं। (भजन १३९:२३, २४ पढ्‌नुहोस्‌) यस सन्दर्भमा हामीले आफ्नो अध्ययन गर्ने बानी केलाउनु राम्रो हुन्छ।

१३. अध्ययन गर्ने आफ्नो बानी केलाउनु किन बुद्धिमानी हुन्छ?

१३ मनोरञ्जनको लागि अत्यधिक समय खर्चंदा त्यसले व्यक्‍तिगत अध्ययन गर्ने समय खान सक्छ। एक जना भाइले यसो भने: “व्यक्‍तिगत अध्ययन गर्ने बानी सजिलै छुट्‌न सक्छ। अहिले मनोरञ्जनका स्रोतहरू छ्यासछ्यासती उपलब्ध छन्‌, अनि यसको लागि पहिलेजस्तो त्यत्ति खर्च पनि गर्नुपर्दैन। टिभी, कम्प्युटर, फोन, जेबाट पनि मनोरञ्जन लिन सकिन्छ। यी नै कुराहरूद्वारा हामी घेरिएका छौं।” होसियार भएनौं भने गहिरो व्यक्‍तिगत अध्ययनमा लगाउनुपर्ने समय बिस्तारै मनोरञ्जनले खान सक्छ र अन्तमा त व्यक्‍तिगत अध्ययन गर्ने समय नै नहुन सक्छ। (एफि. ५:१५-१७) हामी प्रत्येकले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्न म कति समय दिने गर्छु? भाषण दिने जिम्मेवारी पाउँदा वा सभाको तयारी गर्दा मात्र यसो गर्ने गर्छु कि?’ त्यसो हो भने व्यक्‍तिगत अध्ययन गर्ने समयलाई वा पारिवारिक उपासनाको साँझलाई हामी यहोवाको वचनको गहिरो अध्ययन गर्न र उहाँको बुद्धिलाई गाडधनझैं खोज्नको लागि प्रयोग गर्न सक्छौं। यस्तो बुद्धिले हामीलाई उद्धारको लागि सुरक्षित राख्छ।—हितो. २:१-५.

प्रोत्साहनले सहन बल दिन्छ

१४. यहोवा हाम्रो भावना बुझ्नुहुन्छ भनेर बाइबलले कसरी देखाउँछ?

१४ दाऊदले आफ्नो जीवनकालमा थुप्रै कठिनाइ सामना गरे। (१ शमू. ३०:३-६) तिनको भावना यहोवालाई थाह थियो भनी बाइबल बताउँछ। (भजन ३४:१८, NRV; ५६:८ पढ्‌नुहोस्‌) उहाँ हाम्रो भावना पनि बुझ्नुहुन्छ। हामी “चूर्ण हृदय”-को हुँदा र ‘निराश हुँदा’ उहाँ हाम्रो नजिक आउनुहुन्छ। यो कुरा बुझ्दा दाऊदलाई जस्तै हामीलाई पनि केही हदसम्म सान्त्वना मिल्छ। तिनले यस्तो भजन गाए: “तपाईंकै करुणामा म मग्न र आनन्दित हुनेछु। किनकि तपाईंले मेरो दुःख देख्नुभएको छ। दुःखका दिनमा मेरो आत्मालाई तपाईंले चिन्‍नुभएको छ।” (भज. ३१:७) तर यहोवाले हाम्रो दुःख याद गर्ने मात्र होइन; हामीलाई सान्त्वना र प्रोत्साहन दिएर सहनको लागि चाहिने बल पनि दिनुहुन्छ। उहाँले यसो गर्ने एउटा तरिका ख्रीष्टियन सभाहरूद्वारा हो।

१५. आसापको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१५ भजनरचयिता आसापको अनुभवले सभाहरूमा उपस्थित हुनुको एउटा फाइदा स्पष्ट पार्छ। अन्याय भोग्नुपरेको कुराबारे मात्र सोचिरहँदा तिनी परमेश्‍वरको सेवा गर्नुको महत्त्वमाथि प्रश्‍न उठाउन बाध्य भए। तिनी निराश भए। तिनले आफ्नो भावना यसरी पोखे: “मेरो हृदय दुःखित भएको थियो, र मेरो मुटुमै घोचेको थियो।” फलस्वरूप, तिनले यहोवाको सेवा गर्न झन्डै छोडेका थिए। तर आफ्नो सोचाइ बदल्न तिनलाई केले मदत गऱ्‍यो? तिनले यसो भने: ‘म परमेश्‍वरको पवित्र स्थानमा पसें।’ यहोवाका सँगी उपासकहरूमाझ हुँदा तिनले आफ्नो मनोवृत्ति बदल्न सके। दुष्ट मानिसहरूको सफलता क्षणिक मात्र हो र यहोवाले सही न्याय गर्नुहुनेछ भनी तिनले बुझ्न सके। (भज. ७३:२, १३-२२) हामी पनि कहिलेकाहीं आसापले जस्तै महसुस गर्न सक्छौं। सैतानको संसारमा भोग्नुपर्ने अन्यायले हामीलाई बेचैन अनि निराश बनाउन सक्छ। हाम्रा भाइबहिनीहरूसित सँगै भेला हुँदा हामीले स्फूर्ति पाउँछौं र आनन्दित भएर यहोवाको सेवा गरिरहने बल पाउँछौं।

१६. हन्‍नाको उदाहरणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१६ तर मण्डलीको कुनै अवस्थाले गर्दा तपाईंलाई सभामा उपस्थित हुन गाह्रो लाग्छ भने नि? सेवाको सुअवसरबाट हटाइएकोले सायद तपाईंलाई लज्जित महसुस भइरहेको हुनसक्छ अथवा कुनै भाइ वा बहिनीसित तपाईंको खटपट परेको हुनसक्छ। त्यसो हो भने हन्‍नाको उदाहरण तपाईंको लागि मदतकारी हुनसक्छ। (१ शमूएल १:४-८ पढ्‌नुहोस्‌) सौता पनिन्‍नाको कारण तिनले निकै दुःख झेल्नुपरेको थियो। सपरिवार वर्षेनी यहोवाको लागि भेटी चढाउन शीलो जाँदा तिनको पीडामाथि पीडा थपिन्थ्यो। दुःख खप्न नसकेर तिनी ‘रोइ बस्थिन्‌ र केही खानेकुरा खान्‍न थिइन्‌।’ तैपनि यहोवाको उपासना गर्नको लागि तिनले शीलो जान छोडिनन्‌। तिनको विश्‍वास यहोवाले याद गर्नुभयो र तिनलाई आशिष्‌ दिनुभयो।—१ शमू. १:११, २०.

१७, १८. (क) मण्डलीका सभाहरूबाट हामी कसरी प्रोत्साहन पाउँछौं? (ख) हामीले उद्धार पाउन सकोस्‌ भनेर यहोवाले गर्नुभएको मायालु हेरचाहप्रति तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१७ आजका ख्रीष्टियनहरूले हन्‍नाको उदाहरण अनुकरण गर्नुपर्ने असल कारण छ। हामी सभामा नियमित रूपमा उपस्थित हुनुपर्छ। हामी सबैले अनुभव गरेकै कुरा हो, सभाबाट हामी आफूलाई चाहिएकै प्रोत्साहन पाउँछौं। (हिब्रू १०:२४, २५) भाइबहिनीको न्यानो मायाले हामीलाई सान्त्वना दिन्छ। भाषण वा टिप्पणीमा सुनेको सानो कुराले पनि हाम्रो मन छुन सक्छ। सभा अघि-पछि कुराकानी गर्दा सँगी विश्‍वासीहरूले हाम्रो कुरा सुनिदिन सक्छन्‌ वा सान्त्वना मिल्ने वचन बोल्न सक्छन्‌। (हितो. १५:२३; १७:१७) यहोवाको भजन गाउन सोर उचाल्दा हामी प्रोत्साहित हुन्छौं र आनन्दित महसुस गर्छौं। विशेषगरि “मनमा ज्यादा फिक्री हुँदा” हामीलाई सभाबाट पाइने प्रोत्साहन चाहिन्छ। सभाहरूमार्फत नै यहोवाले ‘आफ्ना सान्त्वनाहरूद्वारा’ हामीलाई सहने बल दिनुहुन्छ र विश्‍वासी रहिरहन मदत गर्नुहुन्छ।—भज. ९४:१८, १९.

१८ यहोवाको मायालु हेरचाह पाएको कारण हामी भजनरचयिता आसापले जस्तै महसुस गर्छौं। तिनले भजन गाउँदै यहोवालाई यसो भने: “तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ।” (भज. ७३:२३, २४) यहोवाले हामीलाई उद्धारको लागि सुरक्षित राख्नुभएकोमा हामी उहाँप्रति कत्ति आभारी छौं!

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

तपाईंलाई पनि यहोवाले खिच्नुभयो

[पृष्ठ ३०-मा भएको चित्र]

परमेश्‍वरको सल्लाह लागू गर्दा हामी सुरक्षा पाउँछौं

[पृष्ठ ३१-मा भएको चित्र]

प्रोत्साहनले हामीलाई सहने बल दिन्छ