सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै

सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै

लियोनार्ड स्मिथको वृत्तान्तमा आधारित

म भर्खरै किशोरावस्थामा पुगेको थिएँ। बाइबलका दुईवटा पदले मेरो मनै छोयो। आज ७० वर्ष बितिसक्दा पनि जकरिया ८:२३ को अर्थ बुझेको क्षण म अझै सम्झन सक्छु जहाँ “दश जना मानिसले एउटा यहूदीको लुगा” समातेको विवरण दिइएको छ। ती दस जनाले उक्‍त यहूदीलाई यसो भन्छन्‌: “हामी तिमीहरूसितै जानेछौं किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तिमीहरूसित हुनुहुन्छ।”

उक्‍त यहूदीले अभिषिक्‍त ख्रीष्टियनहरूलाई चित्रण गर्छ भने “दश जना मानिसले” “अरू भेडा” अर्थात्‌ “यहोनादाब वर्गलाई” (त्यतिबेला “अरू भेडा”-लाई “यहोनादाब वर्ग” भनिन्थ्यो) चित्रण गर्छ। a (यूहन्‍ना १०:१६) जब मैले यो सत्य बुझें, तब पृथ्वीमा सधैंभरि बाँच्ने मेरो आशा अभिषिक्‍त जनलाई वफादार भई समर्थन गर्नुमा नै भर पर्छ भनी थाह पाएँ।

मत्ती २५:३१-४६ मा येशूले बताउनुभएको “भेडा” र “बाख्रा”-को दृष्टान्तले पनि ममा गहिरो प्रभाव पाऱ्‍यो। “भेडा”-ले अन्तको दिनमा न्याय गरिंदा अनुमोदन पाउनेहरूलाई चित्रण गर्छ। अहिले पृथ्वीमा भएका ख्रीष्टका अभिषिक्‍त भाइहरूलाई मदत गरिरहेको कारण तिनीहरूले त्यस्तो अनुमोदन पाउनेछन्‌। जवान यहोनादाबको हैसियतमा मैले आफैलाई यसो भनें, ‘यदि ख्रीष्टले तिमीलाई भेडाको रूपमा हेरेको चाहन्छौ भने तिमीले उहाँका अभिषिक्‍त भाइहरूलाई समर्थन गर्नुपर्छ र तिनीहरूको अगुवाइलाई स्वीकार्नुपर्छ किनकि परमेश्‍वर तिनीहरूसित हुनुहुन्छ।’ यो बुझाइले मलाई ७० वर्षभन्दा धेरै समयदेखि डोऱ्‍याइरहेको छ।

‘मेरो भूमिका के हो?’

मेरी आमाले बेथेलको सभा हलमा सन्‌ १९२५ मा बप्तिस्मा गर्नुभयो। त्यस हललाई लन्डन टेबर्नेकल भनिन्थ्यो र त्यसलाई त्यहाँका स्थानीय भाइहरूले प्रयोग गर्थे। मेरो जन्म अक्टोबर १५, १९२६ मा भयो। मैले बेलायतको समुद्रीतटमा रहेको डोभर भन्‍ने ठाउँमा आयोजित सम्मेलनमा सन्‌ १९४० को मार्च महिनामा बप्तिस्मा गरें। मैले बाइबल सत्यलाई झन्‌झनै मन पराउन थालें। मेरी आमा अभिषिक्‍त ख्रीष्टियन हुनुभएकीले मैले पहिलो पटक समातेको “यहूदीको लुगा” उहाँकै थियो। त्यतिबेला मेरो बुबा र मेरी दिदी यहोवाको सेवा गर्नुहुन्‍न थियो। हामी दक्षिण-पूर्वी बेलायतको गिलिगम मण्डलीमा सेवा गर्दै थियौं। त्यस मण्डलीका धेरैजसो सदस्य अभिषिक्‍त ख्रीष्टियन हुनुहुन्थ्यो। प्रचारकार्यमा जोसिलो भएर मेरी आमाले राम्रो उदाहरण बसाल्नुभयो।

सन्‌ १९४१ को सेप्टेम्बर महिनामा लेस्टर सहरमा एउटा अधिवेशन आयोजना गरियो। “सत्यनिष्ठा” भन्‍ने विषयमा त्यतिबेला दिइएको एउटा भाषणमा विश्‍वव्यापी प्रभुत्वबारे छलफल गरियो। यहोवा र सैतानबीचको विवादमा हामी पनि मुछिएका छौं भनेर मैले पहिलो पटक बुझेको त्यही भाषणबाट थियो। त्यसैले यहोवालाई ब्रह्‍माण्डको सार्वभौमको रूपमा स्वीकार्दै हामी उहाँको पक्षमा खडा हुनुपर्छ र उहाँप्रतिको सत्यनिष्ठा कायम राख्नुपर्छ।

त्यस अधिवेशनमा अग्रगामी सेवालाई निकै जोड दिइएको थियो र यसलाई आफ्नो लक्ष्य बनाउन जवानहरूलाई प्रोत्साहन दिइएको थियो। “यहोवाको सङ्‌गठनमा अग्रगामीहरूको भूमिका” शीर्षकको भाषण सुनेर मेरो मनमा यो प्रश्‍न उब्जियो, ‘मेरो भूमिका के हो?’ यहोनादाबको हैसियतमा अभिषिक्‍त जनहरूलाई प्रचारकार्यमा सक्दो मदत गर्नु मेरो कर्तव्य हो भनी बुझ्न त्यस अधिवेशनले मलाई मदत गऱ्‍यो। लेस्टरमा भएकै बेला मैले अग्रगामी सेवा गर्न फाराम भरें।

युद्धको बेला अग्रगामी सेवा

डिसेम्बर १, १९४१ मा म विशेष अग्रगामीको रूपमा नियुक्‍त भएँ। त्यतिबेला म १५ वर्षको थिएँ। मेरो पहिलो अग्रगामी साथी मेरी आमा हुनुहुन्थ्यो तर लगभग एक वर्षपछि स्वास्थ्य समस्याले गर्दा उहाँले अग्रगामी सेवा छोड्‌नुपऱ्‍यो। त्यसपछि लन्डन शाखा कार्यालयले मेरो निम्ति अर्को साथीको प्रबन्ध गरिदियो। उहाँ रन पार्किन हुनुहुन्थ्यो जो हाल पोर्टो रिकोमा शाखा समितिको एक जना सदस्य हुनुहुन्छ।

हामीलाई केन्ट देशको समुद्री किनारमा अवस्थित सहरहरू ब्रोडस्टेर्स र राम्सगेटमा पठाइयो। त्यहाँ हामीले एउटा कोठा भाडामा लियौं। त्यसबेला विशेष अग्रगामी सेवा गर्नेहरूले मासिक ४० शिलिङ्‌ (लगभग ६५० रुपैयाँ) पाउँथे। भाडा तिरेपछि बाँकी खर्च चलाउन धौ-धौ पर्थ्यो अनि अर्को छाक कसरी जुटाउने होला भनेर चिन्ता लाग्थ्यो। तर सधैं नै कुनै न कुनै तरिकामा यहोवाले हाम्रो आवश्‍यकता पूरा गरिदिनुहुन्थ्यो।

हामी धेरैजसो साइकल चलाउँथ्यौं। एकातिर साइकलमा थुप्रै सामान हुन्थ्यो भने अर्कोतिर उत्तरबाट बेजोडले हावा चलिरहेको हुन्थ्यो। त्यसैले साइकल चलाउन धेरै बल लगाउनुपर्थ्यो। लन्डन ध्वस्त पार्न गरिने हवाई आक्रमणका यानहरू अनि जर्मन V-1 नामको क्षेप्यास्त्र केन्टको एकदमै मुनि भएर जान्थ्यो। हामीले त्यसको पनि सामना गर्नुपर्थ्यो। एक चोटिको कुरा हो, एउटा बम मेरो टाउको माथिबाट नजिकैको खेतमा गएर विस्फोट भयो। त्यतिबेला म साइकलबाट हाम्फालेर खाल्डोतिर हुत्तिनुपऱ्‍यो। तैपनि केन्टमा हामीले अग्रगामीको रूपमा रमाइलो समय बितायौं।

म “बेथेल सेवक” भएँ

मेरी आमाले बेथेलको सधैं प्रशंसा गर्नुहुन्थ्यो। उहाँ यसो भन्‍ने गर्नुहुन्थ्यो: “तिमी बेथेल सेवक भएको हेर्न पाउनु नै मेरो सबैभन्दा ठूलो रहर हो।” त्यसैले जनवरी १९४६ मा तीन हप्ताको लागि लन्डन बेथेलमा सेवा गर्ने निम्तो पाउँदा म कत्ति खुसी भएँ र छक्क परें होला, कल्पना गर्नुहोस्‌ त! तीन हप्ता सिद्धिनै लाग्दा शाखा सेवक, प्राइस ह्‍युजले मलाई बेथेलमा नै बस्न भन्‍नुभयो। त्यहाँ पाएको प्रशिक्षणले मेरो बाँकी जीवनलाई पनि असर गऱ्‍यो।

त्यतिबेला लन्डन बेथेलमा ३० जना जति सदस्य थिए। प्रायजसो अविवाहित जवान भाइहरू थिए भने अरूचाहिं प्राइस ह्‍युज, एड्‌गार क्ले, ज्याक बारजस्ता अभिषिक्‍त जनहरू थिए। ज्याक बार पछि गएर परिचालक निकायको सदस्य हुनुभयो। यस्ता “खम्बाहरू”-को आध्यात्मिक निगरानीमा रहेर जवान व्यक्‍तिको रूपमा ख्रीष्टका भाइहरूलाई समर्थन गर्न पाउनु मेरो लागि ठूलो सुअवसर थियो।—गला. २:९.

एकदिन, बेथेलको मूल ढोकामा एउटी बहिनी मलाई भेट्‌न आउनुभएको छ भनी एक जना भाइले बताउनुभयो। उहाँ मेरी आमा पो हुनुहुँदो रहेछ! उहाँले काखीमा एउटा पोका च्याप्नुभएको थियो। मेरो काममा बाधा पुग्ला भनेर उहाँ भित्र आउन मान्‍नुभएन। तर मलाई त्यो पोका दिएर फर्कनुभयो। त्यसमा न्यानो ओभरकोट थियो। उहाँको यस्तो मायालु व्यवहारले मलाई बासस्थानमा सेवा गरिरहेको आफ्नो छोरा शमूएललाई हन्‍नाले दौरा बनाएर ल्याइदिएको घटनाको सम्झना गरायो।—१ शमू. २:१८, १९.

गिलियड–एउटा अविस्मरणीय अनुभव

सन्‌ १९४७ मा बेथेलमा सेवा गरिरहेका म अनि अरू चार जनालाई अमेरिकामा हुन लागेको गिलियड स्कूलमा उपस्थित हुन निमन्त्रणा दिइयो। निमन्त्रणा पाएको अर्को वर्ष हामी गिलियडको ११ औं कक्षामा उपस्थित भयौं। त्यहाँ पुग्दा त स्कूल आयोजना हुने न्यु योर्कको उत्तरी भागको मौसम मुटु कमाउने खालको पो रहेछ! आमाले ल्याइदिनुभएको न्यानो कोट पाएकोमा मेरो खुसीको सीमै रहेन!

गिलियडमा बिताएको छ महिना म कहिल्यै भुल्न सक्दिनँ। विभिन्‍न १६ देशबाट आएका सँगी विद्यार्थीसित सङ्‌गत गर्दा मेरो दृष्टिकोण फराकिलो भयो। मैले पाएको प्रशिक्षणले यहोवासितको मेरो सम्बन्धलाई राम्रो बनायो। त्यसका साथै परिपक्व ख्रीष्टियनहरूसित सङ्‌गत गरेर पनि लाभ उठाएँ। गिलियड स्कूलको साथी लोइड ब्यारी; प्रशिक्षक अल्बर्ट श्रोडर; किङडम फार्मका (जहाँ गिलियड स्कूलको भवन थियो) निरीक्षक जोन बुथ सबै नै पछि गएर परिचालक निकायका सदस्य हुनुभयो। उहाँहरूले दिनुभएको मायालु सल्लाह अनि यहोवा र उहाँको सङ्‌गठनप्रति उहाँहरूले देखाउनुभएको वफादारीको म एकदमै मोल गर्छु।

क्षेत्रीय निरीक्षकको काम अनि फेरि बेथेलमा

गिलियड सिद्धिएपछि मलाई अमेरिकाको ओहायोमा क्षेत्रीय निरीक्षकको रूपमा खटाइयो। म त्यतिबेला २१ वर्षको मात्रै थिएँ तर भाइहरूले मेरो युवावस्थाको जोसलाई सहर्ष स्वीकार्नुभयो। त्यस सर्किटमा मैले अनुभवी भाइहरूबाट धेरै कुरा सिक्न सकें।

केही महिनापछि थप प्रशिक्षणको लागि मलाई ब्रूक्लिन बेथेलमा बोलाइयो। त्यसबेला मैले मिल्टन हेन्सेल, कार्ल क्लाइन, नेथन नोर, टि. जे. (बड) सलिभन, लिम्यान स्विंगलजस्ता खम्बाहरू चिन्‍ने मौका पाएँ। उहाँहरू कुनै समय परिचालक निकायका सदस्य हुनुहुन्थ्यो। उहाँहरूले गरेको काम र उहाँहरूको ख्रीष्टियन गतिविधि देख्न पाउनु मेरो लागि प्रोत्साहनदायी अनुभव थियो। यसले गर्दा यहोवाको सङ्‌गठनप्रतिको मेरो भरोसा झनै बढ्यो। त्यसपछि सेवाको कामलाई निरन्तरता दिन मलाई फेरि युरोपमा पठाइयो।

मेरी आमा सन्‌ १९५० फेब्रुअरीमा बित्नुभयो। अन्त्येष्टिपछि मैले बुबा र दिदी डोरासित खुलस्त कुरा गरें। मैले उहाँहरूलाई ‘अब आमा हुनुहुन्‍न अनि मैले पनि घर छोडिसकें, त्यसैले अब तपाईंहरू के गर्न चाहनुहुन्छ’ भनी सोधें। उहाँहरूले पाको उमेरको अभिषिक्‍त भाइ ह्‍यारी ब्रोनिङलाई चिन्‍नुहुन्थ्यो र उहाँको आदर पनि गर्नुहुन्थ्यो। त्यसैले उहाँहरू भाइ ब्रोनिङसित बाइबलबारे छलफल गर्न इच्छुक हुनुभयो। एक वर्षभित्रमा बुबा र दिदीले बप्तिस्मा गर्नुभयो। पछि बुबा गिलिगम मण्डलीमा सेवक (अहिले सहायक सेवक भनिन्छ) नियुक्‍त हुनुभयो। बुबाको मृत्युपछि दिदीले विश्‍वासी एल्डर रोइ मोर्टनसित विवाह गर्नुभयो अनि सन्‌ २०१० मा आफ्नो मृत्यु नहोउन्जेल वफादार भई यहोवाको सेवा गर्नुभयो।

फ्रान्समा मदत गर्दै

सार्वजनिक स्कूलमा मैले फ्रेन्च, जर्मन अनि ल्याटिन भाषा सिकेको थिएँ। तर मलाई सबैभन्दा गाह्रो लागेको भाषाचाहिं फ्रेन्च थियो। त्यसैले फ्रान्सको पेरिस बेथेलमा सेवा गर्न बोलाइँदा मलाई के गरूँ कसो गरूँ भयो। त्यहाँ मैले शाखा सेवकको रूपमा सेवा गरिरहनुभएका वृद्ध अभिषिक्‍त भाइ हेनरी जिजासँग काम गर्ने मौका पाएँ। आफ्नो जिम्मेवारी पूरा गर्न मलाई सधैं सजिलो हुँदैन थियो। हो, म थुप्रै कुराहरूमा चुकें तैपनि मानिसहरूसित कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा सिक्न सकें।

साथै सन्‌ १९५१ मा पेरिसमा दोस्रो विश्‍व युद्धपछिको पहिलो अन्तरराष्ट्रिय अधिवेशन आयोजना गरियो। मैले पनि उक्‍त अधिवेशनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थिएँ। लोपोल झोन्टा नाम गरेका एक जवान परिभ्रमण निरीक्षक मलाई मदत गर्न बेथेल आउनुभयो। पछि उहाँ शाखा निरीक्षक नियुक्‍त हुनुभयो। आइफल टावर नजिकै भएको पाले डि इस्पो हलमा अधिवेशन सम्पन्‍न भयो। प्रतिनिधिहरू २८ वटा मुलुकबाट आए। उक्‍त अधिवेशनको अन्तिम दिनमा १०,४५६ जना उपस्थित भएको देख्न पाउँदा ६,००० फ्रेन्च साक्षीहरू दङ्‌ग परे।

म पहिलो पटक फ्रान्स आउँदा मलाई फ्रेन्च भाषा राम्ररी बोल्न आउँदैन थियो। आफूलाई आउने-आउने शब्द मात्रै बोलेर मैले झनै भुल गरे। गल्ती नै गरेनौं भने त हामीलाई कसैले सच्याउँदैन अनि हाम्रो प्रगति पनि हुँदैन।

परिस्थितिको हल गर्न मैले विदेशीहरूलाई फ्रेन्च भाषा सिकाइने स्कूलमा भर्ना हुने निर्णय गरें। म साँझको सभा नहुने दिनमा भाषा सिक्न जान्थें। मैले फ्रेन्च भाषालाई माया गर्न थालें र वर्षहरू बित्दै जाँदा त्यो माया अझ बढ्‌दै गयो। यो मदतकारी साबित भयो किनभने मैले पछि फ्रान्स शाखा कार्यालयको अनुवाद विभागलाई सहयोग गर्न सकें। समय बित्दै जाँदा म आफै पनि अनुवादक हुन सकें। मैले अङ्‌ग्रेजीबाट फ्रेन्च भाषामा अनुवाद गर्न थालें। दास वर्गले प्रशस्त रूपमा प्रबन्ध गरिदिएको आध्यात्मिक भोजन संसारभरका फ्रेन्च भाषा बोल्नेहरूलाई उपलब्ध गराउनु मेरो लागि सुअवसर थियो।—मत्ती २४:४५-४७.

विवाह अनि अरू सुअवसर

सन्‌ १९५६ मा मैले एस्तरसित विवाह गरें। तिनलाई मैले केही वर्षअघि मात्र भेटेको थिएँ र तिनी स्वीजरल्याण्डकी अग्रगामी थिइन्‌। हामीले लन्डन बेथेल (पुरानो लन्डन टेबर्नेकल जहाँ मेरी आमाले बप्तिस्मा गर्नुभएको थियो) नजिकै रहेको राज्यभवनमा विवाह गऱ्‍यौं। भाइ ह्‍युजले हाम्रो विवाह भाषण दिनुभयो। एस्तरकी आमा पनि हाम्रो विवाहमा उपस्थित हुनुभएको थियो र उहाँको पनि स्वर्गीय आशा थियो। विवाह गरेर मैले मायालु अनि वफादार जीवनसाथी मात्र होइन तर आध्यात्मिक विचारधारा भएकी सासूसित अमूल्य समय बिताउने मौका पनि पाएँ। सन्‌ २००० मा उहाँको मृत्यु नहोउन्जेल मैले यस्तो सङ्‌गतिबाट आनन्द उठाउन सकें।

विवाहपछि एस्तर र म बेथेलबाहिरै बस्यौं। मैले बेथेलको अनुवाद कामलाई नै निरन्तरता दिएँ तर एस्तरले भने पेरिसको उपनगरमा विशेष अग्रगामीको रूपमा सेवा गरिन्‌। तिनले थुप्रै व्यक्‍तिलाई यहोवाको सेवक बन्‍न मदत गरिन्‌। सन्‌ १९६४ मा हामीलाई बेथेलमै बस्न बोलाइयो। त्यसपछि सन्‌ १९७६ मा शाखा समिति स्थापना हुँदा म पनि त्यसको सदस्यको रूपमा नियुक्‍त भएँ। वर्षौंको दौडान एस्तरले मलाई मायालुपूर्वक साथ दिइरहेकी छिन्‌।

“म तिमीहरूसित सधैंभरि हुँदिनँ”

मैले समय-समयमा न्यु योर्क मुख्यालयमा जाने सुअवसर पाएको छु। मुख्यालयमा जाँदा मैले परिचालक निकायका विभिन्‍न सदस्यबाट राम्रो सल्लाह पाएँ। उदाहरणको लागि, एकपटक मैले समयमै काम सिध्याउनुपर्ने विषयमा चिन्ता गर्दा भाइ नोरले मुस्कुराउँदै भन्‍नुभयो: “धन्दा नमान्‍नुस्‌ भाइ, काम गर्दै जानुस्‌!” त्यो सल्लाह पाएदेखि यता कामको ताँती लाग्दा त्यसलाई त्यत्तिकै छोड्‌नु भन्दा एकपछि अर्को काम गर्दै जान्थें अनि काम पनि प्रायः समयमै सिद्धिन्थ्यो।

आफ्नो मृत्युअघि येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूसित सधैंभरि हुँदिनँ।” (मत्ती २६:११) हामी अरू भेडा पनि ख्रीष्टका अभिषिक्‍त भाइहरू पृथ्वीमा सधैंभरि हामीसित हुँदैनन्‌ भन्‍ने कुरामा सचेत छौं। त्यसैले थुप्रै अभिषिक्‍त भाइहरूसित ७० वर्षभन्दा धेरै समय घनिष्ठ भई सङ्‌गत गर्न पाउनु अर्थात्‌ आनन्दित भई एउटा यहूदीको लुगा समात्न पाउनुलाई म ठूलो सुअवसर ठान्छु।

[फुटनोट]

a “यहोनादाब” भन्‍ने शब्दको अर्थ बुझ्न यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी) पुस्तकको पृष्ठ ८३, १६५, १६६ अनि जनवरी १, १९९८ को प्रहरीधरहरा, पृष्ठ १३, अनुच्छेद ५ र ६ हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

भाइ नोरले मुस्कुराउँदै भन्‍नुभयो: “धन्दा नमान्‍नुस्‌ भाइ, काम गर्दै जानुस्‌!”

[पृष्ठ १९-मा भएको चित्र]

(बायाँ) मेरी आमा र मेरो बुबा

(दायाँ) आमाले दिनुभएको न्यानो कोट लगाएर सन्‌ १९४८ को गिलियड क्याम्पसमा

[पृष्ठ २०-मा भएको चित्र]

सन्‌ १९९७ मा फ्रान्स शाखाको समर्पणमा भाइ लोइड ब्यारीको भाषण उल्था गर्दै

[पृष्ठ २१-मा भएको चित्र]

(बायाँ) विवाहको दिनमा एस्तरसित

(दायाँ) प्रचारकार्यमा सँगै भाग लिंदै